अस्पतालबाट डिस्चार्ज भएर केही दिनदेखि कोठामै आराम गरिरहेको छु । अचेल दिनहरू सधैँ एकतमासको विरक्ति लिएर आउँछन् र मनमा नमिठो शून्यता छोडेर जान्छन् । म भोलिका सुखद् दिनहरूको कल्पनामा यही सानो कोठामा जीवनको एउटा निर्मम कालखण्ड व्यहोरिरहेको छु ।

अचेल अकस्मात जीवनले आफ्नो स्वाभाविक लय गुमाएको छ । यात्राहरू अत्यन्त कष्टकर भएका छन् । गम्भीर सडक दुर्घटनामा परेर टाउकोमा अपरेसन गरिएको छ । गोडामा समेत तलदेखि माथिसम्म प्लाष्टर बेरिएको छ । मन साह्रै अत्तालिन्छ तर सहानुभूति दिने कोही छैनन् । यो परदेशी माटोमा तन मात्रै होइन, मन पनि नराम्रोसँग थला परेको छ । घरको सम्झनाले खुब सताएको छ । पीडाले भन्दा पनि यो एक्लोपनले मलाई बढी गलाउँदै लगेको छ ।

अक्सर मेरो मानसपटलमा मडारिने दुर्घटनाका ती स्मृतिहरूले मेरो चेतनालाई सिरिङ्ग पार्छन् । घरीघरी सम्झन्छु, दस घन्टापछि होस आउँदा साथी नरेशले ज्यादै खुसी हुँदै भनेको कुरा । उसले भनेको थियो, “विवेक ! बल्ल होसमा आइस् साथी ! एक एक सेकेन्ड तडपियौँ हामी तेरालागि । ”

गहभरि आँसु पार्दै उसले भनेको थियो, “डाक्टरले त पन्ध्र मिनेटभित्रै रगत दिनपर्छ भन्यो तर दुर्भाग्य, रगत कहीँ पनि भेटिएन ! हे भगवान् धन्न बाँचिस् तँ !…. ”

त्यसपछि मैले शिथिल आवाजमा उसलाई सोधेँ, “त्यसपछि के भयो त नरेश ?”

लामो सुस्केरा लिँदै उसले भन्यो, “धन्न ईश्वर नै बनेर मारिया आइपुगिन् र उनकै दुई प्वाइन्ट रगतले तेरो टाउकोको यो अपरेशन भयो ।”

कुरा सुनेर म अचम्मित भएँ । सँगसँगै “धन्न म मरेनछु आज !” भन्ने अनुभूतिले शरीरमा कम्पन्न छुट्यो । निमेष भरको मौनतापछि मैले कृतज्ञता प्रकट गर्दै भनेँ, “तैँले तिरी नसक्नुको गुन लगाइस् साथी !…” त्यतिबेलाको मेरो कारुणिक अवस्था देखेर उसका आँखाहरू पनि रसाएका थिए ।

गहिरो खिन्नता र असह्य पीडा लिएर म अस्पतालमा थिएँ । मनभरि सम्हाली नसक्नुको आँधि चल्दै थियो । घरिघरि आँखाअगाडि बूढीआमाको अनुहार आउँथ्यो र मुटुमा गाँठो पर्थ्यो । उनले हिँड्ने बेलामा लगाइदिएको साइतको टीका सम्झेर निकै भावुक हुन्थेँ । आमाका चाउरिएका गालाबाट झरेका आँसु र रुँदै दिएका आशीषका सम्झनाले मर्माहत बनाउँथे । मनमनै सोच्थेँ, एक पटक आमालाई भेट्नसम्म पाए पनि कस्तो हुन्थ्यो ! म उनको काखमा मुन्टो लुकाएर रुन्थेँ र भन्थेँ, “हो आमा ! जीवन त कर्कलाकै पानी रहेछ !”

