साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा – निर्धनको भगवान्

ratna book ads

समय चाडपर्वको । चाडबाडले छपक्कै छोपेको छ । दुईतिर, उमेरले दश र बाह्र वर्षका छोरीहरू दुई हप्ताबाट आफ्नो बुबादेखि रिसाएर बल्ल थेच्चिएजस्ता देखिएका छन् । रामकुमार मुखिया यसपालि आफ्ना दुई छोरीहरूका इच्छालाई पूरा गर्न असमर्थजस्तै छ । मुखियाले स्वयम् आफ्नो पुरानो कमिज टालटुल गरेर परिधान गरेको छ । उसको कमिज, हेर्दामा कालोमैलो, टाटैटाटा देखिन्छ । तीमाथि उसको दाह्री झुस्स फुलेको, शिरमा नेपाली टोपी मैलिएको, केही बाङ्गोगरी अडिएको छ । हो, उसले यो दसैँमा पनि आफूलाई यही अवस्थामा उभ्याउने निधो गरिसकेको छ ।

विमल सिटौला

मुखिया, चिउँडोमा हातको टेका लगाएर कुनै प्रतियोगितामा नमज्जाले भर्खर परास्त भएर बसेजस्तो एक बिहानै वाल्ल परेर हेरिरहेछ, क्षितिजतिर । एक हप्तादेखि छोरीहरूले उसलाई क्याउँक्याउँ गरिरहेछन्, ‘यसपालि नयाँ फेसनको लुगा किन्दिनुपर्छ, यसपालि मासुभात खानुपर्छ ।’ उसले छोरीहरूलाई सम्झाउँदै आइरहेको छ, ‘छोरीहरू हो, यसपालि चाडपर्व मनाउन त हामीसँग पैसा छैन ।’ यद्यपि, छोरीहरूको लिँडेढिपी अझै साम्य भइसकेको भने छैन । त्यही भएर उनीहरू बिहानै उठेर आफ्नो बुबाको छेउमा बसी आफ्नो रुन्चे मुहार एकोहोरो देखाइरहेछन्, कतै बुबाको नजर आफ्नो रहरउपर परिहाल्छ कि भन्ने आशमा तर आफ्नो बुबा बिँडीको सर्कोमै लिप्त देखेर चुपचाप उनीहरू पनि छुकछुक नगरी पिर्कामा टुसुक्क बसिरहेका छन् । यसरी दसैँको मुखमा केही सन्त्रास उनीहरूको बुबाउपर छरिएको प्रस्ट देखिन्छ ।

शिवमाया उताबाट पटुकामा चामल पोको पारेर हावामा उडौँझैँ गरी घरतिर फड्किँदै छिन् । उनी सरासर मुख्य गुमजबाट भित्र पसिन् । उनी पसेसँगै मुखिया पस्यो र दुई छोरीहरू । छोरीहरू बढो खुसी हुँदै ‘आमा-आमा’ भन्दै/रमाउँदै झुम्मिए । उनले सो पटुका अगेनो छेउमा राखेपछि प्रफुल्ल भएर श्रीमान्‌लाई भनिन्, ‘बरु दानवीर दाइ नै हाम्रो भगवान् । यस गाउँमा अरू त अभरमा कसैको भर नगर्दा हुन्छ । दानवीरनीले चाहिँ नदिने मनसाय झल्काउँदै थिइन् तर दाइको एक बोली एक बात । थपक्कै, चार माना चामल र दुई तीन केजी आलु, केही भुटुन् दिइन् । सम्झिनू नि, परेका बेला म बोलाउँछु नि, भ्याउँदिनँ भन्न पाइँदैन भन्ने कुरा भा’छ ।’

