“छोरा, खाना खान आइज है ! ” ममीको आवाजले झसङ्ग भएँ ।
ओहो ! कति छिटै अँध्यारो भैसकेछ । साँझपख छतमा बसेर, त्यहाँ चल्ने मीठो बताससँगै रमेर गीत सुन्न थाल्यो भने त समय बितेको पनि पत्तै नहुने ।
“ल ममी आएँ ।” उठेर तल जान मात्र के लागेको थिएँ, मेरो आँखा पल्लो घरको झ्यालमा गएर टक्क अढियो । कसैले मलाई पर्दाको चेपबाट चिहाइरहेझैँ लाग्यो । एकैछिन हेरिरहेँ अनि त्यो आँखा पनि बढ्दै गएको अँध्यारामै हरायो । कोही पर्दा लगाउन आएको होला भन्ने सोचेर तल गएँ । भोलिपल्ट पनि यही क्रम दोहोरियो । देखिएला कि झैँ गरेर छेलिँदै मलाई चिहाइरहेका आँखा । आँखाबाटै शब्दहरू निस्केर छताछुल्ल पोखिन्छन् कि झैँ गरी मलाई हेरिरहेका । को होला? किन त्यसरी लुकी-लुकी हेरेको होला; सोच्दासोच्दै एक्कासि डरले मुटु चिसो भयो । हाम्रो परिवार बुटवलबाट भर्खरै चितवन सरेको थियो । छिमेकमा यताउता कसैलाई मैले चिन्न भ्याएकै थिइनँ । तल गएर ममीलाई त्यो घरका बारेमा सोधेँ । त्यो घरको पसलबाट कहिलेकाहीँ समान ल्याउने गरे पनि अरू कुरा भने त्यस्तो थाहा नभएको कुरा ममीले गर्नुभयो । कस्तो रहस्यमय आँखा । कति धेरै कुरा त्यै आँखाभित्र गुम्साएर राखेजस्तो । मेरो मनको कौतुहलता भने अझै शान्त भएको थिएन ।
भोलिपल्ट कलेजबाट फर्किने बेला चिप्स किन्ने निहुँ पारेर म त्यो घरमा गएँ ।
“नमस्ते आन्टी !” मलाई देखेर आन्टी खुसी हुँदै, “ए पल्लो घरको बाबु होइन तिमी ? बस्दै गर है ।” भनेर भित्र गएर जुस लिएर आउनुभयो ।
“तिमीलाई कलेज जाँदै गरेको त देख्थेँ, आज बल्ल कुराकानी गर्ने मौका मिल्यो । अनि कस्तो लागिराछ त बाबु चितवन ?” आन्टी फरासिलो स्वभावको हुनुहुँदो रहेछ ।
कुराकानीकै सिलसिलामा उहाँको परिवारका बारेमा सोधेँ ।
“म र मेरो श्रीमान् मात्र छौँ ।” उहाँले उत्तर दिनुभयो ।
“अनि यति ठूलो घरमा दुई जना मात्र ? भाडामा दिनु भा’छ रुम ?” मैले फेरि प्रश्न गरेँ ।
“छैन नि बाबु । तल पसलको सामानैसामान छ । यत्तिकै छोड्न मिलेन अनि हामी दुवै तलै बस्छौँ । माथिका रुमहरू सबै खाली छन् ।” एकछिन त म अवाक् भएँ । माथिका रुम सबै खाली छन् भने त्यो झ्यालबाट मलाई चिहाउने को त ? त्यो सब मेरो भ्रम त पक्कै थिएन । त्यसपछि त त्यो घरमा बस्न पनि डर लाग्न थाल्यो । आन्टीसँग बिदा भएर म घरतिर लागेँ । छतमा जान पनि छाडेँ । कलेज जाँदा पनि अर्कै बाटाबाट जान थालेको थिएँ ।
एक दिनको कुरा हो । हामी सपरिवार बसेर बिहान खाना खाँदै थियौँ । त्यति नै बेला त्यही घरको आन्टी हाम्रो घर आउनुभयो ।
“बाबु, आज म अनि अङ्कल दुवै सानो काम परेर हेटौँडा जानुपऱ्यो । दिउँसो पसलका लागि सामान मगाएका छौँ । त्यो सामान नआउन्जेल पसलमा बसिदिन्छौ ? पसल बन्द देख्यो भने फेरि सामान झार्दैन, त्यही भएर के है बाबु?”
