साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अधुरो सुहाग

कथा

विवेक अदालतको फैसला सुनेर घर फर्केका छन् । यस फैसलामा सीमाको हार हुन गएको छ । सीमालाई फैसला चित्त बुझेको छैन । उनले मुद्दा हारेकी छन्। उनी घर आएर सोच्न थाल्छिन्, ‘विवेकले मसँग साँच्चिकै खेलवाड गर्दैछ । म एक सिधासाधा केटीलाई प्याररुपी नक्कली जालमा फँसाएर मेरो जीवनको सारा खुशीमा नै डढेलो लगायो तर म त्यति कमजोर र विवश नारी छुइनँ। ममा जुन आगो विवेकले लाएको छ । त्यही आगोमा उसलाई सल्काएर भस्म पार्छु ।’

यही कुरा सोच्दासोच्दै पूर्व दिशाबाट उषाले आफ्नो लालीले सीमाको कोठालाई नै रंगाइसकिछन् । सीमाले फेरि अपिल गरिन् तर उनको केश सुनेर कुनै पनि वकिलले बहस गर्न मानेनन् । यस कुराले गर्दा उनी निकै निराश भएर भइन् । उनले कुनै बेला त हरेस पनि खाइन्, किनभने यत्रो संसारमा हजारौँ वकिल भएर पनि किन कसैले पनि उनको मुद्दा लड्न चाहिरहेको छैन ? धिक्कार छ विधाताको विडम्वना ! पाप दुई मिली गर्छन् तर दोष भने नारीलाई नै… किन ?
……………
यसैबीच सीमाको आँखामा एउटा वकिलको साइनबोर्ड देखापर्छ । साइनबोर्ड देखेर उनी वकिलको अफिसमा पस्छिन् । उनको अनुरोधबाट वकिलको मन रसाएर बहस गर्ने निणर्य गर्‍यो । सीमाले उसलाई आफ्नो अधुरो सुहागको कहानी भन्न थालिन्ः
म र विवेक एक-अर्कालाई असाध्यै चाहन्थ्यौँ । म विवेकलाई आफ्नो मुटु मान्दथेँ । हामी दुईबीच विवाह नभए पनि उनी मेरा लागि पति नै थिए । हामी दुईमा गहिरो प्रेम थियो। दुई ज्यान एक मुटुको सिलसिला दुई वर्षसम्म चल्यो । एक दिन विवेकले विवाह गर्छु भनेर मसँग अवैध सम्बन्ध राख्यो । मैले उसको कुरामा विश्वास गरेँ । यहीँ मबाट ठूलो भूल हुनगयो । त्यस दिनदेखि विवेक मबाट टाढा हुँदै गयो । म भने उसलाई कति भेट्न चाहन्थेँ, जब भेट हुन्थ्यो ऊ विवाहको कुरै गर्दैनथ्यो तर कहिलेकाहीँ पख म विवाह गर्छु भनेर फुल्याउँथ्यो। उसको यही आशामा परेर मैले विवाहका लागि सबैथोक ठिक्क पारेँ । जुन दिन विवाह थियो, त्यो दिन विवेक आएन । यो घटनाले गर्दा म सारा समाजको अगाडि कलंकित नारी भएर उभिएँ । यसरी मेरो जीवनमा भरिन लागेको सुहाग अधुरो रह्यो । यसको केही दिनपछि नै एउटी नारीले मेरा अघिल्तिर उभिइन् र विवेकको कुरा गर्न थालिन् । उनले आफ्नो नाम नीमा बताइन् । मैले तिनलाई सोधेँ, ‘तपाईं विवेकको को हो ?’
