खाँदाखाँदै तिनका आँखाका गेडीहरु चारैतिर घुमे । यतिनैबेला, तिनको दिमागले मनलाइ खै के साउती गर्यो कुत्री, पानीको गिलास स्वाट्टै साटिन र घट्घटी पारिन । लाग्थ्यो, तिनको तिर्खा सामान्य होइन । छेवैमा बसेको ऊ, ट्वाँ पर्यो । साटिएको गिलास हेर्यो, आधा गिलास पानी अझै छ । तिनलाइ हेर्यो, तिनी स्वाद मानेर पानी पिउँदै थिइन् । मानौ पानीमा मह नै घोलिएको छ । उसले हेर्दा तिनी केही अप्ठयारो अनि थोरै लजाएको दोसाँधमा थिइन् । आखिर किन साटिन पानी ? उत्तर खोज्दै उसले मःमका डल्ला मुखमा कोचिरहृयो ।

अब ऊ, साटिएको पानी खाने कि नखानेभनेर दोधारमा पर्यो । उसले अहिलेसम्म अरुको जुठो खाएको थिएन । तिनको प्लेट हेर्यो, अनि आफ्नो । ऊ दोधारमा थियो नै, अहिले आएर नलागेको डर ह्वातै बढेर आयो । पक्कै यिनले चाँडै नै प्लेट पनि साट्नेछिन । मन डराएर हातलाइ आदेश दियो, चाँडो कोचीहाल बाँकी रहेका डल्लाहरु, नत्र तेरा भनिएका डल्लाहरु तेरा रहने छैनन् । अनि छिनमै प्लेट रित्यायो । अहिले उसलाइ ठुलै युद्ध जिते कि भन्ने भ्रम भयो । साँच्चै, त्यो उसको भ्रम मात्र थियो । युद्धको घोषणा त बल्ल हुदै थियो ।तिर्खा लागे पनि गिलास उठाएन उसले । मःम खाँदै गर्दा तिनका आँखाका गेडी भने ऊ तिरै ढल्किएका थिए । ऊ के गरुँ भयो । तर पनि जुठो पानी छोएन । यतिबेला तिनको अनुहार अँध्यारो देखियो ।

तारा खतिवडा

“सरलाइ केही थपुँ ?” खाली प्लेट देखेर टेकदाइ बोले ।“हैन, पुग्यो दाइ ।” ऊ उठ्न खोजे झैँ भएछ क्यार, गीता मिसले भनिन, “के को हतार हो सर, घण्टी लाग्न अझै बीस मिनेट बाँकी छ । पकौडा चाख्नुहन्छ ? जुठो हालेको छैन ।” भनिसकेर उनि खिसिक्क हाँसिन् । गिलास साटेको पक्कै यिनले देखिछिन क्यार, तिनको हँसाइबाट उसले यस्तै अनुमान लगायो । स्कुलको क्यान्टिनमा तेतिबेला अरु पनि सर मिसहरु थिए । उसलाई त्याँ बसिरहन अप्ठ्यारो लागेर आयो र भन्यो “भो मिस, फेरि खाउँला, थ्याङक्यु, अफिसमा अलिकति काम छ ।” ऊ त्यहाँबाट फटाफट् निस्कियो ।

करिब चार महिनादेखि काठमाडाैँको त्यो निजी स्कुलमा पढाउँदैछ ऊ, अर्थात सुमन सर । गाउँबाट मास्टर्स डिग्री पढ्न आएको हो, ऊ । अबको एक महिनापछि ऊ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय तथ्याङ्क विभागमा पढ्दैहुनेछ । सुमनको अहिलेको सपना डिग्री पास गरेर कुनै कलेजमा पढाउनु, बस यति हो ।

करिब तीन महिनादेखि त्यही स्कुलमा पढाउँदैछिन तिनी, अर्थात रुसा मिस । रुसा काठमाडौँकै हुन् । बिहान पद्मकन्या क्याम्पस पढ्ने तिनी, दिउँसो त्यो स्कुलमा पढाउँछिन् । सुमनको जस्तो सपना तिनको छैन, किनकि तिनी आँफैलाई कसैको सपना ठान्छिन् ।

