बर्सातको महिना सकियो । सधैँ बादलले ढाक्ने आकाश पनि अब खुला र निर्मल देखिन थाल्यो । बर्सातमा आउने बाढी र पहिरोबाट भएको धनजनको क्षतिका समाचारमा कमी आएको थियो । बरु बलात्कारपछिको हत्या र यौन हिंसा, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, कम्पुटरको सिस्टम नै ह्याक गरेर ए.टी.एम.बाट बैङ्कको रकम अवैध तरिकाले झिकेका आदि र यस्तै-यस्तै घटनाहरू भने दिनहुँजसो बढिरहेको थियो । हिउँद लागेपछि शरद् ऋतुका दिनहरू यसै पनि रमाइलो हुने नै भयो । असोज महिना लागेपछि जताततै दसैँको चहलपहल पनि प्रारम्भ भैसकेको थियो । राजधानी छोडेर आफ्नै थलोमा नै दसैँ मनाउन घर जानेहरूलाई यात्राका निम्ति टिकटको चिन्ता भने सधैँकोझैँ उस्तै थियो ।

धनमाया र नैनराम दुवै जना मिलेर पूरै दिन घरको सरसफाइ र लिपपोतको काममा बिताए । पुरानै भए पनि घर रातो माटो र सेतो कमेराले पोतेपछि चिटिक्क परेको थियो । धन्न भुईँचालाले पछाडिपट्टिको गाह्रो अलिकति मात्र धाँजा फाटेको थियो । त्यसलाई पनि माटो र गोबरले लिपेर मर्मत गरिएको थियो ।

घरको काम सकेर नैनराम कुखुराको भाले किन्न बजारतिर गयो । घाम पश्चिमको डाँडामाथिबाट चिहाउन थालिसकेको थियो । पश्चिम आकाशमा देखिएको सेतो बादलमा अस्ताउँदै गरेको सूर्यकिरणले रातो लालिमा छरेपछिको गोधूलि साँझ अझ खुलेको थियो । बादलको बिचबाट छिरेर आएको घामको रातो किरण घर अघिल्तिरको आँपको पातमा टल्किरहेको थियो । धनमाया चुल्हामा आगो फुक्दै थिई । आज उसले धेरै नै काम गर्नुपरेकाले थकाइ पनि निकै लागेको थियो । चाँडै खाना खाएर सुत्न पाए अलिकति थकाइ मेटिन्थ्यो कि भन्ने उसको आश थियो । किनकि भोलि फेरि देवीथानमा पूजा गर्न जानु छ । त्यो पनि सबेरै ।

उसको सात आठ वर्षको छोरो सन्तुराम बाहिरबाट भित्र पस्यो । घरभित्र धुवाँ नै धुवाँ भरिएकाले उसले आँखै हेर्न सकेन । उसको आँखा पिरो भयो र ऊ तुरुन्तै बाहिर निस्कियो । दाउरा अलिअलि काँचै परेछ । यो वर्ष धेरै पानी परेकाले दाउरालाई घाममा सुकाउन पाएकी थिइन । काँचो दाउरा बल्नुभन्दा पनि बढी धुवाँ मात्र फ्याँकिरहेको थियो । आगो बल्दै नबलेपछि धनमायाले कपासको बत्तीलाई तेलमा चोपी अनि सलाई कोरेर बाली र धुवाँइरहेको दाउरामाथि राखी । आगो धपक्क बल्यो । धुवाँको एउटा मुस्लो आगाको ज्वालाभन्दा पहिले नै माथि-माथि उड्यो र कोठाभरि फैलियो ।

दिव्य गिरी

घाम पूरै अस्ताइसकेको थियो । नैनराम अझैसम्म पनि आएको थिएन । धनमायालाई चिन्ता लाग्न थाल्यो । चिन्ता यस कारण कि कतै लोग्ने भट्टीभित्र पसेर जाँड धोकिरहेको त छैन । यदि त्यसो हो भने त बरबादै हुन्छ । पहिले एकपटक पनि त्यस्तै गरेको थियो । घरको किनमेल गर्न बजार गएको नैनराम मध्यरातमा जाँड धोकेर दस ठाउँमा लड्दैपड्दै घर आएको थियो । किनमेल भने केही पनि ल्याएको थिएन । उसले सबै पैसा भट्टीमा जाँड खाएरै सिध्याएछ । नैनरामले चाहिँ रुपियाँ जति सबै पकेटमारियो भन्यो । धनमायाले थाहा पाई कि उसले झूट बोलेको हो । अनि त धनमाया र उसको यसै विषयमा ठुलै झगडा भयो । कति दिनसम्म त लोग्नेस्वास्नीबिच बोलचालै पनि बन्द भयो । नैनरामको एउटा बानी के छ भने ऊ भट्टीमा भेटिएका साथीलाई पनि आफ्नै पैसाले जाँड ख्वाउँछ र खल्ती नरित्तिएसम्म आफू पनि जाँड खान्छ तर कहिले पनि उधारोमा जाँड खाएर हिँड्दैन । आज कुखुराको भाले किन्न भनेर धनमायाले बल्लबल्ल जोगाएर राखेको दुई हजार रुपियाँ नैनरामलाई दिएर पठाएकी थिई । भोलि दसैँको नवमीको दिनमा देवीथानमा एउटा भाले पनि पूजा गर्नुपर्ने थियो ।

बाहिर खेल्न गएको उसको छोरो सन्तुराम अर्थात् सन्ते दौडिँदै भित्र पस्यो र भन्यो, “आमा! आमा! बाबाले भाले ल्याए ।”

धनमाया हत्तनपत्त बाहिर निस्की । दुईओटा कुखुराको भालेलाई दुवैतिर काखीमा च्यापेर नैनराम आँगनमा आइपुगेको रहेछ । त्यो देखेर धनमाया दङ्ग परी । उसले केहिछिनअघि गरेको शङ्का पनि सबै बिर्सी ।

