साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

जातीय विभेदसम्बन्धी कथा- आशा

ratna book ads

केही त पक्कै पनि थ्यो, जसको कारणले म ऊप्रती एकाएक आकर्षित भए । सायद उसको मीठो बचपनजस्तो बोली हुन सक्छ । हजार युद्ध जितेर फर्किँदाको जस्तो सन्तुष्टले भरपुर उसको मुस्कान हुन सक्छ । उसको नशालु, मिठास आँखा हुन सक्छ, ती आँखामा मुस्कुराइरहेका गाजल हुन्छ । उसको लहराउँदो कपाल हुन सक्छ । लाली लपक्क उसको ओठ हुन सक्छ । फितला उसका गाजलमाथिका परेली हुन सक्छ या उसको मुहारको गहुँगोरो रङ्ग या फेरि उसको वदनबाट निस्किएका खुस्बु हुन सक्छ । उसको जे पनि हुन सक्छ तर केही न केही चाहिँ पक्कै पनि थ्यो उसमा जसको कारणले म ऊप्रति एकदम आकर्षित भए पहिलो नजरमै ऊसँग एक प्रकारको आफ्नोपन बस्यो । अब यो प्रेम नै थ्यो अथवा आकर्षण त्यो त म भन्न सक्तिनँ तर यिनै कुराको पर्यायवाची केही न केही त थ्यो ।

विकल्प श्रेष्ठ

म धरानबाट फर्कँदै थिएँ बसमा । एकदम अल्छी लाग्दो यात्रा भैरहेथ्यो । नागरिक बस, अगाडिको टिभिमा अल्छी लाग्दो गीत बजिरहे थ्यो, मेरो आलस्यले भरिएको यात्रामा मलाई अझै आलस्य बनाउस भरपुर मद्दत गरिरहे थ्यो ।

यत्तिकैमा करिब इटहरी आइपुग्न लाग्दाको स्टेसनमा एकजना केटी चढिन् बसमा । मेरो सौभाग्य नै हुनुपर्छ त्यति बेला बसमा सिर्फ म बसेको सिटमात्र खाली थ्यो । उनी सिधा आइन् अनि म बसेको सिटमा आफ्नो कपाल मिलाउँदै बसिन् । उसले कपाल खुल्ला छोडेकी थिइन् । आँखा गाजलले लपक्क ओठ लालीले । जे होस् सुहाउ थ्यो एकदम ।

उनी एकदम फ्र्याङ्क थिइन् । कुरा आफैँले सुरु गरिन् ।

“हेल्लो म आशा, अनि हजुर नि ?”

“हजुर म विकल्प ।”

“ए अनि हजुर कहाँसम्म नि ?”

“हजुर म धुलाबारीसम्म अनि हजुर चाहिँ ?”

“म दमकसम्म, अनि कहाँबाट आउनुभएको नि ?”

“हिजो धरानमा एउटा कार्यक्रम थ्यो अनि त्यहीँ गएको थिएँ आज फर्किएको अनि तपाईँ ?”

“म एक हप्ताअघि यहाँ फुपूकोमा आएको थिएँ अनि आज फर्किएको घर अनि कस्तो भयो तपाईँको कार्यक्रम ? ”

“हजुर एकदम रमाइलो भयो नि सोचेजस्तै भयो ।”

उसको आवाजमा, बोल्ने अन्दाजमा केही त जादु पक्कै पनि थ्यो जसले गर्दा म ऊ र उसको आवाजप्रति एकाएक तानिइरहेको थिए, खिचिइरहेको थिएँ । मेरो अल्छीपनाले भरिएको यात्रा अहिले सुनौलो हुँदै गएको थिए । हाम्रो बोलचाल एकदम मिठास बन्दै गएको थ्यो । हजुर, तपाईँदेखि लिएर तिमीसम्म । व्यावसायिक कुराहरूदेखि लिएर व्यक्तिगत कुरासम्म ।

हाम्रो गफ र मिठास कुराकानीको अन्त्य नै भएको थिएन ।

साँच्चै भन्नुपर्दा म उनीसँग एउटा सम्बन्धमा बाँधिसकेको थिएँ, एकतर्फी प्रेमको । मैले त्यति बेला थाहा पाएँ प्रेममा पर्नु धेरै समय लाग्दो रहेनछ, समय लाग्दो रहेछ त बुझ्न, विश्वास गर्न, भरोसा दिलाउन ।

