एकनासले झमझम झरी परिपरेको छ । झरिको मधुर सङ्गीतले दिलको भित्रसम्म झङ्कृत गराइरहेको छ ।
छोराछोरी बोकेर ऊ माइत हिँडी । साँझ पर्न लागेको छ । यो झरी! यो साँझ अनि एक्लोपन । किन-किन आज त्यसै बिरक्तिएको छ यो मन । कता जाऊँ ? के गरूँ भइरहेको छ । दोधारे मन छ । टोलाएर बसिरहेको छु । एक्लो महसुस भइरहेको छ । खाली-खाली लागिरहेको छ घर पनि । धेरै समयपछि उनीहरू मलाई एक्लै छोडेर हिँडेका छन् ! केटाकेटी नहुँदा घर एकदम सुनसान लाग्ने रहेछ । बरु बुढी नहुँदा फरक नपर्ने । केही छिन भए पनि शान्ति मिल्ने । तर छोराछोरी नहुँदा चाहिँ शून्य लाग्ने रहेछ । घर, घरजस्तो नलाग्ने ! मसानघाटजस्तो लाग्ने रहेछ ! उनीहरू हिँडेको धेरै समय बितेको पनि त छैन आखिर ! तर नानीहरूको भने धेरै याद आइरहेको छ ।
मावल जान रहर गर्छन् भुराभुरीहरू । नगरून् पनि त किन ? अझै सानै बच्चै त छन् बिचरा । रहर पनि त लाग्दो हो । सानो छँदा हामीलाई भएजस्तो त हुँदो हो । उनीहरू एकछिन पनि नहुँदा बचेराविनाको गुँडजस्तै हुँदो रहेछ मेरो घर ।
घडी हेर्छु, बल्ल साँझको ६ बजेको छ । ओहो कति लामो लागेको हो आजको दिन ? के गरूँ? कसो गरूँ? छटपटी पो भइरहेको छ! चुरोटको तलतल लाग्छ । चिया अड्डातिर जान मन लाग्छ एक्कासि ! चुरोटको धुवाँसँग मिसाएर, चियाको चुसकीसँगै फोक्सोमा धुवाँको वेग भर्न मन लाग्छ । घरमा चुरोट पिउने बानी कहिल्यै गरिनँ । बच्चाहरूलाई थाह नहोस् भनेर सकेसम्म बाहिरै पिउने गर्थेँ । पिउन मन लागेका बेला यसो कतै निस्क्यो ! फोक्सोभरि धुवाँ भऱ्यो अनि घर फर्कियो ।
*****
दिक्क लाग्छ !
रमेशलाई फोन गर्छु । फुल रिङ जाँदासम्म पनि फोन उठाउन्न साला ! कहाँ मरेछ कुन्नि ? झनक्क रिस उठेर आउँछ । उसलाई काम पऱ्यो भने घरिघरि फोन गरेर हैरान पार्छ । अझ पैसा चाह्यो भने त कति पो चोटि गर्छ । मैले गर्दा भने एकैचोटिमा कहिल्यै फोन उठाएको रेकर्ड छैन अहिलेसम्म डाँकाले । भुनभुनाउँदै फेरि दोस्रोपटक फोन गर्छु, अहँ उठ्दैन । ह्या होस् कति गर्नु ? साला जहाँसुकै मरोस् ! कुनै केटी भेट्यो होला बोकाले । अब उसको किस्सा सुनाउनलाई फोन गर्ला । यदि घरै छ भने पनि फोन फेरि गरे त्यसकी बुढीले उठाउने छ पक्का ! अहँ फोन गर्दिनँ ।
छाता खोजेँ, छाता भेटिनँ । कहाँ राखेर गई होली छाता । छाताकै लागि आफ्नी माइत गएकीलाई फोन गरूँ भने आइमाई मान्छेको जात, त्यसै त शङ्कालु हुन्छन् । झन् यो साँझमा फोन गरेँ भने ? अहिले के-के सुन्नुपर्छ ! यो साँझमा कहाँ जानुपऱ्यो ? घर छोडेर एक दिन के माइत हिँडेकी थिएँ । बाहिर निसकी हाल्नुपर्ने ? के-के भनेर किचकिच गरेर मेरो दिमाग खान्छे । नदुखेको टाउको दुखाउनुभन्दा त बरु भिज्दै भए पनि हिँड्न जाति छ ।
ढोका बन्द गरेँ अनि बाहिर निस्केँ अलिक मत्थर भएको रहेछ पानी । फिस्स फिस्स परिरहेको छ ।
यस्तो झरीमा के लुगा फेर्नु ? के जुत्तामा ठाँटिनु छ र ? हाफ पाइन्ट र चप्पल पड्काउँदै निस्केँ । डेराबाट १०/१५ मिनेटको दूरीमा पर्थ्यो चिया अड्डा । हिँडिरहेको छु । पानी रोकिएको छैन अझै । आकाश रुने महिना हो साउन भन्थिन् आमा । छाता ओढेरै भए पनि हिँडिनेहरूको कमी छैन बाटामा । म भने भिजेको मुसोजस्तो भएर हिँडिरहेको छु । मानिसहरू पल्याकपुलुक मलाई नै हेर्छन् ।
चोकमा पुग्छु ! गाडीको भिडभाड बाक्लै छ सडकमा । दुई जना ट्राफिकहरू सुन्तला रङ्गको रेनकोट भिरेर उभिरहेका छन् सडकको बिचमा सालिकजस्तै । निथ्रुक्क रुझेर । धेरै पानी परेका बेला कहाँ पो छेक्दो हो र रेनकोटले ? त्यसै त्यसै उनीहरूको मायाँ लागेर आयो । न घाम भन्नु छ, न पानी न धुलो भन्नु छ, न त हिलो ? कति गारो हुन्छ होला ! यसरी रात दिन बिच सडकमा अहोरात्र खटिन बिचराहरूलाई ! विशेष गरी महिलाहरूलाई ! उफ्फ ! धन्नको जागिर हो यिनीहरूको । खाएकै त छन् !
