साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा – लिभिङ टुगेदर

समयका समानान्तर रेखाहरूमा बग्दै जाँदा नौलो उच्छ्वासले रङ्गहरूको वर्षा गराउने गर्दछ । रङ्गको रौनक र जीवनको सौन्दर्यबिच सम्मिलन भएपछि नै हो, मानिसको समग्रताले पूणर्ता पाउने । जीवनको यात्रामा कतिपय यस्ता मोडहरूको सृजना हुन्छ, जसले गतिलाई धिमा मात्र बनाउँदैन, सोचको तलाउमा तैरिएर सोचमग्न बनाउने काम पनि गर्दछ ।

ratna book ads

उसको र मेरो चिनजान त्यही भूकम्पपछि मात्रै भएको हो । २०७२ सालको भूकम्पअघि पनि ऊ र म एउटै विभागमा काम गर्दथ्यौँ तर हाम्रो शाखा फरक-फरक थियो । ऊ टिकट व्यवस्थापन शाखामा, म प्रशासन शाखामा । हाम्रो विभाग दुई ओटा बिल्डिङमा थियो । यद्यपि उसको र मेरो शाखा एउटै बिल्डिङमा हुँदा पनि हाम्रो देखादेखा आक्कलझुक्कल हुन्थ्यो तर राम्ररी बोलचाल हुँदैनथ्यो । हाइहेल्लो मात्रै चल्थ्यो । भूकम्प गएपछि उसको र मेरो गफ हुन थाल्यो अर्थात् अफिसमा खालि भूकम्पका बारे मात्र चर्चा परिचर्चा हुन थाले । हामी तिनै चर्चाहरूको तरलमा बगेर तरलीकृत हुने गर्दथ्यौँ ।

हामी दुवैको घर पूर्व विराटनगर थियो । ऊ विराटनगर महानगरको बासिन्दा थियो भने म चाहिँ नाम मात्रै विराट् भएको विराटचोकको बासिन्दा थिएँ । भूकम्पको केन्द्रविन्दु गोरखा भएर होला, पूर्वतिर ठूलो धक्का नपरेर कम मात्रै क्षति भयो तर काठमाडौँमा क्षतिभन्दा पनि धेरै मानिसको सातो चाहिँ लगेको थियो । १२ गतेपछि सबैले बच्चालाई अफिसमा ल्याउन थालेका थिए । ऊ र म दुवै अविवाहित थियौँ । हामी अरू कर्मचारीले अफिसमा ल्याएका बच्चासँग दिनभरि गफ गर्थ्यौँ । बच्चासँग गफिनुको आनन्द अर्कै हुन्छ । हामी आफूले बिठ्याइँ गर्न छुटेका विगतका सुन्दर पलहरू सम्झेर फेरि एकपटक बच्चाजस्तै हुन्छौँ ।

कौशिक नवराज

ठूलो भूकम्प गएपछि पराकम्प जान्छ भन्थे । फलतः त्यस्तै भयो । वैशाख १२ को भूकम्पपछि २९ गते पराकम्प गयो । १२ गते शनिबार परेकाले अफिस लागेको थिएन । धेरै कम क्षति भएको थियो । अर्थ मन्त्रालयका केही कर्मचारीबाहेक कार्यालयमा अन्त खास क्षति भएको थिएन तर २९ गते हामी काम गरिरहेको समयमै भूकम्प गयो । हामी सबै चिच्याउँदै बाहिर निस्कियौँ ।

सबै जना बाहिर निस्किएर होहल्ला गर्न थाले । माथिल्लो तलामा भएकाहरू पनि गुरुरु दगुरेर बाहिर निस्किए । एउटी म्यामले सानो एलकेजी हो वा युकेजी पढ्ने बच्चा ल्याएकी थिइन् । बच्चा कम्प्युटरमा गेम खेल्दै रहेछ । उता म्याम बाथरुममा रहिछन् । बाथरुम भुईँतलामा थियो । उनी आँत्तिँदै निस्किन् । उनको बाबु झन् आँत्तिँदै दोस्रो तलाको छतबाट फाल हाल्न लाग्यो । सबै डराएर झन् कराउन थाले । सबै आत्तिएको देखेर त्यो सानो बच्चा झन् चिच्याउन थाल्यो । बच्चालाई सहयोग गर्ने भन्दा पनि चिच्याउनेको जमात ठूलो थियो । म्यामले मतिर पुलुक्क हेरिन् ।

उनको र मेरो आँखा जुध्यो । उनका आँखामा आँसु रसाइरहेका थिए । यो देखेर मलाई झन् सहिनसक्नुभयो । पाँच तले भवन पूरै हल्लिरहेको थियो । मलाई खै के जोस चल्यो कुन्नि म ‘बाबु’ भन्दै भर्‍याङबाट दौडिएँ । भवन हल्लिरहेको थियो । मैले बाबुलाई कुदाएर बाहिर ल्याएँ । यसरी आउँदा बीचैमा बच्चा वा भर्‍याङमा केही भएको भए मलाई झन् अप्ठेरो पर्ने थियो तर मैले यो सोचिनँ । म्यामको आँखामा टलपलाएको आँसुले मलाई खै कस्तो ऊर्जा दियो । मैले बच्चालाई बाहिर ल्याएपछि अघिसम्म चिच्याइरहेकाहरूले मलाई धन्यवाद दिन थाले । महानिर्देशक र निर्देशकले समेत धन्यवाद दिए ।

सही समयमा सही निणर्य लिनु जीवनको ठूलो उपलब्धि हो । आफूभित्रको आँट, साहस वा हिम्मतलाई समायानुकूल साँचोमा ढाल्न सक्नु नै महत्ताको परिचायक हो । सानै भए पनि ठिक समयमा ठिक काम गर्न सकेको भान मलाई भयो ।

हो, मेरो यही कार्यपछि ऊ अर्थात् रोचक पोखरेल र बिन्दास शर्माको बिचमा दोस्ती मजबुत भयो । त्यही दिन होला उसले मसँग फेसबुक आइडी माग्यो । मैले भनेँ, “बिन्दास शर्मा टाइप गर्नुस्, सायद कुनै म्युचुअल फ्रेन्ड हुन सक्छन् ।”

नभन्दै राजाराम पौडेल सर थिए हाम्रो म्युचुअल फ्रेन्ड । रोचकले मलाई तत्काल रिक्वेस्ट पठायो । मैले पनि तुरुन्त उसको रिक्वेस्ट एसेप्ट गरेँ । ऊ अब मेरो अफिसदेखि फेसबुकसम्मको साथी भएको थियो । उसले मलाई हरेकपटक भेट हुँदा सोधिरहन्थ्यो, “सर तपाईँलाई कसरी त्यस्तो आँट आयो ?”

प्रत्युत्तरमा मैले ‘म्याम रोएको देखेर’ कहिल्यै भनिनँ । किनकि, त्यसो भन्दा नेगेटिभ अर्थ लाग्न सक्थ्यो । मैले उसलाई बताउने गर्थेँ, “बच्चा रोइरहेको थियो तर यति धेरै पदमा भएका सक्षम मान्छेहरू बाहिर बसेर रमिता हेरिरहेकाले बच्चाको रुवाइले मन छोयो अनि जोस आयो ।”

उसले मेरो कुरा सहजै पत्याउने पनि गर्थ्यो । आपसी हार्दिकताको विनिमय हुन थाल्यो ।

अफिसमा गार्डहरू वा त्यो बच्चा जसलाई मैले रेस्क्यु गरेँ, उसले समेत मलाई ‘क्रिस फिल्मको स्पाइडरम्यान’ भन्न थालेका थिए । भलै मैले क्रिस मात्रै हेरेको थिएँ तर त्यसका धेरै सिरिजहरू आइसकेका रहेछन् । मलाई क्रिस भन्न थालेपछि मैले क्रिसका अरू फिल्महरू डाउनलोड गरेर हेरेको थिएँ । अफिसमा मेरो चर्चा यसरी चुलिएको थियो कि डिजीले पनि ‘सही मान्छेलाई मैले प्रशासनमा राखेछु’ भनेर एकदिन स्टाफ मिटिङमा पनि कुरा निकाले । डिजी र निर्देशक पोजेटिभ भए पनि मेरो आफ्नै हाकिम भने यति लोसे थियो कि आँखा पनि अलिक कम देख्थ्यो कि क्या हो, पूरै बाक्लो फ्रेमवाला बाहिरैबाट धेरै पावरको घेरा देखिने खालको चस्मा लगाउने गर्थ्यो । उसले शाखा अधिकृतमा नाम अलिक बुढेसकालमा निकालेको थियो अनि उपसचिव र सहसचिव दिन अब धेरै उमेर छैन अर्थात् ४५ वर्ष पुग्न धेरै समय बाँकी छैन भनेर ऊ बिदा बसेर उपसचिव र सहसचिवको तयारी गर्न लागेको थियो ।

ऊ यस्तो हाकिम थियो कि नमस्कार नगरेसम्म बोल्दा पनि बोल्दैन थियो । ऊ घर बसेको वा आफू नै बिदा लिएको किन नहोस्, उसलाई नमस्कार चाहिँ दिनैपर्ने हुन्थ्यो । ऊ बिदा लिएर पढ्न बसेका बेला शाखामा मैले हेर्थेँ । ऊ दिनको १२ बजेतिर फोन गर्थ्यो, “बिन्दासजी, के छ ?”

