देश छाड्नु मात्र हैनरहेछ परदेसिनु भनेको । हवाइजहाज चढेर देशको सिमाना नाघ्नु मात्र पनि हैनरहेछ
परदेसिनु भनेको । परदेसिनु भनेको त गाउँ, टोल छरछिमेक र सिङ्गो देश बोकेर जानुरहेछ । आफ्नो कला, संस्कृति,
चाडबाडहरू पनि बोकेर जानुरहेछ । आफूसँगै आफ्नो भाषा पनि सँगै जाँदोरहेछ । भाइबैनी, नातेदारहरूको माया, अझ
आमाबाको माया, यी सबै सँगै जाँदारहेछन् । जिन्दगीभर यिनै यादहरूको जुलुसले लखेट्दो रहेछ मान्छेलाई । मुटुमा
देशको माटो बोकेर बाँच्दोरहेछ मान्छे ।

आमाको याद मात्र हुँदोरहेछ । आमाको काख जीवनभरि छुट्दोरहेछ । बाले डोर्याउने बाको त्यो हात नहुँदो रहेछ
। जन्मभूमिबाट छुट्टिँदा जीवन अपूर्ण हुँदोरहेछ । फेर्ने सासमा देश फेरिँदो रहेछ । रगतमा देश बग्दोरहेछ । गीतमा देश,
गजलमा देश र कविताहरुमा देश बोल्दोरहेछ ।

आज पनि म त्यही झ्यालमा छु । जहाँ मैले र मेरो फुर्सदले बिताउँछौँ । हरेक पल फुर्सदको क्षणमा मैले बिताउने
त्यो झ्याल । हो, म त्यहीँ बसेर यस्तै कुराहरूले मुटु बिझाइरहेछु । कल्पना गरिरहेछु ‘कति अभागी रहेछु म !’ प्रायः
चाडबाडको बेलामा त झन् घोच्ने गर्दोरहेछ देशले, आमाको मायाले, बाको आडले, भाइबैनीको भरोसाले । भनिन्छ नि !,
‘छुटेका चिजहरूको माया बढी हुन्छ ।’ हो, त्यस्तै हुँदोरहेछ ।

यसपालि त परदेशमा देशको धेरै याद आयो

महेश्वर पन्त  (अमेरिका)

हिउँचुलीको चिसो हावा तराईले स्वाद ल्यायो
चाड–पर्व देश जाने वाचाको त्यो म्याद आयो
यसपालि त परदेशमा देशको धेरै याद आयो ।
मेरा यिनै गीतका हरफहरू जस्तै !

प्रायः सधैँ सम्झने गर्छु म- मेरो दशैँ, मेरो छिमेक, मेरी आमा, मेरा बा । धेरै मिस गर्छु म । फेरि पुरानो यादतर्फ
तान्छ मलाई मेरो मनले र त्यतै धेरैबेर खेलाउँछ मलाई

“हेर केटाकेटी हो, अब दशैँ आयो । राम्रा नयाँ कपडा ल्याइदिम्ला । मीठो खाने कुरा खाने हो” बाले छाती उच्च
पारेर गर्वका साथ भन्थे । हामी आँगनमा दशैँको गीत गाएर उफ्रिन्थेम् । बाको वरिपरि झुम्मिन्थेम् । बाको मुखमा
गज्जबको कान्ति छाएको हुन्थ्यो । आमाको मुस्कान बेग्लै मजाको हुन्थ्यो ।

जमरा राख्ने दिन बाले बिहानै मलिलो माटो ल्याउँथे । पूजाचौकामा फिँजाएर भिजाएका बीउ–बिजन छर्थे ।
शङ्खध्वनिका साथ बाले कति धेरै मन्त्र उच्चारण गर्थे । बाको शङ्खको आवाजमा हामी नाच्थेम् । दिनभर त्यही
शङ्खध्वनि गुन्जिरहन्थ्यो हाम्रा कानमा । रातो माटो, कमेरे माटो बोक्नेहरुले ओराली–उकाली भरेका हुन्थे । हाम्री आमा