नैनरामले धनमायालाई एउटा भाले समाउन दियो । उसको मुखबाट ह्वास्स निस्केको जाँडको गन्ध धनमायाको नाकमा ठोकियो । उसले नाक खुम्च्याउँदै भनी, “आज पनि पिएरै आयौ नि ?” नैनराम फिसिक्क हाँस्यो मात्र । अनि नैनरामले पिँढीको कुनामा राखेको डोकाभित्र मझेरीको कुनामा राखेर दुईओटै भालेलाई एउटै डोकाभित्र राख्यो र आधा फुटेको जाँताले डोकालाई माथिबाट थिचिदियो । एउटा भाले निक्खर कालो थियो भने अर्को छिरबिटे सेतो । दुवै भाले फटफटाउँदै डोकाभित्र कुक्ककुक्क गर्दै घुम्न थाले । त्यो देखेर सन्तुराम अर्थात् सन्ते दङ्ग पऱ्यो । अनि खुसीले रमायो । नैनरामले खल्तीबाट झिकेर सन्तेलाई एउटा चकलेट चियो । सन्ते चकलेट चुस्दै डोकाको नजिक टुक्रुक्क बसेर भालेलाई हेर्न थाल्यो ।

“ए, तँ धेरै ढेस्सिएर नबस् । डोको ढल्यो भने त भाले भाग्छ नि ।” धनमायाले छोरोलाई भनी । सन्ते अलिक पछाडि सरेर बस्यो । नैनरामले छोराको पाखुरामा समाएर उठाउँदै भन्यो, “जाऊँ हिँड् हामी रेडियो सुनेर बसौँ । दुर्गामाताको राम्रो भजन सुन्न पाइन्छ ।”

“पर्दैन पर्दैन रेडियोसेडियो सुन्न । त्यो सुनेर के हुन्छ नसुनेर के जान्छ । त्यसले पनि नेताको चाहिँदा नचाहिँदा भाषण मात्र सुनाउने हो । यत्रो महँगी बढेको छ । दिनदिनै बलात्कार गरेर छोरीचेली मारेको खबर मात्र सुनाउँछ । जताततै अशान्ति छ । सरकार भन्ने पनि आँखा र कान नै नभएको जन्तुजस्तो पो छ । नेता र मन्त्री भनाउँदाहरू पनि आफैँ मात्र पैसा कमाउन दौडेका छन् । माओवादीहरू पनि पहिले त निकै ठुलाठु-ला गर्थे । अहिले आफैँ र आफ्नालाई मात्र मोज गराएर बसेका छन् । एउटा राजा लखेटेर छ सय एक राजा भएका छन् । अहिले त झन् गाउँ-गाउँमै राजा बनेका छन् रे । हामी गरिबलाई हेर्ने कोही छैन । जनताको पिरमर्का कसले हेर्ने ? दुःख जति सबै गरिबको भागमा रहेछ ।”

धनमायाले एकै सासमा नरोकिईकन भनी । मनको असन्तोष सबै सन्तेलाई सुनाई । धनमाया पढेलेखेकी नभए पनि आजभोलि ऊ यस्ता कुरा गर्न सक्ने भएकी छ । नैनराम स्वास्नीको कुरा सुनेर चुपचाप उभिइरह्यो । सन्ते भने फेरि पनि डोको वरिपरि घुमी-घुमी कुखुराको भालेलाई हेर्दै थियो ।

“बा! बा! यो छिरबिटे भाले धेरै राम्रो छ । यसको आँखा पनि चम्केको छ । कान र पुच्छर पनि लामो छ । यो भाले मलाई असाध्यै मन पऱ्यो । भोलिदेखि यसलाई म आफैँ भात दिन्छु ।” सन्तेले बाबुको अनुहारमा हेर्दै भन्यो ।

“आजको एक रात मात्र हो नि । भोलि बिहान देवीथानमा लगेर पूजा गर्नुपर्छ ।” नैनरामले डोकामाथि राखेको जाँतालाई एकपटक उचालेर फेरि डोकामाथि नै राख्दै भन्यो ।

“कहाँ पूजा गर्ने बा ? भालेको पनि पूजा हुन्छ ?” सन्तेले उत्सुक हुँदै सोध्यो ।

“माथि देवीथानमा पूजा गर्ने । भालेको पूजा होइन, भालेलाई काटेर देवीलाई चढाउने अनि घर ल्याएर भालेको मासु र भात खाने । भोलि तँ पनि हामीसँगै देवीथान जानुपर्छ ।” नैनरामले सम्झायो ।

बाबुछोराको कुरा सुनिरहेकी धनमायाले भातको कसौँडीलाई भुईँमा राख्दै भनी, “भोलिको दिन नवमी हो । त्यसैले देवीथानमा धेरै भिड हुन्छ । गाउँलेहरू सबै जान्छन् । हामी पनि चाँडै गएर छिटै फर्किनुपर्छ ।”

भालेलाई काट्ने कुरा सुनेपछि भने सन्तेको मन खिन्न भयो । भालेको टाउको, सिउर, आँखा, चुच्चो र घुम्रेको पुच्छर सबै-सबै उसलाई निकै मन परेको थियो । अनि उसले रुन्चे स्वरमा भन्यो, “बा, यो एउटा भालेलाई चाहिँ नकाट्ने है । यसलाई हाम्रै घरमा पालेर राख्ने । यति राम्रो भालेलाई काट्नु हुन्न । म त यसको मासु पनि खान्न ।” यति भन्दै सन्तेले फेरि पनि हातको औँला डोकाको प्वालबाट छिराएर छिरबिटे भालेको पुच्छर समाउने कोसिस गऱ्यो ।

सन्तेको कुरा सुनेर दुवै लोग्नेस्वास्नी छक्क परे ।

“यो त के-के भन्न थाल्यो थाल्यो । यसलाई लिएर तपाईँ बाख्राको पाठो हेर्न जानुस् । बाहिरतिर निस्के कि ।” धनमायाले नैनरामतिर हेर्दै भनी ।

यत्तिकैमा बाहिर कुकुरको छाउरो सानो स्वरमा भुक्यो । सात दिन पहिले बाख्रीले दुईओटा पाठापाठी पाएकी थिई — एउटा पाठो र अर्को पाठी थिए । बाख्रीले एउटा पाठो पाइदिएकामा धनमायाको खुसीको सीमा थिएन । ऊ निकै दङ्ग परेकी थिई । किनकि अर्को वर्ष देवीथानमा चढाउन भाले वा बोको किन्नै पर्दैन यही पाठो ठुलो भइहाल्छ ।

नैनराम बाहिर निस्क्यो । उसले जानकीलाई आँगनमा आइपुगेको देख्यो । जानकीको घर उसको घरभन्दा तल थियो ।
“दिदी हुनुहुन्छ ?” जानकीले सोधी ।

“भित्रै छे ।” नैनराम जबाफ दिएर गोठतिर गयो ।

जानकी भित्र पसी ।

“दिदी, भोलि बिहान कुन वेला जाने हो । म पनि जान्छु । नानीको पास्नीको भाग लानु छ । देवीको दर्शन पनि गराउनु छ ।” जानकीले भनी ।

