त्रिलोक नाम गरेको प्रतिभाशाली सर्जन थियो । उसको प्रसिद्धि टाढाटाढासम्म फैलिएको थियो । केही उसलाई दिमाग खुस्केको डाक्टर पनि भन्थे । त्रिलोक कैयौँ दिनदेखि एउटा प्रश्नको जबाफ खोजिरहेको थियो, ‘म’ वा ‘म’सँग जोडिएको प्रश्नको जबाफ । उक्त प्रश्नको जबाफ खोज्ने क्रममा एक दिन उसले विचित्रको हरकत गर्‍यो । अर्थात प्रहरीको आँखा छली एउटा व्यवारिसे शव घर लिएर आयो ।

जबदेखि त्रिलोकले लास घरमा लिएर आयो, खाना खाने समयमाबाहेक श्रीमतीसँग पनि भेटघाट गर्न बन्द गरिदियो । डाक्टर हर समय कोठाको झ्याल-ढोका बन्द गरी लासमा कैँची चलाइरहन्थ्यो । अर्थात ऊ मृतकको शरीरका तन्तुहरुको अध्ययन गरी निश्चित निष्कर्षमा पुग्न चाहिरहेको थियो ।

उसले छाति चिर्यो । मुटु, कलेजोमा छूरा चलायो । खप्पर उघारी दिमागको मिहिन निरीक्षण गर्यो । एक्सरे गरी दिल-दिमागको फोटो लियो ।

यसो गर्नुको एकमात्र उद्देश्य ‘म’ को खोजी गर्नु थियो । डाक्टर ‘म’ भन्ने तत्त्व मानव शरीरको कुन भागमा रहेको हुन्छ भन्ने जान्न चाहिरहेको थियो ।

उल्लेखित कार्य सम्पन्न गर्न त्रिलोकले पन्ध्र दिन लामो विदा लियो । तर अनवरत् प्रयासका बाबजुत ठोस निष्कर्षमा पुग्न सकेन । फलतः उसले अस्पताल प्रशासनसमक्ष थप पन्ध्र दिन बिदाको निवेदन पठायो ।

मुर्दासँग खेलिरहेको आफ्नो लोग्नेलाई देखेर श्रीमती वाक्क-दिक्क थिई । ‘कस्तो अनौठो मानिस तपाइँ ? ज्यूँदासँग बोल्नू, ज्यूँदासँग खेल्नू । जीवनसँग जोडिएका प्रश्नहरुको जबाफ खोज्नु छ भने जीवित मानिससँग साक्षत्कार गर्नू । मसानघाटमा रहनुपर्ने व्यक्ति अस्पतालको डाक्टर हुनुभो ! हरे राम ! कस्तो लोग्ने पाइछु ?’ ऊ भुट्भुटिन्थी ।

तर त्रिलोकलाई श्रीमतीका कुराले रत्तीभर छुँदैनथ्यो । ऊ मृतकको मुटु, कलेजो र दिमागमा एकतमास कैँची चलाइरहन्थ्यो ।

श्रीमतीले लोग्नेको हविगतबारे आफ्ना हितैसीसामु गुनासो नबिसाइरहन सकिन । ऊभित्र एक किसिमको भयानक उकुसमुकुसले डेरा जमाएको थियो ।

एक महिना बित्यो तर त्रिलोकले खोजीलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेन । मानवलाई दानवको कोटीमा पुर्‍याउने अहम, इगो, द्वन्द्व, घमण्डको जड अर्थात ‘म’ मानव शरीरको कुन भागमा लुकेको हुन्छ भन्ने तथ्य अनुत्तरित बनिरह्यो ।

डाक्टर थकित भैसकेको थियो । जति नै प्रयास गर्दा पनि खोजी कार्यले पूणर्ता नपाएकोमा निराश पनि थियो । कैँची चलाउँदा-चलाउँदै त्रिलोकका आँखा झुपुझुपु हुनथाले । उसलाई निद्रा लागेर आयो । डाक्टरले निद्रामा गजबको सपना देख्यो । सपनामा मृतव्यक्ति ज्यूँदो मानिसमा रूपान्तरित हुँदै उठ्यो । अनि राक्षसी हाँसो हाँस्दै बोल्न थाल्यो-
‘तँ चीरनिद्रामा हराएको मानिसमाथि कैँची चलाउने ? तँ कायर होस् !, क्रुर होस्, आततायी होस् डाक्टर ! ‘म’ के हो ? शरीरको कुन भागमा बस्छ ? त्यसको हुलिया, आनी-बानी, कस्तो हुन्छ ? तँ त्यही जान्न खोज्दै थिइस् हैन ? वास्तवमा ‘म’ नामक इगो तँभित्र छ, मभित्र छ, सबैभित्र छ । कसैसँग अध्यधिक होला, कसैसँग नगन्य मात्रामा होला । आफूभित्र नगन्य मात्राको ‘म’ लिएर बाँचेकाहरु नै मानवबाट महामानव बने । तैँले भगवान् श्रीकृष्णको विश्वरुपबारे सुनेकै होलास् । आज म तँलाई ‘म’ को विश्वरुप देखाउँछु ।’

