म केही समयअघिदेखि पुलमाथि एक्लै बसिरहेको छु तर अचानक अहिले मलाई लागिरहेको छ कि मेरो छेउमा अरू कोही बसिरहेको छ वा सायद बसिरहेकी छे । मलाई हेर्दै छ वा सायद हेर्दै छे । मेरो दायाँ हात समाउन लाग्दै छ वा सायद लाग्दै छे । नभन्दै कसैले मेरो दायाँ हात समाएको छ वा सायद समाएकी छे । औँलाका कापहरूमा कसैले औँलाहरू मिलाएको छ वा सायद मिलाएकी छे । मेरो हातमा कसैले चिसा ओठ छुआएको छ वा सायद छुआएकी छे । मेरो हातबाट चिसा ओठ कसैले हटाएको छ वा सायद हटाएकी छे । लगत्तै मेरो हात कसैले गालामा मुसारेको छ वा सायद मुसारेकी छे । कसैले मेरा औँलाहरूबाट औँलाहरू निकालेर मेरो हातलाई खुकुलो पारिदिएको छ वा सायद पारिदिएकी छे । खुकुलो पारिदिए पनि छाडेको छैन वा सायद छाडेकी छैने । कसैले मेरो हातलाई कुनै कपडाभित्र घुसारेको छ वा सायद घुसारेकी छे ।
कसैले मेरो हातलाई वक्षस्थलमाथि राख्न दबाब दिएको छ वा सायद दिएकी छे । मैले हात झिक्न लागेर होला कसैले मेरो हातमाथि आफ्नो हात राखेर वक्षस्थललाई जथाभावी दबाइरहेको छ वा सायद दबाइरहेकी छे । कसैले मुखबाट सुस्केरा निकालिरहेको छ वा सायद निकालिरहेकी छे । फेरि मेरो हात त्यहाँबाट बाहिर निकालिएको छ । फेरि मेरो हातलाई कुनै भित्री कपडाभित्र घुसारिएको छ । अहो ! कसैले मेरो हातलाई योनिमा राखिदिएको छ वा सायद राखिदिएकी छे । यहाँबाट पनि म आफ्नो हात झिक्न खोजिरहेको छु तर कसैले मेरो हातमाथि आफ्नो हात जोरसँग राखिदिएको छ वा सायद राखिदिएकी छे । मेरो हातलाई निरन्तर योनिमाथि घर्षण गराइरहेको छ वा सायद गराइरहेकी छे ।
म आफ्नो दायाँ हातलाई निकाल्न निकै जोडबल गरिरहेको छु तर कसै गरे पनि निकाल्न सकिरहेको छैन । मैले हरेस खाइसकेको छु । मलाई लगभग लागिसकेको छ कि म आफ्नो दायाँ हातलाई अबउप्रान्त कहिले पनि निकाल्न सक्दिनँ । म आँत्तिएर रुन लाग्दै छु । रोइरहेका बेला मलाई लाग्छ कि मेरो टाउको मात्र हलचल गरिरहेको छ । शरीर पूर्ण रूपले जडवत् छ । म शरीर हलचल गराउन थाल्छु । नभन्दै शरीर कत्ति पनि हलचल गर्दैन ।
मेरो शरीर जडवत् छ भन्ने थाहा पाइसकेपछि झन् बेस्मरी रोइरहेको छु । ठिक यसै बेला अचानक कोही हाँसिरहेको आवाज आउँछ । मेरो कान नजिक आएर हाँसेको आवाज हो त्यो । अहो ! मेरो दायाँ हात त निस्किएछ तर मैलै आफ्नो दायाँ हात देखिनँ । कतै मसँग मेरो दायाँ हात त छैन ? तुरुन्त बायाँ हातले छामछुम पार्छु । अहँ दायाँ हात छामिँदैन । त्यसपछि यकिन हुन्छु । मसँग मेरो दायाँ हात छैन ।
…………
चिया अचानक आइपुग्छ । चिया आइपुग्दा म बाहिर कतै हेरिरहेको छु । सायद म ऊ.. त्यहाँपर पुलिसबिटनजिक मकै पोलिरहेकी आइमाईलाई हेरिरहेको छु । मकै पोलिरहेकी आइमाईलाई हेर्दै बायाँ हातले चिया समाउन खोज्छु । बायाँ हातले चिया समाउँदैन । फेरि समाउन खोज्छु । यसपटक पनि बायाँ हातले चिया समाउँदैन । म अझै त्यस आइमाईलाई हेरिरहेको छु । फेरि बायाँ हातले चिया समाउन खोज्छु । अहँ बायाँ हातले चिया समाउँदैन । कि मलाई मेरो सामुन्ने चिया आएको भान मात्र भएको हो ? चिया आएको हो कि होइन भनेर हेर्न खोज्दा टाउको त्यस मकै पोलिरहेकी आइमाईबाट टसमस हल्लिँदैन तर कस्तो अचम्म ! मेरो टाउकोभन्दा तलको भाग भने हलचल भैरहेको छ ।
एउटा मान्छेको टाउको मात्र हावामा जडवत् कसरी हुन सक्छ ?