“अँ, चाँडै जान पाए हुन्थ्यो । नवमीको दिन देवीथानमा धेरै भिड पो हुन्छ । त्यहाँ बस्ने ठाउँ पनि छैन । मेरो घुँडा पनि दुखिराखेको छ । धेरै बेर उभिन सक्दिनँ ।”

“हो, दिदी पोहरको वर्ष कति दुःख पाइयो । त्यसैले अहिलेको पटक हामी चाँडै जानुपर्छ ।” जानकीले भनी ।
नैनराम भित्र पस्यो ।

“धेरै दिनपछि आयौ त ?” नैनरामले जानकीसँग सोध्यो ।

“नानी वेला-वेलामा बिरामी भएर हैरान भयो । कहिले हेल्थपोस्ट, कहिले धामीझाँक्रीलाई देखाउँदैमा दिन बित्यो । बल्ल अलिक बिसेक भएको छ ।” जानकीले कारण बताई ।

डोकाभित्रको कालो भाले ठुलो-ठुलो स्वरमा करायो । पखेटा फटफटाउँदै डोकाभित्र घुम्न थाल्यो । सन्तेले डोकाको प्वालबाट औँला छिराएर भालेको पुच्छर तानिदिएछ ।

“ओहो, भाले त दुइटा ल्या’रछ नि दिदी ? पूजालाई त होला नि ?” जानकीले सोधी ।

“हो नि, भर्खरै मात्र ल्या’को ।” नैनरामले भन्यो ।

“कति पऱ्यो दाम ?”

“पऱ्यो नि, दुइटाको टक्रक्क सोह्र सय ।”

“कति महँगो ? हामीले बेच्न लैजाँदा एक हजार दिए धन्न, त्योभन्दा बढि दिँदैनन् ।”

“के गर्ने त्यो पनि साँझ-साँझको समय भएर मात्रै हो । नत्र यतिमा त कहाँ पाइन्छ र ? दलालीको हातमा परेको भए दुई हजार घटी दिँदैनथे ।” यति भन्दै नैनरामले सन्तेतिर हेर्दै भन्यो, “ए केटा, उठ् । तैँले भालेको पुच्छर मात्र तानिस् ।”

नैनरामले छोराको पाखुरामा समातेर उठायो तर सन्ते आमानजिक गयो र त्यहाँबाट पनि भालेलाई थुनेको डोकोतिर टुलुटुलु हेर्न थाल्यो ।

“दाजु, म पनि भोलि तपाईँहरूसँगै देवीथान जान भन्न आएकी । वनको बाटो एक्लै जाने कुरा भएन ।” जानकीले आउनुको कारण बताई ।

“हुन्छ हुन्छ, बरु ढिला चाहिँ नगर्नू ।” धनमायाले अगेनामा दाउरा घचेट्दै भनी ।

“अनि के पो छ नि लाहुरेको खबर ?” नैनरामले जानकीको लोग्नेका बारेमा सोध्यो ।

“के हुनु नि, तीन महिना पहिले एकपटक फोनमा कुरा भएथ्यो । यहाँबाट जुन काम गर्न भनेर लगेको हो त्यो काम होइन रे । यहाँबाट त बेकरी कारखानामा काम गर्न भनेर लगेका । उहाँ गएपछि त अर्कै काम गर्नुपर्छ भनेर एउटा मुसलमानको उँट चराउने काममा पो लगाको छ रे । आगाजस्तो गर्मी छ रे । मरुभूमिमा कतै केही देखिन्न । साहू महिना दिनमा एकपटक आउँछ । त्यो पनि भाषा बुझिन्न । साह्रै दुःख छ । भन्नुहुन्थ्यो ।” जानकीले दिक्क मान्दै भनी ।
“पैसा नि पैसा ? कति पठाए त ?”

“अहिलेसम्म पठाएकै छैन । यहाँ सासुआमा पिरर गरेर सधैँभरि रुनु मात्र हुन्छ । लोग्ने बितेको वर्षदिनमै छोराले पनि छोडेर गयो भनेर गुनासो पोखिरहनुहुन्छ ।” जानकीले दुखेसो सुनाई ।

“अरूको लहै-लहैमा लागेर जानै नपर्ने मान्छे गयो । यहाँ खान लाउन पुगिहाल्थ्यो । एकपटक मलाई पनि जाऊँ भन्न आएको थियो । मलाई विदेशमा गएर अकालमा मान्छे मरेको सुनेपछि खानै नपाए पनि जान्न भन्ने लाग्यो । फेरि तेत्रो पैसा कहाँबाट पाउनु । ऋण तिर्न पनि सक्नुपऱ्यो । भएको दुई-चार रोपनी जग्गा पनि बन्धकीमा साहूलाई नै दिनुपऱ्यो भने के खाने ?” नैनरामले भन्यो ।

नैनरामको कुरा सुनेर धनमायाले भनी, “यिनी किन जान्थे त ? मरिमरि काम गर्ने म छँदै छु । ज्याला गरेर ल्याएको पैसामा यिनले जाँड धोक्न पाएकै छन् । पैसाको खाँचो भए पो जान्थे । आफूले कमाएको पैसा भने रातो हो कि कालो हो मलाई देखाउने होइनन् । आज यो भाले किन्न त मैले नै पैसा देको ।”

“यसका कुरा नपत्याऊ है । मैले गरेको त केही पनि देख्दिन । खाली जाँड खाएको बखान मात्र गर्छे । त्योबाहेक अरू कुरै गर्न जानेकी छैन । आफूले पनि वेला-वेलामा तुन्क्याको चाहिँ बिर्सिन्छे । कहिलेकाहीँ यसो दिक्क लागेका वेला त अलिकति खानैपऱ्यो नि, हैन त जानकी ! तिम्रो बुढो पनि जाँड भनेपछि हुरुक्कै हुन्थ्यो । अहिले सम्झी-सम्झी कल्पेर बसेको होला ।” नैनरामले जानकीतिर फर्केर हाँस्दै भन्यो ।

“सबैको यस्तै हो दाजु, अब फेरि झगडा गर्ने कुरा नर्गनुस् । म जान्छु । भोलि बिहानै आउँछु ।” जानकी यति भन्दै बाहिर निस्की । बाहिर राम्रै अँध्यारो भइकेको थियो ।

