निस्पट्ट अँध्यारो हावासँग साउती मार्दै छ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दै छ कलकल बगरलाई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अँगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जुनकिरीको मिलिकमिलिकसँग पौँठेजोरी खेल्दै ।
हो, म त्यहीँ अँध्यारोभित्र आफूलाई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलाई टुक्रयाउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग ।
अहो ! मान्छेलाई ज्यानको मायाँ कति विघ्न, पिडौँला पिडौँला आउने पानीको वेगले के मलाई ढाल्दो हो र ? लौ ढालिहाले पनि त बगाउने क्षमता हुँदैन नि, बिचरो म वनको बाघभन्दा मनको बाघले सिध्याउँछ एउटा खतरनाक हाउगुजी बनेर । त्यसैबाट बच्न लठ्ठीसँग हारगुहार मागेको हुँ नदी तर्नुअगाडि ।
तमोर नदी तरिसकेर लामो श्वास तान्छु ठूलै युद्ध जितेझैँ बगरको ढुङ्गामा टुसुक्क बसेर अब जुत्ता मोजा लगाउनुपर्छ भन्ने मानसिकता बन्दा नबन्दै म भन्दा बीस हात तल नदीबाट एउटा स्वास्नी मान्छेको चिच्याहट मेरो कानको जालीसम्म आइपुग्छ हावामा तरङ्गित हुँदै–
“बचाऊ बचाऊ, मलाई खोलाले बगाउन लाग्यो बचाऊ ।”
रातको मध्यग्रह, चुक पोखिएझैँ अँध्यारोको वर्चस्व, सुनसान नदीको बगर, को हुन सक्छ यतिखेर ? यहाँ नदी तर्दै फेरि बगाउने पानीको प्रवाह पनि छैन । कसैले मलाई छक्काउँदै छ भनूँ भने पनि एउटा स्वास्नी मान्छे कसरी सम्भव छ यो ? मनमा कुरा खहरे भएर उर्लँदा म जुत्ता लगाउँदै खोल्दै पो गर्दो रहेछु, उताबाट चिच्याएको आवाजसँग स्वयं म आफैँ विचलित भएर ।
आवाज आइरह्यो म आवाज चपाउँदै मौन भएँ ढुङ्गाको मूर्तिजस्तो कसो-कसो निर्जीव बनेर, आवाजले छाएन पनि भन्न सक्ने अवस्था छैन सोचाइ चुल्ठी परेर लहरिएकै हो । छोयो कसरी भनूँ गएर नदीबाट ती महिलालाई बगरमा ल्याउने बेलासम्म ठिङ्ग खामोझैँ स्थिर छु म ।
करिब दश मिनेटजति पछि जुत्ता त्यहीँ बगरमा फालेर तुफान बनी पुग्छु महिला भएको ठाउँमा, अँध्यारोमा आवाजलाई पछ्याउँदै अनुमानको भरमा । छामेर पाखुरा घिसार्दै किनारातिर ल्याउँछु, उनी अझ सुकसुकाउँदै छिन् ।
उनको सुकसुकाइले उनी निकै आपत्मा परेकी रैछन् भन्ने लख काट्छु म । ‘चिन्नु न जान्नु घचेटी माग्नु’ अरू समय त्यहाँ रोक्किएर समय खर्चनु थिएन मलाई । फरक्क फर्केर सरासर माथि जान्छु जुत्ता मोजा राखेको ठाउँ पत्ता लागेन अँध्यारोमा कता हो कता ।
छामछुम खोजखाज गर्छु केही बेर, अब खाली खुट्टाले पैताला दरफराउँदै लाग्नुपर्ला उकालो, व्यर्थै एउटीलाई बचाई टोपल्न जाने भैखाको नयाँ जुत्ता गुमाउनुपऱ्यो । गुनासो पोख्छु आफैँलाई, उकालो लाग्न थाल्छु बानी भए पो खाली खुट्टाले हिँड्ने, ढुङ्गाका गेगरले बिझाएको आभास तालुसम्म छ पैतालादेखि ।
“सुन्नुस् त ! तपाईँको जुत्ता यी यहाँ छ, लगाउनुस् ।”
म फरक्क फर्कन्छु आवाज आएतिर, कालो आकृति ठिङ्ग छायाँझैँ बनेर उभिन्छ अगाडि ।
“तिमी ! अघि त नदीले जिउँदै निल्लाजस्तो गरेर च्याँठिँदै थियौ, रुन पुग्यो र यहाँ आएकी ?”
