कुशल र विनीता दुवैको एक्कासि जम्काभेट भयो । त्यही पसलमा । जहाँ कुशल एक सेल्सम्यानको हैसियतले गएको थियो भने विनीता घरायसी सामान किन्न ।

दुवैका आँखा जुधे । दुवै स्तब्ध । आँखाले भने केही बोलेझैँ लाग्यो दुवैलाई । विनीता भन्दा पनि कुशलका आँखा अझ सजल भए । आँसु लुकाउन अनेकन् प्रयत्न गऱ्यो उसले ।

“सर के भयो तपाईँलाई ?” कुशलले आँसु पुछ्दै गर्दा पसलेले सोध्यो ।

“आँखामा केही पऱ्यो जस्तो लाग्यो । अङ्गहरूमध्ये आँखा कति संवेदनशील हुँदो रहेछ । केही भयो कि आँसु आइहाल्ने ।” कुशलले वाक्य टुङ्ग्याउन नपाई कहिलेकाहीँ त मनका भाव पनि व्यक्त गरिदिन्छन् यिनै आँखाले भन्दै पसलेले पनि कुरामा कुरा थप्यो । मनकै कुरा बोलेझैँ लाग्यो कुशललाई ।

बबिता ढुङ्गेल

पहिला आफ्नो ग्राहकलाई बिदा गर्नुहोस् त्यसपछि हामी कामसम्बन्धी कुराकानी गरौँला भनी कुशल कुर्सी तानेर बस्यो । मोबाइल चलाउने बहानामा ऊ विनीतालाई पछाडिबाट नियालिरहेको थियो । विनीता सामान किनेर त्यहाँबाट गई । पसले पनि के-के सामान घटेका छन् हेरेर आउँछु भनी गोदामतिर गयो ।

कुशलका मनमा भने अनेकन् कुरा खेल्न थाले । म किन बोलिनँ उसँग ? सन्चो बिसन्चो मात्र सोधेको भए पनि मेरो के नै जान्थ्यो र ! विगतमा जे भयो त्यसलाई भुलेर साथीझैँ बोलेका भए पनि हुन्थ्यो नि ! बिचरी कति दुब्लाइछे । कति मलिन अनुहार! यस्तै कुरामा डुबिरहेका बेला “कुशल सर” भन्ने पसलेको आवाजसँगै झस्कियो ऊ ।

काम सकेर मोटरसाइकल स्टार्ट गर्न मात्र के लागेको थियो, कुशललाई पछाडिबाट कसैले सम्बोधन गरेझैँ लाग्यो । सम्बोधन गर्ने अरू कोही नभएर विनीता नै थिई । “तिमीलाई फुर्सद छ भने सँगै बसेर चिया खाऔँ न ।” विनीताको प्रस्तावले कुशल छक्क पऱ्यो ।

त्यही विनीता जसले कुशल अनि उसको घरपरिवार नै लत्याएर हिँडेकी थिई । त्यही विनीता जसले सुजलको मायामोहमा फसेर कुशलको असीम प्यारको जरै उखेलेकी थिई । यति मात्रै कहाँ हो र ! कुशलको त्यो सानो छोरालाई आमाको न्यानो स्नेहबाट वञ्चित पारेकी थिई ।

एक मनले त यसको प्रस्ताव मैले किन मान्ने ? फुर्सद छैन मलाई तिमीसित बसेर चियासिया खाने भनिदिऊँ कि झैँ पनि लाग्यो कुशललाई । अर्को मनले भने ठिकै छ, कुनै दिन एकै प्राण भएर बाँचेका मानिस पो हौँ त भन्ने ठान्यो अनि प्रस्ताव स्वीकार गऱ्यो ।
दुवै नजिकैको चिया पसलमा गए । चिया त दुवैका लागि एक बहाना भएको थियो त्यहाँ । कता-कता दुवैले एकअर्कासँग कुराकानी गर्न असजिलो भएको महसुस गरे । कुशल टेबुलमा राखिएको आफ्नो हेलमेटलाई बारम्बार खेलाइरहेको थियो । विनीता भने चिया नआउन्जेलसम्म पसलेले गरिरहेका क्रियाकलाप एकटक लगाएर हेरिरहेकी थिई । यस्तैमा चिया आइपुग्यो ।

