
‘केही दिनकै कुरा त हो’ राघवले मनमनै सोच्यो, ‘यत्रा वर्षदेखि झेलेकै थिएँ, अब त केही दिन त हो नि !’ प्रत्यक्षमा ऊ च्याँठ्ठियो, “भन्या ठाउँमा केही भेटे त मरिजानू ! हैन, किरा परेका हातले कता पुऱ्या होला मेरो…” बाँकीका शब्द उसको मुखमै रह्यो किनभने मीराले चुपचाप उसले खोजिरहेको उसको टिसर्ट दराजमा भएको लुगाको चाङबाट थुतेर उसको सामुन्ने खाटमा राखिदिई ।
“अघि नै देखि कान दराजमा थन्क्याएर मऱ्या’थिइस् खानाँ काल ! एक पैसाको ढङ्ग भा’ भए त मरिजानू !” ऊ फेरि पनि कराइरह्यो । उसलाई थाहा नभएको त कहाँ हो र ? गलत आरोप लगाइरहेको छ ऊ मीरालाई तर उसलाई नहोच्याईकन, अपशब्द र आरोपहरूले नडामीकन ऊ कसरी आफू ‘सही छु’ भनेर देखाओस् ? उसै पनि मन नपरेको मान्छेको सुवास पनि गन्हाउँछ !
सात वर्ष पनि पुगिसक्न भ्याएको छैन, उसले यही मीरामा खुबीको भन्डार देखेर मरिहत्ते गरेर, पछि लागेर, भागेर बिहे गरेको ! मीराका परिवारले त अझैसम्म भित्र्याएका पनि छैनन् उसलाई तर राघवको मनबाट उसप्रतिको चाहनाको रङ्ग मात्रै होइन, उसप्रतिको इज्जत र मान पनि खुलिइसकेको छ । त्यमाथि झन पिएको मस्काइको मोहनीमा बाँधिएपछि त ऊ, मीरालाई डिबोर्स दिने तयारी गरेर बसेको छ किनभने उसले मीरालाई नछोडेसम्म उसकी पिए, प्रकृतिले उसलाई हात लगाउन नदिने निर्णय सुनाएकी छ अनि राघव उसलाई हात लगाउन मात्र होइन, सधैँभिरका लागि समेटेर कलेजीमा राख्न दृढ प्रतिज्ञ थियो ।
समस्या छोराको थियो र पो ! नत्र त उसले मीरालाई उहिल्यै छोडिसक्ने थियो ।
हुन त आमाबा र हजुरआमालाई पनि मीराले खुब रत्याएकी थिई तर पनि उहाँहरूको एउटै उद्गार पोखिन्थ्यो बेलाबखतमा-के गर्नु र, मान्छे त खास्सा हो तर आफ्नो जातकी परिन र पो !
त्यसैले पनि राघवलाई पक्का विश्वास थियो-उसका बाआमा उसको निर्णयसँग खुसी हुनेछन् भन्ने कुरामा ।
‘छोरो पनि त मेरै हो ! उसले हुर्काउँदैमा उसको मात्रै हुने हो र ? खर्चबर्च दिइहाल्छु सक्की गो नि !’ ऊ निर्णय गरेर बसेको थियो– जे परे परोस्, उसलाई मीरा आफ्नो जिन्दगीमा चाहिएन अब !
छोरो जन्मिएदेखि घटेको मीराको शरीरप्रतिको उसको आकर्षण पनि प्रकृतिसँग घनिष्ठ हुनथालेदेखि मेटिइसकेको थियो ।
‘अब कुनै कारण बाँकी थिएन यो बोझ भएको सम्बन्धलाई घिसारिरहने’ उसले पक्का निर्णय गरिसकेको थियो ।
हुन त मोडलजस्तै पिए छेउमा आएर उभिन थालेपछि मात्रै होइन, उसको मन त प्रमोसन भएदेखि या सायद मीरा गर्भवती भएदेखि नै हो ऊसँग यस्तरी अघाएको । हो त, मीरा गर्भवती भएदेखि नै त हो उसका आँखा बरालिन थालेका, तर अब त ती निर्लज्ज भएका थिए । साँच्चै हो, जब मन र आँखाबाट जीवन साथीको छवी मेटिन्छ तब मनको चाह मात्रै होइन शरीरको माग पनि चिसो हुन्छ, सेलाउँछ !
‘हुन पनि त प्रकृतिभन्दा अढाइ-तीन गुना पो मोटाएकी छ त यो ! अँगालोमै नअटाउने गरी ।’ उसको बेइमान मनले प्रकृतिलाई देखेको क्षणदेखि नै मीरालाई ऊसँग तुलना गर्न थालेको थियो ।
पहिलो झलकमै प्रकृतिको सुन्दरतासँग प्रभावित भएको राघवलाई उसैले मस्कीमस्की लन्च र डिनरमा लैजान आग्रह गर्न थालेपछि त झन् के चाहियो र ?
त्यसपछि जबजब उसले मीरालाई आफूतिर तान्यो, उसले आफ्नी पिएलाई सम्झियो । उसको बान्की परेको शरीर याद आएपछि ऊ मीरातिर बढ्नै सक्दैनथ्यो । उसलाई यो यादै रहँदैनथ्यो -मरिहत्ते गरेर मीराको पछि लाग्दा ऊ पनि कुनै मोडलभन्दा कम कहाँ थिई र ?
पढाइमा अब्बल । राम्रो, धनी परिवारकी मीरालाई नपाए बाँच्नै नसक्ने उसको ठहर थियो । त्यसैले त कट्टर ब्राह्मण परिवारको उसले नेवारकी छोरी भगाएर घरमा हुलेको थियो ।
उसका बाआमा र हजुरआमाले जतिसुकै मन, मुख खुम्च्याए पनि ‘निस्केर जा’ भन्न सकेका थिएनन् । एक्लो सन्तान हुनुको फाइदा उठाएर उसले मीरालाई घरमा भित्र्यायो । तर मीराको परिवारले उसलाई आफ्नो घरमा भित्र्याएनन् । आजसम्म पनि भित्र्याएका छैनन् ।
पहिलेपहिले त मीरालाई पनि खासै वास्ता लाग्दैनथ्यो माइतीको तर जबदेखि राघवको व्यवहार फेरिएको थियो, माइत जान नपाएर छटपटाउन थालेकी थिई ऊ । रोजेको सम्बन्धले किनारा लगाएपछि बल्ल उसलाई पछाडि छोडेर आएको सम्बन्धले लोभ्याउन, तान्न थालेको छ तर कुन मुख लिएर फिर्ता जाओस् ?