मुखियालाई पत्यार थिएन दानवीरले उनीहरूलाई परेका बेला यसरी सहयोग पुऱ्याउँछ भन्ने । त्यसकारण, ऊ छक्क पऱ्यो र मैलिएको ढाकाटोपी मुन्तिरबाट हातले कपाल कन्याउँदै बाहिर निस्कियो । एकाबिहानै क्षितिजमा आकाश उघ्रिएको देख्यो । उसले माथि आकाशमा परपरसम्म हेरिरह्यो, तमाखु तानेर ।

भित्रपट्टि केही खैलाबैला सुनियो । ‘प्याउली, तँलाई आगो फुक् भनेको हैन, किन भनेको नमानेकी ?’ ,शिवमायाले उँचो स्वरमा यसो भन्दै पानी लिन गाग्री समाएर बाहिर हिँडिन् । जेठी प्याउली अगेनाको छेवैमा पुगेर आँखा मिच्दै उभिरही । कान्छी रमा, आमा बाहिर हिँडेसँगै आमाले पोकोपारी ल्याएको सामग्रीलाई खोतलखातल गर्न थाली ।

बाहिरपट्टि, सखारबाट निन्याउरो भावमा एकोहोरिएको मुखियामा केही चमकता आएछ । ऊ कतै रमाएजस्तो, कतै चन्चलिएजस्तो, बढो रमाइलोसाथ शरीरको नूतन बान्कीमा फुर्तिलो कदम बढाउन खोजिरह्यो । यही भावमा ऊ श्रीमतीको नजिक पुग्यो र सोध्यो, ‘ओए प्याउलीकी आमा, भन् न मलाई, हामीलाई पत्याउने को छ त अब ?’ श्रीमतीले छिटोछिटो सल्लाह पस्किन पुगिन्, ‘बरु बिन्ती बिसायो भने दानवीर दाइकै मन ठूलो छ बा । एकचोटि जानुहुन्छ कि…। तर आज होइन, भोलि जानू । एकै दिन दुई जानै छिनछिनमा जानु राम्रो होइन ।’

मुखिया पुनः यथास्थानमा आयो र फेरि सुर्ती सल्काएर हेर्न थाल्यो सुदुरमा । श्रीमतीको कुराले एकाएका क्षणभङ्गुर गम्भीर बन्न पुग्यो । दुःख पर्दा उनीहरूको परिवारलाई गाउँमा पत्याउने कोही पनि नहुँदा एकान्तिकताले अरुणमय भयो । गरिब भन्ने रोग पचास दशक नाघिसक्दा पनि झन्‌झन् क्यान्सरझैँ फैलिँदै गएको देखेर भित्र-भित्र आतेसकम्प भयो । यत्तिकैमा प्याउली र रमा एकअर्कामा चल्दै र हाँस्दै त्यहाँ आइपुगे र पोल खोलाखोल गरे । सुरुमा रमाले पोल खोली, ‘यसले अगेनोमा मट्टितेल हालेर आगो बाल्न खोजी ।’

रमाले पोल खोली, ‘यसले आज मासुभात खाने भनी । चाडबाडमा आलुलाई नै मासु सम्झेर खानू रे ।’ त्यसपछि प्याउली अध्यारो हुँदै भित्र पसेर अँध्यारोमै लुकी । रमा हाँस्दै बाहिर उभिरही । मुखिया उनीहरूको कुरा सुनेर केही बोलिहाल्न सकेन ।

शिवमाया आइपुगिन् बाहिर र बुढाबुढी मुखामुख गरे । खै के भयो त्यतिखेर मुखियालाई । ऊ त्यतैबाट सोझै बाटो ततायो । कहाँ हिँडेको आफ्नो श्रीमान्‌ ? श्रीमतीलाई हेक्का भएन । उनी भने कान्छी छोरीहरूलाई च्यापेर भित्र पसिन् । एकदमै नैराश्यले आकुलव्याकुल भएर र निर्धनताले थिचिएर अवाक् हुँदै सुस्तरी अगेनातिर लागिन् । यसरी शिवमायाको चालमा एकैछिन अघिको प्रसन्नता कायम भइरहन सकेन ।

