साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा : भूगोलले नछेकेको प्रेम     

चिम्सा छन् आँखाहरू तर हिस्सी परेका । गोरी न गोरी । जिरो फिगरवाली, गुडियाझैँ लाग्ने जापानी युवतीलाई बारभित्र सधैँ एउटै आसन र उही भावमा देखिरहन्छु ।

त्यही बार जहाँ म महिनामा एकाध टहलिन जाने गर्छु । मलाई कक्टेल्स खासै मन पर्दैन तर डेरानजिकै रहेको त्यस बारमा गएर विदेशी बियर पिउन भने खुबै मन पर्छ । करिब वर्षदिनजति भयो होला । त्यहाँ जान थालेको पनि ।

अक्सर ऊ बारको काउन्टरमा बसेर पिइरहेकी हुन्छे । अघिल्तिर कक्टेल्सको गिलास अनि चुरोटको धुवाँ उडाउँदै टहलिरहने अन्तर्मुखी चरित्र । प्रायः कसैसँग बोल्दिन । बारको वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरूको हल्लाले पनि उसलाई केही फरक पार्दैन । बरु उल्टै चुरोटको धुवासँगै कता कता उडिरहेकी हुन्छे । अनि कक्टेल्ससँगै आफ्ना सुखदुःखहरूलाई पिइरहेकी हुन्छे ।

मलाई पूर्ण विश्वास छ, उसले मलाई याद गरेकी छैन तर मैले भने उसलाई पहिलो देखाइपछि नै आफ्नो स्मरणमा कैद गरिराखेको छु ।

क्रान्ति श्रेष्ठ (जापान)

खै ! कुन्नि किन हो ऊ मेरो सम्झनामा घुसी । म स्वयं आफू नै अनभिज्ञ छु । न त ममा कुनै प्रेमभाव नै पैदा भएको छ तर एउटा कुरो चाहिँ, उसको गुडियाजस्तो मासुम अनुहारले मभित्र आकर्षण पैदा गरेको चाहिँ अवश्य हो ।

करिब एक महिनाअघि पनि उही सिटमा बसिरहेकी मेरो आँखाले देखेको थियो । सायद त्यो उसको रिजर्भ सिटजस्तै भैसकेको हुनुपर्छ । प्रायः दिनहुँ पिउन आउँदी होली या मुड चलेका बेलामात्र । यस बारेमा म त्यति जानिफकार छुइनँ । यद्यपि केही समयको अन्तरालमा जब म त्यहाँ पुग्छु, गुडिया पुरानै पृष्‍ठभूमिमा झुल्किरहेकी हुन्छे ।

त्यस दिन म त्यहाँ पुग्दा सबै सिट हाउसफुलजस्तै भइसकेको थियो । शुक्रबारको दिन यसै पनि भिडभाड हुने नै भयो । शनिबार र आइतबार दुई दिन पूरै बिदा हुने भएकाले नशाको आहालमा चुर्लुम्म डुबे पनि खासै फरक पार्दैन पियक्कडहरूलाई ।

गर्मीले अलासतलास भएको शरीरलाई चिसो बियरले चङ्गा बनाउन त्यहाँ पुगेको मलाई सिट नपाउँदा सबैका सामुन्ने अप्ठ्यारो मात्र होइन रिस पनि उठेको थियो । अकस्मात् काउन्टरअघिको सिट खाली भयो जसको दायाँपट्टि त्यही आफ्नै धुनमा मस्त थिई ।

प्रायः देखिरहने तर बोलीचाली नभएको । अझ भनूँ नजानिँदो पारिवारिक भैसकेको अनुहार । मलाई ऊसँग गफ गर्न काउकुती लागिरहेको थियो तर चुरोटको धुवाँ र कक्टेल्सको मादकतमा हराइरहेकी उसलाई कोट्याएर बोलाउन मनले आँट गरिरहेको थिएन ।

मैले युवतीलाई “तपाईँ सधैँ यहाँ आउनुहुन्छ ?” भनेर सिधै नसोधी “तपाईँलाई यहाँ धेरै पटक देखेको छु !” भन्दै कुराकानीको सुरुवात गरेँ ।

