माधब काफ्ले
बडादसैँको माहोल छ गाँउमा। यहाँ त कसरी हुन्थ्यो ? यहाँका मान्छेलाई बडादसैँका बारेमा के थाहा छ र ? नवरात्रि मनाउँछन्, दुर्गापूजा गर्छन् अनि सकियो।
दादर (मुम्बई)को एक चिया टपरीमा बसेर सूर्यले चियाको चुस्कीसँगै अनन्त कुरा सोचिरहेको छ। दसैँमा गाउँ जान नपाए पनि पुराना यादहरू सम्झिदै वर्तमानसँग सम्झौता गर्न चाहन्छ।
यत्तिकैमा चिया पिउन लागेको एक अलिअली बूढो देखिने युवकको अनुहारमा उसको आँखा गयो। कतै देखेजस्तै, चिनेजस्तै लागिरह्यो उसलाई। बोलाऊँ कि नाईँ ! ऊ दोधारमा पर्यो ।
चिनेकै रहेछ छ भने त ठिकै हो, म भ्रममा रहेछु भने त लाजको मर्नु हुन्छ ! ह्या जे होस् ।
सूर्य उसको छेवैमा गएर बोलायो। भिडभाडको माहोलमा उसको आवाज ती अर्द्धवृद्धको कानभित्र पस्न भ्याएन। अनि बायाँ हात कोट्याउदै भन्यो, हेल्लो सर ।
व्यक्तिले उसतर्फ हेर्दै भन्यो, हजुर भन्नुस् ।
अलि घोरिएर हेरेपछि सूर्य अचम्ममा पर्दै बोल्यो, तिमी त आसामी बड्डा हैन।
उसले मुस्कुराउँदै भन्यो, अहो ! पूर्वेली बाजे। आज कताबाट ? यत्रो वर्षसम्म कता ?
कहाँ हुनु ?
यतै छु नि हौ।
कुनै समयका मिल्ने साथी आज धेरै समयपछि भेटिए। दुवै जना पहिलो पटक मुम्बई आउँदा कुर्ला रेलवे स्टेसनमा भेट भएका थिए। दुवैको ठट्यौली स्वभावले गर्दा सहजै साइनो गाँसियो, मित्रताको। करिब दुई वर्षसँगै काम पनि गरे तर पछि आसामी बड्डा विवाह गर्न गाउँ छिरेर कहिल्यै फर्किएन ।
अनि तमी अझै जुनै खोली बस्दा हौ कि त ? आसामी बड्डाको सङ्गतले सूर्यले पनि आसामी भाषा सिकेको थियो ।
जवाफ फर्काउदै भन्यो, तमी जोईसँग मस्त भएर हाम्लाई बिर्सिगया ।
हामी न त आफ्नो काज बिर्सिन सक्यौ नत कोठा ।
कहिले आउलान् र भेटौली भुनी बस्या थी मु । तमी नाआउँदा भयौ, म एक्लैले कोठाको पैसा के भरु भनेर गाउँका केटाहरूलाई पनि बसाए। पछि केटाहरू लाखापाखा भए। मु एक्लै !
अनि तमि कता हाराइगया हौ त?
हे बरै ! नकुरा गर तमी, जिन्दगीले कोता डुर्यायो -डुर्यायो। अर्काकी छोरीलाई जोई बनाएपछि जिम्मेवारी बढ्दो भन्या । अनि जुनो काममा कम तलब दिन्या । अब त त्याँ जादिनँ भनेर अर्कै ठाउँ गइगया भन्या।
तम्रो याद त बहुत आयो नि, के गर्नु? भेटघाट हुन नपाइदो भन्या।
चाहाना भया भए त भेट्दोहौ नि ! अनि भाउजू कता नि?
अब ऊ उतै घर सम्हाल्दी भई, मु घर चलाउन परदेश।
‘अबु बाँकी बात कोठामै गएर मारौँ न,’ सूर्यले प्रस्ताव टक्रायो। बड्डाले पनि सहर्ष स्वीकार गरे ।
दुवै कोठातिर लागे।
‘अनि बड्डा अलिअलि जल चढाउने गर्या छ कि नाइ ?’
