
रामनारायण शर्माले आफ्नो चिनाटिपन च्यातेर फ्याँकेपछि पुरोहितले राखिदिएको न्वारानको नाम पनि भुले । बिहे गर्दा गाउँकै दिलबहादुर राणाकी छोरी सविता राणालाई टिपेर हिँडेपछि चिनाटिपन देखाउनै परेन फलस्वरूप जातकी बुहारी खोज्ने बाबुले बाँचुन्जेल गाउँको घरमा टेक्नै पाएनन् । मन्दिरमा भगवान्लाई साक्षी राखी सिउँदोमा सिन्दूर हालिदिने सविता राणाले जिद गरिन् ।
“किन चाहियो भगवान्? मन्दिरमा भगवान् आफैँ त अलपत्र भएर बसिरा’का छन् । हामी आफैँ-आफैँमा एकअर्काको भगवान् । मनको सिउँदोमा हामी रातै भइसकेका छौँ । भन्छौ भने लोकाचारका लागि तिम्रो सिउँदोमा कोठामै सिन्दूर लगाइदिउँला” – रामनारायणले आफ्नो दर्शन छाँटे । स्नातक शिक्षा हासिल गरेका रामनारायण सुरुका दिनहरूमा सहरमा कोठा भाडा लिएर बस्दा हुनसम्मको हन्डर खाए ।

अशोक रोका (डुवर्स)
यो भएको चतुर्थ श्रेणीको जागिर नपाउन्जेल सहरको टोल-टोलको घर घरमा गएर ट्युसन पढाए । बिहान उठेर हिमुल डेरी, मदर डेरीको दूधको प्याकेट घर घरमा पुऱ्याइदिएर थप आयश्रोत बढाए । सविताले पनि सहरको फुटपाथमा सब्जीको पसल थापेर आनासुकी जोहो गरेकै हो । दुई जना छोराछोरी भएपछि सब्जी पसल छाडिदिइन् । वाञ्छनीय उमेर छउन्जेल रामनारायणले जागिरका निम्ति कुनै पनि अन्तर्वार्ता छोडेनन् । अन्तमा सफल भए । आफूले आर्जन गरेको स्नातक र उच्च माध्यमिक शिक्षा नदेखाई केवल माध्यमिक शिक्षाको आधारमा आफू बसेकै सहरको जल संसाधनको र जन स्वास्थ्य शिक्षा विभागमा चतुर्थ श्रेणीको सरकारी जागिर पाए । अध्ययन र लेखनमा चासो राख्ने रामनारायणले चार ओटा पुस्तक प्रकाशित गरिसक्दा नेपाली साहित्य जगत्मा प्रगतिवादी, प्रगतिशील लेखकका रूपमा चर्चित हुन थालेका थिए । चिन्तन, मनन र लेखनमा विशेष जनवादी साहित्यप्रति चासो राख्थे ।
रामनारायणले आफ्नो नाममा दुई देवता (राम+नारायण) समाहित भए पनि यो नामसँग उनको विचार र दर्शनले ठ्याक्कै मेल खाएन । आफ्नो नाम छोट्याएर राम+नारायण= राना र रानाको पछि `विद्रोही` थपे । जन्मिँदै छोराको नाम विप्लव शर्मा र छोरीको नाम ज्वालाश्री राखे । श्रीमतीको नाम चैँ बदल्न सकेनन् । साहित्य क्षेत्रमा पहिलो पुस्तकमा लेखकको नाम राना विद्रोही भएरै परिचित भए । जनै पूर्णिमाको दिन जनै फ्याँकिदिए । उनलाई आस्तिक भनौँ भने भगवान्को अस्तित्वबाट उनी बाहिर छन् । उनलाई धर्मी भनौँ भने धर्म त अफिम हो जसले मस्तिष्कलाई पक्षाघात गरी समाजलाई नै कुठाराघात गर्छ । धर्मको पनि आफ्नै धर्म हुन्छ । धर्मले धर्मलाई मानवता नै सर्वश्रेष्ठ हो भनी सिकाउँछ । कुसंस्कारी भनौँ उनले आफैँमा स्थापित गरेको रामनारायण आदर्श र संस्कारित छन् ।
