
यो कुकुर्नी हो । पहेँलो वर्णको रौँ भएकोले कैली नाम पाएकी छे । थुतुनो र खुट्टाका नङ्ग्रा वरपर अलिअलि काला टाटाहरू पनि छन् । खुट्टा सुकेका भए पनि कैलीको पेट हिजोआज पुष्ट देखिन्छ ।
कुकुर तिहारको दिन । आफ्नो तिहार आजै परेको छ भनी जान अनजान के थिई यसैले जानोस् । छिमेकको घरमा तिहारको माला पहिरेपछि नलीहाडजत्ति जतनसाथ मुखमा रोटी च्यापेर हाम्रो घरको छेउमा आइपुगी । त्यहाँ तन्नेरी तर सिकुटे कुकुर सुतिरहेको थियो । उसको नाम पाङ्ग्रे राखेका थियौँ । पाङ्ग्रे केही दिनदेखि असक्त हुनुपर्छ भन्ने अनुमान गरेँ मैले । कैलीको मुखमा रोटी देखेपछि ऊ खुट्टा र पुच्छर कँपाउँदै सकी नसकी उठ्यो । हर्षले हुनुपर्छ कैलीको मुखबाट रोटी खोस्न खोज्यो । कैलीले हतार नगर्न हपार्दै उसको अगाडि सिँगै रोटी राखिदिई । पाङ्ग्रेले कैलीको मुखमा हेरेर खाने अनुमति माग्यो । कैलीले ‘निर्धक्क घिच् ! घिच् !’ भन्ने हेतुले कुइँकुइँ गरी । अनि दुवैले आ-आफ्नो खुशी मनाउँदै तिहारको रोटी बाँडीचुँडी खाए ।
०००

पूर्ण ओली
पाङ्ग्रे कैलीको आफ्नै सन्तान थियो । यो छाउरोलाई एक वर्षअघि यही समयमा यही ठाउँमा कैलीले जन्म दिएकी थिई । यसका ६ भाइबहिनी थिए । तीमध्ये अरूचाँहि लाखापाखा लागे । कोही मानव घरभित्रका सुरक्षित रक्षक बने । कोही घरबाहिरका भतुवा भक्षक बने । कोही चुस्याहा, कोही घुस्याहा त कोही भुस्याहा बने । आफ्नी आमाको साथमा पाङ्ग्रे मात्र बाँकी रह्यो । यिनीहरू मान्छेका न रक्षक बन्न सके, न त भक्षक नै । छोरोचाँहिले आमाको साथ छोडेन, आमाचाहिँले पनि छोराको साथ छोडिन । बाटोमा भेट्टाएर ल्याएको चिजबिज यी आमाछोराले कहिले झगडा गर्दै लुँछाचुँडी गर्थे । कहिले माया गर्दै बाँडीचुँडी खान्थे । मिष्ठान्न भोजन र मासु वा हाडखोरको खोजीमा दिनभर लुखुरलुखुर गाउँमा घुमिरहन्थे । के कमाउथे, के खान्थे कुन्नि ? मेरो ध्यान त्यतातिर गएको थिएन । जब मध्यरात हुन्थ्यो अनि दुवै आमाछोरा ‘भ्वाङ-भ्वाङ’ गर्दै कान खाने गरी कराइरहन्थे । कहिले त रातरातभर भुकिरहन्थे र हाम्रो निद्रा बिच्काइदिन्थे । यिनीहरूले हाम्रै रखबारीको खातिर भुकेका हुन् भनी हामी चुप लाग्थ्यौँ । हुँदाहुँदा यिनीहरूको चर्को भुकाइ नसुनी निदै नलाग्ने बानी परेछौँ हामीहरू ।
०००
यो कुकुर तिहारजत्तिको खुशीका दिन यिनीहरूलाई कहिल्यै आएन । सधैँ भुकिरहने आमाछोरा गाईतिहारको दिनमा भने भुकेनन् । यिनीहरू नभुक्नु हामीलाई आठौँ आश्चर्य भयो । खान पाए भुक्दा रहेनछन् भनी हामीले अड्कल काटे पनि नभुकी निदाउन सकेनौँ । गोरू तिहारको दिनमा त दुवै आमाछोरा एकछिन भुकेर तिखो रूवाइ पो छोडे । आजचाँहि भोजन जुटाउन सकेनन् होला भन्ने अड्कल गर्यौँ । तिनीहरूको रुवाइ बन्द गराउन ढुङ्गा छोड्यौँ । मान्छेको तिहार टीकाको दिनमा यी आमाछोरा न त भुके, न रोए ।
०००
हिजो बिहान यिनीहरूको खुल्ला वासस्थानवरिपरि वरपरका बच्चाहरू जम्मा भएर हल्ला गरिरहेका थिए । उनीहरूको हल्लाले प्रौढ व्यक्तिहरूको ध्यानाकर्षण गरेकोले केही छिमेकीहरू पनि जम्मा हुन थालिसकेका थिए ।
एउटा छिमेकीले भनेः ६ वटा छाउरा पाइछे त कैलीले त ! कस्ती भाग्यमानी !
