घाँस काट्नु, खेतमा पानी लगाउनु, आफूले जोइन गरेका अनलाइन क्लासहरूमा उपस्थित हुनु, कोभिडले थुनिएर घर बस्दाका यी नै बर्खाका दैनिकीहरूलाई पन्छाएर कोभिडको मन्दीसँगै बिस्तारै खुल्दै गरेको काठमाडौँलाई गन्तव्य बनाएर पर्वतबाट पूर्वतिर हानिएको थिएँ । खास वा कुनै काम विषेशले हैन । म यत्तिकै विनाकारण फुरुकफुरुक पर्दै काठमाडौँ गएको हुँ । साढे नौ बजे सदमुकाम कुस्माबाट उठाएको हाइसले साँझ पाँच बजेतिर कलङ्की पुऱ्यायो । यतिन्जेलसम्म मैले काठमाडौँमा रहनुहुने कोही आफन्त, साथी, भाइ कसैलाई पनि आउँदै छु भनेर जानकारी कल गरेको थिइनँ ।

कलङ्कीनजिकै क्यानभास नेपाल प्रा. लि. तथा युट्युब च्यानलका निर्देशक आदित्य भाइलाई कल गरेँ तर कल उठेन । सायद नेपाली पर्यटन प्रवर्द्धनका लागि उहाँ लाइभ पेन्टिङका क्रममा  कुनै क्यानभासमा व्यस्त हुनुहुन्छ । मैले अर्को नम्बर खोजेँ । शैलेश, उहाँ मेरो ब्याच्लर पढ्दाको साथी हो । बानेश्वर आसपास बस्नुहुन्छ । कल गरेँ । उहाँको फोन उठ्यो । उहाँले मलाई गुरु भनेर सम्बोधन गर्नुहुन्छ । कहाँ के सन्चो बिसन्चो सोधेपछि उहाँले भन्नुभयो, ल गुरु तपाईँलाई काठमाडौँमा स्वागत छ । म अपिसमै छु । हजुर रिङरोडको गाडी चढेर कोटेश्वर आउनुस् । अनि बानेश्वर जाने सडकतिर पैदल आउनुस् शान्तिनगर चोकसम्म । हुन्छ मा हुन्छ मिलाउँदै मैले त्यसै गर्ने निर्णय गरेँ ।

रमेश आचार्य

सातदोबाटो, कोटेश्वर, भक्तपुर, ठिमी गाडीको स्टाफ कराउनुहुन्छ । रिङरोडकै किन चाहियो, कोटेश्वरसम्म जाने भएपछि म त्यसैमा चढेँ । कोटेश्वर चोकभन्दा अलि वरको अकासेपुलनिर पुगेपछि गाडीको स्टाफले कोटेश्वर झर्ने सम्पूर्ण यात्रुलाई झर्न अनुरोध गर्नुभयो  । म पनि त्यहीँ झरेँ । म काठमाडौँ पहिलोपटक गएको हैन तर पनि सडकपेटीमा उभिएर बानेश्वरका लागि गुगल म्याप सर्च गरेँ । पूर्व जाने रात्रिकालीन गाडीहरूका कारण कोटेश्वर चोक साँझमा निकै व्यस्त हुन्छ । व्यस्त सडकलाई छिचोल्दै म अगाडि बढेँ । मलाई ढिलो पाइला चाल्न आउँदैन फटाफट पाइला चाल्न व्यस्त सडकले दिँदैन । गुगल म्याप हेर्दै तीनकुनेबाट पश्चिमतिर तेर्सिएँ ।