जनमुखी, प्रगतिवादी, प्रगतिशील सोच र सिद्धान्तमा गहिरो अध्ययन र सोच भएका राना विद्रोहीका प्रकाशित पुस्तकहरूमा यस्ता सोच सिद्धान्तहरूको समस्या मात्र उजगार नगरेर समाधानतर्फ पनि परिलक्षित छन् । चतुर्थ श्रेणीको जागिरको भरमा सहरमा भाडाको घरमा बसेर श्रीमतीको ढिपीमा दुई छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेछन् । सहरमा पानी पनि किनेर खानुपर्ने हुँदा बाजारभाउको महँगी तिनलाई महिनाको अन्तमा चर्को पर्छ ।
“हन काँ हिँड्नुभा’को? आज आइतवार घर बसेर कुना काप्चाको जालो माकुरो सफा गरिदिए पनि हुने । घरले टोक्छ कि क्या हो तपाईँलाई? मेरा चार हात छैनन्, कता कता भ्याउनु ।” श्रीमतीको गनगनलाई वास्तै नगरी रामनारायण उपन्यासको पाण्डुलिपि एउटा खादीको झोलामा हाल्छन् अनि केही सोचेझैँ गर्छन् ।
“अरूको घरमा घर पुछिदिने, जुठो वर्तन माझिदिने, कपडा धोइदिने, दिनमा आएर काम गरिदिने औरत राखेका छन् परैका स्वास्नीहरूलई ढुक्क छ । आफू भने बिरामी पनि भन्न पाइँदैन ।” पुगीसरी आए त पनि आफ्नो घरमा काम गरिदिने मान्छे राख्ने भन्दा पनि अरूभन्दा के कम भनी देखाउने मन छ ।
“पर्ख न, मेरो प्रमोसन हुनेवाला छ! तलब पनि बढ्छ त्यसपछि घरमा एउटी काम गर्ने राखुँला । रामनारायण श्रीमतीलाई आशा देखाउँछन् ।
परमोसन त कहिले हो कहिले! बरु महिनैपिच्छे हजार बाह्र सौ रुपेको किताब चाहिँ किन्न छोड्नू नि! त्यो पैसामा अलि थहीथाप गरियो भने काम गर्नेलाई दिन पुगिहाल्छ । यो हाम्रो टोलमा स्कुलेबाहेक अरूले किताब पढेको देख्नुभा’छ ? यसो कहिलेकाहीँ लोग्नेस्वास्नी दुःखसुखको कुरा गरौँ, सर सल्लाह गरौँ भने लोग्ने चैँ किताबमै मस्त । बरु किताबसँगै बिहे गरेको भए पनि हुने । अरूका स्वास्नी महिनैपिच्छे नयाँ-नयाँ सारी लाउँछन् । आफू भने”- सवितालाई लोग्नेले घरमा थुपारेको पुस्तकको थाकसँग रिस उठ्न थालेको थियो ।
“अरूलाई किताब किनेर पढ्ने गर भनेर भनिसक्नुभा’छैन बरु म चैँ एक छाक छोड्न सक्छु तर पुस्तक छोड्न सक्दिनँ तिमी जे पनि भन ।” रामनारायण पुस्तक नकिन्ने स्वास्नीको वैकल्पिक सुझाव रद्द गर्छन् ।
“अब गालामा हात लगाएर के सोचेको? अनि कहाँ हिँड्न लागेको भनेको?”
