दुई जना भाइकी दिदी मेनका । ठुलो भाइ चारको, सानो भाइ दुई वर्षको अनि ऊ आफैँ सातकी हुँदा बाबु बिते । बाबुको आकस्मिक वियोगपछि उनीहरू आधारहीन भए । आमा वल्लोपल्लो घरमा अरूका लुगाफाटा सिलाउने, घर सफा गरिदिने पर्यायमा पुगिन् । “काश! मेरो एक जना दाज्यू भइदिएको भए बाबुको कमी अनुभव हुने थिएन! मेनका यस्तै के के सोचेर भाइहरूको स्याहार गर्छे । छेउमा भएको स्कुलतिर हेरेर सोच्छे, म पनि पढ्न पाए! आमा सधैँ अरूको घर-घरमा गएर काम नगरे चुल्हो चिसै रहन्छ, पढ्ने आश वनको वास भयो मेनकालाई ।
देख्नमा राम्री मेनका पूर्णिमाको जूनजस्तै बढी । ऊ अठारकी लाग्दा छिमेकीहरूको आर्थिक सहयोगले उसको बिहे घरबाट पचास माइल टाढाको खँदालपाडाका एक जना टेट उत्तीर्ण एलपी स्कुलका शिक्षक मुकेशसित भयो । भाइहरू पनि अब त आफैँ स्कुल जान सक्ने हुँदा त्यति विस्मात मानिन उसले । बाबु नभएको घरमा दाज्यू भइदिएको भए आमा र भाइहरूलाई जिउने आधार हुने थियो- यही कुराले मेनकालाई बिहे पछि पनि सधैँ घोचिरह्यो ।
छ महिना भयो माइतीको घर नटेकेको । तीजमा त ठुलो भाइ लिन आउने भएको छ तर तीजै आउन आँटेन मेनकालाई । घरबाट दुई किलोमिटर टाढाको बजारबाट रासन सरदम लिन उही जानुपर्दछ हप्तामा दुई दिन । मुकेशले भ्याउँदैनन् । धेरैजसो ई-रिक्सामा जान्छे मेनका । एकदिनको कुरो । एउटै ई-रिक्सा देखा परेनन् । जे पर्ला पर्ला सोच्दै ऊ हिँडेरै बजार जाने भई । बाटामा कुनै सवारी साधन भेट्ने आशमा ।
घरबाट प्रायः एक किलोमिटर टाढा पुगेपछि ऊ चौतारीमा रहेको त्यो बुढो पीपलगाछी तल खुइय्य गर्दै बसी । माथि टन्टलापुर घाम, तल पीपलको शीतल छाया । उसका आँखा नै झपक्क हुन लागे । यस्तैमा उसलाई सुस्तरी कसैले बोलाएजस्तो भान भयो- “बैनी, बैनी!” ऊ जऱ्याकजुरुक उठेर बसी । कसले बोलायो होला उसलाई यो निर्जन ठाउँमा ? परसम्म हेरी मेनकाले । यो त तन्द्रामा सुनेजस्तो लागेको हुन सक्छ । पीपलगाछी केही परतिर एक्लो घर देखी उसले । अरू केही छैन । फेरि उसका आँखा झप्काउन लागे। “बैनी, बैनी!” फेरि दोहोरिएको मिठो सम्बोधनका शब्दले अब मेनकालाई चङ्गा बनायो । उसलाई तिर्खा लागेको अनुभव भयो । ऊ त्यही सानो घरतिर लागी ।
“को हुनुहुन्छ नि घरमा, एकमुठी पानी पिउन पाइन्छ?”