“तपाईँले जुत्ता खोज्नुभएको मलाई थाहा थियो त्यसैले पुऱ्याउन आएकी ।”
म उनको हातबाट जुत्ता लिएर त्यहीँ बसी लगाउँछु । मैले जुत्ता लगाउन्जेलसम्म पनि उनीसँगै उभिन्छिन् विनासंवाद चुपचाप । जुरूक्क उठेर म हिड्न लाग्दा –“जाऊँ पनि भन्नु हुँदैन तपाईँ, छि कस्तो निष्ठुरी ?” उनी नाके स्वरमा लाडिँदै बोल्छिन् ।
“तिमी को हौ, कहाँबाट आयौ, कता जाने हौ मलाई के था कुल घरानकी चेलीबेटी यति राति हिँड्दै हिँड्दैनन् त्यो पनि एक्लै के आधारले जाऊँ भनूँ म ?” अगाडि बढ्दै बोल्छु म ।
“तपाईँले सोधे पो मैले बताउनु, बोल्न पनि पैसा पर्लाजस्तो गर्नुहुन्छ अनि ।” ठुस्किँदै पछि-पछि आउँछिन् उनी ।
“लौन त मैले सोधेँ अब त भन, कहाँ हो तिम्रो घर ?” तपाईँको भन्दा पल्लो गाउँ हो मेरो, म गा.वि.स. सचिव अमरनाथकी कान्छी छोरी छायादेवी हुँ, हुनसक्छ तपाईँले मलाई चिन्नु हुन्न ।”
“तिमीले चाहिँ मलाई चिन्छौ र ?” अँध्यारोको शून्यतालाई थप्पड हिर्काउँदै उनी खिलखिलाएर हाँस्छिन् पाखा पर्वत थकाउँदै, कसोकसो मीठो लाग्छ मलाई त्यो हाँसो कतै आफ्नोपन घोलिएझैँ । “नचिनेको मान्छेको जुत्ता पुऱ्याउन मलाई के खाँचो ?” उनी फेरि हासिन् त्यसरी नै ।
“भन न त म को हुँ ?” हिँड्दाहिँड्दै ढिस्कामा रोकिएर सोध्छु म । साह्रै थाकेझैँ मेरै छेवैमा फ्यात्त बसेर भन्छिन् ।
“तपाईँ स्कुलको हेडसरको कान्छो छोरा उमङ्ग, तपाईँकी दुई दिदी र एक बहिनी पनि छन् । जेठा दाजु मलेसिया जानुभएको छ । बुबा हाल अवकाश जीवन बिताउँदै हुनुहुन्छ ठिक हैन त ?”
अहो ! जन्म दिने बाबुले त जन्मकुण्डली बताउन सक्दैनन्, उनले त नालीबेली खोतलिन्, म कसरी उनलाई अपरिचित भनूँ र यात्राबाट छुट्टयाऊँ त्यसो त परिचित भनेर पनि भन्न सक्दिनँ । अवस्था त्यस्तै सृजना छ ।
“लौ माने वा तिमीलाई, मेरो त जन्मकुण्डली नै पो थाहा रैछ त अनि भन यति राति कहाँ गएर आएकी त्यो पनि एक्लै ?”
“सहर गएकी थिएँ बाटामा गाडी बिग्रेर ढिला भयो, साथी थिए नि उता पारि जाने उतै गए ।”
“बजारमै कसैकहाँ वास पनि त बस्न सक्थ्यौ नि, यति राति नदीमा डुबेर चिच्याउनुको कारण, के साँच्चै नदी तर्नै नसकेर हो त ?”
उनी फेरि हाँस्छिन् ।
“छिः तपाईँ त असाध्यै सोझो हुनुहुँदो रैछ । श्रावणको भेल त एक्लै तर्ने म चैतमा सुकेको नदी तर्न सकिनँ हुँली त, तपाईँलाई बोलाएकी नि मैले ।” उनी डाँडा गुन्जिने गरी हाँस्छिन् ।
जति जति उनी हाँस्दै जान्छिन् त्यति त्यति मलाई उनको सामीप्य मीठो न्यानो लागेको छ आभास, अँध्यारोलाई चिर्दै नियालेर अनुहार हेर्ने चेष्टा गर्छु एकदम धमिलो देखिन्छ मुहार तैपनि राम्री लाग्छ पूर्णिमाको जूनजस्ती । नाक ठोक्किने उकालोमा साथी भेट्दा खुसी नै छु म । नत्र हस्याङफस्याङ गर्दै एक्लै पो उक्लनुपर्थ्यो उकालो । कमसेकम मुख बोलाऊ त भेटेको छु ।
“जाऊँ होला अब त दश भाग उकालोमा दुई भाग पनि कटेको छैन उज्यालै होला जस्तो छ घर पुग्दा ।” उठेर बाटो लाग्दै भन्छु म ।
उनी पनि आङ तन्काउँदै पछि लाग्छिन्– “के भो त बल्ल-बल्ल घर फर्केको छोरा उज्यालोमा धितमरुन्जेल नियाल्नुहुन्छ झन् बुबाआमाले ।” च्याप्प समाउँछिन् पछाडिबाट हात, म रोकिन्छु हिँड्दाहिँड्दै ।
“के गरेकी तिमीले बाटो साँघुरो छ त्यसमाथिको अँध्यारो अलिकति गोडा चिप्लियो कि शरीर नदीमा, प्राण कता हो कता ?”