उसले यति भनेपछि ‘सर नमस्कार’ त भन्नैपर्थ्यो । नमस्कार फर्काएपछि उसले फेरि सोध्ने गर्थ्यो, “के चल्दै छ अफिसमा ?”

अरे यार, हिजोसम्म कुनै काम नभएको अफिसमा आज एक्कासि के चलोस् ? अनि चल्नलाई गाडी हो कि मन ? मनमा यो उत्तर भए पनि मैले भन्ने गर्थेँ, “ठिकै छ सर हजुर, खासै केही छैन ।”

अनि फेरि सोध्थ्यो, “डिजी सापले मलाई खोज्नुभएको त छैन होला नि ?”

बिदा लिएर घर बसेको कर्मचारीलाई किन डिजीले खोजोस् ? यो त्यसरी खोज्नलाई भन्सार हो वा वाणिज्य ? जहाँ ऊ नभए पूरै सेवाग्राहीको काम नै रोकियोस् । उसलाई यसरी जबाफ दिन मन लागे पनि उत्तर चाहिँ यसरी दिनुपर्थ्यो, “छैन सर हजुर, छैन ।”

यति भनेपछि फोन राख्नुअघि उसले भन्थ्यो, “केही पर्‍यो भने फोन गर्नुस् है ।”

घर बसेका बेला उसलाई अफिसको चिन्ता लागेर यसरी फोन गरेको हैन, उसलाई नमस्कार चाहिएर मात्रै फोन गरेको हो । यो कुरा म सहजै बुझ्न सक्थेँ ।

व्यक्तिपिच्छे स्वभाव फरक-फरक हुन्छ । फरक स्वभावसँग साक्षात्कार गरेर केहीका लागि प्रिय बन्नु पनि राम्रै कुरा रहेछ । सबैको प्रिय त यो दुनियाँमा को नै बन्न सक्छ र ? संसारमा बहुमान्य रेखागणितको धर्सालाई सबैले अङ्गीकार गरेका छन् । सर्वमान्य त धेरै परको कुरा हो । जुन असम्भवप्रायः छ ।

म पनि पढ्न पर्‍यो भनेर घर बस्दा उसले एघार बजेतिर नै फोन गर्दथ्यो । भन्ने गर्थ्यो, “के छ बिन्दासजी ?” सुरुमै म भन्ने गर्थेँ, “सर नमस्कार ।” उसले चाहेको आखिर यही हो । नमस्कार खाएपछि त फोन राखे हुने नि, ऊ कति न जान्ने जस्तो गरेर मलाई सोध्थ्यो, “पढाइ कस्तो चल्दै छ ? म प्रश्न सोधौँ ?”

कति ल्याङल्याङ गर्न सकेको होला । उसले पढेको र हामीले पढेको लोकसेवाको कोर्स चेन्ज भइसकेको थियो । उनीहरूले पुरानो कोर्स पढेका थिए तर हाम्रो पालामा जिके र आइक्युसहितका नयाँ कोर्सहरू थपिएका थिए । उसले नयाँ कोर्स देखेको पनि थिएन तर ल्याङल्याङ गरेर उसका पालाका देश र राजधानी सोधेर हैरान पार्दथ्यो । उसको खुबी भनेको यही नै थियो । उसलाई आफूभन्दा बाहिर अरूको पनि दृष्टिकोण छ भन्ने सायदै लाग्दैनथ्यो ।

०००

जसै दिनहरू सामान्य बन्दै गए, परिवर्तनका सिर्के सिरेटाहरू चलिरहे । ऊ, अर्थात् रोचक सरको सरुवा भूमिसुधार मन्त्रालयअन्तर्गत भयो । उसले मालपोत जाने उद्देश्यले सरुवा गर्न खोजेको रहेछ । भन्न त उसले भन्थ्यो, “अब म हुलाक सेवा विभागमा बस्दिनँ ।” नभन्दै उसको सरुवा भयो ।

उसको पदस्थापना भक्तपुर मालपोत कार्यालयमा भयो । म चाहिँ हुलाक सेवामा नै रहेँ किनकि मेरो मालपोत जाने पहुँच थिएन । ऊ मालपोत गएसँगै उसको र मेरो दूरी वा सम्बन्ध केही दिनका लागि बढ्न थाल्यो । ऊ बिजी भएर फोन कम हुन थाल्यो । हुन पनि हो, मालपोतमा कमाउन नै जाने हो । कमाउनलाई बिजी हुनैपर्छ । भट्टीमा गएपछि रक्सी नै खाने हो कसैले दूध खाएर आएँ भन्छ भने त्यो त केवल मान्छे हँसाउने कुरा मात्रै हुन्छ । खाएरै आएको भए पनि कसैले पत्याउँदैन अनि भट्टीमा गएर ‘दूध दिनुस् न साहुनी’ भन्यो भने उसले गालामा थप्पड खान सक्छ तर दूध पाउँदैन । मालपोतमा पनि यही सिद्धान्त लागु हुन्थ्यो ।

उसको सरुवा भएसँगै डिजीको पनि सञ्चार मन्त्रालयमा सरुवा भयो । डिजीले जाने बेला भनेका थिए, “मन्त्रालय आउने भए म सहयोग गर्छु ।”

काम गर्ने मान्छेलाई सबैले प्यार त गरिहाल्छन् । मैले पनि हुलाकमा भन्दा त मन्त्रालय राम्रो भन्ने सुनेको थिएँ । त्यसैले डिजीलाई नमस्कार गर्न गएँ । डिजी मन्त्रालयको प्रशासन महाशाखामा नै रहेछन् । उनले मलाई भने, “तत्काल सरुवा हुँदैन । सामान्यको सहमति लिनुपर्छ । सेड्युअलभन्दा बाहिरको सरुवाका लागि अहिले काज बस्दै गरेर काम गर्नुस् । हामी सहमति मागेर तपाईँलाई पदस्थापना गर्छौँ ।” सहसचिवका कुरा ठिकै लाग्यो र मैले निवेदन दिएँ । डिजीको निणर्यबमोजिम अब म मन्त्रालयको संस्थान समन्वय शाखामा बसेर काम गर्न थालेँ ।

करिब तीन महिनापछिको कुरा हो । एक दिन रोचक मेरो कार्यकक्षमा आइपुग्यो । यो बिचमा उसको र मेरो कुरा नभएको अनि हालखबर सोधखोज नगरेको पनि लामै समय भइसकेको रहेछ । ऊ सरप्राइज दिने सुरमा आएको रहेछ । उसको मालपोत कार्यालय डिल्लीबजार जो हुलाक सेवा विभागसँगै जोडिएको थियो । ऊ त्यहाँ सरुवा गरेर हाजिर पनि भइसकीवरी शाखा नतोकेकाले मलाई खाजा खुवाउन हुलाक सेवा विभागमा छिरेको रहेछ । मेरो सरुवा मन्त्रालयमा भएको भन्ने जानकारी लिएर ऊ यहाँ आएको रहेछ । उसको र मेरो दूरी अलिक कम भयो । हामी अब चाहँदा दैनिक भेट हुन सक्थ्यौँ अनि अफिस समयमा सँगै खाजा खान पनि सक्थ्यौँ ।