‘अबु एक्लै हुँदा त त्यसै हो । आज चढाउनी हुन्न ?’
‘अनि कुन ?’ सूर्यले प्रश्न गर्यो।
‘उही हो पुरानै …।’
सूर्यले वाइन सपमा छिरेर जिएमको एक हाफ लिएर आयो।
‘अहिले त भाउ बड्दो छ। दुई गुनी चार भइसक्यो भन्याँ ।’
‘अँ हाम्रो उमेर पनि त दुई दुनी पाँच नै भया नि,’ ठट्यौली पारामा बड्डाले जवाफ दिए ।
००००
सूर्य ब्रोइलरको मासुको सितन तयार गर्न लाग्यो। बड्डा गिलासमा प्याक बनाउन लागे। धेरैपछि भेट भएका साथीहरू आफ्नो अतित साटासाट गर्दै सोमरसको साथमा मनोरन्जन गर्दै थिए।
‘ओ उनी दिनमा हाम्ले-तम्ले पिएका दारुका सिसाले कोठा भरिभराउ हुँदो भन्याँ।’ एक गिलास एकैपटक स्वात्त पार्दै पहिलाका कुराहरू खोतल्न लागे। ‘अनि कि तम्ले ब्या गर्या हो कि नाइ?’
बड्डाको प्रश्नले सूर्य भावुक हुँदै आफ्नो जीवनमा घटेको घटना सुनाउन लाग्यो।
‘ओ थी एउटी, मुइले ऊलाई असाध्यै मुया गर्दो थिएँ। उसले पनि पहिला त मुया देखाई। पछि बिहे गरौँ भन्या, हुन्छ भनी। घरवालाले मान्दा भएनन्। भागेर ब्या गरम भन्या थेँ। अर्को दिन मु मन्दिरा पर्ख्यापर्खै, ऊ हिँडिछे अर्कै लाहुरेसँग । त्यसपछि कहिल्यै ब्या अर्न मुन लाएन बड्डा । बा-आमा बुढा भैसक्या थे। दुवैले एकैदिन प्राण त्यागे। म एक्लो सन्तान, सम्पति त अलिअलि थियो। तल्लारे कान्छोलाई जिम्मा लाएर आएँ फेरि यैँ। आफूले गरिराख्या काम सजिको हुने भन्या। त्यसपछि गाउँ जुनै मुन लाएन मुलाइ त।’
दुवैजना रक्सीको नशामा फिलिली भैसकेका थिए।
‘मेरि साली छे बुढी कन्या। गर्न्याहो भने भन तम्ले ! बिहे गराइदिने जिम्मा मुइले लिने भय । उसको पनि उस्तै कहानी हो बाजे। एक लाहुरेलाई मुया गर्दि रैछे। बिहे गर्न्या बेला लाहुरेले अर्कै केटी टिपेर टाप। मु त बिहे नै नगर्ने भन्यार बस्याछे।’
बड्डाको कुराले सूर्यको मनमा लड्डु फुट्यो, ‘लौ न बड्डा त्यति काम गर, तम्रो यो गुन कहिल्यै बिर्सन्या छैन।’
उत्साहित हुँदै बड्डाले कुरा अगाडि बढाए, ‘दसैँको बेला छ । जाऊँ हामी दुम्मै जना। म सालीसँग कुरा मिलाउँदो भएँ ।’
सूर्य झन् खुसी भयो, बड्डाको कुरामा सहमति जनायो। बुढेसकालमा एक्लै हुन्छु भन्ने उसलाई ठूलो पीर थियो तर अब त्यो रहेन। उसले जीवनसाथी पाउनेवाला थियो।
रक्सीको नशा झन् चढ्दै थियो। शरीरले थेग्नेभन्दा बढी भएपछि दुवैजना त्यही सुस्ताए, अर्धचेत अवस्थामा।
०००