मास्टर्स सकेर जागिरमा लाग्ने बित्तिकै उसले घर छोडिदिएकी थिई किनभने उसका बाउआमा बाहुन ज्वाइँ चाहँदैनथे ।
ठूलो सगोलको परिवार थियो उसको । चारजना दाइ र भाउजूहरू । एउटी बिहे नगरीकन बसेकी निनी । एउटी बहिनी । बाआमा र अजी ।
गुठीका सर्वेसर्वा थिए उसका बा ।
परिवारमा कुनै एकजना पनि आफ्नो पक्षमा नदेखेपछि उसले राघवको साथमा घर छोडिदिएकी थिई । आफ्नो त्यो मूर्खताका लागि हरेक दिन, प्रत्येक क्षण पछुताउँथी ऊ अचेल ।
आज छ सात-वर्ष बित्दानबित्दै पछुताउनुपर्ने निर्णय गरेकामा ऊ हरेक दिन आफूलाई लोप्पा ख्वाउँथी ।
आफ्नो भन्दाभिन्दै संस्कार र चालचलन भएको घरपरिवारलाई रिझाउने धुनमा उसले हुँदाखाँदाको स्ट्यान्डर चार्टर बैङ्कको जागिर छोडिदिएकी थिई, गर्भवती भएपछि । उनीहरूको ख्याल राख्ने ध्याउन्नमा आफ्नो ख्याल राख्न छोडिदिएकी थिई । लोग्नेलाई माथि उठाउने ध्याउन्नमा ऊ यति तल, यति पछाडि परेकी थिई, त्यही लोग्नेले उसलाई आफ्नो पाइतालाको छेउछाउको लायक पनि मान्न छोडिदिएको थियो, छ-सात वर्ष बित्दानबित्दै ।
पहिलेपहिले त सासू, बूढीसासू र ससुराले समेत उसलाई ‘न्यार’ (नेवार) भनेर भान्छामा छिर्न दिएनन् तर बिस्तारैबिस्तरै चियाखाजाबाट सुरु भएको उसको दिनचर्या खानासम्म पुग्यो । आफूलाई सुविधा र सजिलो भएपछि उनीहरूले मीरा ‘न्यार’ हो भन्ने कुरा बिर्सिएझैँ गरिदिन सके । अब त भातभान्छा, घर, छोरो, लोग्ने, लोग्नेका आमाबाउ र हजुरआमा मीराका जिम्मेवारी थिए । तर त्यस घरमा यत्रा वर्ष बिताईसक्दा पनि ऊ कसैको जिम्मेवारी हुनै सकेकी थिइन सायद !
काखमा तीन वर्षको चिचिलो छोरो थियो । उसैका लागि भन्दै राघवको दुर्व्यवहार झेलेको पनि कत्ति भइसक्यो । अझै कति झेल्नुपर्ने हो, सोचेरै डर लाग्न थालेको थियो उसलाई तर पनि ऊ यो सम्बन्धको विकल्प सोच्न चाहन्नथी ।
‘मन परेर मरिहत्ते गरेर बिहे गरेको लोग्ने त यस्तो छ, अरू पो के कमका होलान् र यस संसारमा ? उसै पनि रोजाइ मेरो हो, मैले नै सामञ्जस्य बसाउनपर्छ,’ मीरा सोच्थी ।
सुरुसुरुमा राघवको ब्यवहार फेरिन थालेपछि मीराले उसलाई सम्झाउन कति कोसिस गरेकी थिई तर सम्झने, बुझ्ने नियतलाई पछाडि छोडेर आएको उसलाई मीराको किचकिच, रुवाइ, कराइ र झगडा गराइले झन् साँढे बनाइदिएको थियो । राघवको लाज र डरको पत्र प्याजको पत्रझैँ उप्किएर नाङ्गिएपछि मीराले पनि उसलाई सम्झाउन छोडिदिएकी थिई । आँसुले असर नगरेपछि रुन छोडिदिएकी थिई । मुख टालेकी थिई । हात बाँधेकी थिई । फाइदा पनि के थियो ? जसको कुरा बुझ्ने नियत हुन्छ उसले इसारा गरेको पनि बुझ्छ तर जसको बुझ्ने मनसाय हुँदैन उसले कत्तिकै जोडले चिच्याए पनि बुझ्दैन, सुन्दैन ।
‘त्यसमाथि पनि मागेर, लडेर, याद दिलाएर पनि माया हुन्छ र ?’ ऊ सोच्थी- ‘ज्यान तेर्स्याएर पछि लागेको पुरुष छ-सात वर्ष बित्दानबित्दै यस्तरी फेरिन्छ भने ऊ जोसुकैको साथमा भए पनि के फरक पर्छ र ?’
अचेल त ऊ राघवले आफ्नो पिएलाई गरेको छिल्लिएका म्यासेज र च्याट देखेर पनि बेवास्ता गिरिदिन थालेकी थिई । उसकी पिएसँगको उसको बढ्दो हिमचिम पनि देखेको नदेख्यै गिरिदिन्थी । झगडा मच्चाएर केही फाइदा देख्दिनथी ऊ अब । जब उसको त्यतिका त्याग, मेहनत र मायाले उसलाई बाँध्न सकेन भने झैँझगडाले कसरी बाँध्थ्यो र ?
राघव वकिलसँग सरसल्लाह गरेर, उसैका रोहबरमा मीरासँग पक्का पारपाचुकेका लागि सबै कागजपत्र तयार गरेर बसेको थियो । अब एउटा बिस्फोटको प्रतीक्षा थियो उसलाई, त्यसपछि वारपार !
मनमनै रोमाञ्चित थियो ऊ मीरालाई पछाडि छोडेर प्रकृतिलाई आफ्नो जीवनमा स्वागत गर्ने कुरा सोचेर । उसलाई कुनै आत्मग्लानि थिएन । कुनै दुःख थिएन मीरालाई आफ्नो जिन्दगीको हाँगाबाट लुछेर अलग गर्न लागेकामा ।
‘उसैको गल्ती हो !’ ऊ आफ्नो करतुतको जिम्मेवार पनि मीरालाई नै बनाएर सोच्थ्यो-‘उसैले मलाई आफूसँग बाँधेर राख्न सकिन, नत्र त्यस्तरी मरिहत्ते गरेर माया गर्ने म किन दायाँबायाँ लाग्थेँ र ?’ ऊ आफ्नो गल्तीको भारी पनि मीराकै थाप्लोमा हालेर स्वच्छन्दतापूर्वक प्रकृतिका साथमा रमाउन थालेको पनि निक्कै समय भइसकेको थियो । मीरालाई छोड्नका लागि उसँग अनगिन्ती कारण जम्मा भइसकेका थिए यी वर्षहरूमा । जब मनले अठोट गर्छ तब बहानाहरूको कमी हुँदैन । ऊसँग पनि बाहनाहरूको कुनै कमी थिएन !
उसले जुन दिन मीरालाई डिभोर्स दिने पक्का मन बनाएको थियो त्यसको चार दिनअघि कोरोनाको प्रकोपका कारण लकडाउन सुरू भयो !
ऊ त्यही दिन मीरासँग वारपारको निर्णायक कुरा गर्ने सुर कसेर बसेको थियो तर समय अनुकूल भइदिएन ! मन मार्नुको विकल्प थिएन ।
राघवका सारा योजना भताभुङ्ग भए । सबैकुरा जो बन्द थियो ! कतै आउनजान, कसैसँग भेटघाट गर्न, सब बन्द ! उसका बा झन् कडा यस मामिलामा, किनभने घरमा ९० वर्ष पुग्नै आँटेकी हजुरआमा हुनुहुन्थ्यो । राघवले आफूलाई थुमथुम्यायो- ‘केही दिनकै कुरो त हो !’ प्रकृतिलाई सम्झायो, “केही दिनकै कुरा त हो नि !”