म भए त के खान्थेँ र? यस्तो जागिर ? तँ भरिको सुन दिन्छु भने पनि खान्नन्थेँ ! त्यसो त जागिर पो के नै खाएँ र मैले अहिलेसम्म ?
आफैँसँग मनमनै वादविवाद गर्दै चिया अड्डा पुगेको पत्तो पाइनँ ! आफैँसँग गफ गर्ने आदत जो परेको छ । फित्ताबाले चप्पल लगाउनुहुने रहेनछ हैट! यो झरी परेका बेला । पूरै छ्यापेर टाउकोसम्म हिलो पुऱ्याउँछ । थुक्क ! लाग्यो आफैँसँग !
भित्र पसेँ । ओहो कति भरिभराउ हो । चिया पिउनेहरूको पाठशालाजस्तो देखिन्छ । विभिन्न विषयका पुस्तकहरूजस्तै विभिन्न थरीका चियाका प्रकार पाइन्छन यहाँ । चियाको चुस्की लिँदै चुरोटको सर्को तान्दै गफिनेहरूको खुब गतिलो अड्डा बनेको छ आजकल यो ! कक्षा कोठामा भरिभराउ विद्यार्थीजस्तै देखिन्छन् मानिसहरू । एक कप मसला राखेको चिया मगाएँ अनि एक खिल्ली चुरोट !
यसो नजर डुलाएँ चिनेको कोही छ कि भनेर ? अहँ कोही भेटिनँ, सबै अनचिनारु । केही छिनमै आइपुगे दुवै खुराक । चियाको चुस्कीसँगै चुरोटको सर्का तान्दै उडाउँन सुरु गरेँ । चुरोटको धुवाँमा रङमगिँदै आफैँ पनि उडेँ एकछिन वायुमण्डल हुँदै आकाशतिर । चियाको तातोपनाले सतहमा लागेको चिसोपनालाई एकछिन भए पनि तताएँ । अनि बिस्तारै चिसिन लागेँ । चिया र चुरोटको अन्त्येष्टि पनि सकियो । चुरोट खरानी बनेर अस्तायो । बस् केही यादस्वरूप गन्ध र धुवाँका घाउ छोडेर ! केही अंश उडिरहेको होला यतै कतै हावामा । शरीरका लुगा पनि ओभाइसकेका थिए । एक्लै कति बेर बस्नु ?
झरी मत्थर भएको छ । झमक्क साँझ परिसकेको छ । बत्तीले झिलिमिली सहर । यस्तो लाग्छ अन्धकार साम्राज्यको विरुद्धमा उत्रिएको छ यति बेला !
पैसा तिरेर निस्केँ बाहिर । अरू गफमा व्यस्त देखिन्थे ।
म भने मेरो बाटो लागेँ । घरमा गएर बिहानको बचेको खाना खाएर सुत्ने मनस्थितिले ।
आफ्नै सुरमा हिँड्न थालेँ । चोकमा पुगेर बाटो काट्दै थिएँ । एक कार एक्कासि बत्तिँदै मैतिर आइरहेको थियो । मेरो शरीर छुन मात्र बाँकी के बाकी थियो गाडी झ्याप्प रोकियो ! उफ बाचियो !
डरले मेरो सातोपुत्लो उडेको थियो ! मर्न कति नै बेर लाग्दो रहेछ र ? धन्न बाचियो । एकछिन सारा दुनियाँ फनफनी घुमेजस्तो लाग्यो । मरेँ नै भन्ने सोची सकेको थियो मनले, मनले नै बाँचेँ सोच्यो । आज अन्तिम दिन रहेछ जिन्दगीको जस्तो लाग्यो तर धन्न म जिउँदो रहेछु । खोइ कसरी छुन मात्र बाँकी रह्यो ? छोएको भए के हुन्थ्यो होला ? उफ !
हंसले ठाउँ छोड्यो ! डरले हातखुट्टा लुगलुग काँपे, जिउ पूरै थरथरायो । मुटु ढुकढुक भयो । शरीर फतक्क गल्यो । उभिइरहेँ, एकछिन । हातखुट्टा लागेनन् केही बेर । मैले आँखा चिम्लिरहेको थिएँ । लागिरहेको थियो धन्न बाँचेँ !
