
जीरा भन्दैथी – “कुप्रा जिजुबाजेका पनि कुप्रा, कुप्राका पनि कुप्रा जिजुबाजेका पालातिर सूर्यमा भयङ्कर ठुलो सौर्य आँधी आएको थियो रे ।”
सुनेर निकै उत्साहित भएकी थी नुरा । ऊ चुम्बकझैँ टाँसिएर दिदीलाई सुनिरहेकी थिई । उसका मनमा निकै प्रश्नहरू आएका थिए अनि गएका थिए ।
जीरा र नुरा मान्छे नै हुन् तर कृतिम पद्धतिबाट विकसित गरिएका अत्याधुनिक । प्राकृतिक रूपमा जन्मिने र जन्माउने काम निकै धेरै खर्चिलो हुने भएकाले त्यो समयमा कृतिम पद्धति ज्यादै लोकप्रिय पद्धति भएको थियो । प्राकृतिक रूपमा जन्माउने पद्धति पनि नभएको होइन तर त्यसका लागि अनुमानित रूपमा पुगनपुग चन्द्रमाका यात्राका लागि पुग्ने खर्च लाग्ने भएकाले त्यो आँट गर्नेहरू पाउन स्यालका सीङ खोज्नु जत्तिकै मुस्किल थियो ।
जीराले भनी नुरालाई – “त्यो समयमा आँधी आउनुअघि यो पृथ्वीमा मान्छेले सूचना र सञ्चारमा निकै ठुलो प्रगति भित्र्याएको थियो रे । इन्टरनेटको विकास प्रविधि क्षेत्रको एउटा महान् क्रान्ति थियो रे ।”
नुरा बिनाहलचल सुनिरहेकी थिई, गाडिएको खामो बनेर ।

लक्ष्मण अर्याल
जीराले कुराको सिलसिला बढाउँदै गई – “तिमी भन्छ्यौ होला – त्यतिखेरका मोबाइल र अन्य डिभाइसहरूभन्दा अहिलेका डिभाइसबिनाका हाम्रै शरीरभरि जडान गरिएका चिप्स यन्त्रहरू उच्च प्रविधि होइनन् र दिदी ? तिमीले यही प्रश्न गर्यौ भने म भन्छु – तिमी सही छ्यौ नुरा शतप्रतिशत सही । आज उत्पादन गर्नासाथ हाम्रा शरीरमा नै आवश्यक चिप्स जडान गरिन्छन् । हिजोका जस्ता मोबाइल महँगो हुने र बोकी हिँड्न पनि असजिलो हुने भएकाले दिक्कलाग्दो झ्याउबाट बच्न त्यसो गरिएको हो भनिन्छ । पेपरलेस अपिसजस्तै डिभाइसलेस विश्व तर अकल्पनीय विकास । अहिले सजिलो छ – जहाँ जाऊ, जे काम गर जताततै जडान गरिएका ठुला ठुला स्क्रिनका बोर्डहरूमा हेर्न सकिन्छ सजिलै विश्व अनि ब्रह्माण्डलाई । रमाइलो छैन त – फिट गरिएका स्क्रिन बोर्ड आँखाले देखिन्नन् तर जताततै छन् । आआफ्ना दाहिने हातका बुढी औँलामा भित्र राखिएका चिप्समा छोएको कल्पना मात्रले पारदर्शी बोर्ड हाम्रै अघिल्तिर आएर सरर खुल्छ । त्यो बोर्ड अरु कसैले देख्दैन, चलाउन्जेल निजी हुन्छ । यो उल्का होइन त नुरा ? के खोज्ने मनमनै कल्पना गर अगाडिको स्क्रिनमै आउँछ । अमेरिकामा के भएको छ ? जापानले के गर्यो ? अर्को प्लानेटका एलियनहरू के योजना बनाउँदै छन् ? तिनीहरूको विकास योजना के छ ? पृथ्वीप्रति तिनको धारणा के छ ? सब देखिन्छ छर्लङ्ग । पानीको आवश्यकता पर्यो पानी तत्काल, घामको आवश्यकता पर्यो घाम तत्काल । छाया चाहिए छाया अनि सफा कञ्चन यो धर्ती । न त बटन थिच्नु पर्ने भन्झट न त डिभाइस बिग्रिएर हुने हैरानी । तर आजलाई हेरेर हिजोको मूल्याङ्कन भने हुनु हुँदैन । त्यो बेला अर्थात् हामीभन्दा ५० पुस्ता अघि त्यो विकासलाई सानो विकास नसम्झ नुरा ।”