घरबाट काम गर्न सुरु गरेको पहिल्यै दिन उसले दिनभरिमा कम्तीमा पनि चौधपटक मीरालाई हपाऱ्यो । उसका हरेक काममा खोट निकाल्यो । उसले अति गरेको देखेर कहिल्यै केही नभन्ने हजुरआमाले समेत भन्नुभयो-“हैन किन त्यसरी मुख छोडेको भन्या ! हाम्ले बेगर्द्याहो र ? आफैँले रोजेर ल्या स्वास्नीको कति हुर्मत लि’रा भन्या ?”
“पहिले था’थेन नि, यत्ति बेसोमती छ भनेर, खानाकाल !” ऊ गनगनायो ।
“दिनभरि खटि’रा हुन्छे । एकछिन सुस्ता देखिन्न । न बोलेकै सुनिन्छ । त्यसमाथि बच्चो छ स्याहार्नलाई !” हजुरआमाको स्वरमा नजानिँदो साहनुभूति थियो मीराप्रति जुन राघव सहन गर्न सक्दैनथ्यो ।
“कामै के हुन्छ र ?” उसको स्वर झन् उच्व हुन्थ्यो, “हात चलाउन जानेदेखि जाबो घरको काममा कुन पहाड फोर्न पर्छ र ? घर र बाहिर दुवैतिर काम गर्ने स्वास्नीमानिसले पनि त घर चलाएकै छन् यसले भन्दा राम्ररी । यै रै’छ कतै नभा’की बेढङ्गी ! बसीबसी खान पाउँदा पनि अनुहार कहिल्यै उज्यालो हुन्न ।”
मीराको चित्त काटिन्थ्यो । एक्लै रुँदारुँदा अब त आँसु पनि सकिसकेको थियो । त्यसैले झन् दुख्थ्यो उसको मनको चोट, आँसुसँगै बग्न नपाएर ।
लकडाउन सुरु हुनुभन्दा दुई हप्ताअघि मीरासँगै कलेज पढ्ने, उसकी अभिन्न सखी सभ्या धेरै समयपछि उसलाई भेट्न घर आएकी थिई । मीराको अवस्था देखेर उसले पत्याउनै सकिन-ऊ त्यही पहिलेकी मीरा हो भनेर !
“जब आफ्नो इज्जत आफैँले गर्न छोडिन्छ नि, तब संसारले बेइज्जत गर्न थाल्छ बुझिस्,” सभ्याले भनेकी थिई ।
“के गरूँ ?” मीराको थकित स्वरमा उत्सुकता वा उत्साहको कुनै छनक थिएन-“बाउआमाले बिहे गरेर दिएको भए सायद म पनि लड्न, झगडागर्न सक्थेँ होला तर मैले त आफ्नो पछाडिका सबै बाटो मेटेर आएकी छु, अब यिनीहरूले अपनाएनन् भने कता जान्छु ? यही डरले यिनीहरूलाई खुसी बनाउने ध्याउन्नमा आफूखुसी हुन बिर्सिएँ, बाँच्न बिर्सिएँ । तैँ भन् त, के गरौँ म ?” मीराका सुख्खा आँखामा आँसु होइन, लाचारी भरिएको थियो ।
“तँ जस्तो मान्छेले गर्ने कुरा हो यो ?’ सभ्याले मीरालाई हप्काएकी थिई, “यार, स्कुल-कलेजको टपर तँ ! जबमा एक्सिलेन्सी अवार्ड जितेकी मान्छे, तैँले यस्तो लाछी कुरा गर्न सुहाउँछ ?”
“पहिलेको कुरा अर्कै थियो ।”
“किन अर्कै थियो ?” सभ्याले उसको कुरा काटेर भनेकी थिई, “त्यही होस् तँ ! आत्मविश्वास र आफूप्रतिको भरोसा यी वर्षहरूलाई समर्पित गरिसके पनि यो त्यही तँ होस् मीरा जसलाई कसैले जित्न सक्थेन ।”
“मलाई त लाग्छ त्यो अर्कै कुनै मीरा थिई,” मीराको मुखबाट विवशताको सुस्केरा निस्किएको थियो, ’‘सभ्या ! घर र परिवार बचाउने, बनाएर राख्ने जिम्मेवारी र डर किन स्वास्नीमान्छकै भागमा मात्रै पर्छ भन् त ? मैले जस्तै उसले पनि त मलाई मन पराएर बिहे गरेको हो मसँग, फेरि किन मेरो भागमा मात्रै यो जिम्मेवारी, यो डर परेको छ ?”
सभ्याले निक्कै बेर मीरालाई मायालाग्दो गरी हेरिरही अनि उसको हात समातेर बिस्तारैबिस्तारै बोलेकी थिई, “हो, यही डरले सबै कुरा बिगार्छ मीरा ! स्वेच्छाले, स्वतन्त्रतापूर्वक, सौहार्दपनले गरे भने मात्रै सबै कुरा सही हुन्छ ! उसले, उसको परिवारले छोड्देला भनेर तैँले घुँडा टेकेरै हो सबै कुरा बिग्रिएको । तर बुझिस्, कसैले छोडिदिँदैमा जिन्दगी सकिन्न । तेरा बाउआमालाई तैँले छोडिस्, के फरक पऱ्यो ? तँ जिउँदै छैनस् र ? उनीहरूको जीवन रोकिएको छ र ?”
मर्ने त कुरै छोडौँ, छोरो नजन्मदासम्म त मीरालाई उनीहरूको त्यति ख्याल पनि आएन । न उनीहरूले नै मीराको खोजखबर गरे ।
जीवनमा गुमाएको कुराको कमी त्यति वेला मर्नेगरी अनुभूत हुनेरै’छ जब पाएको कुराले सन्तुष्टि दिन छोड्छ । सभ्याले समातिराखेको उसको हात छोडिदिँदै भनी, “ तँ माइन्ड नगर्, तर यदि राघवको व्यवहार अहिलेसम्म पनि सही भएको भए तँलाई तेरो परिवारको याद यस्तरी आउने थिएन ।”
‘हो त ! के विधि स्वार्थी त म !’ मीराको शिर झुक्यो ।
आफूलाई मनपर्दा, सजिलो हुँदा अरूको गाह्रो र असिजलो नदेख्ने तर आफू असजिलोमा पर्नेबित्तिकै उनीहरूकै याद आउने, जसलाई अफ्ठ्यारोमा पारेर छोडिएको हुन्छ । कति स्वार्थी त यो मान्छेको जात ! उसका आँखा आँसुले पुरिएका थिए ।
“म के गरौँ सभ्या ?” उसको स्वर काँतर सुनिएको थियो ।
“सबैभन्दा पहिले त डराउन छोड् !” सभ्याले सम्झाइरही, “आफ्ना लागि समय निकाल् । वाकमा निस्की । एक्सरसाइज र खानपिनमा ध्यान दे । अगाडिको योजना बना । जे गर् मनले गर् । कसैको डर र जबरजस्तीमा केही नगर् किनभने राजी र रहरले पहाडलाई मैदान बनाउन सकिन्छ तर जोरजबरजस्तीमा गरेको कुराले मान्छेको आफ्नै आत्मविश्वास र स्वाभिमानमा ठेस पुग्छ, चकनाचुर हुन्छ । आत्मनिर्भर बन् मीरा । काम खोज् । सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो मनलाई सोधेर हेर्, तँ के चाहन्छेस् ? राघवलाई छोडेर अघि बढ्न चाहन्छेस् या यसरी नै ऊसँग डराएर जिन्दगी बिताउन चाहन्छेस् ?”