“तपाईँलाई जिउको त्यति मायाँ लाग्छ ?”
“जिउको मायाँ कसलाई लाग्दैन र ? माहुरी त आफूलाई बचाउने बहानामा सुरक्षा गर्ने निहुँमा मान्छेलाई खिलेर मर्छ भने म त मान्छे प्राणी जगत्कै सर्वश्रेष्ठ जात, अर्कालाई किन त्यसो भन्नु नि घुँडा-घुँडा पानीमा बगेर मर्छु भन्दै चिच्यायौ आफू ।”
“मैले पहिले नै भनिसकेँ तपाईँ हेर्दै चम्बु, बाठो भए पनि मूर्ख हुनुहुँदो रैछ । के म आफ्नो प्राण जोगाउनकै खातिर चिच्याएकी हुँला र ? के म त्यस्तो सारै डरपोक देखिन्छु हेर्दा नै ?” हिँड्दाहिँड्दै टक्क रोकिन्छिन् उनी अलि अगाडि नै पुगिसकेको छु म । चानुमानु नभएपछि फर्कन्छु पछाडि उनी बिचबाटोमै बस्छिन् थचक्क ।
“किन के भयो र बसेकी, बाटैमा ? घर जान मन छैन ? छैन भने म जान्छु तिमी यतैकतै ओडारमै बस । अँ ओडार त कहाँ पाउनु भिरको ठूलो ढुङ्गामुनि बस ।”
म हाँस्दै फर्कन्छु उनी भएतिर ।
“हेर्नुस् न आज बिहानदेखि मेरो मुखमा एक घुट्को पानीसम्म परेको छैन साह्रै थाकेकी छु । भोक, प्यास र थकानले गर्दा तपाईँ मलाई केही सहयोग गर्नुस् न बिन्ती छ, यी हेर्नुस् (अँध्यारोमा पनि हातले इसारा गर्दै) हात गोडा लल्याकलुलुक भएका छन् । पाइलै सर्दैन पटक्कै अगाडि, म कसरी हिडूँ ?”
“उफ्…. ! कहाँको घाँडो आइलाग्यो अँध्यारो रात सुनसान जङ्गलको ठाडो उकालो बाटो, तल तमोर नदीको सुसाइ, चरा मुसाको चालसम्म थाहा नपाइने यो ठाउँमा म कसरी तिमीलाई भोजनको व्यवस्था गरूँ ? फेरि सदा त यो बाटामा उक्लँदा झोलामा केही न केही च्यापेर आउँथे संयोग आजै रित्तै छु ।”
म फतफताउँछु उनीसामु बसेर अप्ठेरोमा फलेको फर्सीजस्तो हुन्छिन् उनी न टिप्न सक्छु न छोड्न नै ।
“ठिकै छ त तपाईँ खानाको व्यवस्था पनि गर्न सक्नु हुन्न, म तपाईँका लागि साँच्चै घाँडो भएकी भए जानुस् छोडेर, म यहीँ बसेर रात कटाउँछु । कति रात पो बाँकी होला र ?” घुर्कीसँगै सुकसुकाउँन थाल्छिन् उनी । समस्या समाधानको गतिलो बाटो नभएपछि दिनभरि बाँझो बारी जोतेर थाकेको गोरुको जस्तो लामो सुस्केरा तान्दै उनीसँगै थचक्क बस्छु म ।
“छैन तपाईँसँग कुनै विकल्प, यानि कि उपाय ? छिः कस्तो नामर्द, यहाँ एउटी भोकी प्यासी अशक्त महिला लखतरानमा बसेकी छे, उता तपाईँ भने कति ढुक्कले सुसेल्दै बस्न सक्नुभएको, हे भगवन् ! उपाय दिनुस् यी मर्द भनाउँदालाई ।” दुई हात जोडेर फर्किन्छिन् सप्तर्षितर्फ ।