उनले आफूलाई विवेकको प्रेमिकाका रूपमा चिनाइन् । जसले झूटो प्यारमा मलाई फँसाएर मेरो जीवनको र कुमारीपनको हत्या गरेर छोड्यो, फेरि उसैले नयाँ साथी बनाइसकेछ । त्यस दिनदेखि मलाई पुरुषदेखि नै घृणा लाग्न थाल्यो । मैले आफ्नो बाबुलाई पनि पुरुषमा तुलना गरेर हिँडे । विवेक समाजको यस्तो बिउ हो, जसले नारीसँग खेल्न र वासना लिन मात्र जानेको रहेछ । त्यसको कदर र मूल्य चिनेको रहेनछ ।
मैले विवेकलाई एक दिन भनेँ, ‘विवेक तिमी त राक्षस रहेछौ। राक्षसमा पनि दया र सानको अंकुर फुटेको हुन्छ तर तिमीमा त केही रैनछ । के धाकले आफूलाई समाजको अगाडि पुरुष देखाएर हिँडछौ ? तिमी साँच्चै पुरुष हौ भने मलाई र नीमालाई अँगालेर आफ्नो पौरुषसत्यको पुरुषार्थ देखाऊ। पुरुषलाई नारीले घृणा गर्ने बाटो अपनाऊ । कहीँ यस्तो नहोस्, सारा नारीहरु मिलेर पुरुषलाई जन्म दिन छाडून् र जन्मना साथ सारा आमाहरूले आफ्नै सन्तानको हत्या नगरून् । सारा आमाहरू हत्याराका रूपमा नउभिऊन् यो समाजमा र समाजलाई नै श्मसानघाट नबनाऊन् । जे भो भयो, त्यसलाई हामी भुल्छौँ । विवेक अलिकति त सोच । किन तिमीले हाम्रो जीवनसँग खेलवाड गर्‍यौ ? किन प्यारको आडमा हाम्रो जवानी लुट्यौ ? नारीको जीवनसँग खेल्नुको परिणाम के हुन्छ सोचेनौं ? आफ्नो नामको सदुपयोग त गरेको भए हुन्थ्यो ! नारीको शरीरसँग खेल्ने सोख थियो भने धेरै नारीहरु भेटथ्यौ । कहीँ यो तिम्रो पेशा त होइन ?’
यसपछि उसले उल्टै ममाथि नचाहिँदा लाञ्छना लगाउँदै भन्यो, ‘तेरो अब के इज्जत छ ? जा अब कुनै कोठीमा बसेर आफ्नो शरीरको व्यापार गर ।’
जब मैले यो कुरा सुनेँ, उसलाई भनेँ, ‘ठीक छ, कोठी नारीहरुकै लागि बनाइको हुन्छ तर कोही यस्ता नारी त्यस कोठीमा हुँदैनन् जो पुरुषलाई पैसा दिएर किन्छन् । उनीहरू पैसा उठाउँदैनन्, लुटाउँदैनन् । लुटाउने त पुरुष नै हुन्छ । तिमीहरु जस्ता समाजका विषालु नाग नै आफ्नो इच्छापूर्तिका लागि कोठीमा आउँछौ । याद राख आज सारा पुरुषहरुले नै कोठीलाई प्रोत्साहन दिएर आफ्ना दिदीबहिनीको लुगा फुकाल्छन् । किन उनीहरूलाई त्यहाँबाट निकालेर इज्जत दिन सक्दैनन् । तिमी त ती कोठीमा बस्ने नारीहरु भन्दा पनि नीच रहेछौं । जो एक फूलबाट अर्को फूल घुम्ने भँवरा रहेछौं । कति कलिला निर्दोष फूलको रस चुसेर छाडेका छौं तर यो नसोच म ती फूलझैँ मुर्झाउने छु । म त त्यो फूल हुँ, जसले भँवरालाई रस चुस्ने मौका दिएर त्यो रसमै विष घोलेर त्यही रसमा डुबाएर सदाका लागि उसको जीवनको दियो निभाउने । तिमीले मेरो जीवनसँग खेलेर काललाई बोलायौ ।’
