ऐनाअघि उभेर आफूलाई हेर्छु ।

कपडाहरू मिलाउँछु । कपालमा अलिकति तेल लगाएर काइँयोले सलक्क पारेर कोर्छु । आफूलाई मन पर्ने पाराले ।

कोट-पेन्टको टाँट! कोटका टाँकहरू लगाउँछु अनि पेन्टको इस्तिरीको धार मिलाउँछु । ठाँटिएर केही बेर ऐनाअघि उभिरहन्छु । पाको मान्छेले पनि राम्रो कपडा लगाउँदा ‘हिरो’ नै देखिँदो रहेछ त । यो सोचले अहिले म खिसिक्क हाँस्छु । सुटबुटमा सजिएका मानिसका अनुहारमा अलिकति मुस्कान पनि नपलाए सजिनुको कुनै अर्थ हुँदैन । ऐनाअघि जिउलाई अलि तन्काएर ठाँटसँगले एउटा ढाँट हाँसो हाँस्छु । खिस्स!

श्रीनारायण प्रधान (डुवर्स)

खित्रिक्क केही बल्छ मेरो पछिल्तिर । यसो फर्केर हेरेको- मेरी बास्सै ! श्रीमती पो उभिरहेकी । आँखा चार भएपछि ओठ लेब्य्राएकी देख्छु । कति बेलादेखि मेरो चालढाल हेरिरहेकी । यति बेरसम्मको मेरो परिश्रम त्यसै खेर गएको अनुभव गर्छु । थप सहयोग पो पुऱ्याउली भनेको त उल्टै खिल्ली उडाइरहेकी । मुख छोपेर हाँसिरहेकी । मान्छेलाई यस्तो बेलामा कतिसम्मको रिस उठ्छ । आफैँ कल्पना गर्नुस । मच्याठिएँ, “किन हाँस्नुपऱ्यो ? यसो हेरेर कपडा यो मिलाई दिन्छे कि भनेको त उल्टै खिल्ली उडाएकी ? मलाई यस्तो मान्छे मन पर्दैन ।”

“बुढो बाघलाई जति नै चिल्लो हुन खोजे पनि खस्रोको खस्रै देखिँदो रहेछ ।”

“अलि मनका आँखाले हेर्ने गर्नू । तब पो संसारका हर थोक रमाइलो देखिन्छ । विषको छिटो परेका आँखा । कुनै थोकलाई राम्रो देख्दैन ।”

“राम्रोभन्दा अझ राम्रो बन्न खोजे मान्छेलाई जोकरजस्तो देखिन्छ नि । राम्रो देखिनु हुँदै छ त । अझ कति सिँगारिनुपऱ्यो । बेहुलो हुँदा पनि यस्तो चर्तिकला नदेखेकी ।”

“अहो! कहिलेका कुरा कोट्यायो नि! त्यो जमाना र यो जमाना मिल्दैन बुढिया । एघाह्र/बाह्र वर्षका हुँदा पनि कट्टु नलगाई बाटामा हिँडिन्थ्यो । बाटामा धुला उडाइन्थ्यो । अहिले त्यस्तो होस् त हाहाकार मच्चिन्छ । ……यसो आज कसैले निमन्त्रणा दिएर बोलाएका ठाउँमा जानलाई तम्सिएको उसलाई सही नसक्नु भएछ ।”

“त्यसो चाहिँ नभन्नुहोस् ल । आफ्नो लोग्नेलाई राम्रो बनेर हिँडेका देख्दा हामीलाई नराम्रो लाग्दैन नि ।”

थाहा पाउँछु- उसको स्वरमा केही सम्पन छ । सायद मेरो कुराले उसलाई बिझायो । म अहिले केही ग्लानिबोध गर्छु ।

मधुरता छर्दै अहिले म भन्छु,”लु, अब म हिँडे ।”

“हुन्छ । राम्रो होस् ।”