त्यो दिन बेलुका सुमनको मन हल्लिन खोज्यो । सम्झ्यो, एक महिना अगाडि तिनले पेन साटेकी थिइन्, जतिबेला ऊ हप्ता दिनको लागि घर गएको थियो । घर हिड्ने दिउँसो, प्रिन्सीपलसँग बिदा मागेर ऊ, अफिसबाहिर निस्किएको थियो । हातमा डट्पेन खट्याक खट्याक पार्दै त्यैबेला अफिसकै ढोकामा आइपुगेकी थिइन् तिनी । अचानक सर्टको गोजीमा भिरेका डट्पेन साटेर शुभयात्रा भनेकी थिइन् । ऊ थ्याङक्यु भनेर बाटोमा निस्किदा सोझो सोचेको थियो, डट्पेनले लेखेन होला, त्यसैले साटिन् । तर आज पानी साटेपछि भने ऊ अलिक स्पस्ट भयो ।

ओछ्यानमा आँखा चिम्म गरेर सोच्न थाल्यो, अब यिनले के के साट्ने होलिन् । ऊ काठमाडौँ आएको त आफ्ना सपनाहरु साट्नलाई हो । डिग्री पास गरेर कलेज पढाउने । पैसा कमाएर गाउँमा खेतीपाती गरेर गुजारा गरिरहेका बा आमाको काँध हलुका पार्ने, भाइ बहिनी पढाउने । अहिलेलाइ उसले साट्नु पर्ने कुराहरु त यि हुन । उसले आफैलाइ भन्यो ।

अर्को दिन, स्कुलगेट अगाडी गीता मिसले भनिन, “रुसा मिसले तँपाइलाइ मन पराउँछिन ।”सुनेर ऊ डराइ डराइ हाँस्यो र भन्यो, “तपाइँले चै मन पराउनुहुन्न र ?”“त्यस्तो हैन क्या, आफै बुझ्नु न ।” यति भनेर उनि अफिस भित्र छिरिन ।अब भने ऊ, साँच्चै डरायो ।

विभिन्न बाहानामा रुसा, सुमनसंग नजिक हुनथालिन । विधालयमा हुने अतिरिक्त क्रियाकलापहरुमा सबैले थाहा पाउने गरि उनले सुमनलाइ साथ दिन थालिन । एक दिन कक्षा दशका एक हुल केटीहरुले गफ गरेको सुन्यो ।“सुमन सरको त रुसा मिससंग लभ छ रे नि ।”“मलाइ पनि त्यस्तै लाग्छ, अस्तिको कार्यक्रममा सरले कविता भन्दा कति धेरै ताली बजाएकी ।”“हो बाइ, मिसले नै बढि गर्छिन जस्तो लाग्छ मलाइ त, सुमन सरले खासै भाउ दिए जस्तो लाग्दैन ।”त्यो भन्दा बढि सुन्नु थिएन उसलाइ । अब उसलाइ आफ्नो मन सुन्नु थियो ।

एउटा मन भन्दै थियो– उमेर यहि हो केटा । किन पछि पर्छस ? अनुभव त सबै कुराको लिएको राम्रो । धेरैले लभ गर्छन यो उमेरमा ।फेरि तिनी नराम्री पनि त छैनन् । अझ काठमाण्डुमै घर भएकी केटी । त्यो डिपीको पनि काठमाण्डुकै केटीसंग लभ छ रे । उसको सबै खर्च केटीले नै टारिदिन्छे रे ।कतिले घरबेटी कै छोरीसंग बिहे गरेर काठमाण्डुमा घर जोडेका छन । तँलाइ त मिहेनत बिनै आइलागेको छ । आँट सुमने आँट ।तर अर्को मनले विरोध जनायो –धत्, केटीको पछि लागेर आफ्नो सपना बिर्सनु हुत्र । यो लभ गर्ने सही समय होइन । समय त पढ्ने हो । रसायन शास्त्र विभागमा टप गरेका गाउँले दाइले भर्खरै भनेको सम्झ्यो, ‘लभसभको चक्करमा त परेका छैनौ नि सुमन । यस्तोमा फस्यौ भने बर्बाद हुन्छौ । पहिलो पढाइ हो ।’गाउँबाट काठमाण्डु आउँदैगर्दा बा आमाले भनेको सम्झ्यो, ‘राम्रोसंग पढ्नु । शहरमा त अनेक किसिमका केटी हुन्छन । फसाउलान नि । ख्याल गर्नु ।’दुइ मनको घर्षणबाट अहिले ऊ असिनपसिन भयो ।

