त्यो स्वच्छ जलमा त्यो शुद्ध वायुमा दुर्गन्ध को फैलायो,
जगत् प्रेम त्यो श्रेष्ठ शिरमा के गरी ओइलायो ।।

प्रविधिले चकाचौध पारेको दुनियाँमा मैले आफ्नो अस्तित्व खोज्दै उही सरभाइभल मेकानिजमका तमाम कुराहरूमा अल्झिरहे । हुर्कनु प्राकृतिक कुरा थियो । परिपक्क बन्नु सरभाइभल मेकानिजमको सेड्युल्डेड मानवीय प्रवृत्ति तर मेरो परिपक्वता धन, दौलत, ऐश्वर्य मापनका पाराहरूले सफलताको ट्याग भिर्नु न हो । मेरो परिपक्वतामा धनको जति मूल्य थियो मानवता र प्रकृति चेतनाको मूल्य उति नै कम । मेरा हरेक क्रियाकलापहरूमा उद्योगको नमिठो गन्ध थियो । प्रविधिको कृत्रिम भोइसओभरले मेरा स्नायुहरू सँगसँगै प्रकृतिको अर्गानिक सुन्दरतालाई लगाम लगाउँदै थियो । यस्तो अर्गनाइज्ड संसारमा के म मात्र अक्षुण्ण छु त ? के वातावरणको स्वच्छता र निर्मलतामा मेरा नाभिकीय प्रगतिका काईहरूले कुरूपताको रङ्ग भरेको छैन त ?

सुरेन्द्र गाैतम

समयले परिवर्तनको उपहारमा कृत्रिमता बोकेर ल्यायो । मानिसहरूका सौखमा कृत्रिमसँग मरमरका विलासी महलहरू ठडिए । सुन्दरतालाई गमलाको मुट्ठीभर माटो र कङ्क्रिटको सहारामा हुर्किएका तथाकथित फूलबारीमा सीमित गऱ्यो । ज्ञानलाई प्रकृतिदंश औद्योगिक बनायो । यहाँ प्रकृतिको स्पन्दन मासियो । वातावरणको काया लुटियो । आधुनिक कङ्क्रिटको साम्राज्यले हावामा स्वच्छता हरायो । जल, जङ्गल र जमिनको गर्तमा रहेको जीवनपद्धतिमा चुनौती आयो । यस्तो मरसिनरी संसारमा के मेरो सार्वभौम मात्रै महत्त्वपूर्ण छ त ? चराचर जगत्‌मा मेरो ‘चेतना’ मात्र अब्बल रहेछ तर कस्तो ‘चेतना’ ? जगत्‌को स्वत्वमाथि एकल अस्तित्वको दुहाई दिने ‘चेतना’ ? आफ्ना अभिलाषा र लाभमात्र पुकार्ने सञ्चित ‘चेतना’ । वास्तवमै मेरो ‘चेतना’ अर्गनाइज्ड कन्भिक्सन हो स्वार्थको । जुन पृथ्वीमा म फ्यालिएसी मेरा इन्द्रियहरूलाई पोस्नका लागि स्वंप्रयासद्वारा निर्मित अनुभवहरू मात्र हुन् । मेरा सफलताका आयामहरू मापन गर्न समाजले बनाएका जबरजस्त ‘सक्सेस बिल्डिङ्ग बल्क्सहरू’ हुन् ।