“हैन हौ, यो भर्खर लेखिसकेको उपन्यास भूमिका कसलाई लेखाऊँ भनेर सोचेको ।” रामनारायण सोच्दै भन्छन् ।
“एअब फेरि किताब छाप्ने? पिएफ निकाल्नुभो कि क्या हो? सविताले रामनारायणलाई खाउँला झैँ गरी आँखा फुकालिन् ।
“अब पिएफ ननिकाली अरू उपाय छैन ।” यति बेला रामनारायण नरम भए । श्रीमतीको अघि नतमस्तक भए ।
‘रिटायर भएपछि जम्मा भएको फन्डको पैसाले र अरू आउने पैसाले एउटा सानो-सानो घर बनाउन सकिन्छ कि भनेको त फन्ड पैसा जति किताब छाप्दै सकिने भइहाल्यो । बजार बस्ने बानी भइहाल्यो गाउँमा फर्किएर बस्नु पनि जोरीपारी हाँस्ने भए ।”
सविता खुइयागर्छिन् ।
पछि सके यतै कतै घर बनाउँला नसके गाउँमा बाउबाजेले बनाएको घर छँदै छ । मर्मत गरेर आफ्नो सालनाल गाडिएको गाउँमै बसुँला । भन्दै भूमिका लेखाउन दुई-चार जना ठूला साहित्यकारहरूको सम्झना गर्दै घरबाट हिँडे । त्यहाँ नभए त्यहाँ एक जना न एक जनाले त लेखिदेलान् सोचे । आफ्ना अघिल्ला प्रकाशित पुस्तकहरूको भूमिका लेखाउन जोगीले घर-घर अलख जगाएर हिँडेजस्तो उनी मूर्धन्य साहित्यकारहरूका घर-घर हिँडेका थिए । कसै-कसैले अलिअलि माथि-माथि नजर दौडाएर मन राखिदिन लेखिदिएको भूमिका र पुस्तकको परिपाटि, सिद्धान्त र उद्देश्य उत्तर मेरु र दक्षिण मेरुजत्तिकै दूरत्व भए पनि चित्त बुझाएका थिए । आजका मानिसहरू टाइम पास गरेको भन्दै नजाने ठाउँमा पनि जान्छन्, नगर्ने कुरा पनि गर्छन् तर अध्ययन गर्ने ‘टाइम’को अनिकाल लागेको छ ।
कतिले वर्ष दिन राखेर “तपाईँको पाण्डुलिपि पढ्नै भ्याइएन । भूमिका अरू कसैलाई लेखाउनुहोला बरु म शुभकामना चैँ लेखिदिउँला ।” भन्दै जिम्मा लिएको पाण्डुलिपि फर्काएको पनि सम्झिँदै हिँड्दै छन् । विगतमा भूमिका लेखाउन हिँडेका दिनहरूका सम्झना तिनको मनमा आइरहन्छ ।
“तपाईँलाई थाहै छ म कलम चलाएर, अक्षर खेती गरेर घरव्यवहार चलाउने मान्छे । तपाईँको जस्तो सरकारी जागिर भाएको भए म निःशुल्क साहित्यसेवा गर्ने थिए । पाण्डुलिपि अहिले छोडेर जानुस्, दुई-चार दिनमा विचार गरेर आउनुहोस् ।” एक जना साहित्यकार-पत्रकारले भनेका थिए । हप्ता दिनपछि टुप्लुक्क पुगेका थिए ।
“विचार गरेर आउनुभो ।”
“हजुर । “
“के के विचार गर्नु भो त ।”
“पाण्डुलिपि लाने विचार गरेर आएँ सर” रामनारायणले टाउको कन्याउँदै पाण्डुलिपि फिर्ता लिएको कुरो कहिल्यै बिर्सिन सकेका छैनन् ।
“रामनारायणजी मेरो कुरालाई अन्यर्थ नलिने है । यसै पनि म व्यस्त छु ।”