लाग्थ्यो कि मुखिया चाहिँ, कान्छी छोरीको कुराले हृदयसम्म च्वास्स घोचेर केही इन्तजाम गर्न भनी बत्तियो । ऊ सुरुमा दहले चोकको रमिते खाद्यान्न भण्डारमा पुग्यो । हाँक बढाएर कुरामा अल्झिएका गाउँका सुकिलामुकिला हुनेखानेहरूका कुरा सुन्न पुग्यो, अलि पर उभिएर । उसलाई वास्ता गर्ने कोही थिएन त्यहाँ । एउटाले सरकारको पक्षमा तेल थप्यो- ‘कम्युनिस्टको सरकार छ, गरिबहरूलाई मार्दैन ।’ मुखियाले घुटुक्क थुक निल्यो । ऊ थोरै नजिक सऱ्यो । यतिखेरै उसलाई लाग्यो भोकले चाहिँ मरिदैन कि क्या हो । अर्को अनुयायीले थप्यो- ‘यो हुनेखानेको सरकार होइन, हुँदा खानेको सरकार हो नि ।’ दोस्रो कट्टरपन्थीले सो कुरालाई दोस्रो बनाउने हिसाबमा भन्यो- ‘सरकार त अब असफल भैसक्यो । केही गर्न सकेन यो सरकारले । अब उही सरकारले गर्न सक्छ ।’ मुखियाले केही पनि बुझ्न सकेन पछिल्लो कुरा । न उसलाई त्यहाँ कसैले ध्यान दियो, न दुई-चार कुरा राख्न सक्यो । ऊ त्यहाँबाट पनि हिँड्यो ।

सोच्दै हिँड्यो, ‘बस्, मलाई बालबच्चा खुसी राख्न पाएँ भयो ।’ नवआगन्तुक रोगको कारणले गरिरहेको काम एकाएक बन्द भयो । साहूले उसलाई रकम दिन नसक्ने भन्यो । पाँच सात महिनासम्म कहिले सापट, त कहिले जोरजाम गरेका केही रकमले गर्जो टारेथ्यो तर छोरीहरूको इच्छालाई उसले बर्सैपिच्छे के-के भनेर टारिरहेको छ । पोहोर साल पनि प्याउलीले रुवाबासी गरेकी थिई, नयाँ लुका किनिदिनू भनेर । अहँ, उसले सकेन । त्यो साल उसको परिवारले दसैँ चाहिँ जेनतेन मनाएको थियो, रकम सरसापट गरेर भए पनि । ऊ अहिले बिलखबन्दमा परेर वाल्लित भएको छ । उसलाई पत्याउने गाउँमा कोही छैन । ‘अब मात्र दानवीर दाइ !’, ऊ हिँड्दाहिँड्दै एक्कासि झस्कियो ।

ऊ दानवीर दाइको घरतिर सोझियो । दुई-चार पयर चालेपछि श्रीमतीले भनेको सम्झिएर फेरि रोकियो । ‘बरु बिन्ती बिसायो भने दानवीर दाइकै मन ठूलो छ बा । एकचोटि जानुहुन्छ कि तर आज होइन, भोलि जानू । एकै दिन दुई जानै छिनछिनमा जानु राम्रो होइन ।’ श्रीमतीको एकछिनअघिका कुराले उसका पयर रोकिन मानेनन्, ऊ दानवीर दाइको आँगनमा पुग्यो र उभियो ।

