
“आमा, भोलि त मेरो जन्मदिन हो ,मलाई त तपाईँले राम्रो भन्दा राम्रो उपहार दिन पर्छ नि । पोहोर पनि ल्याइदिनु भएन ।” बिहानै ओछ्यानबाट भन्छे छोरीले । “हो, पोहोर पनि छोरीलाई भनेर उसको जन्मदिनमा केही पनि दिन सकिएन यही असम बन्दले गर्दा । यसपालि त झन् उसका मागहरू धेरै छन् । कसरी मनाऊँ, कसरी बुझाऊँ छोरीलाई !” आफ्नो श्रीमान्सँग यसरी भन्छे मधु ।
मधु र रोहनकी नौ वर्षकी प्रज्ञा नामकी प्यारी छोरी छ । प्रज्ञाका आमाबाबु दुवै पढेलेखेका हुन् र पनि वर्तमानको कृत्रिम तथा देखावटी आधुनिकतामाथि उनीहरूको आस्था छैन । उनीहरू दुवै आफ्नो कर्ममाथि विश्वास राख्ने सरल दम्पत्ति हुन् तर छोरी भने छेउछाउका घरमा गएर अरूको जन्मदिनको रङ्गीचङ्गी देखेर उनीहरूकै जस्तो गर्न खोज्दछे । नयाँ-नयाँ माग अडाउँछे । “मलाई भिडिओ गेम चाहिन्छ, चाबी लगाउने कार चाहिन्छ, उसको जस्तो ठुलो मोबाइल चाहिन्छ ।
“हे राम! के-के हो के-के! अहिलेबाट सबै माग पुऱ्याउन थाल्यो भने बाबुआमाको टुप्पी बिक्छ त! मोबाइल पो चाहिन्छ भन्छे! अहिलेका केटाकेटीहरूले मोबाइलविना हास्नै जान्दैनन्, खानै जान्दैनन् । अनि सुत्ने बेलामा पनि मोबाइलै चाहिन्छ । कस्तो जमाना आयो आयो! उता फेरि छोरो ठिक्क परिरहेको छ । अनि अहिलेदेखि यिनीहरूलाई नसोझ्याए कहाँ हुन्छ र!
मधु कुच्चो समाउँदै एकलै भट्याउँछे ।

रिजु देवी
(असम)
दिउँसो भान्सा खाएपछि प्रज्ञा एकछिन टिभीमा कहानी हेर्न भनेर बस्दछे । एकछिनपछि उसले आमालाई बोलाउँछे अनि सोध्छे “आमा! अर्काको सहायता गर्नु नै जीवन हो?” मधु एकछिन उसको प्रश्न सुनेर छक्क पर्छे अनि फेरि छोरीलाई सोध्छे यति गहिरो कुरा कहाँबाट सुन्यौ भनेर । प्रज्ञाको सोझो जवाफ “कहानीमा सुनेकी ।” मधुले प्रज्ञाको प्रश्नको जवाफ राम्रो गरी सम्झाइदिन्छे । “हो छोरी! मान्छेले आफ्नो जीवनका बारेमा मात्र चिन्ता गर्नु हुँदैन । अर्काको दुःखकष्ट,पीरमर्काबारे पनि सोच्नुपर्दछ । कसैले तिम्रो समक्ष सहायता माग्दै आयो भने तिम्रो सामर्थ्यअनुसार उसको सहायता गर्नुपर्दछ । उसलाई निराश पार्नु हुँदैन । बुझ्यौ तिमीले?” प्रज्ञा खुसी हुँदै भन्छे आमालाई ऊ पनि कसैको सहायता गर्न चाहन्छे भनेर । यो कुरो सुनेर मधुको छाती हर्षले ढक्क फुल्छ ।
बेलुकी मधुले आफ्नो श्रीमान्सँग कुराहरू सबै साझा गर्छे । ऊ पनि सुनेर अति आनन्दित हुन्छन् । दुवै छोरीको खुसीका लागि उपाय सोच्दछन् ।
भोलिपल्ट बिहान एकछिन प्रज्ञाको बाबा घरबाट हराउँछन् । आमा चाहिँ पनि घरको काममा व्यस्त हुन्छिन् । प्रज्ञा सानो भाइलाई घरिघरि भन्दै गर्छे “आज मेरो जन्मदिन हो, तँ पनि छिटो ठुलो हो, तेरो पनि जन्मदिन मनाउनुपर्छ” भनेर । भित्र मधुको मन ढुकढुक हुन्छ कतै उपहारका लागि हुरुक्क गर्छे कि भनेर । छोरीको जन्मदिनमा केही अलग्गै गर्ने इच्छा भएको छ आमाबाबाको ।