पनि त्यही लस्करमा हुन्थिन् । घर पोतिन्थ्यो, सबैका घर दुलहीजस्तै सजिन्थे, सेतो र रातो घुम्टोमा सजिएका
दुलहीहरुजस्तै । गाउँभरि रमाइलोले दौडादौड गरिरहेको हुन्थ्यो हामीसँगै । दशैँले गाउँबस्तीलाई छपक्क छोपेको हुन्थ्यो ।
डाँडा–पाखा वन–जङ्गलका हरियालीले पोतिएका हुन्थे । फूलहरू कोपिला हुँदै वयस्कमा पुगेर मगमगाइरहेका हुन्थे ।
लहरे पिङ र चर्खे पिङको चचहुई….ले लाग्थ्यो— पुरै गाउँ रमझममा लडीबुडी खेल्दैछ ।

हजार प्रश्नहरू थिए हाम्रा बालाई सोध्ने । बाले हरेक प्रश्नको उत्तर गर्वका साथ दिनुहुन्थ्यो, विनाहिचकिचाहट ।
हरेक बिहान दुर्गादेवीहरूको आराधना गर्नुहुन्थ्यो । “नवदुर्गाहरू प्रसन्न भए बुद्धि, धन, शान्ति, समृद्धि मिल्छ, घरमा कुनै
प्रकारको सङ्कट आउँदैन वर्षदिनभरि ।” बाका कुरा हामी बुझेझैँ गरेर सुनिरहन्थेम् । कति बुझ्थेम्, कति त्यसै ‘हजुर’
भन्थेम् । तर जति सुने पनि बाका कुरा सुनिरहुँजस्ता लाग्थे ।

टीकाको दिन त कुरै नगरम् ! कति धेरै घर घुमेर टीका थाप्नुपर्ने ! वाऽ ! कति धेरै मीठा खाने कुरा ! पेट अघाउने
तर मन नअघाउने । फेरि मामाघरमा पुगेपछि मामा–माइजूको माया ! आहा ! मैले पनि कति धेरै पैसा जम्मा गर्थेँ, मामा-
माइजूले दिएको । त्यो जुनेली रात, त्यो साथीहरूको साथ, लाठे पिङ, अनि त्यो माटोसँग लटपटिएको सुगन्धित हावा !
परदेशमा कहाँ पाइन्छ र !

मेरो छोरीको आवाजले म झस्केँ । “बाबा ! हजुरको देशमा दशैँ छरे नि ! दशैँ कस्तो हुन्छ ? हामीले यहाँ किन
नमान्ने ? नेपालमा अरू केके फेस्टिबल हुन्छ बाबा ? हाम्रो कृस्मस पनि हुन्छ ? हलोईन थ्याङ्क्स गिभिङ् हुँदैन ?”
मैले मेरा बालेझैँ जवाफ दिन सक्दिनँ । म लाचार छु । फगत् एउटा लाचार परदेशी ! छोरीलाई हेरिरहन्छु । ऊ
केहीबेर उत्तरको प्रतीक्षामा मलाई हेरिरहन्छे । म केवल मुसुक्क मुस्काएर उसलाई टारिदिन्छु । ऊ आफ्नो होमवर्क
टेबलमाथि फिँजारेर बस्छे । उसको बाहिर जाने ठाउँ छैन । खेत, फाँट, गाउँ, छरछिमेक केही छैनन् । मेरो बाल्यकालजस्तो
छैन उसको बाल्यकाल । दशैँ छैन, पिङ छैन, मामाघर छैन ।

म छोरीलाई केहीबेर नियालेर हेर्छु र बाहिर हेर्छु । दशैँको मौसम आएको छ । मलाई मेरो दशैँले बाहिरबाट
नियालिरहेको छ । भित्र ल्याउन मैले सकेको छैन मेरो दशैँ । बालेजस्तो मैले जमरा भित्र्याउन सकेको छैन । त्यो पवित्र
मन्त्रोच्चारण छैन मेरो घरमा । आमाको छनकफनक छैन । मेरो पूजाको चौका छैन, जमरा छैनन् । बालेझैँ नौ दिनसम्म
नवदुर्गाहरुको पूजा गर्ने मलाई फुर्सद छैन । मेरो कामले मलाई अनुमति दिँदैन । समाज छैन, मेरा भाइबैनी छैनन्, मेरा
बाआमा छैनन् ।

मेरो दशैँ हरेक वर्षझैँ मलाई बाहिर कुरिरहेको छ । पर क्षितिजबाट हेरिरहेको छ । मेरो ढोकाबाट चिहाइरहेको छ
। अफसोच ! यस वर्ष पनि मैले मेरो दशैँ भित्र्याउन सकिनँ ।
।। समाप्त ।।

पर्वत, नेपाल
हाल – बस्टन, अमेरिका