पहिला ऊ राजस्तान बम्बै थियो । मास्टरका डरले ऊ स्कुल गएकै थिएन । त्यसैले त पुलिसले माया गरेझैँ गरी बिस्तारै बुटले उसका तिघ्रामा हान्दै सोध्यो, “पहिला कहाँ काम गर्थिस् ?” उसले भन्यो, “राज स्तान बम्बै सर ?”
-“कहाँ बेचिस् भन् त ?”
-“हामीले होइन हजुर त्यो रात ठेकेदार सापको ………….. ।”

यदि ऊ त्यस बेला मास्टरसँग नडराएरै स्कुल गएको भए आज यसरी, “राजिस्तान बम्बै भन्थ्यो होला र ? उसलाई थाहा नै छैन राजिस्तान र बम्बै फरक-फरक ठाउँ हुन भन्ने । यस्तो रिस उठ्दो कुरा सुनेर पुलिसले उसलाई अघिको भन्दा अलिक जोरसँग बुटले हान्दै भन्यो, “राजस्तान कि बम्बै ? ”
-“राजस्तान सुरत सर ?”
पुलिसले ढुक्कको सास फेर्दै कुर्सीमा बसिरहएका मान्छेतिर हेर्दै भन्यो, “ठेकदार साप सुरतमा हिरा चोर्न सक्नेले तपाईँको सरिया सिमेन्ट के राख्थो र ? चोऱ्यो यही सालेले ।”

एमपी केयरलेस

हात जोडेर बसिरहेको मान्छे । दानबहादुर हो । तर आजसम्म उसले कसैलाई पनि दान दिएको छैन । भाइटीकाको दिन दिदीबहिनीलाई दिने दक्षिणालाई दान मान्ने हो भने । त्यो पाप चाहिँ हरेक वर्ष गरेको साँचो हो ।
राजिस्तान, बम्बै, सुरत जहाँबाट पठाएको/ल्याएको पैसा उसका बाआमालाई राख्न दिन्छ । बाआमा उसको पैसा फारु गरी खर्च गर्छन् । त्यसैले उसका साथीहरू उसलाई लोभी छ भन्छन् ।

अह बिहे गरेको छैन । मामाको छोराले गर्दा यसको बिहे रोकिएको हो । पढ्न पनि त पढेन, मास्टरले कुट्छन् भनेर स्कुल अगाडिकै बाटाबाट बम्बै गयो । ऊसँगका त कालीकोट साहिँलाको जेठा छोराको छोरो हो । त्यो कस्तो भयो हेर्नू त ? बजारको सबैभन्दा धनी भइसक्यो ।

हुलाकी बुडुवालकी छोरीको छोरो पनि दानेसँगैको हो । त्यो डाक्टर भएर बजार आएको छ भन्छन् । महिनाको एक लाख खान्छ भन्छन् । साँच्चै त होला ?

कल्यानेकी छोरी पनि यही दानेसँगकी हो । तीन छोरा पाइसकी । पहिलेको जमाना थियो र पढेन भन्नु छैन ? आँगनअगाडि स्कुल थियो । मास्टरसँग डराएर पढेन । यो सबैलाई थाहा छ तर बिहे किन गरेन यसमा कसैले सोधीखोजी पनि गरेको छैन र उसमाथि पनि अहिलेसम्म गाउँको एक जनाले शङ्का गरेको थिएन ।

जुन दिन ठेकदारको मान्छे आएको थियो हो, त्यही दिनबाट बम्बैमा मिस्री बनिसकेको दाने मेट बनेको हो तर गाउँले ठेकेदार भन्न थाले । पछि उसले आफ्नो इज्जत बढेजस्तो मान्यो कि ? वा गाउँले नै उसको इज्जत बढेजस्तो मान्यो । ऊ गाउँमा हुने निसाफ कचहरीमा जान थालेको थियो । दाने उसका मान्छेले गरेका सानातिना गल्तीलाई पुलिसचौकी पुग्न दिन्थेन । आज आफैँ पुलिसचौकी आइपुगेको छ ।

पहिलो एक महिना नबित्दै गाउँका आँखाले हरियो देख्न पाएको थियो । त्यसपछि त, यतै गाउँमा सर सापट गरेर चलायौ । कहिलेकाही त मन पनि ठोक्नै परेको साँचो हो । चट्याङ आफ्नै थाप्लामा बजारिएजस्तो भएपछि यहाँ आउनका लागि दुई हजार ऋण लाग्यो ।

