पस्पतेको पूरा नाम पशुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन् वा बोलाउँछन् ।

एकदिन अचानक लाउँला खाउँला भन्ने जिन्दगी हुँदाहुँदै ऊ परलोक भयो ।  कालले कठेलोमा समातेर टपक्कै टिपेर पातालमा लागिहाल्यो । उसले यता घर परिवार, साथीभाइ र इष्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै पाएन ।

डा. चन्द्र गिरी

धर्मराजा यमराजले पस्पतेलाई  स्वर्ग पठाउने कि नर्क पठाउने भनेर हिसाबकिताब गर्न थाले । उनको निर्णय अन्तिम हुन्छ त्यसमा वादविवाद हुँदैन र रिट निवेदन लाग्दैन भन्ने थाहा थियो उसलाई । धर्म, कर्म र सत्कर्मपछि उमेर ढल्किँदै गएपछि बढी गर्छु भनेर साँचे अब हिसाबकिताब के आउने हो भनेर ऊ अलि चिन्तित थियो ।  त्यतातिर दिमाग खियाउनु व्यर्थ छ, जे भयो भयो भनेर पस्पते चाहिँ उता मर्त्यलोकमा उसका बारेमा सामाजिक सञ्जालमा क-कसले के-के लेखे वा लेखेनन् भनेर जान्न उत्सुक भयो ।

पहिले-पहिले सहरमा बस्ने धनीमानी मानिसहरू  स्वर्गवास हुँदा परिवारका सदस्यहरूले फोटो सहित समवेदना पत्रिकामा छापेको पस्पतेले देखेको थियो । कसै-कसैको भने उनीहरूको आफ्नो कम्पनी वा सङ्घठ बाट पनि यस्तो समवेदना आउँथ्यो । विदेशी पत्रिकाको एउटा खण्डमा को कहिले बितेको भन्ने कुरा पनि छापिन्छ रे भन्ने पनि सुनेको थियो उसले । पस्पतेको गाउँमा भने न त्यस्तो पत्रिका थियो न त्यस्तो चलन ।  तेह्र दिनसम्म घरमै आएर समवेदना प्रकट गरिन्थ्यो । अँगालो हालेर रुवाबासी गरिन्थ्यो ।

फेसबुक आए यता स्थिति बदलिएको रहेछ, जाँदाजाँदै उसले अनुभव गर्ने मौका पायो ।

आफुले जिब्रो टोकेको केही मिनट नबित्दै एक जना आफन्तले फेसबुकमा लेखेछन्, “हार्दिक श्रद्धाञ्जलि पस्पते”। हैन कति चाँडो लेख्न भ्याएको? ऊ चकित भयो । त्यसको लगत्तै एकपछि अर्को आफन्त र साथीभाइहरूले लेख्न थालेछन् ।

समय नबित्दै, ऊ मरेको खबर धेरै मानिसहरूबीच पुगेछ । सामाजिक सञ्जालमार्फत ज्यादै थोरै समयमा ज्यादै धेरै मान्छेहरूकहाँ खबर पुगेछ । आफ्नो गाउँ र नजिकका आफन्तहरूलाई मात्र मान्छे मरेको थाहा हुन्थ्यो पहिले । मौखिक रूपमा खबर हुन्थ्यो त्यस बेला । मान्छे बितेको बर्सौँ बित्दा पनि थाहा हुँदैन थियो कति जनालाई । थाहा भइहाले पनि खबर आइपुग्न केही दिन, हप्ता वा महिना लाग्दथ्यो । अहिले त केही मिनटमा अथवा केही  घण्टामा नै थाहा हुन थालेछ ।

पहिले खबर नपुग्ने सामाजिक समूहहरूमा पनि पुग्न थालेछ त्यो दुःखद समाचार । कहिलै नचिनेको फेसबुके साथीको साथीकहाँ पनि पुगेछ ।  भौगोलिक धरातल पनि फराकिलो भएछ, खबर देशविदेशसम्म पुगेछ । अन्टार्टिकाबाहेक अरू सबै महादेशहरूमा छरिएछ ।

ऊ अब फेसबुकका अरू पानाहरू खोतल्न थाल्यो ।

एक-दुई जनाले हाल्नै नपर्ने फोटो राखेछन्, भुईँमा लडी रहेको पार्थिव शरीरको । कसै-कसैले राम्रो फोटो राखेछन् ।  एक-दुई जनाले समय निकालेर अलि लामै लेखेछन्, धेरैले त्यसमा नै ‘कमेन्ट’ गरेछन् । जसले राम्रै लेख्ला कि भनेर सोचेको उसले केही लेखेनछ, जसले लेख्दैन भन्ठानेको उसले राम्रै लेखेछ ।  बाँचुन्जेल नजिक भएको मान्छेले केही लेखेनछ, अलि टाढाको साथीले समय निकालेर लेखेछ ।

हार्दिक श्रद्धाञ्जलि, रेस्ट इन पिस, राम नाम सत्य हो आदि इत्यादि लेखेछन्, कमेन्ट बक्समा । कतिले कपी र पेस्ट गरेछन्, टाइप गर्ने फुर्सद भएन  होला । एकपछि अर्को गल्ती दोहोरिएको देखेर अन्दाज गऱ्यो उसले, कपी र पेस्ट गरेको । अलि धेरै हतारमा हुनेले ‘रिप’ लेखेछन् ।

धेरैले पस्पतेकै बारेमा लेखेछन्, ज्यादै थोरैले परिवारका बारेमा सोचेछन् । मेरा बारेमा भन्दा परिवारका बारेमा लेखेको भए हुन्थ्यो भनेर मनमनै सोच्यो उसले ।

कतिले भित्री मनदेखि नै लेखेछन् त कतिले पस्पतेका परिवारलाई देखाउन र कसैले बाहिरी संसारलाई देखाउन लेखेछन् । दुई-चार जनाले आफ्नै आत्मसन्तुष्टिका लागि पनि लेखेछन् ।

कसले किन लेख्यो वा लेखेन? किन धेरै वा थोरै लेख्यो भन्ने कुरा जटिल भएको हुनाले पस्पतेले त्यो कुरा केलाउन चाहेन । ऊ हतारमा पनि थियो, यमराजले कुनै पनि बेला हिसाब किताब निकालेर घोषणा गर्न सक्ने अवस्था थियो । गलत मान्छे टिपेर ल्याएछौ, तिमी फेरि पृथ्वीमा जाऊ भनेर फिर्ता पठाउन पनि सक्छन् भन्ने झिनो आशा पनि थियो उसलाई ।

ऊ कमेन्ट पढ्दै थियो, अर्को मान्छे बितेको खबर आयो । सबै उतातिर समवेदना पोख्न र कमेन्ट गर्नपट्टि लागे । मेरो समवेदना पाउने  पालो यति चाडैँ सकियो? ऊ आश्चर्यचकित भयो ।

यता यमराजले पस्पतेलाई स्वर्गमा पठाउने कि नर्कमा पठाउने भन्ने निर्णय गरिसकेछन् । दूतले बोलाइहाले । ऊ फेसबुक छोडेर निर्णय सुन्नतिर लाग्यो ।

सुन्तलीले निद्राको सुरमा लात्तीले मजाले हानी छ, पस्पते झल्याँस्स भएर उठ्यो ।

अक्टुबर, २०२१