केही क्षणपछि गाउँकै आर्थिकावस्थाले ढाड भाँचिएका भोजे काका (सबैले मायाले बोलाउने नाम) को प्रवेश हुन्छ । त्यति बेलासम्म प्रज्ञाको बाबा पनि घर फर्किसकेका थिए । प्रज्ञाका आमाबाबा दुवैले एउटा झोलामा भर्ती समान हालेर बाहिर निस्कन्छन् अनि प्रज्ञालाई पनि बोलाएर त्यो समानका साथै एउटा नीमको सानो बिरुवा भोजे काकालाई उसको जन्मदिनको उपहारस्वरूप अघि बढाउन भन्दछन् । “यति दिनसम्म तिम्रो जन्मदिनमा तिमीले उपहार लिने गर्थ्यौ, आज तिमीले अरूलाई दिएर हेर त छोरी! तिम्रो मनमा कस्तो लाग्दो रहेछ ।” दुवै जनाले भन्छन् । प्रज्ञाले खुसी हुँदै त्यो नीमको बिरुवा र झोला बिस्तारै भोजे काकाको हातमा थमाइदिन्छे । भोजे काकाले धैरै आशीर्वाद दिएर त्यो समान लिएर घरतिर लाग्छन् ।
“ल छोरी! अब राम्रो लुगा लगाऊ त हामी बाहिर गएर एक फन्को लगाएर आऊँ ।” बाबाले भन्दछन् । “खै त मलाई नयाँ राम्रो लुगा नै ल्याइदिनुभएको छैन । के लगाऊँ?” “छोरी, तिम्रा धेरै राम्रा-राम्रा लुगा छन् । अस्ति तिम्रो मामाले ल्याइदिनुभएको जामा तिमीले कतै जाँदा पनि लगाएकी छैनौ । त्यही लगाऊ । राम्रो सुहाउँछ ।” “हुन्छ आमा” भन्दै ऊ लुगा फेर्न भित्र पस्दछे । एकछिनपछि सपरिवार निस्केर जान्छन् अनि फेरि बेलुकी घर टुपलुक्क आइपुग्छन् ।
छोरी अति उत्फुल्लित थिई । आज उसले पहिलोपटक कसैलाई उसको जन्मदिनमा यसरी उपहार दिएकी थिई । मन्दिर त अघिपछि पनि ऊ गएकै हो तर अनाथाश्रममा गएर अनाथ केटाकेटीहरूलाई उपहार दिनु अनि ठाउँ-ठाउँ गएर बिरुवा उपहार दिनु उसको पहिलोचोटि थियो । ऊ भावुक हुन्छे । “विनाआमाबाबाका ती केटाकेटीहरूलाई कति याद आउँदो हो आफ्ना आमाबाबाको! उपहार पाएर उनीहरूको अनुहार खुसीले कति चम्किएको थियो । मसँग मेरा सबै जना छन् । तर…” अबदेखि ऊ उसको प्रत्येक जन्मदिनमा उपहार लिएर जान्छे त्यहाँ । उसले मनमा ठानी लिन्छे र आमाबाबालाई पनि भन्दछे ।
समय परिवर्तन हुँदै गयो, छोरी ठुली हुँदै गै तर यो क्रम जारी नै रह्यो । उसले जन्मदिनमा उपहार माग्न छोडी । जन्मदिनमा उसका सबै साथीहरूलाई पनि रुखको बिरुवा नै उपहार दिन थाल्छे । “हामीले आफ्नो साथै हाम्रो पर्यावरणको पनि ध्यान राख्नुपर्छ” भनेर । एकदिन उसले एउटी धनी घरकी साथीलाई एउटा फलको बिरुवा उपहार दिँदा साथी जति हर्षित हुन्छे, उनकी आमा त्यति खुसी हुन्नन् । आमा चाहिँले छेडका हानेर भन्दछिन् ।
“आमाबाउको नर्सरी छँदै छ उपहार दिन त सजिलै हुन्छ, हैन ? यसले फल त देला नि?” उपस्थित सबै ग्वालल्ल हाँस्छन् ।
“यसको राम्रो स्याहार, चाकर गरेदेखि फल मात्र हैन, जीवन दिन्छ ।” सबै चुप्प लाग्दछन् ।
हो, प्रज्ञाको बाबा एक जना साधारण व्यक्ति हुन् । गाउँको शान्त तथा मार्जित परिवेशमा हुर्किएका । सानामा उनले खेतमा गएर हलोकोदालो गरेका हुन् । अहिले उनका हातमा शिक्षाका डिग्री भए तापनि कहिल्यै जागिरको पछि दौडिएनन् । आफ्नै बलबुताले जीवनलाई सुन्दर बनाउने उनको प्रबल इच्छा थियो सानैदेखि । उनलाई हरियाली मन पर्छ । उनको घरको वरिपरि हरियाली नै हरियाली छ । साथमा एउटा चिया र फलको नर्सरी पनि । उनको हरेक पाइलामा साथ दिने उनकी प्यारी श्रीमती छन् । बस्, उनी त्यतिमै खुसी छन् ।