यति भन्दै मृतक राक्षसको छविमा देखापर्‍यो । उसको आकृति छिनछिनमा बदलिइरहन्थ्यो । उतिखेरै हिँस्रक जनावरको रुपमा देखा पर्दथ्यो त उतिखेरै क्रूर राजा-महाराजाको हुलियामा प्रकट हुन्थ्यो । हेर्दाहेर्दै उसले चंगेज खाँ, लुई चौधौँ, हिटलर, मुसोलिनी, पोलपोट आदिको आततायी आकृति ग्रहण गर्‍यो । एडल्फ हिटलर बनी निरापराध मानिसहरुलाई ग्याँस च्याम्बरमा होम्यो । कट्टरपन्थी हिन्दूको पहिरनमा बाबरी मस्जिदमा हतौडा हिर्कायो । अलकायदा बनी वर्ल्ड ट्रेड सेन्टर ध्वस्त बनायो !

दृष्यावलीहरु विचित्रका थिए । डाक्टर डरले हायलकायल थियो ।

मृतक बोल्न छोडेन – ‘तँ यतिखेर ‘म’वादको निवासस्थान खोजिरहेको छस् । मानव इतिहासमा ‘म’को उग्र विष्फोटले अरबौँ-अरबको ज्यान लियो । तर तँलाई त्यस्ता कुरा के थाहा ? तँ त केवल रोगका बारेमा जान्दछस् । चिरफारलाई धर्म मान्दछस् । कसाहीसरी मानिसको शरीरमा छुरी चलाउँछस् । तैँले मेरो शरीरमा कैँची चलाइस् मात्र । म एक महिनादेखि निराहार रहेको ज्ञानसम्म भएन तँलाई । म यतिखेर भोकले रन्थनिएको छु । कि मलाई पेटभरी खान दे, नत्र भने अब म तँलाई नै लुच्छु ।’ राक्षसी दाह्रा ङिच्याउँदै मृतकले भन्यो ।

डाक्टर डरले हायलकायल हुँदै घरबाहिर निस्कियो । अनि होटल-रेष्टुरेण्टमा भेटेजतिका खानेकुरा बोकेर आयो । त्रिलोक दिँदै जान्थ्यो, मृतक खाँदै जान्थ्यो । घण्टौँ लामो खानपिन चल्यो । ल्याएजतिका खानेकुरा सिद्धिए ।

परन्तु मृतक तृप्त भएन ।

‘सकेको सेवा गरेँ । योभन्दा बढी केही गर्न सक्दिनँ । कृपया ममाथि दया गर्नुस् ।’ हड्बडाउँदै त्रिलोकले भन्यो । डरले डाक्टरको सम्पूर्ण शरीर सिथिल भयो, लल्याक्लुलुक भएर आयो ।

ऊ एकाएक कहालिँदै चिच्यायो । चिच्याहटसँगै निद्राबाट ब्यूँझियो ।

पूर्णिमाको रात थियो । चन्द्रमा दूर क्षितिजबाट माधुरी किरण छोडिरहेको थियो । त्रिलोक तनावबाट मुक्त हुन कोठाबाहिर निस्कियो ।

त्यही समयमा मृतकका चार छोराहरु बेपत्ता बाबुको खोजी गर्दै डाक्टरको घर छेउमा पुगे । उनीहरुले त्रिलोकको घरमा एक महिना पुरानो लास छ भन्ने कुराको गाइँगुइँ सुनेका थिए । डाक्टर त्यतिबेला चन्द्रमा हेर्दै एकतमास टोलाइरहेको थियो ।

मृतकका छोराहरुले त्रिलोकलाई भेटे अनि आफ्नो हराइरहेको बाबुको प्रसङ्ग निकाल्दै कोठाभित्र राखेको लासको बारेमा सोधखोज गरे ।

डाक्टरले हडबडाउँदै भाग्ने कोसिस गर्‍यो, परन्तु सफल भएन । ऊ मृतकका छोराहरुको नियन्त्रणमा पर्‍यो । उसले बेबारिसे लास घरमा ल्याइ अनुसन्धान गरिरहेको स्वीकार गर्दै कोठाभित्र राखेको शव देखायो । डाक्टरको कोठामा रहेको शव उनीहरुको बाबुकै भएको यथेष्ट प्रमाण मिल्यो ।