धनमायाले राति तीन बजेदेखि नै उठेर नुहाई । देवीथानमा पूजा गर्ने सरसामान ठिक पारी । नैनराम र उसको छोरो अझै सुतिरहेका थिए । बाहिर कतैकतै कुकुर भुकेको आवाज सुनिन्थ्यो । त्योबाहेक चारैतिर चकमन्न थियो ।

गाउँमा बिजुलीबत्ती अझैसम्म पनि पुगेको थिएन । गाउँलेहरू टुकीकै उज्यालोमा बस्न बाध्य थिए । गाउँमा बिजुली ल्याउने भनेर धेरै वर्ष पहिलेदेखि गाडेका काठका खम्बाहरू कोही ढलिसकेका थिए भने कोही ढल्ने अवस्थामा थिए । हरेक पटकको चुनावमा भोट माग्न आउने नेताहरू हामीलाई जिताउनुभयो भने जसरी पनि गाउँमा बिजुली बालिदिन्छौँ भन्थे । चुनावपछि तिनीहरूको अत्तोपत्तो हुँदैनथ्यो । चुनाव आउँथ्यो जान्थ्यो । नेता आउँथे जान्थे तर तिनीहरूको आश्वासन केवल दिवास्वप्नमा परिणत हुन्थ्यो । गाउँमा बिजुली मात्र होइन पानी छैन । विद्यालय छ शिक्षक छैन । हेल्थपोस्ट छ डाक्टर छैन । गाउँमा छ त केवल दुःख छ । सकस छ । अभाव छ । महँगी छ । बाढी र पहिरो छ । गाउँ अहिलेसम्म पनि चौधौँ शताब्दीकै युगमा छ जस्तो । अशिक्षा, गरिबी, अन्धविश्वास, रूढिवाद आदि यथावत् नै छन् ।

पोहोरको वर्ष नैनरामको छोरा सन्तुराम निकै बिरामी परेको थियो । झन्डै-झन्डै मृत्युको मुखमा पुगिसकेको । धन्न बाँच्यो । उसको घरबाट स्वास्थचौकीमा पुग्न तीन घण्टा हिँड्नुपर्छ । स्वास्थचौकीमा पनि एउटा बुढो पालेबाहेक कोही हुँदैनन् । त्यो बुढो पालेले दिने भनेकै सिटामोलको दुई-चारओटा चक्की हो । त्यही पनि कहिले त सकिएको हुन्छ । एकदिन धनमायाले बिरामी छोरालाई बोकेर स्वास्थ चौकीमा पुऱ्याई तर त्यहाँ पालेले दिएको चारओटा सिटामोलको चक्की ख्वाएर छोरोको रोग निको भएन ।

सन्तरामलाई वेला-वेलामा पेट दुख्थ्यो । कहिलेकाहीँ बान्ता पनि हुन्थ्यो । अनुहार पनि पहेँलो भइकेको थियो । दुब्लो तर पेट भने ठुलो देखिन्थ्यो । एक दिन बिरामी छोरालाई लिएर ऊ पिँढीमा बसेर दिक्क मानिरहेकी थिई । त्यही दिन डाँडाघरका पण्डित बाजे उसैको घरको बाटो जाँदै गरेको धनमायाले देखी । अनि उनै पण्डितसँग छोराको अवस्था सुनाई । दुःखको पुकारा गरी । रोई । पण्डित बाजेले सन्तुको नाडी छामे । आँखा र जिब्रो हेरे । पेट थिचेर हेरे । अनि उनले धनमायालाई आज बेलुका सुत्ने वेलामा छोरालाई एक डाडु घिउ तताएर मनतातो खान दिनू भने ।

धनमायाले गाउँमा गएर घिउ खोजेर ल्याई । पण्डित बाजेले भने जसरी बेलुका नै छोरालाई घिउ तताएर खान दिई । भोलिपल्ट सन्तुरामको पेटबाट दस-बाह्रओटा जुकाहरू दिसासँगै आयो । त्यो देखेर धनमाया र नैनराम छक्क परे । अर्को दिन पनि दुई-तीनओटा जुका फेरि दिसामा देखियो । त्यसपछि सन्तुरामको पेट दुख्न निको भयो । वाकवाकी रोकियो र बिस्तारै तङ्ग्रिँदै आयो ।

धनमायाले छोरा निकै बिरामी भएपछि एकदिन देवीलाई कुखुराको कालो भाले चढाउने भाकल गरेकी थिई । एक काम दुई पन्थ भनेझैँ यता दसैँ पनि मनाउन पाइने र अर्कातिर देवीको भाकल पनि पूरा हुने भएर नै धनमायाले नैनरामलाई दुईओटा भाले किन्न पठाएकी थिई । एउटा दसैँका लागि र अर्को कालो भाले भाकल पूजा गर्नको लागि । दुईओटा भालेको मासु भएपछि त दसैँ पनि टर्ने भइहाल्यो । छोरा बिसेक पारिदेऊ भनेर देवीलाई भाकल गरेको कुरा उसले नैनरामलाई दसैँ आउनु केही दिन पहिले मात्र सुनाएकी थिई ।

“दिदी! दिदी!” भनेर जानकीले बोलाई । धनमायाले ढोका उघारेर हेरी । जानकी सानी छोरीलाई पिठ्युँमा बोकेर आँगनमा उभिरहेकी थिई । पूजाको सरसामान राखेको झोला दाहिने काँधमा तेर्सो पारेर झुन्डाएकी थिई ।

“भित्रै आऊ । मैले त सबै तयार पारिसकेँ । बुढो र छोरो मात्र उठेका छैनन् । तिमी बस्दै गर म दुवै जनालाई उठाएर आउँछु ।” यति भन्दै धनमाया भर्याङ चढेर माथितिर गई । जानकी मझेरीमा नै उभिइरही ।

धनमाया छोरालाई लिएर तल ओर्ली । उसले छोराको मुख धोइदिई । नयाँ लुगा लगाइदिई । नैनराम पनि तल ओर्लियो । बाहिर आँगनमा गएर मुख धोयो । त्यतिकैमा डोकाले छोपेर राखेको एउटा भाले बास्यो । लगत्तै अर्को भाले पनि बास्यो । भाले बासेको सुनेर सन्तुराम भने डोकानजिक गएर भालेलाई हेर्न थाल्यो ।

“लौ उज्यालो नै भयो कि के हो ? भाले पनि बास्यो । चाँडै जाने भन्दाभन्दै ढिला पो भइकेछ” नैनरामले भन्यो ।