यो दाने दुधले धोई पखालेको भगमान पनि हैन र गु नै खाइहाल्ने पशु पनि हैन । यो मान्छे हो हजुर । यो मान्छे भएकाले नै हो । एकफेर उसैका कामदारहरूले आफ्ना घर-घरसम्म पुगाएका थिए, काम गर्ने ठाउँमा खाना बनाउने केटीसँग दाने सल्कियो भनेर । ऊ खाना बनाउने केटीसँग सल्किएको थियो यता घरमा उसका आमाबुबाको अनुहार धप्प बलेको थियो । ऊ सल्किएकामा जाती नै मानेका थिए । बुहारी आउने भई सोचेका थिए होलान् । यसपालि दसैँमा दाने आफू जेल जान्छ कि जस्तो पो भयो ।”

त्यहाँ गएका केटाहरूले त्यस्तो हल्ला फिँजाए पनि । घर पैसा चाहिँ नपठाएको साँचो हो । फोनमा भन्थे ठेकदार बदमास पऱ्यो पैसा दिन्न भनेर ।

त्यसो भनिरहँदा पनि उनीहरू गाउँ चाहिँ फर्किहालेका थिएनन् । यता घर, परिवार र गाउँ के कुरामा ढुक्क थिए भने, “दाने केही गरी सेठसँग । हैन हैन ठेकदारसँग कुरा मिलाई पैसा, केटाहरू र मालाश्री सङ्गीत लिएर गाउँ फर्किनेछन् ।” उता गाउँ बाटो हेरिरहेको छ । यता झन् दाने जेल जानेजस्तो पो कुरा आयो ।

-“साले फलाम चोर, सार्की होस त, अब तेरा बाको बिहे देख्छस् ।” – ठेकदारले भन्यो । तन्नेरी दानेले एकै हत्तेकाले आफ्ना आँखाबाट निस्किएर बगिरहेका गङा जमुनालाई पुछेर उनीहरूको बाटोनै मेटिदियो । कस्तो बूढो जस्तो दया लाग्दो देखिएको हो, चाईने जो यो उमेरमा पनि । उसले आँसु पुछ्दै दुई हात जोडेर भन्यो, “लेकिन ठेकदारले पहिला काम गर्नेलाई पैसा नदिएर लखेटेको कुरा मलाई मालुम छ । यो पनि मालुम छ पुलिस सिडियो सबै ठेकदारको वरिपरि घुमिरहन्छन् । यस्तो जाल साचि त राजस्तान बम्बैको सेटले पनि गर्दैनन् ।”

खास कुरा त्यसो हैन दानेले यसो भन्नुपर्थ्यो, “पुलिस, सिडियो, नेताका वरिपरि ठेकदार हुन्छ ।” त्यो बेला मास्टरसँग नडाएरै स्कुल गएको भए यस्तो भन्थ्यो होलात ?

सबैतिर त्यस्तै छ । गाउँमा उपभोक्ता समुह बन्छन् । बन्नुपर्ने त हो । तर बन्नुपर्ने जति न सडक बन्छ, न धारो बन्छ, न गोठ बन्छ । तर बर्डा अध्यक्षलाई स्कुटी बन्यो, मयरलाई गाडी बन्यो । कर्मचारीको घर बन्यो ।

बर्डा कार्यलयको त्यो ठूलो कालो कुर्सी देख्यो कि डर लाग्छ । तर्साउला तर्साउला जस्तो । यमराज जस्तो भनेपनी हुने । त्यहाँ सेतो, निलो रङ्गको कुर्सी राख्दा केही डर कम हुन्थ्यो कि ? हेर्नुस त त्यो ठेकेदार बसेको कुर्सी । ठेकदार भन्दा डरलाग्दो छ । डरलाग्दा मान्छे बस्नका लागि बनाए जस्तो । के दाने त्यहाँ बस्दा सुहाउला त ? हामीलाई त यस्तै कालो कुर्सीको डरले गर्दा वर्डा कार्यलय भित्र जाननै डर लाग्छ । तर ऊ चाहिँ वर्डा हो कि बडा कार्यलय भित्र सजिलै जान्थ्यो ।

