प्रायः दुई महिनाको आत्मबन्दी । सरकारी निर्देशनअनुसार बस्नुपर्ने, कतै जान केही गर्न नपाइने । बसी-बसी खानुपर्ने । यतिभित्रमा जे जति गर्न सकिन्छ गर्नुपर्ने । नत्र दण्ड विधानमा परिने । एउटा अदृश्य शेखा-शेख, एउटा अनाम प्रतियोगिता, एउटा नगनाएको दुर्नीति भ्रष्टाचार र हानाहान तानातानको मौन जुलुसमा ताला लाग्यो । दिनहुँ काम काम काम । जतिसुकै गरे पनि लत्ताकपडा, एकछाक पेटभरि भात खान, नानी केटाकेटीहरूले खुसी हुने गरी एक जोर लुगा लगाएको देख्न धौधौ पर्ने परिवारका धेरै मुखियाहरूमध्ये रामे पनि एउटा हो । कहिलेकाहीँ दुई चार दिन त ढुक्कले लमतन्न परेर सुत्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । कति कुद्नु कति रडाको गर्नु, कति घस्रिनु, जति गरे पनि जस्ताको त्यस्तै । सापटी र उधारो दिनहुँ बढेको छ, चाडबाड भनेर दोब्बर भएको छ, यता नानी ठुला हुँदै जादा खर्चमा बढोत्तरी भएको, त्यसको तुलनामा दिन हाजिरा अथवा दैनिक मजुरी नबढेको अदृश्य असामञ्जस्य केवल उसले थाहा पाउने हो, पीर पनि उसैले खप्नुपर्ने, घरका अरू सबै खोइत हाम्रा बाउले चैँ हाम्ले भने जस्तो कहिल्यै पुऱ्याएनन्, अरू साथीहरूका बावुले दिएझैँ भन्नासाथै थपक्क दिन नसक्ने ।
अस्ति बिहे गरेर ल्याएकी आइमाईले पनि लोग्नेको असमर्थताको प्राकृत कारण जानेर पनि नजानेजस्तो गरेर ठुस्स परेको व्यवहार दर्साउँछे । छोराछोरी नपाउन्जेल त्यही रामे गतिलो थियो । अहिले समस्याले जरजरित भएको देख्नु त कताहो कता, लोग्ने पराई र छोराछोरीहरू मात्रै आफ्ना हुन् भन्ने जस्तो व्यवहार गर्न उत्तिकै सिपालु छ । पाँच वर्षअघि भोट माग्न आएको प्रार्थी भोट जितेर अलिक दिनपछि भेट हुदाँको फरक जस्तो-बा घ बाघ गनाउने व्यवहार । हो त अचम्म लाग्दा समयहरूले, अचम्मका मनहरूले, अचम्मका शोषणहरूले रामेलाई वाक्क पारेका बेला यो कोरोना दैनिकी भनौँ तालाबन्दीले- एकातिरको विश्राम ल्याइदियो । खोइ दुई महिनाअघि घर जसरी चलेथ्यो आज पनि उत्तिकै चलेको छ । हिजोआज कराउने ठुस्किने घुर्की लाउने, मलाई त फलाना दिन जसरी भए पनि यत्ति रुपियाँ चाहिन्छ नै । “रुमीका बाउ ठुली भएकी छोरी घरमा रुनुपरेको राम्रो होइन नि । सरसापटी कसो गरेर भए पनि त्यस केटीलाई वनभात खान जाने पाँस सहे रुपियाँको चाँजोपाँजो मिलाउनुपर्छ है ।” स्वास्नीको घुमाउरो धर्मधारे तरवारझैँ ओठहरू नाच्दै आउने दृश्य पनि हरायो ।
