यो घरमा मेरो प्रवेश भएको झण्डै छ महिना भएको छ । अब मलाई यिनीहरू आफ्नै परिवार जस्तै जस्तै लाग्न थालेका छन् ।  को, के, कस्ता, कसो होला भन्ने शुरूको चिन्ता अब दश प्रतिशत मात्र बाॅकी छ । यो संशय त कहिल्यै कतै गए पनि, कुनै कुरामा पनि हट्ने कुरै भएन ।  चार जना बच्चा उनीहरू दुई र एक बुढी आमा गरी सात जना छन् घरमा । अमेरिकामा पनि यति धेरै जना मिलेर बसेका देख्दा एकदमै खुशी लाग्छ । अनि  चार चार बच्चा देख्दा आश्चर्य पनि लाग्छ । विकशित देशमा त धेरैमा दुई नत्र एक भन्दा बच्चा पाउँदैनन् अरे । सुनेको सबै कहाॅ सत्य हुन्छन् र ? ऑखैले देखेको जस्तो त ? ‘हाइ वेष्ट’ भन्दै चेपारो घसेको  घसेकै  गर्छ लोग्ने चाहिं । स्वास्नी चाहिं तेति टेरपुच्छर लाए जस्तो गर्दिन देख्दा । उसको मनमा के छ कुन्नि त्यो त देख्ने, बुझ्ने कुरै भएन ।  भावनात्मक कुरा नाप्ने मेसिन पनि त अहिलेसम्म  बनेको छैन संसारमा । कहिलेकाहीँ ‘हाइ माइ विस’ पनि भन्छ । धेरै जसो समय ‘वेष्ट’ भन्ने हुनाले म उसको नाम वेष्ट ( पश्चिम )  भनेर नै बुझ्छु तर उनीहरूलाई सोधेर अर्थ खोजेर हैन । अझ मैले आफैँ उसको नामको न्वारन गरेँ, अब ऊ पश्चिम मात्र हैन पश्चिमा अर्थात् वेष्टी भई मेरो नजरमा सधैँ सधैँका लागि ।                            
                              

रश्मी भट्ट

यिनीहरूका बच्चाहरू पनि त्यतिसारो  रूने कराउने, चिच्याउने, झगडा गर्ने गर्दैनन्, जति लालनपालन, सेवा सुविधा, राम्रो वातावरण र पौष्टिक आहार नपुगेका बच्चाहरूले गर्छन् । बुढी आमा पचासी वर्षकी  छिन् र उनको स्याहार सुसार गर्नु मेरो जागिर हो । यही जागीरले गर्दा नै म उनीहरूको आलिशान बङ्गलामा प्रवेश गर्न पाएकी छु । धन्य हो, यो हेल्थ क्षेत्रको कपुरी ‘क’ को ‘होम हेल्थ एण्ड जब लाइसेन्स’ पनि कहाॅबाट टेक्नु, भेट्नु मैले यिनीहरूलाई । अमेरिकामा रेसिडेन्सियल घरहरू त्यस्ता आलिशान बङ्गलाका रूपामा हुॅदैनन् तर  जति सानो देखिए पनि भित्र हाम्रो देशको चार तले भवनभन्दा धेरै आयतनका र सुविधा सम्पन्न हुन्छन् । यो  घर ठूलोमध्ये नै पर्छ र जसमा दस वटा कोठा छन् । भव्य छ घर र सभ्य छन् यिनीहरू सबै धेरै कुरामा, आफ्नो संस्कृति संस्कार अनुसारका । मैले हेर्ने आमा श्रीमतीको रहिछन् । त्यसैले पश्चिमा खुबै ख्याल गर्छे आफ्नी आमाको । म पनि कोही हुन् या नहुन् आफ्नो काम बडो इमान्दारीपूर्वक नै गर्छु । त्यसमाथि धनीहरूको सौख हो कि बाध्यता, कोठैपिच्छे सिसिटिभी । शरीरले नैसर्गिक रूपमा दिने हाई र बाडुलीको पनि हेक्का राख्नुपर्छ ।