धनमायाले छिटोछिटो पूजासामानको पोको बोकी । नैनरामले डोरीले दुईओटै भालेको दुवै खुट्टा बाँध्यो । दुईओटै भाले छटपटाउँदै कराए । नैनरामले दुईओटै भालेलाई एउटा ठुलो झोलाभित्र राख्यो । दुवै भालेको टाउको मात्र देखाएर काखीमा च्याप्यो । धनमाया, नैनराम, सन्तुराम र जानकी बाहिर निस्किए । कुकुरको छाउरो आएर नैनरामको गोडामा लुटुपुटु गर्न थाल्यो । नैनरामले छाउरालाई च्याप्प समातेर गोठभित्र लगेर राख्यो तर पनि छाउरो भुक्दै थियो ।

नैनराम अघि-अघि, धनमाया र छोरा सँगसँगै र त्योभन्दा पछि जानकी वनको बाटो उकालो चढ्दै थिए । बाटोमा अरू यात्रुहरू कोही थिएनन् । तीनै जना गफ गर्दै-गर्दै हिँडिरहेका थिए । वर्षाको भेलले माटो बगाएर ठाउँ-ठाउँमा ससाना खाल्डाखुल्डी परेको थियो । कहिले कहिले ढुङ्गामा ठेस पनि लाग हाल्थ्यो । बाटामा रुखबाट खसेका पात पतिङ्गर थिए । त्यसमा टेक्दा पनि खुट्टा चिप्लिन्थो । कतै तेर्सो, कतै ओरालो, कतै उकालो र कतै समथर बाटोमा हिँडिरहेका थिए उनीहरू ।

“आमा आमा, हामी अँध्यारोमा यो वनमा किन आ’को ?” सन्तुरामले सोध्यो ।

“माथि देवीथान जाने भनेर हिजो नै भनेको हैन मैले ।” धनमायाले भनी, “यो सन्ते सबै कुरा बिर्सिन्छ । तीन वर्षपहिले पनि त मैले यसलाई देवीथानमा ल्याएकै हो ।”

“अनि भालेलाई पनि किन ल्या’को नि ?” उसले सोध्यो ।

“देवीमातालाई चढाउन, किन भन्नु अब !” धनमायाले झर्केर भनी ।

“चढाउने भनेको के हो आमा ?” सन्तेले फेरि सोध्यो ।

“यो भालेलाई काटेर यसको रगत देवीमाताको शिरमा छर्कने । मासु चाहिँ हामीले खाने । अब त कुरो बुझिस् ?” धनमायाले रिसाउँदै भनी ।

“आमा, मलाई यो छिरबिटे भाले धेरै मन पर्छ । त्यसलाई नकाट्ने है । म यसलाई दाना दिन्छु । योसँगै खेल्छु । मलाई यसको आँखा र टाउको निकै राम्रो लाग्छ ।” सन्तुरामले अलिक रुन्चे स्वरमा भन्यो ।

“हैन, यसलाई कति चासो लागेको हो । केटाकेटी भएर धेरै जान्ने हुनुहुन्न ।” बल्ल नैनरामले भन्यो ।

जानकीलाई ठेस लाग्यो । ऐया ! भन्दै धनमायालाई समाउन पुगिहाली । धनमायालाई समाउन नपाएकी भए लड्थी होली ।

“के गरी हिँडेको ? हरे, कसो लडिनस् । सानो बाटो यसो दायाँबायाँ खुट्टा गयो कि कतै न कतै ठोकिन पुग्छ ।” धनमायाले भनी ।

जानकीले पिठ्युँमा बोकेकी छोरीलाई अझ माथितिर ठेल्दै भनी, “म लडेको भए यो पनि घाइते हुन्थी । यो त अझैसम्म पनि भुसुक्कै निदाएकै छे ।”

छोरालो भाले नकाट्ने भनेको कुरा सुनेर नैनरामको मनमा लाग्यो कुखुराको भाले छोरालाई निकै मन परेछ ।

केटाकेटीहरू जे देख्यो त्यै लिन खोज्छन् । त्यसैमा रमाउँछन् । अब कसरी यसको मन अन्तै फर्काउने होला । ऊ सोच्दै थियो । यत्तिकैमा ऊ आफैँ पनि विगततिर फर्कियो । आफू सानो हुँदाको घटना सम्झिन थाल्यो ।

त्यस बखत ऊ पनि त्यस्तै छ सात वर्षको हुँदो हो । दसैँमा उसको बाबुले पनि एउटा खसी किनेर ल्याएका थिए ।

सानो-सानो चिटिक्क परेको राम्रो थियो खसी । दुवै सिङको बिचमा गोलाकारको सेतो रौँ थियो । कालो खसीको निधारमा त्यो सेतो रौँको गोलाकार टीका लगाएको जस्तो देखिन्थ्यो । उसको बाबुले अष्टमीको दिनभन्दा चार-पाँच दिन पहिले नै खसी किनेर ल्याएको हुनाले केही दिन त खसीलाई पाल्नुपर्ने भयो । खसीलाई देखेर नैनराम निकै रमाएको थियो ।

खसीलाई घरको पिँढीमा बाँधेको थियो । नैनरामलाई देखेपछि खसी पनि म्याँ म्याँ गरेर कराउँथ्यो । ऊ पनि घरपछाडि बारीमा गएर घाँस उखेलेर ल्याउँथ्यो र खसीलाई दिन्थ्यो । खसी घाँस खाँदै वेला-वेलामा ऊतिरै हेर्थ्यो । खसीले म्याँ म्याँ गरी कराएको उसलाई निकै मन परेको थियो ।

अष्टमीको दिन उसको बाबुले आँगनको कुनामा आगो बालेर खड्कुलामा पानी तताउन थाले । त्यो देखेर उसले सोध्यो, “बा ! यो पानी किन तताएको ?”

