मनोज रेग्मी

त्यो साझँ साथीहरुको करमा परेर भुइँमा खुट्टै नअडिनेगरि पिएको थिएँ । कसले मलाई कोठा छोडेर गयो भन्नेसम्म पनि होश थिएन् । भोलिपल्ट निरजले भनेपछि बल्ल थाहा पाएँ, रविले छोडेको थियो । जुत्तै नखोली, असरल्ल छरिएका कपडाहरुको प्रवाह नगरी ड्याम्म ओछ्यानमा ढलेको चाहिँ याद छ मलाई ।

मेरो एउटा अचम्मको स्वभाव छ । रक्सी पिएपछि नारायण गोपालका गीत सुन्नु पर्ने । अन्य सयम मेरो स्वर म आफैँलाई झर्काे लाग्छ, तर रक्सी पिएपछि नारायण गोपालसँगै गुन्गुनाउँछु ।

त्यो रात बिस्तारामा ढलेपछि खल्तीबाट मोबाइल झिकेँ । म्यूजिक प्लेयरमा गएर मस्टली प्लेडमा किल्क गरेँ । म मातेपछि गर्ने भनेको पनि यही नै हो ।

सबैभन्दा सिरानमा नारायण गोपालको “गल्ती हजार हुन्छन् यहाँ होश हराको बेला …………” बोलको गीत थियो । त्यही बजाएँ । मोबाइल सिरानीतिर फालेँ । उत्तानो परेर पल्टेको थिएँ । सधैं स्थिर रहने कोठाको दलीन त्यो दिन भने फनफनी घुमिरहेको थियो । म कतै शून्यतामा उडिरहेको थिएँ । त्यो अनुभूति साँच्चै नै अलौकिक हुन्छ । सबै पीरमर्का र सेम वोल्ड रूटिन भुलेर “म” मात्र “म” भएको थिएँ, त्यो क्षण ।

गीतमा भनेझैं म मात्तिएको थिएँ । आखाँ रिङ्गीरहेकै थिए । गल्ती गर्नलाई भने साथमा कोही थिएन् ।

एक्कासी मेरो अगाडी एउटा आकृति धुमिल भएर उभियो । आखाँ मिचेर क्यामेराको फोकस मिलाएझैं गरी, त्यो आकृतिमा फोकस गर्न खोजेँ । तर अहँ ! रक्सीको नशाले मरिगए दिएन् ।

“आज पनि पिएर आयौ है?” आकृति बोल्यो ।

मैले चिनिहालेँ । त्यो आवाज मेरा लागि कुनै नौलो थिएन । ऊ सधैं यसरी नै मेरो कोठामा आउँछे । मेरो हाल देखेर दिक्क मान्छे । तर केही बोल्दिनँ । मलाई एककिसिमले उसको बानी नै परेको थियो ।

ऊ अर्थात् शर्मिला । शर्मिला म बसेकै घरको माथिल्लो तल्लामा बस्थी । घरचाहिँ सिन्धुपाल्चोक । उसको नाम र घरबाहेक मलाई उसको बारे केही पनि थाहा थिएन । नजानिँदो पारामा उसले मलाई हरेक कुरामा साथ दिन थालेकी थिई । मैले उसलाई चिनेदेखि कोठामा भात पकाउनै परेन । उसैले पकाइदिन्थी । मैले कहिलेकाहीं तरकारी किनेर ल्याइदिन्थे, बस् !