मृतकका छोराहरु बाबुको लास र डाक्टरलाई लिएर अज्ञातस्थलतर्फ हिँडे ।

सहरभन्दा पर नदी किनारमा जटाधारी वृद्धको आश्रम थियो । मानिसहरु उनलाई ज्ञानी पुरुष पनि भन्थे । उनीहरु बाबुको लाससहित ज्ञानीको आश्रम पुगे ।

ज्ञानी पुरुष अनुहार हेरेर मनको कुरा भनिदिन सक्थे । बोल्नै नपाई ज्ञानीले उनीहरु त्यहाँ जानुको कारण स्वतः चाल पाए ।
‘डाक्टरलाई प्राणदण्ड दिँदा हुन्छ या प्रहरीको जिम्मा लगाइदिउँ ? मर्जि होस् प्रभो !’ दुई हात जोड्दै ज्ञानीसँग मृतकका छोराहरुले विन्ति बिसाए ।

जटाधारी ज्ञानी क्षणिक सोचमग्न रहे अनि बोल्नथाले- ‘बाबुहरु हो ! मेरो तेस्रो नेत्र भन्छ, डाक्टरले तिमीहरुका बाबुको हत्या गरेका होइनन् । तिमीहरुका बाबु अपराधिक समूहका नाइके थिए । उनी समाजलाई आफ्नो फरमानअनुसार हिँडाउन चाहन्थे । मेरो आदेशविना रुखका पात पनि हल्लिनुहुँदैन भन्ने मान्यता राख्थे । तर तिमीहरुको बाबु जुन आपराधिक संगठनमा थिए, त्यहीभित्र दोश्रो बादशाहको जन्म भयो । ऊ तिमीहरुको बाबुबाट बादशाही ताज खोसेर आफ्नो शिरमा लगाउन चाहन्थ्यो । फलतः एक दिन उसले तिमीहरुका बाबुको हत्या गर्न पुग्यो ।

म यस मामलामा डाक्टरको कुनै दुषित भावना देख्दिनँ । डाक्टरको गल्ती भनेको यही हो कि यिनले बेबारिसे अवस्थामा भेटिएको तिमीहरुको बाबुको शव अनधिकृत रुपमा घरमा लगेर राखे अनि बगरेले जसरी निर्जीव शरीरमा छूरा चलाए !
अनि सुन डाक्टर ! कतिपय विषय यस्ता हुन्छन् जो मेडिकल साइन्सको सीमाभित्र पर्दैनन् । ‘म’ के हो, त्यो मानव शरीरको कुन अङ्गमा बास बस्छ भन्नेजस्ता प्रश्नको जबाफ मेडिकल साइन्सले दिन सक्दैन । त्यो चिरफारबाट ज्ञात हुने विषय पनि होइन । यो त दर्शनशास्त्रसँग सम्बन्धित विषय हो ।

म तिमीलाई एउटा सत्य कथन सुनाउँछु । हात प्रकाशलाई छुन सक्दैन तर पनि प्रकाश छ । कान प्रकाशलाई सुन्न सक्दैन फेरि पनि प्रकाश छ । जिब्रो प्रकाशको स्वाद लिन सक्दैन, फेरि पनि प्रकाश त छ ।

त्यसको अर्को उदाहरण हो हावा । हावा देखिँदैन, महसुस हुन्छ मात्र । हावा निराकार छ तर त्यही निराकार हावा कुनै बेला आँधी-तूफानको भेषमा धर्तीको छातिमाथि सिँगौरी खेल्छ । प्रलय मच्चाउँछ । अरबाैँको धनमाल क्षणभरमा माटोमा मिलाउँछ । ‘म’ पनि त्यस्तै एक तत्त्व हो । ‘म’को कुनै स्थूल रुप हुँदैन, जसलाई आँखाले वा वैज्ञानिक उपकरणका माध्यमले प्रत्यक्ष देख्न सकियोस् ।

तसर्थ निष्कर्षको रुपमा भन्न सकिन्छ कि ‘म’ कैँची, छूरा, चिरफार या अपरेशनमार्फत् दृष्यमान हुने वस्तु नभै चेतनाद्वारा ज्ञात हुने तत्त्व हो । उल्लेखित तथ्यलाई बुझ्न नसक्नु डाक्टरसापको कमजोरी रह्यो ।’

अन्त्यमा, म बाबुहरुलाई पनि भन्छु, ‘क्षमा ही परमोधर्म !’ डाक्टर त्रिलोकलाई क्षमादान गरी आफ्ना पिताको अन्त्येष्टि कर्म गर । जो बित्यो सो बित्यो । विगत नदी हो । मरेकाहरु फर्केर कहिल्यै आउँदैनन् ।’, यति भन्दै जटाधारी पुरुष आश्रमभित्र पसे ।