मैले अझै आँखा खोल्न सकिरहेको थिएन । जिन्दगी मूल्य महसुस गर्दै थिए । मान्छेहरू नजिकै आइसकेका थिए । उनीहरूको गुनगुन मेरो कानमा परिरहेको थियो । मैले सहजै अनुमान लगाएँ मलाई मान्छेहरूले मलाई घिरिसकेका छन् ।
मेरो कानमा चट्याङजसरी एक बोली पऱ्यो ।
“आँखा राम्रोसँग हेरेर हिँड्नु पर्दैन ? ध्यान कहाँ छ ? बाटो काट्न आउँदैन? ” मैले बल्ल आँखा खोले ।
“ऊ मलाई नै भनिरहेकी थिई । मेरै गल्ती भएजस्तो गरेर । गाडी चलाउँदा उसको ध्यान चाहिँ कहाँ थियो ? उसको आफ्नो मात्र बाटो हो र ? उसकै बाउले बनाएको जस्तो गरेर आफैँ गाडी चलाउँछे । अझ मलाई पो दोष दिन्छे बा । कस्ती पाखण्ड आइमाई हो यो ? झन्डै मैलाई नै उडाइदिएकी थिई ।
ऊ एकोहोरो कराइरहेकी थिई ।
उसको आवाज कतै सुने-सुनेजस्तो लागि रहेको थियो । म सोचिरहेको थिएँ यो केटीसँग मेरो कहाँ भेट भयो । कहाँ देखे-देखेजस्तो लागिरहेको थियो उसका ठुला चम्किला आँखा, चिने-चिनेजस्तो उसको गोलो अनुहार । मेरा आँखा उसको घाँटीमा गए अहो कस्तो सनाहीजस्तो चिल्लो घाँटी । अनि उसका छाती ? हाय मुटुमा सुनामी र दिमागमा ज्वारभाटा उत्पन्न गराउने । एकछिन दिमाग खलबलियो । यो अवस्थामा उसलाई ठम्याउन चाहिँ सक्दिनँ ।”
उसलाई एकोहोरो हेरिरहेँ, ऊ बोलिरहेकी थिई । उसको रूप देखेर म सातोपुल्तो उडेको मान्छेझैँ उसलाई हेरिरहेको थिएँ । मैले चिनेँ । यो त रमेशको पसलमा आइरहने त्यही आइमाई पो हो । उसको श्रीमान् अमेरिका छ । ऊ पनि अमेरिका थिई । रमेश भन्थ्यो पोइसँग डिभोर्स गरेर नेपाल आएकी हो । रमेशले यो पनि भनेको थियो -“सधैँ सामान दिँदा उसका औँलाले मेरा औँलालाई छुन्थे । एकदिन मैले उसलाई चुमिदिएँ । ” बेहोरा यस्तो थियो । रमेशकी श्रीमती माइत गएको बेलाको कुरा हो । एकदिन दिउँसो रमेशले हतपत सटर बन्द गरेर उसको माथिल्लो शरीरलाई खुल्ला पारेको थियो । उसको ओठमात्र के चुसेको थियो रमेशकी बुढीको -” म बसपार्क पुगेँ” भन्ने फोन आएपछि । केटीले आफ्नो माथिको लुगा लागाई र रमेशले सटर खोल्यो । त्यो दिन धन्न बाँच्यो रमेश । उसकी श्रीमतीले फोन नगरेको भए अहिले रमेशको जीवनमा कुनै अर्को नयाँ रङ्ग देखिन्थ्यो होला ।
म गएको बेला दुई तीनपटक यही केटीलाई रमेशको पसलमा पनि देखेको थिएँ । उसको स्तनलाई लिएर म र रमेशबिच धेरैपल्ट कुरा भएको थियो । रमेश भन्थ्यो -“बाटुला साना तर अगाडि चुच्चो परेका कुनै बौद्ध स्तुपा आकारका छन् उसका स्तन ।”
उसले पनि मलाई चिनिछे । ऊ मुस्कुराई । मलाई भने उसको कपाडाले ढाकेका स्तनभन्दा उसको मुस्कान मन पऱ्यो । मोनालिसाको जस्तो मन्द मुस्कान लाग्यो । रहस्यमय तरिकाको । यो केटीले त मसँग एकपटक बोलेकी पनि थिई -“तपाईँको हेराइ कति अप्ठ्यारो छ” भनेकी थिई ।
मेरो मुखबाट निस्कियो -“केही भएको छैन ठिक छु !” उसले लजाएजस्तो गरी र भनी
“ओहो तपाईँ पो ? कसरी यहाँ ?”
अलिक नरम भएझैँ गरेर उसले बोली ।
मैले भनेँ -“ए ! म घर जाँदै थिएँ ।”
“अनि राम्रोसँग बाटो काट्नु पर्दैन त?”
“तपाईँले पनि त राम्ररी आँखा हेरेर गाडी चलाउन पर्थ्यो नि! होइन र?”
दुवै हाँस्यौँ ।
ट्राफिकले सिट्ठी फुक्दै नजिक आउँदै थियो । भिड र जामले गर्दा ।
ट्राफिक देखेर होला ऊ हतार-हतार गाडीमा चढी र मलाई बोलाउँदै भनी “आउनुस् आउनुस् छिटो म पुऱ्याइदिन्छु । “
“पर्दैन, ठिक छ म आफैँ जान सक्छु । यतै नजिकै हो म बस्ने ।”
“होइन होइन म छोडिदिन्छु नि ! के भो त नजिकै भए पनि आउनुस् न ! म पनि त घर जान लागेको हो नि !”
कति नाइँनास्ति गर्नु । ठिकै छ नि त भनेर गाडीमा चढेँ । गाडी हुँइकियो ।
“बाइ द वे हजुरको नाम के पऱ्यो होला ?
