भर्ना अभियान सुरु भएको एक हप्ता भयो । उसो त सबै जसो भर्ना भएका थिए । स्कुलले दिने सेवा सुविधा थोरै भए पनि कोही छुट्न चाहँदैनन् । पढ्नु त फुर्सदकै कुरा हो । भर्ना भएपछि कापी कलम किताब कहिले जुत्तामोजा कहिले झोला अनि कहिलेकाहीँ पैसा पनि पाइने लोभ मुख्य थियो । जेजस्तो भए पनि सरकारी नियमअनुसार तोकिएको समयमा भर्ना हुन आउनू भनेर माइकिङ्ग पनि गरिएको थियो ।
आजको स्कुल सकियो । साना नानीहरू अघिपछि लाउँदै हामी पनि गाउँमा पुग्यौँ । बाटाको दुवैतिरका घरमा महिलाहरू चाङ बुन्नमा व्यस्त थिए । कोही पटुका बुन्थे कोही लिउ कोही किट्टी । केटाकेटीहरू हात समातेर तान्दै “ङाई खिम्ला च्या थुङ्ग स्यो ।” भन्दै चिया खान जाऊँ भनेर कर गर्दै थिए ।
मलाई को को नाम लेखाउन आए बुझ्नु थियो । पोहोर नै छोरो पाँच वर्ष पुग्यो सर भनेकी पेमाछिरिङ किन बच्चा लिएर आइनन् सोध्नु थियो । सबै केटाकेटीलाई भोलि आउँछु ल चिया खान भन्दै म छुट्टिएँ । पेमाको घर एक तला मात्रै छ । आँगन पनि साँघुरो छ । वरिपरि दाउराले घेरिएको छ । दाउराकै बिचमा दुलो राखेर तगारो बनाएको छ । माथिल्लो तगारो खोलेपछि नाघेरै जान सकिन्छ । नाघेँ र गएँ आँगनतिर । छोरोले ऊनीको डल्लो समातेर आमालाई तान लाउन सघाउँदै थियो ।
“बहिनी नमस्कार, नयाँ तान सुरु गरेको ?” म बोल्दै सोध्दै छिरेँ ।
“हो त एउटा अघि सक्यो, अब नयाँ बुन्ने ।” “पिरा क्याल पिजा सर कि ।”
“होस् होस् म बस्दिनँ गइहाल्छु । बरु बाबुको त अब नाम लेखाउनुपर्ने भोलिदेखि त भर्ना म्याद सकिन्छ त । आज दिनभरिमा आउनुहोला कि भनेको आउनु भएन । त्यसैले घरमा छिरेको नि ।”
“ख्याल्ह ख्याल्ह पिजा । क्या भन्छ यो सर, बस न च्या खाऊ के हतार छ र । बस म च्या घोल्छ ।” भन्दाभन्दै ग्याल्जनले भित्रदेखि एउटा पिर्का ल्यायो । म दाउराको हारमा अडेस लाएर बसेँ ।
“अँ साँच्चै कति वर्षको भयो रे छोरो, ग्याल्जेन नि यसको नाम ?”