अन्यर्थ किन लिन्थेँ र सर! मनमा एउटा विचार आयो । विचार के भने कि लेख्नै छाड्नुपऱ्यो कि भूमिका लेखाउन छाड्नुपऱ्यो । पुस्तक लेख्नुभन्दा भूमिका लेखाउनु गाह्रो रै’छ ।” विगतका यस्तै कुराहरू सोचेर हिँडे पनि कसै न कसैलाई भूमिका लेखाई छाडेका थिए ।
ताकेर हिँडेको गन्तव्यमा पुग्न आँट्दा एक परिचित प्रबुद्ध कथाकारसँग भेट भयो ।
“ओहो रामनारायणजी कता हिँड्नुभो ।” कथाकारले सोधिहाले ।
“तपाईँहरूको तिरै आ’को । यसो यो उपन्यासको भूमिका लेखाऊँ कि भन्दै ।” झोलामा भएको पाण्डुलिपितिर इङ्गित गर्दै रामनारायणले भने ।
“ओहो म त भ्याउँदिनँ । म आफैँ पुस्तक लेख्दै छु ।” प्रबुद्ध कथाकार महोदय झस्किएर तर्सिए ।
“तपाईँको अघिल्लो उपन्यासको निकै चर्चा दुई-चार जनाकोबाट सुन्दै छु । म पनि तपाईँको पुस्तक पढिदिऊँ कि भनेर सोच्दै छु ।” कथाकारले मन राखिदिएको जस्तो गरे ।
तपाईँलाई होइन रेग्मी सरलाई लेखिमागूँ कि भनेको ।” रामनारायणले पछिल्लो वाक्यमा ध्यान दिएनन् ।
“रेग्मी सरले लेखिदिनुभो भने त अति उत्तम । तर कोनि है ।” कथाकारले शङ्कालु पाराले भने ।
“ तपाईँले यतिका पुस्तकहरू प्रकाशित गरिसक्नुभो क-कसलाई भूमिका लेखाउनुभो ।” रामनारायणले सोधिहाले ।
“तपाईँले मेरो पुस्तकहरू पढ्नुभा’को छैन र? पुस्तक लेख्ने मान्छे त अध्ययनशील पो हुनुपर्छ ।” कथाकारले प्रश्न र सुझाव एकैचोटि राखे ।
“पढ्न त तपाईँका पुस्तकहरू सबै नै पढेको हुँ तर भूमिका लेखिदिने साहित्यकारको नाम चैँ भुलेछु ।” रामनारायणले सोझो उत्तर दिए ।
“पैला पैला चैँ दुइटा कथासङ्ग्रहको बडो मुस्किलले भूमिका लेखाएँ पछि त भूमिका लेखाउनै छाडेँ ।” कथाकार गर्व साथ भन्छन् ।
“किन भूमिका लेखाउन छाड्नुभो?” रामनारायणलाई अचम्म लाग्यो ।
“अब किन र! हामीजस्ता चर्चित स्थापित कथाकारलाई कसैले भूमिका लेखिदिएर अब चिनाइरहनु पर्दैन । हामी त कथाका पर्यायवाची भइसकेका छौँ । अँतपाईहरूजस्ताले भूमिका लेखाउनैपर्छ । जानुस् रेग्मी सरलाई बरन्डामा बसेर पेपर पढ्दै गरेको देखेको थिएँ ।” भन्दै कथाकार महोदय हिँडे ।
बरन्डामा पेपर पढ्दै गरेका दिन प्रसाद रेग्मीलाई रामनारायणले नमस्कार गरे ।
“ओ हो राना विद्रोहीजी कति कामले आउनुभो? ” दिनप्रसाद रेग्मीले छेउको कुर्सीमा बस्ने इसारा गरे । रामनारायणलाई ‘राना विद्रोही’ को सम्बोधन राम्रो लाग्यो । पारिवारिक भलाकुसारी एवं यताउतिका साहित्यिक गफ भएपश्चात्-