हाम्रो भेट भएको भर्खर ३० मिनट नि भएको थिएन अब यति छिट्टै नै मैले प्रेमप्रस्ताव राखेको भए त्यति बेला मैले उसको हिलले मेरो गालमा खाने कुरा त पक्का नै थ्यो । मैले सोचेँ अहिले नै त भन्दिनँ त्यै पनि कसो-कसो गरेर उसको नम्बर माग्छु र बिस्तारै कुराकानीमा भावना व्यक्त गर्दै जाउँला ।

त्यसपछि मैले उसलाई सवाल गरे जुन हरेक नेपाली छिछोरा ठिटोले कुनै केटीलाई सोध्ने गर्छ, ” यति राम्री छौ तिम्रो त ब्वाइफ्रेन्ड छ होला नि है ?”

उसले मुख खुम्च्याउँदै भनी, ” मैले तिमीबाट यो प्रश्न अपेक्षा नै राखेको थिइनँ तर तिमीले मेरो सोचमा पानी फेऱ्यौ है ? ”

मलाई लाग्यो मैले केही गल्ती गरेँ यो प्रश्न गरेर गर्नु हुँदैन थ्यो ठुलो भूल भयो । मैले कुराकानी भर्खरै सुरु भएको आफैँले अन्त्य गरे भनेर पछुतो हुन थाल्यो ।

फेरि ऊ अलि हाँसेजस्तो गरेर बोली, “अरे तिमी त रातोपिरो भयौ त म जिस्केको हौ नडराऊ न ।”

एकछिन मन ढुक्क भयो अनि फेरि मैले प्रश्नलाई निरन्तरता दिएँ, ” भन न तिम्रो ब्वाइफ्रेन्ड छ कि छैन ? ”

“साँचो भनूँ कि झुट भनूँ नि ?” उसले फेरि भनी ।

“झुटको म के गर्नु र हजुर साँचो नै भनिदेऊ न” ,मैले उत्सुक हुँदै भने ।

एक्कासि उसको मुहारमा एउटा अनौठो एक्लोपन पीडा महसुस गरेँ मैले । यस्तो लाग्यो उसले अनेकौँ पीडाहरू दबाएर आफैँलाई खुलाउन खोजिरहेछे । केही बेर अघिसम्मको उसको प्राकृतिक मुस्कान आफैँ-आफैँ कृत्रिम लाग्न थाल्यो । बस् देखाउन आफूलाई खुसी देखाएझैँ लाग्यो । कही फेसबुकमा पढेको थिएँ, “मनमा अत्यन्तै पीडा हुने मान्छे धेरै मुस्कुराउँछ धेरै बोल्छ ।”

“मेरो ब्वाइफ्रेन्ड त छैन तर कोही चाहिँ थ्यो । एकदम छोटो कहानी छ । कलेजमा प्रेम बस्यो । त्यति बेला सानोठूलो जात भन्ने केही मतलब नहुने । सबैभन्दा ठूलो त मायाँ नै हो भन्ने लाग्थ्यो तर बिस्तारै बुझ्दै गएँ हाम्रो मायाँ सिर्फ मायाँमा नै सीमित रहनेछ । हामी एक हुनका लागि दुवै जनाले परिवारको त्याग गर्नुपर्ने हुन्छ । ऊ सुजित खड्का म आशा विश्वकर्मा । हाम्रो जति नै मन मिले पनि जति नै चाहना भए पनि मनभरि मायाँ साँचेर नै उसलाई बाई भन्नुपर्ने भयो । त्यसपछि आजसम्म दुई वर्ष भयो । मायाँ भन्ने कुराबाट नफ्रत लाग्छ । जो भेट्छु फ्र्याङ्क भएर बोल्छुव । जति बोल्छु त्यति नै मनको पीडा केही हदसम्म कम हुन्छ । आखिर यो मनमा त सुजित नै त छ मेरो मुटुमा, नसामा बगेका हरेक रगतमा सिर्फ उसकै मायाँ बग्छन् । मेरो जिन्दगीमा उसको जगाह कसैले लिन सक्तैन अनि लिन दिन्न पनि म ।

हो म मान्छु एकदिन उसले पनि विवाह गर्नु छ अनि मैले पनि तर यति चाहिँ हो कि न त मेरो जिन्दगीमा सुजितको न त सुजितको जिन्दगीमा मेरो जगाह कसैले लिन सक्छ ।”

आशाले एकैपटकमा आफ्नो सारा मुटु खोली । उसको यो जबाफले मेरो मनमा उम्रँदै गरेको प्रश्नलाई बिचैमा रोकिदियो ।