त्यसै बखत म हिँडेकै सडकपेटीमा झन्डै छ-सात मिटरअगाडि मभन्दा छिटो-छिटो चलेका स्त्रीका पाइलाहरू मेरा आँखामा ठोक्किए । ओहो! कति छिटो हिँड्न सकेका हुन् ती पाइला ! मनमा एक खाले कौतुहलता नाच्यो । पाइलासँगै पछाडिबाट उसलाई नियालेँ, झन्डै पाँच फिटबढी उचाइ, न त मोटी न त पातली, ठिक्क शरीरमा काला थाइल्यान्ड मेड किट्टो चप्पल, चपक्क समातेको निलो जिन्स पाइन्ट, सेतो टि-सर्ट, एडिड्यासको कालो भिर्ने झोला, शिरमा कालो लवडले बाँधेको कालो छोटो कपाल हिँडाइको झट्कासँगै नाच्दा कति राम्रो दखिएको । यो दृष्य देखेर मेरो बसबाट बाहिर पुगेको मनले मलाई अन्त हेर्नै दिएन । कसैले देख्न नसक्ने । छेक्न नसक्ने यो मन उसको पछाडि-पछाडि नियालेर केही कामुक चित्र कोर्न भ्यायो । छिः! यो मन किन यति घृणित हुन्छ घरिघरि ? अचम्म लाग्छ मलाई !!

मभन्दा फटाफट चलेका ती पाइला भेट्टाउन मन लाग्यो । मलाई हत्तपत्त मभन्दा सानोठुलो कसैलाई पनि तँ भनेर सम्बोधन गर्न आउँदैन । हजुर तपाईँ नै भन्न मन लाग्छ । नजिक पुगेर उसको आधा अनुहार यी आँखामा टिपेर मैले भनेँ, “कत्ति छिटो हिँड्नुभएको, मैले त भेट्टाउनै सकिनँ । पछाडिको जेब्रा क्रसबाट फलो गरिरहेको थिएँ; बल्ल भेट्टाएँ ।”

मेरो अनुहारको देब्रे भागमा एक नजर लिएर उसले च्याँट्ठिएको स्वरमा भनी, “सुस्त हिँड्ने मेरो बानी नै छैन । अनि हजुरले मलाई भेट्टाउनुपर्ने केही जरुरी थियो र ?”

यस्तो खरो स्त्रीलिङ्गीय आवाज मैले पहिलोपटक सुनेँ । कति ज्याद्रो बोलेकी, दूरीले नजिकिएको एक अपरिचित पुरुषलाई पर धकेल्न उसका यी शब्द र हाउभाउ पूर्ण थियो तर पनि मैले नम्र स्वरमै जवाफ दिएँ, “हो,  हजुरलाई भेट्न एकदम जरुरी थियो । अथवा भनौँ, पर्वतबाट म हजुरलाई नै भेट्न आएको हुँ ।”

केही खच्किँदो स्वरमा उसले भनी, “ओहो मान्नुपर्छ हजुरको क्रिएटिभिटी । पर्वतबाट कोसेली पनि ल्याइदिनुभएको होला नि?”

जिस्किएका आँखाले मलाई हेरेर उसले मतिर प्रश्न तेर्स्याई ।

“उम् ल्याइदिएको छु” मैले भनेँ ।

हाम्रा पाइला रोक्किएका थिएनन् ।

“तर म हजुरलाई चिन्दिनँ नि !” उसले भनी ।

“अब चिनजान गरौँ न त” मैले भनेँ ।

“नाइँ नचिन्ने” उसले भनी ।

अगिबाटै कुनै ठाउँ नदिएर मलाई पर पुऱ्याएकी उसले अहिले त डाँडै कटाइदिई ।

“इट्स ओके” मैले भनेँ ।

यो मन पनि अचम्मको छ । उसको रूपरङ्ग देखेका यी आँखाले उसलाई जहाँसम्म पुग्छे त्यहीँसम्म फलो गर् भनेर मलाई हौसाउँछन् । यो माया हो या उत्तेजना ? यो मायाको न टुप्पो हुन्छ न छेउ । जो देख्यो, जो नजिक हुन्छ उसैको माया लाग्छ तर खासमा मलाई मभित्रको सचेत मनले माया त श्रीमान् गुमाएकी गर्भवती महिलाको लाग्छ र लाग्नुपर्छ भनेर अर्थाउँछ ।  फेरि जिन्दगीले भन्छ बढी जिम्मेवार भने उसैका लागि हुनुपर्छ जसले हरेक मोडमा यो काँधमा हात राखेर मलाई आफ्नो पति हो भन्ने कुरा सम्झिरहन्छे । मलाई मायाँले या उत्तेजनाले ऊसँगै पाइला चाल्न प्रोत्साहन गरिरह्यो