“ए किन नपाउनु नि बैनी, आऊ न” एक जना तीस जति लागेका व्यक्ति भित्रबाट बाहिर निस्किए र मेनकालाई बार्दलीमा बस्न दिए अनि एक गिलास पानी दिए । मेनकालाई ती व्यक्तिले बैनी भनेर सम्बोधन गर्दा केही अघि तन्द्रामा सुनेको एउटै बोलीजस्तै लाग्यो । तिनको नाम माधव रहेछ । को पाहुना हो भन्दै घर माधवले पनि मेनकाको घर भित्रबाट एउटी पच्चीस जति पुगेकी विवाहिता युवती निस्किन् । ” रीना, ल तिम्री भाउज्यू है” हाँस्दै उनले भने । “नमस्ते भाउज्यू” मेनुकाले रीनालाई नमस्कार गरी । पानीपछि रीनाले मिठो चिया पनि खुवाइन् अनि भनिन्, साँच्चै बैनी, तपाईँलाई मेरै नन्दजस्तै लाग्यो । फेरि पनि यता बजार आउँदा पस्नू है ।” रीनाको आत्मीयताले मेनकालाई प्रभावित पाऱ्यो । कुराकानीको सिलसिलामा दुवैले मेनकाको घरमाइतीबारे केही सोधपुछ गरे । मेनकालाई त्यो घर फेरि बजार आउँदा पस्न मन लाग्यो, उसलाई किन हो किन माधवलाई आफ्नै दाज्यू हो जस्तै अनुभव हुन लाग्यो ।
तीजमा ठुलो भाइ आयो मेनकालाई लिन । उसलाई माइत जान धेरै रहर लागिरहेको थियो । एकदिनपछि उनीहरू हिँडे खँदालपाडा । धेरैदिनपछि दिदी आउँदा सानो भाइ कति खुसी देखियो । आमाले छोरीलाई दर खुवाउन आफ्नो सामर्थ्यअनुसार जोहो गरिन् । बेलुकी आमाछोरी अगेनाको डिलमा परालको पिरामा बसेर सुखदुःखका गफ गर्न थाले । मेनकाको मनमा स्फुरण हुनै आँटेका रहस्यका प्रश्नहरू थिए । उसले बिस्तारै आमालाई पहिला माधवको जानकारी दिँदै भनी, “आमा, मेरो घरबाट औसत डेढ किलोमिटर टाढा बजारकै छेउ माधव दाज्यूको घर छ । दाज्यू र भाउज्यू र एउटा सानो भाइ छ । भाउज्यू पनि मलाई नन्द भनेर हिजोआज धेरै मायाँ गर्नुहुन्छ । सानु पनि फुपू दिदी भनेर हुरुक्कै गर्छ । किन हो कुन्नि, मलाई माधव दा एक्दमै आफ्नो लाग्छ । काश! मेरा यस्ता दाज्यू भएको भए तपाईँलाई बाबुपछि यति कष्ट गर्नुपर्ने थिएन नि ।” त्यसपछि उसले चौतारीमा रहेको पीपलको रुख तल बिसाउँदा भएको भ्रमको कुरा आमालाई सुनाई ।
मेनकाका कुरा सुनेर आमाका गहभरि आँसु आए । उनले बेलिबिस्तार लगाउँदै अतीत रोमन्थन गर्दै भनिन्, “छोरी, आजसम्म कसैलाई नभनेको कुरो तिमीलाई सुनाउँछु । मलाई पहिला क्षमा गरिदेऊ । तिमी मेरो कोखमा छ महिनाकी छँदै म तिम्रो बाबु र दाज्यूलाई छाडेर यी अहिलेका बाबुसित भागेर आएँ । त्यसरी भागेर आएपछि तिम्रो बाबु पनि छोरालाई लिएर गाउँ छाडेर हिँडे भन्ने घन्याकघुनुक सुनेँ । तिम्रो दाज्यूको जुराएर राखेको नाम नै माधव हो…..।” भनिनसक्दै आमा एक्कासि डाँको छोडेर रुन थालिन् । “माधव नै तिम्रो दाज्यू हो छोरी, मलाई क्षमा गरिदेऊ…।” आमाको कुरा सुनेर मेनकालाई अब विश्वास भयो, माधवलाई भेट्दा, ऊसित कुरा गर्दा मेनकालाई किन आफ्नोपन लाग्छ । उसले अलिकति पनि ढिलो नगरी माधवलाई फोन लगाई । माधवले उताबाट फोन रिसिभ गरेपछि मेनका एक्कासि मेरो दाज्यू भनेर रुन थाली । माधव दङ्ग पऱ्यो, “के भयो बैनीलाई? कोईही बिरामी पो भएछन् होला! के भयो बैनी, किन यसरी रोएकी? तिम्रो अहिलेको टुङ्गो देऊ त, म आउँछु ।” माधवले आड दिँदै भन्यो ।
मेनकाले जब उनीहरूबिचको साइनोको रहस्य सुनाई, दुवै दाज्यूबैनी फोनमै डाँको छोडेर रुन लागे ।
एक घण्टापछि मेनकाको माइतीअघि एउटा मोटरसाइकल आएर टक्क रोकियो । माधव, रीना र सानु तीनै जना मेनकाको माइती आए । छोरालाई प्रायः तीस वर्षपछि देखेर आमा अँगालो हाल्दै रुन लागिन्, ” क्षमा गरी दे छोरा, मैले नगर्नु पाप गरेँ । यो पापको कुनै प्रायश्चित्त छैन । म पापी हुँ ।” माधवले केही भनेन । रीना दङ्गै परिन् ।
माधव, रीना, मेनका, सानु र अरू दुई जना भाइको मिलन हेर्न छिमेकी एक-दुई जना पनि भेला भएका थिए । माइती मिलनको यस्तो चलचित्रको जस्तै कथा आँखैअगाडी देखेर सबैका आँखा रसाएका थिए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।