“ओहो ! सप्तर्षि यतिमाथि आइसकेछन् अब धेरै छैन उज्यालो हुन, हिँड बिस्तारै अब एक डेड घण्टा हिँड्यौँ भने त घर आइहाल्छ म त्यहीँ खानाको प्रबन्ध मिलाइदिउँला ।”
बच्चालाई नानापापा दिन्छु भनेर फकाएजस्तो उनलाई फकाउन खोज्नु मेरो अथक प्रयास बालुवामा पानी पोखिँदाझैँ ओभानो बन्छ, थकाइ त मलाई पनि लागेको छ भोकले आच्छु आच्छु म पनि भएको छु तर भनूँ पो कसलाई यो जङ्गलको बाटामा ।
केही समय हामी दुवै मौनतामा लुकामारी खेल्छौँ । पर क्षितिजसम्म मौन संवादको धारा प्रवाह बग्छन् मसँग सवालका उद्वेगहरू नै लहरिन्छन् । मौनताले चिमोट्छ हामी दुवैलाई ऐयाआत्था बनाउँदै । सुसेलिरहन्छ बतास, चलमलाइरहन्छन् सल्लाका डाली । बाटाको दायाँबायाँ, तलमाथि नियाल्छु म सालको ठुटो बाघ र स्याल बनेर बसेको छ । कस्तो अचम्म मनले जे सम्झियो त्यही आकृति खडा भैदिन्छ अगाडि । सोचाइ, सम्झाइ र भोगाइ त्यसैले पनि पृथक् बनेको हुन सक्छ । सोचाइको खिचडी पकाएँ मैले मौनतालाई सापटी लिएर ।
“लागेन त तपाईँको कुनै उपाय ?”
एकाग्रतालाई भताभुङ्ग बनाउँदै बोल्छिन् उनी ।
“अहँ ! मेरो उपाय भन्नु यो उकालो काट्नु हो, तिमी पटक्कै पाइला चाल्दैनौ कसरी सम्भव छ यो ?”
“जाऊँ उसो भए ।”
स्फूर्तिसाथ जुरुक्क उठ्छिन् उनी र हातमा समातेर उठाउँछिन् मलाई पनि जुरुक्क ।
“ऊ हेर त्यो पल्लो डाँडामा मेरो साथीको घर छ, यहाँबाट तेर्सो तेर्सो त्यस्तै दश मिनेट पनि हिँड्नु पर्दैन आज त्यहीँ गएर बसौँ न ल, हुन्छ भन्नुस् न क्या, हुन्छ भन्नुस् ।”
उनी पाँच वर्षको अबोध बच्चाले झैँ मेरो दुवै हात समातेर उफ्रन थाल्छिन् । कसरी नाइँ भनूँ तर त्यहाँ त जङ्गल नै जङ्गल छ कसरी उसको साथीको घर भयो ? एक मन यसरी सोच्छु भने अर्को मन … भिरमा घर जागिरको सिलसिलामा गाउँ नफर्केको आठ दश वर्षै भयो म । त्यसको अवधिमा घाँस र पानीको सुविधा खोज्दै कोही बसाइ सरेर आयो होला तर बनाएर जग्गा अबादी गरी बस्नु पनि कम कठिनको कुरा होइन । उनको कुरामा विश्वास गरेर सहमति जनाउँदै लाग्छु म उनकै पछि-पछि ।
घुँडा-घुँडा आउने सिरु काँसलाई काइँयाले कपालको सिउँदो बनाएझैँ गोरेटो बनाउँदै उनी अघि लागिन् सल्लाका ससाना पोथ्रा पन्छाउँदै म त्यही गोरेटामा घाँसलाई समाउँदै छामछाम छुमछुमको तालमा उनकै पछि लाग्छु । हल्का ओरालोजस्तो कहिले उकालोजस्तो बाटो पार गर्दै अलिकति अगाडि बढेपछि बत्ती बलेको देखिन्छ ।
“ल हेर्नुस् आउनै लाग्यो हैन त ?”