“खसी खुइल्याउन । आज दसैँ खसी काटेर मासुभात खाने दिन हो नि । तँलाई खसीको दुइटै कान दिउँला नि हुन्न ?” बाबुले उसलाई हेर्दै भने ।

“ए, त्यो खसीलाई काट्ने ?” उसले पिँढीमा बाँधेको खसीतिर देखाउँदै सोध्यो ।

“हो ।” बाबुले निभ्न लागेको आगो फुक्दै यति मात्र भने ।

खसीलाई काट्ने कुरा सुनेपछि उसलाई कस्तो-कस्तो लाग्यो । खसी पिँढीको कुनामा घाँस चपाउँदै कहिले पानी तताएतिरै हेर्थ्यो अनि कहिले उसलाई पनि हेरेर म्याँ म्याँ गर्थ्यो ।

“नाइँ बा, म मासु पनि नखाने, खसी पनि नकाट्ने ।” उसले निश्चिन्त भएर भन्यो ।

“के भन्छ यो ? दसैँमा मासु नखाए के खाने ? मासु खान खसी नकाटे के काट्ने ? फर्सी मात्रै खास्छस् त ?” उसको बाबुले आगामा दाउराका टुक्राटाक्री थप्दै भने ।

बाबुको कुरा सुनेर ऊ एकछिन जिल्ल पऱ्यो । वल्लोघर पल्लोघरको आँगनबाट पनि धुवाँ उठेर आकाशतिर गइरहेको थियो । मानिसहरूले कल्याङमल्याङ गरेको आवाज आइरहेको थियो । कुनै-कुनै घरमा खसीबोका कराएको आवाज पनि सुनिन्थ्यो ।

“के हेरिरा’को ? ऊ त्यो एउटा ठुलो दाउरो ले, आगाको ज्वाला नै पुगेन । पानी तात्नै बेर लाग्ने भो ।”

उसकी आमा मनकुमारी बाहिर आई अनि तेल र बेसार राखेको एउटा कचौरा लोग्नेलाई दिँदै भनी, “यो सबै राम्रोसँग दल्नु नि नैनेको बा । पहेँलै पार्नुपर्छ । नत्र भने अरूको आँखा लाग्छ ।”

मनकुमारी भित्र पसी । नैनरामको मनमा भने अझै पनि खुलदुली मच्चिरहेथ्यो । ऊ दौडेर आमाछेउ गएर फेरि पनि भन्यो, “आमा! आमा! खसीलाई नकाट्ने है ? बालाई भन्देऊ न ।”

छोराको कुरा सुनेर मनकुमारी पनि छक्क परी । छोराको अनुहारमा हेरी । उसको अनुहार रुन्चे देखिन्थ्यो ।

“दसैँमा सबैको घरमा खसीबोका काट्छन् । हामीले पनि खसीलाई काट्न ल्या’को हो । खसीलाई नकाटी मासु खान पाइन्न । दसैँमा सबैले नयाँ लुगा लगाएर मासुभात खाने चलन छ । केटाकेटी भएर यस्तो जिद्धी गर्नु हुन्न । बरु काट्ने वेलामा हेर्नु हुन्न । जा माथि गएर बस् ।” मनकुमारीले फकाउने हिसाबमा भनी ।

“मलाई त्यो खसीको असाध्यै मायाँ लाग्छ आमा । मलाई मात्र हेरिरहन्छ । मैले दिएको घाँस पनि रमाई-रमाई खान्छ । त्यस्तो खसीलाई पनि काट्न हुन्छ ? नाइँ म त खसी काट्नै दिन्न ।” उसले जिद्दी गर्दै घुर्की पनि देखायो ।

त्यसपछि नैनरामले खसी घरमा ल्याएको दिनको घटना पनि सम्झियो । उसको बाबुले खसीलाई घरमा ल्याएपछि उसले खसीको कान समात्यो । खसीको सिङ समातेपछि खसीले टाउको झट्कार्दा सिडले झन्डै उसको गालामा लागेथ्यो । ऊ जतिखेर पनि खसीनजिक बस्थ्यो । उसले खाएको, कराएको र डोरी तन्काएर फुत्कने कोसिस गरेको हेरिरहन्थ्यो । त्यसरी तीन दिनमा नै उसका निम्ति खसी प्यारो भइकेको थियो । साथीजस्तो लाग्थ्यो उसलाई ।

अन्ततः नैनरामको केही सिप लागेन । उसको बाबुले खसी काटिछोडे । हेर्दाहेर्दै सिङ्गो खसी टुक्रा-टुक्रा भयो । तब उसको अगाडि खसीको सट्टा मासुको थुप्रो मात्र देखियो । नैनरामलाई भने मासु खान पनि मन लागेन । भान्छामा पाकेको मासुको गन्ध घरभित्र र आँगनभरि फैँलिएको थियो । उसलाई धेरै दिनसम्म खसीको सम्झना आइरह्यो ।

आज नैनरामसँग छोराले पनि आफूले बाबुसँग गरेको जस्तै कुरा गऱ्यो । जसरी त्यो वेला खसीमा उसको मन गएको थियो त्यसै गरी उसको छोरा सन्तुरामको पनि आज भालेमा मन गयो । अनि नैनरामले छोरालाई फकाउँदै भन्यो, “हेर, सन्ते यो भाले हामीले देवीमातालाई चढाउन भनेर किनेर ल्या’को हो । यदि देवीमातालाई भाले चढाएनौँ भने तँ फेरि पनि बिरामी पर्छस् । तँ बिरामी भएका वेलामा तेरी आमाले देवीमातालाई खुसी पारेर तेरो व्यथा निको पार्न भनी कुखुराको भाले चढाउने भाकल गरेकी हो । त्यसपछि मात्र तेरो रोग पनि बिसेक भएको हो ।”

बाबुको कुरा सुनेपछि सन्तुराम केही बोलेन । उसले कति कुरा त बुझेन पनि । भाकल भनेको के हो उसलाई के थाहा । उसले एकपटक फेरि बाबुले काखीमा च्यापेको भालेलाई हेऱ्यो । दुवै भाले चुपचाप झोलाभित्र बसिरहेका थिए ।
कोही-कोही गाउँलेहरू उनीहरूलाई उछिनेर अगाडि लम्किरहेका थिए । त्यत्तिकैमा सानो बुट्यानबाट एउटा वनबिरालो फुत्त निस्केर बाटोपारि गयो । नैनराम र धनमायाले देखिहाले । उनीहरू हिँड्दाहिँड्दै दुवै जना टक्क रोकिए ।

“किन नहिँडेको ?” पछिपछि आएकी जानकीले सोधी ।

“ऊ क्या त डाम्नाले बाटो काट्यो । सानोतिनो होर ? कालो न कालो ढाडे रहेछ डाम्नो । धनमायाले बिरालो गएतिर देखाउँदै भनी । बिरालो भने बेपत्ता भइकेको थियो ।

“यो डाम्नालाई यति बेलै निस्कनुपरेको । बिरालाले बाटो काटेको राम्रो होइन भन्छन् ।” धनमायाले दिक्क मान्दै फेरि पनि भनी ।