यसरी नै प्रज्ञा स्कुल पढिसकेर कलेजको खुड्किलो टेक्न पुग्छे । नयाँ परिवेश, नयाँ साथीसङ्गीहरूसँग मिलेर ऊ अत्यन्त हर्षित हुन्छे । मन मिल्ने साथीहरूसँग लागेर एउटा एन.जि.ओ. खोल्छे । त्यही एन. जि.ओ.मार्फत उनीहरूले धेरै ठाउँहरूमा बिरुवा रोप्ने काम गर्छन् । कलेजमा ऊ सबैकी प्यारी बन्न पुग्छे तर कलेजमा राम्रा र नराम्रा दुवै किसिमका छात्रछात्राहरू भएजस्तै नराम्रो मतिगति भएका केटाहरूको एउटा ग्रुप थियो कलेजमा । ऊजस्ता अरू केटीहरूलाई पनि उनीहरूले साह्रै अश्लील वचन बोलेर कलेज आई नसक्नु पार्दथे । यो कुरो प्रज्ञा टिमले कलेजलाई पनि अवगत गराएका थिए तर फल लागेन । तब उनीहरूले आफ्नै किसिमले ती केटाहरूलाई स्वाद चखाउने कुरा जानकारी गराउँछन् । एकतामा शक्ति हुन्छ । प्रज्ञा र उसका भुक्तभोगी साथीहरू हार मान्नेमा थिएनन् । दुई दिनपछि कलेज सप्ताह थियो । सबै साथीहरू तयारीमा आउने वाचा गर्दै घरतिर लाग्छन् ।
कलेज सप्ताहका दिन सबै साथीहरू एकै ठाउँमा मिलेर मात्र कलेज पुग्छन् । सबैका हातमा ठुल्ठुला बस्ता देखेर अरू-अरू छक्क पर्दछन् । त्यही पनि कसैको सोध्न आँट आउँदैन । अलिकति पर उद्दण्ड केटाहरूको होहल्ला चलिरहेको थ्यो । केटीहरूलाई देख्नेबित्तिकै उनीहरूको आफ्नो चरित्र बयान गर्न थाल्छन् । “ओइ, हेर् त हेर् ! माल यतै आउँदै छन् ।” एउटाले भन्छ । “ऊ त्यो त मेरी हो नि । क्या च्वाँक छे मेरी त हेर ।” अर्को भन्छ । “अै के भनिस ? सबै माल मै राख्छु, मै चाख्छु । जाबो तिमीहरू ।”
ग्रुपको मुखियाले यसरी भन्नेबित्तिकै केटीहरूले आफ्नो कालरूप देखाउन थाल्छन् । बस्ताबाट डन्डा, मुङ्ग्रा, भाटा, कुच्चादि निकालेर एकतिरबाट घुमाई घुमाई हान्दै “हामी माल हौँ, हामीलाई यस्ती र उस्ती भन्ने, तिमीहरूका आमा-दिदी-बहिनी छैनन् घरमा हँ ?” भन्दै केटीहरूले भकुर्नु भकुर्छन् । केटीहरूले एक्कासि गरेको हमला देखेर उद्दण्ड केटाहरू लगायत अरू सबै छक्क पर्छन् । केटाहरू ऐया र आथा गर्दै केटीहरूसँग माफी माग्नेमा पुग्छन् । केटीहरूले पुलिस प्रशासनलाई बोलाउन खोज्दा ती केटाहरूले अबदेखि त्यसो गर्दैनौँ भनेर खुट्टा समाउँदा मात्र परिवेश शान्त हुन्छ । केटीहरूको यस्तो तत्परता देखेर सबैले सराहना गर्दछन् । पछि गएर कोही केटाले कलेज छोडे लाजले त कसैले “प्रज्ञा, तिमीले हामीलाई बिग्रनेबाट बचायौ । आभारी छौँ तिमीप्रति” भन्दै कृतज्ञताका साथ हात जोड्न आउँछन् । फेरि सबै जनामा मित्रता हुन्छ र प्रज्ञाको एन.जि.ओमा मिलेर काम गर्छन् ।
ऊ अहिले एउटी सफल नारी भएकी छ । भाइले पनि राम्रो जागिर खाएर घरबार गरेर बसेको छ । आज साथमा उसका आमाबाबा छैनन् तर उसलाई उसको जन्मदिनमा आमाबाबाले देखाएको महान् आदर्शले गर्दा ऊ सधैँ आर्तजनहरूका समक्ष जान सक्षम भएकी छ । आमाबाबाप्रति चिरकृतज्ञ छ ।
“आमा! आज मेरो जन्मदिन हैन? हामीलाई आश्रमहरूमा जान ढिलो भइसक्यो । छिटो गर्नू । मैले सबै थोक तयार पारिसकेँ” , रजतले भन्छ । सेतै फुलेकी प्रज्ञा मुसुक्क हाँस्दै छोराको चारचक्केमा चढ्छे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