सुमनको आफु प्रतिको मौनतालाइ भने रुसाले स्विकृतीनै सम्झेकी थिइन क्यार । एक दिन स्कुल छुट्टी भएपछिकागजको सानो चिट् उसको सर्टको गोजीमा छिराइदिइन । डेरा पुगेपछि चिट् पढ्यो, लेखिएको थियो, ‘भोली बिहान सात बजे पद्मकन्या क्याम्पस अगाडी भेटौ है । नर्बिसीनु नि ।’ चिट् पढेपछि ऊ,चिट्चिट् भयो । मन भुलुक्क उम्ल्यो । त्यो रात,रातैभर सुत्न सकेन ।ऊ भित्रका दुइ मनहरु रातभर रगडीरहे । भोली बिहान जाने या नजानेमा मनहरुले तर्क वितर्क गरिरहे । यदि गएमा जिन्दगीकै पहिलो डेटिङ हुन्थ्यो त्यो र जीवन फरक धारमा अघि बढ्नसक्थ्यो । अनि नगएमा ? डेटिङको अवसर गुमाउँथ्यो र जीवन उहि रेखामा अघि बढ्थ्यो ।छिन्छिनमा सोचिरह्यो उसले, रातभर । अबको दुइ बर्ष उसले घँुडा धसेर पढ्नु पर्छ । दायाँबायाँ सोच्नु भनेकै अहिलेको सपनाबाट स्खलित हुनु हो । उ राम्रोसंग पढ्नु, बा आमाको पनि सपना हो । अझ, भाइबैनीको पनि सपना हो । त्यसैले अहिले उसले बिसाउनै नहुनेगरी पारिवारिक सपनाको भारी बोकेको छ । त्यसैले यो पढ्ने समय हो । अनि लभ गर्ने समय चै होइन र यो? त्यो पनि त हो । यति बेला नगरेको लभ कैले गर्ने ? फल त ठिक्क समयमा टिपेको राम्रो । यसरी दुइ मनहरु रातभर झगडा गरेर उसलाइ सुत्नै दिएनन् ।

बिहान सात बज्दा, ऊ पद्मकन्या क्याम्पस अगाडीथियो । यतिनैबेला,तिनी क्याम्पस गेटबाट सरासर उसको नजिक आइन् र हाइ भनिन् ।ऊ मुसुक्क हाँस्यो मात्र । “किन याँसम्म बोलायौ?” बुझ् पचाएर सोध्यो । “त्यतिकै ।” तिनले पनि बुझ् पचाइन् ।दुबैजनाको बुझ् पचेछ क्यार, स्वाट्टै बागबजारको गल्लीभीत्र छिरे । हिड्दा तिनले उसको हात बेस्सरी पक्डेकी थिइन् । कुनै तरुनीले उसको हात समातेको पहिलो पटक थियो त्यो । त्यतिबेला उसको अनुहारमा डर र उत्तेजनाको छयास्मिसे रङ्ग देखिन्थ्यो । चिनेको कसैले प्mयाट्टै देखिहाल्यो भने । यता रुसा भने बेर्पवाह थीइन् । कति खुशी देखिन्थीन तिनी ।

गल्ली टुकुचा सब्जिबजार हुदै प्रर्दशनी मार्ग निस्कियो ।काँ जाँदैछन उनेरु, गल्लीलाइ के थाहा? थाह त उनेरुलाइ पनि थिएन ।गन्तब्यसंग मतलब थिएन । सिर्फ हिड्नु थियो संगै,हिडिदिए । उसले कतै लाँदैछ, तिनको अनुमान थियो । काँ जाने भन्ने अलमलका बिच बोल्यो ऊ, “चिया खाने?” “हुन्छ”, जे गरे नि तिनलाइ उसंग हुनु थियो । दुबै चिया पसलभित्र छिरे । चिया चमेना खाइसक्दा पनि अब काँ जाने भनेर उ प्रस्ट थिएन । दुबै हिडे त्याँबाट । पुतलीसडक हुदै अनामनगरकोे उकालो लागे । उसको दिमागमा झट्ट लोकसेवा आयोेगको चौर आयो, त्यतै छिरे । त्याँ बसेका मात्र के थिए, भुस्या कुकुरहरुको एउटा हुलले चौरमा ताण्डव नृत्य देखाउन थाल्यो । उसलाइ झर्को लागेर आयो । जौ भनेर उठ्यो अनि फेरि पुतलीसडक तिर लागे ।

