साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा- सफलता

सबिकसित क्षमायाचना गर्दै धन्यवाद टक्राउन भनि उसले सबिकलाई यताउता खोज्यो । बाहिर सबै ठाउँ हेऱ्यो तर कतै नभेटेकाले ऊ वार्डमा पुग्यो । एउटी नर्सले "प्रवीण तपाईँ हुनुहुन्छ? यो चिट्ठी तपाईँको लिनुहोस्" भनि उसको हातमा थमाएर गइन् ।

ratna book ads

अपरेसन थिएटरबाट बाहिर निस्केपछि डा.भारतीले मुखको माक्स खौल्दै -“पेसेन्टको गार्जियन को हुनुहुन्छ ? मसित च्याम्बरमा आउनुहोस्” भनेर सरासर आफ्नो च्याम्बरमा पसे । च्याम्बरको बाहिरपट्टि भित्तामा टाँगिएको एउटा नेमप्लेटमा अङ्ग्रेजीमा आकर्षक अक्षरले लेखिएको थियो- Dr G.S.Bharati, M.B.B.S(KOL) M.S(LONDON), SDMO-Mal Sub-Divissional Hospital.

बलि दिन लगिएको बोकाझैँ सबिक डाक्टरको पछि-पछि लाग्यो उनको च्याम्बरतिर । भित्र डाक्टरले मलाई के भन्ने हुन्‌ भन्ने मनमा द्वन्द्व चलिरहेको थियो । डाक्टरले टेबलअघि एउटा चेयरमा बस्ने इसारा गर्दै गम्भीर मुद्रामा भने- “पेसेन्ट तपाईँको को हो? तपाईँ बिहानैदेखि खुब खट्नुहुँदै छ । अरू कसैलाई देखिनँ । ”

मदन खड्का (डुवर्स)

उनको यो प्रश्नले सबिक केही असामञ्जस्यमा परे पनि सम्हालिँदै बोल्यो-

“यसै त पेसेन्टसित मेरो केही नाता छैन तर उसको हालत देखेर मैले मानवताको नाता सम्झेर खटेको हुँ सर । ”

डाक्टरले प्रसन्न मुद्रामा भने- “जे होस्, तपाईँको यस मानवताको कारण नै पेसेन्ट खतरादेखि बाहिर छ तर दाहिने हातको नर्भमा डाउट छ । उठेर बस्न सक्ने भएपछि हातको अल्ट्रासाउन्ड गर्नुपर्छ । र पेसेन्टको आफ्नो मान्छे नआउन्जेल तपाईँ कतै नगइदिनुहोला । अझै कतिपय औषधिहरू चाहिन्छ जो अस्पतालको स्टोकमा छैन र बाहिरबाट लिनुपर्छ । ”

“हुन्छ सर” भनेर सबिक डाक्टरलाई नमस्कार गरेर च्याम्बरबाट बाहिर निस्कियो । पेसेन्टको अवस्थामा निकै सुधार अनि अब डाक्टरबाटै जोखिम टरेको सुनेर उसले मनमनै सोच्यो “मैले गरेको सेवाले कसैको प्राणरक्षा भएको छ, यही नै मेरो सन्तुष्टि हो । ” उसले मनमनै इष्टदेवलाई सम्झियो अनि खुसी हुँदै सरासर सर्जिकल मेल वार्डतिर लाग्यो । त्यहाँ अन्य पेसेन्टका आफन्तहरू कहिले गेट खोलिने हो भनि समय पर्खेर बसेका थिए । त्यहाँ मेनगेटभित्रबाट एउटी अधबैँसे नर्सले सोधिन् -“भाइ, तपाईँ त एघार नम्बर बेड पेसेन्टको गार्जियन होइन ?”

सबिकले शिर हल्लाएर ‘हो’ भन्ने सङ्केत थियो । नर्सले एउटा चिट्ठा दिँदै भनिन्- “भाइ, यो दवाईहरू लिएर सोझै नर्सिङ ड्युटी च्याम्बरमा आउनुहोस् । ”