समयको चक्रमा मेरो ‘चेतना’ सीमित सिद्ध हुँदै थियो । म आफूलाई सफल देख्दै थिए जगत्‌को स्वच्छता र सौन्दर्यको मुर्दामाथि टेकेर । मेरो उच्च अस्तित्व र सम्मान जैविक पर्यावरणको डोरीको विच्छेदनमा अगाडि बढ्यो । अनि मेरो ‘सञ्चित दरिद्र बुद्धिले’ धर्तीका अन्य अंशहरूमा उपयोगीता र पुँजीको सम्भाव्यता जाँच गर्ने नै भयो । ‘म’ भन्ने जुन चेत थियो त्यो हाबी हुने नै भयो । मेरो पहिचान ‘म’ थियो । तब त मेरो ‘म’ सफल हुनुको जुनुन सवार भो । समाजले मलाई ‘म’ बन्नुका लागि कोरा सञ्चित बुद्धिद्वारा नै जाँच गराइसकेपछि ‘म’ को महिमा अझै बुझेथेँ मैले । त्यसैले त मेरो ‘म’ ले सुखसुविधा, भोगविलास, लाभ, ऐश्वर्य सबै देख्ने बाटो समात्यो तर मेरा आत्मरतिहरूलाई रत्याउँदै गर्दा सृष्टिमा प्रदूषित स्वरूपको पाहाड ठडिएको मेरा संवृद्धिमा लपेटिएका चक्षुहरूले नजरअन्दाज गर्दै गए । जल, हावा, जङ्गल, जमिन यहाँसम्म कि अन्तरिक्षमा पनि मेरो साम्राज्यवादले हायलकायल पाऱ्यो । अन्ततः मेरो संवृद्धिको स्वरूपमा अनेपक्षित विग्रह ल्याउँदै मानसिक चुनौतीले एकाकार गऱ्यो । तब मेरो सफलताको तन्द्रा खलबलियो अनि कुनै अचुक रामवाणको खोजीमा अस्वस्थमा जसरी भौतारिनुपर्ने समयले जन्म लियो ।

मेरो भौतिक विलासिताको साम्राज्यमा मानसिक विचलनको ज्वाराभाट आउँदै गर्दा एक योगीसँग मेरो ‘म’ र उनको जगत्‌प्रेमबिच बहस पऱ्यो । मेरो ‘म’ कृत्रिमतालाई पनि जिब्रोमा वाणी हालेर प्रशंसा गर्न उद्यत, परन्तु योगीको सचेतनाले सम्पूर्ण चराचर जगत्‌को अन्तःसम्बन्धलाई बुझ्न आह्वान गर्दै थियो । मेरो ‘सञ्चित बुद्धि’ भित्र योगीको भोलापनदेखि दया पलाएर आयो । मेरो ‘म’ ले उनको जीवन सिद्धान्तमा प्रश्न उठाउँदै बोल्यो, “जीवन जिउन कला चाहिन्छ ! यो दुनियाँमा विलासिता र मोज, सुखसयल र आनन्द खोज्नु नै त्यो कला हो । सुनसान जङ्गल त पशुहरूको आश्रय स्थल हो । हाम्रो चाहनाहरूको निराकरणका स्रोतहरूको खजानगृह मात्र ।” योगी मेरो मुहार नियाल्दै मुस्कुराए । अनि भन्न लागे- “हो यो जैविकीय विविधतामा जिउनु कला नै हो तर यो सृष्टिको संरक्षणमा र प्रवर्द्धनमा मात्र त्यो कला छ ? तिमीमा यो जैविक जगत्‌को चेतनाको ज्ञात हुन्थ्यो भने यस्ता उद्दण्ड कुरा बोल्ने थियनौ । धर्तीको प्रत्येक कणमा जीवनको अस्तित्व हुनुको तात्पर्य हामी परिपूरक छौ । यही जैविकीय देवत्व हो ।” योगीका कुराले मलाई हाँसो उठेको थियो ।