मीरा निक्कै बेर टाउको झुकाएर सोचमग्न भएकी थिई ।
“म उसलाई छोड्न चाहन्नँ सभ्या !” अन्त्यमा उसले टाउको उठाएर भनेकी थिई, “यसरी लोग्ने र घर छोडेर समस्याको समाधान हुँदैन तर म उसले यी वर्षहरूमा मसँग गरेका दुर्व्यवहार पनि बिर्सिन सक्दिनँ, त्यसैले बीचको बाटो रोज्न चाहन्छु ।” मीराको स्वरमा ढृढताको अलिकता छनक मिसिएको थियो त्यति बेला, “आत्मनिर्भर हुन चाहन्छु । आफूलाई फिर्ता पाउन चाहन्छु । उसको आँखामा माया नभएपनि आफ्ना लागि त्यही सम्मान देख्न चाहन्छु किनभने माया बरु नभए पनि चल्दोरै’छ जीवन तर इज्जत र सम्मान भएन भने बाँच्न गाह्रो हुँदोरै’छ ।” यसपटक उसले दह्रोसँग सभ्याको हात समातेकी थिई, “प्लिज, हेल्प मी आउट !”
“तँमा यति खुबी छ नि मीरा, तँलाई कसैको मद्दतको आवश्यकता नै छैन ।” सभ्याले उसको स्वरको दृढतालाई मानौँ टेको लगाइदिँदै भनेकी थिई, “हेर्, अहिले स्थिति अनुकूल छैन र मात्रै, नत्र त तेरो पुरानो रेकर्ड हेरेर कुनै पनि बैङ्कले काम दिन्छ तँलाई । तर काम खोज्नुअघि तैँले आफ्नो हुलिया सुधार्न जरुरी छ । तबसम्म आफूलाई अपडेट गर्नका लागि तँ हाम्रो एनजिओको काममा हामीलाई मद्दत गर्न सक्छेस् । त्यसका लागि तैँले अफिस आउन पर्दैन । काम घरबाटै गर्न सकिन्छ ।”
सभ्याले दिएको ढाढसले मीराको अनुहारमा अनौठो चमक छाएको थियो । उसले कृतज्ञ हुँदै आफ्नी सखीलाई अँगालेकी थिई ।
साथीसँग त्यति गम्भीर कुराकानी भइसकेपछि पनि मीरालाई अघि बढ्ने बोटो निर्धारण गर्न समय लाग्यो । तर जब उसले एकपटक कोसिस गरी हेर्ने निर्णय गरी तब ऊ पछि नहट्न दृढप्रतिज्ञ थिई ।
लकडाउन सुरू भएको भोलिपल्ट बिहानै चारबजे उठेर सुटुक्क तयार भएर वाकमा निस्की ऊ, तर केही कदम पछि नै सास फुलेर राम्ररी हिँड्न नसकेपछि उसले आफैँलाई धिक्कारिरही, जिन्दगी र आफूलाई धान्नै नसक्ने गरी गह्रौँ बनाएकोमा । हिँड्न भने छोडिन । धेरै टाढा त यसै पनि जान मिल्दैनथ्यो । त्यसैले ऊ घरवरिपरि नै चक्कर लगाइरही ।
लखतरान भएर घर फर्कंदा बाबुले रोएर घर उचालेको थियो । मीरालाई यताउता खोज्दै हिँडिरहेको राघव उसलाई देख्नेबित्तिकै च्याँठ्ठियो, “होइन कता मुन्टिएकी भन्या, बाबुलाई एक्लै छोडेर ?”
“एक्लै कहाँ ?” मीराले धेरै समयपछि उसको अनुहारमा हेरेर स्थिर स्वरमा भनी, ”तिमी छँदैथियौ नि !”
मीराले ऊसँग त्यसरी बोल्न छोडेको एकजुग भइसकेको थियो । त्यसैले राघव एक्कैछिन अकमकायो त्यसपछि फेरि झोक्कियो, “अब स्याहार् यसलाई, अनि मलाई एक कप चिया बनाएर दे !”
“म दुईटा काम एकैपटक गर्न सक्दिनँ राघव ! तिमी या त बाबु स्याहार या गएर आफ्ना लागि अनि आमाबा र हजुरआमाका लागि चिया बनाऊ !” मीराले शान्त स्वरमा भनी । उसको स्वरमा रिस, घुर्की, अपमान केही थिएन । बस् एक किसिमको दृढता, अठोट थियो । राघवले एक्कैछिन उसको अनुहार हेऱ्यो । सायद धेरै समयपछि उसले मीरालाई त्यसरी हेरेको थियो । मीराले आँखा नझुकाएपछि राघव अन्तै कतै हेर्दै करायो, “सधैँ त गर्थिस् त, आज के भयो ?”
“सधैँ गर्थेँ तर अब गर्दिनँ ।” मीराले उस्तै तटस्थताका साथ भनी, “मरिमेटेर, भ्याई नभ्याई काम गरेर पनि तिम्रो खस्रो स्वर र अपमानित गर्ने व्यवहार झेल्नपर्छ भने, नगरेर तिम्रो त्यही व्यवहार र बोली झेल्ने निधो गरेँ मैले । उसै पनि लकडाउन चलिरा’छ । तिमीलाई पनि कतै जानु छैन । मैले मेरो काम गर भनेको होइन, कमसेकम आफ्नो, आफ्ना बाउआमा, छोरा र हजुरआमाको काम त सघाऊ !”
मीरा छोरालाई काखमा लिएर फकाउन थाली । राघव उदेक मानेर मीरालाई हेरिरह्यो तर मीराले उठ्ने छाँट नदेखाएपछि गनगनाउँदै भान्सामा पसेर एकघन्टा लगाएर कनिकुथी चिया बनायो, जुन कसैले मुखमा हाल्न सकेनन् । पहिले कहिल्यै बनाएको भए पो !
कानसम्म चहऱ्याउने चियाको स्वादले तर्साएको उसले त्यस दिन मीरासँग निहुँ खोज्न सकेन ।
मीराले पनि त्यस दिन वर्षौंअघि ढलेर मैदान भएको आफ्नो आत्मविश्वासको एउटा खुड्किलो उठाउन सफल भई ।
भोलिपल्ट मीरा वाकबाट फर्केपछि राघवले अलि सभ्य भाषामा उसलाई चिया बनाउन आग्रह गऱ्यो । मीराले बाबुतिर हेरी ।
“य…यसलाई म ह…हेर्छु ।” राघवले अनकनाउँदै भन्यो । मीरा भान्सामा पसी ।
तेस्रो दिन खाना खाने वेलामा आ-आफ्नो भागमा भएको सोयाबिनको तरकारी देखेर सबैले मुख खुम्च्याए ।
“होइन के पका’को यो, भन्या ?” कसैले केही बोल्न पहिल्यै राघव चड्क्यो, “थाहा छ घरमा कसैलाई यो जिनिस मन पर्दैन भनेर फेरि किन यही पकाएर ठस्क्याएकी होली ?”