सबिक एक बेकारी युवक,त्यत्ति पर्याप्त रूपियाँ उसित थिएन । क्रमशः उसको खल्ती रित्तिँदै जान थालेकाले ऊ चिन्तित पनि थियो । नर्सले दिएको चिट्ठा लिएर ऊ सरासर अस्पतालबाहिरको सुलभ औषधालबाट औषधि लिएर नर्सिङ ड्युटी च्याम्बरमा पुग्यो । एउटी नर्सले उसलाई भनिन् भाइको नाम, मोबाइल नम्बर र ठेगाना लेखाउनुहोस् है त्यहाँ । नर्सहरू आआफ्ना काममा व्यस्त थिए । रोगीहरूलाई हेर्न आउनेहरूको घुइँचो थियो । मेलवार्डमा रोगीहरूको जाँच गर्दै थिए डाक्टरले । एउटा रोगीको मृत्यु भएछ र उसलाई स्याहारसुसार गर्न बसेकी एउटी युवती (सायद छोरी चैँ होलि) को कोलाहलले केही क्षण त्यहाँ नरमाइलो वातावरण सृष्टि भयो । कोही अलमलिएर कता हो फिमेल वार्ड” भन्दै थिए । त्यही भिडलाई चिर्दै अस्पतालका रोगीहरूलाई वितरण गरिने खाना ल्याउँदै थिए एउटा चारचक्के ठेलामा । ठेला गुडेको विकट शब्दले नर्सले सबिकलाई एक क्षण पर्खने इसारा गरिन् । केही क्षणमा ठेला गुडेको शब्द टाढिएपछि एउटी ड्युटी नर्सले रेजिस्टर खोल्दै सेधिन् –

“तपाईँको नाम?”

“सबिक ढुङ्गाना । ”

उसले छोटो उत्तर दियो ।

“पुरा ठेगाना भन्नुहोस् । ”

नर्सले ऊतिर नहेरी भनिन् ।

“मिनग्लास टि.जी, हुलाक- साइलीहाट

जिल्ला- जलपाईगढी” ,सबिकले भन्यो ।

अन्तमा नर्सले भन्दै थिइन्- “यहाँ मोबाइल नम्बर र सही गर्नुहोस् । ”

सबिकको आज महत्त्वपूर्ण दिन, आज म यति बेला जलपाईगढीको पिडी उमेन कलेजको एसएससी परीक्षा कक्षमा हुनुपर्ने तर मानवताको नाताले मालबजार महकुमा अस्पतालमा छु, भन्ने कुरा सम्झेर एकोहोरो भित्ताको क्यालेन्डरमा हेरिरहेको थियो । नर्सले उसलाई कोट्याएर मुस्काउँदै भनिन्- “भाइ त कुन दुनियाँमा पुग्नुभयो हौ? यहाँ सही गर्नुहोस् अनि मोबाइल नम्बर लेख्नुहोस् । ”

नर्सको च्याम्बरबाट निस्केर ऊ बाहिर एउटा मिष्टान्न पसलतिर गयो । पसलभित्र पस्दापस्दै कसैले पछिल्तिरबाट उसलाई “सबिक” भनेर बोलायो । पछि फर्केर हेऱ्यो उसले । उसैको सहपाठी प्रवीण रहेछ । दुवै गुरुबथानस्थित युद्धवीर उच्चतर माध्यमिक विद्यालयका सहपाठी थिए । खुबै मन मिल्ने दुवैको । प्रवीण प्रशस्त जग्गा जमिनवालाको छोरा हुनाले बाह्रौँ उतीर्ण भएपछि कोलकात्ता पढ्न गएको थियो । सबिक रह्यो चियाकमानको साधारण श्रमिकको छोरो । उनका मातापिताको हैसियतअनुसार मालबजारको परिमल मित्र स्मृति महाविद्यालयमै पढेर स्नातक गऱ्यो । सबिक र प्रवीणको केही क्षण भलाकुसारी भएपछि प्रवीणले मिठाइको अर्डर दिँदै उसलाई सोध्यो-

“कोही एडमिट छन् कि?”

लामो सुस्केरा हाल्दै सबिकले आजको घटनाबारे भन्न थाल्यो- “हेर न प्रवीण,आज बिहान घरबाट म जलपाईगढी एसएससीको परीक्षा दिन निस्केँ । बाटामा न्युमाल ओभर ब्रिजछेउमा एउटा सडकदुर्घटना भएको रहेछ । एक जना युवक अधमरो अवस्थामा देखेँ । केही क्षण यताउता हेरेँ उसलाई उठाएर अस्पतालसम्म पुऱ्याउने कोही ननिस्केकाले मैले उठाएर अस्पताल ल्याएँ । यहाँ एडमिट गरेर जलपाईगढी जानुपऱ्यो भनेको थिएँ तर पेसेन्टको गार्जियन नभएकाले म जान सकिनँ । फोन गरिदिएको छु, सायद आउँदै होलान् । ”