एकछिन म चुप भएँ । थप केही बोलिन । उसले पनि केही बोलिन । तर सँगै हिँड्न भने छाडेका थिएनौँ । परिचयलाई रोकेर उसले फिमेल इगो देखाइहाली मलाई यो मन परेको थिएन ।

साथीले बागमती पुल तरेपछि शान्तिनगर आउँछ भनेको थियो । म मोबाइलमा गुगल म्यापमा घोप्टिएँ ।

केही मिटरपर पुगेपछि नजिकबाट गुडेको गाडीले हामीतिर धुलो हुत्त्यायो । त्यसै बखत उसले भनी, “काठमाडौँ कहिले सफा हुन्छ होला है ! दिक्क लाग्छ मलाई ।”

म बढी केही बोलिनँ ।

“पहिलेभन्दा त धेरै सुधार भएको छ” मैले भनेँ ।

यथार्थको वर्णन भनूँ या उदाङ्गो नाउँ, भन्नेहरूले काठमाडौँलाई हिउँदमा धुलोमाडौँ बर्खामा हिलोमाडौँ र सदाबहार भिडमाडौँ  भन्छन् । तर म मस्तिष्कमा लालीगुराँस बोकेर हिँडेको यात्री हुँ । अथवा भनूँ उपत्यकाको दुई दिनको पाउना हुँ । मलाई  काठमाडौँमा धुलोसँग होली खेल्न मन छ । हिलोसँग असार पन्ध्र मनाउन मन छ । भिडसँग जात्रा र उत्सव हेर्न मन छ ।अथवा भनूँ मलाई राजधानी रैला छ ।

बागमती पुल तरेपछि साथीले भनेको शान्तिनगर लेखेको बोर्ड देखियो । त्यहाँ पुगेर मेरा पाइला रोक्किनुपर्ने हुन् तर उसका पाइला बल्ल रोकिए । मतिर फर्केकी उसलाई बल्ल नियाल्न पाएँ । पडाहको उकाली, ओराली र चिसो पानीले छाँटेको हैन उसको शरीर र पनि अँगालोमा बेरूँ बेरूँ लाग्ने सलक्क मिलेको । कालो टीका निधारमा, कालो गाजल आँखामा । माक्स खोल्नुस् न एकपटक भन्न मन थियो । अपरिचितमै छुट्न हतार उसको व्यवहारले मलाई उसलाई थप चिढाउन मन लागेन ।

पर कोटेश्वर चोकबाट कुरा गर्दै आएको अनि अहिले उसको अगाडि उभ्भिएको एउटा जवान पुरुषलाई उसले राम्ररी नियाली सायद र केही नम्र स्वरमा उसले सोधी, “हजुर यहाँबाट कता जाने हो ?”

मैले भनेँ, “म साथीकोमा आएको हुँ । साथीको रुम कता हो थाहा छैन । उसले ‘यही चोकमा बस्नू लिन आउँछु’ भनेको छ । ऊ नआउन्जेल म यहीँ बस्छु ।

अनि हजुर ?”

देब्रेपट्टिको सडकलाई इसारा गर्दै उसले भनी, “म यता जाने हो । साथीलाई कल गरेर सोध्नुस् न यता जाने भए सँगै जाऔँला । त्यो ठाँउलाई आलोकनगर भन्ने रैछ ।

मैले सोचेँ यतिसम्म समझदारी अपनाएर बोल्न जानेकी मान्छे अगि किन च्याँट्ठिएकी होली ।

मैले भनेँ, “नाइँ उहाँ बाइकमा हुनुहुन्छ होला । यहाँ आएर उहाँ आफैँले कल गर्नुहुन्छ ।”

“उसो भए म जान्छु नि” उसले भनी ।

“नाइँ, एकछिन बस्नुस् न म एक्लै हुन्छु” मैले भनेँ ।

ओहो ! पर्वतदेखि एक्लै आएको केटालाई चोकमा केही बेर प्रतीक्षा गर्न एक्लै हुन्छु भन्ने पिर छ ! म हतारमा त छैन तर हजुरसँग गफ्फिने समय पनि छैन” उसले भनी ।

मनमनै सोचेँ, कति ठाडो भाषा बोलेकी । कति हेपेकी । मनमा लाग्यो यो केटीको जिब्रोमा परुषविरोधी सेलहरूले अड्डा जमाएका छन् सायद । कतिसम्म मानहानी गरेकी केटो रे !