हामी परिचित छौँ तर नाम भनेँ थाहा छैन है?”
भन्दै ऊ फिस्स हाँस्छे ।
मैले आफ्नो परिचय दिन्छु ।
“मेरो नाम माया हो । माया हराएको यो सहरमा खोइ के देखेर मेरो नाम माया राखिदिए मेरा बा आमाले ।”
ऊ उदास आवाजमा नाम भनेर केही छिन टोलाउँछे । एकै छिनमा निराशा दौडिन्छ उसको उज्यालो अनुहारमा । घाम लागिरहेका बेला एक्कासि बादलले ढाकेजसरी ।
गोरो अनुहार, लाम्चो नाक, फराकिलो अनि ठुलो निधार, भरिलो, कसिलो चट्ट मिलेको खाइलाग्दो शरीर । सेतो पाइन्ट हल्का गुलाफी रङ्गको कुर्ती । हातमा महँगो देखिने सुनौलो घडी । माझी औँलामा सुनको हिरा जडित चम्किलो औँठी अनि अर्को हातमा मसिनो सिम्पल खालको सुनको बाला । यसो हेर्दा धनसम्पत्तिले परिपूर्ण छ जस्तो देखिन्थ्यो । रमेशले भनेको सही हो जस्तो लाग्यो । ऊ अमेरिकावाली हो ।
छड्के पारामा हेरिरहेको थिएँ । सरक्क मिलेका काला आँखी भौँ । गाजल र आइस्याडोले सजिएका झ्याप्प परेका परेला । ओठमा गुलाफी लिप्स्टिक । अनि कानमा ठुला इयर रिङ्ग । यसो हेर्दा कुनै देशकी महारानीजस्ती भव्य देखिन्थी । यसरी नियालेर उसलाई पहिले हेरेको थिइनँ । म त रमेशका कुरामा लागेर उसको स्तनमात्र हेर्दो रहेछु ।
मैले उसलाई यसरी हेरेँ आजसम्म मैले मेरी श्रीमतीलाई सायदै हेरेँ होला । चुपचाप अनि शान्त देखिन्थी र मलिन अनुहार तर खोइ के कुराले हो उसलाई एक्कासि मौन बनायो ? या उसको स्वभाव नै यस्तै हो कि ? नबोल्ने ! खोइ मैले केही बुझ्न सकिनँ !
“घर जान हतार त भएको छैन नि हजुरलाई ?”
एक्कासि मौनताको बाँध तोडेर बोली ।
“छैन छैन । किन हुनु र? ? ” खै कुन आश राखेर त्यसो भनेँ । घर जाने बेला भैसकेको थियो । रात झमक्क परिसकेको थियो ।
“यदि ढिलो हुँदैन भने, यसो चिया पिएर जाने कि भनेर नि ?” उसले अनुरोधमिश्रित स्वरमा भनी ।
“ए ! होइन होइन ठिकै छ । मलाई हतारै त छैन । तर भर्खरै मैले चिया नै पिएर त आउँदै थिएँ ।” – केही भाउ खाएझैँ गरी मैले भनेँ ।
“के भो त ? चिसो मौसम छ, यस्तो झरीमा फेरि एक कप चिया पिउँदा डायरिया नै होला र? ” उसले अट्टहास गरी । उसको हाँसो तिखो डरलाग्दो थियो । उसको मुस्कान सम्झिने हो भने उसको हाँसो नराम्रो थियो ।
“पिऊँ न अनि लागौँला नि त घरतिर । हुन्न ? सधैँ गइरहेकै घर त हो । म कसैलाई आफैँसँग लिएर जान्न नडराउनुस् ।”
ऊ फेरि उही अट्टहास हाँसी -“कि कसो ?”
“उल्टै मैलाई प्रश्न गर्दै उसको हाँसो रोकियो । ।
-“त्यो त हो ठिकै छ । मलाई त केही बेर भएको छैन । बरु हजुरलाई नै घर जान ढिलो होला भनेर ।” मैले भनेँ ।
“मलाई? मलाई त कहिल्यै ढिला हुन्न । म समयलाई आफैँसँग कैद गरेर हिँड्ने मान्छे परेँ, हाहा ।” ऊ फेरि मज्जाले अट्टहास हाँसी । मलाई भनेँ अनौठो डर लागिरहेको छ । कता-कता डर लागेजस्तो पनि भएको छ । होइन ! यो कस्ती खालकी आइमाई हो ?
उज्यालो मुहारमा एक्कासि अँध्यारो छाउनु ! एक्कासी मौन हुनु ! अनि यसरी आफ्नै कुरामा आफैँ एक्लै-एक्लै बेफिक्रीसँग मज्जाले हाँस्नु ! होइन यो कतै पागल त होइन ? डिभोर्स गरेपछि कतै बौलाई पो कि । कि बिन्दास आइमाई हो यो ? आफ्नै मनसँग प्रश्न गर्छु !
ऊ भने आफ्नै सुरमा मस्तसँग गाडी चलाउँदै छे । सिंहदरबार , सहिदगेट, रानीपोखरी हुँदै ठमेल पुऱ्याउँछे । बेहुलीजस्तै सिँगारिएको हुन्छ ठमेल । झरी थामिएर शान्त छ मौसम यतिखेर ।
एउटा भव्य होटेलको आँगनमा पार्किङ हुन्छ गाडी ! म अलमल्लमा पर्छु । चिया पिउन यो कस्तो ठाउँ हो ?