“सरलाई दुःख पो दिऊँ कि भनेर ।” झोलामा भएको पाण्डुलिपि बाहिर निकाल्दै, मनमा संशय लिँदै भन्छन् रामनारायण ।
“के हो यो ।” रेग्मी सोध्छन् ।
“सर यो मेरो पुस्तकमा पाँचौँ, उपन्यासमा दोस्रो । यसको भूमिका हजुरले लेखिदिनुपऱ्यो ।” रामनारायणले आशालु नजरले हेर्छन् । उनको आग्रहमा अनुनयविनय छ ।
“जटिल काम पो लिएर आउनुभएछ । तपाईँका पुस्तकहरू पढेँ तर अब सय वर्ष पुराना वाद र सिद्धान्तहरू छोड्नुहोस् । विश्व साहित्यका नयाँ नयाँ सिद्धान्तहरू, खोज र वादहरूको अध्ययन गर्नुस् । तपाईँका कृतिहरूमा भाषाशैली, नारी-सशक्तीकरण, सौन्दर्यसत्ता र संसर्गीय आञ्चलिकताको कमी देखेँ । जति लेख्नुहुन्छ त्योभन्दा बेसी अध्ययन गर्नुस् ।” सुझाव दिँदै रेग्मी फेरि पढ्दै गरेको पेपरमा नजर दौडाउँछन् । केही क्षण दुईमाझ मौनता छाउँछ ।”
“अहिलेसम्म कति ओटा पुस्तक प्रकाशित गरिसक्नुभो ?” रेग्मी सोध्छन् ।
“चार ओटा”
“रुपियाँ त कमाउनुभएकै रहेछ । आजकल पुस्तक छाप्नेहरूले प्रेसको लागतभन्दा पुस्तकको दाम तीन गुणा बढाएर तोक्छन् । आधाउधी बिक्री भयो भने पनि लागत खर्चभन्दा बेसी नै उठिहाल्छ ।” रेग्मी साहित्यसेवालाई व्यापारसँग जोडेर हेर्छन् ।
“काँ बिक्री हुनु सर! हाम्रा मान्छेहरूले पुस्तक पढ्न छोडिहाले । डेढ-दुई सय प्रति सादर गर्दै जान्छ, बाहिर पठाउन त्यसमाथि डाक खर्च । बिक्री गर्न दिएको पुस्तक पसलमा सोध्न गइयो भने “एक-दुई कपी त बिक्री भयो रहल त गोदाममा हेर्नुपर्छ” भन्छन् । लागतको पच्चीस प्रतिशत पनि उठ्दैन ।” रामनारायणले वास्तविक कुरो भन्छन् ।
“त्यसो भए घाटा सहेर किन साहित्यसेवा गर्नुहुन्छ? समाजको उत्थान र विकासका लागि साहित्य लेखिन्छ । यसमा समाजको पनि दायित्व हुनुपर्ने । जोसुकैले राना विद्रोही जस्तो कथा उपन्यास लेख्न सक्दैन । लेखकले लेख्नु पनि आफैँ, प्रकाशन गर्नु पनि आफैँ हामी यही विडम्बनाभित्र बाँचिरहेका छौँ । पश्चिमी देशहरूमा लेखकहरू कलम चलाएर जीवन धानिरहेका छन् तर हाम्रो देशमा र समाजमा । अब हाम्रो पिँढीपछि पुस्तक लेख्ने बिरलै पाइएला ।” रेग्मी साहित्यप्रति समाजको उदासीनताप्रति असन्तुष्टी पोख्छन् ।