यसबारे मलाई कुनै प्रतिकारको भाषा बोल्न मन लागेन ।

“चोकबाट यहाँसम्म साथ दिएको साथीले अझै केही बेर साथ नछोडोस् भन्ने मात्रै मेरो चाहना हो” मैले भनेँ ।

मेरो ध्यान पूरै तानिने गरी तिखा र गाजलु आँखाले मलाई हेरेर उसले भनी, “अनि साथीलाई कल गर्नुस् न त, कति बेर लाग्छ यहाँ आउन ।”

उसका आँखामा हेरिरहन मन लाग्यो ।

मेरो यो अस्वाभाविक व्यवहार उसलाई मन परेन ।

केही पछि खिच्चिएर उसले भनी, “तैट म जान्छु ।”

“दश मिनेट बस्नुस् अनि साथी नआए जानुहोला” मैल भनेँ ।

“नाइँ, फाइभ मिनेट बस्दिन्छु । त्यो पनि मलाई प्रभाव पार्न कुनै क्रिएटिभिटी देखाउनु भएन भने” उसले भनी ।

म यसै हँसीमजाक गर्छु । मनमा पाप छैन । कस्तो सर्त राखेकी । तैपनि “ओके” भनेँ र थपेँ, “हजुरको घर कता नि ?”

“थानकोट” जवाफ ।

“अनि यता कता आउनुभएको ?”

अगि देखाएकै बाटोतिर इसारा गर्दै उसले भनी फुपू दिदीकोमा । यहाँ उहाँहरू दुई जना मात्रै हुनुहुन्छ ।” सायद फुपू र पुसाजु हुनुपर्छ भनेर बुझेँ । “दिदीहरू युरोप ।” फुपू पुसाजुका छोरीहरू भन्न खोजेकी होली । “फुपूले बोलाएर आएकी” उसले भनी ।

“ए ए अनि कुन लेभल पढ्नुहुन्छ ?”

“एमएससी इन्भरोमेन्टल साइन्स, फस्ट सेमेस्टर ।”

ओहो पढनदास ! फिलिङ ह्याप्पी उइद यु भन्न मन थियो तर भनिनँ ।

थप प्रश्न गरेँ, “अब त नाम भन्न मिल्छ होला नि !!”

“नाइँ मिल्दैन” उसले भनी ।

केही नजिक ल्याएर उसले मलाई फेरि पर धकेली ।

“त्यसो भए माक्स खोल्नुस् न एकपटक” मैले भनेँ ।

मबाट बागमती पुलतिर नजर घुमाएर परेली जोडेर इन्कारको भावले उसले भनी, “नाइँ ।”

“उसो भए नम्बर दिएर जानुस्, म हजुरलाई नै कल गरेर साथी आउन्जेलको टाइम किल गर्छु ।”

हाँस्दै भनी, “नम्बर माग्ने घुमाउरो तरिका हो यो । सक्दिनँ मैले हजुरसगँ । यो फाइभ मिनेट पनि धेरै हुन्छ मलाई । हजुरको नाम नम्बर दिनुस् मलाई म नै कल गर्छु बरु” उसले भनी।

यो के मजाक हो । उसको नम्बर नदिने रे तर मेरो नम्बर लगेर कल गर्ने रे कुरा उस्तै हो मेरा लागि तर उसका लागि हैन । कस्ती केटी किन यति धेरै जान्ने हुनुपरेको होला मेरो अगाडि ! मैले भाउ खाएको बहाना गरेर भनेँ, “फाइभ हन्ड्रेड रिचार्ज गरिदिनुहुन्छ भने नम्बर दिन्छु ।”

“ठिक छ । हजुरकोमा ब्यालेन्स छैन भने अथवा थोरै छ भने गरिदिन्छु” उसले भनी । मलाई रिचार्ज चाहिएर यसो भनेको हैन उसको मन विचार गर्न यसो भनेको हुँ । पत्यार लागेन एक छिन कुरा गरेको एक अपरिचित केटालाई फाइभ हन्ड्रेडको रिचार्ज ! आफ्नो नाम भन्नसम्म पनि विश्वास गरेकी छैन मलाई । म कसरी पत्याऊँ?