“घरमा अरू केही तरकारी थिएन,” मीराले शान्त स्वरमा भनी ।
“बाहिर गएर किनेर ल्याउन सक्थिनस् ?” राघव रन्कियो ।
“पहिलो कुरा, बाहिर लकडाउन चलिरा’ छ त्यसैले सबै कुरा बन्द छ । दोस्रो कुरा, यति बेला बा घरमा हुनुहुन्छ, तिमी घरमा छौ, बाहिर गएर आफूलाई मनपर्ने तरकारी खोजेर ल्याऊ, म पकाइदिन्छु तर तरकारी खोज्न पनि मैले नै बाहिर जानपर्ने हो भने खाना तिमी बनाऊ । दुइटामा एउटा काम त गर कमसेकम ? होइन भने काम गर्ने मान्छेको व्यवस्था गर । म घरको, बाबुको र सिङ्गो परिवारको जिम्मेवारी उठाउन सक्दिनँ ।’
सबैले उदेक मानेर मीरातिर हेरे । किनभने यस घरमा भित्रिएदेखि यो पहिलोपटक थियो उसले कुनै कुरा नकारेको, जवाफ दिएको ।
“कामै के हुन्छ र घरमा ? यति सानो त परिवार…।”
“काम गरेर हेर राघव, त्यसपछि कुरा गर !” मीराले राघवको कुरा काटेर बिस्तारै, तर तटस्थ स्वरमा भनी, “हात हल्लाऊ अनि बल्ल भन, त्यो हात हल्लाउँदा कति एनर्जी र एफोर्ट लाग्छ ! नत्र अर्काले हल्लाएको हातका बारेमा यो र त्यो भन्नुको के तुक ?”
सबैले खाना खान बिर्सेर आश्चर्यपूर्वक उसलाई हेरिरहे तर उसले कतै नहेरी आफ्ना लागि खाना भाग लगाई र डाइनिङ टेबलको एउटा छेउको कुर्सीमा बसेर टाउको झुकाएर कपाकप खाना खानथाली । आजभन्दा पहिले सबैलाई ख्वाइसकेर मात्र ऊ आफू खान बस्थी । कसैले उसलाई सँगै बसेर खान आग्रह पनि गर्दैनथे ।
एक हप्ता यसै क्रमले बित्यो । उसको हिँडाइमा तीव्रता आयो । ढिक्का परेर जमेर बसेको वजन पनि हलचल गर्न थाल्यो । घरमा पनि उसले त्यही काम मात्रै गरी जुन उसले सहजतापूर्वक गर्न भ्याउँथी । कसैको अपमान गरिन । अपशब्द बोलिन । घुर्की र फूर्ति लगाइन, बस् पहिलेजस्तै अरू सबैको मात्रै होइन, अलिकति आफ्नो सुविधाको पनि ध्यान राखी । अरूलाई केके मनपर्छ भन्ने मात्रै नसोचेर आफूलाई के मनपर्छ भन्ने कुराको पनि ख्याल राखी ।
दोस्रो हप्ता लागेपछि उसका सासू र बूढीसासूले उसलाई कोठामा बोलाएर नरम स्वरमा सोधे, “तिमीलाई के कुरामा चित्त बुझेन हँ, मीरा ? तिमीले हामीसँग चित्त दुखाएकी छौ, हो ?”
“किन र आमा ?” मीराले सोधी । सासू र बूढीसासूले मुखामुख गरे त्यसपछि सासूले घाँटी सफा गर्दै भनिन्, “अचेल पहिलेजस्तो काममा मन दिन्नौ । जवाफ लाउँछ्यौ । मनमा लागेको गर्छ्यौ । कसैको कुरा सुन्दिनौ । यत्रा वर्षमा त तिमीले कहिल्यै यस्तो गरिनौ ? अहिले आएर… !”
“हो र आमा ?” मीराले बिस्तारै भनी, “ तर मैले त कसैको अपमान गरेजस्तो लाग्दैन । मनमानी गरेजस्तो पनि लाग्दैन । खाली नभ्याएको काम मरिमेटेर गर्दिनँ भनेकी हुँ । के मलाई त्यति भन्ने हक पनि छैन र ?” उसले पालैपालो दुवैलाई हेरी र कोमल स्वरमा भनी, “मेरो कुनै कुरा वा व्यवहारले तपाईंहरूको चित्त दुखाएको भए क्षमा गर्नुस् तर मलाई यस कुराको जवाफ दिनुस् त, मैले आजसम्म ज्यान लडाएर तपाईंहरूको, यस घरको सेवासुसार गरेको बदलामा के पाएँ ?”
सासूहरूले मुखामुख गरे तर बोल्न अनकनाए ।
“तपाईंहरूको छोरो/नातिभन्दा दुई तीन वर्ष कान्छी छु म । आफ्नो घरमा बडो पुलपुलिएर पालिएकी हुँ म पनि । तर तपाईंहरूको यस घरमा भित्रिएदेखि मैले आफ्नो परिवार त के कुरा, आफैँलाई बिर्सेर यो परिवारलाई आफ्नो मानेर अपनाएँ । स्वेच्छाले सबैको जिम्मेवारी उठाएँ । रातदिन नभनीकन खटेँ तर त्यो सबैको साटोमा के पाएँ ?” मीराको स्वर रुँघिन खोज्यो तर उसले आफ्नो स्वरलाई हल्लन नदिईकन भनिरही, “तपाईंको छोराले भन्दा बढ्ता तलब कमाउने मैले यही घर र परिवारलाई समय दिनकालागि भनेर काम गर्न छोडेँ । सबैलाई ख्वाएर आफूले खाएँ । आफ्नोबाहेक अरू सबैको ख्याल राख्नमा यस्तरी व्यस्त भएँ कि आफूलाई धेरै पछाडि छोडेर आएँ तर साटोमा तपाईंको छोराले बारम्बार मेरो हुर्मत लिइरहँदा, मलाई अपमानित गरिरहँदा तपाईंहरूले कहिल्यै एक शब्द बोल्नुभएन । किन ? किनकि म तपाईंहरूको सन्तान होइन ? यो परिवारको अङ्ग होइन ? या तपाईंहरूको जातको होइन ?” यसपटक कत्तिकै कोसिस गरे पनि उसको आँसु थामिएन, “तपाईंको छोराले मलाई गरेजस्तै गरी तपाईंको आफ्नै छोरीलाई ज्वाइँले बातबातमा अपमानित गरेको भए पनि तपाईंहरू यसरी नै टुलुटुलु हेरेर बसिरहनुहुन्थ्यो ? भन्नुस् त ?”