म मानसिक द्वन्द्व र शारीरिक पीडाले म विक्षिप्त थिए । निकै परैबाट मारिया आउँदै गरेको देखेँ । मनमा खोई कुन भावना उठ्यो र उनलाई देखेर मेरा ओसिला आँखाहरू फेरि रसाए । उनी मेरो बेडनजिकै आएर बसिन् र बिस्तारै मलाई भनिन्, “थ्याङ्क् गड ! धन्न बाँच्यौ तिमी !”

उनका ती आत्मीय शब्दले मेरो चेतनालाई गहिरोसँग स्पर्श गर्यो र मलाई अझै भावविह्वल बनायो ।

आफ्ना धर्मराएको चेतनालाई मुश्किलले सम्हालेँ र उनलाई भनेँ, “खोई मारिया ! ईश्वरले त के गरे ? तर तिमीले मेरो जीवन बचायौ !”

मेरा आँखाहरू आँसुमा चुर्लुम्मै डुबे, भनेँ, “तिमी नभएको भए म मरिसक्ने रहेछु मारिया !”

शायद मेरा ती शब्दले उनी पनि भावुक भइन् र स्वतस्फुर्त भावले मेरो गाला सुमसुम्याउँदै भनिन्, “जन्म र मृत्यु त कसैको हातमा हुँदैन विवेक ! म त केवल माध्यम मात्र थिएँ । त्यपछिका हरेक दिन उनी एक पटक अस्पताल आउँथिन् र मेरो हेरचाह गर्ने गर्थिन् । उनले मप्रति देखाएको अगाध मायामा म हरेक दिन नतमस्तक हुँदै गएँ ।

मारिया जमैका (उत्तर अमेरिकी महादेश) की नागरिक हुन् । उनको बान्की परेको मुहारमा फुलेको वैंशको आभाले उनी ढकमक्क फुलेको गुलाफको फूलजस्तै देखिन्छिन् । उनको व्यक्तित्व यस्तो छ कि उनी कुनै शैलीजस्तै स्वप्निल र भावनाजस्तै अन्त्यहीन लाग्छिन् । विगत पाँच महिनादेखि हामी डोमिनिकन रिपब्लिकको पाँच तारे होटलमा सँगै काम गर्दै आएका छौँ । दुवै जना स्थानीय भाषा बुझ्दैनौँ र अंग्रेजी भाषाले हामीलाई नजिक ल्याएको छ ।

एक महिनाको अस्पतालको उपचार र कोठामा पन्ध्र दिनको आरामपछि म निकै ठिक भएको थिएँ । कोठामा आएदेखि मारियासँग भेट भएको छैन । उनलाई अचेल खुब मिस गर्न थालेको छु । मनमा उनकै कुरा खेलाउँदै थिएँ । उनको टेलिफोन आयो र उनको सुमधुर आवाज सुनेर मेरो खुसीको सिमाना रहेन ।
टेलिफोनमा हामीले धेरै कुरा गर्यौं र विकेन्डमा घुम्न जाने कार्यक्रम पनि बनायौँ । कुरा सकियो र मारियाको सुन्दर चेहरा आँखा अगाडि आयो ।

आज मारियासँग घुम्न जाने दिन थियो । म दुर्घटनाबाट भरखरै तंग्रिएको थिएँ तर मनमा घुम्न जाने कुराको बेग्लै उमङ्ग थियो । उज्यालो भएदेखि नै म उनको प्रतीक्षामा थिएँ । बिस्तारै व्यग्रताहरू बढेर चरमोत्कर्षमा पुगेका थिए । पटक-पटक घडी हेर्थें र घरिघरि समयको गति नै ढिलो भएजस्तो लाग्थ्यो । पटक-पटक कपडा फेर्थें र ठूलो ऐनामा गएर हेर्थे । दुई चार जोर कपडा फेर्दा पनि चित्त बुझेको थिएन। बल्लतल्ल एउटा रातो कलरको टिसर्ट र कालो जिन्सले अलि सुहाएको हो कि जस्तो लागेको थियो ।