लोग्ने ठीकै देखभाल राख्छ आमाको । पश्चिमा छैन भने त ऊ लगभग वास्ता नै गर्दैन, हाम्रो नेपालको ज्वाईं चेलाले जस्तै ठीक्क पार्छ । कामको सेडुयल पनि मिलाएकै छन् लोग्ने पाँच  दिन काम गर्छ, पश्चिमा चार दिन काम गर्छे । एक दुई दिन मात्र दुवै सॅगै घरमा बस्छन् । फेरि पश्चिमा र ऊ दुवै सॅगै भएको बेला भने लोग्ने पनि निकै चेपारो घस्छ बुढीमाउलाई । जिन्दगी नै नाटक हो, भ्रम हो, यही भ्रम सही सत्य मानेर रमाउनु पर्छ सबैले । नाटकै गर्दिनँ, आउॅदैन भन्नेले पनि सानो न सानो, केही न केहो नाटक गरेकै हुन्छौ जिन्दगानीमा ।

पश्चिमा / वेष्टी जति राम्री छ, व्यवहार पनि उत्तिकै राम्रो छ उसको । काम गरेको यी ‘छ’ महिनामा हप्ताको पाॅच दिन नै म उसको घरमा हुन्छु । आजसम्म उसले मलाई नराम्रो गरेको, रिसाएको, झर्किएको  थाहा छैन । उसले आमालाई गर्ने अत्यधिक प्रोटेक्सन र मायाबाहेक उसप्रति गुनासो नै छैन । म पनि मेरी आमा र देशलाई कम्ता माया गर्थें र ? यसैको पुरस्कार त होला विदेश बस्ने सजाय ।  मलाई भने वेष्टी  काममा गएको दिन अलि बढी हलुका महसुस हुन्छ, उसको लोग्ने घण्टैपिच्छे म र उसको ममीलाई चेक गर्न आउँदैन । यो त मेरो स्वार्थको कुरा भयो तर ऊ वेष्टी मात्र हैन बेष्टी नै छे । यदि उसको ठाउँमा म छु भने पनि म यति अरूलाई मर्यादा राख्न र सधैँभरि घरको वातावरण यस्तै शान्त  राखिरहन सक्दिनँ ।

उसका अरू व्यक्तिगत बानी बेहोरा र  पहिरनका त कुरै नगरूँ । खपी नसक्नु हिउँको तुषपछि अर्थात् अप्रिल पछिको ॠतु, पहिलो भेटमै ऊ छोटो लुगामा थिई । अड नै लागेको थियो तर सम्झिएँ, हामी त्यस्ता संस्कार र संस्कृति भएको देशमा हुर्केको मानिस त कहिलेकाहीँ छोटा लुगा लगाउन मन पराउँछौँ । कोही देशमै विदेशीभन्दा बढी अर्धनग्न हुॅदै हिॅड्न मन पराउॅछन् । ऊ त खास  विदेशी, पश्चिमकी पश्चिमा । जति, मे, जुन, जुलाई महिना आउॅदै जान्थ्यो, उति उति ऊ नग्न हुॅदै जान्थी । घरमा एसी पनि हाइ छ तापनि उसको लुगा लम्बिने त छेकछाॅट नै छैन । यसमा पनि ऑखालाई सहज बनाउॅदै गएँ ।  अगष्टको महिना एक दिन अत्यन्तै गर्मी थियो, हाइअलर्ट पनि थियो गर्मीको । उसो त अमेरिकाको न्युयोर्क खासै गर्मी हुने ठाउँ होइन । अगष्टको महिना  तर त्यस दिन  99/100 डिग्री तापक्रम । म उसको घर पुग्दा त ऊ लगभग नग्न थिई । यतिसम्मको लुगा पनि बन्दोरहेछ विदेशमा । यो प्रचण्ड गर्मीको दिन  मेरो पहिरन देखेर ऊ आश्चर्य र नतमस्तक भै ।  चाहेर पनि मैले यस काममा हाफ पाइण्ट लगाउन सक्दिनँ ।  उसको देश र संस्कृतिअनुसार अनेकौ हर्कत गर्थी ऊ । गाना बजाना नृत्य, गेट टुगेदर सबैमा उसको रूचि थियो। बिहानभरी एक्सरसाइज पनि गरिरहन्थी । हेल्थ कन्सियस पनि छे । शरीरलाई फिटफाट राख्न मन पराउॅछे । बेला बेला गफ पनि गर्न खोज्थी मसॅग । मेरो प्रोनाउनसेसन नबुझेर हैरान हुन्थी । उसकी आमा मसॅग खुसी नै देखिन्थिन्, कुनै कम्प्लेन थिएन उनको। सायद दायित्व राम्रो निभाएको थिएँ कि, छु कि ? बच्चाहरूको खेल्ने रूम अलगै  र ठूलो थियो  तर आज उनीहरू चारै जना लिभिङ रूममा आएर खेल्दै थिए, उसकी आमालाई ह्वील चियरमा लिएर  म पनि लिभिङ रूममै एक कुनामा थिएँ । बच्चाहरू पनि मदेखि निर्धक्क हुन थालेका थिए । ती सबैलाई म उनीहरूको ग्रेन्डमाको केयर गर्ने मान्छे हुॅ भनेर थाहा भइसकेको थियो । खेल्दाखेल्दै के भएछ कुन्नी, हल्का फाइट पो  गर्न लागे ।