-” बढी बोल्दो रैछ साले हल्दार साप त्यसको मुखमा त्यो लठ्ठी कोच्नुस त । रण्डिका छोरा तेरो बालाई मैले झन काम दिएको थिए । काम गर्न सकेन भागे सब थाडु साडु । हो कि नाई कमरेड भन्नू त ?” देख्नु भयो ठेकदार रिसायो । अब दाने सकियो । के परेको होला यश दानेलाई ठेकदारले पहिलाको काम गर्नेलाई जे सुकै गरोस । किन मतलब ? पैसा हुनेसँग जुवान लडाउछ यो दाने पनि ।

दानेलाई मात्र जस दिन मिल्दैन यत्रो घर बनाउने मान्छे, “दान बहादुर हो ” भनेर । यश भन्दा पहिले पनि । यहाँ कामदार आएका थिए उनीहरूले माटो मुनिबाट तानेझै गरी त्यस बिल्डिङलाई जमिन सम्म ल्याएका थिए । हो, दानेले यसलाई सजिलै तानेझै गरी नौ महिनामै सरग छुने बनाई । हेर्नुस त बादल कति राम्रो हो बिल्डिङको छतमा आएर बसे जस्तो । यहाँ बाटै देखिन्छ । अग्लो पनि कम हैन ।

अघिल्लो पालिकालाई काठ बेचिस भन्ने आरोप लागेको हो रे भन्छन् काम गर्ने ठाउँ वरिपरिका मान्छे । एक हजार वटा कडी चोरिस भन्ने आरोप लगाएको थियो रे ठेकेदारले ।

पुलिसले छानबिन गरेर पनि त्यही भन्यो रे, “हो हजार कडि चोरी भएका छन । चोर्ने को हो त्यो अहिलेसम्म एकिन भैसकेको छैन । आपसी समझदारीमा चोर कसलाई बनाउने छलपल गरौला ” भन्ने छानबिन टोलिको निर्कर्श निकालेका थिए अरे ।

पुलिसले त सुरु गरेकै हुन अरे सोधपुछ । कत्ति लेबरहरू त भन्थे अरे, “च्यानल बनाउने बेलानै आएको छैन कडिको के काम । कसले चोरो हामीलाई केही थाहा छैन । ” उनीहरूको यस्तो झुठ बयानले गर्दा, पुलिसको बर्दी पहिलो चोटि लेबरहरूको चुला सम्म के पुगेको थियो । सब कुरा छर्लङ्ग भयो चोर लेबरहरूनै थिए । उनीहरूको चुलोमा खरानिको खैरो रङ देखियो ।

त्यसपछि डिएसपी, सिडियो, नगर अध्यक्ष र बिपक्षी दल सबको सामुहिक टोलि लेबरको चुलाछेउ आइपुगे उनीहरू देखे खरानीको खैरो रङ । त्यसपछि बिहेन देखि भोका बसेका लेबरको सातो पालैपालो खानथाले । सातो खाईसकेपछि सबै मिलेर लेबरको बगेको पसिना र ठेकदारको हुँदै नभएको काठको हिसाब गर्दा लेबरहरूले उल्टै चार लाख तिर्नुपर्ने । वा चारलाख बराबरको काम अझै गर्नु पर्ने । हैन भने चोरेका काठ ल्याएर दिए भने उनीहरूको ज्याला बाफतको बाकी पच्चीस लाख ठेकदारले दिने ।

उनीहरूले पुलिस ठानामा त चार लाख बराबरकै काम गर्छौ भनेका थिए रे । राती लेबर बिच खै कसरी चोर्दै नचोरिएको काठ खोजेर ल्याउने सल्लाह भएछ । त्यस रात काठ खोज्न निस्केका सबै थारु लेबर अहिलेसम्म सम्म फर्केका छैनन् । यहाँ दाने जेल जान आट्टी सक्यो ।

-“कहाँ बेचिस् रड ?” एउटा पुलिसले भन्नुभयो ।
-“मलाई मालुम छैन सर “- दानेले भन्यो ।
-“एक लठ्ठी हान् भाइ सब बक्छ ?” पुलिसलाई ठेकेदार सापले भन्नू भयो ।
-“यहाँ हान्न पाइन्न दाइ, नत्र यसलाई मैले जान्या थे ।” ठेकेदारतिर हेर्दै पुलिसले बोल्यो ।
-“फोनमा त ठेकेदार सापलाई भनेको थिस् त, रड बेचिदिन्छु । सुन्छस् रेकर्ड ?” पुलिसले बिस्तारै माया गरेझैँ गरी दानेको कुममा लात्ताले हान्दै भन्यो ।

लौ हेर्नुस् त, ठिक दानेको तरिका सिकेको रैछ ठेकेदारले पनि । मोबाइलमा कसैले फोन गर्दा रेकर्ड गर्दो रैछ । अब दाने फस्यो । दानेले यसरी नै एकपटक हाम्रो गाउँको इज्जत बचाएको छ । एउटी केटी थिई । बच्चै थिई । बच्चै पनि कसरी भन्नू खै ?