वकिललाई सारा कहानी सुनाइसकेपछि सीमा एक छिन चूप रहिन् । केहीबेरको मौनतापछि उनले थपिन्, ‘यसपछि मैले अदालतको सहारा लिन पुगेँ । त्यहाँ पैसाको भरले मलाई विवेकले हरायो र म फेरि यो केशलाई दोहोर्‍याउन चाहन्छु । यही नै हो मेरो अधुरो सुहागको कहानी ।
०००
यसपछि सीमाको केस अदालतमा दोहोरियो । यस पटक पनि विवेकले पैसाको आडमा एक निर्दोष केटीलाई खराब नारीको उपमा दिएर फैसला गर्‍यो । जित विवेकको नै हुन गयो । यो सुनेपछि सीमालाई खपिसक्नु भएन । सीमाले अदालतमै विवेकको हत्या गरिन् । त्यसबेला सीमाको आँखामा विवेकको राक्षसी रुप देखापरेको थियो । आफूमाथि लगाइएको झूटो आरोपले उसलाई यति भड्कायो कि आक्रोशमा आएर उनी खुनी बन्न बाध्य भइन् ।
अचानकको यस्तो कार्यले सारा अदालतमा सन्न भयो । यसपछि सीमा खुनी साबित भइन् । अब बाँचेर पनि के गर्नु थियो र ? एक कलंकित नारी भएर बाँच्नु भन्दा मर्नु राम्रो ठानेर सजाय स्वीकार गरिन् । सजाय सुनेपछि सीमाले न्यायाधीसलाई एउटै प्रश्न गरिन्, ‘मेरो हातबाट विवेकको हत्या भयो । यो सही हो, म एक खुनी हुँ, यसको साक्षी त अदालत छ तर यही खुन मैले चुपचाप लुकेर गरेकी भए के सबुत हुन्थ्यो ? सबुत नभएर गरिएका हत्यालाई तपाईंको कानुनमा के सजाय छ ? त्यस्तै यस विवेकले मेरो र नीमाको कुमारीपन, सुनौलो भविष्यका साथै आफ्नो बच्चाको हत्या गरेको थियो । जसको सबुत यो गर्भपात गराएको डाक्टरको सर्टिफिकेट छ, हेर्नुस् । कानुनलाई सबुत चाहिन्छ भने विवेकलाई सजाय दिनुहोस् अनि मात्र म यो तपाईंको सजाय स्वीकार गर्छु । विवेक समाजको यस्तो एउटा कीरा हो, जसले कतिपय कोपिलाहरुको हत्या गरेर पैसाको भरमा बचेर हिँड्दै थियो । उसले लुकेर गरेको खुन, खुन होइन के ? के ती अजन्मा बच्चाको भविष्य थिएन ? यी सबै कुराहरुको हक हुँदाहुँदै पनि समाजको त्रास, झूटो लाञ्छनाले गर्दा अन्याय सहेर हामी सजाय पाउने तर एक खुनी भने पैसाको आड्मा आफूलाई बचाउने ? बस्, मेरो यही कुराको जवाफ सोध्नु छ कि तपाईंको कानुनमा सिधासाधा केटीलाई आफ्नो प्यारमा भुलाएर उसको कुमारीपनको खुन गरेर विवाह गर्छु भनेर धोका दियो, हामीले भने उसको प्यारलाई साँचो मानेर उसको पापलाई चार महिनासम्म पेटमा राखेर मजबुरीका साथ त्यस बच्चाको हत्या गर्नु पर्‍यो। यो बच्चाको हत्यारा म कि विवेक न्यायाधीशज्यू ? विवेकको हत्यारा मलाई मान्नुहुन्छ भने त्यस बच्चाको हत्यारा को त ? विवेक या तपाईंको कानुन, या समाज ? किन यो कानुनले विवेकलाई सबुत हुँदाहुँदै सजाए दिएन त ? किन यो समाजले विवेकसँग मेरो विवाह गराएन त ? कसरी म खुनी ? अगर म खुनी हुँ भने विवेक र यो कानुन खुनी हो किनभने एक खुनीलाई फेरि खुन गर्न आजाद गर्दै थियो । मैले के अपराध गरे जो एक खुनीको खुन गरिदिएँ ?’