ऊतिर सहमति खोजेर मैले भनेँ, “प्रमिस?”

जवाफ “प्रमिस गरिदिन्छु ।”

मैले नम्बर दिएँ ।

“हजुरकोमा ब्यालेन्स आउँछ चेक गर्नुस् है म जान्छु ।” उसले फेरि हतार देखाएर भनी ।

“नाम नभनी जाने ?” मैले फेरि सोधेँ ।

उसले भनी, “सरी ।”

“उसो भए रिचार्ज पनि पर्दैन मेरो नम्बर डिलिट गर्नुस्” मैले भनेँ ।

“ब्यालेन्स नभए गरिदिन्छु जबरजस्ती गरेकी छैन” उसले भनी ।

मैले यो कुरालाई यत्तिकै छाडेर…

“फेसबुक, ट्विटर एकाउन्ट नेम त भन्न मिल्छ होला नि फेरि सोधेँ ।”

“सरी” उसले भनी ।

“उसो भए एकपटक माक्स खोल्नुस् न त” मैले भनेँ ।

दाहिने हातमा मोबाइल समातेकी उसले देब्रे हातले दाहिने कानतिरबाट माक्स खोली र मेरो आँखामा हेरेर सोधी, “भयो ?”

उसलाई हेरिरहेँ भयो भनिनँ ।

उसले माक्स लगाई । ल म गएँ ।

अगि इसारा गरेको बाटो ऊ आफ्नो गन्तव्यतिर लागी ।ओठहरूमा मह अनि दाहिने गालामा केक र देब्रे गालामा आइस क्रिम बोकेर ऊ बागमती किनारको सडकबाट मेरो मनको साँझको बत्ति लिएर मलाई अँधेरै पारेर गई । मोबाईलमा घोप्टिँदै हिँडेकी उसलाई पछाडिबाट पर पुग्ने बेलासम्म हेरिरहेको थिएँ ।

यत्तिकैमा……

आदित्य, क्यानभास नेपाल लेखेको नम्बरबाट मेरो मोबाइलमा कल आयो । कल रिसिभ गरेँ।

आदित्य : दादा नमस्कार, सन्चै हुनुहुन्छ ?

म : नमस्कार ! हजुर बाबु म ठिक छु।

आदित्य : बिजी थिएँ कल गर्नु भएको रैछ । कता हुनुहुन्छ?

म : हजुर कल गरेको थिएँ उठाउनु भएन । म यतै वरिपरि नै छु ।

आदित्य : ए काठमाडौँ आउनुभएको ? अनि कता हुनुहुन्छ म लिन आउँछु नि !

म : हो काठमाडौँ आएको छु । म साथीकोमा छु । भोलि  बिहान भेटौँला नि ।

आदित्य : हुन्छ, कल गर्नुस् है ।

म : ल ल ।

कल राखेँ । त्यति बेलासम्म ऊ ओझेल परिसकेकी थिई ।

मोबाइलमा मेसेज झऱ्यो …इसेवाबाट फाइभ हन्ड्रेड टपअप गर्दिछे । सर्भिस नम्बरमा कल गरिहालेँ ।

केटा मान्छेको आवाज सुनियो हतार-हतार फोन काटेँ । मेसेज फेरि हेरेँ इसेवाबाट फाइभ हन्ड्रेड रुपियाँ आएको सर्भिर नम्बर त्यही हो भनी स्योर भएँ । फेरि त्यही नम्बरमा कल गरेँ ।

केटा मान्छेको आवाज…

“मैले सोधेँ सर यो कहाँ पऱ्यो होला ?”