“घरतिरको होइन, वनमा त यस्तो भइहाल्छ नि दिदी । धेरै शङ्का पनि गर्नु हुन्न । हिँड्नुस् । नभए म नै पहिला जान्छु ।” जानकीले अघि बढ्दै भनी ।

नैनराम निहुरियो । एउटा सुकेको दाउराको सानो छेस्को टिप्यो र थु थु थु गरी तीनपल्ट सिन्कामा थुक्यो । त्यो सिन्कालाई बिरालाले बाटो काटेको ठाउँतिर फ्याँक्यो । अनि भन्यो, “जाऊँ अब ।”

सबै जना अघि बढे । धनमायाको मनमा भने साइत बिग्रेको हो कि भन्ने लागिरह्यो ।

अलिकति अगाडि पुगेपछि नैनराम ठेस लागेर अघिल्तिर हुत्तियो । झन्डै लडेको ।

“ल हेर, अहिले नै ठेस लाग्यो ।” धनमायाले भनी, “तलतिर हेरेर बिस्तारै हिँड बुढा । लडेर भाले एकातिर मान्छे अर्कातिर हौला ।”

“ल ल, यसैबाट दशा जाओस् ।” जानकीले चित्त बुझाउने बाटो देखाई ।

नैनरामले केही नबोली निहुरेर जुत्तामा हेऱ्यो । दाहिने जुत्ताको अगाडि पट्टि अलिकति उप्केछ । नैनरामले घडी हेऱ्यो । बिहानको छ बज्न लागिसकेको थियो । अनि भन्यो अझै आघा घण्टाको बाटो छ । अब त तेर्सै-तेर्सै हिँड्ने हो । त्यति गाह्रो हुन्न होला । धनमाया र जानकीले कुनै प्रतिक्रिया जनाएनन् । उनीहरू चुपचाप खुरुखुरु हिँडिरहे ।

“आमा, देउता बसेको घर कहाँ छ ?” सन्तुरामले सोध्यो ।

“ऊ त्यो डाँडाको खोँचमा छ । देउताको हाम्रो जस्तो घर हुँदैन ।” यसपटक नैनरामले डाँडातिर औँलाले देखाउँदै भन्यो ।

“देउता किन त्यति टाढा बसेका ? हाम्रै घरतिर बसेको भए हामी यसरी अँध्यारामा हिँड्नु पर्दैनथ्यो । हिँड्दा-हिँड्दा मेरो त खुट्टा नै दुखिसक्यो ।” सन्तुरामले आफ्नो पीडा सुनायो ।

“साँच्चै यो फुचेको तर्क पनि राम्रै छ है । देउता हाम्रै घरतिर भएको भए यसरी दुःख गरेर अँध्यारामा सकी नसकी हिँड्नु पर्दैनथ्यो ।” जानकीले हाँस्दै भनी ।

“धर्म यसै हुन्छ त ? दुःख नगरी धर्म हुने भए मान्छेहरू किन तीनधाम चारधामको यात्रा गर्थे । अर्को कुरा हाम्रो गाउँमा नभएर के भो र वनमै भए पनि हाम्रो पनि एउटा देवी छिन् । गाउँको रक्षा यिनै देवीले गर्छिन् । रोग लाग्दा, महामारी चल्दा, भुईँचालो जाँदा यिनै देवी सम्झिनुपर्छ । यिनैलाई पुकार्नुपर्छ । अनि पो गाउँले सबै आउँछन् पूजा गर्न । दुई वर्षपहिले गाउँमा सुक्खा लाग्दा सबै गाउँले मिलेर त्यही देवीथानमा पूजा लगाएकै हो । सबै कुरा बिर्स्यौ कि क्या हो ?” नैनरामले सम्झायो ।

“आ, दाइ भुईँचालामा त सखापै भएको हो नि । त्यतिका घर भत्किए । बस्तुहरू पनि धेरै पो मरे । मान्छेलाई मात्र केही भएन । गाईलाई फुकाउन नगएको भए टुल्की दिदीलाई पनि केहि हुन्थेन । गोठै गर्याल्याम्म भत्केरै मरिन् बिचरी । पानी पनि भन्न पाइनन् ।” जानकीले भनी ।

“त्यो वेला त संसारै डगडगी हल्लाएको हो । यही डाँडो पनि ठाउँ-ठाउँमा चिरा-चिरा परेकै हो । देवीमाताको पनि केही नलाग्ने भुईँचालो थियो । जे भए नि हाम्रा पुर्खाले मान्दै आएकी देवी हुन् मैले त छोरा नै रहँदैन कि भन्ने लागेर देवीलाई पुकारा गरेर कालो भालो चढाउँला भनी यिनै देवीलाई भाकल गरेकी हुँ ।” धनमायाले भाकल गर्नुको कारण सुनाई ।

अन्ततः उनीहरूको गन्तव्य पनि आइपुग्यो । उनीहरूभन्दा पहिले पनि केही मानिसहरू देवीथानमा पुगेर पूजाआजा गर्दै थिए ।

देवीथानमा त्यति ठुलो फराकिलो ठाउँ थिएन । दुईओटा डाँडाको खोँचमा भएकाले खोँच पनि साँघुरो थियो । मुस्किलले आठ-दस जना मानिसहरू उभिन सक्ने ठाउँ थियो । वर्षाको भेलले ठाउँ-ठाउँमा भत्काएको थियो । देवीथानभन्दा तलतिर पानी खस्ने ठाउँमा बाँस गाडेर बाँसकै भाटाले बाँध बाँधिएको थियो । अझ केही पर वर्षामा पैह्रो गएकाले रातोमाटो देखिन्थ्यो ।

देवीथानमा एउटा पुजारी थियो । पुजारी गाउँमै बस्ने एउटा जोगी थियो । ऊ कहाँबाट आयो, कस्तो मान्छे हो भन्ने बारेमा गाउँलेलाई अझैसम्म पनि केही थाहा थिएन । आफू बसेको गाउँमा माग्दैनथ्यो । अन्यत्र गाउँमा माग्न जान्थ्यो तर आज भने देवीथानमा ऊ पुजारी बनेर बसेको थियो । भक्तजनहरू पनि उसैले भनेअनुसार पूजा गर्थे । देवीमातालाई बलि दिन्थे । ऊ फलफूल टिप्दै एउटा डालामा राख्थ्यो । भेटीजति खल्तीमा राख्थ्यो । कसैकसैलाई फलफूल दिन्थ्यो । कसैलाई टीका र माला पनि लगाइदिन्थ्यो । त्यो उसको खुसीमा भर पर्थ्यो ।