आफ्नै भावुक धारमा बगिरहेकी उसले एक अपरिचित पुरुष आवाज कानमा ठोक्किएपछि अलि झस्केझैँ गरी अनि गिलासको कक्टेल्स स्वाट्ट पार्दै साङ्केतिक रूपले टाउकामात्र हल्लाई । उसले मलाई प्रतिप्रश्न गरिन मात्र मैले सोधिरहेँ । बस्! त्यसको प्रत्युतर छोटकरीमा दिन्थी । पछि त म मात्रै एकोहोरो बोलिरहन मन लाग्न छोड्यो । यसर्थ कि उसको प्रस्तुति बोल्दा पनि पैसा पर्ला कि जस्तो भान हुन्थ्यो  ।

आफ्नै संसारमा रमाइरहेकी जापानी परीलाई अलि बढी नै बोलेर अनाहकमा बाधा पुऱ्याइरहेको अनुभूति हुन थाल्यो । म पनि आफ्नै तालमा चिसो बियरले घाँटी भिजाउन थालेँ ।

“ तपाईँ कुन देशबाट पाल्नुभएको होला ?” के सुर चल्यो कुन्नी । केही बेरको मौनतालाई चिर्दै ऊ मतिर फर्केर बोली।

“तपाईँ नेपाली !…….” आश्चर्यचकित भएर ठुलो स्वरमा यी वाक्यहरू पटक पटक दोहोऱ्याई । उसको भाव र आश्चर्यपनाभन्दा पनि मैले यो बढी महसुस गरेँ कि पक्कै उसले नेपाललाई नजिकबाट चिन्छे ।

अघिसम्म राम्ररी नखुलेकी, आफ्नै सुरमा मोडिन खोजेकी केटी अब मतिर घरीघरी मुन्टो फर्काउन थाली ।

“मलाई आश्चर्य लाग्यो तपाईँ नेपाली भनेको सुन्दा । म त अरू मुलुककै हो कि भन्ने सोचिरहेकी ।”

“किन तिमी नेपाल गएकी छौ र ?” उसको कुरा सुनेपछि मैले सोधेको थिएँ । “अझै गएकी छैन तर जाने मन छ” भन्दै केही नेपाली शब्दहरू जानी नजानी विदेशी लवजमा उच्चारण गर्न थाली “नमस्ते, भोक लाग्यो, सन्चै छ !” आदि इत्यादि । दङ्ग परेर उसको गोरो अनुहार नियाल्दानियाल्दै मैले त पिउन पनि भुलिसकेछु ।

“किन तपाईँले त पिउनै छोड्नु भयो नि !” मलाई पिउन आग्रह गर्दै आफ्नो गिलास पूरै रित्याई । मैले पनि ठाडो घाँटी लाएर बोतल रित्याएँ । मदिराको नशासँगै हाम्रो पहिलो भेटवार्तामा रौनकता र मादकता बराबरी छाइरहेको थियो ।

नेपालका बारेमा थोरै भए पनि कसरी थाहा पाई ! जिज्ञासु भए पनि यो प्रश्न मैले सोध्दा पनि सोधिनँ । म चाहन्थेँ, विनाप्रश्न त्यसको प्रत्युत्तर उसको मुखारबिन्दबाट निस्कियोस् । फेरि मलाई एक दुई बोतल लगाइसकेपछि उति साह्रो बोल्न मन लाग्दैन । स्वतःस्फुर्त भावुक बन्छु र भावनामा बहकिनै उत्तम लाग्छ ।

“तपाईँलाई थाहा छ ?, मेरो प्रेमी पनि नेपाली नै हो नि!” मेरो अनुहारमा सिधै नहेरेर कक्टेल्सको गिलासतिर हेर्दै गुडियाले बताई । अचानक बियरको नसाले छोडेझैँ भयो र एउटा कौतुहलता पनि जन्मियो कि कसरी उसलाई दैवले नेपाली केटा जुरायो !