“त्यसोभए अब कसैसँग प्रेम गर्दैनौ ?” मैले सोधेँ ।

“प्रेम त जीवनमा एकपटक मात्र हुन्छ होइन र ? अब त जे हुन्छ सिर्फ सम्झौता हुन्छ” ,उसले खुल्ला रूपले भनी ।

मेरो मनमा पलाउँदै गरेको मायाँको कोपिला आफैँ चुँडिएर गएझैँ लाग्यो । हुन त हो हाम्रो देशमा जातको नाममा कतिपय प्रेमकहानी त्यसै टुहुरा भएका छन्, अधुरा रहेका छन् । जति नै बडकपनको कुरा गरे पनि उसले आफ्नो नाम आशा विश्वकर्मा बताउँदा एकछिन त म पनि झस्किएको थिएँ, किनकि मलाई पनि थाहा छ मेरो घरमा पनि जातको भेदभाव त अवश्य पनि छ । म र आशा प्रेममा बाँधिने अब कुनै सङ्केत कुनै लक्षण या सम्भव त थिएन तर पनि यदि बाँधिएको भए ऊ र सधैँका लागि एक हुनका लागि मैले आफ्नो परिवार त्याग्नुपर्थ्यो जुन मबाट कहिल्यै सम्भव हुने छैन ।

हामी मङ्गलबारे आइपुगेका थियौँ । अब हामी दुईबिच बोल्न केही बाँकी रहेको थिएन । ऊ पनि मौन थिई म पनि मौन रहेँ । म होस् उडेजस्तै भएको थिए । मेरो मनको मायाँ, पिरती, स्नेह मनमा नै सीमित रहेको थ्यो । यदि मैले सान्चै नै मनबाट नै चाहेको भए उसलाई बिस्तारै मनाउन सक्थेँ होला तर जब उसको पूरा नाम सुने मलाई पनि केही अप्ठेरो केही असजिलो जस्तो महसुस हुन थाल्यो ।

दमक आइपुग्न लागेका थियौँ । ऊ पनि मौन थिई म पनि मौन थिएँ । लगभग दमक स्टेसनमा बस रोकिन लागेको थ्यो उसले आफ्नो ब्यागको चैन खोली र आइडी कार्ड निकाली र भनी, “तपाईँलाई हिजो प्रोग्राममा देखेको थिएँ । राम्रो लागेको थ्यो । गजल राम्रो मिठो भन्नु हुँदो रहेछ मन परेको थ्यो । अनि मायाँप्रेममा जात मतलब राख्दैन भन्ने कुरामा पनि निकै जोड दिनुभएको थ्यो । त्यो कुराले मन जितेको थ्यो । अनि तपाईँलाई थाहा नै होला आजकल हरेक चोक गल्लीमा मायाँ गर्छु भन्ने केटाहरू भेटिन्छन् अनि तिनीहरूको औकात तब थाहा हुन्छ जब हल्का झुटमुटको कुराहरू गरेपछि आफैँ साइड लाग्छन्, मैले तिम्रो नजरबाट नै थाहा पाएको थियौ तिमी पनि मलाई चाहना थालेको थियौ तर मेरो मनमा पनि केही हदसम्म मायाँ पलाएको थ्यो भन्दा गलत नहोला । तापनि मायाँ गर्न अगाडि थोरै जाच्न मन लागेर मेरो झुटमुटको हल्का प्रेमकहानी सुनाएर केही गफ दिएको तिमी आफैँ साइड लाग्यौ अनि तिम्रो मायाँको पनि जाँच भयो तिम्रो औकातको पनि । तिमी लेखकहरू सिर्फ आदर्शको कुरा गर्छौ तर जब व्यावहारिक जीवनमा कुरा आउँछ तब तिमीहरूको औकातबाहिर आउँछ । तिम्रो देखावटी मायाँ, आदर्श तिमीलाई नै मुबारक, बाइ ।”

उसले मेरो हातमा आफ्नो आइडी कार्ड थमाई र बसबाट उत्रेर सरासर गई । उसले मलाई जाने बेला के भनी कसो भनी बुझ्नै सकिनँ । उसले मलाई जानेबेला भनेको कुराको सत्य त मैले त्यति बेला थाहा पाएँ जब उसको आइडी कार्डमा उसको नाम हेरेँ “आशा लुइँटेल ” ।………..The End……….…

प्रतिक्रिया
Loading...