हाम्रो भेट भक्तपुर मालपोतमा भन्दा बढी हुन थालेको थियो । मालपोतमा कमाउन गएका हरेक कर्मचारीलाई पैसा कमाउन तरिका चाहिन्छ । त्यत्तिकै लक्ष्मीले वास गर्दिनन् । लक्ष्मी ल्याउन सरस्वतीको कला पनि जान्नुपर्छ भन्थे साथीहरू, हो रहेछ । हुलाकै हुँदा त चम्बु थियो रोचक अब मालपोत गएर त झन् चोरमाथिको चण्डाल भएछ । अर्थात् अरूको जस्तै उसले पनि काठमाडौँमा जग्गा अनि एउटा घरको सपना पाल्न थालेको रहेछ । भक्तपुरमा राम्रो शाखा नपाएर ऊ पावर लगाएर चार महिनाको अवधिमा नै डिल्लीबजार आएको रहेछ । डिल्लीबजार प्रमुख तीन मालपोतभित्र पर्दथ्यो । चावहिल, कलङ्की र डिल्लीबजारलाई राम्रो मानेर कर्मचारीहरू मन्त्रालय र विभागमा पावर, पैसाको एक्सरसाइज गरेर यिनै अड्डामा घुमिहरन्थे जसलाई चाकडी पनि भनिन्थ्यो ।

मालपोतमा तरिका जानेर मात्रै पैसा झर्दैन । त्यसका लागि इलिगल काम पनि गर्नुपर्छ र त्यो इलिगल काम साथीको सर्कल र लेखापढी व्यवसायी जो मालपोतका दलाल थिए, उनीहरूसँग मिल्नुपर्थ्यो । मिल्नका लागि चिया खाएर दोस्ती जम्दैनथ्यो । यसका लागि रक्सी र केटी चाहिन्थ्यो । जसले यी कुरामा सेटिङ मिलाउन सक्थ्यो, उसैले मालपोतमा राम्रो शाखा भेट्थ्यो र पैसा पनि राम्रो कमाउने गर्दथ्यो । यसबिचमा रोचक पनि यस्तो मामिलामा निकै अगाडि बढिसकेको रहेछ ।

एक दिन उसले मलाई भन्यो, “सर रक्सी खान जाऔँ ।”

मैले पनि मन्त्रालयमा विभिन्न संस्थानका वार्षिक कार्यक्रमदेखि एनसेल र टेलिभिनजका वार्षिक उत्सवमा जाँदा नै रक्सी खान सिकिसकेको थिएँ । मैले उसलाई मेरो एरियामा अर्थात् मैतीदेवीमा आउन भनेँ तर उसले कीर्तिपुरको नयाँ खुलेको नेवारी रेस्टुरेन्ट बोलायो । गाडी नै लिएर चार बजेतिर सिंहदरबारको पूर्वी गेटमा लिन आयो । गाडीमा ऊबाहेक चालक सिटमा अर्को अलिक मोटो र हामीभन्दा अलिक एजेट मानिस थियो । उसका कुरा गराइबाटै थाहा भयो कि लेखापढी व्यवसायी अर्थात् दलाल रहेछ । दलाल चिन्न धेरै दुःख गर्न वा दिमाग खियाउन पर्दैनथ्यो । उसका पावर, पैसा अनि अन्य कुराबाट नै थाहा हुन्थ्यो ।

कीर्तिपुरको लहना रेस्टुरेन्टमा रोचक र मेरा भन्दा पनि दलालका गफ चकित भएर सुन्ने अनि ओ माइ गड भनेर हाँस्नेबाहेक अरू केही भएन । दलालका कुरा सुनेर यस्तो लाग्यो कि हामीलाई दुःख गरेर बाउआमाले व्यर्थै पढाएछन् अनि हामीले मेहनत गरेर ल्याएको फस्ट डिभिजन पनि बेकार रहेछ । देशको सेवा गर्ने सरकारको जागिर खाएको त बेकार नै भएछ । बरु दलाल भएको भए सबै ठिक हुने रहेछ जस्तो पो बनायो । दलालको कुरा सुन्दा यस्तो लाग्थ्यो, यो देश उनीहरूले नै चलाइरहेको छ । खालि मन्त्री र नेता भेटेको भनेर पावर सोबाहेकका कुरै गर्दैनथ्यो ।

हामीलाई नेममा पढाउँदा एक जना सरले भनेका थिए, “स्कुल पढ्दा पहिलो बेन्चमा बस्ने, फस्ट डिभिजन ल्याउनेहरू प्राविधिक विषय पढ्छन् अनि डाक्टर इन्जिनियर बन्छन् । पढेका धेरै कम मात्रले नेपालमा सरकारी जागिर खान्छन्, बाँकी सबै विदेश जान्छन् अनि आफूले जानेका सिप बेचेर पैसा पनि कमाउँछन् । उता त्यो देशले पनि विकासमा फड्को मार्छ, दोस्रो बेन्चर अर्थात् दोस्रो हुनेहरू मानविकी, शिक्षा अनि व्यवस्थापन पढ्छन् । सरकारी जागिरदेखि शिक्षक तथा बैङ्करहरू हुन्छन् । जसले पहिलो बेन्चर अर्थात् पहिलो हुनेहरूलाई घुमाउँछन् । हुन पनि हो, निजामती सेवाको सङ्गठन संरचना अनि जिम्मेवारी हेर्दा त्यस्तै लाग्छ । प्राविधिक उपर प्रशासनको नियन्त्रण छ । तेस्रो हुनेहरू पत्रकारितादेखि समाजसेवाका नाममा नागरिक समाजमा लाग्छन् जसले पहिलो र दोस्रो दुवैलाई कन्ट्रोल र खबरदारी गर्दै उस्तै परे पत्रकारले बार्गेनिङ गरेर कमाउने गरेको पनि देखिन्छ । चौथो र पाँचौँ अझ भनौँ लास्ट बेन्चमा बस्नेहरू चाहिँ राजनीति एवम् व्यापारदेखि गुन्डा जो स्कुल पढ्दा पछाडि बसेर अगाडि बस्नेको ढाडमा डटपेनले कोरिदिने, कागजको पुच्छर लगाइदिने अनि केटी जिस्काउने अनि कहिल्यै होमवर्क नगर्नेहरू देशका नेता, मन्त्री, सांसद बन्छन् । जसलाई हजुर माननीयज्यू भन्दै कर्मचारीहरू उनीहरूले बनाएको नियममा चल्नैपर्‍यो । नेताहरूले पनि चुनावी प्रयोजन र अनेक बहानामा गुन्डा पालेका हुन्छन्, जसलाई उनीहरूले नियन्त्रणमा लिन सक्ने अवस्था नै देखिँदैन ।”

आज स्कुल पढ्दा लास्ट बेन्चमा बसेर हल्ला गर्ने कहिल्यै होमवर्क नगर्ने दलाल लोकसेवा भिडेर पास भएका कर्मचारीहरूलाई केटी र दारुको प्रभाव अनि नेताको दवाव देखाउँदै पूरै आफ्नो पकडमा राख्न खोजिरहेछ अनि रोचकजस्ता कर्मचारीहरू पनि पैसाका नाममा यस्ताका तलुवा चाट्न थालिसकेछन् । “हैन है बिन्दासजी, कहाँ हराउनुभयो ? खै यार अलिकति थपिदियौँ ।” यति भन्दै सधैँ सर भनेर सम्बोधन गर्ने रोचक आज जी भन्ने हैसियतमा पुगेछ । ठिकै छ जाँडको तालमा बोलिहाल्यो अनि जी नै भनेको हो …जी त हैन नि । मैले उसको हात हटाउन खोज्दै भनेँ, “भयो सर भयो । एकैपटक धेरै हाल्नु हुँदैन । थप्दै जाउँला ।”

हामीलाई नशा चढ्दै गयो । यो सिङ्गो संसारको महान् प्राणी हामी मात्रै हौँ जस्तो लाग्न थाल्यो । नौ बजिसकेछ । वेटर आएर हामीलाई रिक्वेस्ट गर्दै भन्यो, “सर हजुरहरू कति बजे निस्कने ? हाम्रो त दश बजेसम्म मात्रै हो, नगरपालिकाले नियम तोकेको छ ।”

दलाल अघि सरेर बोल्यो, “तेरो मालिक को हो ? बोला ।”

वेटरले भन्यो, “हजुर सर उहाँ त बिजी हुनुहुन्छ ।”

दलालले फेरि हकार्दै भन्यो, “अरे यार, विक्रमले बोलाउँदा बिजी भनेर हुन्छ ?  जा विक्रमजीले बोलाएको छ भन् ।”

एकछिनमा नेवारी भाषामा फोनमा कुरा गर्दै एउटा अधबैँसे मान्छेभित्र छिर्‍यो । उसलाई सङ्केत गर्दै दलालले भन्यो, “के हो साहुजी, खान पनि नदिने ? के यो सबै फालेर हिँडौँ ?” दलालको कुरा सुनेर साहुले सम्झाउने कोसिस गर्दै भन्यो, “हैन हजुर, भएको त सक्नुहोला न । म केटाहरूलाई भन्दिन्छु ।”

रातको सुस्तरी बतासले वातावरण मोहक हुँदै थियो । हामीले पूरै खाएर उठ्दा सवा दश भइसकेको थियो । होटलबाट सबैभन्दा पछि निस्कने गेस्ट हामी नै थियौँ । पिएर यति फिटान भएका थियौँ कि हामी रोडमा आउन नै हम्मेहम्मे पर्‍यो । हामीले बाथरुम नहेरी रुखको फेदमा मजाले लहरै उभिएर पिसाब फेर्‍यौँ ।

यत्तिकैमा दलालले भन्यो, “जग्गा हेर्न जाने हो ?”