हिँड्नै लाग्दा उसले पछिल्तिरबाट ढाडमा मसारिरहेकी थिई । बुझेँ- भित्री मनले मलाई मायाँ गरेकी । गर्वबोधले केही उचालिन्छु अनि बाहिर निस्कन्छु ।

गाउँदेखि अलि टाढाका गाउँमा आज ठुलो कार्यक्रमको आयोजन भइरहेको थियो । त्यस समारोहमा मलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा दिइएको थियो । धेरै कार्यक्रमहरूमा प्रायः नबिराई उपस्थिति दिँदै आएँ । बेला बेलामा साथीहरू बटुलिएर गाउँमै पनि धेरै कार्यक्रम गऱ्यौ । युवा पिँढीले त्यसैले पनि मलाई आजकल विशिष्ट स्थान दिएर बोलाउँछन् । सायद लामो समयदेखिको सेवा कार्यलाई मान्यता दिएका होलान् । कहिलेकाहीँ लाग्छ फेरि- बुढ्यौलीको मोहर पो लगाइदिएका हुन् कि ? …. मन हो ! विना सोच यो बाँच्दैन ।

यसै मञ्चबाट उद्घोषकले विशिष्ट अतिथिको आसन ग्रहणका निम्ति घोषणा गरे, म मञ्चमा उक्लिएँ । दर्शकदीर्घापट्टि उभेर अभिवादन टक्र्याएँ । तालीका गडहडाहटले हलै गुन्जियो । छाती गर्वले फुलियो । साँच्चिकै ताली हो कि बनावटी ताली हो, त्यतापट्टि म गइनँ । अन्य प्रमुख/ मुख्य अतिथिहरूलाई पनि डाकिन्छ अनि आसन ग्रहण गराउँछन् । त्यसपछि हामीलाई पालैपालो खादा, सबैका निधारमा टीका लगाइदिन्छन् ।

तालीका गडगडाहट उही हो ।

सभाको सञ्चालन भइसकेको छ । वार्ताकारहरू कोही आउँदै छन् । कोही जाँदै छन् । बिच-बिचमा नाँचगान अनि कविता पाठ । हेर्छु- अपार जनसमूह ।

कसो कसो दर्शकका समूहलाई हेर्दै जाँदा एक व्यक्तिसँग आँखा जुध्छ । उसका विस्फरित आँखा देखेपछि म आत्तिन्छु । दर्शकदीर्घाको अघिल्लो लहरमै बसेका ।

आखिर उनी पनि माननीय व्यक्ति हुन् । समाजलाई सकेसम्म सेवा पुऱ्याएका छन् । अझ पनि यस्ता कार्यहरूका निम्ति पछि सर्दैनन् । सक्रिय छन् । जागरूक छन् । फलका आशा नराखी गाउँघरलाई सेवा बाँडिरहेका छन् । मानिस अलि रिसाहा छन् र पो । नत्र मानिस आँखामा राख्दा पनि बिझाउँदैनन् ।

हुन त कति मानिस नरिसाउने स्वभावका छन् भने गाउँघरकाहरूले हेपेर बाँच्नै दिँदैनन् । गर्जनविनाको बाघ गाउँ पस्यो भने बिरालाले पनि खेद्छ ।

उसका विस्फारित आँखाका कुरा मान्दै थिएँ । अझ अपलक मलाई नै हेरिरहेका । आँखा झिमिक्क पनि छैन । त्यो आँखाबाट जोगिनलाई भाग्ने ठाउँ पनि छैन मसँग ।

कस्तो विस्फोटक दृष्टि ! पातालभेदी जस्तो ।

आ…., म पो के भा’को ! उसले हेरिरहेको चाहिँ मैले किन हेरिरहेको हुँला ? मनलाई थुमथुम्याउँछु । कार्यक्रमतिर ध्यान लान्छु । कसो कसो गर्दा गर्दै मेरो आँखा त्यही मान्छे भएको ठाउँमा पुगिहाल्छ ।