“भो हौ सधैँ सधैँ एउटै तरकारी खानुपर्छ । आज त माछा नभए मासु लिएर आउनू बुबा, वाक्क कति खानु झिँगल्टो, करेला र फर्सी, नभए मलाई चाँहि भात नपस्किनू है आमा ।” अहँ हिजाज यी केही पनि छैनन्, कोरोनासम्म । रामे यसको अर्थ मजले जान्दछ पनि, त्यो शव्द उच्चारण गर्दा किन हो रामे सर्वाङ्ग शरीर सन्चो भएको मान्दछ पनि । हो अभाव केही भएको छ । भोलिका दिनमा अभावले अरू साह्रै सताउने सम्भावना पनि छ तर कता कता जीवकुलको सबैभन्दा असन्तुष्ट प्राणी मान्छे; ईर्ष्याले डढाएको,म खाऊँ मै लाऊँले जुधाएको, दीनदुःखीलाई घोडा र गधा बनाएर, म चाहिँ उस्तै मान्छे भए पनि भिन्नै ग्रहबाट आएको, अलिक उन्नत प्रकारको मान्छे हुँ किनकि मसँग यिनीहरूको भन्दा धेरै पैसा र सुखसुविधा छ, भन्ने व्यवहार गर्न रुचाउनेहरू पनि ऊजस्तै खोरमा बन्दी भएको देख्ता हामी सबै एउटै ग्रहका बासिन्दाहरू रहेछौँ, समयको फेरमा कोही सम्पन्न भए कोही गधा र घोडा भएका मात्रै हुन् । यस्तो सबै उत्तिकै अधिकारसम्पन्न मान्छे हुन् भन्ने कुरा कोरोनाको ‘करुणा’ ले पो सम्भव पाऱ्यो । त्यो कुराले पनि रामेलाई यो बेलायती शब्दोच्चारण गर्दा सन्च लाग्छ । गाउँठाउँमा जग्गा जमिन धेरै भएका, महाजनी कारबार र केही धेरै पढेर ठुलो जागिर गर्नेहरूले, टाउन सहरमा माटो बारी किनीवरी दुई-तीन तले घर बनाएका कुरा गर्न रमाइलो लाग्थ्यो रामेलाई ।
कोही फेरि छोराछोरी पढाउने निहुँले गाउँको पैतृकसम्पत्ति बेचबिखन गरेर टाउन सरेर ढुक्क परेर बसेका । यो गाउँबस्ती ऊनेरका निम्ति आफू सुहाउँदो नभएको बरु ऊजस्तै रामेछापहरू बस्ने पछाडिएको ठाउँ भन्ने ठहर गरेको रहेछ भन्ने रामेलाई लागेको थियो । अहिले त फेरि ह्वारह्वारती, ग्वारग्वारती टाउन छापहरू पुरानो ठाउँको घरमा चेपिँदै घुस्रिँदै आएको आएकै छन् भन्छ तल्लो घर डिल्ले । हो पनि, घर माटोबारी, तोरी-तरकारी,गाईगोठ, माछाको पोखरी भएको टम्म सिनिक्क परेको संसार अर्कालाई बेचेर नयाँ टाउनमा माटोघर जोडेकोमा गर्वित हुनेहरू हाम्रै गाउँमा पनि धेरै रहेछन् । कति पुस्तादेखि बसेको ठाउँ, कति पितृ पितामहको क्रिया, शुद्धी गरेको पितृकर्मका स्मृति चिह्नहरू भएको ठाउँको कुरा बिर्सेको गाँठे । होत धनको अहं र कृत्रिम भलाद्मीपन देखाएर सहरिया भई खाएकाहरू र यी रामेछाप, डिल्लेछापका सामुन्ने धनीमानी टाउनमा माटोघर भएका, धेरै पढेका सबै थोकले परिपूर्ण फेरि यतै लाग्दैछन क्यारे । “हैन हौ, गाउँ घरकै हावा पानी राम्रो हुन्छ” भन्न थालेको सुनिन्छ । यो कोरोनाको ‘करुणा’ रामेलाई विचित्र लाग्छ ।