“के लाटोजस्तो टोलाएर बसिरहेको नि ? ओर्लिनू नि छिटो !” भन्दै अट्टहासपूर्ण हाँसो, हाँस्छे ! म अचम्मित छु यतिखेर । होटलभित्र प्रवेश गर्छौँ । म उसको पछि पछि हिँडिरहेको थिएँ । आफ्नो अवस्था देखेर आफैँलाई लाज लागेजस्तो हुन्छ । वेटरहरूले मलाई नै हेरेर, हाँसेजस्तो लाग्छ ।
“के भो ? किन पछाडि हिँडेको ? सँगै हिँड्नुस् न ! के सारो केटीजस्तो लजाएर हिँडेको हो हँ ? पछि पछि लुखुरलुखुर ?
” उसले फेरि अट्टाहास गरी । उसको हाँसो सुनेर सब त्यहाँ भएका मान्छे उसलाई हेर्न थाले ।
मलाई के गरूँ गरूँ भयो । मैले केही प्रतिक्रिया जनाइन । सायद आदत लागेको छ । म यति बेला अर्कै खालको डर, लाज र अचम्मित तरिकाले सङ्कुचित भएको छु । एक ढोकाबाट ऊ भित्र पसी । म उसको पछि पछि लागेर भित्र पसेँ ! मानिसहरू आआफ्नै धुनमा लीन थिए । नेपत्थ्यमा मधुर सङ्गीत गुन्जिरहेको हुन्छ ।
बाल्कोनीको अन्तिम टेबलमा गएर ऊ बस्छे । म उसको विपरीत बसेँ, सहरतिर मुख फर्काएर । बाहिरको शुन्दर वातावरण देखिन्छ । आकाशमा ताराहरू लुकामारी गरिरहेका हुन्छन् । सहरमाथिको आकाशमा तारा देखिए पनि कतै टाढा परेको चट्याङको उज्यालाले पनि झिलिमिली पारिदिएको छ । यस्तो लाग्छ गीतसङ्गीतमा भुलेर रमाइरहेको छ सारा सहर ! नजिकै लहरामा झुन्डेका मधुरो प्रकाशले मनोहर बनाइदिएको छ ऊसँगको यो रात !
शान्त लाग्छ मौसम टक्क रोकिएजस्तो समय !
म भने उसको यस्तो तरिकाले अचम्मित छुँ । एउटा अनचिनारु आइमाई । उसका बारेमा केही थाहा छैन ! एक-दुईपटक देख्नु र सामान्य बोल्नुसिवाय । उसको ठाउँ ठेगाना केही थाहा छैन !
“के खाने भन्नुस् त ?” उसले वाइन्चिटर खोल्दै भनी । ऊ समेजमा मात्र छ ब्राले दबाएका उसका दुई स्तनले फ्रुहान्डले लेखेको इग्लिस अछेर M बनाएका छन् । दुई स्तनबिचको खाली भाग उसले मेनु पल्टाउँदै गर्दा केही भित्रसम्म देखिन्छ । म भित्र भने …….. ।
-“के खाने भन्नुस् त ?” उसको फेरि उही प्रश्नले मेरो कल्पनालाई बिथोलिदियो । मैले झिँजो मानेझैँ गरी भनेँ ।
“चिया पिउने भनेको होइन र?”
“चिया भनेर के चिया मात्र पिउने हो त?” उसको डरलाग्दो अट्टहासो छुट्यो फेरि । बाल्कोनीमा भएका सब मान्छेको नजर हामीतिर छुट्यो । उसको हाँसो रोक्ने कोसिसका साथ बोलेँ ।
“हुन्छ, हजुरको इच्छा जे पिलाउनुहुन्छ म त्यही पिउँछु ।”
“हो र ? हाहा, जे पनि पिइदिने हो त ? त्यसो भए जहर नै पिलाउनुपर्ला ।” ऊ फेरि हाँस्न थाली ।
यसपालि म पनि हाँसेँ -“हुन्छ तपाईँको इच्छा छ भने पिलाउनुस् न ! म त पिउन तयार छु ।”
ऊ केही स्तब्ध भई ।
” के भयो? “
“केही नाइँ । “
” हजुर ड्रिङ्क्स गर्नुहुन्छ ? “
“कहिलेकाहीँ हल्का गर्छु ।” उसलाई के थाहा बहुलाउने गरी पनि पिउँछु भन्ने !
कसैले नसुनोस् झैँ गरी उसले बिस्तारै भनी -“तपाईँको साथी रमेश त गज्जबले पिउनुहुँदो रैछ ।” र अलिकति आवाज बढाएर थपी -“ओके त्यसो भए के अर्डर गरूँ भन्नुस् त?” मेनु हेर्दै सोधी ।
“रेड लेबल चल्छ ?”
मैले हुन्छको इसारामा टाउको हल्लाएँ । वेटर आएर हामीछेउ उभिसकेको थियो । उसले अर्डर गरी । वेटर लेख्न थाल्यो ।
“भेज त हुनु हुन्न नि?”
“होइन !”
” मटन कि चिकन मन पर्छ ?”