उसले पकाएको खाना खाने बानी परेपछि म साह्रै अल्छी भएको थिएँ । खाना पकाउने, कोठा सफा गर्दिनेलगायतका काम उसले नै गरिदिन्थी । कपडाचाहिँ आफैँ धुन्थेँ । उसले सधैं विभिन्न तरिकाले साह्रै आत्मीय व्यवहार दर्शाउँथी । मैले पनि उसलाई असल साथीको रुपमा हेर्न थालेको थिएँ । र, उसलाई जस्तै मलाई पनि उसको साथ रमाइलो लाग्थ्यो ।

मेरो एउटा नराम्रो बानी के छ भने, म सम्बन्धको अर्थ या भनौँ महत्व ढिलो बुझ्छु । म जुनसुकै सम्बन्धलाई पनि हल्का रुपमा लिन्छु, र कुनै पनि सम्बन्धलाई नाम दिन सक्दिनँ । ऊसँगको सम्बन्ध पनि यस्तै बेनाम थियो । उसको र मेरो सम्बन्ध बिशेष थियो, त्यसैले बेनाम थियो । बेनाम भएकाले बिशेष भएको भने होइन ।

ऊ आएर मेरो अगाडि उभिएको थाहा लागेसी, मैले बजिरहेको गीतको शब्द सापट लिँदै लरबरिएको लवजमा भनेँ- “मेरा यी हातहरुले कहीँ घात गर्न सक्छ, अनि प्यार गर्दागर्दै पाप पनि गर्न सक्छ ।”

उसले केही प्रतिक्रिया जनाइन्, बरु मेरो गोडानेर आएर बसी । म गीत सुनेर आन्नद लिएझैं गरिरहेको थिएँ । जबरजस्ती उठेर बस्न खोजेँ । एक्कासी मेरो आखाँ बत्तिमा झुम्मिरहेको पुतलीमा पर्यो । पुतली यताउता गर्दै छटपटाइरहेको थियो । हेर्दाहेर्दै माउसुलीले आफ्नो जिब्रो फ्याँकेर उसलाई आफ्नो मुखभित्र लियो । आन्नदले निल्यो । मैले आफूलाई धान्नै सकिनँ । फेरि पल्टिएँ । ऊ अझै मौन थिई ।

अरुबेला जस्तो उत्साह उसमा थिएन । म उसैले कुरा सुरु गर्ली भन्दै पल्टिरहेँ । अन्ततः ऊ नै बोली- “आफूलाई कति दुःख दिन्छौ, विवेक ? तिमी शिक्षित र बुझ्ने भएर पनि किन यस्तो कुलतमा फसेर आफ्नो जीवनलाई अन्धकारतर्फ धकेल्दै छौ ? तिम्रो अगाडी सिङ्गो जिन्दगी लम्तन्न पसारिएको छ । यसरी मूल्यवान तिम्रो जीवनलाई घिसार्ने काम बन्द गर । यसलाई चल्न देऊ, जबरजस्ती चलाउन नखोज । जति तिमी मदिरामा डुब्छौ, त्यति तिम्रो जीवन कठिन बन्छ । मदिराले सधैंसाथ दिन्छ भन्ने भ्रममा नपर । हेर विवेक, म सधैँ तिम्लाई यसरी नै साथ दिन नसकूँला, त्यसैले आफूलाई सम्हाल । अझै केही भएको छैन । सम्हाल आफूलाई ।”

उसका कुराहरु बच्चा बेला सुत्नुअघि आमाले भन्ने गरेका परिकथाजस्तो लागे मलाई सायद, भुसुक्कै निदाए छु । ऊ कतिबेला मेरो कोठाबाट गई ? मैले पत्तो पाइनँ ।

मेरो कोठा पूवतिर फर्किएको थियो । पूर्वतिरको झ्यालबाट मेरो कोठामा घामको किरणहरु छिर्न सधँै लालायित देखिन्थे । म भने तिनै घामका किरणलाई गिज्याउँदै अबेरसम्म सुत्थें । शर्मिला म सुतिरहेको बेला मलाई घच्घच्याउनुको साटो सिधै आएर पर्दा खोलिदिन्थी । पर्दा खोलेपछि घामका चम्किला किरणहरु मेरो आखाँमा आएर ठोकिन्थे, र मलाई उठ्न बाध्य पार्थे । तर, त्यो बिहान ऊ आइन् । म आफैँ उठ्नुपर्यो ।  उठेर मोबाइलमा हेरेँ, दश बजिसकेको थियो । दश बजे पनि मेरो काम केही थिएन, त्यसैले आत्तिनुपर्ने केही थिएन । तर, “आज उसले मलाई किन उठाउन आइन् ?” भन्ने प्रश्नले भने मलाई नराम्ररी पिरोल्न थाल्यो ।