उसको कुरा सुनेर रोचकले भन्यो, “आनाको कसरी हो ?” (वान नाइट स्ट्यान्डको कसरी पर्छ ?)

त्यसपछि दलालले प्रस्ट पार्ने मनसायले भन्यो, “आनाको के कुरा भयो र सर ? पहिला जग्गा हेरौँ, जग्गा मन परेमा आना वा रोपनीको कुरा गरौँला नि ।” (आनाले वन सट र रोपनीले होल नाइट जनाउँथ्यो ।)

रोचकले आशङ्का व्यक्त गर्दै भन्यो, “जग्गाको मोहडा कस्तो छ, चारपाटा मिलेको भए मात्रै मज्जा आउँछ ।

दलालले विश्वस्त पार्ने उद्देश्यले भन्यो, “किन चिन्ता लिनुभएको यहाँ तपाईँको दाइ हुँदाहुँदै ? तपाईँ जस्तो भन्नुहुन्छ, त्यस्तै जग्गा देखाउँछु । एक से एक बैना ठोकेको छु ।”

त्यसपछि रोचकले दलाललाई सोध्यो, “जग्गा खाली हो कि घर पनि छ ?”

दलालले मन्द मुस्कानका साथ भन्यो, “सर पनि, के कुरा गर्नुभएको ? म घर भएको तला, छत पिटेको जग्गा देखाउँछु होला त ? हैन, हजुरलाई घर भएको नै जग्गा चाहिने भए त्यस्ता पनि छन् सम्पर्कमा, घरमालिक चाहिँ विदेशतिर भएका ।”

उनीहरूका गफ सुन्दा यस्तो लाग्यो, हरेक क्षेत्रमा यौनलाई बुझाउन आआफ्ना किसिमका शब्दहरू प्रयोग हुँदा रहेछन् ।

एकपटक सञ्चार मन्त्रालयबाट इन्जिनियरहरूसँग उपत्यकाबाहिर अनुगमनमा जाँदा उनीहरूले पनि यसरी नै मैले नबुझोस् भनेर कोड भाषा प्रयोग गरेका थिए । मालका साथीहरूले जग्गा भनेजस्तै सञ्चारका इन्जिनियरहरू मोबाइल भन्थे । उनीहरू आज मोबाइल किन्न जाने भन्थे । अर्काले नयाँ मोडल आएको हो र बजारमा भन्थे । नयाँ भेटिए राम्रो नभए एक्सचेन्ज गर्न पाए पनि हुन्थ्यो भन्थे । मैले धेरै नबुझे पनि उनीहरू मालकै कुरा गरिरहेका छन् भनेर अनुमान लगाउन गाह्रो थिएन ।

यसैगरी केही समय चलचित्र शाखामा बसेर चलचित्र विकास बोर्डमा सेन्सर गर्न जाने क्रममा केही चलचित्रकर्मीहरूसँग सङ्गत हुँदा उनीहरू पनि नयाँ नायिकाको फिल्मलाई यो त मुर्गाले टेम्पो पल्टाएर मात्रै ब्रेक दिएको हो कि क्या हो भनेर उडाउँथे । अझ एक्टिङ र थोपडा नभएका नयाँ नायिकाहरूलाई उनीहरू शतप्रतिशत भन्दै ग्यारेन्टीसमेत गर्न भ्याउँथे ।

पिसाब फेर्ने सुरमा उनीहरूको कुराले मेरो ध्यान एकोहोरो बन्न पुगेछ । रोचक बोलेपछि मात्रै झसङ्ग भएँ ।

पिसाब फेर्ने क्रममै दलालले रोचकलाई सोध्यो, “… जाने त सर ?” रोचक जो खुट्टा टेक्न सकेको थिएन । बोली पूरै लडबडाउँदै उसले कहाँ जाने पनि नभनी सिधै भन्यो, “जाने भए जाऔँ ।”

सोही प्रश्नको झटारो दलालले मतिर पनि फ्याँक्यो । मैले भनेँ, “म चाहिँ नजाने ।”

उनीहरूले मलाई धेरै रिक्वेस्ट गरे तर मैले पुनः दोहोर्‍याएँ, “जाँड खाएपछि मेरो शरीर सन्तुलनमा हुँदैन । काम बन्दैन । म जान्नँ । म त कोठामा गएर सुत्छु ।” यति भनेपछि उनीहरूले मलाई ट्याक्सी खोजेर कोठामा पठाइदिए ।

०००

एक दिन शनिबार दिउँसो रोचक मेरो कोठामा आयो । म नेममा एक्जाम दिन ठिक्क परेर लुगा लगाउँदै थिएँ । उसले मलाई रोक्न खोज्दै भन्यो, “पढेर केही हुन्छ ? तपाईँले र मैले कतिपटक सँगै बसेर एक्जाम दिएको हैन ? खै नाम निस्कियो ? नाम सधैँ स्याङ्जा, पाल्पा र गुल्मीका केटाहरूको मात्रै निस्किन्छ ।” हुन पनि हो, उसले र मैले हुलाकमा हुँदा खुब पढी तयारी गरेर एक्जाम दिँदा पनि नाम निस्किँदैनथ्यो । लोकसेवाका जस्तै प्रश्नहरू नेममा एक्जाम दिँदा ४८ देखि ५२ सम्म नम्बर पनि आएकै हुन्थ्यो तर जहिले फस्ट पेपरको इन्ट्रान्स पास गरे पनि कहिले सेकेन्ड पेपर अनि कहिले थर्ड पेपर त कहिले सबै ठिक हुँदा पनि चौथो पेपर पोलिटिकल साइन्सलाई गाह्रो प्रश्न अनि इको र एकाउन्टलाई सजिलो अप्सनलमा झेली गरेर हाम्रो अधिकृत हुने सपनामा लोकसेवा आयोगले तुसारापात गरिदिएकै थियो । त्यसमा पनि काठमाडौँ पढ्न भनेर आएको केटा दिनप्रतिदिन बिग्रँदै गएको अनि पासमा आफ्नो नाम ननिस्किने, आफूजस्तै नाम भएका आफ्नो जस्तै थर भएका, आफूसँगै पढेका अनि बसेकाहरूको नाम निस्किने हुन्थ्यो । आफ्नो ननिस्किँदा मनमा यति धेरै वितृष्णा पैदा हुन्थ्यो कि जसलाई शब्दचित्रमा वणर्न गर्न सकिन्न ।

त्यो दिन उसले मलाई नेममा परीक्षा दिन जानबाट रोकेर भक्तपुर राधे-राधे नजिकै एउटा होटलमा लग्यो । त्यहाँ केटी नै केटी थिए । त्यहाँ केटीहरू वेटरको काम गर्न हैन, पूरै काखमा बस्न पो आउँदा रहेछन् । मलाई अलिक लाज भयो । रोचकले सम्झाउने प्रयास गर्दै मलाई भन्यो, “केही हुँदैन सर यो हाम्रो अड्डा हो । यो सुरक्षित छ ।” उसले रक्सी पिउन थाल्यो । केटीहरूले पनि सँगै पिउन थाले । रक्सी लाग्न थालेपछि पूरै छामछाम छुमछुम चल्न थाल्यो । न निस्केर हिँड्नु न केही गर्नु । अप्ठ्यारो पनि यति धेरै भयो कि के गर्नु के नगर्नुको दोसाँधमा परियो ।