दुवै सासूको अनुहार नीलो भयो ।
मीराले आँसु पुछी, “घर बसाउने र बचाउने जिम्मेवारी केवल बुहारीको मात्रै हुँदैहोइन भन्ने कुरा कुनै अभिभावकले आफ्नो छोरालाई किन सिकाउँदैनन् कुन्नि ? बाउआमाका घरमा उनीहरूको परिवार र खान्दानको इज्जत र लोग्नेको घरमा उनीहरूको इज्जत धान्दाधान्दै आफू बारम्बार बेइज्जत भएको पत्तो पाउनै छोड्छन् महिलाहरू । त्यसैले त मेरो जस्तो अवस्थामा पुग्छन् । छोराको आधा अङ्ग मानेर घरमा भित्र्याएकी बुहारीको इज्जत पनि छोरा सरह हुनपर्दैन र ? बुहारीको थाप्लोमा घर बचाउने जिम्मेवारी थोपरेर सरक्क पन्छिएको छोरो र उसको परिवारको पनि उत्तिकै जिम्मेवारी हुनुपर्दैन र घर बनाउन र बचाउनमा ? तपाईंहरूले पनि त यो जिम्मेवारीमा मलाई कहाँ सहयोग गर्नुभयो र ? कहाँ काम लाग्नुभयो तपाईहरू मलाई ? नसक्नेहरूको त कुरै छोडौँ, सक्नेहरू पनि म यसघरमा आएदेखि हात बाँधेर बस्नुभएको छ । कहिल्यै कसैले एककप चिया पनि ‘तँ एक्कैछिन सुस्ता, म बनाउँछु’ भनेर उठेको छ ?” मीराले अश्रुपुरित आँखाले दुवै सासूलाई हेरी, “माइती आफैँले छोडिदिएँ, घरलाई ज्यान अर्पेर पनि आफ्नो बनाउन सकिनँ, अब किन र केका लागि डराऊँ म, भन्नुस् त ?” भक्कानो थामेर बोलिरही ऊ, “आफ्नो परिवार मात्रै होइन, जात र समाज पनि छोडेर आएकी हुँ । त्यसैले पनि ज्यान दिएर यस परिवारमा मिसिन कोसिस गरेँ, यसलाई आफ्नो बनाउन कोसिस गरेँ तर म तपाईंहरू र तपाईंको छोराको सुसारेबाहेक अरू केही हुनै सकिनँ । मरिहत्ते गरेर बिहे गरेको सात वर्ष पनि पूरा नहुँदै छोरा तपाईंको बाहिर केटी लिएर हिँड्छ । तपाईंहरू मलाई बुहारी त के मान्छे पनि मान्नुहुन्न भने, अब बचाउन र बसाउन के बाँकी रह्यो र मसँग ? म त भन्छु-गरोस् बिहे रघुले आफ्नो जातमा त्यसपछि तपाईंहरूलाई पनि बुहारीको स्वाद थाहा हुन्छ । मैले त छोरी बन्न कोसिस गरेकी हुँ तर मेरो कोसिसले मात्रै केही हुन सकेन । त्यसैले अब तटस्थ बस्छु । भनेको मतलब तपाईंहरूको अपमान गर्छु, मनपरी गरेर हिँड्छु भनेको होइन मैले किनभने, मेरा बाउआमा जुनसुकै जातका भए पनि उनीहरूले मलाई कसैको अपमान र अनादर गर्ने संस्कार सिकाएका छैनन्, खासगरी आफूभन्दा ठूलाहरूको ।”
दुवै सासूहरूका आँखा रसाए ।
“हामीले तिमीलाई कहिल्यै नराम्रो भनेनौँ,” बूढीसासूको थरथराएको स्वर सुनियो ।
“यी वर्षहरूमा कहिल्यै राम्रो पनि त केही भन्नुभएन नि ?” मीराले आज कुरा टुङ्ग्याउने छाँट देखाइन, “मैले तपाईंहरूको अनादर गरेको पट्टकै होइन, खालि अलिकति समय आफ्ना लागि पनि खर्च गर्न खोजेकी हुँ । यही एउटा कारण देखाएर रघुले अर्को बिहे गर्छ भने खुसी साथ गरोस् । तपाईंहरूलाई पनि मैले मेरो आफ्नो अलिकति समय आफैँमाथि खर्च गरेको चित्त बुझ्दैन भने भन्नुस्, म बाबुलाई लिएर यो घरबाट निस्किदिन्छु । म…. ।”
“लौ न, के बोलेकी त्यस्तो ?” अब भने दुवै सासू कहालिए, “यस्ता झिनामसिना कुरामा घर छोड्ने कुरा कल्ले गर्छ !” दुवैले एक स्वरमा भने ।
“म त झनै गर्दिनँ,” रोक्दारोक्दै मीराको भक्कानो छुट्यो, “जुन घरलाई बसाउन र बचाउन आफ्नो जीवनको यतिका अमूल्य वर्ष खर्च गरिसकेँ त्यसलाई भत्काउने त म कल्पना पनि गर्न सक्दिनँ, तर यदि तपाईंहरू या तपाईंको छोराले त्यो चाहन्छ भने म हात जोरेर आश्रयको भिक पनि माग्दिनँ । पढेलेखेकी छु । आफू र छोराको ज्यान यो घरमा भन्दा राम्ररी पाल्न सक्छु ।”
यसपटक दुवै सासूले उठेर उसलाई अँगाले, सुमसुम्याए । मीरा झनै बेस्सरी रोई । त्यस घरमा छिरेदेखि यो पहिलोपटक थियो जब उनीहरूले उसलाई यसरी अँगालोमा समेटेका थिए ।
भोलिपल्ट ऊ वाकबाट फर्कंदा सासू चिया बनाइरहेकी थिइन् । एक्कै छिन मीरालाई कुरीकुरी लाग्यो । उसले सासूको छेउमा गएर उभिँदै सानो स्वरमा भनी, “आमा, खै छोड्नुस्, चिया म बनाउँछु ।”
“भैगो, तिमी गएर बाबुलाई हेर !” सासूले कोमल स्वरमा भनिन्, “तिमीले बनाएजस्तो मीठो नभए नि चिया मै बनाउँछु ।”
यो पहिलोपटक थियो जव उसकी सासूले उसको कुनै कामको सराहना गरेकी थिइन् । मीराको मन गाँठो पऱ्यो । उसले सासूलाई पछाडिबाट अँगाली ।
‘कति बेहिस्सीको हुँदैगएको हाम्रो समाज र सम्बन्ध आजकल ? मुख नफोरेसम्म हकको प्रशंसा र स्नेह पनि नपाइने !’ उसले सोची र मन धरमराउनुभन्दा पहिल्यै भान्छाबाट निस्की ।
‘यत्रा वर्षपछि बल्ल त उभिएकी छु ! अहिल्यै धरमराउन थालेँ भने कदम कसरी अघि सार्छु ?’ उसले आफूलाई थुमथुम्याई, ‘यो मेरो भागको, हकको प्रशंसा थियो, यसका लागि मैले यस्तरी अनुगृहीत हुन आवश्यक छँदैथिएन !’
अर्को एउटा बिहान, जब सबै जना खाना खान बसे, राघवले तरकारीमा खोट निकाल्यो ।
“त्यसो भए तँ आफैँ बना !” बूढीसासूले कठोर स्वरमा भनिन्, “यत्रा वर्षदेखि यिनले बनाको खाइराछस् अब आएर किन बातबातमा मिनमेख निकाल्छस् ?”
राघव मात्रै होइन उसको बाउले पनि उदेक मानेर उनीतिर हेरे ।
“कताकता भ्याओस् बिचरीले ? त्यसमाथि काखामा बच्चो छ । हैन मेरा छोरछोरीमा यति बिघ्न स्वार्थ काँ’ट आयो हँ ? आफ्नोबाहेक अर्काबारेमा त सोच्दैनसोच्नी भन्या ।” हजुरआमा सासू गनगन गरिरहिन् । सासूले टाउको उठाइनन् । छोरा र नातिले किलकिलेसम्म पुगेको भात पनि निल्नै बिर्सिए !