भुँडी बोकेकी थिई । बच्चा पनि कसरी भन्नू । हे राम । आफ्नै मामाको छोराको । मामाको छोरो दानेको मिल्ने साथी पनि हो । हैन हैन, साथी पनि थियो ।

मामाको छोरोलाई त्यसबेला दुईवटा कुराले खुब तनाव दियो । पहिलो कुरा – आफू बा बन्दै छु भन्ने ।
अनि दोस्रो, त्यही केटीलाई देखेर दानेले  बम्बै छोडेको हो । तर केटीले गन्दै गनिन । गनोस् पनि कसरी ? दाने बाठो मात्र हो । अनुहार त न परेकै हो । त्यहीँमाथि बम्बैमा मिस्त्री हुँदा निधारैमा चोट लागेछ । भाग्य त्यही दिन फुटेछ । बम्बैमा कठै । आज पुलिस ठाना आउन पऱ्यो ।

चाइनेजो ! मामाको छोराले दानेको मुखैनिर, “म बाउ बन्दै छु” भन्न लाज मानेर हो कि ? त्यसबेला मामाको छोराले नयाँ फोन किनेको थियो । फोनबाट कुरा गरौँ सोच्यो कि ? वा दानेले जसलाई ब्याउने बनाउने सपना देखिरहेको छ उसलाई आफूले बिपनामा ब्याउने बनाइसके यार । मुखै अगाडि भन्न डर लागेछ कि ? त्यस दिन मामाको छोराले फोन गरेर भनेछ, “मेरी फुपूकी जेठी छोरी ब्याउने भएकी छ ?”

यो कुरा सुन्नासाथ दानेले कुरा सुनेझैँ गरेको रैछ तर नसुनी बसेछ । तर सबै रेकर्ड गरेको रहेछ । दानेले सोच्यो होला कि ? पछि सुनौँला फुपूकी छोरीका कुरा । गाउँका कसैले दानेको अगाडि फुपूकी छोरीका कुरा गऱ्यो भने ऊ मात्र सुनिबस्थ्यो । पिरती भन्ने चिज यस्तै हो, एकै ठाउँ भए नि मिलन नहुने । साथमा छ भन्नू मात्र ।

गाउँमा फुपूकी छोरीको भुँडी बढेसँगै कुरा बढेका हुन् कि ? कुरा बढेपछि फुपूकी छोरीको भुँडी बढेको हो । चाइनेजो । त्यो चाहिँ ठ्याक्कै यही हो भन्न मिल्दैन । तर कचरी बसेको दिन भुँडीका कुरा धेरै आए । फुपूकी छोरीलाई कचहरीले मुख्यतः यी प्रश्नहरू सोधिरहेको थियो – भुँडी कसको बोकिस् ? भुँडी बोकेको कति दिन भयो ? यति सानैमा भुँडी बोक्ने रहर कसरी भयो ? र, आँट कसरी आयो ?

फुपूकी छोरी भुइँमा बसेकी थिई । ठिक अहिले जसरी दाने बसेको छ । दाने रोइरहे जसरी नै फुपूकी छोरी रोइरहेकी थिई ।

हेर्दै दया लाग्दो छ है दाने । त्यहीँ माथि निधारमा भाग्य फुटेको खत छ । बाँकी के नै रह्यो र अब ? चिम्सा आँखाबाट बगेका आँसुले कालो छालामा बनाएका कालै दाग । जहाँ आँसु पुगेको थिएन । ढङ्ग नजानेर त्यहाँ नि आँसु पुगायो दानेले ।

रेकर्ड बज्यो । ठेजेदारले बजायो ।

-” हेलो ठेकेदार साप नमस्ते ।”

-” नमस्ते, छिटो भन्त दाने, म बिजी छ ।”

-” ठेकेदार साप, दसैँ आउन लाग्यो, हिसाब दिनुपऱ्यो ।”

-” तेरो हिसाब खाएर म भाग्छु लाग्छ ? साझ बिहेन फोन गर्यागर्यै छ । काम छैन तेरो ?”