यसपछि सीमा चुप लागिन् । न्यायाधीशले उनको प्रश्नको कुनै जवाफ नदिई राजीनामा दियो र अदालतबाट बाहिर निस्कियो ।
यस घटनाले गर्दा सीमा एक यस्ती नारी भइन्, जो पुरुषलाई हेर्न पनि चाहन्न थिइन् । उनी अब एक्लै भएर बाँच्न चाहन्थिन् ।
यसैबीच सीमालाई पुलिस अफिसबाट बोलावट आयो । उनी गइन् । सीमा प्रहरी अधिकारी सामुन्ने थिइन् । उनले कड्किँदै भनिन्, ‘मलाई यो झूटो कानुनको मन्दिरमा एकक्षण बस्नु छैन । के कामले बोलाउनु भएको हो, चाँडो भन्नुस् ।’
यत्तिकैमा एकजना प्रहरी अधिकारीले सीमाको हात पकड्दै भन्यो, ‘म तपाईसँग विवाह गर्न चाहन्छु । के तपाईं मलाई यो सौभाग्य दिनुहुन्छ ?’
जब सीमाले यो प्रस्ताव सुनिन्, अफिसरलाई भनिन्, ‘कहिलेदेखि यो पुलिस अफिस विवाहको मण्डप भएछ ? तपाईंले यही जान्नु भएछ । तपाईंको प्रश्नको जवाफ भोलिको पत्रिकामा पढ्नुहोला ।’
भोलिपल्ट अखबारमा त्यस अफिसरका बारेमा पत्रिकामा अनेक फतुर छापिएका थिए । ऊ त्यस शहरमा बस्न नसक्ने अवस्था गरिदिइन् सीमाले । सीमाको यो रौद्र रूप देखेपछि उनका बाबु उनलाई सम्झाउन आइपुगे । तर सीमा आफ्नो बाबुलाई पनि हेर्न चाहन्न थिइन् । सीमाले भनिन्, ‘तपाईं यहाँ किन आउनु भएको ? तपाईं मेरो बाबु त हो तर साथसाथै एक पुरुष पनि हो । तपाईंलाई थाहा छैन, म आफ्नो घरमा र जीवनमा कुनै पुरुषलाई स्थान दिन्न भनेर ?’
सीमालाई शान्त बनाउने प्रयास गर्दै उनका बाबुले भने, ‘सबै पुरुष एउटै हुँदैनन् छोरी । एउटा पुरुष थियो, तँलाई बिगार्‍यो । अर्को पुरुष छ, तेरा सारा कुरा थाहा पाएर पनि तँसँग विवाह गर्न तयार छ । तँ आफैँ छुट्याएर भन्, के सबै राक्षस मात्र हुन्छन् ? या कोही जीवन दिने ईश्वर पनि हुन्छन् ? त्यसैले छोरी त्यो पुलिस अफिसरलाई गएर रोक्, जसले तेरो अधुरो सुहाग पुनः भरिदिन्छ ।’
‘बुबा यो पुरुषको दया हो, जुन दया नारीलाई दबाउनु र गुलाम बनाउनु बाहेक केही होइन । चाहिएन बुबा मलाई कुनै पुरुषको दयाको भिख,’ सीमा त्यसपछि एयरपोर्टतर्फ लाग्छे । एयरपोर्टमा सीमाका आँखाले त्यही पुलिस अफिसरलाई देख्छिन् । नजिकै गएर भन्छिन्, ‘बढुवा भएर सरूवा हुनुभएकोमा बधाई दिन्छु । जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँमा गएर कुनै नारीको हात पक्डन हात नबढाउनु होला । पुलिस अफिसलाई विवाह मण्डप नबनाउनु होला । जुन दया तपाईंले ममाथि देखाउनु भएको थियो, त्यो दया अरु कसैलाई देखाउनु होला किनभने म पुरुषलाई सधैं टाढा राख्छु र घृणा गर्छु । तपाईंको यात्रा सफल होस् भन्दै सीमा त्यहाँबाट निस्कन्छिन् । प्रहरी अधिकारी वाल्ल परेर हेरेको हेर्‍यै हुन्छ । यसरी दोहोरिएर भरिन लागेको सीमाको सुहाग अधुरो नै रहन्छ ।

विराटनगर

प्रतिक्रिया
Loading...