नुरा, त्यतिखेर र अहिलेमा आकाश जमीनको फरक छ । हामी अहिले प्रविधिको दुरुपयोग गर्दैनौँ किनकि हामीले चाहेर पनि दुरुपयोग हुन सक्दैन । बनाएको त्यसरी नै छ हामीलाई । हाम्रो गिदीमा फिट गरिएको विशेष खाले चिप्सले नचाहिँदा कुरा सोच्नै दिँदैन । नेगेटिभ ऊर्जालाई निष्कृय पारिएको हुन्छ, त्यसैले हामी त्यतातिरको बाटो सपनामा पनि देख्दैनौँ । तर त्यो बेलाको प्रविधि दुरुपयोग निकै चरम थियो भन्ने कतै कतै पढेको छु मैले । यतिसम्म कि मानिसहरू कैयौँ घण्टा एकोहोरिएर भुन्डिरहन्थे रे प्रविधिमा – बच्चाहरू पीङमा झुन्डिएझै अनवरत । मानिसहरू प्रविधिका दास बनेका थिए रे । के पढेका के नपढेका, के ठुला के साना सबै । बच्चाहरूको आउटडोर एक्टिभिटी ठप्प बन्दा बन्द कोठामा एकलकाटे र समाजनिरपेक्ष बनाएको थियो रे तिनलाई । आलु मान्छे जस्ता बन्दै थिए रे त्यतिवेलाका मान्छेहरू – कृतिम, निरस र एकदम असामाजिक । जति ठुलो सहरीकरण त्यति नै ठुलो विश्वासको खाडल । सानैदेखि ‘म’ को विकास भएका बच्चाहरू हुर्किएर कहाँ खुल्थ्यो र सद्भावको परिपथ ? चोरीचकारी र लुटपाटमा प्रविधिको दुरुयोगले गर्दा फट्याइँराजले आकाश छोएको थियो रे ।
हातहतियार त्यतिवेलाको ठुलो समस्या बनेको थियो । शक्तिशालीले आफूमा हतियार बनाउँथ्यो र अरुलाई निशस्त्रीकरण गर् भन्थ्यो । एक सानो बटन थिच्दा यो सुन्दर धर्ती खरानी हुने हतियार बनेका थिए । शासक सन्काहा जन्मिए पृथ्वी ध्वस्त । जोखिममा थिए मान्छे अनि यो धर्ती पनि । जतिवेला पनि खरानीको स्वप्नचित्रको आतङ्क कालो बादल बनेर मडारिइरहन्थ्यो आकाशमा ।
तर नुरा, एकै पटक आएको सौर्य आँधीले विकसित भएका जति प्रविधि एकाएक शून्यमा झर्दा कस्तो भएको थियो होला यो पृथ्वी । सुनेअनुसार कम्प्युटर, मोबाइल भन्ने डिभाइसहरू झ्याप्प निभेका बत्तीझैँ भएका थिए । ठुला ठुला कारखानाका मसिनहरू बन्द, बत्ती बन्द, वायुयानहरू असिना खसेझैँ खसेका, गुड्ने इन्जिन जहाँ थिए त्यहीँ सबै ठप्प । अझ सबै सम्पूर्ण विद्वानहरूका विद्वता पनि कोल्याप्स । पक्कै डरलाग्दो अवस्थामा थियो यो धर्ती । विद्वानहरूको विद्वता कोल्याप्स नभएको भए पनि समयक्रममा फेरी ब्युँतिने कल्पना स्वभाविक हुन्थ्यो तर आधारसूत्रका रूपमा रहेको धागो नै चुँडिए पछि चङ्गा कहाँ जोगिन्थ्यो र ?
नुरा बोली । नबोली बस्नै सकिन अब । भनी – “अरु प्रविधि ठप्प हुनु त भयो होला भनौँ विकराल सौर्य आँधीको त्यो प्रकोपमा तर विद्वानहरूको ज्ञान कसरी भयो होला एकाएक कोल्याप्स ? आँधी र ज्ञानसँग के तादात्म्य थियो होला ?”