उसले भन्यो, “सर कुन चाहिँ लिने हो ?” उसले केटी छान्न लगायो । मैले भनेँ, “हैट सर साँझ पर्दै यस्तो नगरौँ ।” अहो, केटीहरूले पूरै मातेको तालमा झन् जिस्किँदै भन्न थाले, “के रातमा चाहिँ गर्ने हो सर ?” रोचकले भन्यो, “सर तपाईँको मन नभए केही छैन । म चाहिँ मोबिल फेरेर आउनुपर्‍यो । तपाईँ यहीँ बस्नोस् ।” यति भन्दै ऊ केटी लिएर चुरोट तान्दै माथि उक्लियो । यो मान्छे जहिले पनि पूरै मातेर फिटान भएपछि यस्तो हर्कत गर्छ । यसलाई उत्तेजना पनि हुन्छ कि देखाएर मात्रै आउँछ ? मलाई उसको हर्कत हेर्दा शङ्का नलागेको होइन ।

नसोचेको ठाउँमा पुग्नु र नचाहेको काम गर्नु पनि जिन्दगीको अर्को नाम हो । परिस्थितिजन्य सन्दर्भको लहरामा लहरिएर हामी कहाँकहाँ पुग्दारहेछौँ । आफू हिँड्ने बाटो, सुस्ताउने पेटी र अनेकन् सम्झनाका रुन्कारुन्कीहरूले मनलाई क्षणभरमै बहकाउँदो रहेछ ।

यो वर्ष कर्मचारी समायोजनले गर्दा लोकसेवा नखुल्ने भनेर समाचार त पहिल्यैदेखि आएकै थिए । फेरि खुल्छ भनेर लोकसेवा आयोगको अध्यक्षको हवाला दिँदै समाचारहरू आउँथे तर लास्टमा सामान्य प्रशासन मन्त्रालयले माग आकृति फारम भरेर नपठाएको कारण त्यो वर्ष लोकसेवा खुलेन । लोकसेवा पढ्न सजिलो हुन्छ, सामग्रीहरूको पहुँच सहज हुन्छ भनेर काठमाडौँ आएको अब लोकसेवा नै नखुल्ने भए के गरेर बस्ने ? यस बेला रोचकलाई खुब ताल पर्‍यो । यसै पनि पढ्न नपरेको त्यहीमाथि अब घरमा बहाना बनाउन पनि परेन । हरेक साल घरबाट कहिले नाम निकाल्छस् र बिहे गर्छस् प्रश्नको जबाफ यो वर्ष दिन सजिलो थिएन । अब यो वर्ष कि बिहे गर्नुपर्‍यो कि कमाउने अड्डातिर सरुवा भएर जानुपर्‍यो तर त्यो दुवै आफ्नो वशमा थिएनन् । बिहे पनि चाहनेबित्तिकै हुने कुरा थिएन । एक त भनेजस्ता केटी भेटिनुपर्‍यो, अर्को भेटिएकाहरू कोही अरूका नै बूढी हुन्थे । भित्रपट्टि लुकाएर लगाएको सिक्री देख्नेबित्तिकै सेकेन्ड ह्यान्डजस्तो लाग्थ्यो । कसैको हाइट मिल्दैनथ्यो । कसैको दाँत फुत्त बाहिर निस्केका थिए । कसैको परिवारमा मिल्दो जात हुँदैनथ्यो । बिहेको ताल यस्तो थियो भने सरुवा गर्न कोही चिनजान थिएन सामान्यमा । यहाँ त चिनेर मात्रै हुँदैनथ्यो । कतिपय अवस्थामा किन्न पनि पर्दथ्यो । लोकसेवा नखुल्दा त्यसको असर एक वर्ष मात्रै हुँदैनथ्यो । अर्को वर्ष पिकअप लिन पनि गाह्रो थियो । पूरै न्युट्रलमा कुदाएको गाडी गेयर चेन्ज गर्न सजिलो हुन्थ्यो तर एक वर्ष नकुदाएको गाडीको त गेयरदेखि ब्रेकमा पनि खिया लागिसकेको हुन्थ्यो ।

०००

यसबिचमा रोचकका कामचलाउ प्रेमिकाका सङ्ख्या धेरै पुगिसकेका थिए । दर्जनबाट बढी हुन थालेको भनेर उसले निर्धक्क गफ लगाउन थालेको थियो । ऊ डिल्लीबजार मालपोतका अगाडि लेखापढी व्यवसायीहरूले राखेका केटीहरू पनि आफ्नो संसर्गमा आउन थालेको भनेर गफ दिन्थ्यो । हामी हुलाक सेवा विभागमा हुँदा त्यहाँ अगाडि थुप्रै लेखापढी व्यवसायीहरूले सटरमा आफ्नो काम सञ्चालन गर्थे । ती व्यवसायीहरूको अफिसमा एक जना केटी त्यो पनि अलिक बुलेट खालकी अनिवार्यजस्तै थियो । हरेक शुक्रबार कर्मचारीले ड्रेस नलगाएको दिन मालपोतका कर्मचारीहरू एक एक जना केटीलाई बाइकमा राखेर हिँडेको देखिन्थ्यो । हामी सोच्थ्यौँ, त्यो उनीहरूको बाटो पर्ने वा नजिक बस्ने भएर लिफ्ट दिएको होला तर होइन रहेछ । आज रोचकले भनेपछि मात्रै थाहा भयो । हुलाक सेवा विभागकै गेटअगाडि एसियन लेखापढी व्यवसाय तथा कानुनी परामर्श सेवा भनेर बोर्ड राखेको थियो । जसमा एक जना बुलेट केटी बस्थी । त्यो पनि दिनभरि चुइगम पड्काउँदै । हामी पिसाब फेर्न, खाजा अनि चिया खान निस्किँदा एकपटक त्यसलाई हेर्थ्यौँ । ऊ पनि हामीले हेरेकाले वा अन्य कारणले चुइँगम फुलाएर पड्काउँथी । रोचकले त्यसलाई पनि सुन्धाराको गोर्खा गेस्ट हाउसमा लगेर आफ्नो बाहुपाशमा बनाइसकेको गफ दिन्थ्यो । मैले हैन होला भनेर उसलाई कसम खुवाउन लगाएँ । उसले पूरै टाउकोमाथि हात राख्दै विद्या कमस खायो ।

रोचकले मलाई फोन गरेर भन्यो, “सर तेल मालिस गर्ने हो ? पूरै तातो तेल लगाएर मसाज गर्दिन्छन् । जाने हो ?”

त्यो दिन सार्वजनिक बिदा थियो क्यार । मैले भनेँ, “कहाँ ?”

उसले तुरुन्तै जबाफ फर्कायो, “ठमेल ।”

मैले भनेँ, “हैट, ठमेल त चिनेको मान्छेले देखे भने त्यसमा पनि अफिसका कोही स्टाफले देखे भने उही भट्टी दूधको कहानीजस्तो हुन्छ ।”

मलाई सान्त्वना दिँदै उसले भन्यो, “हैट सर त्यस्तो हुँदैन । म म्यानेज गर्छु ।” यति भनेर ऊ मलाई लिन कोठैमा आयो । हामी ठमेलको एक आयुर्वेदिक मसाज भनेर लेखेको बोर्ड भएको घरमा छिऱ्यौँ ।

मलाई मसाज पार्लरमा पस्नेबित्तिकै यो ठिक ठाउँ हैन भन्ने त लागेको थियो । पूरै केटीहरू चुरोट तानेर बसिरहेका थिए । रोचक चाहिँ बानी परेजस्तो गरेर पूरै क्याबिनमा पस्यो । मलाई पनि पस्न भन्यो । ऊ र म बेग्लाबेग्लै कोठामा थियौँ । उता के भयो, थाहा भएन । एउटी केटी आएर भनी, “सर के-के लिने ? कुन मसाज लिने हो ?” यति भनेर उसले लेमिनेसन गरेको मेनु देखाई । मैले यसो हेरेर ‘तेल मसाज’ भनेँ । उसले मलाई लुगा खोल्नुस् भनेर एउटा अन्डरवेयर दिई । मैले फेरेर पल्टिएँ । ऊ मसाज गर्न थाली । एकैछिनमा उसको हर्कत थाहा भयो । उसले ‘सर यता पनि’ भन्दै मेरो संवेदनशील ठाउँतिर हात पुर्‍याउँदै सोधी । मैले ‘पर्दैन’ भनेँ । उसले मलाई सिधै भनी, “सर हजुरहरू सेक्सका लागि आउनुभएको हैन ? उसको कुरा सुनेर म त तीनछक परेँ । मैले ‘हैन’ भनेँ ।

उसले भनी, “त्यसो भए ह्यापी इन्डिङ हुन्छ सरलाई ।”

मैले साधेँ, “के हो यो ह्यापी इन्डिङ ?” त्यसपछि उसले मलाई सबै बताई । मानौँ यो सबै नर्मल हो । मैले भनेँ, “होइन पर्दैन, मलाई मसाज गर्दिनुस् र नुहाउने व्यवस्था मिलाउनुस् ।”

उताबाट रोचक सर पूरै प्रफुल्लित मुद्रामा निस्किए । उल्टै मेरै अघि पाँच सय रुपैयाँ टिप्स पनि दिए । केटी चाहिँ मक्ख पर्दै इत्रिएर बोली, “सर फेरिफेरि आउँदै गर्नुस् है । हाम्रा लागि हजुर त शिवजी नै हो ।”

भर्‍याङमा झर्दै गर्दा रोचकले मलाई सोध्यो, “सर ह्यापी इन्डिङ कि वान सट के लिनुभयो ?”