“जे भए नि चल्छ । “
“चिकेन र मटनका विभिन्न परिकारहरू अर्डर गरी । म भने सपनामा हो कि बिपनामा हो? पत्यार नलागेर आफैँलाई चिमोट्न थालेँ ।
“अनि बताउनुस् जिन्दगी कस्तो चल्दै छ त ?”
“यत्तिकै चलिरा’छ जिन्दगी । कस्तो भन्नु र ?”
“अनि हामी त साँच्ची एक अर्कालाई राम्ररी चिन्दा पनि चिन्दैनौँ है । “
“हो नि”
केही बेर मौनता छायो ।
निधारमा झरेको कपाल मिलाउँदै भनी -“रमेशलाई कस्तो छ अहिले ।”
-“खै मेरो त फोन नै उठाएन ।” मैले झिँजो मानेझैँ गरेँ ।
फेरि केही बेर मौनता छायो । उसले मौनता चिर्दै भनी
“ऊ माथि हेर्नुस् त ! जून छ एक्लै ! मजस्तै ! “
“असङ्ख्य ताराहरू पनि त छन् नि !” मैले ताराहरूलाई हेर्दै भनेँ ।
“तारा त छन् तर कहाँ छन् कहाँ । नजिकै देखिन्छ तर नजिक छैनन् । तपाईँ र मजस्तै । हामी नजिकै देखिन्छौँ तर नजिक छैनौँ । हैन र ?” मैले उसको बाँकी कुरामा ध्यान नदिई सोधेँ ।
“किन हजुर एक्लै हुनुहुन्छ र ?”
उसले कुनै उत्तर दिइन मात्र मौन रहेर ताराहरू हेरिरही ।
लामो सास फेर्दै भनी ।
“म त जून हुँ । कसैको हुन सक्दैन नि !
मन पराउन सक्छ दुनियाँले । गीत, गजल, कविता कोर्न सक्छन् ! तस्बिर खिच्न सक्छन् तर उसलाई छुन र आफ्नो बनाउन कसैले पनि सक्दैन । “
“उम् थाहा छ ! किनकि ऊ आकाशमा छ । त्यसैले त्यो सम्भव नै हुँदैन ! भन्छु ।
सितनसँग रेड लेबल आउँछ अगाडि । दुईओटा गिलाँसमा भरी । म चुपचाप उसलाई हेरिरहेको हुन्छु ।
“ल लिनुस् त ! “
हातमै दिई, समातेँ । “चियर्स”- उसले अलि ठुलो स्वरमा भनेकी थिई । पूरै प्याग स्वाट्ट पारेर । गिलाँस ढ्याम्म गरेर टेबलमा राखी । त्यहाँ भएका सब ऊतिर हेरिरहेका थिए । म त उसको पारा देखेर कायल भएको थिएँ । उसलाई कसैको मतलब थिएन । उसले सहरतिर नजर फाली र टोलाउन थाली । घरी आकाशतिर, घरी गिलाँसतिर, घरी झिलिमिली सहरतिर हेरेर घोरिइरहन्थी । म भने उसलाई नै एकोहोरो हेरिरहेको थिएँ ।
मन के-के सोचिबसेको थियो ?
रमेशले के …….. ?
-“हुक्का तान्नुहुन्छ ?” – उसको प्रश्नले म झस्किएझैँ भएँ । हुन्छको इसारामा टाउको तलमाथि मात्र गरेँ ।
-“दुईओटा हुक्का मिन्ट फेलेबर” वेटर उसको छेउमै रैछ । मैले कस्तो ख्याल नगरेको ? म उसलाई हेरी टोलाएको वेटरले थाहा पाएछ क्यारे । आफैँलाई अलि अप्ठारो लाग्यो । अप्ठ्यारो हटाउने चेष्टाका साथ भनेँ -“किन दुईओटा चाहियो र ? एउटा भए भैहाल्छ नि ?”
उसले मुस्कुराउँदै भनी -“मेरो ओठमा बिस छ के ? मैले तानेर तपाईँलाई दिएँ भने तपाईँ मर्नुहोला नि फेरि ?” उसले अट्टहास गरी । त्यो हाँसोले तर्सेँ तर वेटरले सुने नसुनेझैँ गऱ्यो । अनि सरासर काउन्टरतिर गयो ।
केही बेरमा हुक्का लिएर वेटर आयो । म हुक्काको पाइपको मुख न्याप्किनले सफा गर्दै थिएँ । उसले उसका लागि ल्याइएको हुक्काको एक लामो सर्को तानी हुक्काको कोइल एकै सर्कोमा खरानी भयो । म हेरेको हेऱ्यै भएँ । उसले धुवाँको मुस्लो मुखबाट निकाली । कोठामा पूरै बादल लागेजस्तो भयो । धुवाँले पूरै कोठा छोप्यो । उसलाई देख्न पनि मलाई हम्मे-हम्मे परिरहेको थियो । उसको आवाज मेरो कानमा पऱ्यो । तपाईँ पनि लिनुस् न ।”
मैले “हस् !” मात्र भनेँ ।
उसले जे-जे भन्छे त्यही-त्यही गर्ने कुनै ज्ञानी बच्चाजस्तो भएको छु म तर यसरी त म कहिल्यै पनि श्रीमतीले होस वा अरू कोहीले भनेबमोजिम गरेको याद छैन । उसको अनि छोराछोरीको याद आउँछ । सम्झिन्छु !