टाउको कतै पनि हल्लिँदैन भन्ने यकिन भएपछि म पुनः एकफेरि बायाँ हातले चिया समाउन खोज्छु । यसपटक पनि बायाँ हातले चिया समाउँदैन । बायाँ हातले चिया नसमाएपछि दायाँ हातले चिया समाउन खोज्छु । सजिलै समातिन्छ ।
दायाँ हातले समातिने तर बायाँ हातले नसमातिने । अनि मेरो टाउको हावामा जडवत् । यो के भैरहेको छ ?
अचानक मलाई यस्तो ख्याल आउँछ । बायाँ हातले चिया समाउन नसके पनि दायाँ हात त समाउन सक्छ होला नि । अनि बायाँ हातले दायाँ हात समाउन खोज्छु । लौ बायाँ हातले दायाँ हात समाउँदैन । पत्यार लाग्दैन । फेरि समाउन खोज्छु । अहँ समाउँदैन । अब मलाई शङ्का लाग्न थाल्छ वास्तवमा बायाँ हात मसँग छ कि छैन । दायाँ हातले डराई-डराई बायाँ हात समाउन खोज्छु । बायाँ हात समातिँदैन । त्यसपछि मलाई यकिन हुन्छ । मसँग मेरो बायाँ हात छैन ।
………….
म बसेको पुलमा मेरो छाया लमतन्न छ । म आफ्नो छायालाई हेर्दै छु । स्पष्ट देखिरहेको छ — मेरो टाउको, शरीर, बायाँ हात र खुट्टा । दायाँ हात नदेख्दा कस्तो असजिलो लागिरहेको छ । अनि शरीर अलिकति पनि हलचल नहुँदा मूर्तिवत् लागिरहेको छ । कतै मेरो शरीर हल्लि पो हाल्छ कि भनेर म एकफेर शरीर हल्लाउन खोच्छु । ठिक यतिखेरै मेरो छाया अचानक पुलबाट भुईँमा खस्छ । भुईँमा खसेको मेरो छायानजिक अर्को छाया देख्छु । त्यो कसको छाया हो म चिन्न सक्दिनँ । त्यसपछि त्यो अपरिचित छायाले हतारहतार मेरो छायालाई भुईँमा लतार्न थाल्छ । लतार्दै कता हो कता लगेर कुलेलाम ठोक्छ । मेरो छायालाई अपरिचित छायाले मेरो सामुन्ने अपहरण गरेर लग्यो । म मात्र हेरिरहेँ । यतिसम्म निरीह हुन पुगेछु । मैले आफ्नो छायालाई जसरी हुन्छ बचाउनैपर्छ । म अत्तालिएर उठेको छु । उठेर पुलमा हेर्छु । त्यहाँ मेरो शरीर यथावत् छ ।
२’. मेरो छाया टेबलमा छरपस्ट छ । मेरो टाउको, शरीर, दायाँ हात छायामा स्पष्ट देखिरहेको छु । कम्मरभन्दा मुनिको भाग टेबलले छेकिएको हुँदा देखिएको छैन । दायाँ हातले चिया समातेर सुकाउँदै छु । चिया टेबलमा राख्दा आँखा पनि टेबलमा झुकाएको छु । त्यहाँ मैले आफ्नो छाया देखिनँ । अस्वाभाविक रूपमा आँखा आफैँ यताउता दौडिएका छन् तर जति नै दौडिए पनि टाउको नहल्लेसम्म देखिरहेकै दृश्यबाहेक अरू देख्न सक्दैनन् । फेरि मेरा आँखा मकै पोलिरहेकी आइमाईमा केन्द्रित भएका छन् । मकै पोल्ने ठाउँनजिक कसैले कसैलाई लतार्दै गरेको देख्छु । लौ त्यो त मेरो छाया हो । मेरो छायाअगाडि कोही अपरिचित छाया छ । उक्त अपरिचित छाया मेरो छायालाई जबरजस्ती लर्तादै छ । लर्तादै कता लग्यो लग्यो । मैले केही भेउ पाउन सकेन । कहाँ आफ्नो छायालाई अपहरण हुन दिनु । म जर्याकजुरुक उठछु । उठेर टेबलमा हेर्छु । त्यहाँ मेरो टाउको यथावत् छ ।
……….