सबैभन्दा ठूलो एघार बर्षको  बच्चा नै  अरू तीन साना बच्चामाथि आइलाग्न थाल्यो । नौ वर्षकी उसकी बहिनीले पनि कसेर उसलाई एक मुक्का हानी । त्यही रिसले अर्को छ  वर्ष जतिको भाइलाई पनि उसले बेस्करी धकेलेर लडायो । यो देखेर अब मलाई नै हान्छ भने झैँ, सबैभन्दा सानो, चार वर्षकी बच्ची उसको पिटाई नखाॅदै बेस्करी  चिच्याएर रोई । म अलमल्ल परें, उसकी ज्ञानी पनि  केही नबोली हेरिरहिन् । कुन कोठामा रैछन कुन्नी उनीहरू ? रुवाईको आवाज सुन्नासाथै  बाउ चाहिँ दौडेर एक सासमै लिभिङ रूम आयो । अझै लड्न र मुक्का हान्न छाडेन ठूलो केटोले । खास झगडा उसको र ठूली बहिनीको रहेछ । त्यही घानमा यी दुई अबोध पिसिंदै रहेछन् ।

उसले  छुट्याऊॅदै वेष्टीलाई  बोलायो । वेष्टी/ पश्चिमा पनि दौडेर आई । लोग्नेले भन्यो — ‘लुक्, लुक, लुक वेष्टी, योर चाइल्ड एण्ड माइ चाइल्ड क्वायरलिङ विथ आवर चाइल्ड ।  ईट्स नट् गुड ।’

तब पो मैले चाल पाएँ चार चार बच्चा किन रहेछन् यिनीहरूका ? वेष्टी त हाॅस्न पो थाली । उसले भनी — ‘ईट्स अमेजिङ, ईट्स फनी, सम्टाइम्स, यु नो दे अल आर चाइल्ड ।’