टाउको असाध्यै दुखिरहेको थियो, ह्याङ्वोभरले । उसले सधैँ रक्सी पिएर आएको अर्को बिहान बनाएर दिने कागती पानी खुब मिस गरेँ । टेबलमा राखेको बोतलमा रहेको पानी पिएँ । ज्यानमा आलस्यता थियो, केही गर्ने जाँगर नै थिएन । पानी पिएर बोतल टेबलमा राख्दै गर्दा एउटा कागजको चिर्कटोमा गएर मेरा बासी आखाँ रोकिए । त्यसमा केही लेखिएको थियो । अक्षर चिनीहालेँ ।

प्रिय विवेक,

हिजो राती तिमीसँग धेरै कुरा गर्छु भनि तिम्रो कोठामा छिरेकी थिएँ । तर, तिमी पुरै अचेत थियौ । मेरो कुरा सुरु पनि हुन नपाउँदै तिमी भुसुक्क निदायौ । त्यसैले म बत्ती निभाएर तिम्रो कोठाबाट भारी मन र शरीर लिएर निस्केँ । रातभर अनेकौँ तर्कनाले मलाई गिज्याइरहे । कोल्टो फेर्दाफेर्दै रात बितेको पत्तै पाइनँ ।

मेरो एम.एको ट्रान्सकिप्ट निकालेको  हप्ता दिन भइसकेछ । मेरो काठमाण्डौ बस्नुको उद्देश्य पनि पूरा भैसकेको थियो । मलाई यहाँ बस्नभन्दा आफ्नै गाउँघरमा फर्केर कुनै काममा लाग्नु नै उचित हुन्छ जस्तो लाग्न थालेको थियो । म सधैँ मेरो परिवारलाई आर्थिक रुपमा सघाउन चहान्थे र चहान्छु पनि । तिमीलाई यी सब कुरा भन्न मन थियो, त्यसैले प्रत्येक रात तिमी कोठामा आउँछौ कि भनेर यतिका दिन कुरेर बसेँ ।

हिजो तिमी एकहप्तापछि आफ्नो कोठामा आएका थियौ । तिमीलाई फोनमै यी सब कुरा भनेर जान मनले दिएन । सोचें, भेटेरै सब कुरा गर्छु । तर, आज यो सब चिठ्ठीमार्फत् भन्न बाध्य भएकी छु । म आज बिहानै गाँउ फर्कदै छु । सायद यो सब मलाई तिमीसामु प्रत्यक्ष उभिएर भन्न निकै सकस हुने थियो । चिठ्ठीले केही हदसम्म सहज तुल्याइदिएको छ ।

हाम्रो सम्बन्धको नाम तिमीले के दिएका छौ, त्यो त मलाई थाहा छैन । मैले पनि नाम दिने कोशिश त नगरेकी होइन, तर कुनै नामले न्याय गरेजस्तो लागेन । तिमीसँग हुदाँ मलाई एकदम सुरक्षित र न्यानो अनुभव हुन्थ्यो । तिमी अन्तरमुखी छौ, त्यसैले मैले तिम्रा मनका भावनाहरु आखाँबाट अड्कल काट्ने प्रयास गर्थेँ । थाहा छैन, कति मेरा अनुमानहरु सहि भए, कति गलत ।

मैले तिम्रो संगतले छोरा मान्छेका सबल र दुर्वल दुवै पक्षहरु केहीहदसम्म नजिकबाट नियाल्ने मौका पाएँ । तिमीले मलाई नजिकैबाट चिन्ने मौका दियौ । तर पनि तिमीलाई मैले कति पनि नबुझेझैँ सधैँ लागिरह्यो । यो सब माया हो कि के हो मैले बुझ्नै सकिनँ !