यो कुसुम स्टेसनरी शान्तिनगर, काठमाडौँ ।

केही नभनी कल राखेँ ।

उसले पसलबाट रिचार्च भरिदिइछ । केही मिनेटअगाडि मबाट छुटेकी उसको नाम, नम्बर, ठेगाना मसँग केही छैन उसको पाँच सय रुपियाँ मात्रै छ । सोचेको थिएँ उसले आफ्नै इसेवाबाट टपअप गरी तर त्यसो भएन । कस्तो उदारता हो यो ? मैले ख्याल-ख्यालमा भनेको थिएँ । उसले साँच्चिकै रिचार्ज भरी, के जरुरी थियो र ? फेरि फेसबुट, ट्विटर एकाउन्ट पनि भनिन, कस्ती केटी पाँच सयले परिचय बनाएर गई ! मनमा कुरा खेलिरहे, मेरो नम्बर ऊसँग छ कुनै न कुनै दिन त अवश्य कल गर्ली ।

यत्तिकैमा शैलेशको कल आयो । उठाएँ “गुरु कता हो तपाईँ ?”

“म यता कोटेश्वरतिरबाट आउँदाको देब्रे साइडकै पान पसलनिर ।”

“ए देखेँ” उहाँले कल राख्नुभो तर मैले उहाँलाई देखिनँ ।

शैलेशजी मेरो अगाडि आएर बाइक रोकेर, “गुरु आउनुस भन्नुभो ।”

हामीले हात मिलायौँ । “ठिक हुनुहुन्छ नि, कुर्नुपऱ्यो है ।” उहाँले भन्नुभो ।

“इट्स ओके मैले भनेँ ।”

“मेरो बालाजु जाने काम छ । हजुरलाई रुममा लगेर छाड्छु र म बालाजु पुगेर आउँछु । एक जनालाई भेट्नु छ । भेट्ने मात्रै हो । धेरै बेर त लाग्दैन । कि हजुर पनि मसँगै जानुहुन्छ?” उहाँले भन्नुभो ।

“झमक्क साँझ परिसकेको थियो । नयाँ ठाउँमा रुममा एक्लै के बस्नु । मैले भनेँ, “म पनि हजुरसँगै जान्छु ।”

बानेश्वर, माइतीघर, भद्रकाली, सुनधारा, लैनचौरको जाम छिचोलेर हामी बालाजु पुग्यौँ र फर्कियौँ । सानो-सानो गल्लीबाट छिरेर हामी एउटा तीनतले घर पुग्यौँ । बाइकको लाइटले टल्काइदियो गेटको भित्तामा कालो मार्बलमा सुनौला अक्षरले लेखिएको “ढुङ्गाना निवास” जुन घरको भुईँ तलामा साथी शैलेशको रुम थियो । बाइक राखेपछि म उहाँको पछि लागेँ । उहाँले मलाई घरसँग परिचय गराउँदै भन्नुभो, “मेरो रुम यही हो । अरूहरू पनि भाडामा बस्नुहुन्छ । भुईँ तला पूरै भाडामा छ । घरबेटी बाआमा माथि बस्नुहुन्छ ।”

रुमको ताला खोल्दै उहाँले भन्नुभो गुरु, “बाथरुम त्यता हो । नुहाउन पानी भने बाहिरको ड्रमबाट लग्नुपर्छ ।” जुत्ता ढोकाअगाडिको ऱ्याकमा राखेर हामी रुमभित्र छिऱ्यौँ ।

“नुहाउन त पर्छ होला शैलेशजी” मैले भनेँ ।

“हुन्छ” भन्दै उहाँ बाहिर निस्किनुभो र केही बेरमा भित्र छिर्नुभो । “ल गुरु पानी ल्याइदिएको छु, नुहाउनुस् । टावेल यो लैजानुस्, साबुन यता छ ।” उहाँले मलाई टावेल र साबुन थमाइदिनुभो र भन्नुभो, “म खाना बनाउँछु हजुर नुहाउनुस । अनि कुरा गरौँला ।”