मैले भनेँ, “मैले केही लिइनँ । मलाई केटी ठिक लागेन ।”

अनि उनले भने, “हैट सर अर्को केटी छानेको भए हुने नि ।” विचित्रको मसाज सेन्टर अनि सुविधा रहेछ ।

००००

कसैका रहर होलान्, कसैका बाध्यता होलान् । कोहीले प्यास लागेका बेला आनन्द लिएर तलाउको पानी पिउँदा उसको पनि त धेरथोर आयतन रित्तो होला । त्यो रिक्तताभित्र जीवनको अर्थसापेक्ष होला कि नहोला ? अलमलको झरीले म लछप्पै रुझेँ ।

मलाई थाहा थियो सङ्गत आफ्नो लेभलभन्दा बाहिरको मान्छेसँग गरियो भने दुःख पाइन्छ । रोचक पहिले मेरा लागि ठिक भए पनि अब ऊ मेरो हैसियत र सोचाइभन्दा क्रमशः बाहिर जाँदै थियो । उसको र मेरो हैसियत फरक पर्दै थियो । उसले सोच्ने लेभल अनि देख्ने सपना र मैले देख्ने सपनाको संसार फरक पर्दै जान थालेको थियो । ऊ पैसा र पावर अनि रसरङ्गतिर सोच्दै जान थालेको थियो । म चाहिँ पद अर्थात् एकपटक लोकसेवा पास गरेर अधिकृत बन्न पाए पैसा आफैँ आउँछ, पैसा कमाउन सकिएन भने पनि इज्जत त आउँछ । यही नै सोचाइ थियो मेरो तर ऊ जसरी भए पनि घर गाडीको हैसियतमा पुगिसकेको थियो ।

“सर यो हाम्रो विभागको डिजीको अखडा होँ भन्दै उसले मलाई कोटेश्वरको मुनलाइट डान्सबारमा लग्यो ।

मैले सोधेँ, “को डिजी ?” उसले एक जना चर्चित डिजीको नाम भन्यो ।

मैले भनेँ, “हैन होला, उहाँ त सदाबहार चर्चित मान्छे हो ।”

त्यसपछि उसले मलाई केटाकेटीसँग तुलना गर्दै भन्यो, “तपाईँ पनि केटाकेटी नै हुनुहुन्छ ।”

उमेरमा एक वर्ष जेठो के थियो, उसले मलाई केटाकेटी नै सम्झियो । त्यो नि मैले हैन होला भनेर शङ्का व्यक्त गर्दा । अब ऊ पहिलेको ऊ थिएन । ऊभित्र एउटा पैसा कमाएको भूत, सम्पन्नताको भूत सवार भएको थियो । मैले यस्तै सोच्दै थिएँ । उसले के लिने सर भन्दै अर्डर लिन भन्यो । मलाई पनि पैसा उसले तिरिहाल्छ म त खाने अनि साथ दिने मात्रै हो भनेर बियर मगाएँ ।

बियर भर्दै गर्दा यसो टेबलमा राखेको मेनु हेर्छु त बियरको नौ सय छ । ओ माइ गड, आइ एम सक्ड । लु भाइ साथीले नै तिरे पनि धेरैको बिल उठाउनु हुँदैन भन्ने लाग्यो तर त्यहाँ पनि हुक्का लिएर दुई ओटी मैया आए । एकछिनमा मातेर रोचकले पूरै १०० र ५० का नोट उडाउँदै नाच्न थाल्यो । मलाई पनि बोलायो । माहोल पूरै धुवाँ नै धुवाँले कुहिरीमण्डल भए पनि मलाई कसैले चिन्छन् जस्तो लाग्यो । म डरले नाच्न गइनँ । ऊ पूरै थाकेर आयो अनि जाऔँ भन्यो । जानुअघि उसले भन्यो, “मेरो त पैसा सकिएछ, अब राति मातेका बेला कहाँ एटिएम जाने ? छ भने पे गर्नुस् ।”

मैले काउन्टरमा गएर बिल मागेको त पूरै बाह्र हजार छ । मैले उसलाई बोलाएँ । मसँग पुगेन, मसँग दश मात्रै छ, त्यो पनि एक त ट्याक्सी चढ्न चाहिन्छ भनेर नौ मात्रै दिएँ । ऊ नियमित आउने अनि उसको डिजीको अखडा भनेर उसले डिजीको विश्वासपात्र दलाललाई फोन गराएर काउन्टरको मानिससँग कुरा मिलायो । साला कहिलेकाहीँ यसरी फसिन्छ, लाटो लड्छ एक बल्ढ्याङ, बाठो लड्छ तीन बल्ढ्याङ भनेको यही हो । उसले तिर्छ होला भनेर फोकटमा हानेको लास्टमा आफैँ परियो । अब म यसरी हिँड्दिनँ भनेर मनमनै कसम खाँदै ट्याक्सी चढेर कोठा आएँ ।

त्यसबिचमा उसले मलाई धेरैपटक अनुरोध गर्‍यो । कतिपटक त भेट्न पनि आयो । मैले कहिले आफूलाई सन्चो नभएको त कहिले भोलि घर जानुपर्ने बहाना गरेँ । घर जाने बेलामा रक्सी खाएर पूरै ह्याङ उत्रिएको हुँदैन, घरबेटीले राति ढोका खोल्दैन, अफिसमा काम पर्‍यो जस्तै बहाना हुन्थे मेरा ।

करिब तीन महिनापछि उसले मेरो फेसबुक मेसेन्जरमा एउटा समाचारको लिङ्क पठाएको रहेछ, खोलेर हेरेँ । जसमा लेखिएको थियो, काठमाडौँमा बिहे नगरी फ्ल्याट लिएर लिभिङ टुगेदरमा बस्नेहरू बढे । समाचारमा एक जना पूर्व घर भई हाल पेप्सीकोला बस्दै आउनुभएका भनेर कोडिङ गरेको रहेछ । मैले रिप्लाइ लेखेँ, “सर त्यो समाचारमा कोडिङ गरेको तपाईँ आफैँ हो कि अरू नै ?”

उसले ङिच्च हाँसेको इमोजी पठायो । मैले भनेँ, “सर के हजुर पनि लिभिङ टुगेदरमा बस्न थालेको हो र ?”

उसले भन्यो, “तपाईँ पनि बस्ने हो ?” मैले ‘एस’ लेखेँ ।

उसले भन्यो, “त्यस्तो कोठामा हुँदैन । फ्ल्याटमा बस्ने हो भने मिलाइदिन्छु ।”

“हैन, यो त मन मिलेर एक अर्कालाई बुझ्नका लागि बस्ने होइन ? लिभिङ टुगेदरमा बस्न पनि अरूले नै मिलाउने हो र ?” मैले उसलाई यस्तै आशयको प्रश्न सोधेँ । उसले ‘ह्या लाटा’ भन्यो । अब त अति नै भयो । म चाहिँ ‘हजुर सर’ भनेर सम्मानजनक सम्बोधन गर्ने ऊ चाहिँ लाटा भन्ने । ‘के गर्ने हो त महाराज विद्वान्’ भनेर लेखेँ । उसले डेटिङ एप्स अनि म्यारिज एप र वेबको सहायता लिने हो भन्यो । मैले बुझेको सङ्केत गर्दै उसलाई इमोजी ठेल्दिएँ ।

मैले भनेँ, “सर भिडियो कल गरूँ ?”