कुशललाई चिया छिटो-छिटो पिएर हिँडिहालूँ जस्तो नलागेको पनि होइन तर उसको मन विनीताको वर्तमान स्थिति बुझ्न पनि लालायित थियो । विनीताले हातैमा थमाएको चियाका लागि धन्यवाद शब्द कुशलको मुखबाट निस्किएपछि पुनः सन्नाटा छायो त्यहाँ । झन्डै चिया सकिउन्जेलसम्म नै ।

“तिमी त साह्रै दुब्लाएछौ ! के भयो तिमीलाई ?” कुशलले सन्नाटा भङ्ग गर्दै प्रश्न गऱ्यो । कुशलको प्रश्नले विनीतालाई गम्भीर बनायो । हेर्दाहेर्दै विनीताका आँखा रसाए, भरिएर टिलपिल भए अनि वर्षाको भेलझैँ बग्न थाले । कुशललाई आफूले मौनता भङ्ग गर्दै प्रश्न गरेकोमा ग्लानि पनि भयो अनि गल्ती नै पो गरेछु कि भन्ने महसुस पनि ।

विनीता आँसु पुछ्दै रुन्चे हाँसो हाँसी । अनि उद्धृत गर्न थाली आफ्ना मनका उद्वेलनहरू ।

“बैँसले उन्मत्त भएर मैले तिम्रो मायाँलाई दुत्कारेँ । न त तिमीसँग पत्नीधर्म नै निभाएँ । म नै थिएँ तिमीलाई तिम्रो चाहनाविपरीत डिभोर्स दिन बाध्य पार्ने । तिमीलाई डिभोर्स दिएर हिँडेपछि मैले आफू उन्मुक्त अनि स्वतन्त्र भएको महसुस गरेँ । छिट्टै नै म र सुजल विवाहबन्धनमा बाधियौँ पनि । म एक छोराकी आमा हुँ भन्ने थाहा हुँदाहुँदै पनि स्विकार्ने सुजल पक्कै पनि सामान्य मानिस होइनजस्तो लाग्थ्यो मलाई । मैले उसलाई भगवान्‌कै दर्जामा राखेँ । मैले उसको घर परिवारका बारेमा बुझ्नु आवश्यक पनि ठानिनँ । उसैलाई सर्वस्व मानेँ ।

सुजलले आफ्नो घर विराटनगर भनेकाले मलाई त्यहाँ जाने तीव्र इच्छा थियो । विराटनगर भन्ने ठाउँ म कहिले पुगेकी थिइनँ । उसले घर जाने रुचि खासै नदेखाएपछि मैले नै त्यहाँ जानका लागि जिद्दी गर्न थालेँ । मेरो हठका अगाडि उसको पनि केही लागेन अनि गयौँ हामी ।

जब म सुजलको घर पुगेँ, त्यहाँ त माहोल अर्कै रहेछ । विवाहलायककी त उसकी छोरी नै रहिछ । त्यो देख्दा त म छाँगाबाट खसेझैँ भएँ । पहिले त मलाई सबैको खुसी खोस्न आएकी भन्दै घरमा भित्र्याउन मानिएको थिएन । पछि समाजको लाजगालले भित्र्याइए पनि मसँग कहिल्यै राम्रो व्यवहार भएन । राम्रो व्यवहार होस् पनि कसरी मैले तिम्रो सच्चा प्रेमको हत्या नै गरेकी थिएँ ।