सबिकको कुरा सुनेर प्रवीणले भन्यो-

“तिमीले ठूलो भूल गऱ्यौ, पेसेन्टलाई यहाँ एडमिट गरिराखेर परीक्षा दिन जानुपर्थो । अरू कोही थिएनन् उसलाई अस्पतालसम्म ल्याउने ? यस्तो महत्त्वपूर्ण परीक्षामा जसरी भए पनि जानैपर्ने थियो । तिमीले यो चैँ ब्लन्डर गऱ्यौ । ”

प्रवीणको कुरा सुनेर केही भावुक हुँदै सबिक बोल्यो-

“साथी, त्यस्तो परीक्षा दिन त फेरि पनि मौका आउँछ तर प्राण गएपछि फर्केर आउँदैन । यो मेरो सेवा खेर नजाओस्, बस् यतिमै म सन्तुष्ट छु । ”

सबिकले नाडीको घडी हेर्दै भन्यो- “मसित जाऊ न अब त उसको घरबाट कोही आए होलान् । ”

प्रविण मिठाइको पैसा चुकाएर साथीको पछि-पछि लाग्यो । भित्र मेलवार्डअघि पुगेपछि नर्सले भनिन्- “पेसेन्टको ड्रेसिङ हुँदै छ । ”

सबिकले नर्सलाई भन्यो- “सिस्टर, यिनी मेरा साथी हुन् र ड्रेसिङ सकेपछि एघार नम्बर बेड देखाइदिनुहोस् है । म एक क्षणमै आइहाल्छु । ”

सबिक बाहिरतिर लाग्यो । ड्युटीनर्सले पेसेन्टका निम्ति सबिकले आज बिहानदेखि खटेको कुरा वृत्तान्त सुनाइन् ।

निकै बेर भयो, सबिक आइपुगेन । प्रवीण छटपटाउन थाल्यो ।

“भाइ, एघारको ड्रेसिङ सकियो । जानुहोस् ऊ.. पर दाहिनेपट्टि छ । ”

हेर्दै जाँदा उसले एघार नम्बर बेड भेट्यो तर कसरी, के सम्बोधनले बोलाउने अपरिचित पेसेन्टलाई?”

नर्सलाई गुहारेपछि एउटी नर्सले बोलाइन् ।

“भाइ, यता फर्क त यहाँ तिमीलाई हेर्न को आउनुभा’को छ?”

पेसेन्ट फर्केपछि प्रवीण एकपटक त ज्ञानशून्य भयो । कारण त्यो पेसेन्ट उसको आफ्नै भाइ पो रहेछ । उसले भाइलाई सुमसुम्याउँदै भन्न थाल्यो- “भाइ, कसरी भयो यस्तो? कहाँ जाँदै थिइस् ?धन्न एक मानवतावादी मान्छेले भेटेछ र मात्र बाँचिस् । ”

प्रवीण हतारसाथ नर्सिङ ड्युटी च्याम्बरमा पुग्यो अनि सोध्यो- “सबिक आइपुगेन अहिलेसम्म?”

मनमनै ऊ सोच्न थाल्यो – ‘मानव रूपमा देउता रहेछ सबिक । मैले यस पेसेन्टको प्राणरक्षाका निम्ति गरेको सेवालाई मैले उसको भूल भनेँ । आज उसैको त्याग र सेवाले मैले भाइलाई जीवित देख्न सकेँ । हे प्रभो! यस्तो सेवा भावना सबैलाई दिनुहोस् ।

सबिकसित क्षमायाचना गर्दै धन्यवाद टक्राउन भनि उसले सबिकलाई यताउता खोज्यो । बाहिर सबै ठाउँ हेऱ्यो तर कतै नभेटेकाले ऊ वार्डमा पुग्यो । एउटी नर्सले “प्रवीण तपाईँ हुनुहुन्छ? यो चिट्ठी तपाईँको लिनुहोस्” भनि उसको हातमा थमाएर गइन् ।

प्रविण हत्तपत्त चिट्ठी खोलेर पढ्न थाल्यो-

“प्रिय साथी प्रवीण,

आज मैले एसएससीको महत्त्वपुर्ण परीक्षा दिन नसकेकोमा म दुःखी छैनँ । कारण एक पीडित व्यक्तिको प्राणरक्षा गर्न सकेकोमा म सन्तुष्ट छु । यही नै मेरो सफलता हो ।

इति

उही तिम्रो साथी

सबिक

प्रतिक्रिया
Loading...