हुन्छ मा हुन्छ मिलाएर म नुहाउन गएँ ।

नुहाएर आएँ । उहाँ भेट हुनुपूर्व साँझमा भेटिएकी अपरिचित केटीसँग भए-गरेका कुराहरू उहाँसँग केही सेयर गरिनँ । मलाई केटी मान्छेबारे हत्तपत्त कसैसँग कुरा गर्न मन लाग्दैन । घरको सन्चो, बिसन्चो, पढाइ, देश, विदेश आदि बारे कुरा गऱ्यौँ, आदित्य सहित मेसेन्जरमा कुराकानीका क्रममा सोधखोज गरेका साथीहरूलाई भोलि बिहान सात-आठ बजेतिर भृकुटीमण्डपमा चिया भेट गरौँ न त  भन्ने मेसेज छाडेर, म टाढाको यात्रा गरी आएको, थाकेकाले हामी सुत्यौँ ।

भोलिपल्ट बिहान उठेर फ्रेस भएर चिया बाहिरै खाने गरी हामी रुमबाट बाहिरिन लाग्यौँ । साथीले ढिला गर्नुहुन्छ कि भनेर म आँगनतिर निस्किसकेको थिएँ । म निस्केको केही बेरमा एउटी पैँतालिस-पचास वर्ष उमेरकी आन्टी सारी र ब्लाउजमा बाहिर निस्कनुभो । घरबेटी हुनुपर्छ भन्ने अड्कल गरेँ । गेटबाट बाहिर निस्किनै लाग्दा हातको सानो पर्स खोतल्दै आन्टीले आफैँसँग भन्नुभो, “मोबाइल त माथि नै छुटेछ ।”

मोबाइल ल्याइदिनका लागि आन्टीले माथि फर्केर केही चर्को स्वरमा भन्नुभो, “ए नानी ! नानी !!” माथिबाट कुनै आवाज आएन बरु मेरो साथी हातमा हेल्मेट र चाबी लिएर निस्कियो । आन्टीले फेरि बोलाउनुभयो, “कहाँ गई यो केटी, नैना !!”

साथीले बाइक गेटबाहिर निकाल्यो म पनि बाहिरिएँ । दोस्रो तलाको बरन्डामा “हजुर !!” आवाजसहित हाफ कट्टु र टिसर्टमा एउटा अनुहार देखा पऱ्यो जुन हिजो शान्तिनगरबाट मलाई पाँच सयको परिचय दिएर छुटेको थियो ।

शैलेशजीले गुरु बस्नुस् भन्नुभो । म बाइकमा बसेँ । मसँग नजर जुदिरहेकी उसले सायद मलाई चिनी ।

नाम नैना रैछ ।

के नैना ?

कस्तो नैना?

मनमा कौतुहलता नाचिरह्यो । भृकुटीमण्डप पुगेर हत्तपत्त मोबाइलमा डाटा अन गरी फेसबुक, ट्विटर, इन्स्टा जताततै खोजेँ तर भेटिनँ ।

आज भेटिनँ,

भोलि भेटिनँ,

मैले उसलाई कुनै पनि अनलाइन सामाजिक सञ्जालमा भदौका केही दिन र पूरै  असोज महिनाभरि खोज्दा पनि भेटिनँ ।

मेरो नम्बर ऊसँग थियो तर कुनै दिन नयाँ नम्बरबाट कल पनि आएन ।

“नैना, यो त अन्याय भयो ममाथि । म हजुरलाई भेटेर फेरि त्यही बहस गर्न चाहन्छु । म नजिकिने बहाना गर्छु । हजुरले टाढा पुऱ्याउने चेष्टा गर्नुस् । कहीँ कतै त भेटिनुस् । कल गर्नुस् । मलाई मेरो कुरामा हो म हो मिलाएको भन्दा हजुरले झैँ खण्डनमण्डन गरेको, प्रतिप्रश्न गरेको खुब मन पर्छ । तर्क गरेको मन पर्छ । अनि मैले हजुरलाई पाँच सय फिर्ता गर्नु पनि त छ । नैना, अब त कल गर्नुस् ।”