उनी उत्साहित बन्दै छिटोछिटो हिँड्छिन् त्यो जङ्गलको भिरको बाटामा पनि, मानौँ त्यो कालोपत्रे गरेको सडक हो र उनी बर्सौँदेखि हिँडेकी छिन् त्यहाँ तर मलाई एउटा पाइला अगाडि बढाएपछि अर्को पाइला चाल्नै पाँच मिनेट लाग्छ । पहिला त खुट्टाले छाम्नुपऱ्यो खाल्टो छ कि डाँडा छ, ढुङ्गा छ कि काँडा छ बल्ल पाइला टेक्छु मचक्क । जे होस् उनी अगाडि बढेर पनि मलाई पर्खन्छिन् र फर्केर आई हात समातेर हिँड्न सहयोग गर्छिन् ।
नभन्दै हिँड्न सुरु गरेको थोरै मिनेटमा नै एउटा भव्य महलको कम्पाउन्डबाहिर पुग्छौँ हामी । बरन्डामा बलेको चहकिलो बत्तीको प्रज्वलित उज्यालोमा उनको सुन्दरता नियाल्छु म । आजसम्म जीवनको मोडमा जति पनि केटी मान्छे देखेँ, भेटेँ सङ्गत गरेँ ती सबैभन्दा सुन्दर अति सुन्दर छिन् उनी । म उनको सौन्दर्यमा टोलाउँदा उनले गेट खोलिन् ।
“आउनुस् न भित्र मैले भनेको ठाउँ आइपुग्यो, के यो ठाउँ साँच्चै रमाइलो छैन र ?” मुसुक्क मुस्काइन् उनी ।
उनको त्यो मुस्कानमा अँगालोभरिको मादकता ह्वात्त छचल्किन्छ ।
मेरो गाउँ, जहाँ मैले चौध वसन्त पार गरी त्यहाँका ढुङ्गा, माटो वन बुटो, खोलानालासँग सम्झौता गरेको हुँ, मितेरी गाँसेको हुँ त्यही ठाउँजस्तो लाग्छ जहाँबाट दसैँतिहारका लागि भनेर प्रत्येक दिन घाँसका भारी-भारी ओसार्थ्यौँ, दाउराका बिटा ओसार्थ्यौँ, बाँदर लड्ने भिरमा यस्तो भव्य ऐसानी महल कसरी कसले बनायो महल कुनै राजमहलभन्दा कम छैन, कहाँ नारायणहिटी दरबारभन्दा चौगुना शोभायमान भवन, यस्तो त मैले हिन्दी सिरियल र अङ्ग्रेजी सिरियलमा मात्र हेरेको छु । जहाँसम्म लाग्छ काठमाडौँमा यस्तो घर देखेको छैन आठ बर्से बसाइमा ।
ढोकाहरू सबै खुल्ला, मगमग फूलको वासना, भुईँमा आँखा तिरमिराउने सुन्दर मार्बलमाथि बिछ्याइएको गलैँचा, घरका भित्ताहरू सबै टहटह जूनको झैँ चमक यस्तो लाग्छ घर स्वयं चन्द्रलोक हो । हामी भित्र पस्दै गर्दा म सोध्छु उनलाई–
“खै त तिम्रा साथीका परिवार अनि साथी ? यत्रो घरमा कतै चानुमानु छैन ।”
उनी एकदम अट्टहासको हाँसो हाँस्छिन् । एउटा कोठाभित्र पसेर सुन्दर सोफामा बस्दै– कोही छैन यो घरमा तपाईँ र म मात्र छौँ ।”
जुरुक्क उठेर हात समाउँछिन् र मलाई पनि सोफामा राख्छिन् । आफ्नो कपडाको मैलो सर्ला भन्ने पिरले हल्कासँग बस्छु म ।
“तपाईँ एकछिन यहीँ बसेर आराम गर्नुस् । म खानाको बन्दोबस्त गर्छु ।” यति भनेर मीठो मुस्कानका साथ उनी पर्दापछाडि बिलाउँछिन् । म शङ्का, हर्ष, उन्मादले एकैपटक आन्दोलित बन्छु । घरको सजावट वर्णन गरी साध्य छैन । विवाहको मण्डपझैँ सजिएको कोठा, विलासिताका सामानले पूरै भरिएको छ प्रत्येक सामानलाई नियाल्छु नेपालका पक्कै होइन बनावट हेर्दा त्यस्तै लाग्छ । हेर्दा हेर्दै आँखा तिरमिराउने, ऐनामा प्रकाशको छाया पारेर हेर्दाको जस्तो चक्कर लाग्ने चम्काइ एक अदभुत रहस्यमय बनावट ।
महँगो सजावटी सामानको अँगालैअँगालोभित्र लुटपुटिएँ, छोपिएँ र हराएँ म । अत्तरबाट निस्केको हावाले चाटिरह्यो मलाई मुटुको कुना-कुनामा, घरको भित्ता र भित्तामा जडित सामग्रीले इन्द्रेणी त्यहीँ ओर्लियो । नदी, ताल र झरना भित्र हुल्यो अनि भित्रायो जून तारालाई । म जति जति कोठाको अवलोकन गर्दै जान्थेँ उति मन्द-मन्द मात चढ्दै जान थाल्यो रौँमा मदिरा सेवन गरेजस्तो । पानी परेर खुलेको आकाशमा सूर्य मैमत्ता भएर हाँसेजस्तो उन्मादी मुस्कान ओठबाट बर्रर्र पर्रा छुटाउँदै उनी रेसमी पर्दा पन्छाएर कोठामा देखा पर्छिन् ।
“तपार्इँलाई एक्लै बस्दा बोर त लागेन है ?”
