Chovar Blues Mobile Size

सुनसान रात । अँध्यारो कोठा । जाँडोको महिना । शीतका थोपा तप तप चुहिँदै । ताराहरूका पिलपिल उज्यालो झ्यालको चरबाट भित्र पस्ने प्रयास गरे पनि असफल हुने अवस्था । मानौँ जताततै अँधेरी  रातको विजय ।

कोठाको एउटा कुनामा सानो काठे खाट भनौं अथाव चरपाई कुरो एउटै हो । कोठा बनेदेखि नै थियो । त्यो खाटको इतिहास पनि अनौठो नै थियो । मानौँ वर्षौँदेखि त्यो कोठमा खाटमात्र स्थायी थियो । बाँकी सबै अस्थायी । त्यो खाटमा सुत्ने मानिसहरू परिवर्तन भए । सामान मानिसहरूसँगै झोलामा जाने गरे । खाट भने त्यहीँ भित्तोसँग जोडिएर बसेको छ । खुट्टाहरूमा धुलिया लागेको छ । कतिबेला भाँचिन्छ ? थाहा नै छैन ।

कोठा र खाटको अवस्था नाजुक भए पनि त्यो खाटमाथि र बन्द ढोकाभित्र खुसीका पलहरू सल्बलाएकै हुन् । अहिलेको अवस्था फरक भए पनि त्यो खाटले धेरैलाई खुसी हुने वातावण बनाएकै हो । जब खाट नयाँ बनेर आएको थियो, दिनहुँ जस्तो जोडीहरू रमाउने गर्थे । दैनिक जसो त्यो अन्धकारमय कोठाको खाटमा शरीरका कपडाहरू विश्राम लिन्थे । लाली ओँठहरू मर्दको पर्खाइमा हुन्थे । पातला-मोटा कम्बरहरू आपसमा  कसिन्थे । आपसमा  भोको शेरजस्तो गरी चुछचुढी गर्थे । मानौँ वर्षौदेखिको तीर्खा मेटाउँदै छन् । खाट र कोठाले कतिका घरबार बिगारे भने कतिलाई परम् आनन्द र सुखको अनुभव पनि दियो । यौवनबाधीहरूलाई स्वागत गर्यो भने यौनचारीलाई समर्थन ।

नारायण कोइराला

परिस्थिति बदलिँदै गयो । खाट र कोठाको परिवेश उस्तै भए पनि अहिले त्यहाँको वातारण बदलिएको छ । पुरानो सम्झनाले खाट र कोठालाई  झस्काउने गर्दछ ।

आजभोलि अवस्था सुध्रिएको छ । कोठाको भने होइन । अँध्यारो उस्तै छ । रात जुनेली हुँदा केही उज्यालो होला । कोठामा हुने लुछाचुँडी पनि बन्द छ । अन्धकारमा छाउने खुसीहरू बन्द भएका छन् । पहिलाजस्तो खुल्ला छाती, पोटिलो अनुहार, रातो लिपिस्टिक टलक्क टलकिँदैन । न त  कुर्था सुरवाल रातभरि शरीरबाट उत्रिएर कोठामा छरपस्ट हुन्छन् । मानौँ त्यहाँ खडेरी लागेको छ । मूल सुकेको छ । अब चाहेर पनि खुल्ला बाँधिएका केश फुकाने हातहरू आउन सक्दैनन् । जोस र जाँगरमा खाट भाँचिएला भन्ने डर पनि छैन । छ त केवल सन्नाटा । अनि अँध्यारो र डर त्रास ।

धेरै दिनको बन्दपछि पुन: त्यो कोठामा खुलेको छ । कोठा र खाट फेरि  रौनक आउने प्रतीक्षामा छन् ।

यसपालिको रौनक अलि फरक भएर आयो । कोठा र खाट यौनालयबाट परिवर्तन भैसकेको थियो । एकदम फरक । मात्र एउटी नारी त्यो कोठाको अँध्यारोसँग लड्दै थिइन् । खाट र कोठालाई पनि उनको अवस्था देखेर प्रसन्नताभन्दा दुख नै अनुभव भएजस्तो लाग्थ्यो । मध्यरात उनको छटपटाई खाटलाई भारी परिरहेको थियो । पहिलाको अवस्थाभन्दा धेरै फरक ।