अहिले एक युवा कवि आफ्ना सुन्दर कविता लिएर उभेका रहेछन् । पाठ गरिरहेका रहेछन् । सम्पूर्ण शक्तिलाई सञ्चय गरेर ध्यान केन्द्रित हुने प्रयास गर्छु । अस्थिर मन केही बेर कवितामा रमाउँछ । रमाइरहेको यो मन फेरि त्यही मान्छेलाई चियाउन पुगिरहेकै छ । आफैँलाई दिक्क लाग्छ ।

उसका ठुला-ठुला आँखा अझ ठुला भएका देख्छु ।

यो मानिसले मेरो यति विघ्न खेदो किन गरेको होला ? उसको मैले के खाइदिएको छु ? के बिगारिदिएको छु ? त्यो कष्टदायक दृष्टिले म छिया-छिया भइरहेको छु । सारा कार्यक्रम नष्ट भएर गइरहेको थियो । थुक्क ! त्यसका दुवै आँखा फुट्नु नि ।

दुवै आँखामा घृणा छ । टोक्ने आँखा ! डस्ने आँखा ! अरे बाबा, यसो आँखा डुलाएर अरूतिर पनि हेर न हौ । रमिताले भरिएका हलभित्र रमितैरमिता छन् त हौ । मलाई नै हेरिरहनुपर्ने, के छ मसित त्यस्तो !

‘पर्खिस् तँलाई !’ भनिरहेको मान हुन्छ ।

‘तँलाई नाङ्गोझार पारिन भने त म बाउको छोरो होइन !’ भनेको जस्तो पनि लाग्छ । यो लाखेसपूर्ण दृष्टिले मलाई खेदेको छ खेदेको ।

‘ धत् ! ’ आँखा मञ्चतिर फर्काउँछु ।

आहा ! सानी नानी फूलबुट्टे सारीमा नाँचिरहेकी रहिछे । दर्शकहरू तालमा ताल ठोकिरहेका ! नानीको फुर्ती देख्दा, कुनै पन्छी सुरिलो रुखको खिरिलो हाँगामा नाँचिरहेकी झैँ लाग्ने । उन्मादले भरिएको छ हल । कति सुन्दर! कति मनोरम नृत्य!…. तर म एउटा ज्वलनशील आँखा अघि छु । पोलिँदै ।

म आजका विशिष्ट अतिथि !

यस दुर्वासा ऋषिका आँखामा रिसाग्नबाहेक केही देख्दिनँ ।

के म उसको ठुलो शत्रु हुँ ?

होइन

के म उसको जार हुँ ?

होइन ।

तब तँलाई खाउँलाझैँ गरेर किन हेरिरहेछ त ?

किनकि मैले कामै त्यस्तो गरेको छु ।

कस्तो त्यस्तो काम ?

भरै घरमा गएर भनुँला !

प्रश्न आफ्नै । उत्तर पनि आफ्नै ।

कार्यक्रम सुचारु रूपले चलिरहेको हुन्छ । सबै रमाइलो मानिरहेछन् ।

म भने त्यो भिडमा पनि रमाउन सकेको छैन । लाखे सरह पोलिँदै बसिरहेको छु ।

कसैका पेवा वस्तु खोसिएपछि उसले सात डाँडापारिसम्म निश्चय खेद्छ ।

अर्काको बाली खाएपछि त्यस जन्तुलाई खेदिन्छै देखिन्छ । त्यसले नभागी त हुँदैन नै ।

कार्यक्रमभरि मेरो मन कहाली रह्यो । कार्यक्रमको आनन्द पाउनै सकिनँ । सभा समाप्तिको घोषणा हुन्छ । बेस्सरी कुटिएको मानिसजस्तो म मञ्चबाट ओर्लन्छु । अपराध बोधले ग्रस्त म, त्यो मान्छेलाई हेर्छु । भिडमा कतै देख्दिनँ ।

बाहिर आएपछि त्यो मानिसलाई गाडीमा जाँदै गरेको देख्छु । यता उती कतै नहेरी गाडी आफैँले गुडाइरहेको ।