मेरो दिमागमा त्यो जैविकीय देवत्व वा जीवन केवल तेलमा तारेको रोस्टको बास्नासँग सन्निकट थियो । मैले खिस्स हाँस्दै भनेँ- “के यस्तो नाथे सितनलाई पनि देवत्वकरण गर्नुभएको । जसले आजलाई जिउन जान्यो त्यही नै जित्यो । अनि यस्तो अनकन्टार जङ्गल हो तपाईँको कला निखार्ने क्रीडाघर ? न खानाको ठेगान, न निद्रा, न कुनै सेवा सुविधा ?” योगी मौन रहे । सायद उनी मेरो ‘सञ्चित बुद्धि’ को उपहास गरेका हुँदा हुन् । केही क्षणपश्चात् बोले, “यो संसारमा बाच्नका लागि के आवश्यक छ ? भोक अनि निद्रा न हो ? जगत्‌का हरेक जीवहरूको माझमा म एक जीवनको कण न हुँ ? सृष्टि यति विशाल छ । केही न केही जुगाड त जुन कुनै जीवले पनि गरेकै छ नि ।” म योगीको कुरामा उनको निर्दोष पछौटेपन देख्दै थिएँ । केही बेर उनको कुटीबाट वरपर नियालेँ । हरियाली जङ्गल । चैत वैशाखको समयमा ढकमक्क फुलेका अनेक रङ्गका लालीगुँरास । तलपट्टि बेँसीमा टम्म मिलेका खेतखलियान । कुटीको ठिक देब्रेपट्टि ठुलो घाँसेमैदान । चराचुरुङ्गीहरूको चिरबिर । अनेक रङ्गका पुतलीहरूको झुण्डले प्रकृतिको छटा नै लोभलाग्दो थियो । तैपनि यस्ता कुरालाई मेरो मरसिनरी दिमागले कुनै एक रिसोर्ट स्पट बनाउन लायक बाहेक अरू कुनै सोच्न भ्याएन ।

म साधुको कुटीछेवैको ठुलो सिनित्त परेको ढुङ्गामा बसेँ । योगीको शरीर निहारेँ । रातो पहिरनमा सजिएका, विशाल ललाट, सेतै फुलेका दाह्री, तेजस्वी अनुहार, भरभराउदो रसिलो छालाले उनको कायामा निक्खरता नै देखिन्थ्यो । झट्ट हेर्दा कर्मकाण्ड गर्ने पण्डितजस्तो पनि लाग्यो । अनि म आफ्नै मानसिक विचलनले निम्त्याएका विकृत सोचका छालहरूमा डुब्न थालेँ । तनाव र बेचैनीले मेरो स्वत्व लुटेझैँ लाग्यो । ऐसआरामको दुनियाँमा पनि मनभित्र असम्पन्नताको ठुलो मसानघाट भएझैँ लाग्यो । मैले आफ्नो अतृप्ति ज्वाराभाटहरूबाट ध्यान हटाएर हठात् ओठहरू चलाएँ । “हुन त बस्न लायक ठाउँ छ । तैपनि यो सन्नाटामा कसरी मन ठहर्छ तपाईँको ? सहरबजार वा गाउँमै पनि सुविधायुक्त मन्दिर र सत्तलहरू छन् । तपाईँजस्ता अनेक साधुसन्तहरू बस्ने भनेको त उतै हो नि ।” मेरो प्रश्नले योगीलाई च्वास्स घोचेको हुँदो हो । उनले वरिपरि एकपटक नियाले । आफ्नो हातको इसाराले हराभरा प्रकृतिलाई देखाउँदै बोले “हे बालक ! यो दृष्य देखेका छौ ? यो धर्तीको कायामा भौतिकवादीहरूको कुदृष्टि नलाग्दो हो त यो सारा भूमण्डल हिजोको जस्तै रत्न बनिरहन्थ्यो । हरेक कुराको मोलमोलाइ गर्ने यो औद्योगिक दुनियाँले प्रकृति सँगसँगै मानिसहरूको चेतनामा पनि प्राइस ट्याग लागाइदियो । के आफ्नो धर्ती, वातावरणको नष्ट गरेर सभ्यताको नवीन युगको जग बलियो भएको छ ? सम्पूर्ण भू-राजनीतिक गोलमेचले नाभिकीय होडबाजी नगरेको भए अहिलेको आह्वान गर्नुपर्थ्यो ? कदापि पर्थेन् । हामीहरूको चेतना नै भ्रष्ट भयो । वास्तवमा हामीहरू अप्राकृतिक विवेकी भयौँ ।” योगीले अन्ततः मानवलाई भ्रष्ट चेत भएको विध्वंसकको पगरी गुथाइदिए । म मनमनै मुरमुरिएर सोधेँ, “उसो भए चेतना के हो त योगी माहाराज ?”