“त्यसो भए तिमी किन एक्लै बारमा पिउन आउँछौ?” मैले स्वाभाविक प्रश्न तेर्स्याएँ । “मैले पिएर हिँडेको उसलाई मन पर्दैन । सबै कुरामा हाम्रो मन मिल्छ तर यस कुरामा भने पौँठेजोरी सुरु हुन्छ । फेरि म अलि बढी नै पिउँछु । बिस्तारै कम गर्ने सोचाइमा छु । गिलासतिर सङ्केत गर्दै मलाई सुनाउँदै थिई ।

“तपाईँ पनि त एक्लै पिउन आइरहनुभएको छ नि !” मलाई पनि उसले कहाँ बाँकी राखी र ।

“भर्खरै महिनादिन मात्र भएको छ प्रेमिकासँग सम्बन्ध तोडिएको । तिमीजस्तै जापानी प्रेमिका ।” मेरो कुरा सुनेर कक्टेल्स स्वाट्ट पारी । घडी हेरेँ । रातको एक बजिसकेको रहेछ । गुडिया अझै गफिन मन गर्दै थिई तर दिनभरिको थकान, मलाई भने ओछ्यानमा गएर पल्टिनै उत्तम लाग्यो । “सायोनारा” बिदा माग्दै म बाहिरिएँ ।

केही दिनपश्चात् सोही बारमा पुग्दा ऊ सदाझैँ आफ्नै सिटमा बसेर पिउँदै थिई । यसपटक भने म अन्त कतै नगएर सिधै ऊसँगैको खाली सिटमा गएर बसेँ ।”

“नमस्ते” मैले कान खाने गरी तर्साइदिएँ ।

त्यस दिनदेखि मात्र औपचारिक परिचय अर्थात् हामीले एकअर्काको नाम थाहा पाएका थियौँ । नाम हितोमी रहेछ । मैले उसलाई धेरै कम उमेरकी भन्ठानेको थिएँ तर लगभग हामी एउटै उमेरका रहेछौँ । हुन पनि जापानी केटीहरूको अनुहार हेरेर उमेर अन्दाज गर्नै साह्रै गाह्रो पर्छ ।

झट्ट हेर्दा चैबिस कि देखिन्थी । “म चौँतिस वर्ष पुगिसके नि तर मलाई सबैले पच्चिसजतिको अन्दाज गर्छन् ।”
नौ वर्ष र सात वर्षका दुई छोराहरू पनि छन् भन्दा त मैले पत्याउनै सकिनँ ।

“हितोमी ! तिमी कति निर्लज्ज । एकातिर जापानी श्रीमान्, अर्कातिर नेपाली प्रेमी!” मैले मनमनै हल्का गाली गरेँ तर व्यक्त गर्न चाहिँ सकिनँ किनकि उसको व्यक्तिगत जीवन, जसमा मेरो कुनै अधिकार थिएन ।

अझ म भ्रममा पर्लाकी भनेर हितोमीले प्याच्च भनिहाली “जापानी पतिसँग मेरो सम्बन्धविच्छेद भइसकेको छ । दुई छोराहरू पनि बाबुसँगै बस्छन् । म नितान्त एक्ली छु ।”

बोतल रित्तिएको सङ्केत गरेपछि बारम्यानले अर्को बियर सामुन्नेमा राखिदियो । एक चुस्की लाउँदै हितोमीलाई मैले जिस्क्याएँ, “तिमी कहाँ एक्ली छौ र जब कि तिमीसँग नेपाली प्रेमी साथमा छ ।”

” हो, म उसलाई अति मायाँ गर्छु तर आमा यो कुराको प्रचण्ड विरोधमा हुनुहुन्छ । चिन्नु न जान्नु विदेशीको केही भर हुँदैन । तुरुन्तै छोडिहाल !” गिलासको बाँकी कक्टेल्स एकैपटक सिनित्त पार्दै अर्को अर्डर गरी र मतिर हेर्दै भन्न थाली, “यो कुरा छोराहरूले पनि थाहा पाएका छन् ।”