केही समय त म जसले जे भने पनि खपेरै बसेँ । घरका सम्पूर्ण कामधन्दा म एक्लैले भ्याउनुपर्थ्यो । पहिला-पहिला सबैलाई कज्याएर, घुर्क्याएर बसेकी मलाई काममाथि कामको पहिरो खस्दा साह्रै गाह्रो भयो । मेरो गर्भमा सुजलको बच्चा पनि आइसकेको रहेछ । पेटमा अन्नपानी केही अडिँदैनथ्यो । काम नगरी सुखै थिएन । जानी नजानी काम गरेँ पनि ।

केही समय त सुजलले मायाँ गरेकै थियो । मलाई कसैले नराम्रो व्यवहार गर्दा उनीहरूलाई समेत गाली गर्थ्यो ऊ । पछि-पछि त उसले पनि मलाई हेयको दृष्टिले हेर्न थाल्यो । ‘एउटा पोइलाई त्यागेर हिँड्ने मान्छे भोलि मलाई पनि त्यस्तै नगर्लिस् भन्ने के प्रमाण छ र !’ भन्दै बारम्बार शब्दवाण प्रहार गर्न थाल्यो ऊ । म आफैँभित्र क्षतविक्षत हुन्थेँ । सम्झन्थेँ नियतिले सजाय दिन थालेछ मलाई । यो मेरै कर्तुतको परिणाम हो ।

गर्भमा भएको सन्तान दिनदिनै हुर्किरहेको थियो । मैले लामो समय प्रसवपीडा खप्दा पनि बच्चालाई सहजै जन्म दिन सकिनँ । बरु त्यो असह्य प्रसवपीडाभन्दा पनि मृत्युलाई नै सहज स्वीकार गर्ने अवस्थामा पुगिसकेकी थिएँ म । मलाई अस्पताल पुऱ्याइयो । शल्यक्रिया नै गर्नुपर्ने भएछ । त्यहाँसम्म त सुजलले सहयोग गऱ्यो पनि ।

अस्पताल हिँड्ने बेलामा ‘अब यसको व्यवस्था कता गर्ने हो गर्नुहोस्, घरमा चाहिँ पुनः प्रवेश दिन्नँ म’ भन्ने सुजलकी अर्की पत्नीको वाक्य अझै मेरो कानमा गुन्जिरहेका छन् । हुन पनि त्यस्तै भयो । डिस्चार्ज हुने दिन अस्पतालका सबै बिल भुक्तानी सुजलले नै गरेको रहेछ तर मलाई लिन कोही आएन । म अत्तालिएँ, रोएँ । कैयन् पटक फोन गरेँ तर फोन कसैको पनि उठेन । थाहा पाएँ, रक्सीले मातिएर बेहोसी हालमा थियो रे सुजल । मेरा क्रन्दन अनि चीत्कार मभित्रै पराकम्पित भइरहेँ ।” यति भनिरहँदा विनीताका आँखामा कैयौँ पटक आँसुका मूल फुटे । प्रतिशोधको कुनै भावना नभएकाले होला कुशलको अनुहार पनि निकै मलिन देखिन्थ्यो ।

“म कति कठोरहृदयी थिएँ है ! तिमीसँग हुँदा । मैले एक्लो हुँदा अस्पतालको शय्याबाट तिमीलाई बारम्बार सम्झिएँ । तिम्रो र मेरो पहिलो सन्तान जन्मँदा तिमीले दिएको मायाँ, सेवाशुश्रूषा अनि सामीप्यको मूल्य मैले बल्ल त्यतिखेर बुझेँ । पहिले त मलाई यो सबै पुरुषको कर्तव्य हो । त्यसैले सबैले गर्छन् जस्तो लाग्थ्यो तर सबै नारीको भाग्यमा मायाँ पाउन कहाँ लेखिएको हुँदो रहेछ र ! वस्तुको मूल्य अभावमा हुने रहेछ भन्ने कुरा सार्थक भएको थियो ।

