अघिल्लो हप्तादेखि महिनावारी हुँदा प्रयोग गर्ने प्याडको मूल्य बढ्यो भनेर सोसल मिडियामा चर्चा चलेको चल्यै छ । सरकारसम्म खबर पुऱ्याउन भनेर कैयौँ पोस्ट पोस्टिए सोसल मिडियामा । कैयौँ पोस्टमा त म आफैँले कमेन्टसमेत गरेँ समर्थनका लागि; आमा र दिदीको महिनावारी हुँदा कामै नगरी देखिने थकित अनुहारलाई सम्झेर त्यो कान्तिहीन हाँसोलाई सम्झेर । टालाटुली युगको अन्त्य गरेसँगै प्याडले त्यो अनुहारमा कान्तिसहितको मुस्कान देखिन्छ कि भनेर । मैले पनि लेखेँ “सरकार प्याडको मूल्य घटाइदेऊ” । कतिपयले लेखेका थिए “प्रोटेक्सन फ्रि दिन सक्छौ सरकार तर नारीलाई प्याड किन सक्दैनौ ?” अन्य केही नारीका आवाज थिए “हामीलाई फ्रिमा पर्दैन, कुनै निश्चित रकम तोकिदिए हुन्छ, जुन रकम हरेक नेपाली नारीले आफैँ तिरेर प्याड किन्न सकून् ।” प्याडको मूल्यका निम्ति नारीले चालेको कदममा मेरो सय प्रतिशत समर्थन थियो । प्याडकै ज्ञानका लागि मैले अक्षय कुमारको “प्याडम्यान” भन्ने चलचित्रसमेत हेरेँ ।
हिजो घरकै सबैभन्दा शिक्षित सदस्य महिनावारी हुनुभयो । व्यावहारिक शिक्षाले को छ? त्यो त म भन्न सक्दिनँ तर विद्यालयको शिक्षाले भन्नुपर्दा दिदी । मैले हिजोअस्ति इन्टरनेटमा पढेका कुरा फेल भए किनकि दिदी महिनावारी हुँदा घरमा प्याड आएन तर पुरानो मानेर कैयौँ महिनादेखि आमाको दराजपछाडि कोचिएको धोतीको एक टुक्रा नयाँ टालो बनेर जन्मियो । अब त्यो पुरानो नयाँ टालाले मेरी दिदीको महिनावारीको सक्दो रक्षा गर्नेछ ।

अजित धिताल
सोसल मिडियाका कमेन्टमा सक्दो फलाक्ने म, घरमा फलाक्न सकिनँ । फलाक्नु नि कसलाई प्याड भनेपछि बुझ्ने दिदी हुनुहुन्छ, उहाँ नै यसको विपक्षमा उभिएपछि जस्तो लाग्यो । आमाका अगाडि प्याडको नाम लिनु र प्रोटेक्सनको नाम लिनु बराबर हो । बुबालाई प्याड भन्यो भने सिधै पहिलो वाक्यमा भन्नुहुन्छ “एप्पलको किन्नू आफैँ पैसा कमाएर ।” यसमा म बुबालाई गलत पनि देख्दिनँ किनकि व्यवहारले पढाइ कम गर्नुभयो अनि आधुनिकताका लागि मोबाइल हेर्नुहुन्छ । नेपालीमा लेखेका कुरा हल्का पढ्नुहुन्छ तर अङ्ग्रेजीमा लेखेका कुरा मोबाइल(mobile ) नै भए नि बुझ्नु हुन्न । यसै पनि प्याड विदेशी शब्द हो । आमालाई चाहिँ एकपल्ट गाँउमा शिविर आउँदा थाहा भएको रहेछ ।
घरको आर्थिक आवस्था प्याड किन्न नसक्ने खालको थिएन, मेरो विचारमा ।
दिदीलाई यसका(प्याडका) बारेमा म केही सोध्न सक्दिन थिएँ । उमेरले सोह्र पुगे पनि एक वर्षअघि दिदीलाई नै महिनावारीका बारेमा सोध्दा पिटाई खाएको मलाई याद छ । त्यसपछि मैले स्वास्थ्य शारीरिकका कुनै पनि प्रश्न दिदीलाई सोध्न छाडिदिए ।