बिहान एघार बजेतिर मारिया आइन् र गाडीको हर्न बजाइन् । म हतारहतार तल ओर्लें । उनका ओठबाट एउटा सुमधुर मुस्कान निस्कियो र त्यसले मेरो मनको भित्रैसम्म स्पर्श गर्यो । रातो भुईंमा कालो बुट्टेदार वन पिसमा मारियाको रुप फक्रेको कुनै सयपत्री फूलभन्दा कम देखिँदैनथ्यो । म उनको त्यो रुपमा मग्न भए र गाडीमा बसेर भनेँ, “मारिया ! कति सुन्दर तिमी ! ”

उनी हल्का लजाइन् र लजाउँदा उनको त्यो मुहार झन् सुन्दर देखियो ।

म जीवनमा पहिलो पटक कुनै सुन्दर विदेशी महिलासँग यात्रा गर्दै थिएँ । थोरै हिच्किचाहट त थियो तर मनमा मिठो उत्साह पनि थियो । सडकका दायाँबायाँ फुलेका रंगीचंगी जाकाराण्डा फूलहरूले मनमा रोमान्चकता थपिरहेका थिए । केही समयमै हाम्रो गाडी राजधानी शान्ता डोमिङ्गो छोडेर र विशाल क्यारेबियन सागरको किनारैकिनार अगाडि बढ्यो । दाहिनेतिर हरिया सुन्दर पहाडहरूले मनमा सुखद् स्पर्श गर्दै गए र बायाँतिर नीलो समुद्रमा उठ्दै हराउने लहरहरूले उस्तै मोहित पारे । प्रकृतिको त्यो मनोहर दृष्य र मारियाको अनुपम सौन्दर्यमा म निमग्न भएँ ।

करिब एक घण्टापछि हामी एउटा सुन्दर बिचमा पुग्यौँ । क्यारेबियन सागरको नीलो पानीमा किनारैकिनारा हिँड्यौ । पानी त घुँडाघुँडासम्म मात्रै थियो तर मारियाको सँगको सुखद् अनुभूतिले मलाई चुर्लुम्मै डुबाएको थियो । समुद्रलाई छोएर शितल हावा आउँथे र उनका सुन्दर कपाललाई बरालेर जान्थे । ती बरालिएका केशहरूले उनको सुन्दर रुपलाई अझै सुन्दर बनाउँथे । निकैबेरसम्म हामी त्यो सुन्दर प्रकृतिको काखमा बस्यौँ र धेरै मिठा मिठा कुरा गर्यौं । साँझ पर्न लागेपछि दिनभरिका सुखद् अनुभूतिसँगै हामी आफ्नो आफ्नो डेरातिर फर्कियौँ ।

आजभोलि मनमा धेरै नै कुराहरु खेल्थे र विभिन्न रङका अनुभूतिहरू छोडेर जान्थे । म तिनलाई केस्राकेस्रा केलाउँथे र भावनाका अनेक रुपहरू पढ्थे । घरिघरि भावनाका जटिलता सम्झेर अचम्म लाग्थ्यो । न देख्न सकिने, न स्पर्श गर्न सकिने, न बाँध्न सकिने ! अचेल मारियाप्रति गहिरोसँग सम्मोहित हुँदै गएका मेरा भावनाहरू सम्झेर मलाई अचम्म लाग्थ्यो र सोच्थेँ, किन यति धेरै बेलगाम हुन्छन्, होला मान्छेका भावनाहरू !

भोलिपल्ट अफिसमा सँगै लन्च खाने मौका मिल्यो, त्यहीबेला क्याफेमा उनले शान्त मुद्रामा मलाई भनिन्, “विवेक ! आजभोलि मलाई डर लाग्न थालेको छ…।” उनको कुराले अचम्म लाग्यो र सोधेँ, “किन मारिया केको डर र ?”