हामी मानिसहरू चेतनाको सौदागर मात्र हौ । किताबका ठेली, प्रवचन र भाषणमा मात्र पोख्त तर सुदूर भविष्यको भक्षक । विकृत सोचका पक्षपोषक मात्र । भौतिक समृद्धिको मृगमरिचीकामा अप्राकृतिक विचारका संरक्षक । कृत्रिम यान्त्रिक युद्धका उपासक । यही कृत्रिमताको पराकाष्ठा बन्यो वर्तमान मानवीय “चेतना” । सृष्टिको संरचना र प्रणालीलाई हामीले नकाऱ्यौँ । योगीले सविस्तार थपे, “सम्पूर्ण जगत्‌को जैविक महत्त्वको बोध नै “चेतना” हो । प्रकृतिको स्वरूप, जीवको अस्तित्व र जगत्‌को अद्वितीय भौतिक अंशको बोध नै “चेतना” हो । अनन्त ब्रह्माण्डको ज्ञान नै “चेतना” हा तर यहाँ त धन र विलासको होडबाजीमा ज्ञानको महिमालाई उपाभोगवादमा सीमित गरिएको छ । यो सम्पूर्ण जगत्‌ नै आफैँमा एक “चेतना” हो । उनले मलाई धाप मार्दै भने, “ब्रह्माण्डको निमयमा आफूलाई केन्द्रमा राख्ने कुरा पाखण्ड हो । यस्तो बहुलट्ठक कृत्रिम सोचबाट उम्कनु जरुरी छ ।” योगीको कुराले मलाई खासै कुनै प्रभाव पारेन जसरी कुनै ज्ञानवर्द्धक प्रवचनको श्रवणले मुर्ख र आडम्बरीलाई कुनै फरक पार्दैन । मेरो दिमागको सञ्चित ज्ञानले भ्याएसम्म मैले आफ्नो असन्तुष्टी पोख्नैपऱ्यो । म बोलेँ, “यो दुनियाँमा बाँच्न त सानो माछालाई ठुलो माछाले खान्छ नि हजुर ! सृष्टि त त्यसरी नै पो चलिराख्या छ त ?” योगीले मलाई खाउँलाजसरी हेरेँ । लाग्यो उनी मलाई भष्म गर्ने मनसायमा छन् ।

मेरो प्रश्नको जवाफमा उनले केही कठोरतासाथ ओठ चलाए । “कति हो उपभोगको सीमितता ? कहिले मेटिन्छ त सम्पन्नताको भोक ? सृष्टि चक्रमा बाँच्नका लागि त बाघ पनि दगुरेकै हुन्छ, हरिण पनि । यो प्राकृतिक कुरा हो । यो सृष्टिचक्रको व्याख्यासँग मानवीय लोभलालचयुक्त तुच्छ सोचको तुलना हुन सक्दैन । औद्योगिक मानसिकताले प्रकृतिलाई सिकार गरी सर्वश्रेष्ठ हुँ भन्नेहरूले कुनै हिंस्रक जीवको प्रवृत्तिलाई आफ्नो कमजोरीको ढाल बनाउनु जायज हुँदैन ।” योगीले जवाफ दिइरहँदा यस्तो लाग्यो उनले ज्वाला ओकेलिरहेका छन् । लाग्यो यो सृष्टिको म मात्र एक पापी हुँ जसलाई यी साधुले आफ्नो तिक्तता पोखिरहेछन् । अरूलाई सर्वदा झुकाउने अभिलाषाले अभ्यस्त मेरो आत्मसम्मानमा चोट पुगेको आभास भयो । यति वेला मेरा स्नायुका कोषिकाहरूले विद्रोह गर्दै गएजस्तो लाग्यो । अनि मेरा ओठबाट अनयासै प्रश्न फुत्कियो । “योगी माहाराज ! सृष्टिको सबैभन्दा चेतनशील र सिर्जनशील हामी आफ्नो अनुकूलको बाटो पहिल्याउने न हो ? मेरो प्रश्नले योगी महाराजलाई हाँसो उठेछ । अनि मलाई सोधे, “त्यसो हो भने मलाई बताइदेऊ त ! सृष्टि के हो ?”