“हो सर ग्याल्जेन हो फुर्वा लाक्पा ठुक्तेनहरूसँगै त हो लो चुम पिज्जा ?” हाँस्दै छोरोलाई सोधी उसले ।
अघि पिर्का लिन जाँदा छोडेको ऊनीको डल्लो समातेर पर-पर पुगेर लट्ठीमुनिबाट डल्लो छिराउँदै थियो । बोल्यो “लो टुक ।”
*अनि त उसको उमेरका सबै स्कुल जान्छन् पोहरैदेखि । आफैँ छ वर्षको भएँ भन्छ । भोलि आउनू स्कुलमा र नाम लेख्दिनू । पढ्नु परेन छोरोले ? ”
म सम्झाउन खोज्दै थिएँ । पेमा तान छोडेर भित्र पसिन् । छोरो पनि पछ्यायो । मैले हातले छोप्न खोजेको दगुरेर गयो । गोरो हँसिलो छरितो छ ग्याल्जेन । नपढेको भए पनि पढेजस्तो देखिन्छ । गाउँका अन्य बच्चाभन्दा सफासुग्घर छ । आमा पनि फोहर भएर बस्दिनन् । ग्याल्जेनकी हजुरआमा पनि सफा नै छन् । उनीहरूको घर सानो साँघुरो भए पनि सफा र न्यानो छ । भित्ता भुईँ लिपेर चिटिक्क पारेका छन् । म कहिलेकाहीँ केही काम पर्दा पस्छु उनीहरूको घरमा । नपसेको दिन बाहिरबाटै बोलाएर सन्चो बिसन्चो सोधेर जान्छु । मलाई देख्दा सधैँ, “च्या थुङ्ग स्यो” भने पनि म पस्दिनँ प्रायः ।
चलन हो । घर आँगनमा आएकालाई चिया पानी सोध्नु तर यहाँ चिया त भन्ने मात्र । चियाको निहुँमा सातु अथवा अन्य केही खाजा खानैपर्छ । चिया त भन्ने मात्रै । उसो त चिया पनि त्यति सहज छैन । चाइनाको बिस दिनको यात्रा तय गर्नुपर्छ । चिया र चाइनिज घिउ ल्याउन । त्यो पनि लोग्नेमान्छे नभएको घरमा अरूलाई हजुर हजुर गरेर याकमा बोकाउनुपर्छ । पेमाका पनि भारी बोक्ने पाँचओटा याक त छन् रे तर दुइटा र एउटा आधाको भारी याक लाने ल्याउनेले नै बोकाउँछन् । त्यही साढे दुई याकको भारी सामानले वर्षभरिको खर्च धान्नुपर्छ । चिया घिउ अनि खाद्यान्नले वर्षभरि पुग्दैन भनेर कहिलेकाही पेमा आफैँले भन्थिन् । उसो त सबैजसो घरमा चैत वैशाख लाग्दा सामान सकिएको हुन्छ । हिउँदमा हिउँले बाटो रोकिनाले दुनै या मुस्ताङ कतै निस्किन सकिन्न । त्यो अभाव नजिकैबाट देखेबुझेकाले पनि पाहुना भएर पस्दा भार पर्ने देख्छु र यसो बोलेर हिँड्छु म ।
म तान हेर्दै सोच्दै थिएँ । चियाको थर्मस र सेतो कप लिएर आमाछोरा बाहिर निस्किए । अघि तानको छेउमा पट्याएर ओछ्याएको जाक्नाको तल राख्ने फेरुवा फिजारेर आमाछोरा बसे । तीनओटा कपमा चिया भरिन् पेमाले । ” लु सर चिया पिउनू ।”
पेमाको बोली स्पट छ । सानैमा फुपूसँग मुस्ताङ गएकी रे । तीन कक्षासम्म पढेकी पनि छन् रे । मुस्ताङसँग जोडिएका सबै गाउँका मान्छेको कोही न कोही आफन्त मुस्ताङमा छन् । मुस्ताङ डोल्पाभन्दा धेरै धनी छ भनेर सबै भन्छन् । उसो त मुस्ताङ पनि डोल्पाजस्तै हिमाली जिल्ला हो । मुस्ताङीहरू यता आउँदा निकै ठाँटका भएर आएका हुन्छन् । पेमाले बुनेका ऊनीका सामान किन्न मुस्ताङबाटै आउँछन् व्यापारीहरू ।
सबैले चिया पियौँ एक एक सुरुप । पेमा फेरि उठिन् । भित्र गएर चाक्लो मुख गरेको दुइटा कचौरामा सातुमाथि चम्चा राखेर बाहिर निस्किन् । “सर सातु खानू है ।”
ल्याएको कुरा नखानु अपमान हुन्छ यहाँ । चलन थाहा छ । समाएँ कचौरा । बोल्दै चिया सातु खाँदै गर्न थालियो । “भोलि बाबुलाई लिएर स्कुल आउनू पेमा ।”
“सरले भुल्यो ? पोरको साल मैले लयो नि छोरो, सरले कागत मागो मोसँग कागत थेन । अलै पनि कागत त छैन । जन्मदर्ता चाहिन्छ भन्तो त सर ।”
मलाई पोहोरको कुरा याद भएन । सायद अरू धेरै मानिसहरूसँग हुँदी हुन् पेमा तर अहिले पो झस्किएँ । जन्मदर्ताको कुराले मलाई छ वर्षअघि पुर्यायो ।
* * *
म स्कुल सकाएर चिया पिउँदै थिएँ । “सर अदच्छेको घरमा आऊ रे ।” स्कुलको पर्खालबाहिर बाट राप्तेनले भन्यो । “किन रैछ ? केही थाहा छ ?”