अहिले म टाढा-टाढाबाट आउने परिचितहरूसँग हात मिलाउँदै बिदा मागिरहेको छु । फेरि भेला हुने वाचाहरू लिइरहेछु/ दिइरहेछु । मसँग कुनै सवारी साधन थिएन । आयोजक मण्डलीका भाइहरूले ल्याइदिने र पुऱ्याइदिने प्रबन्ध मिलाएका थिए । अहिले म घर फर्किरहेको छु ।

कर्ण अहिले आफ्नो सुरक्षाकवच दानमा दिएर कुरुक्षेत्रतिर बढिरहेको थियो । उसका निम्ति पराजय निश्चित थियो । हो, केही क्षणपछि रणभूमिमा छलपूर्वक वध गरिनेछ । उसले एउटा श्रापित मृत्युवरण गर्नुपर्नेछ ।

गाउँ भित्रिएपछि गाडी तोकिएको ठाउँमा रोकिन्छ । मलाई पुऱ्याउन आउने सबै युवा भाइहरूसँग हात मिलाउँछु । सबैलाई आशीर्वाद भनेर उनीहरूबाट बिदा लिन्छु ।

गाउँको बाटो!

सरकारले गाउँमा राम्रो बाटो बनोस् भनेर रुपियाँ त खन्याउँछ नि । वर्षदिन नपुगी खाल्डो बन्न थालिहाल्छ । सरकारले पठाएको रुपियाँ चुडिँदै र बाडिँदै गाउँमा आइपुग्दा कति चाहिँ रहन्छ र ! बाटो बलियो बन्दैन । गोजी भरुवाहरूसँग गाउँको अलिकति पनि मायाँ हुँदैन । रुपियाँ नै सबैभन्दा ठुलो कुरा हो । आखिर मरेर सबै छाडेर जानुपर्छ । रुख रोपे फल दिन्छ । बाली लाए अन्न उब्जन्छ । परोपकारको भाव छैन ।

सन्ध्याकालीन गाउँ ! अहिले अति सुरम्य लागिरहेको छ । हिमालका फेदमा अढेसिएर घामले दिन बितेको सङ्केत दिइरहेको छ । ठुला-ठुला रुखका हाँगाहरूमा चराचुरुङ्गी चिरबिराइरहेका छन् । वासका निम्ति हाँगा-हाँगामा आफ्नो ठाउँ बनाउनलाई होला सादय !

टाढा आकाशमा झुण्डका झुण्ड पन्छीहरू उडिरहेका देखिन्छन् । पारि-पारि क्षितिजै ढाक्ने गरी । आफ्ना गन्तव्यतिर बढिरहेका । गाउँका यिनै परिदृश्यले मानिसलाई लोभ्याउँछ । प्रकृतिसँगका यिनै सान्निध्यले मानिसलाई रमाउने अवसर मिल्दछ ।

म अहिले घरका नगिच आइपुग्छु ।

फाटक खोलेर घरभित्र प्रवेश गर्ने आँट पनि छैन अहिले मसँग । खुट्टाहरू थरथर काँपिरहेका छन् । हुर्मत छैन । फाटकनेर उभिन्छु । फाटक खोलेर भित्र नगए कहाँ जाने त ? साँझ ढलेपछि मान्छेको गन्तव्य नै घर हो । भएभरका शक्ति बटुलेर आँगनमा पाइला टेक्छु ।

त्यो विस्फारित आँखा ! त्यो विस्फोटक आँखा ! त्यो कष्टदायक आँखा मलाई नै पर्खेर उसको घरको दलानमा बसिरहेको पाउँछु ।