आफ्ना नजरहरू तिखा बनाएर अनन्ततिर हेर्दै उनले भनिन्, “मलाई आफ्नै सपनाहरूसँग डर लाग्छ अचेल !”

मैले सामान्य भावमै उनलाई भनेँ, “सपनाहरू त सपना नै हुन् नि मारिया !”

लामो सुस्केरा लिएर उनले भनिन्, “सपनाहरूले नै त रुवाउँछन्, नि मान्छेलाई विवेक !”

उनको त्यो गहिरो अभिव्यक्तिले मेरो मनलाई पनि स्पर्श गर्यो तर मैले कुनै प्रतिक्रिया जनाइनँ ।

अर्को दिनम अफिसमा मारियालाई भेटेँ । त्यो दिन उनको चेहरा उदास थियो । त्यो देखेर मलाई कताकता नमिठो लाग्यो । उनले विस्मित भावले मलाई भनिन्, “कति कठिन छ है जिन्दगी ! ” गहभरि आँसु पार्दै उनले थपिन्, “म यताबाट पैसा पठाउँछु उता जोसेफ रक्सी र केटीहरूमा उडाउँछ ! छोरोलाई भेट्नसम्म जाँदैन ऊ । मेरो सानो बच्चा भिडियो कल गर्दा हरेक पटक रुन्छ !”

मैले उनलाई सोधेँ, “फेरि किन तिमी उसलाई पैसा पठाइरहन्छ्यौ त ? ”

“माया, बिबेक ! मैले पैसा नपठाए, कसले तिर्छ मेरो सानो छोराको होस्टल फि ? आमा हुँ नि त म ! म उसैका लागि त यति टाढा आएर दुःख गरिरहेकी छु ? ”
उनको आवाजमा पोखिएका पीडाले मलाई पनि व्यथित बनायो । म केही भन्न खोज्दै थिएँ, त्यही बेला उनलाई टिम लिडरले बोलाए । उनी आँसु पुछ्दै अफिसबाहिर निस्किन् । म पनि बोझिलो मन लिएर आफ्नै क्याबिनमा फर्कें ।

कोठामा फर्केपछि पनि मारियाको कुरा मनमा खेले । उनको त्यो विक्षिप्त अनुहार सम्झेर दुःख पनि लाग्यो । मलाई नयाँ जीवन दिएर उनले मलाई आजन्म ऋणी बनाइसेकेकी थिइन् । आज उनको स्तुत्य मातृत्व देखेँ र उनीप्रति असीम श्रद्धा पनि पलायो । आफ्नो बच्चाका लागि आफैँ मेटिएकी ममतामयी आमाको वात्सल्य प्रतिको सम्मान चुलिएर गयो । सामो सुस्केरा हालेँ र समुद्री बिचमा मैले खिचेको उनको तस्बिर मोबाइलमा हेरेँ तर त्यो तस्बिरमा सधैँ देखिने उनको त्यो उन्मुक्त हाँसो होइन, दिउँसो देखेकै व्यथित चेहरा देखेँ ।

एक हप्तादेखि फिल्डको कामले गर्दा शहर बाहिर गएकी थिइन् । उनलाई सात दिनसम्म भेट्न नपाउँदा मेरो छटपटीले मलाई खङ्ग्रङ्ग बनाइसकेको थियो । उनलाई देख्नेबितिक्कै पीडा र खुसी मिसिएका आँसुले मेरा आँखाहरू रसाए । मैले उनलाई हेरेँ, उनको चेहरामा पनि गम्भीर उदासी थियो । उस्तै खाले अनुभूतिहरूले हामी दुवैलाई गाँज्यो र दुवै जना एउटा लाचार हाँसो हाँस्यौ । उनले मलाई साँझ सँगै कफी पिउने प्रस्ताव गरिन् र मैले त्यसलाई सहर्ष स्वीकार गरेँ ।

क्याफेमा मारिया उदास मुद्रामा आइन् । केहीबेरको सन्नाटापछि उनले मलाई सोधिन्, “अब त तिम्रो यहाँको बसाई सकिन लाग्यो होइन ?”