गौशाला, चाबेल भन्दै एउटा टेम्पो उनिहरुको अगाडी आइपुग्यो । उसको दिमागले चाहेजस्तो ठाउँ भेट्यो, पशुपतिनाथ । टेम्पोमा चढे । उसले लामो सास फेर्यो । पशुपतिनाथ मन्दिर पुग्दा बिहानको आठ बजेको थियो ।उनिहरु मन्दिर नछिरी आर्यघाटको पारीबाट गुहृेश्वरीको उकालो लागे ।उनिहरु एकान्तको खोजीमा थिए। तर बिहान भएकोले जताततै मान्छे अनि बाँदरको ओहोरदोहोर थियो । उनिहरुले खोजेजस्तो एकान्त भेट्टाएनन् ।अहिले आएर त्यो अघोषित डेटिङ उसलाइ झ्याउ लागेरआयो । ऊ पुरैले चाहेको थिएन त्यो । मात्र आधा भएर आएको थियो । उता, तिनीमा भने बेग्लै खालको आनन्द थियो । तिनले अझै पनि उसको हात पक्डेकै थिइन ।“जौ अब, स्कुल जान ढिला हुन्छ”,बस्ने ठाउँ नभेटेपछि भन्यो उसले । हुन्छ भनिन तिनले, र दुबैजना सिढिं उत्रेर गौशालातिर लागे । त्याँबाट दुबै छुट्टिए । त्यो दिन ऊ स्कुल गएन ।

एक हप्ता पछि उ किर्तिपुर सरेसंगै स्कुल पनि छोड्यो । ऊ सर्ने दिन बिहान, तिनी उसलाइ बिदा गर्न डेरामा आएकी त थिइन्, तर तिनलाइ आफ्नो नयाँ डेरासम्म लगेन । अब उसले तिनीलाइ भेट्नु थिएन । डेरा सरेपछि ऊ अलिक ढुक्क देखियो । हरेक दिन विश्वविधालय जानु, पढ्नु, डेरा फर्कनु अनि फेरि पढ्नु उसको दैनिकी बन्यो ।यो दैनिकी भित्र तिनी भने क्रमशः हराउँदै गइन् ।

तीन हप्ता पछिको एक दिन,पढाइ सकेर ऊकक्षा बाहिर निस्केको मात्र के थियो, तिनी उसको अगाडी ठिङ्ग उभिएकी थिइन् ।“अरे, तिमी याँ ?” ऊ अचम्मीत भयो । “आउनु हुत्र र?” अगाडी थपिन, “एकजना दिदीको साथी आएकी, याँ आँउदा तपाइसंग भेट गर्न मन लाग्यो।” कति सहज उत्तर थियो तिनको ।उ मुसुक्क हाँस्यो मनैदेखी । सोच्यो, कति समय अघिदेखि तिनी उसलाइ पर्खिरहेकी थिइन् । “जौ चिया खान”, भन्यो उसले र पुस्तकालयको क्यान्टिनतिर लाग्यो । तिनले पछ्याइन् । चिया र पकौडा अडर गरेपछि उनिहरु अगाडीको चौरमा बसे । “अनि, दिदी खै नि ?” सोध्यो उसले । “दिदी, खै कता जानु भो”, हाँसीनतिनी । तिनी दिदीसंग होइन, उसलाइ नै खोज्दै यहासम्म आएकी थिइन् । उसले अनुमान लगाइसकेको थियो । “दुब्लाउनु भएछ, पढाइले होला”, भनिन तिनले । “अँ, होला”, बेखबर झै भयो उ ।चिया पकौडा आएपछि खानथाले । “फोन नम्बर छैन ?” सोधिन तिनले । “मागेको छैन घरबेटिसंग, अरुले भन्दा फोन आउँदा झर्को मान्छ रे बोलाउन ।” उसले टार्न खोज्यो । अँध्यारो मुख लगाइन तिनले, अनि लामो सास फेरिन । स्कुलको खबर सोध्यो अनि एकैछिनमा घडीहेर्दै भन्यो, “मेरो अर्को क्लास सुरु हुनेबेला भो, ल अब दिदीलाइ खोज ।” दुबैजना उठे । भेट्दै गरुँला न फेरि, मुखसम्म आएका यि शब्दहरुलाइ भित्रै ठेलेर उसले बाइ मात्र भन्यो अनि फटाफट् त्याँबाट हिड्यो । तिनका आँखा भने उसलाइ छोड्न निकै परसम्म पुगे ।