म घरको न घाटको भएँ । तिमीसितको सम्बन्धविच्छेद माइतीको पनि इच्छाविपरीतको एकलौटी निर्णय थियो मेरो । माइतका अन्य सदस्यले मलाई वास्ता गर्न छोडे पनि आमाको मातृवात्सल्य कहाँ मर्थ्यो र ! आमासँग बेला-बेलामा कुराकानी भइ नै रहन्थ्यो । म मात्र अपवादमा एक निकृष्ट आमा रहेछु । जसले आफ्नै सन्तानको चीत्कार महसुस गर्न सकिनँ र त त्याग्ने दुस्साहस गरेँ त्यो अबोध बालकलाई ।

फोन गरेर आमालाई सबै कुरा बताएँ । मेरा सबै कर्तुत बिर्सिदिएर बुबाआमा दुवै जना मेरा लागि रातारात भैरहवादेखि विराटनगर अस्पतालमै आइपुग्नुभयो । उहाँहरूको उपस्थितिले म पुलकित भएँ । मैले माफी पाएको अनुभूत गरेँ ।

मलाई भैरहवाको घरमा त उहाँहरूले पनि लैजानु भएन । यहीँ बुटवलमै कोठा खोजेर राख्नुभयो । सायद समाज अनि घरका अन्य सदस्यले औँला उठाउलान् भनेर पनि होला ! नउठाऊन् पनि कसरी मैले कामै त्यस्तै गरेकी थिएँ । मलाई लाग्ने खर्च अनि स्याहारसुसारको व्यवस्थासमेत गरेर जानुभयो उहाँहरू । अहिले यतै बसिरहेकी छु । यहीँ नजिकै छ कोठा ।” कुशलको अनुहारमा हेरेर हाँस्न खोज्छे ऊ तर आँखाभरि आँसु भने छचल्किरहेकै थिए ।

विनीताका कुरा सुनिरहँदा न त कुनै प्रश्न नै गऱ्यो, न त कुनै जबाफ नै दियो कुशलले ।

“तिमीसँग भेट भयो, साह्रै खुसी लाग्यो । तिम्रै जिन्दगी भताभुङ्ग पारेर हिँडेकी मैले आज तिमीलाई नै आफ्नो कथाव्यथा पोख्न पुगेँ । यसलाई सौभाग्य मानौँ या दुर्भाग्य । मनको बोझ अलि हलुँगो भयो आज ।” आफूलाई सामान्य पार्न खोज्दै मनको बह पोखी विनीताले ।

पुनः गम्भीर हुँदै सोधी, “साँच्चै, बाबु कत्रो भयो? मलाई सम्झन्छ कि सम्झँदैन? तिमीले विवाह गऱ्यौ ?” विनीताका प्रश्नमाथि प्रश्नका खातले छक्क पऱ्यो कुशल । परीक्षामा उत्तर लेख्न नजानेर अप्ठेरामा परेको विद्यार्थीझैँ आभास भयो उसलाई त्यतिखेर ।

एक मनले त अब तिमी कुन हैसियतले यी प्रश्नहरू मसित गरिरहेकी छ्यौ भनी प्रतिप्रश्न गरिदिऊँ जस्तो पनि लाग्यो उसलाई । दुखिरहेको मनलाई अझ किन दुखाइदिनु भन्ने ठान्यो । छाडिदेऊ ती सब कुरा अब आफ्नो ख्याल गर भनी विषयवस्तु टुङ्ग्याइदियो कुशलले ।

“कुरै कुरामा मैले त सबै बिर्सिएछु । सानी छोरी छ भन्ने पनि बिर्सिएछु । रोइसकी होली । म अहिले गएँ है” भन्दै विनीता आफ्नो बाटो लागी । कुशल विनीता गएको टोलाएर हेरिरहयो । छोराले अर्की आमा पाएर विनीतालाई बिर्सिसकेको कुरा भने उसले सम्झिरह्यो ।

समाप्त