दानवीरकी बुढीले परैबाट आँखाले धेरै कुरा बोलिन् तर पनि मुखिया झन् नजिक गयो र सोध्यो, ‘कान्छा दाइ खै त… कान्छी भाउजू ?’ उनी नबोली सरासर भित्र पसिन् । मुखिया टुसुक्क भुईँमा बस्यो र बाङ्गो नेपाली टोपीभित्र हात घुसारेर कपाल कन्यायो । उसलाई अप्ठ्यारो यो अर्थमा भयो कि दानवीरकी बुढीले एक शब्द नबोली भित्र लागिन् । असहजतामा डुबुल्की मार्दै मुखियाले उसैगरी कपाल कन्यायो । पल्याकपुलुक्क वरिपरि हेऱ्यो, कतै दाइ देखिन्छ कि भन्ने आशामा तर उसले दाइलाई देखेन ।

भाग्यवश, दानवीर दाइ, उनको बुढो साइकल चढेर आँगनमा अचानक आइपुगे । मुखिया जुरुक्क उठ्यो, अनुहारमा खुसी पोखाएर । ‘नमस्कार दाइ !’ ,उसले अपठ्यारो महसुस गर्दै सम्मान प्रकट गऱ्यो ।

‘अनि दाइ, कहाँ पुगेर यति सबेरै ?’ ,बोलूँ भनेर होइन, अब बोल्नैपर्छ भनेर उसले सोध्यो । सायद अब केही सहजता थपियोस् भन्नका लागि पो थियो की ।

दानवीर दाइ साइकलको स्टेन लगाएर मुखियातिर आइपुगे र भने, ‘ए… यसो खेततिर मुखिया कान्छा । अनि मुखिया भाइ, तिमी त धेरै व्यस्त छौ भन्ने सुनेको थिएँ । धेरै दिन पो भयो त मुख नदेखाएको ।’ मुखियाले डराउँदै भन्यो, ‘हामी हजुरको छत्रछायाबाट टाढा जान नसक्ने भयौँ नि दाइ ।”

दानवीर दाइले उसको कुरा बुझिहाले र सोधेँ, ‘अँ, भन !’

‘त्यही त हो नि दानवीर दाइ, चाडपर्वले छपक्कै छोप्यो ।’ मुखियाले कहिले चिउँडोमा हात पुऱ्याउँदै त कहिले हात जोर्दै समस्या तेर्सायो । उसले यसो भनिन्जेल दाइको मुखमा हेर्न पनि सकेन, पर क्षितिजतिर हेरेर भन्यो । उता दानवीर दाइको चेहराको रङ्ग यथावत् थियो । बरु मुखियाको पो बदलिएको देखिन्थ्यो ।

दाइले एकछिन पुराना कुराहरू खोतालेर उसलाई स्मरण गराए । यस स्मरणबाटिकामा मुखिया आफैँ कालोमैलो हुन पुग्यो । कुरा यस्तो थियो, ‘आजभन्दा पाँच/सात वर्षअघि मुखियाले दानवीर दाइबाट केही रकम यसैगरी चाडपर्वका बेला सापट लगेको रहेछ तर उसले कहिल्यै तिरेनछ । तिरेन त नभनौँ, तिर्न सकेनछ । ऊ सधैँ टाढा-टाढा भइरह्यो तर त्यो रकम शिवमायाले काम गरेर सुलाइदिइन् । यस प्रकार मुखिया त्यहाँ अवाक्‌जस्तै भयो । उसले यसपालि चाहिँ त्यस्तो हुँदैन भन्नै सकेन । उसलाई बढो हीनताबोध पनि भयो ।

उसलाई पुरानो व्यवहारमा ठोक्काएर दानवीर एकफेर भित्र पसे । सायद पत्नीसँग केही कुराकानी गरेर बाहिर निस्किए र अपर्झट सोधे, ‘कति चाहिएको हो तँलाई ?’ तर मुखियाले बाटो तताइसकेको थियो, साह्रै हीनताबोध भएर । उनी जिल्ल परेर फेरि भित्र पसे ।

