हरिहर तिमिल्सिना

सफल पाँच विषयमा पास भएको रहेछ । तर उसले बाँकी तीन विषयमा पुल्टुङबाजी खाएको थियो । गोबु सरको अर्ती सुरु भयो । ‘लौ हेर्नुुुस् हजुरको छोराको प्रगति । यसले पढेर खाँदैन । यसले कक्षामा पढाउँदा चाहिने नचाहिने अरु नै किताब पढेर बस्छ । शिक्षकले भनेको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउँछ । खेलौँ, उफ्रौँ र चलौँ मात्र भन्छ । हामीसित यसको केही उपाय छैन । यसलाई सम्झाउन बुझाउन खोज्यो भने उल्टै रिसाउँछ ।’ सरले कक्षामा सुनाउने गरेको लेखनाथ पौड्यालको सिलोक आमालाई पनि सुनाए– ‘दूधपान गरी सर्प खाली विष बगाउँछ, मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ ।… एकचोटि हेडसरलाई भेटेर जानुहोला ।’

उनीहरू हेडसरको कोठामा पुगे । हेडसरले आमासित मार्कसिट मागे र भने– ‘लौ हेर, यसले धेरै विषयमा आलु खाएछ । यस्तो पनि नम्बर हुन्छ ? म्याथमा १५, साइन्समा १९, इङ्लिसमा २४ । तीन विषय जोड्दा जम्मा ५८ नम्बर ल्याएछ । कोहीकोहीले त म्याथमा सय पूर्णाङ्कमा ९९ सम्म ल्याएका छन् । यसको पाँच विषय जोड्दा पनि सय पुगेन । यस्तो पाराले हुँदैन । न यसको बानी राम्रो छ न पढाइ । तपाईंहरू यसलाई अर्को स्कुलमा लैजानुहोस् । हामी यसको रि–एक्जाम अथवा पूरक परीक्षा लिने व्यवस्था मिलाइदिन्छौँ । कक्षा आठमा त यस्तो चाला छ । पछि उसलाई झन् गाह्रो हुन्छ । पूरक परीक्षा लिएर हामी उसलाई पास हुने वातावरण बनाइदिन सक्छौँ तर दिमाग बढाइदिन त सक्दैनौँ नि । आफ्नो दिमाग आफैँले बढाउने हो । त्यसैले यसलाई अर्को नयाँ स्कुल खोज्नुहोस् । नयाँ ठाउँमा यसले उन्नति गर्न पनि सक्छ ।’

सफल सोच्न थाल्यो– ‘दुई दिन अगाडि फेल भएको मानिस पूरक परीक्षा लिनेबित्तिकै कसरी पास हुन सक्छ ? के मानिसको दिमाग घटबढ भइरहन्छ ? खानपान र शारीरिक व्यायामले हाइट–वेट घटबढ गराउन सकिन्छ तर दिमाग कसरी बढाउने ? फेरि हाम्रो दिमागलाई सय नम्बरमा पो नापिने रहेछ । हाम्रो दिमागको फुलमार्क सय मात्रै हो त ? दिमागको फुलमार्क त यो भन्दा बढी पनि त हुन सक्छ ।’

यति सोच्दा नसोच्दै उसको मुखबाट फुत्त प्रश्न बाहिर निस्कियो– ‘सर हाम्रो दिमागको पूर्णाङ्क कति हो ? हाम्रो दिमागलाई जम्मा सय नम्बरले नापिने हो ?’
हेडमास्टरलाई अर्को मौका मिलिहाल्यो । ‘देख्नु भो त तपाईंको छोराको चाला ? यसलाई के बोल्नुहुन्छ, के बोल्नुहुन्न, केही थाहा छैन । कक्षामा पनि यो यस्तै हो रे । मनलाग्दी प्रश्न सोधेर शिक्षकलाई हैरान गर्दो रहेछ । मैले भनेको मान्नुहोस्, यसका लागि अर्को स्कुल खोज्नुहोस् । लौ आजलाई जानुहोस् ।’
आमाले फेरि एकचोटि नराम्ररी मुख बिगारेर भनिन्– ‘हिँड् अब ।’

घर पुग्ने बेलामा चार बज्न लागेको थियो । सफललाई भोक लागिसकेको थियो । बुबा कुन बेलादेखि आएर गोठमा केही गर्दै थिए । बहिनी सफला पिँढीमा बसेर होमवर्क गर्दै थिई । बहिनीचाहिँ सफलले पहिला पढेको गाउँकै बोर्डिङमा चार कक्षामा पढ्दै थिई । सफलले घरभित्र छिरेर लुगा फे¥यो अनि आमा नजिकै आएर भन्यो–‘भोक लाग्यो ।’