रातभरिजसो छटपटाउँदा न खाटलाई आराम न त खाटमा सुत्ने उनलाई । पहिलाको अवस्था बरू राम्रो हो कि ? भन्ने जस्तो खाट र कोठालाई लागिरहेको थियो । तर उनको पीडामा कमी आएको थिएन । छटपटाइरहन्थिन् । पहिलाको अवस्था भोगिसकेका खाट र अँध्यारो कोठाले के भएको हो भन्ने कुरा प्रस्ट थाहा हुँदा पनि केही गर्न सक्ने अवस्था त थिएन । एउटा कुराले भने सताउँदै थियो । यसरी सहन नसकी रातभरि छटपटाउँदै गर्दा पनि उनको इच्छा पूरा गर्न किन कोही आउँदैनन् ? आखिर उनको पनि चाहना हो । पहिले यहाँ आएर अँध्यारो रातमा एक आपसमा कसिए पछि परिणामस्वरूप बग्ने  गरेको आनन्द।

समय बितिरहेको थियो । एउटै अवस्थाले खाट र कोठा दिक्क भैसकेका थिए । आज पनि सधैँजसो उनी कोठामा प्रवेश गरिन् । रात छिपिँदै थियो । बाहिर सुनसान भए पनि झ्यालको पुरानो पर्दा तानेर  झ्याललाई पूरै ढाक्ने प्रयास गरिन् । पर्दा पुरानो भएकोले धेरै ठाउँमा च्यातिएको थियो । त्यसतर्फ उनको ध्यान गएन ।

उनले धिपधिपे उज्यालोमा आफूलाई उभ्याइन् । झोलाबाट सानो ऐना निकालेर पुटुस्स परेक अनुहार हेर्न थालिन्। न काली न गोरी, उनको अनुहारभन्दा पनि जवानीले उनलाई जिस्काइरहेको थियो । झोलाबाट लालीपाउडर निकालिन् । मानौँ आज वर्षौँपछि उनी आफ्नो इच्छा पूरा गर्दैछिन् ।

एकछिन अलमल्ल भइन् । आफ्नो जवानी देखेर हो कि ? झोलामा रहेको फोटो पनि निकालिन् । फोटो हेरेपछि उनको अनुहारमा परिवर्तन आयो । सबै सिँगारका सामान भूइँमा राखिन् । अनुहार कालो भयो । कोठाको अँध्यारोजस्तै ।

खाटमा थ्याच्च बसिन् । हँसिलो अनुहार चाउरी परेजस्तो भयो। लम्पसार परेर खाटमा पल्टिन् । फोटो छातीमा टासिएको थियो। अँध्यारो कोठा र खाटलाई वास्तविकता बुझ्न कठिन भयो। अँध्यारोमा बिस्तारै उनको आँखा बन्द हुँदै गयो । अँध्यारो कोठामा पूर्णरूपम सन्नटा छायो ।

पूर्णरूपमा छाएको सन्नटा धेरैबेर स्थिर रहन सकेन । उनी सपनामै कराउन थालिन् । मानक कुरा सपनामा पोख्न थालिन् । ‘छि ! कस्तो जिन्दगी मेरो । पन्ध्र दिने ।’ उनी बर्बराउँदै थिइन्।

‘आउनु न’, उनको हात कसैलाई तान्दै थियो । सारी खस्काउँदै थिइन् । बाँधिएको कपाल पनि फुकाइन् । भित्री वस्त्रको फोटोमा गएर उनको नजर अड्कियो । शरीर चलमलाउन थाल्यो । एक्लै खुसीले उत्कर्षमा पुगेजस्तो गरिन् । मानौँ, प्रचण्ड गर्मीमा बर्षात् भएर शीतलता छाउने अवस्था आउँदैछ । उनको हातले शरीरको कुनै अङ्ग बाँकी राखेन । मानौँ, कसैले उसलाई साथ दिएको छ ।

सपनीको छट्पटीले अँध्यारो कोठा र खाटलाई कुनै असर गरेको थिएन । पहिला नारीपुरुष खाट र अँध्यारो कोठामा लडीबुडी गर्थे । तर आज उनी एक्लै । उनको सङ्घर्ष बढी रह्यो । हात फोटोमा गएर ठोकियो । उनले विस्तारै सन्तुष्ट  भएको  महसुस गरिन् ।

एक्कासी सपनाबाट बिउँझिन् उनी । फोटो उठाइन् । लामो सास फेरिन् । फोटोमुनि जन्म र मृत्युको मिति थियो । ‘माफ गर्नुहोला’ भन्दै फोटो हेरिन्। अँध्यारो कोठा र खाटले उनको पीडा बुझे । उनको मन शान्त त भयो, भविष्य भने अँध्यारो कोठाजस्तै थियो ।