“हजुर सरको कुरा ठिक हो तर घाटा सहेर किन साहित्यसेवा गर्ने भन्ने कुरोमा म सहमत भइनँ । यो साहित्यसेवा मेरो निजी सोख, उत्साह र जाति र समाजप्रतिको दायित्व ठानेको छु । सानो जागिर छ, तलबले घर चलाउँदै ठिक्क त के भनौँ हम्मे-हम्मे पर्छ । पिएफमा जम्मा भएको रकम निकाल्दै पुस्तक प्रकाशित गर्छु । त्यसमा मलाई सन्तुष्टि । हाम्रो अफिसमा हाम्रै नेपाली सहकर्मी छन् । उनी रक्सी दोकानमा रक्सी बाँकी खान्छन् ,छ-छ महिनामा पिएफ निकालेर रक्सीको बाँकी तिर्छन् तर पुस्तक किन्न परे जाओस्, पाँच रुपियाँको पेपर किनेर पढ्दैनन् । म पुस्तक छाप्छु । यसैमा सन्तुष्ट छु ।” रामनारायण पाठकहरूको घट्दो सङ्ख्यामा चिन्तित छन् ।
“एक जना सशक्त नारी लेखिकाको भूमिका लेखिदिन्छु भनेर पाण्डुलिपि जिम्मा लिएको छु । पाण्डुलिपि एकपल्ट मात्रै पढेर भूमिका लेखिहाल्न मिल्दैन । सकारात्मक र नकारात्मक दुवै पक्षको सही मूल्याङ्कन गरी लेख्नुपर्दा कम्तीमा दुई-तीन पल्ट मूल लेख पढ्नैपऱ्यो, नकारात्मक पक्षलाई औँल्याउनैपर्दा लेखक लेखिकाहरू ‘यो चाहिँ नलेखिदिएको भए राम्रो हुन्थ्यो’ भनेर मन खुम्च्याइहाल्छन् । जी हजुरी प्रशंसा गरेर मात्रै भूमिका लेख्ने आफ्नो बानी छैन । समय खर्चेर भूमिका लेखिदियो, लेखकहरूलाई त्यो भनेजस्तो नहुँदा मन नपर्दो रहेछ अनि अरू कसैलाई आफूले भनेजस्तै गरि भूमिका लेखाएर पुस्तक छाप्दा रहेछन् । यो कुरो मैले पत्तो लगाएँ । विद्रोहीजी आजकल भूमिका लेख्नु पनि झोखिमपूर्ण छ म अहिले व्यस्त छु, तपाईँ अरू कसैलाई भूमिका लेखाउनुहोस्, बरु म शुभकामना चैँ लेखिदिउँला ।” रेग्मीले भूमिका लेख्न सोझै अस्वीकार गरे ।
“हवस् सर ।” भन्दै रामनारायण झोला भिरेर घर फर्के । दिनप्रसाद रेग्मीले भूमिका नलेखिदिए पनि कम से कम मेरा पुस्तकहरू त पढिदिएछन् !” आफ्नो चित्त आफैँ बुझाए । अझै दुई-चार जना साहित्यकारहरूमा भूमिका लेखिदिने बिन्ती गर्नुपऱ्यो सोचे त्यति गर्दा पनि भएन भने भूमिकाविना नै पुस्तक छाप्नुपऱ्यो मनमनै अठोट गर्दै घर आइपुगे । घरभित्र पस्न लाग्दा श्रीमतीसँग आँखा जुध्यो । नजर मिलाउन नसके पनि एक गिलास चियाको आशा गर्दै चुपचाप रामनारायण चौकीमा बसे । चियाको आशाले उनको नजर पटक-पटक भान्सा कोठातिर डोलिरहन्छ ।
“क्रिङ्गक्रिङ्ग” मोबाइलको घण्टी बज्यो ।
“हेलो”
“राना विद्रोहीजी बोल्नुभा’को” उताबाट प्रश्न आयो । हो, म रामनारायण बोल्दै छु । हजुर को बोल्नुभो?”
“म दशरथ ।”-उताबाट ।
“ओहो दशरथजी नमस्कार । कति कामले सम्झिनुभा?” रामनारायणले सोधे ।
“विद्रोहीजी पत्रिका परिवेशका लागि तपाईँबाट एउटा रचना पाऊँ न ।” उताबाट ।
“कस्तो रचना? कविता भए हुन्छ?