दयारहित त्यो बाघविना कुनै गर्जन अहिले सुमुसुमु मतिर आइरहेछ । मलाई काट्दा पनि रगत नआउने भएर उभिरहेको छु । आत्मग्लानिले बेस्सरी दबेको छु म । लाचार छु । विवश छु । केही बेरपछि शब्दका वाणहरूले घोचिनेछु । अर्धमृत बनेर ती घोचाइ अनि मिचाइ सहन गरिरहेको हुनेछु । निर्धन हुनु पनि धिक्कार हो । धनसम्पत्तिले मानिसलाई अलग-अलग बनाउँदो रहेछ । मैले, एउटै आमाका कोखबाट जन्म लिएका सन्तान किन नहोस् । बाँडेर खानु, मिलेर लाउनु नहुँदो रहेछ ।

ऊ छेउमा आएर उभिन्छ । केही बेर हेर्छ । मैले लगाएको कोटलाई सुसारी सुमसुम्याँउछ ।

“शाहरुख खानजस्तो पो देखिँदो रहेछ कोटपेन्टले मेरो भाइलाई । आहा, के राम्रो देखिएको !”

दाज्यैको मुखारविन्दबाट प्रदूषणमुक्त वाणीको रक्तिभर आशा थिएन मलाई । मेरो ओँठमा मुस्कान देखेपछि त्यो बाघको अनुहारमा विकराल रङ्ग चढ्दै गएको देख्छु ।

थर्कमान हुने गरी अहिले बाघ गर्जिन्छ, “खोल् !”

“भित्र गएर खोल्दा हुँदैन दाज्यू !”विनम्रता मेरो ।

“हुँदैन । यहीँ खोल् ।”निष्ठुरता दाज्यूको ।

भुईँ नै थर्किने गरी यसरी कराएपछि भाउज्यू अनि भतिज केटो बाहिर निस्कन्छन् । श्रीमती घरको दलानमा देखिन्छे । आफ्नो छोरो भनाउँदो कुन देशमा बटारिरहेको होला । लठारिरहेको होला । कोट खोलेर दाज्यैको हातमा दिन्छु । पेन्ट पनि आँगनमै ‘खोल् कि खोल्!’ भन्दैथ्यो । श्रीमती नमिठो अनुहार बनाएर हेरिरहेकी थिई । निःशब्द भाउज्यू मेरो सुरक्षार्थ अहिले अघि बढ्छन् । साथमा उनका छोरो नबोली उभेको छ ।

भाउज्यू च्याँठ्ठिइन्, “कस्तो हिया पनि नभएका दाज्यू हौ तिमी, गाउँघरका मान्छेले सुन्दा पनि लाजमर्दो हुने । भाइलाई पशुको जस्तो व्यवहार गर्न तिमीलाई अलिकति लाज पनि लाग्दैन ?”

“यसलाई मेरो सुट लाउन कसले दियो?”

छाती फुकाएर भाउज्यूले भनिन्, “मैले दिएकी । त्यस्तो ठुलो कार्यक्रममा त्यतिका मान दिएर बोलाएपछि आज राम्रो कपडा लगाऊ भनेर मैले नै भनेकी हुँ । आज एक दिन उसले तिम्रो सुट लगाउँदा के तिम्रो धरती फाट्यो? कसले लायो? भाइले । भाइको भन्दा पनि तिमीलाई सुटको मायाँ बेसी? थुक्क!”

भतिजोले मलाई अङ्कमाल गरेर घरभित्र पसायो । श्रीमती पछि-पछि आई । अब उसले मलाई टोक्लीजस्तो लागेको थियो । अहँ, ऊ घुम्म परेर बसिरहेकी थिई । कुनै मूल्यवान् वस्तु हराएपछि लाटिएकी जस्ती भएर । दाज्यू बाहिर उफ्री-उफ्री कराइरहेका थिए । मैले पेन्ट खोलेर भतिजोको हातमा पठाइदिएँ । उसले पेन्ट आमालाई दियो । भाउज्यूले त्यो पेन्टलाई गुटुमुटु पारेर अनुहार नै ढाक्ने गरी मुखैमा फ्याँकिदिइन् ।