“खोइ सर मिटिङ छ रे, छिटो आऊ भनेको छ ।” म हतार-हतार चिया पिएर पुगेँ वडा अध्यक्षको घरमा । गाउँभरिका मानिएका मान्छेको जमघट रहेछ चुलाको वरिपरि । बाहिर घाम डुबिसकेकाले चिसो थियो । म पुगेपछि ल सर यता बस्नुहोला भन्दै कसैले ठाउँ छोडिदिए । मेरो अगाडि पनि चियाको कप आयो । अरूका अगाडि पहिल्यैदेखि थियो ।
मैले एक-दुईपल्ट चिया सुरुप सुरुप पिउँदै थिएँ । अध्यक्ष बोल्न थाले , “लौ सर यो पेमाको कागत लेख्नुपरो ।”
“ओहो के पर्यो पेमालाई ?” मेरो प्रश्न सुनेपछि अध्यक्षले बेलीबिस्तार लाए ।
लोह्सार सकिएको तेस्रो दिन पेमाले माइतीमा बच्चा जन्माइछ । बाबु कोहो भन्ने थाहा नभएपछि गाउँमा भेला बसेछ । सबैले खारखेर गरेपछि पेमाले सबै कुरा भनिछ । आफ्नो छोराको बाबु मुस्ताङको एउटा व्यापारी भएको कुरा खोलेकी रहिछ । उसको घरमा दुइटा छोरी र श्रीमती पनि रहेछन् । उताबाट घोडा र यतादेखि याकको खेलो गर्ने झ्याम्पा लामा र पेमाको मायाँ प्रेम भएर बच्चा जन्मेको रहेछ । पेमा आफैँले उसको नाम लिएपछि अब मुस्ताङ जाने व्यापारीले झ्याम्पालाई झिकाएर जिम्मा लाउने निर्णय भएछ ।
आज झ्याम्पा आइपुगेपछि यहाँ फेरि मिटिङ बसिएको रहेछ । सबैको अनुहार नियाली नसक्दै अध्यक्षले विवरणको पोको फुकाइसके ।
” कस्तो कागज गर्दिनू त ? यो त अदालतले हेर्नुपर्ने, पुलिसले बुझ्ने केस हो । हामीले गाउँले कागज बनाएर हुँदैन त दाजु ।” मलाई मनैदेखि जटिल लागेको हो केस तर उनीहरूको सल्लाह मिलिसकेको रहेछ । पेमाले झ्याम्पाको गर्भ बोकेर बच्चा पाएबापत उसलाई झ्याम्पाले चारलाख रुपैयाँ तिर्ने । पेमाले बच्चा हुर्काउने र झ्याम्पालाई लोग्नेका रूपमा खोजखबर गर्न नपाउने, झ्याम्पाले पनि पेमालाई श्रीमतीको रूपमा राख्न वा लैजानु नपर्ने भयो । चार लाखमध्ये पचास हजारको दरले छ ओटा याक र एक लाख रुपैयाँ नगद दिने सर्तहरू स्वीकार भइसकेका रहेछन् ।
“लौ सर यस्तै कुरा खोलेर एउटा कागत लेख्न परो, यिनीहरू ल्याप्चे लाउन तयार छन् ।”
मलाई निकै सकस भयो । के गर्नु, गर्नु । सामान्य साँधसीमा, लोग्नेस्वास्नी र दाजुभाइका झगडा हुँदा त मिलापत्र लेखिदिएकै हो । आज साँच्चिकै वकिलको काम गर्नुपर्ने भयो । जे हुकुम चल्थ्यो वडा अध्यक्षकै चल्थ्यो । प्रहरी र अदालतको उपस्थिति तीन दिनको दूरीमा छ । अहिलेसम्म कुनै मुद्दा प्रहरीकामा दर्ता भएको छैन । यो मुद्दा पनि यहीँ नै मिलाउनुपर्ने अध्यक्षको अडान थियो ।