“ए बसिहाल्छ नि । आज यसको कलेज पनि बिदा छ ।” मैले केही भन्नुअगावै ममी बोलिहाल्नुभयो । पसलको चाबी थमाएर आन्टी जानुभयो । डरले आफ्नो भने मुटु ठाउँमा थिएन । त्यही पनि दिउँसै त छ, मान्छेहरू पनि पसल वरिपरि टन्नै हुन्छन् भनेर आफैँलाई सम्झाउँदै म पसलतिर लागेँ । मान्छेहरूको आवतजावत चलि नै रहेको थियो ।
म भने फोन चलाउँदै समय काट्दै थिएँ । त्यही बेला भित्र किचनबाट भाँडा खसेको आवज आयो । हावाले गर्दा होला भनेर फेरि फोन के हेर्न आँटेको थिएँ, फेरि भित्रबाट धारा खोलेको आवाज आयो । आफ्नो होसले ठाउँ छोडिसकेको थियो । पसल छाडेर घर जान नि नमिल्ने, त्यहीँ यत्तिकै बसिरहन पनि मनले मानेन । बल्ल-बल्ल हिम्मत जुटाएर किचनतिर पाइला बढाएँ । किचन तल्लो तलामै थियो । ढोकासम्म पुगेर बिस्तारै भित्र चिहाएँ । एक युवती भाँडा माझ्दै थिइन् । सर्लक्क परेको लामो कपाल, मिलेको जिउडाल । मतिर नफर्केकी भए पनि उनी १९-२० बर्सकी होलिन् भनेर सजिलै अड्कल काट्न सकिन्थ्यो । कोही आएको भान पाएर होला, उनी मतिर फर्किइन् । उनको अनुहार देखेर त म छाँगाबाट खसेजस्तो भएँ । पूरै जलेको अनुहार । उसका आँखाबाहेक अरू कुनै अङ्ग छुट्याउन नसकिने तर ती आँखा देखेर मलाई झ्यालबाट चिहाउने आँखा तिनै हुन् भन्ने कुरामा चैँ म विश्वस्त थिएँ ।
“तिमी चाहिँ को?” मेरो मुखबाट फुत्किहाल्यो ।
“म यो घरकी छोरी अनि केही काम थियो कि तिम्रो ?” उसले प्रश्न गरी ।
“छोरी रे ? अनि आन्टीले त……” मैले आफ्नो प्रश्न टुङ्याउन नपाउँदै “छोराछोरी कोही छैन भन्नुभएको होला हैन ?” उल्टै हाँस्दै मलाई प्रतिप्रश्न गरी । हो को भावमा टाउको हल्लाएँ ।
“परिस्थिति नै यस्तै छ । नत्र आफ्नो ज्युँदै भएको सन्तानलाई छैन भन्न त कुन आमाबुबाको मन हुन्छ होला र !” म अलमल्ल परेर उभिएको देखेर एउटा कुर्सी तान्दै, “बस, तिमीलाई एउटा कथा सुनाउँछु है त ?” भनेर ऊ मेरो साम्मुने बसी ।