त्यो अप्रत्यासित प्रश्नले मलाई झस्कायो । उनी भन्दै गइन्, “तिमी सोध्थ्यौ नि विवेक ! हो, यही कुराको डर लाग्छ मलाई ! यति नजिकिएर फेरि सदाका लागि छुट्टिनु पर्ने कुराको ! उनका रसाउँदै गएका आँखामा मैले हेरिरहन सकिनँ । म पनि निकै भावुक भएँ ।

उनी कुर्सीबाट उठेर अँध्यारोमा हराउँदै गएको शहरतिर हेर्दे भनिन्, “अब हाम्रो जीवनभर कहिल्यै भेट हुन्छ र विवेक ? ” उनको त्यो प्रश्न कुनै धारिलो छुराजस्तै गरी मनमा रोपियो । मैले मर्माहत भएर उनलाई भनेँ, “शायद भौतिक रुपमा त नभेटिएला तर के हाम्रो मन कहिले अलग हुन सक्छ र मारिया ? ”
उनले गहिरो विस्मय भावमा भनिन्, “खोई विवेक ! जब भोलि तिमी यहाँबाट हिँड्ने छौ, त्यसपछिका दिनहरूको कल्पना गर्न पनि मलाई डर लाग्छ !”
बोल्दाबोल्दै उनी उनको आवाज गाँठो पर्यो र पनि उनले मुस्किलले भनिन्, “कति सपनाहरू विपना बन्नै नसक्ने हुँदारहेछन्, शायद मैले त्यस्तै सपना देखेँ… ”
उनका कुराले म नाजवाफ भएँ । दुवै जना अत्यन्त मर्माहत भयौँ । एक-कप कफी सँगै पिएर व्यथित मनका साथ हामी छुट्टियौँ ।

यसैगरी जिन्दगीका क्षणहरू बित्दै गए । दिन, सप्ताह, महिना र सिङ्गो एक वर्ष भएर । यस बीचमा हामी एकअर्का बिनाको जीवन कल्पना गर्न पनि नसक्ने भइसकेका थियौँ । निद्रा लाग्न छोडेको निकै भई सकेको थियो । आज पनि लागेन र म मध्यरातमा छतमा उक्लिएँ । आकाशमा पूर्ण चन्द्रमालाई हेरेँ र त्यो मलाई मेरै मारियाजस्तै लाग्यो । मैले मनमनै भनेँ, तिमी पनि यसरी नै सधैँ उदाइरहने भए ! म हरेक रात आएर तिमीसँग मनको वह पोख्थेँ र कति हलुका हुन्थेँ मारिया !

निकैबेर चन्द्रमा हेर्दै बहकिदै जाँदा कतिबेला बिहानको तीन बज्यो पत्तै भएन ।

एक दिन मारियासँग छुट्टिनु पर्ने कल्पना गर्दा मात्र पनि समय जहाँको त्यहीँ अडिए हुन्थ्यो जस्तो लाग्थ्यो । बिछोडको अनेक तर्कनाले आतङ्कित पार्थे । तर फेरि बुबा र आमाको लाचार बुढेसकाल, हुर्केकी बहिनीको जवान सपनाको सम्झना आउँथ्यो । नरमाने साहुको मोटो ऋण, एजेन्टलाई कबोल गरेको रकम मेरा लागि गलपासो बनेर तेर्सिन्थे । अनि फेरि मारियालाई सम्झन्थेँ, जीवन मध्यरातमा रेटिएको सारङ्गीको विरही धुनजस्तो लाग्थ्यो ! पीडा र लाचारीको दोसाँधमा पुगेर संवेदनाहरू हराउन खोज्थे र म आफ्नै तमासा हेर्थें । न अगाडि बढ्ने बाटो थियो, न पछाडि फर्कन सजिलो थियो !