-” ठेकेदार साप, चार महिना भयो । केटाहरूको किस्ता बुझाउनु छ । मेरी आमा बिरामी छन् ।”

दानेकी आमालाई केही भएकै थिएन । ठेकदारसँग पैसा छुटाउनलाई झुठो बोल्यो कि ? उसकी आमा त अझै हट्टाकठ्ठा छन् । अलिकति खुट्टो खोच्याउने गरेको त सात वर्ष भैसक्यो । साउनको महिना घाँस काट्न भनेर रुख नचढेको भए कहिल्यै खोच्याउने थिइनन् । अरु त केही भएको थाहा छैन । जस्ती पायो त्यस्ती श्रीमती ल्यायो भने दानेले । सासुका अगाडि टिक्नै गाह्रो हुन्छ बुहारीलाई ।

-“पछि तपाईँको फलाम चोरियो भनेर नभन्नु होला ठेकदार साब । हामी त हाम्रो पैसा असुल गरेर मात्र घर जान्छौँ । दसैँ आउन लागेको छ । पाँच महिना भयो खालि राशन मात्रै पाएको । गरिब भनेर हेप्ने ।” दानेले भनेको रैछ ।

-” साले, र …. को छोरो । जे मन लाग्छ गर ।” ठेकेदार भन्दै फोन काटेको रैछ ।

पुलिसले बुटले बिस्तारै मायालु पारामा दानेको तिघ्रामा हान्दै भन्यो, “तैँले चोरेको प्रमाणित भैसक्यो । अब भन, कहाँ बेचिस् रड ? किन जेल जाने बाटो गर्छस् ?”

-“हामीले चोरेकै छैनौ सर । त्यो साममा ठेक्दार सापको ज्वाइँ आएका थिए । ” – उसले पुलिससँग हात जोड्दै भन्यो ।

-” ए राडीका छोरा, त रड बेच्छस् भन्ने डरले ज्वाइँलाई पठाएको थिएँ । मेरा ज्वाइँलाई चोर भनिरहेको छ ।” ठेक्दार बोल्यो ।

मामाको छोरोले फुपूकी छोरीको कुरा नसुनेझैँ गरेर भनेको थियो, “यसलाई गाउँका सब केटाहरू गर्छन् । अहिले मेरो टाउकोमा दोष फाल्छे । मेरी बहिनीसँग के म त्यस्तो गर्दो हुँ ? ए सर्प, भन्त तैँले पनि गरेको होस् नि है यसलाई ।”

हो, ठिक त्यसरी नै दानेले ठेकेदारका कुरा नसुनेझैँ गरी भयो, “ठेकदारका ज्वाइँले हामीलाई १० लिटरको दारु ल्याएका थिए ।”

ठेकेदारले भन्यो, “दसैँ लाग्यो भनेर फोनमा रोएको हुनाले पठाइदिएको थिएँ राडीका छोरा । उल्टै साइटका रड चोर्ने तेरो बुद्धि बिग्रेको ।”

बुद्धि बिग्रेको त सर्पको हो । पहिलोपल्ट बुद्धि बिग्रेको मामाका छोरासँग पढ्ने निउले उसको घर गएको दिन हो । पढ्न भनेर फुपूकी छोरी पनि आउँथी । पढ्न आउँदा चड्न पनि पाइने थाहा पाएपछि । पछि पछि पढ्न भनेर मामाको छोराको घर सर्प आउँथ्यो । तर फुपूकी छोरी त्यस दिनपछि पढ्न आए पनि सुत्न भने आफ्नै घर जान थाली ।

सर्पका लागि एक यो दिन बिग्रेको रैछ, मामाको छोराले सही माग्यो तैँले गर्या होस् कि हैनस् भनेर । अब के गर्ने ? जाबो यही प्रश्नले दिमाग बिगारिदियो ।

-“हो, मैले पनि गर्या हुँ ।” भनुँ त ठाउँका ठाउँ बा बन्ने पक्का ।

होइन भनौँ त – फुपूकी छोरी अगाडि छ । त्यो दिन कण्डम दिएर सहयोग गर्ने मामाको छोरो हो । ऊ त त्यो दिन पढ्न आएको थियो । कण्डम ल्याउने कुनै कारण नै थिएन । भोलिपल्टबाट उसले आफ्नो व्यवस्था आफैँ गरेको थियो । तर सफल भएन । सफल भएको दिन पनि कम्ता गाह्रो भएकै होइन । मामाको छोरो र उसले जानै नदिएपछि मानेकी थिई ।