बिहानी प्रहर। झ्यालबाट पसेको चिसो हावाले सूर्यको निद्रा खुल्यो। कोठा पूरै लथालिङ्ग भएको थियो। बड्डा अझै निद्रामा मस्त थिए। उठायो र कुनाको बिस्तरामा लगेर पल्टायो। आफू कोठाको सरसफाई गर्न लाग्यो। मनमनै हिजोको कुराले प्रफुल्ल थियो ऊ। रक्सीको नशाले गर्दा आज टाउको गरुङ्गो भएको थियो। बाहिर गएर कागती र सोडा ल्यायो। ह्याङ उतार्ने पानी बनाएपछि बड्डालाइ उठायो र दियो। आफू पनि पियो। सोडा पिएपछि बड्डाले हुत्तिँदै खलानोमा गएर छादी हाले।
‘बल्ल हल्का भयो बाजे। उमेर बढेपछी दारु पनि नजम्ने भन्याँ ।’
सूर्यलाई भने कागती र सोडाले अलि हल्का महसुस हुँदै थियो।
‘ओहो! आठ बज्न लागेछ। दस बजे काममा पुग्नु छ। म जान्छु है बाजे,’ बड्डा हतारमा निस्किन लाग्दैथिए।
सूर्यले सोध्यो, ‘अनि बड्डा दसैँमा घर गैजाने हो कि?’
‘किन र बाजे?’
बड्डाको जवाफले सूर्य अचम्मित हुँदै भन्यो, ‘अनि हिजो राति त दसैँमा घर जाऊँ, सालीसँग बिहे गराइदिन्छु भन्थ्यौ त !’
बड्डा अलि झस्किए, ‘अहो, मैले त्यसो भन्या थेँ र ? तम्लाई त थाहा नै छ बाजे, मैले रौसी खाएको बेला के के कुरा गर्दोछु । पछि थाहा हुदैन। त्यही पनि भन्या रछु, बिहे गराइदिन कौन ठूलो कुरा थियो र ?’
एक छिनको मौनतापछि उनले थपे, ‘तर साली अस्ति भर्खर एउटा बूढो लाहुरेको हात समाएर भागिछे। पीर नगर बाजे मिल्या भने अर्को कोही खोज्दिने जिम्मा मेरो।’
बड्डाको जवाफले सूर्य ट्वाँ पर्यो। कस्तो समाचार हो यो ?
कालिगण्डकीमा मिसिन हिँडेको बडीघाट नदीले दरमखोलासँग आफ्नो साइनो गाँस्न भ्याएछ। यता मिर्मिमुनी काली थुनेर …। बरु कुरै नगरेको भए आशा त हुँदैन थियो ! जड्याहा बड्डो !! आफूले गरेको वाचा आफैँलाई याद छैन, के बोल्दैछु भन्ने त थाहा हुनुपर्छ नि !
मनमनै यस्तै कुरा खेलाउदैँ काममा जानको लागि सूर्य कोठाबाहिर निस्कियो। ढोका बन्द गर्दै थियो । छेवैको कोठाबाहिर बसिरहेकी मराठी बज्यैले उसलाई हेरेर मुसुक्क मुस्कानको बाण छोडिन्। उनले यस्ता बाणहरू धेरै छोडिसकेकी थिइन्। सूर्यले महसुस गर्न भ्याएको थिएन तर ऊ त्यतै तानियो आज।
ऊ त्यो बाणले घायल भयो। आजकाल उसले मराठी पनि सिकेको छ। उही बज्यैसँग साइनो गाँस्यो, नछुटिने वाचासँगै । जिन्दगीको अन्तिम घडीमा एक सहयात्री पाएको छ। अन्ततः बडिघाटले अन्तै साइनो गाँसे पनि रुद्रावती बनेर कालीमा मिसिएरै छाड्यो । दुम्मै जना खुसीसाथ बाँचिरहेका छन्, अस्ताउने एक पलको प्रतीक्षामा।
गुल्मी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।