अन्त्यमा समयलाई के रोक्न सकिन्थ्यो र ? हेर्दाहेर्दै मैले मारियालाई छोडेर हिँडने दिन पनि आयो । खबर पाएपछि मैले उनलाई फोन गरेँ तर उनले उठाइनन् । धेरै पटक गरेपछि फोन त उठाइन् तर केही नबोली डिसकनेक्ट गरिन् र अन्त्यमा फोन स्विच अफ भयो । म रातभरि छटपटाएँ र भोलिपल्ट बिहानै उनको क्वाटरमा गएर घण्टी बजाएँ ।

कान्तिहीन अनुहार लिएर उनले ढोका खोलिन् र काँपेको स्वरमा सोधिन्, “समय रोकियो त विवेक ? भोलि जाने भयौ होइन ?!…” उनका शब्दहरूले नमीठो पीडा दियो ।

उनले सोधिन्, “मलाई छोडेर जान सक्छौ तिमी ? ” म नाजवाफ भएँ । लामो सुस्केरा लिएर उनले फेरि भनिन्, “अब कस्ता होलान् तिमी बिनाका मेरा दिनहरू ! क्यारेबियन सागरका ती लहरहरू, सँगै लन्च खाने क्याफे, हरेको दिन भेट जुराउने अफिस र बगैँचाका ती जाकाराण्डा फूलहरू ! कति शून्य, भावहीन र निर्जीव लाग्लान्, बिल्कुल निश्प्राण सबै ! नियतिको अर्को एउटा अट्टहास ममाथि … गजबको भाग्य छ विवेक मेरो ! ”

उनको कुरा सुनेर वेदनाले आहत हुँदै मैले उनलाई भने, “कसैको असीम मायाको आभास लिएर बाँच्नु पनि त प्रेम हो नि मारिया ! समयसँगै भूमिका त फेरिएला तर मेरो भावनामा तिमीभन्दा पर अर्को कुनै संसार हुने छैन । ”

“थाहा छैन विवेक हाम्रा बीचमा के थियो ? प्रेम, मृगतृष्णा, सपना वा भ्रम । तर यस्तो लाग्छ, जे थियो, त्यो यति क्षणिक नभई दिएको भए पनि हुन्थ्यो ! मलाई टुक्राटुक्रा नपारेको भए पनि त हुन्थ्यो…!”

उनले आँसु पुछिन् र लामो सुस्केरा लिएर गला अवरुद्ध पार्दै भनिन्, “अब कसरी बाँच्नु मैले ? हेर त ! एउटा मिठो सपना यसरी टुट्यो कि म बाँच्नै नसक्ने गरी विपनामा पछारिएँ तर केही छैन विवेक ! अझै पनि त मैले मेरो छोरोको लागि बाँच्नै पर्छ नि !”

त्यसपछि उनी हिक्कहिक्क मात्र गरिन् ।

म सीमातीत पीडाले आक्रान्त हुँदै उनलाई भनेँ, “यो कोरा सपना होइन मारिया ! एउटा पवित्र, कञ्चन र स्निग्ध प्रेम हो ! ”

म यसभन्दा बढी बोल्न सकिनँ । त्यसपछि असीम पीडाका साथ उनले भनिन्, “जोसेफले त जिउँदै मारेकै थियो । समयले अर्को छुरा रोप्यो । तिमीसँग एक छिन के रमाएँ, त्यो पनि भाग्यले देख्न सकेन !”