छोराले गनगनाइरहेका बाबुका अघि उभेर शिरदेखि पाउसम्म हेऱ्यो । छोराको तमतमाएको अनुहार देखेपछि बुढा केही मत्थर भयो । अमानविक व्यवहारले व्यक्तिलाई केही फरक नपर्ला तर छेउका दोस्रो व्यक्तिलाई असह्य त हुन्छ नै । छोराको शब्दहीन विद्रोहले मात्र परिवेश शान्त बन्यो । म अहिले घरको दलानमा उभेर हेरिरहेको छु ।

पुरानो घर मलाई छोडिदिएर उनले आफ्नै घर बनाएका छन् । घर सुन्दर छ ! पुरानो घर पनि साह्रै थोत्रो त छैन । तथापि दाज्यैका तुलनामा मेरो घर फिका नै लाग्छ । घर अलग-अलग भए पनि आँगन एउटै । यसो फोहोरमैला देखिनु हुँदैन । दाज्यू रिसाइहाल्नुहुन्छ । सफासुग्घर त मलाई पनि मन पर्छ । दाज्यै तर अलि बढ्तै गर्छन् ।

पाकेका केही मिठामसिना भाउज्यूले नराखिदिएकी हुँदैनथ्यो । मेरो घरमा जे पाके पनि श्रीमती दाज्यूकहाँ पुऱ्याउन पुग्छे । पुग-नपुगमा दाज्यूभाउज्यूले सहयोग गरिरहेका हुन्छन् । गाउँमा यसो कसैले खसी, पाडो काटे भाइबुहारीलाई भनेर ल्याइदिन बिर्सँदैनन् । बेला-बेलामा सँगै खान्छौँ । कहिले दाज्यैकहाँ त कहिले मेरोमा । नाइँनास्ति गर्ने स्वभाव भने उनीसँग छैन । भाउज्यूले पनि मलाई छोरोलाई झैँ मायाँ गर्छन् । त्यसोसले पनि होला, उनका छोरोले पनि मलाई खुब मायाँ गर्छ । मान दिन्छ बाउलाई जस्तो । छोरो पनि छोरो छ ! आँखैमा राखे पनि नबिकाइने । दाज्यूका खैले त्यो राम्रो मानिस बन्यो । अहिले त्यो सरकारी जागिर खाँदै छ । मेरो पो भएन । मेरो सोझोपनको धेरै फाइदा उठायो त्यसले । पढ्नलाई पठाएको छोरो नराम्रो बाटोमा हिँडिदेला भनेर जानिएन । भवितव्य होइन भन्छु तथापि मनलाई बुझाउने अर्को कुनै बहाना छैन मसँग । मुटु नै चिरिएर आउँछ । फाटेकै मनले भए पनि श्रीमती त्यसलाई औधी मायाँ गर्छे तर अति भएको बेला उसलाई भुतभुताइरहेकी देख्छु । सरापिरहेकी देख्छु ।

कार्यक्रमबाट घर फर्केपछि दाज्यैको जुन दुष्टतापूर्ण व्यवहार थियो, त्यसले दुवै घरलाई अशान्त बनाएको थियो । प्रकाशहीन अनुहारहरू! दाज्यू केही दिनसम्म यसो घुमफिर गर्नसम्म निस्केनन् । विशेष कामले यसो बाहिर जान्थे/आउँथे तर अहँ, मैले तिनको मुहारमा कुनै घाम देखिनँ । आँखा भावशून्य लाग्थे । तेजरहित । घरबाट बाहिर निस्कनुहुँदा कतै नहेरी शीर झुकाएर निस्कनुहुन्थ्यो । अनि फर्किनुहुँदा पनि उस्तै ।

“दाज्यूलाई के भएको छ? हाम्रो घरतिर हेर्नु पनि हुन्न । बोल्नु पनि हुन्न ।”श्रीमतीलाई भन्छु ।

“अब तपाईँका दाज्यूका मनका कुरा कसरी बुझ्नु ?”