केही हप्ता बित्दानबित्दै राम्रैगरी छाँटिइसकेको थियो मीराको शरीर । हरेक बिहानको लगभग दुई घन्टाको हिँडाइ र खानपानमा कठोर अनुशासन राखेपछि उसको कहिल्यै कुनै एक्सरसाइज नझेलेको शरीरमा राम्रै असर देखिएको थियो । आत्मविश्वास पनि केही हदसम्म दह्रो भएर उभिँदैथियो । उसले साथीको एनजिओको काम घरबाटै गर्न सुरु गरेकी थिई ।
घरको दृश्यावली पनि अब अर्कै हुनथालेको थियो । सासूले बिहानको चिया र दिउँसोको खाजा बनाउने जिम्मा लिइदिएकी थिइन् । बूढीसासू पनि दिउँसो घाममा नाति खेलाएर बसिदिन्थिन् । ससूराबा बाहिरफेर निस्केर तरकारी र अरू किनमेलको व्यवस्था गर्नमा ध्यान दिनथालेका थिए । बाथरुम र छतको सरसफाइको जिम्मा सासू आमाले राघवलाई सुमम्पिदिएकी थिइन्, जसलाई राघवले लामै किचलोपछि गर्न स्वीकारेको थियो ।
अब मीरालाई पनि लाग्नथालेको थियो-गल्ती राघव र उसको परिवारको मात्रै होइन, गल्ती उसको पनि उत्तिकै थियो । अर्काको कुरा त खोसेर लिन अग्रसर हुने यो दुनियामा उसले त आफैंले छोडिदिएकी थिई आफ्नो हक र अधिकार । छुट दिएकी थिई सबैलाई आफ्नो अनादर र उपेक्षा गर्ने । गर्दन झुकाएर चूपलाग्दैमा सबै कुरा ठीक हुन्न । कहिलेकाहीँ टाउको उठाएर आफ्नो हककोलागि बोल्नु पनि आवश्यक हुन्छ, यो उसले बल्ल बुझेकी थिई र यो पनि बुझेकी थिई- टाउको उठाउनु भनेको अरूको अपमान गर्नु हुँदै होइन, बरू सबैकोसामू टाउको झुकाएर गलत कुराको पनि विरोध नगरी चूपचाप बस्नु आफ्नै स्वको अपमान हो !
अब मीरासँग पर्याप्त समय हुन्थ्यो आफ्ना लागि पनि । अलिकति बोझ बाँडिनाले दैनिकी यतिसम्म सहज हुन्छ- उसलाई थाहै थिएन ।
त्यस दिन आफ्नो अफिसको काममा व्यस्त मीराको छेउमा उसकी सासूले तात्तातो चियाको कप ल्याएर राखेपछि मीराले अफ्ठ्यारो मान्दै भनी, “किन दुःख गर्नुभएको आमा ? म आफैँ बनाएर ल्याउँथेँ नि !”
सासूआमाले मीराको टाउकोमा हात राखेर मलीन स्वरमा भनिन्, “योभन्दा धेरै गर्नुपर्थ्यो ! धेरै पहिलेदेखि गर्नुपर्थ्यो । तर मैले त तिमी सुत्केरी हुँदा पनि पालो दिइनँ । साँच्चै भन्यौ मीरा तिमीले, तिमी त पहिल्यै दिनदेखि यो घर, यस परिवारकी भयौ तर हामी साँघुरो मन र सोच भएकाहरूले तिमीलाई परिवार कहिल्यै मानेनौँ । राघवले पनि हाम्रै प्रोत्साहन पाएर होला तिमीसँग गलत व्यवहार गरेको । हाम्रै गल्ती हो बा, हामीले नसुधारे कसले सुधार्छ ?” सासूआमा आँसु पुछ्दै बाहिर निस्किन् ।
‘ऐना सधैँ आफूले मात्रै हेरर नहुनेरै’छ, कहिलेकाहीँ अरूलाई देखाइदिँदा मानवता जिउँदै हुनेहरूले त्यसमा आफ्नो बानी र व्यवहारको कुरूपता देख्नसक्ने रै’छन् !’ मीरा सोचिरही ।
उता राघव पनि चकित थियो । उसले लिएको मीराको हुर्मतमा मौन सहमति जनाएजस्तो गर्ने उसको परिवार एकजुट भएर मीराका पक्षमा लागेको देखेर ।
‘मीरामा पनि त कति परिवर्तन आएको छ, सायद मेरो परिवारको साथ पाएर होला !’ ऊ सोच्थ्यो, ‘यसमा जस्तोसुकै परिवर्तन आए पनि यो मलाई चाहिने होइन क्यारे ! लकडाउनभरिका लागि त हो । एकपटक यो निस्केर गएपछि बाउआमा त मेरै हुन्, मानिहाल्छन् नि आफ्नै जातको बुहारी भेट्टाएपछि !’
उसले जे सोचे पनि, जे निर्णय गरे पनि उसको मन भने चुलबुलाउन छोड्दैनथ्यो । कहिले मीराको वजन कम हुँदैगएको शरीरमा कतै अल्झिन्थ्यो, कहिले भान्सामा खाना बनाउँदै मधुरो स्वरमा गुनगुनाइरहेकी उसमाथि अडिन्थ्यो ।
‘यस्तो मीठो गुनगुनाउन पनि आउनेरै’छ गाँठे, यसलाई त !’ सोचिसकेपछि उसलाई याद आउँथ्यो कलेजको पिकनिकमा अन्ताक्षरी खेल्दा मीरालाई कसैले जित्न नसकेको वास्तविकता !
साँच्चै हो रहेछ, यादहरूलाई पनि याद गरिरहेन भने तिनमा खियालाग्दो रहेछ । मेटिँदो रहेछ ।
अचेल मीरा प्रायजसो ल्यापटपमा व्यस्त हुन्थी । कुन्नि के गरिरहन्थी ऊ ? राघवलाई सोध्न मन लाग्थ्यो तर त्यस किसिमका कुराकानी उनीहरूबीचमा नभएको निक्कै समय बितिसकेको थियो, त्यसैले उसको हिम्मत हुँदैनथ्यो मीरासँग केही सोध्न । त्यसमाथि लकडाउन सुरू भएदेखि मीरा त्यही कोठामा सुत्न थालेकी थिई जहाँ ऊ दिनभरि ल्यापटपसामु बसेर किबोर्ड ठकठकाइ रहन्थी ।
एउटै कोठामा भएको एउटै पलङमा सँगै सुत्दा मीराभन्दा तीन हात पर, पिठ्यूँ फर्काएर सुत्ने उसलाई अब त्यो पलङ रित्तो लाग्नथालेको थियो । मीराको महक आउन छोडेको ओछ्यानमा अब निद्राले होइन छटपटीले अँगाल्न थालेको थियो उसलाई ।
त्यस दिन छोरालाई उसको ओछ्यानमा छोडेर मीरा उठेपछि उसले हिम्मत गरेर सोध्यो, “तँ…तिमी कता नि ?”