फेरि यतै भुल्छु !
धुवाँ तान्दै पिउनुको मज्जा त छँदै थ्यो जीवनमा तर आज अनौठो आनन्द आइरहेको छ ऊसँग मलाई । थाहा छैन किन !
*****
बोतलमा नशा सकिन लागेको थियो । उसले फेरि मागी । उसको स्वाट्ट पिउने र जिन्दगीको गहिरो खाडलमा हराउने कला देखेर म कायल भएको थिएँ । कति थरीका के-के परिकार खायौँ ? त्यसको होस नै छैन !
नशाले बिस्तारै-बिस्तारै छुँदै गएपछि नसा-नसा हुँदै शरिरको रोमरोमसम्म मात लागेको थियो । म आफू पूर्ण होसमा थिइनँ तर ऊ पूर्ण होसमा थिई । स्वाट्ट रक्सी पार्थी । जूनतारा हेर्थी । मजाले टोलाउँथी ।
छिप्पिसकेको साँझजस्तै धमिलो सम्झना छ । खाइसकेपछि उसले वेटरलाई बोलाएर खोइ के-के खासखुस गरेकी थिई । उसले टाउको हल्लाएर नाइँ भन्यो । सरी म्याम भनेको सुनेको हुँ ।
“इट्स ओके, बिल ल्याऊ” भनी । बिल आयो, तुरुन्तै पर्सबाट कार्ड इकालेर दिई ।
त्यसपछि हामी निस्कियौँ । म नशाको मातले झ्याप थिएँ । ऊ पनि अर्धहोसमा थिई क्यारे । बाहिर निस्किँदा ऊ तीन-चारपल्ट मेरो जिउसँग ठोक्किएकी थिई । गाडी स्टार्ट गरी स्पिडमा हुँइकाउँदै अगाडि बढाई ।
ऊ उसले गाडी कुनै भव्य महलको आगनमा रोकेकी थिई । म पूर्ण होसमा थिइनँ त्यति बेला !
मैले आश्चर्य मान्दै सोधेको थिएँ -” हामी कहाँ आयौँ ?” उसले मेरो
ओठमा औँला राखी र बिस्तारै भनी -“चुप् ।”
उसले मेरो ओठबाट हात हटाए पनि म मौन भएँ । उसको अनुहारमा हेरिरहेँ । रक्सीको मातभन्दा पनि गहिरा अनि नशालु देखिन्थे उसका आँखा । मुटु नै झसङ्ग हुने उसको हेराइ । भित्रसम्म चिसो सिरेटोले छोएजस्तो भयो । उसको त्यो रूप देख्नासाथ रक्सीले मलाई छोडिदियो ।
“चुप लागेर मसँग आऊ ।” भन्दै ऊ ओर्ली ।
म ओर्लिएर उसको पछि पछि लागेँ । ढोकामा उभिएको कालो न कालो गार्डले मलाई तलदेखि माथिसम्म कर्के नजरले हेरिरहेको थियो । म भने हल्लिँदै आफ्नो नजर लुकाउँदै उसको पछि लागेँ ।
लिफ्टबाट माथि गयौँ । एउटा कोठामा पुग्यौँ । ठुलो कोठा, सानदार बेड, सेतो तन्ना, टेबल, कुर्सी, ठुलो ऐना, रङ्गिन पर्दाहरू, दरबार वरिपरिको सहर देखिने झ्याल, झ्यालको छेउमा बाल्कोनी निस्किने ढोका । म बाल्कोनीतिर लम्केँ । ऊ टोइलेट पसी । म भने आकाशमा ताराहरू नाचेजस्तो देखेर हेरिरहेको थिएँ ।
“जाऊ फ्रेस भएर आऊ ।” उसको आवाज कानमा पऱ्यो । फर्केर हेर्दा देखेँ उसले मुख धोएकी छे । अघिकी भन्दा अझै राम्री देखिरहेकी थिई ।
“टोइलेट पसेँ म । हात खुट्टा र मुख धोएँ । एकछिन आँखामा पानीले छ्यापिरहन मन लाग्यो । छ्यापिरहेँ । अलिक फ्रेस लाग्यो ।
ढोका ढकढक गरी ।
“भित्रै निदायौ कि क्या हो ?”
बाहिर निस्किनका लागि ढोका मात्र के खोलेको थिएँ तौलिया मात्र बेरेर उभिएकी थिई । उसलाई देखेर झसङ्ग भएँ । म आँत्तिएको देखेर उसले मलाई एकाएक अँगाल्न आइपुगी !