‘भोक लागे ऊ त्यो बहिनीको आची खा । बहिनीचाहिँ पढेको पढ्यै गर्छे । अस्ति रिजल्ट लिन जाँदा सबै सर–मिसले बधाई दिए । यसै गरी पढी भने एक दिन पहिला हुन्छे भन्थे । तँलाई भने लाज, सरम, डर केही छैन । खालि खान र खेल्न पाए पुगिहाल्यो ।’

‘यो त अति भयो । भोक लागेका बेलामा भोक लाग्यो भन्न नपाइने । तिर्खा लागेका बेलामा तिर्खा लाग्यो भन्न नपाइने अनि निद्रा लागेका बेलामा निद्रा लाग्यो भन्न नपाइने । यस्तो पनि जीवन हुन्छ ?’ सफल मनमा यस्तै कुरा खेलाउन थाल्यो, ‘पढ्यो भने जो पनि पास भइहाल्छ नि । नम्बर ल्याउँदैमा मान्छे ठूलो हुने हो र ?’

गोठबाट दूधको बाल्टी लिएर बुबा बाहिर निस्किए । आज बिहान गाईले लात्ती हानेर दूध दिएको रहेनछ । त्यही भएर आज चारै बजे दोहेका हुन् । नत्र अघिपछि भए छ बजेतिर दुहुन्थे । कुँडेमा दूध खन्याउँदै उनले सोधे– ‘के भयो नि मालिकको रिजल्ट ?’

आमाले एकछिन नसुनेजस्तो गरिन् । सफलले त सुन्ने कुरै भएन । आमाले जवाफ नदिई सुखै थिएन । भनिन्– ‘के हुनु नि, यसपालि पनि तीन विषयमा आलु ।’

बाको हातबाट दूधको बाल्टी भुइँमा झ-यो । अघिपछि भन्दा बा अझ बढी रिसाएका देखिए । ढलेको बाल्टी पनि नउठाई उनी भ-याङ नजिकैको मुडामा आएर बसे । आँखा तन्काउँदै अनि निधारमा मुजा पार्दै उनी कराउन थाले, ‘थुक्क मुला ! हामीले तँलाई खाई नखाई दुःख गरेर पढाएको यही दिन देख्नलाई हो ? हामीले तँलाई अरु कुनै काम लगा’को छ ? भारी बोका’को छ ? खेत खना’को छ ? घाँसदाउरा गरा’को छ ? आफूले पढ्न पाइएन । छोराले भए पनि पढोस्, ठूलो मान्छे बनोस् भन्ने कत्रो रहर थियो । हाम्रो रहरमा पानी फ्याँकिस् होइन ? भन् ए गधा, अब हामीले जोरीपारीका अगाडि कसरी मुख देखाउने ? मलाई थाहा छ । पख्, अब चाख्लास् तैँले ।’

यति भनेर बा बसेको ठाउँबाट जुरुक्क उठे । चोटामा गए । सफलका खेल्ने सामान सब झ्यालबाट बाहिर फ्याँक्न थाले । लट्टाई, क्रिकेट ब्याट, स्टम्प, पन्जा सबै आँगनमा छरीबरी भए । बा हातमा चेसको बोर्ड र गट्टी लिएर भ-याङ झरे ।

सफलले चेसमा निकै उन्नति गरेको थियो । पढाइमा फेल भए पनि स्कुलभरिमा चेसमा उसलाई जित्न सक्ने कोही थिएन । कागजको चेसबोर्ड छिट्टै च्यातिने भएकाले उसले पैसा अलिअलि जम्मा गरेर काठको राम्रो खालको बोर्ड किनेको थियो । घरबाट खुत्रुके हराएको बेलादेखि उसले पैसा लुकाउने गतिलो ठाउँ भेट्न पाएको थिएन । कहिले सिरानीमुनि, कहिले किताबको बीचमा त कहिले खटप्वालमा लुकाउँथ्यो । उसलाई देउसी खेल्न रुचि लाग्दैनथ्यो तर पनि चेस किन्न पाइन्छ भनेर यसपालि देउसी खेल्न गएको थियो । दसैँमा मामाघरमा टीका लगाएको र देउसी खेलेर कमाएको पैसामध्ये आधा खुत्रुकेमा हालेर आधाले उसले फराकिलो अनि राम्रो गरी रङ लगाएको अनि ठूला कोठा भएको चेस बोर्ड र त्यस्तै राम्रा गट्टी किनेको थियो ।