“अनि भोलि यो बच्चाको नागरिकता कसको नामबाट बन्छ ? बाबु को हुने ?” मेरो प्रश्न थियो ।
“उसले कोही केटासँग बिहे गर्ला नि । एक्लै बस्ने त होइन सधैँ उसैको नाममा बन्छ नि सर ।” अध्यक्षले सहज उत्तर दिए ।
“लेख्नू सर लेख्नू ।” चिया थपेझैँ ममाथि कागज लेख्ने दबाब बढिरहेको थियो । वडा कार्यालय लेखिएको झोलाबाट सेतो पाना निकालेर मलाई दिइयो । कुन भूमिकामा, कसरी लेख्ने केही आएको थिएन मेरो मनमा । मेरा लागि यो घटना नै नौलो थियो । फेरि पनि लेख्नु थियो ।
झ्याम्पाको उमेर र तीन पुस्ते लेखेँ, नागरिकता मागेँ ल्याएको रहेनछ । मुस्ताङ छ रे । अरू केही कागज पत्र ? केही छैन । पेमाको के-के छ ? उसको पनि केही छैन । पेमाको आमाको नागरिकताको प्रमाणपत्र मात्रै छ । ओहो ! धर्मसङ्कट भनेको यही पो हो कि ? म के गरूँ गरूँ भएँ । उही वाक्य थियो अध्यक्ष को, “लेख सर लेख ।” म आफैँ पुगेपछि प्रौढ कक्षामार्फत नाम मात्रै लेख्न जान्ने वडाध्यक्ष गोला प्रथाबाट छानिएर निर्विरोध निर्वाचित भएका थिए । यस्तो लाग्थ्यो, नेपाल देशदेखि भिन्न देशमा छु म । जहाँ आफ्नै खालको नियमकानुन छ ।
जसोतसो आठ-दश लाइन लेखेँ ।
लिखितम सुश्री पेमा छिरिङले …….
………..
दुवैको सहमतिमा सहीछाप गरिदियौँ, दायाँबायाँ । इति शुभम् । संवत्…
पढेर सुनाएँ । “लौ भयो सर । लौ तौवा ल्याऊ तेल ल्याऊ कालो बनाएर ल्याप्चे लाओ ।” अध्यक्षको खुसी पोखियो ।
* * *
“अनि उसको जन्मदर्ता छैन र अझैसम्म ?”
“वडा सचिव कतिपल्ट आए । वडा अध्यक्ष यहीँ हुनुहुन्छ । जन्मदर्ता त चाहिन्छ त । स्कुलमा नाम लेख्दा मात्रै होइन भोलि नागरिकताको प्रमाणपत्र लिन पनि त जन्मदर्ता चाहिन्छ ।”
मेरा कुराले पेमाको अनुहारको रङ्ग उड्यो । घरी आम तिर घरी मतिर हेर्दै हाँस्दै गरेको ग्याल्जन आमाको अनुहार देखेर नराम्रो मान्यो । म त्यही सकसमा पुगेँ, छ वर्षअघि । कुरा त्यहीँ अड्किएको थियो । छ वर्षको अन्तरालमा पेमाको कसैसँग बिहे हुन सकेको थिएन । भोलि भर्ना गर्न ल्याउनू भन्ने प्रस्ताव खेर गयो । मन बुझाउन भए पनि यति भन्नैपर्ने भयो ।
“नाम नलेखाए पनि पढ्न आउँदा हुन्छ नि । कापी, कलम र किताब दिउँला, साथीहरूसँग केही त सिक्छ नि । पढ्ने उमेरको नानीलाई घरको काम मात्रै गर्न लगाएर हुँदैन ।”
उनले हजुरमा टाउको हल्लाइन् । म सोचमग्न हुँदै निस्किएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।