मायामा तड्पन र पीडा हुन्छ भने, सायद म तिमीलाई माया गर्न थालेकी थिएँ । तिमी पुरै बेखबर र बेपरवाह थियौ । तिम्रो खुल्ला र बेपरवाह बानीले गर्दा मैले मेरा मनका कुरा तिमीसामु राख्नै सकिनँ । यद्यपि प्रयत्न भने नगरेकी होइन ।

मलाई थाहा छैन यो चिठ्ठी पढिसकेपछि तिमीले मेरो बारेमा के सोच्नेछौ । यत्तिका दिनसम्मको तिम्रो साथ र तिमीसँग बिताएका अविस्मरणीय पलहरु मनमस्तिष्कमा सजाएर जाँदैंछु । आफ्नो ख्याल राख्नू, र सक्छौ भने रक्सी खान छाडिदिनू !

बाँचे फेरि भेट होला !

सप्रेम, शर्मिला

चिठ्ठी पढिसक्दा मेरा हातहरु लगलगी काँपिरहेका थिए । आफ्नो बेहोस हुनेगरी रक्सी पिउने बानीदेखि साह्रै रिस उठेर आयो । उसको सुन्दर मुस्कान, मैले केही भन्छु कि भनेर कुरिरहेका उसका निर्दोष र उत्सुक कानका लोतीहरु, र मलाई देख्नसाथ अनयासै चम्किने आखाँहरु मेरो आखाँमा झलझली नाच्न थाले । म रन्थनिएँ । आफ्नो बेपरवाह र अपरिपक्व आचरणप्रति घृणा जागेर आयो । के गरुँ, कसो गरुँ हुन थाल्यो । म अत्तालिएँ ।

कताकताबाट “फोन गर्न” भनेको सुनेँ । मभित्रबाटै आएको थियो होला त्यो आवाज, तर मैले मेसो पाइनँ । हतारहतार फोन गरेँ, तर फोन अफ थियो । अब के गर्ने ? केही सोच्न सकिरहेको थिइनँ ।

उसको घर सिन्धुपाल्चोक हो भन्नेसिवाय उसको बारेमा मसँग अरु केही जानकारी थिएन । सोचेँ ऊ त गई, तर मलाई धेरै कुरा सिकाएर गई । मलाई “म” हुन आग्रह गरेर गई । एउटा शिक्षकले झैँ जीवनको र मायाको पाठ एकैपटक पढाएर गई । मलाई झकझक्याएर गई । म सुतेको रहेछु, उठाएर गई । जीवनको कुनै मोडमा फेरि भेटेँ उसलाई भनें, अंगालोमा बेरेर सोध्ने छु- “एक दिन अझै किन कुरिनौ, शर्मिला ? तिमीलाई थाहा छ त गल्ती हजार हुन्छन् यहाँ, होश हराको बेला ! मेरो पो होश हराएको थियो, तिमी त होशमै थियौ । किन छोडेर गयौ मलाई ?”

तर, त्यो मौका आज दश वर्ष भैसक्यो, मिलेको छैन । अब त यो सबको लागि साह्रै ढिला पनि भैसक्यो होला, सायद ! मैले मेरो जीवन नयाँ ढंगले सुरु गरिसकेको छु र खुशी पनि छु । उसको जीवनले पनि आकार लिइसक्यो होला, उसको जीवनको बोट पनि छोराछोरीहरुले झ्याङ्गिसक्यो होला !

आज मैले राम्रोसँग बुझेको छु, जीवनमा कत्ति प्रश्नहरु अनुत्तरित हुन्छन्, रहन्छन् । कतिका उत्तर ढिलोचाँडो पाइन्छन् । कति प्रश्न जीवनभर अनुत्तरित रहन्छन्, र मान्छेको मृत्युसँगै गर्भमै दबिन्छन् । सदासदाको लागी ।