” मेरो नाम चाहिँ श्रुति ।” ऊ बोल्न सुरु गरी, “आज तिमीले मलाई जस्तो देखेका छौ, त्योभन्दा निकै भिन्न थियो मेरो जीवन । निकै सम्पन्न परिवारमा हुर्किएकी म । काठमाडौँमा बसोबास थियो । बाबा सरकारी जागिरे हुनुन्थ्यो । घरमा केही कुराको अभाव थिएन । त्यैमाथि म झन् घरकी एक्ली छोरी । मैले घरमा पाएको सुख अनुहारमा पनि प्रस्ट झल्किन्थ्यो । कस्तो गुडियाजस्तै हाम्री श्रुति त भन्दा मनमनै मक्ख पर्थेँ म । समयको चाल बढेसँगै गालामा चढेका ती गुलाबी लाली, आँखाको त्यो चञ्चलताले मेरो सौन्दर्य अझै निखारेझैँ लाग्थ्यो । समयसँगै आफूमा आएको परिवर्तन देखेर मक्ख पर्थेँ म ।
दस क्लासमा पुगिसकेकी थिएँ । दिनभरि स्कुल अनि त्यो पछि ट्युसन सकेर घर फर्किँदा बेलुकाको ६-७ बजिसकेको हुन्थ्यो । एक दिन सधैँझैँ ट्युसन सकेर म अनि मेरी साथी सारा घर फर्किँदै थियौँ । अचानक हाम्रो बाटो छेक्दै एउटा बाइक हाम्रो अगाडि रोकियो । हेल्मेट खोल्दै एउटा करिब २०-२२ को जस्तो देखिने केटा हाम्रो अगाडि आयो । अपरिचित अनुहार थियो । मलाई बोलाएको सुनेर एकछिन त झसङ्ग भएँ ।
“मैले चिन्न सकिनँ त हजुरलाई ? मेरो नाम कसरी थाहा भयो ?” सकेसम्म नम्र हुँदै सोधेँ ।
“तिम्रो बारेमा त हरेक कुरा थाहा छ मलाई, जाबो नाम त के ठूलो कुरा भयो र ?” उसले हाँस्दै भन्यो ।
मलाई उसको त्यो कृत्रिम हँसाइ नै मन परेन, “केही काम छ भने भन्नुस् नत्र घर जान ढिलो भइसक्यो हामीलाई ।”
उसले केही नबोली आफ्नो ज्याकेटको खल्तीबाट गुलाफ अनि एउटा सानो कागज निकालेर मेरो हातमा राखिदियो । कागज खोलेर हेरेँ । प्रेमप्रस्ताव रहेछ ।
“कमसेकम आफूले चिनेको मान्छे पो खोज्नुपर्छ । बाटामा जो देख्यो त्यसकै बाटो छेकेर प्रपोज गर्दिने ? त्यैमाथि मबाट केही आशा नराखे हुन्छ । यस्तो कुरामा अल्झिएर बस्ने मान्छे होइन म । चिन्नु न जान्नु यसै…..!” त्यो कागज र फूल उसकै हातमा फिर्ता दिएर म घरतिर लागेँ । कता-कता अलि अजिब लागे पनि त्यो घटना सामान्य रूपमै लिएँ मैले ।
एक हप्तापछि भने त्यो केटाले मलाई पछ्याउन थालेको भान हुन थाल्यो । स्कुलबाहिर त कहिले ट्युसन क्लासबाहिर बाइक लिएर बसिरहेको हुन्थ्यो । मनमनै निकै डर लाग्न थालेको थियो । एकदिन त हाम्रो घरतिर हेर्दै अगाडिको बाटाबाट पास भएको देखेँ उसलाई । ममीबाबालाई गएर सुरुदेखिको सबै घटनाको बेलीबिस्तार लगाएँ । भोलिपल्ट मलाई स्कुलपछि लिन बाबा आउनुभयो । त्यो केटा त्यहीँ बाइकमा बसिरहेथ्यो । बाबा उसलाई त्यहाँ देख्नेबित्तिकै रिसले चुर भएर उसको सामु जानुभयो, “आफ्नो कामले हिँडिरहेको मान्छेको बाटो छेकेर जे मनमा आयो त्यै प्रस्ताव राख्ने ? अझ छोरीले हुन्न भनेपछि पनि उसलाई पछ्याइरहने ? के पारा हो बाबु तिम्रो ? अबबाट यो काम छोडेनौ भने तिमीलाई पुलिसको जिम्मा लगाइदिन्छु ।”
आफ्नो सन्तानलाई अरू कसैले दुःख दिएको देख्दा हरेक आमाबुबालाई रिस उठ्नु त स्वाभाविक नै हो । त्यैमाथि उसको त हर्कत नै शङ्कास्पद थियो । बाबाले त्यो भन्नासाथ ऊ त्यहाँबाट फर्कियो । त्यस दिनपछि त्यो केटा देखा पर्न छाड्यो । त्यही स्कुल, ट्युसन गर्दै दुई महिना बितिसकेको थियो । त्यो दिन मेरो स्कुलको लास्ट दिन थियो अर्थात् फेयरवेल । दिनभरि स्कुलमा निकै रमाइलो गरेर हामी बेलुका पाँच बजेतिर घर फर्किँदै थियौँ । साराको घर आयो । उसलाई बाई भनेर एक्लै घरतिर बढ्दै थिएँ । अगाडिबाट रफ्तारले आइरहेको बाइकलाई बाटो दिन साइड लाग्दै गर्दा छ्याप्प अनुहारमा कसैले केही छ्यापेको भान भयो । के भएको हो सोच्न नभ्याउँदै मेरो मुख भतभत पोल्न थाल्यो । कसैले तातो तेल खन्याइदिएर त्यसैमाथि करेन्ट लगाइदिएजस्तो । एकाएक भाउन्न भएर आयो । मुख प्याकप्याकती सुकेर चिच्याउन समेत सकिनँ । आँखाअगाडि अन्धकार छायो । आँखा खोल्दा म हस्पिटलको बेडमा थिएँ । ममीबाबा सबैको टिलपिलाएको आँखा देख्दा कसैसँग बोल्ने हिम्मत नै आएन । हातको इसाराले ममीसित मेरो फोन मागेँ अनि क्यामेरा खोलेँ । आफैँलाई चिन्न गाह्रो भयो । श्रुतिका त आँखा मात्र छन्, बाँकी नाक, मुख, आँखी भौँ, निधार त एकै ठाउँमा कुचमुचिएजस्तो ।
“हाम्री श्रुति त कस्ती राम्री, ठ्याक्कै गुडियाजस्तै” सानोमा सबैले भन्ने यही कुरा मस्तिष्कमा आयो । मेरो सुन्दरताका लागि गरिएका सबै तारिफहरूको श्रद्धाञ्जलिस्वरूप दुई थोपा आँसु चढाइदिएँ । भगवान्ले दिनुभएको त्यो रूप नै मेरो जीवनको सबैभन्दा ठूलो अभिशाप बन्छ भन्ने कुरा मैले कहिल्यै कल्पना समेत गरेकी थिइनँ ।” ऊ बोल्दा बोल्दै रोकिई अनि मेरो छेउमा रहेको पानीको बोतल मागी ।
बोतल दिँदै मैले सोधेँ, “अनि त्यो केटा ?”