बहिनीको प्रश्नले जीरा हौसिई । एकोहोरो कुरा गर्दा गर्दा अब प्रसङ्ग फेर्नु पर्छ कि भनिठानिरहेकी जीरालाई बहिनीका प्रश्नले प्रसङ्ग फेर्नु नपर्ने बनायो । यही प्रसङ्ममा बग्दै बग्दै अगाडि बढे भयो ।
जीरा त्यही प्रसङ्गको लहरा तान्दै अघि बढी । उसले भनी – “अहिलेका विद्वानहरू भनेका प्रविधिका दास होइनन् । ज्ञान टाउकामा हुन्छ न कि पुस्तकमा । विद्वानहरू पनि निश्चित संख्यामा बनाइएका छन् अहिले । अहिलेकै हामी बसेको भूमि नयपालभित्रकै कुरा गरौँ – यहाँ आवश्यकताअनुसारका क्षेत्र समेट्न सक्ने १०० जना विद्वान् छन् । के धेरै भएर मात्र काम हुने हो र ? समुचित तालमेल हुने र राजाको काम कैले जाला घाम नभन्ने हो भने यो संख्या काफी छ । विद्वानहरू यसरी बनाइएको छन् कि तिनका विद्वता ठुलो ठुलो धक्काले पनि कोल्याप्स हुन सक्दैन । आँधी आओस्, हुरी आओस् या कुनै सुनामी तिनीहरू न त मर्छन् न त कुनै अङ्गभङ्ग नै हुन्छ तर त्यतिखेर इन्टरनेट भए विद्वानको विद्वता चल्यो नभए चलेन । एक हप्तामा सारसुर कम्पनीबाट किताबहरू लेख्ने विद्वानहरू, चोरीचकारीबाट महान् साहित्यकार बनेकाहरू, ठुला ठुला स्वनामधन्य प्राध्यापकहरू जसले आफ्नो मस्तिष्कलाई प्रविधिको सिस्टममा लगेर गाँसेका थिए । क्षमता र प्रतिभा त्यतिखेर युगअनुरूप नभएका होइनन् मानिससँग तर तिनीहरूको एउटा ठुलो भूल थियो – मान्छेका स्वतस्फूर्त प्रतिभा प्रविधिको सिस्टममा लगेर टाँस्नु । जब प्रविधि कोल्याप्स भयो तब विद्वानको हर बस्यो । छोटोभन्दा छोटो दूरीमा पुग्न पनि सवारी साधनको भर पर्नु पर्ने, के बच्चा के युवा अनि के बुढा सबैका भुँडी दैख्दै उदेकलाग्दो किसिमले उछिट्टिएका । जोड, घटाउ, गुणन, भागाहार पनि प्रविधि बिना गर्न नसक्ने हुनु के एउटा भयानक डरलाग्दो गहिरो गर्तभन्दा कम थियो होला र ? सजिला कुरालाई त मान्छेले प्रविधिमा जोडेको थियो भने असजिला दिमाग खियाउनु पर्ने कुरालाई पक्कै प्रविधिमा जोडेको थियो होला । विज्ञानको हर बसेपछि शिक्षकको हर बस्यो, विद्यार्थीको हर बस्यो, ज्ञानको हर बस्यो अनि ठप्प सबै । हाम्रा हजुरबाहरू सानामा स्ट्याचु र मुभ भन्ने खेल खेल्नु हुन्थ्यो रे । एउटाले स्ट्याचु भनेपछि चल्नु चटपटाउनु नगरी बस्नु पर्ने अनि मुभ भनेपछि मात्र चल्न चटपटाउन पाइने । त्यतिखेर यस्तै भएथ्यो होला । प्रकृतिले स्ट्याचु भन्यो सबै ठप्प तर मुभ भनेनछ । स्ट्याचु अनि स्टप । बन्द अनि एकदम लामो बन्द ।
जीराले नुरालाई भनी – “तिमीसँग अरु प्रश्न छ ?”