कतै तिनी ढोकामै त उभिइरहेकी छैनन् ।हरेकदिन क्लासबाट बाहिर निस्कदा ऊ सतर्क हुनथाल्यो । उसलाइ पहिले लागेको थियो, उता सरेपछि त सम्बन्ध सिद्धिन्छ । तर यसो भएन । न त उसले अब मलाइ नपछ्याउ नै भन्न सक्यो । एक हप्ता पछि फेरि तिनी तथ्याङ्कशास्त्र विभाग अगाडी देखापरिन् । परैबाट देख्यो उसले र तिनले नदेख्नेगरी भाग्यो त्याँबाट । पछिका दिनहरुमा तिनी आइरहिन् अनि ऊ भागीरहृयो । एक दिन ऊ भाग्दाभाग्दै तिनले देखिन् र नयाँ बजारसम्म पछ्याउँदै आइन् । पाँगा दोबाटोबाट ऊ कता छि¥यो कुत्री, तिनले पत्तो पाउन सकिनन् ।

त्यसपछाडी उसले तिनलाइ कहिल्यै पनि देखेन । पहिलो अनि दोस्रो बर्ष पनि बित्यो । उसले पहिलो सपना पुरा ग¥यो, अर्थात डिग्री पास ग¥यो । अब उ दोस्रो सपनाको नजिक थियो, अर्थात पढाउने जागीर खोजीरहेको थियो ।एउटा सरकारी क्याम्पसबाट मास्र्टस डिग्रीलाइ नै पढाउने अवसर पायो ।

सपना पुरा भएको प्हिलो दिन, ऊ कति धेरै खुशी थियो । बल्ल उसले पारिवारिक सपनाको भारी बिसाएको थियो र साँच्चिकै हलुका महसुस गरेको थियो । पहिलोपटक लेक्चरर्को रुपमा कक्षाकोठामा र्छिदैगर्दा उसले थोरै डर अनि बाँकी गर्वको मिश्रीत अनुभुती गरेको थियो । आफ्नो छोटो परिचय पश्चात पढाउनुपर्ने बिषयको बारेमा संक्षिप्त चर्चा गर्दैथियो ।अचानक उसका आँखाहरु एउटा अनुहारमा गएर अड्कीए । सन्तुलन गुमाएझै ऊ अलिक हड्बडायो । बिधार्थीहरुले थाह नपाउन भनेर आफुलाइ समाल्यो । अर्को दिनबाट कोर्स सुरुगर्ने भनेर त्यो दिनको क्लास छिट्टै सिध्याएर बाहिर निस्कियो । कक्षा बाहिर त्यो अनुहार उसलाइ पछ्याउँदै आयो, तिनी रुसा थिइन । नजिकै आएर बधाइ दिइन र भनिन्, “जति भागेपनि भेट त भैहाल्ने रैछ । आखिर संसार त्यति ठुलो पनि त छैन, भागीरहनलाइ । अब त हजुर चाहेर पनिभाग्न सक्नुहुत्र । तर डराउनु पनि पर्दैन । मैले बिहे गरिसके ।”भनिसकेर तिनी सिढीं ओर्लनथालिन ।अहिले समय छ, तर तिनी छैनन् । सम्झदै ऊ, तिन्ले लिएर गएकोसमय हेरिरहृयो ।