मैले आजसम्म दिदी वा आमा कोही महिनावारी हुँदा याद गरेको थिइन । यो महिना दिदी महिनावारी हुँदा हरेक कुरा याद गरेँ । मेरा लागि प्याडको कुराले गर्दा महिनावारी तत्कालीन विषय भएर हो वा के भएर हो । मैले पछिल्लो चार दिन दिदीका हरेक क्रियाकलाप याद गरेँ । दिदी महिनावारी भएको आज पाँचौँ दिन अर्थात् हाम्रो समाजको भाषामा भन्नू पर्दा दिदी आजबाट चोखिनुभयो ।
दिदी त चोखिनुभयो तर मेरो मन चोखिएन । मलाई दिदीजस्तो शिक्षितले पनि किन प्याड प्रयोग गर्नु भएन भन्ने प्रश्नले नछुने बनाइरह्यो । खाना खाएपछि दिदी एक्लै भएको मौका पारेर सोधेँ, “दिदी हजुर पर सर्दा प्याड किन युज नगरेको?” डरले होला एकै सासमा सबै प्रश्न फुत्कियो । दिदी के भन्नु के नभन्नु जस्तै पर्नुभयो । म आफैँ फेरि दिदीको हात समाउँदै बोलेँ, “महँगो भएर हो?” दिदी अक्क न बक्क पर्नुभयो । केही बोल्न सक्नु भएन । एउटा भाइले आफ्नी दिदीलाई महिनावारी हुँदा प्रयोग गर्ने आधुनिक भनिएको सामानका बारेमा सोध्दा के भन्ने? यो अझै पनि नेपाली समाजको सोचनीय विषय हो । मेरो विषयमा पनि त्यस्तै भयो । दिदी लजाएझैँ गरी चुप हुनुभयो । रिसमा चुर्लुम्म भएर पिट्न नि सक्नु भएन किनकि राखी लगाउँदै गर्दा भन्नुभएको थियो, “मलाई सधै माया गर्नु, मेरा लागि कुनै राम्रो कुरा छ तर तिमीलाई भन्न डर लाग्छ भने मेरो हात समाएर भन्नू ।” दिदीको मौनताले विराम पाउलाजस्तो लागेन । समाएका हात छोड्दै कोठाबाट निस्किन मन लाग्यो । उठ्न खोज्दै गर्दा दिदीले अँगालो हाल्दै भन्नुभयो, “यति भए नि सोध्यौ, खुसी लाग्यो । दिदीको सधै मायाँ गर्नू ।”
अँगालो छोड्दै दिदीले भन्नुभयो, “अघिल्लो दुई दिन त प्रयोग गरेँ, एक्कासि महँगो भएकाले छुट्याएको पैसा पुगेन । पछिलो दुई दिन गाह्रो भयो ।” दिदी चुप हुनुभयो ।
म पनि केही बोल्न सकिनँ ।
केही समयपछि भनेँ, “बुबालाई भनेको भए हुन्थ्यो नि?”
“बुबाले नै दिनुभएको हो, असी रुपियाँ दिनुभएको थियो । सधैँ पुग्थ्यो यो महिना पुगेन ।” दिदी यति भन्दै रसिला आँखा लिएर कोठाबाट निस्कनुभयो । म भुईँमा थच्च बसेँ ।
मन भित्रभित्रै मच्चिन थाल्यो ।
मनले भन्यो, “प्याड नारीजीवनको एक महत्त्वपूर्ण हिस्सा हो । जसरी मानवजीवनमा नारीको महिनावारी आवश्यक छ ,महिनावारीका लागि प्याड उत्तिकै आवश्यक छ । प्याडको उचित व्यवस्था होस् सरकार ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