-“होइन । म तेरो साथी भएकाले फुपूकी छोरीलाई म बैनी भन्छु । मबाट त्यस्तो गलत काम भएको छैन ।” सर्पले फाट्ट झुठो बोल्यो ।

मामाको छोराको अनुहार रातो भयो । त्यत्रो भुँडी बोकेको बेला पनि फुपूकी छोरीको अनुहारमा केही आसाका रेखा दौडियो । उसलाई सायद लाग्यो कि अब मामाको छोरा मात्र मेरो पोइ बन्छ ? उसले ल्याएर आउने उसका साथीलाई एकछिन पोइ बना भन्दैन होला ?

ठेकेदारको ज्वाइँ आउदा लागेको थियो, दानेले दिउँसो फोनमा मालिकको मुखमुखै लागेको राम्रो भयो । आज मुखमा लगाउन पाउने भैयो भनेर । दाने पनि दूधले धोएको मान्छे त होइन । रक्सी पाएपछि गिलास, सितन र चुरोट मिलाएर खाने । सिनितै पार्छ के गर्नु यदि मास्टरको डरले स्कुल नछोडेको भए । जान्थ्यो कि रक्सी, गिलास, सितन र चुरोट मिलाएर खान ।

-“हामीले दारु अदुवाको सितनसँग खायौँ । दिनभरि काम गरेर थाकेका थियौँ । हामीलाई दारु लागेको थियो । हामी भुसुकै निदायौँ ।” दानेले भन्यो ।

-“फ्रिमा पाएको के छोड्दोहोस् । साइटमा फालेका रड त बेचिसी । अहिले सुते भन्छ ।” ठेकेदारको ज्वाइँ बोल्यो ।

-“दिनभरि दाउरा बोकेर म सुतेकी थिएँ । बिउँझिदा मेरो सुरुवाल मेरो जिउमा थिएन । मामाको छोरा मेरो माथि थियो । मेरो मुख एक हातले थुनेको थियो ।”, त्यत्रो कचहरीको बिचमा फुपूकी छोरीले भनी ।

-“म सुतेँ । मेरो गल्ती भयो भन्न खोज्या होलास् है ।”, ठेकेदार भन्यो ।

-“बिहान हामी उठ्दा साइटमा कोही थिएन । ठेकदार सापका ज्वाइँ थिएनन् । ट्याक्टरको डराइभर पनि थिएन । ट्याक्टरको खलासी पनि थिएन । ट्याक्टर पनि थिएन ।”, दानेले टाउको झुकाइरह्यो ।

-“म रोएको पनि हुँ । खालि, किन भनेर ? कण्डम त लगाउनु पर्थ्यो भनेकी पनि हुँ ।”, फुपूकी छोरीले बिना लाजघिन त्यत्रो कचहरीमा भनी, ठिक अहिले दानेले भनेको जसरी ।

फेरि पनि फुपुकी छोरीले भनी, “लगाउने ट्याईम कहाँ दिन्छस् ? आजकल खुब भाउ बढ्या छ है तेरो भनेर मामाको छोराले भने ।” मामाको छोराले टाउको झुकाइरह्यो । र दरिलो स्वरमा भन्यो, “त्यो राती म नै हुँ भन्ने के छ प्रमाण ?”

दानेले त्यहीबेला आफ्नो मोबाइलमा भएको रेकर्ड बजाइदियो । धन्न मामाको छोराको जित भयो ।

यस जमानामा साची पनि चाहिँदैनन्, तमसुक पनि चाहिँदैनन् । मोबाइल भए पुगिगो नि चाइनेजो । अब दाने फस्यो, बरु के कति हुन्छ हिसाब गरे हुन्थ्यो ।

सबै पार्टिका नेता, पुलिस, सिडियो र दाने मिलेर रडको र कामको हिसाब गर्दा दानेले तिर्नु पर्ने पाँच लाख निस्कियो ।

तीन दिनपछि दानेले भन्यो – “मसँग बम्बै जाउँ केटा हो, तिमीहरूको रिन उतै तिर्छु । इन्डियाका सेठ बदमास हुँदैनन् ।”