नुरा बोलिन मात्र मुन्टो हल्लाई ।
जीराले भनी – “तिमी प्रश्न गर मसँग नुरा । मलाई बग्न सजिलो हुन्छ । तिम्रो प्रश्नसँगै म बग्छु, बगिरहन्छु अनवरत प्रवाहित नदीझैँ ।”
“अनि त्यो डरलाग्दो स्ट्याचुबाट मुभ कसरी भयो होला ?” – दिदीले प्रश्न गर भनेपछि नुरा बोली ।
बहिनीका प्रश्नले जीरा खुसी भई । नुरा त्यति धेरै बोल्दिन तर जति बोल्छे त्यति गहकिलो बोल्छे – जोखेर बोलेजस्तो । उसका प्रश्नले एउटा विकासको सिलसिला खोजेको थियो । जीरालाई बग्ने ठाउँ चाहिएको थियो मनग्गे प्रवाहित हुने ठाउँ दिई नुराले ।
तिमी सोच्न पनि सक्दिनौ नुरा, मान्छेको त्यो दिनको एउटा विदीर्ण कहानी । मान्छेले मान्छे मार्थ्यो । गुरु–शिष्यको सुसंस्कृत हुनुपर्ने सम्बन्ध बदनाम बनेको थियो । न त गुरु गुरु जस्ता थिए न त शिष्य नै शिष्य जस्ता । शिक्षा व्यापार बनेको थियो । गरीब र धनी २ वर्ग तयार गरिएका थिए समाजमा । गरीब झन् झन् गरीब र धनी झन् झन् धनी । असमानताको ठ्लो खाडल बनेको थियो । विकासका नाममा लुट्ने परम्परा स्थापित भएको थियो । समाजसेवा देखाउने दाँत बनेका थिए । मान्छे मुखले एउटा बोल्थ्यो कामले अर्को गर्थ्यो । चेतना बिकेको थियो । तर कहिलेकाहीँको गलत पनि सही हुँदो रहेछ नुरा । सौर्य आँधी र त्यसले गरेको क्षति एउटा नमीठो सपनाजस्तै थियो तत्कालीन समयमा तर राम्रै भयो त्यतिवेलाको पट्यारलाग्दो कहानी अन्त गर्यो आँधीले ।
जीरा जति पनि बगिरहन सक्छे भावनाको प्रवाहमा । यसैले बगी अनवरत बगिरही – ‘आवश्यकता नै आविष्कारकी जननी हुन्’ नुरा । जब आवश्यकता पर्छ अनि आविष्कार जन्मन्छ । तर शून्यबाट उकालोको यात्रा कम कष्टकर यात्रा थिएन । त्यो यात्राबाट अगाडि बढ्न पनि कैयौँ शताब्दी लाग्यो । आजका दिन तिमीहामी जुन विन्दुमा छौँ यो विकास मात्र होइन चरम विकास हो । आज के छैन र बाबुबाजेले कल्पना पनि गर्न नसकेका कुरा छन् अहिले हामीसँग । कल्पनाले विश्व मुभ हुने विकास के त्यतिवेलाको स्ट्याचुको विन्दुमा बसेर सोच्दा सम्भव हो र ? तर नुरा बाटो बन्द भयो भनेर नबस्नुकै परिणाम हो पुनः मुभको त्यो यात्रा । यात्रामा अप्ठ्यारो भो भनेर रोकिनु सकिनु हो । जीवनबाट आशाको लोप पनि झन् झन् शून्यतिरको यात्रा हो । शून्यको यात्राबाट शिखर चढ्न आशाको सानो फिलिङ्गोले काम गरेथ्यो होला त्यतिखेर । आफैँले सिर्जना गरेको ज्ञानले आफैँलाई थुन्न सक्छ भन्ने बुझ्न नसक्नु त्यतिवेलाको एउटा नमीठो अज्ञानता रहेछ । त्यसका मुक्तिका लागि हारेर पनि हार्न नखोज्ने मान्छेको जोदाहा स्वभाव भने त्यो पट्यारलाग्दो स्ट्याचुले बन्द गरेको रहेनछ । विन्दुमा सम्भावनाको अवशेष यही हो इतिहासको एउटा सानो टर्निङ पोइन्ट ।
नुरा, त्यतिखेर शून्यको फेदी नझरेको भए त्यो यात्रा आजको दिशामा मोडिन्थ्यो या मोडिदैनथ्यो त्यो त निश्चित छैन । तर त्यतिखेर रोपिएको बिउ अर्कै थियो र आजको बिउ नितान्त बेग्लै । यसैले त्यो दिनको स्ट्याचु नयाँ मुभको लागि वरदान बन्यो ।
नुराले हेरिरही दिदीको आशालाग्दो अनुहार ।
खासमा ती दुई दिदीबहिनीलाई महान् कथाकारको अवसान पछि रिप्लेस गर्ने योजनासहित निर्माण गरिएको थियो र त्यसैको एउटा रमाइलो प्राक्टिसमा थिए ती दुबै दिदीबहिनीहरू जसले यथार्थलाई कल्पनाले सजाएर उनिरहेका थिए एउटा मिठो सभ्यता रूपान्तरणको कथा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