“कविता त यो अङ्कलाई पुग्ने आइसकेको छ । एउटा कथा दिनुस् है तर छोटो ।”-उताबाट ।
“छोटो त कथा नभएर रिपोर्ट मात्रै हुन्छ । मैले लेखेका कथाहरू छोटा हुँदैनन् । शिर पुच्छर काटिएको छोटो कथा त लिँडे कथा पो हुन्छ ।” अहिले भने रामनारायणलाई रिस उठ्यो ।
“नरिसाउनुहोस् न विद्रोहीजी । तपाईँ लेखिरहने मान्छे, तपाईँकहाँ दुई-चार ओटा कथाहरू स्टोकमै हुन्छन् । एउटा छोटो-छोटो कथा छानेर स्क्यान गरेर भोलि मेल गरिदिनुस् । इमेल एड्रेस ह्वाट्सेपमा पठाइदिँदै छु ।” फेरि पनि छोटो कथाकै अनुरोध आउँछ ।
“हुन्छ छानेर भोलि पठाइदिउँला ।” भन्दै लेखिराखेको रचनाहरूको फायल पल्टाउन थाले । रामनारायणले चियाको आशले घरीघरी भन्साकोठातिर हेरे पनि चिया पाउने आशा कम्ती नै देखे ।
“बन्द गर्नुस् तपाईँको यो कथाबाजी, कविताबाजी । घरमा ग्याँस सकिएको थाहा छ? एक हप्ता भयो ग्याँस सकियो भनेको, सुने त भो । कन्ट्रोल दोकानमा थापेको मटितेल पनि सकियो । ग्याँस बुक कनेक्सनको सुलाक गर्नुहोस् न भनेको कति भो? के मैले गीत गाएजस्तो लाग्छ कि क्या हो! अरूको त ग्याँसको बुक छ, घर-घरमै ग्याँस आइपुग्छ । आफ्नो त बुक भए पो जहिले पनि बेलेकमा बेसी दाम दिएर किन्नुपर्छ आज त पाँच केजी दाउरा किनेर ल्याएको छु ।” दिउँसोदेखि फुल्लिएर बसेकी श्रीमतीको कटाक्ष वाक्य फुट्छ । किनेको काँचो दाउरासँग घरमा भएको टुक्राटुक्री सुक्खा दाउरा मिसाएर अगेनामा ठोस्दै आज बेलैमा भात पकाउने तर्खर गर्छिन् । आज आइतवार उनलाई मन पर्ने टिभी सिरियल हेर्नु छ । रामनारायण फायल पल्टाएर छोटो कथा छान्नुमा तल्लीन छन् । चियाको तिर्सना त्यसै मेटिएर जान्छ ।
“हैन, सुन्नु भएन? तपाईँको कथा, कविताले भात पाक्छ भने मेरो भन्नु अब केही छैन । होइन भने जहाँबाट भए पनि मटितेल खोजेर ल्याउनुहोस् । किनेर ल्याको काँचो दाउरा बल्न मान्दैन । यति बेला बेलेकमै भए पनि ग्याँस पाउने होइन ।” भन्दै रामनारायनकी श्रीमती एउटा पाँच लिटरको रित्तो भुल्डुङ टेबलमा ठ्याक्क ठड्याइदिन्छिन् । भर्खरै मोतीबिन्दु अपरेसन गरेको दाहिने आँखामा धुवाँले आएको आसुँ भनौँ या पानी भनौँ सारीको फेरले पुछ्दै छेउको भान्साकोठामा पसेर काँचो दाउरा ठेसठास पार्छिन् । छोटो कथा छान्दाछान्दै रामनारायणको नजर रोत्तो भुल्डुङमा पर्छ ।
“पख भुल्डुङ, भरे तेरो कथा लेखेर पठाइदिन्छु ।” फायल बन्द गरेर हातमा रित्तो भुल्डुङ झुन्ड्याउँदै एकपल्ट भन्साकोठातिर हेरेर ख्वाक्क खोक्छन् मटितेलको खोजीमा हिँड्ने तर्खर गर्दागर्दै तीन जना साहित्यिक सज्जनहरूको आँगनमा उपस्थिति हुन्छ ।