चाँदीको टुक्राजस्तो मोहक रुमालले हात पुस्तै बोल्छिन् उनी । म नाजबाफ उनको सुन्दरतालाई घटघटी पिउँदै छु आफ्नै मनोमानीमा ।
“छिः कसरी काँचै चपाउँलाजस्तो हेरिबस्नुभएको तपाईँ त, जाऊँ भित्र मैले खाना बनाएँ मात्र हामी दुईका लागि ।”
को हुन् उनी अनि को हुँ म ‘हामी’ दुई अक्षरले खुव रोमाञ्चित बन्छु म । साथमा लाग्छु उनकै पछि अर्को कोठामा ।
डाइनिङ टेबलमा चौरासी व्यञ्जन हामीलाई नै पर्खँदै छन्, हामी दुई आमनेसामने गरी बस्छौँ टेबलमा । खानाको परिकारमाथि दृष्टि लगाउँदै खलखल पसिना छुट्छ मलाई त्यहाँ मैले खाना खानुभन्दा खानाले चपाउन थाल्छ टुक्रा-टुक्रा बनाउँदै ।
“तिमीले कति छिटो बनाएकी यी सब ।” म संवादको शृङ्खला अगाडि बढाउँछु ।
“अनि के त यी सब मात्र नमुना हुन् तपाईँ मसँग नजिकिँदै जानुस् न कस्तो कस्तो खाना खुवाउँछु म ?” छड्के आँखा झिमिक्क बनाउँदै बोल्छिन् उनी ।
उनको भनाइको अर्थ बुझ्न सकिनँ, दिमाग घुम्छ फुइँफुइँ तर पनि तारेको माछा चपाउन भने छाड्दिनँ म । जे खायो त्यही असाध्यै स्वादिलो पेट भरिन्छ, मन भरिन्न पटक्कै । जीवनमै पहिलो पटक यस्ता खानेकुरा खान पाउँदा म श्वासले ननिल्ने कुरै भएन । अन्तमा, उनले फ्रिजबाट बियर ल्याएर टेबलको गिलासमा खन्याइन् । हामी दुवै चियर्स भन्दै पिउन थाल्छौँ ।
थोरै पिउन नपाउँदै झुमझुम बन्छु म । बसेको कुर्सीबाट उठ्न हम्मे-हम्मे पर्छ मलाई, आफ्नै दाइने हातको टेको दिएर खुब होसियारी साथ ओछ्यानमा पुऱ्याउँछिन् उनी । जुत्ता मोजा खोलिदिएकी, सर्ट पाइन्ट फुकाली दिएकी कता कताको धमिलो दृश्य हेरिबस्छु म । आधा सपनाजस्तो अनि आधा बिपनाजस्तो । कोठाको प्रकाश अझ धमिलो हुँदै छ आफूले लगाएको साडी र ब्लाउज खोलेर मसँगै पलङमा पल्टेको देख्छु उनी पनि । थाहा छैन उनका हातहरू मेरो शरीरको कुन-कुन अङ्गसम्म स्पर्श गर्न पुग्छन् मलाई अझैँ अनौठो आनन्द उत्पन्न हुन्छ शरीरभरि तरङ्ग फैलिएर, उनी टाँसिन्छिन् मसँग लपक्क लिसो टाँसिएझैँ त्यसपछि… ।
“उमङ्ग ! बाबु ए उमङ्ग बाबु ।” कसैले घचघच्यााउँदै बोलाएको आवाजले झल्याँस्स हुन्छु म । बिस्तारै आँखा खोल्छु वारिपारि डोको बोकेका घाँसेहरू झुम्मेर मलाई पो घेर्दै रैछन् । माथि घरे कान्छी आमा निधार छाम्दै बोल्नुहुन्छ,
“के भयो छोरा ? यो भिरको फेदीमा खोलाको ढाँडमा किन यसरी सुतेको ।”
उहाँको भनाइले आँखा माड्दै जुरुक्क उठ्छु लौ नभन्दै म त दायाँबायाँ सल्लाघारी, माथि नाक ठोक्किने भिर छेवैमा चिसो हावा ओकल्दै बगेकी तमोर नदी, अचम्म यस्तो ठाउँमा पो सुतेको रैछु ।
खै त हिजो नदीमा भेटेकी महिला ? अनि त्यो भव्यमहल, चौरासी व्यञ्जन, पेट छाम्छु भोकले आन्द्रा बाउँडिएर कुइँय गर्छ । म त नाङ्गै सुतेको थिएँ एकपटक लाज र सरमले पानी पानी बनेर नियाल्छु आफूले आफूलाई नै, शरीरमा कपडा जुत्ता ठाउँको ठाउँमा नै छ । गाउँका घाँसे महिलाहरू टुलुटुलु हेरिबस्छन् मलाई नै । म के जबाफ दिऊँ के भन्न सक्छु र जुन कुरा मेरो जीवनमा हिजो बेलुका घट्यो यो सब उनीहरूले पत्याउने पनि छैनन् । आफूलाई सहज बनाउने प्रयासमा काकी, ठूलीआमालाई हेर्दै बोल्छु म–