सरकारी जागिर गर्ने र मास्टरहरूले आफ्नो छिमेकका पाँच-सात ओटा परिवारमा रेसनपाती दिएर सघाउनु भन्ने सरकारी निर्देशनअनुसार नै सहयोग गर्नुपर्नेमा मान्छेहरू तम्सिए । खाने सरदामका पोका दिँदै खिचिक्क फोटा खिचाउँदै मोबाइलमा हाल्ने हुँदा, धेरैलाई गौरवमय भावनाको उन्नति भएको, छाती फुलेको कुरा पनि फोटाले बोल्यो । अवस्थाको चेपारोमा परेर आफ्नो स्वाभिमानी मन खुम्चाएर अर्काले सित्याइमा दिएको खाद्य करले हात थाप्नुपर्दाको अमिलो अनुहार र ‘अँ हामी भनेका हामी नै हौँ, काम गर्न बोलाएको बेला खुरुक्कन आउनू’ ,भन्ने माथिल्लो श्रेणीको घोडचडी मुस्कानले पोतिएको अनुहार परै चिनिने फोटोको रङ्गमा । आहा! कत्रो फरक लिने र दिनेमा ।
यो पनि पड्नुहोस् क्लासिक कथा- नजन्माएकी छोरी
सरकारी निर्देशनअनुसार एक एक हजार बाँडिने रकममा पनि ‘हेराफेरी’ भयो रे- इन्दिरा आवास योजना र कृषि लोनमा मिलाउनुपर्छ, यस बेला चुपचाप बसिस् भने मात्र त्यस बेला चुपचाप तेरो नाम आउला नत्र त उही हो- ताकपरे तिवारी नत्र गोतामे भयो भनेर दुःख नमान्नू ।
यस्ता पेचिला सर्तहरूमा रामेडिल्ले उहील्यै प्रतिवाद गर्न जान नभ्याएर खप्नुपरेथ्यो, यस बेला जान नपाएर खपिरहेछन् । केगरोस त्यो सरकार भन्नेले यत्रो औधी खुसीको दिनमा धनी-दुखी, जान्ने-नजान्ने, कानो-बैरो, राजा-रैती एकै हालतमा ल्याउन सक्ने कोरोनाले मान्छेको मन समान र स्वच्छ बनाउनु निकै गाह्रो परेको छ, यिनै मान्छेको सरकार त हो, के पो गरोस बिचरा । यी सबै कोरोना भित्रिने अघि नै लागेका मानसिक रहल बिमारहरू हुन् ।
तर लकडाउको स्थविरताले द्रुतगामी ध्वंसको रङ्गमा रागेपाटे भइसकेको चराचर पृथ्वी धेरै सुस्ताएको छ । चराचुरुङ्गीहरू, जनावरहरू निर्भय देखिएका छन्, जल, थल, आकाश, हावा परिष्कार भयो । परिष्कार मनका मान्छेहरूले केही लामो र शान्तिको श्वास फेर्ने मौका पाएका छन् । अपराधीहरू पनि छापछुप छन्, हस्पिटल फार्मासी पनि सुनसान छन्, बाटाहरू, पसलहरू शान्त छन्, धनीहरू कोही चिन्तित छन् कोही विभ्रान्त र कोही दान पुण्यमा नदेखिने धर्म लुट्न र देखिएर धर्मी बन्ने दौडमा छन् । लाखौँ दान दिएर चुप्प लाग्नेहरूको समाचार पनि पाइँदै छ । आत्मतृप्ति होला । रामेहरू तृप्त नभए पनि सन्तुष्ट छन् । रामे सधैँ गरेको कष्ट भोग्नु नियति ठान्छ, गाडीमा हिँडेर साइकल चढ्नुपर्दा आत्मग्लानि ठान्नेहरू आउँछन् बरु, ‘रामे के गरूँ जाइदे तँ, ल्याइदे केही, पाउलास् भाग तैँले गरेको कष्टहरू’ हो त यसलाई कोरोना दैनिकी नभने के भनौँ त अरू ! यस्तो सोचाइमै व्यतीत हुदै छन् डिल्लेरामेका कोरोना दैनिकीहरू । गुन्द्रीमा बसेर, कुरामा मुन्द्री पार्दापार्दै रामे कति बेला भुसुकै निदाएछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।