भमराले फूलको रसपान गरेजस्तै ऊ मेरा अधरपान गर्न थाली र पहिला उसले आफ्नो जिउमा बेरेको तौलिया खोली त्यसपछि मेरा लुगा । म इन्तु न चिन्तु भएँ ।
ऊ भने मभित्र पूरापूर रित्तिने गरी पोखिँदै गई । जसरी आकाश रित्तिने गर्छ धर्तीमा । म ऊसँगै सपनाको सामुद्रिक गहिराइमा डुबेँ या भुमरीभित्र फनफनिँदै जाकिएँ कतै । म छुट्टाउन सकिरहेको छैन । समयको सीमा थिएन अब, म केवल कथाको पात्रलाई कथाकारले डोऱ्याएजसरी उसको पछि पछि हिँडिरहेको थिएँ । अचम्म मलाई थकाइ लाग्दै लागेन । थकाइ लागेजस्तो के भएको थियो म निदाइहालेँ ।
आँखा खोल्छु । टाउको भारी हुन्छ । यताउता हेर्छु । कहाँ छु कहाँ जस्तो लाग्छ । सम्झन खोज्छु ।
कसरी आइपुगेँ यहाँ ? एक्लै हुन्छु ओछ्यानमा ! दिमाग चक्राउँछ ! रातको धमिलो सम्झना आउँछ स्मृतिमा । ऊसँग बिताएका प्रत्येक पलहरू एक-एक गर्दै चलचित्रझैँ मेरो मानसपटलमा आउन थाल्छन् । ऊ त छैन कतै त ! जुरुक्क उठ्छु बिस्तराबाट यताउता हेर्छ । अहँ कतै पनि हुँदिन ऊ । होइन यो कहाँ गई मलाई यहाँ ल्याएर ? यस्तो हालतमा छोडेर ? डर लाग्छ । फोन गरूँ भने नम्बर पनि छैन । न त मैले नै मागेँ न त उसले नै दिई । यो के भइरहेको छ मसँग हिजोदेखि । सपनामा छु कि बिपनामा ? । टोइलेट पस्छु । ह्याङ ओभर बाँकी थियो । मुख धुँदै ऐना हेर्दै गर्दा देखेँ । घाँटीमा त उसको लभ बाइट थियो । एकछिन बुढी सम्झेर आँत्तिएँ । फेरि ऊ माइत गएको सम्झेर केही समालिएँ । ऊ माइतबाट फर्किँदासम्म त मेटिसक्ला नि ? यही सोचेर सर्ट लगाएँ । लभ बाइट सर्टले छोप्न सकेन । बाहिर निस्किन्छु फटाफट । घामले धर्तीलाई स्पर्श गरिसकेको हुन्छ । एउटा पसलमा गएर वाइन्डचिटर किनेर लभ बाइटलाई ढाकेँ ।
सरासर हिँड्न थालेँ । गल्ली हुँदै मेन रोडमा निस्किएँ । मेन रोडमा पुगेको मात्र के थिएँ । रमेशको फोन आयो । फोन उठाएर कानमा के लगाएको थिएँ, भाउजूको आवाज कानमा पऱ्यो -“बाबु तपाईँको दाइलाई रातभर ज्वरो आएर बेहोस हुनुभएको छ । झट्टै आउनुस त ।” फोन काटेँ, माइक्रो चढेर सिधै रमेशको घर पुगेँ ।
रमेश बेहोस भएर लडिरहेको थियो । उसको जिउ पसिनाले पूरै भिजेको थियो । उसको निधार छामेँ । कुनै तातो तावाजस्तो थियो ।
मेरा आँखा उसका घाँटीमा गए । उसको घाँटीमा मेरो जस्तै लभ बाइटको छाप थियो । मैले दातका छापको सङ्ख्या गनेँ, तल चार माथि चार गरी आठओटा थिए । आँत्तिँदै ट्वाइलेट पसेँ वाइन्ड चिटरको चेन खोलेँ । लभ बाइटलाई गौर गरी हेरेँ । दातका छाप आठओटा नै थिए । तल चार माथि चार । म खङ्ग्रङ्ग भए ।
आँत्तिँदै रमेशको बेडछेउ पुगेँ । उसलाई बिस्तारै हल्लाएँ । उसले अलिकति आँखा खोल्यो । उसको लभ बाइटमा औँलाले चलाएर बिस्तारै सोधेँ -“यो कहिले ?”
उसले मुख आफ्नी श्रीमतीतिर फर्कायो । भाउजू दराजमा खै के खोजिरहनुभएको थियो -” भाउजू पानी छ ?” । -” ल्याएर आएँ है भन्दै । ” भाउजू बाहिर निस्किन । ढोका तिर हेर्दै रमेशले भन्यो -” अस्ति राती । “
लिन जानुभयो । “डिभोर्सीवाली हो ?” डराउँदै सोधेँ ।
हो को इसारामा उसले टाउको तलमाथि गऱ्यो । मैले पूरै संसार अँध्यारो देखेँ । उसको अट्टहासो सम्झिएँ । रक्सी खुवाई । हुक्का तनाई सब सम्झिएँ ।
-“बाबु पानी ?” भाउजूको आवाजले गर्दा केही उज्यालो भयो ।
रमेशलाई एम्बुलेन्समा हालेर फेसबुक स्क्रोल गर्दै थिएँ ।
एउटा समाचारमा गएर आँखा टक्क अडियो । समाचार खोलेँ -” गोदावरीको जङ्गलमा एक आइमाईको लास भेटिएको छ । बलात्कार गरेर हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको छ । हप्ता तीन-चार दिनअगाडि भएको हुन सक्ने आशङ्का गरिएको छ ।”
त्यसमुनि भएको फोटामा हेरेँ त्यही डिभोर्सी आइमाई थिई, जो हिजो राति मसँगै थिई । उसको फोटो जुम गरेर हेरेँ । मैले ठिक मेरो र रमेशको घाटीमा भएको लभ बाइट । उसको घाँटीमा पनि देखेँ ठिक त्यही ठाउँमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।