त्यसपछि हामीबीच बोल्ने कुरा केही भएन । हामी दुवै निशब्द भयौँ । अनुभूति शून्य भयौँ । मैले उनीसँग बिदा माग्न पनि सकिनँ । आँसु एकनास बगिरहे । पुछ्न पनि मन लागेन … स्तब्ध मनका साथ उनलाई त्यहीँ छोडेर हिडेँ तर फेरी फर्केर कुनै दिन आउनेछु पनि भन्न सकिनँ । उनको कोठाबाट निस्केँ । बाटाभरि जाकारान्डा फूलहरू झरेका थिए । ती झरेका फूलहरू मभन्दा पनि धेरै गलिसकेका थिए । तिनै गलेका फूलहरूमै मनका पीडा पनि पोखिदै गए ।

कोठामा आएको केहीबेरपछि नै स्थानीयहरू बिदा गर्न आए । असीम वेदनाले विक्षिप्त हुँदै एयरपोर्टका लागि कोठाबाट निस्केँ र एउटा लाचार हाँसो फिँजाएर अगाडि बढेँ । पछाडिबाट खाना पकाउने दिदीले बोलाइन् । फर्केर हेरेँ, उनका आँखाभरि आँसु थियो र हातमा एउटा असारे फूलको गुच्छा थियो । मैले फूलको त्यो गुच्छा समाएँ । दिदीले “राम्रोसँग जानू” भनेर आफ्नै भाषामा भनिन् । मैले दाँतले ओठ टोकेर आफ्नो रुवाई रोकेँ र सदाका लागि त्यो ठाउँ छोडेर हिँडेँ ।

घरको कम्पाउण्डबाट बाहिर मात्र निस्केको थिएँ, टाढैबाट हतास र आतंकित मुद्रामा मारिया आउँदै गरेको देखेँ । विस्मित भएर एकछिन अडिएँ । उनी सरासर आएर मलाई गम्लङ्ग अँगालो हालिन् । उनी निशब्द थिइन् तर उनका अविरल आँसुले मेरो चेतना निथ्रुक्क भिज्यो । कर्तव्य र खुसीको दोसाँधमा पुगेर मेरो अस्तित्व रन्थनियो । वृद्ध आमाबुबा, जवान बहिनी, नरमाने साहु र दृष्टि बन्धकी गरेको घरबारीले मुटुमा घोच्यो । अन्ततः मैले कर्तव्यको वेदीमा आफ्नो खुसीको बलि चढाएँ । चरम पीडाभावमा हामी दुवै आहत भयौँ । एकअर्कालाई लाचार नजरले हेरिरह्यौँ । दिदीले मेरो हात समाएर गाडी चढाइन् । त्यसपछि म एयरपोर्टका लागि हिँडेँ ।

चरम विस्मय भाव लिएर जहाज चढेँ, जहाज अकासियो । झ्यालबाट बाहिर हेरेँ, आँसुले केही देख्न सकिनँ । आँखा चिम्ले मनमा मारियाको मुहार र उनका आँखाका आँसुबाहेक केही आएन । अस्पतालमा उनले, “थ्याङ्क गड ! धन्न बाँच्यौ तिमी !” भनेका शब्दहरू फेरि कानमा गुन्जिए ।

मैले मनमनै भनेँ, “म कहाँ जिउँदो छु र मारिया !”

जहाज बतासियो ।

झ्यालबाट बाहिर हेरेँ, जहाज कालो बादलभित्र छिरेको छ र दृष्टि शून्य छ । आँखा चिम्लेँ । फेरी मारियाले नै भनेका शब्दहरू सम्झे र आफैँलाई सोधेँ, “के जिन्दगी फगत् मृगतृष्णा हो ? सपना हो कि भ्रम मात्रै हो ?”

जहाजले बम्पिङ्ग गर्यो । सोचाईको तन्द्रा टुट्यो । मुख सुक्यो पानी पिएँ । र, एउटा मूक वेदना र उदासीले उसैगरी छोप्यो र फेरी सोचेँ, “कहाँ रहेछ त जीवन ? सम्झौतामा कि स्वतन्त्रतामा ?”

तर्कनाहरू क्यारिबियन सागरका ती लहरजस्तै उर्लिरहे । म तिनकै विरोधाभाषमा फेरि अर्को पटक म चेतनाशून्य भएँ । केही पलहरू त्यसरी नै बिते । पछि फेरि मनमा मारिया नै आइन् र मलाई संवेदनाहीन बनाइन्…।