म आफ्नो छायाको खोजीमा निरन्तर हिँडिरहेको छु । म यस सहरका गल्लीहरू, चोकहरू, मूलसडकहरू । प्रतीक्षालयहरू, वेश्यालयहरू, शौचालयहरू, विद्यालयहरू, प्रेमालयहरू, आलयहरू, फिलिम हलहरू, सपिङ्ग मलहरू, राज महलहरू, दरबारहरू, घण्टाघरहरू, मन्दिरहरू, मस्जिदहरू, चर्चहरू, गुम्बाहरू सबैसबैतिर खोजिरहेको छु तर कतै पनि भेट्टाउन सकेको छैन । आखिर कहाँ लगेर गयो होला मेरो छायालाई । कतै अदालत त लगेन ? कतै कारागार त लगेन ? म भर्खरै गएर आएको हुँ । त्यहाँ पनि छैन ।
म एउटी आइमाईले मकै पोलिरहेको ठाउँनजिक आएर उभिएको छु । उक्त आइमाई बडो व्यस्त छे । उसलाई झन् के थाहा होला मेरो छायाका बारेमा । व्यस्तता हेर्दा उसलाई नै आफ्नो छायाको पत्तो छैन जस्तो छ ।
म सडकमा आवतजावत गरिरहेका एकएक मानिसहरू हेरिरहेको छु । तिनिहरूका छायाहरू हेरिरहेको छु । कतै मेरो छाया यीनै मानिसहरूमध्ये कसैको छायाले अपहरण गरेको पो हो कि ?
अचानक मलाई सडकको पल्लो किनारमा एउटा चल्तीको चिया पसल देखा पर्छ । त्यहाँ मानिसहरूको भिड उर्लँदो छ तर त्यहाँको एउटा टेबलमा कसैको टाउको मात्र देखिन्छ । म त्यसतर्फ सोझिन्छु ।
………….
म खोज्दाखोज्दा थाकेर चुर भैसकेको छु । थप म हिँड्न सक्दिनँ । ऊ त्यहाँ पर पुल रहेछ । त्यसमाथि गएर बस्नुपऱ्यो । बस्न के लाग्दै छु म अचानक देख्छु पुलमाथि कसैको शरीर मात्र बसिरहेको छ । त्यसको टाउको छैन । म त्यस शरीरतर्फ सोझिन्छु ।
त्यसपछि म हाँस्छु । ऊ मलाई टवाल्ल परेर हेर्छ । म उसको कथाको पाण्डुलिपिलाई जोरले उसकै अगाडि मिल्काइदिन्छु । ऊ ती अलपत्र परेका पाण्डुलिपिका पानाहरूलाई बडो प्रेमले हेर्छ र तुरुक्क आँसु झार्छ । म बेवास्ता गर्दै भन्छु — ‘यस्तो कथा छाप्नुपरेछ भने म यो सम्पादकको जागिर नै गर्दिनँ । अहिले नै राजिनामा दिन्छु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।