“उकालो चढदै थिएँ साह्रै थकाइ लाग्यो र यता आएर यसो पल्टेको उज्यालो भैसकेछ । हजुरहरू घाँस काट्न थाल्नुस् म लागेँ घरतिर ।” उठेर कपडा मिलाउँदै लाग्छु उकालो बाटैबाटो घरतर्फ ।
मन एक तमास सतहझैँ बन्दै जान्छ, स्तब्ध रहन्छ सोचाइ, बिहानीको कलिलो शिशु किरण लतपत पोत्दै छ डाँडा, पाखा र बुट्यानलाई, घामको मायालु स्पर्शमा हेलिएर सुस्त-सुस्त बहन्छ हावा, बयली खेलाउँदै रूखका हाँगाहरू । यस्तो लाग्छ राति मेरो जीवनमा घटेको घटनासँग अपरिचित छैनन् उनीहरू । त्यसैले पनि मलाई अप्ठेरो लाग्छ उनीहरूसामु आफूलाई प्रस्तुत गर्नमा ।
सोचाइको हिमशृङ्खलामा पालैपालो हिउँ बर्सिएझैँ थप्प-थप्प खस्छ मानसपटलमा, कति राम्री थिई ऊ, उसको हँसाइमा सारङ्गीको धुन गुन्जने थियो, बोलाइमा पियानो, हेराइमा त झन जहर नै पो घोलिने यस्ती आइमाई देखिन आजसम्मको जीवनभोगाइमा । त्यो वनको खोँचमा कहाँ गयो भव्यमहल, यस्तो अनौठो घटना मलाई नै किन आइलाग्यो भावनाको छालले निथ्रुक्क भिजाउँदा उकालो कटेर घर आएको पत्तै भएन मलाई ।
आँगनमा खामोझैँ ठिङ्ग उभिएको देख्दा बहिनी खुसीले पुलकित भै छाँद हाल्न आउँछे र पो मलाई आफू घर पुगेको आभास हुन्छ ।
“म त भन्दै थिएँ आज भोलि नै मेरो छोरा आउँछ, हजुरले नपत्याउनुभएको हैन देख्नुभो त ।” हातमा पूजाको थाली समातेर दैलोबाट बोल्नुहुन्छ आमा । उहाँको ममत्व पोखिन्छ शब्दबाटै ।
“ल त तेरै कुराको जित, जा कान्छी एक गिलास दूध तताइदे दाजुलाई, उकालो बाटो थाकेर आ’छ ।” हुक्कामा नली लाएर टर्र टर्र तमाखु तानेर बुङ्ग धुवाँ उडाउँदै बोल्नुहुन्छ बुबा । बहिनी बुबाको वचन भुईँमा झर्न नपाउँदै तुफान बनेर घरभित्र भित्रिन्छे । म फलैँजामा झोला फ्यात्त फालेर त्यहीँ पल्टन्छु ।
“थाकिस् बाबु, के गर्नु यो पाखो जग्गा, दुर्गम ठाउँ । सबै ठाउँमा विकास पुग्छ, बाटोघाटो पुल कुलेसा बन्छन् हाम्रो यो ठाउँमा भने विकासको विसम्म अनुभव गर्न पाएनौँ हामीले, न मोटरबाटो देख्न पाएँ न बिजुली बाल्न नै यसो सहर जानु आउनु र सदरमुकाममा नै जान परे पनि नाक ठोक्किने उकालो पार गर्नैपर्छ जुनै शासन आए पनि जो सुकैले सत्ता लिए पनि हामीलाई के न के ।”
लामो सुस्केरामा बुबा आफ्नै सुरमा गुनगुनाउनुहुन्छ मेरो ध्यान भने उहाँको गुनगुनाइभन्दा राति आफूले भोगेकै घटनामा केन्द्रित रहन्छ । बडो अजिबको अखण्ड भोगाइ भयो त्यो । अँ साँच्ची उनले गा.वि.स. सचिवकी छोरी छायादेवी भनेकी थिइन् । भएन म छायालाई भेट्न उनकै घर जान्छु । मनले मनसँग योजना बनाइरहेकै बेला नानीले एक गिलास दूध ल्याएर अगाडि राखिदिन्छे र शरीरको पसिना पनि ओभायो अब त फलैँजाबाट जुरुक्क उठेर तातो तातो दूध घटघट पिउँछु र लाग्छु गाउँकै साथी हेमकहाँ ।