“अक्सर तिनीहरू फोनमा यसो भनेर चित्त दुखाइरहेका हुन्छन् कि, ‘आमा ! नेपाली केटालाई पाएदेखि हामीलाई भेटन किन आउनु हुन्न ? वास्ता पनि गर्नु हुन्न!’ छोराहरू पनि उसको ठाडो विरोधमा उभिएका छन् । उसलाई मेरो जीवनबाट टाढा पुऱ्याउने तीव्र दबाब र विरोधका कारण नराम्ररी टाउको दुखाइ भैरहेको छ । बरु तपाईँ भन्नु न म के गरूँ ?”

“हेर हितोमी! म यस्तो गम्भिर मामलामा सल्लाह दिन चाहन्नँ किनकि हाम्रो नेपाली समाजमा एउटा भनाइ नै छ, ‘सम्बन्ध नराम्रो भयो भने सराप्नु सराप्छन्, राम्रो भयो भने बिल्कुल सम्झँदैनन् ।’” मैले उसको आग्रहलाई पूर्ण रूपले लत्याइदिएँ । फेरि मैले त्यो नेपाली ठिटालाई न भेटेको छु न त देखेको छु । यसो भन्दा हितोमीको अनुहारभरि असामञ्जस्य रेखाहरू कोरिएका प्रस्टै देखिन्थे । ऊ एकोहोरो टोलाउँदै चेन स्मोकरझैँ चुरोट तानिरहेकी थिई ।

बारभित्र बाक्लिरहेको चुरोटको धुवाँ र हितोमीका कुराहरूले दिमाग अलि भाउन्न बनाइरहेको थियो । बिचरी ! न प्रेमीलाई त्याग्न सक्छे न त आमा र छोराहरूको आग्रहलाई लत्याउन सक्छे । हुन पनि समय, नियति र बाध्यताका आफ्नै सीमारेखाहरू छन्, जसभित्रको जन्जालभित्र हितोमी नराम्ररी जेलिइरहेकी थिई ।

कक्टेल्सको नशा लाग्दै गएकाले होला हितोमीको हाउभाउमा थोरै परिवर्तनको सङ्केत देखा पर्छ । अनुहार भावुक र निक्खर रात्तिएको । बोलीमा पनि हल्का लरबरता र “के गरूँ?” भनेर टोलाइरहेका निष्कर्षविहीन आँखाहरू ।

केही बेरअघिसम्म हामी ठट्टा गर्दै गफिरहेका थियौँ । अब भने उसले कक्टेल्सको घुट्को बढाउँदै आफ्ना भए भरका व्यथाहरू ओकल्न थाली । जापानी पतिसँग बिताएका उराठिला दिनरातहरू । दुई छोरा, नेपाली प्रेमी, आमाको विरोध र दबाब । यस्तै अनगिन्ती वैयक्तिक सन्दर्भहरू ।

मलाई हितोमीको पीरव्यथासँग एकाकार हुन मन लागेन । वास्तवमा म त्यहाँ उसका पीडा सुन्न पनि गएको थिइनँ ।

परदेशी जीवन । गाउँघर र परिवारको सम्झनाले घरीघरी सताइरहन्छ, जसले जन्माएका पीडाहरू पखाल्न म त्यस बारमा जाने गर्छु । यस्तो मान्छेलाई आफ्नो थप पीडा सुनाएर साँच्चै मेरो मनमस्तिष्कलाई उसले भारी बनाइरहेकी थिई ।

“हेर हितोमी! यो दुःख बिर्साउने ठाउँ हो । कृपया सुखका कुराहरू गर । एकै क्षण भए पनि हाँसोमा रमाऔँ । तिम्रा व्यथाहरू सुनाएर मलाई पक्षाघात नबनाऊ ।” यो कुरो म कसरी ओकलूँ भनेर मौका कुरिरहेको थिएँ तर हितोमीको उदास अनुहार हेरेर त्यसलाई मनभित्रै तुहाइदिएँ । बरु त्यहाँबाट सुइँकुच्चा ठोक्नु नै उचित ठान्दै घडी हेरेको बहाना गर्दै भनेँ, “अबेर पो भइसकेछ । भोलि अलि चाँडै काममा जानु पनि छ ।”