मीराले अनौठो मानेर राघवलाई हेरी । ‘तिमी’ लाई अतिक्रमण गरेर ‘तँ’ले अधिकार जमाएको उसको सम्बोधन मात्र होइन सम्बन्ध फेरिएको मिति पनि अब त याद छैन उसलाई ! राघवलाई पनि आफ्नै सम्बोधनमा कतै केही नमिलेको जस्तो लाग्यो क्यारे, उसले मीराको अनुहारमा हेर्न सकेन ।
“आफ्नो कोठामा,” मीराले बिस्तारै भनी ।
“किन ? यो कोठा तिम्रो पनि होइन र ?” राघवको मुखबाट नचाहँदानचाहँदै फुत्किहाल्यो ।
“हो र ?” मीराले उसलाई स्थिर भावले हेरी, “जहाँ तिमी मेरो र आफ्नाबीचमा अरू नै कसैको याद र कल्पना लिएर सुत्छौ, त्यो कोठा मेरो पनि हो र ?” उसको स्वरमा गुनासो थिएन । दुःख पनि थिएन । सायद त्यसैले होला राघवको मुटु चसक्क भयो ।
‘यसलाई त मेरो हुनु र नहुनुले फरकै नपर्ने रहेछ क्यार,’ उसले सोच्यो र उसको त्यही सोचले उसभित्र एउटा छटपटी उमाऱ्यो-‘किन ? के ऊ पनि मलाई छोड्न चाहन्छे ?’ ऊ नराम्रोसँग छटपटायो । छोडिनु र छोडिदिनुमा यही अन्तर हुन्छ सायद ! छोड्दा अर्कै कोही टुक्रिन्छ तर छोडिँदा आफू ! छोडिने सोच ननिको लाग्यो उसलाई पनि !
अचानकै राघवको व्यवहारमा परिवर्तन देखियो । उसको व्यवहार मीराप्रति नरम हुँदैगयो । ऊ वरिपरि नहुँदा उसको कमी अनुभूत गरेर उसलाई यताउता खोज्दै हिँडन थाल्यो ऊ । कसैले केही नभनीकनै मीराको काम सघाउन थाल्यो । सबैभन्दा महत्त्वपूर्ण-घन्टौँघन्टा फोनमा बिताउन छोड्यो । सायद त्यसैले मीरातिर ध्यान दिने फुर्सत पायो ।
‘ओहो ! कति राम्रा आँखा यसका !’ ध्यान दिन थालेपछि उसको मनले सोचेर नभ्याउँदै मुटुले अर्कै लय समात्थ्यो । उसलाई ती दिनहरू याद आउँथे, जब तिनै आँखाको सतहमा डुबेर उसले आफूलाई बिर्सिदिएको थियो ।
बाबुको साथमा खेल्दै हाँसिरहेकी मीरालाई देखेर उसलाई फेरि काउकुती लाग्न थालेको थियो ।
‘कहाँ हराएको थियो उसको यो जीवनले भरिएको हाँसो र मुस्कान ?’ ऊ मन्त्रमुग्ध भएर सोच्थ्यो ।
जब उसले मीरासँग मन गाँसेको थियो, उसको मन रङ्गिचङ्गी पुतली बनेको थियो, सिमलको भुवा भएको थियो तर छ-सात वर्ष बित्दानबित्दै उसको मन यति गह्रुङ्गो भएको थियो-मीरातिर सर्नै मान्दैनथ्यो । के, त्यसो हुनुमा सबै गल्ती मीराको मात्रै थियो त ? ऊ सोच्न थालेको थियो । आफ्नो सोचलाई समय दिन थालेपछि आफ्ना गल्तीहरू टड्कारै देख्न थालेको थियो उसले । गल्ती देखेपछि र मानेपछि अपराधबोध र पश्चात्तापले छुन थालेको थियो उसलाई पनि ।
त्यस दिन उसले थाहा छैन कुन्नि कति समयपछि मीरालाई आफूतिर तान्यो । उसको त्यो अप्रत्याशित व्यवहार देखेर पहिले त मीराले अनौठो मानेर राघवलाई हेरी, त्यसपछि छटपटाएर उसको अँगालोबाट निस्की अनि स्थिर स्वरमा भनी, “हेर ! यो बन्दमा तिम्रो शरीरको चाहना पूरा गर्ने सोर्स नभेटेको कारणले तिमीले मेरो शरीर युज गर्न खोजेका हौ भने प्लिज त्यसो नगर ! किनभने लकडाउनपछि तिम्रो शरीरको आवश्यकता त अन्तबाटै पूरा होला तर मलाई गाह्रो हुन्छ । तिमी माइन्ड नगर रघु ! केही दिनकै कुरा त हो ! मेरो शरीरको आदत नबिगार किनभने तिमीले हात लगाउन छोडेपिछ म आफ्नो शरीरले मागेको कुरा तिमीले जस्तै अन्तै कतै खोज्न चाहन्नँ । अहिले त मेरो शरीरलाई बानी परिसकेको छ । यो बानी नबिगारिदेऊ प्लिज !” मीरा बाहिर निस्की । राघवको कानमा मानौँ तेजाब पोखियो । उसलाई भित्तामा टाउको ठटाएर रुन मन लाग्यो । त्यसपछि ऊ कैयौँ दिनसम्म मीराको सामु पर्न सकेन ।
लकडाउन खुल्ने अघिल्लो दिन मीराले राघवका लुगाहरू बटुलेर आइरन लगाउने सुरसार गरेपछि उसले मीरालाई पन्छ्याउँदै भन्यो, “खै छोड, म गर्छु !”
मीराले नाइँनास्ती नगरीकन सरक्क छोडिदिई । ऊ बाहिर निस्कन ठिक्क परेपछि राघवले भन्यो, “भोलि तिमी तयार भएर बस्नु मीरा, म अफिसबाट फर्केपछि डाक्टरकोमा जानु छ ।”
मीराले छक्क परेर उसलाई हेर्दै सोधी, “के भा’छ र तिमीलाई ?”
“मलाई केही भा’ छैन ।” राघवले बिस्तारै भन्यो, “तिमी खोकिरा’ छौ ! त्यसैले तिमीलाई डाक्टरकोमा…।”
“जाबो खोकी त हो !” मीराले पहिलेका कुरा याद गर्दै भनी, “खोकी लाग्दैमा मरिँदैन । तिमी चिन्ता…।”
“तिमी तयार भएर बस मीरा ! मैले डाक्टकोमा नाम लेखाइसकेको छु । बाबुलाई आमाले हेर्छु भन्नुभा’ छ । म पनि अलि चाडैँ आउने कोसिस गर्छु,” राघवले कोमल स्वरमा भन्यो ।
मीराको घाँटीमा केही अड्केजस्तै भयो । अरू बेला सधैँ आधारातमा घर फर्कने राघव चाँडै आउने कुरा गर्दैथियो । त्यो मात्र होइन, ज्वरोले निस्लोट हुँदा पनि ‘जाबो ज्वरो आउँदैमा मरिन्छ कि क्या हो ?’ भनेर डाक्टरकहाँ लगिदिन गाह्रो मान्ने राघव आफैँ अघि सरेर उसलाई डाक्टरकहाँ लैजाने कुरा गर्दैथियो । मीराले सोच्नै सकिन-राघव फेरिएको थियो या ऊ आफैँ फेरिएकी थिई ? या यो केवल लकडाउनको असर मात्रै थियो ? उसले मनमनै कामना गरी-यदि घरको बाटो बिर्सिएका, सम्बन्धको बाटो बिराएकाहरू यसरी नै फिर्ता आउँछन् भने यो लकडाउन सधैँ भै’रहोस् !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 