देवीथानमा जानेहरू कोही पूजामा कोही सरसामान ठिक पार्नमै व्यस्त देखिन्थे । डाँडाको साँघुरो खोँचबाट पानी रसाएर तलतिर बगिरहेको थियो । त्यो पानी खोँचको भित्तामा खनेको सानो खाल्डामा जम्मा हुन्थ्यो । भक्तजनहरू त्यही पानीले मुख धुन्थे । बलि दिनुभन्दा पहिले बोका, हाँस अनि कुखुराको भालेलाई पर्साउँथे । त्यही पानी लगेर देवीमातालाई चढाउँथे । खोँचको उत्तरतर्फको भित्तामा ठुलो, गोलो आकारको, कालो र चिप्लो ढुङ्गा नै देवीमाता थिइन् । त्यसको वरिपरि ससाना अरू ढुङगाहरूमा पनि अबिर, फूल आदि छर्किएको देखिन्थ्यो । भक्तजनहरू त्यही कालो ढुङ्गामा अक्षता, अबिर, केसरी, फलपूल, माला आदि चढाएर पूजा गरिरहेका थिए ।

नैनरामले पानी जमेको खाल्डामा गएर पानी ल्यायो र दुईओटै भालेको खुट्टा पखाल्यो । अलिकति पानी भालेको टाउको र जिउमा झर्किदियो । कालो भालेले र त्यसपछि छिरबिटे भालेले टाउको झट्कार्दा पानीको छिटा नैनरामको अनुहारमा पनि पऱ्यो ।

देवीमाता खुसी भैछन् दुवै भालै एकैपटक पर्सियो । यति भन्दै नैनराम धनमायाछेउ आयो । नैनरामले दायाँबायाँ दुई हातले भालेलाई अँठ्याएर जोडले समातेको थियो । भाले चाहिँ छटपट गरेर क्याँक क्याँक गर्दै कराउँथ्यो र यताउति हेर्थ्यो ।

धनमायाले पनि छोराको मुख धोइदिई । आफूले पनि मुख धोई । एउटा सानो सिसीमा पानी भरी । सरसामान घरमा नै ठिक पारेर ल्याएको हुनाले त्यहाँ मिलाईरहनु परेन । तब धनमायाले भालेको सिउर र टाउकामा रातै पारेर पूजा गरी । चारओटा धुप र कपासको बत्ती बालेर राखी ।

जानकीले छोरीलाई पिठ्युँबाट झिकी । छोरी ब्युँझिसकेकी रहिछ तर पिठ्युँबाट झिकेपछि भने ऊ रुन थाली । जानकीले ओढ्नेले छोपेर छोरीलाई दुध चुसाई । छोरी रुन छोडेपछि जानकीले खोपिल्टाको पानी अँजुलीभरि लिएर आफ्नो शिरदेखि पाउसम्म मुसारी र छोरीको पनि मुख धोइदिई ।

सन्तुराम भने त्यहाँ अरू मानिसहरूले कुखुराको भाले र बोका काटेर रगत ढुङ्गामाथि छर्केको हेरिरहेको थियो । मानिसहरू त्यही रगत मिसिएको अबिर र केशरीको टीका निधारमा लगाउँथे । फूलहरू शिरमा राख्थे र निहुरिएर ढोग्थे ।

बलि दिन कुखुराको भाले, हाँस र बोको छटपटाएको दृष्य देखेर सन्तुराम भित्रभित्रै डरायो । उसलाई त्यहाँबाट भागूँ-भागूँ लाग्यो तर भागेर कहाँ जाने ? ऊ बाबुछेउ गयो र फेरि पनि पहिलेकै कुरा भन्यो, “बा, हामी भालेलाई घरमै लगेर राख्ने, नकाट्ने ।”

नैनरामले छोराको अनुहारमा हेर्दै भन्यो, “हेर् केटा, हामीले यो भाले देवीमातालाई चढाइसकेका छौँ । अब यसलाई घरमा लिएर जानु हुन्न । देवीमाता रिसाएपछि हामीलाई दशा लाग्छ । नराम्रो हुन्छ । त्यसैले तँ उतातिर गएर बस् । केटाकेटी मान्छे यहाँ बस्नु हुन्न ।”

नैनरामले त्यति भनेपछि उसलाई लाग्यो अब उसको बाबुले जसरी पनि भालेलाई काट्छन् । उसले चारैतिर हेऱ्यो । त्यहाँ रुख मात्र देख्यो । उसलाई लागेको थियो देवी पनि मानिसजस्तै होलिन् । उनको पनि टाउको, आँखा, नाक, मुख, कान, हात, गोडा होला र मानिसले झैँ कुरा गर्लिन् तर त्यहाँ उसले सोचेजस्तो केही देखेन । देवीमाता पनि देखेन । यदि देखेको भए उसलाई भन्न मन लागेको थियो कि, “हे, देवीमाता यो भाले मलाई निकै मन परेको छ । यो भालेलाई काट्न नदिनुस् । यसलाई म घर लिएर जान्छु । म योसँग खेल्छु, यसैसँग डुल्छु । बाबु र आमाले भनेको कुरा सबै मान्छु ।”

नैनराम, धनमाया र जानकीले देवीमाताको पूजा गरे । निधारै राताम्य हुने गरी टीका लगाए । टाउकामा फूल राखे । नैनरामले पनि काटेको भालेलाई प्लास्टिकमा पोको पारेर पहिलेकै झोलामा राख्यो ।

धनमायाले छोरा सेतुरामलाई पनि लगेर देवीको दर्शन गराई । छोराको शिर निहुराएर ढोगाउँदै भनी, “हे, देवी माता यो मेरो छोरालाई कहिले पनि रोगव्याधि नलागोस् । मैले तपाईँलाई भाकल गरेको आज पूरा गरेकी छु । रक्षा गर प्रभु ।”
सेतुरामले निहुरेर देवीमातालाई ढोग्दा खुबै नियालेर हेऱ्यो । त्यहाँ उसले जमेको रातो रगत, रातो र पहेँलो अक्षता, जौ, तिल, फूल र केही ससाना केरा अनि मालपुवा आदि देख्यो ।

सबै जना घर फर्कने तयारीमा लागे ।

अनि सेतुरामले सोध्यो, “बा! बा! खोइ, मैले त द्यौताको अनुहार नै देखिनँ ।