उसले ‘ओके’ भन्नेबित्तिकै मैले मेसेन्जरमा कल गरेँ । मैले सोधेँ, “सर साँच्चै नै लिभिङमा बस्न थाल्या हो त ? कसरी मिलाउनुभयो ? लु हेरौँ त सर ।”

त्यसपछि उसले क्यामेरा मोड चेन्ज गरेर पछाडि खाना पकाउँदै गरेकी एक जना देखायो । मैले भनेँ, “हैन पाहुना होला सर ।”

अनि उसले भन्यो, “पाहुना हैन सर बूढी नै हो ।” त्यसो भन्दा तरकारी काटिरहेकी त्यो सुन्दरीले क्यामेरातिर हेरेर भिडियो नखिच्न इसारा गरी । मैले उसको अनुहार एक झलक देखेँ । हैन, यो केटी कहाँ देखेजस्तो लाग्छ । यसको र मेरो कहाँ भेट भएको यस्तै सोच्न थालेँ । हैन, यसले डेटिङ र म्यारिज एप्सबाटै भए पनि यति राम्री भेटायो तर मेरो पनि त्यो अनुहारसँग कहीँ न कहीँ त कनेक्सन छ, कहीँ न कहीँ देखेको हुनुपर्छ ।

केही महिनापछिको कुरा हो । त्यो दिन शुक्रबार सार्वजनिक बिदा अनि शनिबार पनि बिदा थियो । अर्थात् दुई दिन बिदा भएकाले के गर्ने कुनै योजना थिएन । मैले रोचक सरलाई फोन गरेँ, “सर के छ यो हप्ताको प्लान ? लामो समय भयो भेटघाट नभएको । हजुर त फेमिलीवाला पर्नुभयो । सादीसुधा आदमी हामीलाई पनि यसो उद्धार गरिदिनुपर्‍यो । भेटेर सल्लाह लिनुपर्ने भयो । अब नेमतिर ट्युसन हैन टिन्डर र म्यारिज वेबसाइटतिर धाउनुपर्ला । नाम पनि निस्किँदैन ।”

मेरो कुरा सुनेपछि उत्साहित हुँदै उसले भन्यो, “बल्ल सही कुरा गर्नुभयो । यो हो नि बाटो । शुक्रबार चाहिँ अफिसका साथीहरूसँग नै कार्यक्रम छ, शनिबार दुई बजेतिर कोटेश्वर भेटौँ न त डिजीको अड्डातिर ।”

मैले इन्कार गर्दै भनेँ, “हैट त्यहाँ नभेटौँ । त्यहाँ धेरै चुना लाग्छ । महँगो छ । पैसा जति सबै केटीहरूले खाएर उडाइदिन्छन् । सित्तैमा त्यसरी पैसा खर्च गर्नुहुँदैन ।”

“उसो भए भाटभटेनी आउनुस् अनि सल्लाह गरेर कतै जाउँला ।” उसले भन्यो ।

“ल हुन्छ सर शनिबार दुई बजे डन है त ।” मैले भनेँ ।

‘ओके डन’ उसले यति भनेर फोन राख्यो ।

शनिबार दुई बज्न लाग्दा कोटेश्वरको भाटभटेनीनजिक पुगेर मैले उसलाई फोन गरेँ । उसको मोबाइल अफ भएको जानकारी प्राप्त भयो । मैले फेरि रिडायल गरेँ । अफ नै थियो । अरे के भयो त किन अफ गर्‍यो फोन । म साढे दुईसम्म यताउति हल्लिँदै बसेँ । फेरि फोन गरेँ । अफै पनि अफ नै भनेपछि म एभरेस्ट मम सेन्टरमा छिरेँ । भाइ पासवर्ड दिन मिल्छ ? हामीलाई घरबाट एकछिन बाहिर जाँदा पनि वाइफाइको पासवर्ड त्यसमा पनि फेसबुक नचलाई त बस्नै नसक्ने रोग लागेको छ । हो, मलाई पनि यस्तै भएको थियो । मैले फेसबुक खोलेँ । कुनै म्यासेज आएको थिएन । मैले उसलाई म्यासेज पठाएँ । कहाँ हो सर ? मोबाइल पनि अफ छ त । उसको मेसेन्जरमा टाइप गर्दैगर्दा हेरेँ । उसले मेसेन्जर पनि नखोलेको लामो समय भइसकेछ । अनलाइन हुँदा एक्टिभ नाउ अनि अफलाइन हुँदा यति मिनेट अनि घण्टाअघि भनेर देखाउने गर्दथ्यो । ठिकै छ सोचेर मैले लेखेको म्यासेज सेन्ड गरेँ तर मम सकिँदासम्म कुनै रिप्लाई न कुनै सिनको सङ्केत देखायो । फेरि पनि फोन गरेँ । अझै अफ भन्यो ।

मम खाएर निस्किँदा साढे तीन भइसकेको थियो । भर्‍याङबाट झर्दै गर्दा फेसबुकमा उसका कुनै आफन्त पर्ने त्यसमा पनि काका वा मामाका छोरा पर्नेले उसको आइडीलाई एउटा फोटा ट्याग गरेको देखेँ । जसको क्याप्सनमा लेखिएको थियो, ब्रोदरकी सादी । ह्याजट्याग ब्रोदरहुड । यस्तै यस्तै थियो । फोटा रोचकबाहेक धेरैलाई ट्याग गरेको हुँदा मैले उसको फोटो जुम गरेर हेरेँ । फोटामा उही रोचक अलि अँध्यारो अनुहार पारेर वरमाला पहिराउँदै गरेको थियो । अनि अन्य फोटा हेरेँ । त्यो फोटोमा वरमाला पहिरिने कन्या पनि नयाँ नै देखेँ । जुन ऊसँग लिभिङ टुगेदर गर्ने पनि होइन जस्तो लाग्यो । मैले विवाहको मेकअपले नचिनेको हो कि भनेर फेरि जुम गरेर हेरेँ । अनि थाहा भयो, लिभिङमा बस्ने त होइन अनि को रहेछ यो केटी भनेर ट्याग गरेका आइडीवाला व्यक्तिहरूको एक-एक गर्दै आइडी चेक गरेँ । धेरै त रोचकका आफन्तहरू नै थिए । त्यसमा भएका केही कन्याहरूको आइडी चेक गरेँ । जसमा एउटी कन्या यस्ती भेटिइन् जो मसँग पनि पहिलेदेखि फेसबुकमा फ्रेन्ड रहिछिन् तर मलाई थाहा थिएन । मैले उनको प्रोफाइल चेक गरेँ ।

उनको प्रोफाइल चेक गरिरहँदा उनको बायोमा Proud to be Nurse लेखिएको थियो । अर्थात् मेरो साथी जो नर्सलाई राम्रो नजरले हेर्दैन थियो । यिनीहरू सब डाक्टरका खजना हुन् भन्थ्यो तर आज कसरी नर्सलाई नै वरमाला पहिराउने अवस्थामा पुगेछ यही सोच्दै मलाई थाहा नभएको मेरो फेसबुक फ्रेन्डको प्रोफाइल चेक गर्दै गएँ । अलिक तल एउटा सानो बच्चाको फोटो देखियो । जसको क्याप्सनमा लेखिएको थियो, माइ पुकु बेबी । बच्चाको फोटा चाहिँ कृष्णको सानोको रूपसँग मिल्दो गरी बनाइएको थियो । म फोटामा गरिएको कमेन्ट पढ्दै गएँ । जसमा क्युट बेबी, नाइस आदि लेखिएको थियो । एउटा कमेन्ट थियो, क्युट योर डटर । यो कमेन्टले मेरो पूरै होस उडायो । यो त रोचकले वरमाला पहिराएको केटीकै बच्चा रहेछ कि क्या हो । पूरै जिउ चिसो भएर आयो । हातमा रौँका फेदमा बिमिरा उठ्दै पूरै रौँहरू ठाडा भए ।

हैन यस्तो कसरी हुन सक्छ ? मलाई शनिबार दुई बजे कोटेश्वर भेट्न बोलाएर आफू चाहिँ बच्चाको आमालाई वरमाला पहिराउने ? के उसले गुँडसहित उठाउन लागेको हो ? अनि एउटा बच्चाको आमा मेरो फ्रेन्ड कहिले भई ? किन उसको कुनै गतिविधि मेरो न्युज फिडमा आएन ? ऊ को हो र कसरी मेरो फेसबुक लिस्टमा रहन सफल भई ? मैले यस्तै सोच्दै हाम्रो अर्को दोस्त राजाराम सरलाई फोन गरेँ । मैले राजारामलाई रोचकको बिहे भएको जानकारी दिएँ । उसले भन्यो, “मैले पनि भर्खर फेसबुक हेरेर थाहा पाएको । मैले त बधाई दिइसकेँ ।”

“केमा दिनुभयो ? उसको फोन त अफ छ ।” मैले भनेँ ।

राजारामले भन्यो, “मैले त कमेन्टमा नै दिएको ।”

मैले उसलाई प्रश्न गरेँ, “अनि नि सर एउटा कुरा भनौँ ?”