लोग्ने हल्का दु:खी बनिरह्यो, सायद हामी लिभिङ रूमम नभएको भए उसलाई उस्तो केही लाग्ने थिएन कि ? स्वास्नी अझ वाउ  वाउ भन्दै हाॅसीरही  मलाई आमा लिएर आफ्नै कोठामा जान आदेश गरी । चौपट्ट खुल्दुली बढेर आयो ममा ।  विस्तारै एक दिन दुई दिन गर्दै ऊ घर नबस्ने दिनहरूमा उसकी आमालाई सोधेँ । बुढियाले माइन्ड नगरी भनिन् – उनीहरूको जीवन कहानी ।  छोरो लोग्नेको रहेछ । उसकी स्वास्नीले डिभोर्स गरेपछि उसैलाई सुम्पेर अर्कोसॅग गएकी । छोरी वेष्टीको रहेछ, उसको लोग्नेसॅग डिभोर्स गरेर छोरी आफ्नै साथमा राखेकी । अनि आ- आफ्ना खुशीका मान्छे बनेर, सॅगै बसेर उनीहरूले  छ वर्षे छोरो  र त्यो रून्ची चार वर्षीया छोरीलाई जन्म दिएका रहेछन्, तर रून्चीले जे गरी, ठीक गरी, डराएर ठूलो स्वरमा चिच्याएर  कराएर ।  नत्र मलाई  के गरूॅ न कसो गरूॅ भएर खल्खली पसिना छुट्ने थियो होला । आखिर बच्चा न हुन्, कसरी शान्त बसून् सधैँ । अरूबेला पनि लड्नेभिड्ने गर्थे कि, उनीहरूको आफ्नै रुममा, मलाई  के थाहा ? लिभिङ रूममा खेल्ने दिनहरू मध्ये यिनले झगडा गरेको यही एक दिन मात्र देखेँ मैले ।

बिहे गर्नु अगाडि, सिंहदरबारमा ‘छ’ महिने ज्यालादारी जागिर खाॅदा, त्यहाॅका एक हर्ताकर्ता फुर्तिला दुई चार वटा देश घुमेका हाकिमले यही कुरा बडो गफ लगाई लगाई सुनाइरहेका हुन्थे, दिनैजसो नयाॅ नयाॅलाई । मैले पटक्कै पत्याएकी थिइनँ । मुखले केही भन्न नसके पनि बल्ल बल्ल सिॅहदरबार देख्न पुगेकी म कुवाकी भ्यागुतोलाई अचम्म अचम्म र हुनै नसक्ने झुटो गफ लगाएजस्तो लागेको थियो । आज आफ्नै ऑखाअगाडि यो सत्य छर्लङ्ग देखेँ । जय होस्  ती हाकिमको, सत्य नै बोलेका रहेछन् । अचम्म हो, उत्पात हो, भयङ्कर हो, छाडा पनि हो, पश्चिम ।  केही हदसम्म छाडा पनि हुन् पश्चिमाहरू ।  सकारात्मक पाटोबाट हेर्दा  उदार, दिलदार पनि हुन् पश्चिमाहरू ।  के हाम्रो देशमा अहिलेसम्म कुनै घर परिवार यसरी मिलेर बाॅचेको छ र ? बाॅच्न सक्छ र ? हाम्रो संस्कारले पचाउन सक्छ र ? सयमा दुईले आज यो नजिर स्थापना गर्न खोजिरहेका छन् । यो सफल हुने क्रममा होला कि मरेरै जाला ? यसलाई जीवित बनाउन उचित होला कि सधैँभरि  मान्छेका स्वतन्त्रता र खुशीलाई  बन्धक नै बनाउन उचित होला ? यो छाडातन्त्र नै हो कि, उदारतन्त्र हो, मेरो मनमा निरूत्तर प्रश्नहरूको यो भॅगालो उम्लिरहेको छ ।

मेरो / हाम्रो पर्वको मात्र हैन पश्चिमको पनि यो कर्म भुमिको पनि, असल र उदार पश्चिमाहरूको पनि जय होस्, जसले आफ्ना स्वार्थका निम्ति बच्चालाई सडकमा अलपत्र फालेका  छैनन् । राम्रो लालन पालन गरिरहेका छन् । कस्तै परिस्थितिमा पनि अमिलो मुख नगर्ने  झनै राम्री हॅसिली, असल मातृभक्त यो पश्चिमा वेष्टीको सधैँभरी जय होस्, भलो होस् ।