र एकछिनपछि बाहिर निस्किएर बुढो साइकल चढी बाटो लागे ।

यता मुखिया फटाफट घरमा आइपुग्यो । भित्र नपसी निराश मुद्रामा बाहिरपट्टि टुसुक्क बस्यो, बिँढी सल्कायो र पर क्षितिजमा हेरिरह्यो । प्याउली र रमा रुन्चे अनुहार लगाएर आफ्नो बुबासँग झुम्मिन आइपुगे । प्याउलीले सोधी- ‘बुबा, आमाले भन्नुभ’को पैसा लिएर आउनुभयो रे ?’ एकछिनपछि शिवमाया बाहिर हतारिँदै निस्किन् र श्रीमान्‌लाई आत्तिँदै सोधिन्- ‘दानवीर दाइकोमा जानुभयो कि क्या हो ?’ मुखियाले भन्यो- ‘दानवीर दाइले पहिलेको कुरा गरेर म त जिल्ल परेँ बुढी । म त लाजले बाँकी केही बोल्न सकिनँ र फुत्त उठेर हिँडेको । साह्रै अप्ठ्यारो महसुस भयो ।’

श्रीमान् श्रीमती यसैगरी ‘अब के गर्ने त ?’ भन्ने सवालमा अल्झिएका थिए । यतिखेरै दानवीर साइकल चढेर टुप्लुकिए । उसलाई देख्नेबित्तिकै लाजले लाल भएर मुखिया लुसुक्कभित्र पस्यो । ऊभित्र त्रासले पिङ खेल्न थाल्यो । शिवमाया अगाडि बढिन् । दानवीर दाइले केही नभनी पाँच हजार रुपैयाँ शिवमायालाई दिए र दसैँ राम्ररी मान्नु भनेर हिँडे । शिवमाया सुरुवातबाटै बोल्न खोज्दै थिइन् तर अन्त्यसम्म पनि उनी एक आँखर बोल्न सकिनन् । धन्यवाद पनि टक्राउँन सकिनन् । दानवीर दाइ गएपछि मुखिया बाहिर निस्कियो र श्रीमतीलाई सोध्यो- ‘मैले गल्ती पो गरेछु प्याउलीकी आमा, म त्यसरी हिँड्नु नहुने रैछ । दानवीर दाइको ठूलो मनको छ भन्ने कुरा मलाई थाहा भएनछ ।’ त्यसपछि, मुखियाले दानवीर गएको बाटो हेरिरह्यो । मनमनै उसको गुणगान गाइरह्यो । ऊ बढो प्रसन्न देखियो । प्रसन्न यो अर्थमा कि उसले आफ्ना छोरीहरूको इच्छा अब पूरा गर्नेछ ।

प्याउली ट्वाल्ल परेर आमालाई हेरिरही । शिवमाया हातमा पैसा च्यापेर बढो प्रसन्नतामा उभिरहिन् । रमा एउटा आलु हातमा बोकेर दिदीलाई ‘तँलाई मासु दिन्न, दिन्न’ भनिरही । शिवमायाले श्रीमान्‌लाई भनिन्- ‘तपाईँ जस्तोसुकै सोच्नुहोस्, दानवीर दाइ भन्या गरिबहरूलाई मायाँ गर्ने गाउँको एक मात्र भगवान् हो । आज दाइले गर्दा हाम्रो दसैँ आयो । प्याउलीको लुगा लगाउने इच्छा र रमाको मासु खाने इच्छा पूरा गर्न सक्ने भयौँ ।’ मुखिया प्रसन्न देखिए पनि केही नबोली शौचालयतिर पस्यो । उसले शौचालय जानुभन्दा अघि भन्यो, तँलाई एउटा फरिया पनि हाल । पुग्यो भने एउटा कमिज मलाई पनि ।’

त्यस दिन खाना खाइसक्नेबित्तिकै रमा निदाई । शिवमाया प्याउलीलाई लिएर नयाँ लुगा किनिदिन बजारतिर लागिन् । उनीहरू आएपछि मुखिया रमालाई लिएर बजार भर्न रमाउँदै निस्कियो ।

 

प्रतिक्रिया
Loading...