मेरो उपभोगवादी मनोवृत्तिले यो सृष्टि केवल मेरा विलासका वस्तुहरूको उत्पादनस्थलबाहेक अरू केही उत्तर दिन सकेन । योगीले मेरो अन्तर्मनमा अन्धकारको आभास गरेका हुँदा हुन् । मेरो अस्पष्ट सरभाइभल सिद्धान्त देखेर दया लाग्यो होला सायद । मेरो सोचलाई आँक्ने हिसाबले प्रश्न गरे “के तिमी ईश्वर मान्छौ ? तिमीले ईश्वरलाई काँहा खोज्छौ ?” उनको यस्तो प्रश्नले म तीन छक्क परेँ । यस्तो प्रश्न त जोकोहीले पनि भन्न सक्थ्यो । तैपनि उत्तर दिएँ । “किन नमान्नु । हाम्रो पालनहार हो देवता । मनुष्यको सर्वदा सफलताको हेतु विराजमान देवीदेवताहरू मन्दिर र मूर्तिहरूमा खोज्छु । पूजाअर्चना गर्छु । व्रत उपवास बस्छु ।” योगीले कुटिल मुस्कान आफ्नो मुहारमा प्रतिविम्बित गर्दै बोले, “यहीँनेर मानिस स्वार्थी भयो । आफ्ना स्रोत र साधनको बलले आफ्ना अभिलाषाहरू जब पूर्ति हुँदैन अनि देवतालाई आफ्नो समस्यातारक सम्झन्छ ।” म सुन्दै थिएँ । उनले व्यक्त गर्दै गएका आवाजका तरङ्गहरूले मेरो ‘सञ्चित बुद्धि’ मा नयाँ धार लगाउने बल गर्दै थियो सायद ।

उनी बोल्दै गए, “यो सृष्टिको भव्यता र महत्ता बुझिनसक्नु छ । अद्वितीय र असीमित छ । यो महत्ता आफैँमा एक ईश्वरीय संरचना हो । यसको रचनालाई न समयले तोकेको छ न त स्थान नै निश्चित छ । जो कुरा अद्वितीय र मानवीय कल्पनाभन्दा बाहिर छ त्यो अलौकिक छ । यसर्थ सृष्टि नै ईश्वर हो । यहाँको प्रत्येक जीवको संरचना र अन्तःसम्बन्धको बोध नै अलौकिक छ । समय र स्थान भन्दा पर । त्यसैले यो अध्यात्म हो । यो भूस्थल जाहाँ पञ्चतत्त्वको सम्मिश्रण छ त्यो नै मन्दिर हो र हामी विशिष्ट सोचको क्षमता भएका मानव प्रजाति यो भूमन्दिरको पुजारी बन्नु नै यो सृष्टिले हामीलाई गरेको रचना बापतको ऋण चुक्ता गर्नु हो ।” मैले अबोध बालकले झैँ मुन्टो हल्लाएर सहमति जनाएजस्तो गरेँ । लाग्यो योगीले चेतनाबोधका लागि मेरो जाँच गर्दै छन् । उनी बोल्दै थिए, “मानिसले भगवान्‌सँग याचना गरिरहँदा आफ्नो संवृद्धि चाहन्छ । सम्पन्ताको याचना गर्छ । मन्दिर र विहार धाउँछ तर आफ्नो सोचलाई कहिल्यै माझ्न खोज्दैन र अन्ततः आफ्ना बाँच्ने अस्त्रहरू स्वार्थी अभिलाषाले कटिबद्ध गर्छ । आफू एक सृष्टिको सानो कण मात्र हुँ र चराचर जगत्‌ आफ्नो अस्तित्वको स्रोत हो भन्ने भुल्छ । अनि धर्तीको प्रतिकूलतामा आफना दोषहरू लुकाउन खोज्छ ।” बोल्दाबोल्दै योगी मेरा नजिक आएर मेरो निधारमा आफ्नो हातले सुमसुम्याउँदै भने, “तिमीलाई सन्चो छैन जस्तो छ । आशा गर्छु छिट्टै ठिक हुनेछौ ।” अनि उनी आफ्नो कुटीमा छिर्दै बोले, “सन्तोषं परमसुखं ।”