‘के कुरा ?’ उसले भन्यो ।

मैले आफ्नो जिज्ञासा राखेँ, “जो केटी रोचकले बिहे गर्‍यो नि त्यो केटी मसँग पहिल्यैदेखि फेसबुक फ्रेन्ड रहिछे । यस्तो कसरी हुन सक्छ ?”

उसले ‘‘हो र ! होइन होला’’ भन्दै आश्चर्य व्यक्त गर्‍यो ।

मैले भनेँ, “हो है सर मैले उसको पूरै प्रोफाइल खोलेर हेर्न भ्याइसकेँ ।”

उसले भन्यो, “हुन सक्छ कोही फेसबुकमा भए पनि उसका गतिविधिहरू हामीले खोलेका बेला हाम्रो न्युज फिडमा आउँदैन । हामीलाई जसले बढी पोस्ट गर्छ अनि जो अनलाइन देखिन्छ उही मात्रै याद हुने हो अरू त खासै वास्तै हुँदैन नि, हो यस्तै भएको हुन सक्छ । आज रोचकले बिहे गरेको भन्दा तपाईँलाई त्यो केटी याद भयो नभए अझै थाहा नहुन सक्थ्यो । यो त माइनर कुरा हो सर ।” यति भन्दै उसले कुरा टुङ्गाउँदै अब काठमाडौँ आएपछि बबाल पार्टीको अफर गर्नुपर्छ भनेर फोन राख्यो ।

राजाराम सरका कुराले केही राहत दिएपश्चात् मैले पनि त्यही ट्याग गरेको फोटामा नै ‘सरप्राइज म्यारिजको शुभकामना माइ जिक्री दोस्त सर’ भन्दै कमेन्ट छोडेँ । मेरो कमेन्टमा एकैछिनमा धेरैले लाइक ठोके । सायद सरप्राइज शब्दले होला किनकि कसलै पनि सोचेका थिएनन् होला कि रोचकले यति चाँडै बिहे गर्छ त्यो पनि नर्ससँग । ऊ त काठमाडौँमा टक्क घर बनाउने अनि बिहे गर्ने हो भनेर गफ गर्थ्यो तर आज उसले सबैलाई सरप्राइज दिने शैलीमा बिहे गर्‍यो । सबैभन्दा बढी सरप्राइज त उसकी लिभिङ टुगेदरवाली थिइन् र दोस्रोमा म नै थिएँ कि बिहे त गर्‍यो अब उसले कसरी म्यानेज गर्ला भनेर । आखिर लिभिङ टुगेदर भनेको पनि आधुनिक विवाह नै हो जो आफ्नो हुनेवालाको आनीबानी थाहा पाउन पहिल्यैदेखि सँगै बस्ने गर्छन् ।

एक हप्तापछि एउटा नयाँ नम्बरबाट फोन आयो । “के छ बिन्दासजी खबर ? कता हो ?” रोचक रहेछ फोन गर्ने । मैले स्वरबाटै चिनेँ ।

“ओहो सर के छ हजुर ? मैले त कमेन्टमै बधाई दिइसकेको छु । अब पार्टी नखुवाएसम्म त बधाई दिन्नँ है ।”

मैले यति मात्र के भनेको थिएँ, उसले भन्यो, “त्यस्तो हैन सर पार्टी त दिँदै गरौँला न । बरु एउटा सहयोग गर्नुस् । मैले तपाईँको मेलमा सरुवा निवेदन पठाएको छु । मलाई जसरी हुन्छ विराटनगरतिरै काज मिलाउन सहयोग गर्नुपर्‍यो । मैले सामान्यमा कुरा गरेको छु । गएर निवदेन दिएर आउनुस् त ।”

भोलिपल्ट फेरि उसले फोन गर्‍यो र भन्यो, “सर मेरो काजको पत्र भयो अरे । ल्याएर मेल गर्दिनुस् न ।”

मैले उसको पत्र ल्याएर मेल गरेँ । उसको हुलाकी सडक आयोजनामा काज काम गर्न खटाइएको रहेछ । “ल बधाई छ सर ! घरपायक जागिर अनि नर्स बेबी जिन्दगी त तपाईँले पो सेटल गर्नुभयो । वेल म्यानेज यसरी गर्छन् भनेर मलाई चुनौती दिनुभएको हैन त ?” मैले हाँस्दै उसलाई भनेँ ।

उसले भन्यो, “हैन सर ठूलो चुनौती त बाँकी नै छ । बरु म्यानेज गर्न तपाईँले सहयोग गर्नुस् न ।”

“के म्यानेज गर्नुपर्‍यो सर ?” मैले भनेँ ।

उसले भन्यो, “त्यो मेरी लिभिङ टुगेदरवाली छे नि, त्यसलाई तपाईँले म्यानेज गर्दिनुस् न ।”

उसले यति भन्दा मलाई जमिन भासिएर पूरै भुईँचालो आएजस्तो भयो । मैले अलिक कड्किँदै बोलेँ, “हैन सर तपाईँले के भन्नुभएको ? बोल्दाबोल्दै खुस्किनुभयो कि ?”

अनि उसले जिस्किँदै भन्यो, “ए बूढा, साँच्चै भनेको । तिम्रो पनि त उद्धार हुन्छ ।”

रिसाउँदै उसको फोन काट्नुअघि मैले भनेँ, “सर जिस्किनेको पनि हद हुन्छ नि । अफिस समयमा यो के तरिका हो ? तपाईँसँग महिनौँ लिभिङ टुगेदरमा बसेकी केटीलाई मैले के म्यानेज गर्नु ? यो कुनै बोल्ने तरिका हो ?”

मन्त्रालयमा काम नभएका बेलामा युट्युब हेरिरहेको थिएँ । यत्तिकैमा युट्युबको ट्रेन्डिङमा एउटा भिडियो परेको रहेछ । जसको टाइटल नै थियो, लिभिङ बस्दै आएका एक युवा फरार । यता युवती गर्भवती । मैले भिडियो खोल्नलाई क्लिक गरेँ । यो आइमाई त कहाँ-कहाँ देखेजस्तो लाग्यो । भिडियो हेर्दै गएपछि थाहा भयो, त्यो त मेरै साथीको लिभिङ टुगेदरवाली पो रहिछे । ओ माइ गड, आइ एम सक्ड । हैन यो के भयो ? यता लिभिङमा बसेकी युवती गर्भवती भनेर युट्युबमा भाइरल भएको छ । उता साथी माउबच्चासहित गुँड नै उठाएर हिँडेको छ ।

भिडियो हेर्दै म टोलाउन पुगेँ । यत्तिकैमा राजाराम सरले आएर मेरो कुममा धक्का दिँदै भने, “ओ हेलो सर के हो ? केमा टोलाएको ?”

पूरै अतालिँदै केही नभएजस्तो गर्न खोजेर मैले भनेँ, “हैन सर केही पनि होइन ।”

उनले भने, “एउटा कुरा थाहा पाउनुभयो ?”

मैले भनेँ, “के कुरा हो सर ?”

त्यसपछि एकै सासमा उनले भने, “रोचक त ………..।” म पूरै सक्ड भएँ । ओ माइ गड !

झ्यालबाट यसो बाहिर हेरेँ । मन्द बतासले रुखका पातहरू हल्लिरहेथे । हल्लनु राम्रो हो तर धेरै हल्लनु पनि राम्रो होइन । जसरी धेरै हल्लँदा रुखका पातहरू झर्छन् र माटामा आइपुग्छन्, त्यसरी नै मानिसको जीवनले पनि माटामा विश्रान्ति लिन समय लाग्दो रहेनछ । शनैः शनैः बगिरहेको जीवनको लय माटामा धसिएपछि त्यसले लिने आकार पनि माटाको जस्तै हुन्छ । रङ्गविहीन, सौन्दर्यविहीन, जर्जर र रुखो । रुख्यानले सधैँ शीतलताको एकोहोरो प्रतीक्षा गरिरहन्छ ।

(लेखन कुञ्जले प्रकाशनमा ल्याउन लागेको कौशिक नवराजको कथासङ्ग्रह डियर एक्सबाट)

प्रतिक्रिया
Loading...