खाल्टाको कम्पोस्ट मल कोदालीले फर्काउँदै छ हेम घरपछाडि । उसलाई त्यहाँ देखेर सिधै घरमा नगई ऊ भएको ठाउँमै जान्छु । मलाई देखेपछि बहुत खुसी हुन्छ हेम ।
“के हो यार सहर पसेपछि गाउँ र गाउँका साथीभाइलाई चटक्कै बिर्सने, आज कताबाट याद आयो नि मेरो तँलाई ?” मलखाल्टाको डिलमा कोदाली ओछ्याएर बस्दै बोल्छ ऊ ।
“ल ल तैँले जे भने पनि तेरो भन्ने पालो आफ्नो सुन्ने पालो, हैन सबै जना मेरो विवशता चाहिँ किन बुझ्दैनन् आउँदाआउँदै पसिना नओभाई आउँछु आफू ऊ त्यसो भन्छ ।”
म पनि मुन्टो बटारेर जबाफ दिन्छु ।
“भैगो भैगो चित्त नदुखा ल भन सहरको हालचाल, तेरो जागिरे जीवन कसरी बित्दै छ ?”
केही बेर हाम्रो यस्तै सवाल जबाफ, घोचपेच चल्छ । त्यहीँ दुई कप चिया लिएर एउटी अपरिचित महिला आउँछिन् ।
“चन्दु ! यही त हो मेरो फटाहा साथी उमङ्ग, साला स्वार्थी मतलबी ।”
यसरी परिचय गराउँछ ती महिलासँग हेमले । मलाई उनी दुई हात जोडेर नमस्कार गर्छिन् ।
“बुझिस् उमङ्ग मैले बिहे गरे नि यी मेरी श्रीमती चन्दु ।”
“ए उहाँ भाउजू पो ल बधाई छ तँलाई ।”
उनी लाजले रातो बन्दै धोतीको सप्को स्याहार्दै भित्र पस्छिन् । फेरि हाम्रो वार्तालाप सुरु हुन्छ ।
“साँच्ची हेम म तँलाई एउटा कुरा सोध्छु ।”
यसरी विषय प्रवेशतिर लाग्छु म, “गा.वि.स. सचिव अमरनाथकी छोरी छाया कता छिन् अचेल ?”
मेरो कुरा सुनेर ट्वाल्ल पर्छ हेम । “हैन तैले थाहा पाएको छैनस् र ?”
“के कुरा ?” उत्तेजित बन्दै सोध्छु म ।
“ऊ क्या त छायाको सहरकै केटासँग मायाँ बसेको रैछ । अमरनाथ बूढाले पल्लो गाउँको श्रीनाथ काकाको छोरासँग विवाहको कुरा छिने त्यसपछि बिचरी खहरेको भिरबाट खसेर मरी ।”
“के रे छायादेवी मरिसकी रे ?”
“अनि के त एक वर्ष भैसक्यो ऊ मरेको बूढा अहिले पश्चात्तापले गलेका छन् । जवान छोरीको डोली सजाउने बेला लास उठाउनुपर्दा ।”
म हेमको कुराले छटपटिन्छु । बसेकै ठाउँमा लगलग काम्छ शरीर । डर लाग्छ भित्रभित्रै त्यही खहरेको भिरको फेदी, तमोर नदीको किनारमा त हो नि उसले मलाई लगेकी । के यस्तो पनि हुन्छ मरेको मान्छे कसरी जीवित भएर खोलादेखि मसँगै सवाल गर्दै आई, नाइँ यो हुन सक्दैन, फेरि त्यो महल, ऊसँग बिताएको रात, खलखल पसिना छुट्छ । चारैतिर अँध्यारो देख्छु, मेरो वाक्य बसेर किलकिलीझैँ अन्तरकुन्तर घुम्छ फुइफुइ । हेम उठेर मलको चपरी फ्याक्न थाल्छ धमाधम, म भने चारैतिर अँध्यारो छाएको वातावरणमा सोचिरहन्छु रातिको घटना, छाया, भव्य महलसँगै एउटै पलङ्गमा पल्टेको र रात बिताएको अनि ऊ मरिसकेको कुरा … । विश्वास र अविश्वासको धुवाँले निल्न खोज्छ मलाई आफू भित्रभित्रै … ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।