पानी पिइसकेर श्रुतिले फेरि कुरा सुरु गरी, “त्यो दिन मलाई एसिड छ्याप्ने मान्छेलाई कसैले देखेको होइन । त्यो त्यही केटा थियो भन्ने कुरामा म अनि मेरो परिवार विश्वस्त थियौँ । उसका विरुद्ध पुलिस केस पनि गऱ्यौँ तर भ्रष्ट नेताहरूले बिगारेको हाम्रो देश । मन्त्रीको पहुँच, पावर लगाएर केस बन्द गर्न लगाइयो । अनुसन्धानका लागि थप जोड गर्न खोज्दा त्यो केटा घरमै आएर “तेरो छोरी ज्युँदै छे त्यस्मै खुसी मना, अझै बढी हुन खोजिस् भने बलात्कार गरेर फ्याँकिदिन्छु । पुलिसकोमा जाने त नसोचे पनि हुन्छ” भनेर गएछ । पैसासँग न्याय साटिने हाम्रो देशमा त्यसलाई जेल नै हाले पनि नेताहरूको पहुँच पाएपछि उसलाई जेलबाट निस्किन केही गाह्रो थिएन । पछि आफ्नो जिद्दीले गर्दा मलाई गुमाउँछु कि भन्ने डरले बाबाममी दुवैले काठमाडौँ छाड्ने निधो गर्नुभयो अनि हामी सपरिवार यहाँ चितवन आयौँ । यहाँ आएको दुई वर्ष भैसक्यो तर पनि मलाई अझै घरबाट निस्किन डर लाग्छ । पुरुषको आकृति देख्यो कि घिन लाग्न थाल्छ । श्रुतिले लामो सुस्केरा हाली । म एक टकले उसलाई हेरिरहेको थिएँ । हजारौँ सपनाहरू कैद भएका उसका ती आँखा भन्दा सुन्दर यो संसारमै अरू केही छैन झैँ लाग्दै थियो ।
टिँ टिँ टिँ.. बाहिर चर्कोसँग हर्न बज्न थाल्यो ।
“सायद सामान आयो होला, म झार्दिन गएँ है ?” म त्यहाँबाट उठेँ ।
“हस्! म पनि जान्छु है अब ? बाई ।” भन्दै ऊ माथिल्लो तल्लामा उक्लिन थाली ।
“श्रुति”, मैले बोलाएको सुनेर उ अडिई । “यु आर दि स्ट्रोङ्गेस्ट ह्युमन । तिम्रो जस्तो शक्ति भगवान्ले सबैलाई दिऊन् । भोलि फेरि आउँछु है तिमीसँग कुरा गर्न । ऊ मुसुक्क हाँसी । धेरै पछि खुलेर हाँसेझैँ देखिई ऊ । पसलको सामान झारिदिएर आफ्नो घरसम्म पुग्दा मेरो भने हाँसो हराइसकेको थियो ।
“दादा पसलबाट मलाई के ल्याइदिस् ?” म घरभित्र पस्नेबित्तिकै आभाले सोधी । आँखामा टिलपिलाएको आँसुले गर्दा होला आभाको धमिलो आकृति मात्र देखियो । आफ्नै बहिनी देखेर निकै रुन मन लाग्यो । कति नाजुक छ छोरीहरूको जीवन । पुरुषहरूको खोक्रो अहङ्कारका निमित्त एसिड अट्याक, बलात्कार, बेचबिखनको सिकार भएर आफ्नो ज्यान समेत गुमाउन बाध्य हुन्छन् । घरबाहिरको त के कुरा गर्नु ? आफ्नै घरभित्र पनि सुरक्षित छैनन् आज छोरीहरू । आफूले भोगेका दुःख र यातनाविरुद्ध एउटा न्यायको मात्र त आश हुन्छ तर बिडम्बना हाम्रो देशमा न्याय, कानुन भनेको दुःखी, गरिब नेपालीहरूका लागि त आकाशको फल आँखा तरी मर् झैँ भएको छ । एउटी चेली राष्ट्रपति भएको देशमा अर्की चेली असुरक्षित हुनु भनेको कति सम्म दुःखद विषय हो ।
“दादा केही ल्याइनस् ?” आभाले टिसर्ट तानेपछि बल्ल वास्तविकतामा फर्किएँ ।
“तेरा लागि एउटा साथी खोजेर ल्याको छु, भेट्छेस् ?”
“फाइव क्लासमा हो ऊ पनि ?” खुसी हुँदै सोधी आभाले । श्रुतिको सामीप्यमा बसेर आभाले जीवन राम्रोसँग बुझ्छे भन्ने कुरामा ढुक्क थिएँ ।
“आफैँ सोध्नू भोलि कुन क्लासमा हो ।” म हाँस्दै माथि उक्लिएँ । आभा भने अचम्म मान्दै मलाई हेरिरहेकी थिई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।