बुबाले ती सबै लिएर बाहिर गएको देखेर ऊ छक्क प-यो । ऊ पनि बाहिर गयो । बाले सबै खेल सामग्री एकै ठाउँमा भेला पारे । भित्रबाट ग्यालेन ल्याए अनि खेलौनाको थुप्रोमाथि मट्टीतेल छर्के । सफलले डराई डराई भन्यो– ‘बिन्ती बुबा, अरु सबै जलाए पनि चेसबोर्ड र गट्टीचाहिँ नजलाउनू । यसपालि म जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा भाग लिन्छु । गोबु सरले पनि भन्थे, बुद्धिचालमा चाहिँ मैले जिल्लास्तरीय प्रतियोगितामा पनि जित्न सक्छु रे ।’

बाले एकचोटि सफललाई खाउँला जसरी हेरे । सफलले मान्छेको अनुहार त्यति डरलाग्दो कहिल्यै देखेको थिएन । यस्तो लाग्यो, आज उसको अगाडि बा होइन कि कुनै बाघ उसलाई झम्टिन ठिक्क परेको छ । बा एकदमै निर्दयी बनेर फोहोर शब्द निकाल्दै गाली गर्न थाले– ‘अझ कराउँछस् कुकुर ! दाह्रा भाँच्चिने गरी हानौँ ? जसको दुई पैसाको बुद्धि छैन, उसले बुद्धिचाल खेल्ने ? ल खेल् अब ।’

बाले बगलीबाट सलाई निकालेर झ्वार्र पार्दै खेलौनाको थुप्रोमा फाले । ‘साले ! तेरा किताब, कापी झोला सबै जलाइदिन्छु अब । यसै छैन, उसै छैन ।’ बा लगभग बौलाहाजस्तै देखिए ।

आगो खेलौनामा झोसिएको थियो तर त्यसको राप र जलनले सफलको मुटु पोलिरहेको थियो । उसले हेर्दाहेर्दै चेसबोर्ड ह्वारह्वारी बल्यो । राजा, मन्त्री, सिपाही, हात्ती, घोडा, ऊँट सबै जलेर खरानी भए । सफललाई यस्तो लाग्यो कि यो केबल एउटा चेस जलेको होइन, उसको घर, आँगन, खुसी, संसार सबै जलेको हो । उसलाई भाउन्न भयो । ऊ घरभित्र छि¥यो र कोठामा गएर ओछ्यानमा पल्टँदै सिरकले मुख छोपेर रुन लाग्यो । कुनै पीर पर्दा, रिस उठ्दा वा बाआमाले गाली गर्दा ऊ सधैँ यसै गथ्र्यो ।

उता बाको फतफत अझै रोकिएको थिएन । यसका किताब पनि जलाइदिन्छु । यो उमेरमा यसलाई किन उपन्यास पढ्नु प¥यो ? कोर्सका किताब नपढेर यो किन खालि बाहिरी किताब मात्रै पढछ ? सब जलाइदिन्छु । आज म सब जलाइदिन्छु ।

उसको आँसु थामिएपछि सिरकभित्र गुटमुटिएर ऊ सोच्न थाल्यो– ‘मैले पढ्न नचाहेको त कहाँ हो र ? मलाई कोर्स बाहिरका किताब पढ्न मन लाग्छ त म के गरुँ ? मलाई कक्षामा सरले जे जे भने, त्यही त्यही सम्झेर लेख्न आउँदैन । आफैँ उत्तर बनाएर लेख्न आउँछ तर आफैँ बनाएर लेखेको उत्तरलाई सर–मिसले राम्रो मान्दैनन् अनि नम्बर दिँदैनन् । किताबमै भएको कुरा मात्रै किन लेख्नुपर्ने ? आफैँ उत्तर बनाएर लेख्न किन नहुने ? अर्काका छोराछोरीलाई फेल पार्ने यी मास्टर सापका छोराछोरी छन् कि छैनन् ? ती फेल हुन्छन् कि हुन्नन् होला ?’

(हरिहर तिमिल्सिना शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँको यो प्रथम उपन्यास हालै बजारमा आएको छ ।)