दोस्रो छिमेकीः सबै टाटेपाङ्ग्रे सुन्दर पो छन् त !
तेस्रो छिमेकीः आँखामा आँशु पनि काढेकी छे प्रसवपीडाले होला कि ?
अर्को छिमेकीः के हो ? त्यो ठूलो छाउरो पनि त्यहीँ छ त ?
नवजात छाउराहरूको छेउमा ठूलो छाउरो खुट्टा तन्काएर लम्पसार ढलेको थियो । उसको टाउको भने कैलीले आफ्नो टाउकोले छपक्कै छोपेकी थिई । वरिपरि मान्छेहरूको हल्लीखल्लीले कैलीको ध्यान भङ्ग गरिदियो । उसले मान्छेलाई तर्साउन आफ्नो टाउको उठाई । तल परेको पाङ्ग्रेको टाउको छर्लङ्गै देखिन पुग्यो । उसले त सधैँको लागि आँखा चिम्लिसकेको रहेछ । यो दृश्यले मेरो मन बेसरी चिमोट्यो ।
हामीले कुकुरहरूले तिहारमा खान पाए नपाएको हिसाबकिताब मात्र गर्यौँ । त्यो पाङ्ग्रे कहिलेदेखि बिरामी थियो ? कति दिन खान पाएन ? त्यता ध्यान दिएर उपचार गरेको भए बाँच्थ्यो कि ? भन्नेतिर ध्यान पुर्याउन सकेनछौँ । मुखाले प्राणी भए आफ्नो पीडा वक्थे होला, तर विचरा निमुखा प्राणी ।
०००
मेरो घर छेउमा नै कुकुर मरेको थियो । त्यहाँबाट विस्थापन नगरे तिखो दुर्गन्धले उठ्नबस्न नदिने पक्का थियो । तर कुकुरको सिनोलाई हटाउने उपाय पनि सुझिरहेको थिएन । वरपर सिनो फाल्ने ठाउँठहर कतै बाँकी पनि थिएन । फोहर सङ्कलन गर्नेलाई भिडाइदिने कि भन्ने पनि थियो तर उनीहरू पनि मरेको कुकुर उठाउन आउनेछैनन् भन्ने पक्का थियो । यस्तैमा छिमेकी साहुजीले नारायण भन्ने व्यक्तिले सिनो फाल्ने गरेको कुरा बताए । हुलिया लिएर उनलाई गुहार्न उनको घरमै पुग्यौँ । उनले पाँचसय रूपैयाँ पाए सिनो हटाइदिने कुरा बताए । हामीले मोलमोलाइ गरेर तीनसय रूपैयाँमा झार्यौँ । धेरै मोलमोलाइपछि उनले तीनसयमै मरेको कुकुर हटाउन राजी भए ।
मरिसकेको भएपनि आफ्नो सन्तान हटाउन कैलीले सितिमिति दिँदै दिइन । उसलाई ढुङ्गाले तर्साएर एकातिर धपाएपछि मात्र मृत पाङ्ग्रेलाई तान्न सम्भव भयो । पाङ्ग्रेलाई बाहिर तान्नेबित्तिकै कैली मान्छेको भिडतिर कुद्दै आई । झुम्मिएका केटाकेटीहरू डराउँदै चिच्याउँदै यताउता भागे । हामीहरूले हात हातमा ढुङ्गा, इँटका टुक्रा वा लठ्ठी नजिक जे भेटियो त्यही मुठ्यायौँ । कैली भने हाम्रो अनुमानविपरीत निकै समझदार देखिई । चुपचाप भक्कानिदै हाम्रो पछि पछि आई ।
उसका नजर नारायणको काँधमा लत्रिएको पाङ्ग्रेमा एकोहोरिएका थिए । उत्तिखेरै भर्खरै जन्मेका छाउराहरूलाई सम्झिईहोली । हामीलाई अगाडि बढ्न दिएर टक्क उभिई । आफ्नो प्यारो सन्तान पाङ्ग्रेको विदाइको लागि अन्तिम कुँइँकुँइँ गरी अनि फरक्क फर्की । ज्यूँदा छाउराहरूको नजिक पुगेर फनफन्ती घुम्दै तिनीहरूको गन्ती गरेझैँ गरी चाट्न थाली । उसको कुइँकुइँ धेरै बेरसम्म रोकिएको थिएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