“तै पनि……

“साना कुरामा तपाईँलाई जिउँदै जमिनमा गाडुँलाझैँ गर्नुभएपछि पनि मान्छेलाई खुशी लाग्छ ? हाँस्नु/रमाउनु मन लाग्छ र ? दाज्यू हुन् उनी तपाईँका ! ‘भूल भो भाइ!’ भनेर तपाईँको गोढा ढोकेर माफी माग्न सक्नु हुन्न । अब हजुरले नै दाज्यूलाई सहज रूपमा ल्याउने उपाय गर्नुपऱ्यो । मलाई लाग्छ, त्यस दिनदेखि उनले राम्ररी खाना पनि खानुभएको छैन । आखिर ठुला दाज्यू हुन् । भाइको मायाँ लाग्छै लाग्छ ।”

“कुरा भनेको आज दाहिनी गऱ्यौ तिमीले । स्याबास् बुढिया !”

नारी-जातिमा यस किसिमका दूरदर्शिता बढी हुनकै कारण उनीहरू हामी पुरुषहरूलाई जीवनका हर मोडमा सतर्क गराउँछन् । सचेत गराउँछन् । उनीहरूका दूरदर्शिताका कारण हामी कतिपय विपद्‌हरूबाट बाँच्छौँ । नियतिका यिनै लीलाले नारीहरू सधैँ हामीभन्दा उच्च छन् ।

दाज्यू घरबाट निस्किएर बाहिर जानुभएपछि म दाज्यूका घरमा पसेँ । भाउज्यू सब्जी काटिरहनुभएको थियो । अचानक उनका अघि उभेका देखेपछि भन्नुभो, “अहो, कान्छा ! आऊ बस ।”

भाउज्यूको सौहार्दपूर्ण व्यवहारपछि म चौकी तानेर उनकै छेउमा बस्छु ।

“के खान्छौ ?” भाउज्यूले सोध्नुभो ।

फ्रिजका दही निकालेर ठुलो मगमा खन्याउनुभो अनि अलिकति चिनी घोलेर मेरो अघि राखिदिनुभो । अर्को मगमा ‘बहिनीलाई’ भनेर छुट्याउनुभो ।

मैले भने, “यतै बोलाउँछु ल बुढियालाई !”

“पर्दैन । म आफैँ बोलाउँछु” ,भनेर दलानबाट बोलाउन लाग्नु भो, “बहिनी ! ए बहिनी !”

“किन बोलाउनुभो दिदी ?” भन्दै ऊ बाहिर आई ।

“एक छिन आऊ न !”

“हुन्छ दिदी ।”

ऊ ढोका ढप्काइराखेर आई ।

दुवै लोग्नेस्वास्नी दही पिएर मुख पुछ्दै थियौँ । दाज्यू आइपुग्नुभो । हामी बसेका ठाउँबाट जुरुक्क उठ्छौँ । दाज्यूले ‘बस् ! बस्’ भन्दै मलाई बसाउनुभो । दाज्यूका हात मेरो काँधमा थियो । बुढियालाई हेर्छु । भाउज्यूलाई हेर्छु । दुवैका अधरमा मधुर मुस्कान देखिन्थ्यो ।

दाज्यू कपडा फेरेर आउनुहुन्छ अनि चौकी तानेर भाउज्यूको छेउमा बस्नुहुन्छ । भाउज्यूलाई अह्राउँदै भन्नुहुन्छ, “ऊ ! त्यो झोलामा मिठाई छ । ल्याऊ, ल्याऊ ।”

दाज्यूले मिठाई टेबलभरि फिँजाउनुहुन्छ । “लु खाऔँ !” भन्दै उनी खपाखप खान लाग्छन् । हामी तीनै जनाले मजाले खायौँ । अहिले दाज्यूका घरको वातावरण अलग थियो रमाइलो थियो । सङ्कोच अनि सङ्कीर्णताको बादल हटिसकेको थियो ।