मलाई अझ केही बेर बस्न आग्रह गर्दै थिई । म भने बिल तिरेर हतार हतार बाहिरिएँ ।

केही समयपछि क्रिसमसको मौसम कस्सिएर आयो । सहर पूरै रङ्गीचङ्गी बत्तीले झकिझकाउ हुने नै भयो । हामी जाने बार पनि विशेष रूपमा सजाइएको थियो । म अबेर त्यहाँ पुग्दा हितोमी आफ्नो सिटमा बसेर “क्रिसमस ट्री” सुमसुम्याउँदै थिई ।

“क्रिसमस मनाउन तिमी कतै नगएकी ?” नभनेर मैले सिधै उसलाई भनेँ, “आज क्रिसमसको केही कार्यक्रम थिएन ?” मुन्टो बटार्दै मेरो अनुहार हेरी र भनी” आज हामी दुवैले कामबाट बिदा लियौँ अनि क्रिसमस मनायौँ । घर फर्किनुअगाडि यहाँ पनि पसिहालौँ न भनेर आएकी ।”

” भनेपछि आज निकै मोज गऱ्यौ हैन ?” भन्दै मैले चियर्स गरेँ ।

“मोज गर्नैपर्‍यो नि । ऊ मेरो महत्त्वपूर्ण मान्छे, मुटुको टुक्रा ।” अनि के के जापानी शब्दहरू । उसले भावुक हुँदै भन्दै गई, “तर आज मैले आमा र छोराहरूको चित्त दुखाएँ । हरेक क्रिसमस, म तिनीहरूलाई भेट्न जान्थेँ । आमाले पनि बोलाउनुभएको थियो तर आज गइनँ ।” हितोमीले निकै लामो सुस्केरा छोडी ।

उसको कुरो एकहोरो सुनि मात्र रहेँ । मसँग बोल्ने कुनै शब्दहरू निस्किरहेका थिएनन् । प्रसङ्ग बदल्ने प्रयत्न गरे पनि घुमाई फिराई आफ्नै कुराहरू मात्र दोहोऱ्याइरहेकी थिई ।

“आमा र छोराहरूको सुझावलाई पनि म अनुचित ठान्दिनँ । मेरै भलाइका लागि सोचिरहेछन् । विदेशी नागरिक, न जात मिल्छ न भाषा नै । उसलाई छोड् कि हामीलाई छोड् । आमाले आज पनि मलाई उही कुरा दोहोऱ्याउनुभयो । छोराहरूको पनि अनगिन्ती फोन कलहरू आइरहेका थिए तर मैले रिसिभ नै गरिनँ ।”

म बारमा रमाउन आउने मान्छे तर मलाई बियर हैन उसका पीडा पिइरहेजस्तो लागिरहयो । त्यहाँबाट उम्कन बहाना खोजिरहेको थिएँ तर मेरो कोमल मनले त्यसो गरिहाल्न पनि मानेन । मैले चुपचाप हितोमीलाई नितान्त सुनिरहेँ मात्र ।

“हेर आज क्रिसमसको दिन । म एउटा निष्कर्षमा पुगेकी छु ।” मेरो अनुहारतिर हेर्दै भनिरहेकी थिई । “जसले जेसुकै भनून् निर्णय र भविष्य पनि मेरो आफ्नै हो । उनीप्रतिको मेरो सच्चा प्रेम रत्तिभर डगमगाउने र विचलित मात्र हैन, कहिल्यै मर्ने पनि छैन । यस्तो चोखो मायाँ प्रेम, जसलाई भूगोलले छेक्न सक्दैन, न त भाषा र वेशभूषाले नै छेक्न सक्छ ।”

हितोमीको कथा व्यथा सुन्न बाध्य भैरहे पनि मलाई उनको निष्कर्ष भने खुबै मन परिरहेको थियो ।

प्रतिक्रिया
Loading...