“यो चाँहि घरमा लानू ।” भनेर एउटा प्लेटमा छुट्याइदिनुभो ।

हामी निस्कन लाग्दा दाज्यूका हात मेरो काँधमा थियो फेरि । भाउज्यू हामीसँग सिँढीसम्मै आउनुभो । भन्नुहुन्छ भाउज्यू, “धेरै दिनपछि आज तिम्रो दाज्यूलाई खुसी देखेँ । आज त खाना पनि राम्रोसँगले खानुहुन्छ होला ।”

यति नै बेला दाज्यूका छोरोलाई आउँदै गरेको देख्छु । हातका मिठाईलाई हेर्छ । हामी काकाकाकी अनि आमालाई हेर्छ । घरको सौहार्दपूर्ण परिवेशको आभास पाउँछ त्यसले अनि हातको मिठाई टिपेर मुखमा लगाउँछ । मुस्कुराउँदै त्यो घरमा प्रवेश गर्छ ।

यसरी हाम्रो घरआँगनमा पुनः घामको किरण फैलिन्छ । गमलामा फुलिरहेका रङ्गीबिरङ्गी फूलहरू नाँचिरहेजस्ता लाग्छन् । मानिसका मन मिले त संसार रमाइलो लाग्छ ।

यसरी दिनहरू बित्दै गए ।

अचानक एक दिन दाज्यूभाउज्यू अनि भतिज केटो मेरो घरमा आए । तीनै जनाका हातमा एक एक ओटा समानका पोका छन् । भाउज्यूको हातमा अर्को सानो पोको पनि छ । दाज्यूले एकैचोटि अँगालो मारेर “जन्म दिनको बधाई छ कान्छा !” भन्दै उनका हातको पोको मलाई दिन्छन् । त्यसपछि भाउज्यूले दिनुहुन्छ । ‘यो बहिनीलाई!’ भनेर श्रीमतीको हातमा राखिदिनुहुन्छ । म दुवैका गोडा छोएर ढोक्छु । आशीर्वाद दिनुहुन्छ । ‘ह्याप्पी बर्थ डे काका !’ भन्दै उपहार दिँदै छोराले मेरो पाउ छुन्छ । काकी चाँहिलाई पनि ढोग्छ । भतिजोले दिएको उपहारको प्याकेट अरूका भन्दा अलि ठुलो र गह्रौँ छ ।

“खोलेर हेरूँ ?” भन्छु ।

“हेर हेर ।” भन्नुभएपछि दाज्यूले श्रीमती प्याकेटहरू खोल्न लाग्छे । ऊ अघिदेखि आतुर थिई । दाज्यूका प्याकेटमा एक जोडी चम्किलो जुत्ता देख्छु । भाउज्यूका प्याकेटमा पेन्ट अनि सर्ट । छोरोले दिएको प्याकेट खोल्न अलि बेर लाग्यो । खोलेर हेर्दा कोट पेन्ट रहेछ । भाउज्यूले श्रीमतीलाई सल ल्याइदिनुभएको रहेछ ।

अवाक् म !

अहिले उनीहरूलाई निर्निमेष हेरिरहेको थिएँ । श्रीमती ती जम्मै उपहारहरूलाई सुमसुम्याइरहेकी थिई ।

यस उपहार प्रदानबिच मेरा आँखा रसिएर आउँछन् । दाज्यैका छातीमा धुस्रिएर धुरुधुरु रुन्छु । उनीहरू तीनै जनाले मलाई थुमथुम्याइरहेका थिए । सुमसुम्याइरहेका थिए ।

उनीहरू फर्किन्छन् ।

म अहिले श्रीमतीअघि अवाक् उभिरहेको छु । श्रीमती मलाई नै हेरिरहेकी रहिछे ।

तपाईँहरू (पाठकहरू)-लाई आज मैले एउटा साँचो कुरा भन्नुपर्छ । अभाव अनि व्यस्तताले मानिस अर्थहीन बन्दो रहेछ । मूल्यहीन हुँदो रहेछ ।

मैले बिर्सिएछु ।

आज मेरो जन्म दिन थियो ।