“रामनारायण जी घर मै हुनुहुन्छ?” पहिलो सज्जन ।
” ओहो शरद्जीहरू कता बाटो बिराएर ।” रामनारायण अभिवादन गर्छन् । “एउटा विशेष कामले तपाईँलाई भेट्न आ’का ।” दोस्रो सज्जन ।
“आउनुहोस् न भित्रै” रामनारायण सज्जनहरूलाई भान्सा कोठासँग जोडिएको एउटा सानो बैठक कोठाजस्तोमा बस्ने आग्रह गर्छन् ।
अगेनामा घुसारिएका काँचा कचल्टिएका दाउराबाट धुवाँको मुस्लो सज्जनहरू बसेको कोठाभरि रुमलिन्छ । सज्जनहरू धुवाँले आँखा पोले पनि सहेर सहज भावमा बस्छन् ।
“रामनारायणज्यू आजकल के लेख्नुहुँदै छ ? तपाईँ लेखिरहने मान्छे ।” कुराको सिलसिला अघि बढाउन पहिलो सज्जन बोल्छन् ।
“भर्खरै दोस्रो उपन्यास लेखिसँकें । अब भूमिका लेखाउने उद्योगमा छु ।” रामनारायण सोझो उत्तर दिन्छन् ।
“रामनारायणजी तपाईँको प्रकाशित कृतिहरूले नेपाली साहित्यको इतिहासमा महत्त्वपूर्ण स्थान ओगट्न सफल भएका छन् । तीमध्ये तपाईँको उपन्यासले तपाईँलाई एक सामाजिक प्रगतिशील साहित्यक स्रष्टाका रूपमा स्थापित गरिसकेको छ । समग्ररूपमा तपाईँको साहित्यप्रतिको दीर्घकालीन योगदान र तपाईँको सो उत्कृष्ट उपन्यासलाई हाम्रो साहित्यिक संस्थानको जुरीले पुरस्कारका निम्ति चयन गरेको जानकारी दिन आएका हौँ । यसपालिको भव्य भानु जयन्तीको समारोहमा तपाईँलाई अलङ्कृत गर्न निमन्त्रणा गर्न आएका हौँ ।” भन्दै पहिलो सज्जनले श्री/श्रीमती रामनारायण शर्मा सम्बोधन गरिएको निमन्त्रणा पत्र थम्याउँछन् ।
“रामनारायणजी तपाईँका अरू कृतिहरू कमसल छन् भन्न खोजेको होइनौँ । तपाईँको अनुपम भाषाशैली, समाजको यथार्थ संवेदनशील चित्रण र प्रगतिवादी सोच र दर्शनको अभिव्यक्तिलाई मान्नुपर्छ ।” तेस्रो साहित्यिक सज्जनले आफ्नो निष्पक्ष विचार राख्छन् । रामनारायण भन्साकोठातिर श्रीमतीलाई हेर्छन् । भान्साकोठाबाट श्रीमान्का साहित्यिक वन्धुहरूको वार्तालाप सुन्दै, धुवाँमा पिरोलिँदै भए पनि चार कप चिया ट्क्र्याउँछिन् ।
“यिनी मेरी श्रीमती ।” रामनारायण परिचय गराउँछन् । अभिवादनका हातहरू जोडिन्छन् । सविता पतिको छेउमा बसेर सज्जनहरूलाई चिया लिइदिने आग्रह र औपचारिकता निभाउँछिन् अनि करमा परेर कुरा सुनेझैँ गरी टोल्हाइरहन्छिन् । रात परिसक्यो बजारमा मटितेल पाइने हो कि होइन भोलिको छाक कसरी पकाउने चिन्ता छ । किनेको काँचो दाउरा बल्न मान्दैन । ट्युसन पढ्न गएका छोराछोरी भोकाएर आउछन् । आउनेबित्तिकै खान खोज्छन्, त्यसको पनि चिन्ता छ । सज्जनहरूको कुरा नटुङ्गिँदा उनी विरक्त मान्छिन् ।
“श्रीमान्को सफलता, ख्याति र प्रसिद्धिमा कसैको हात हुन्छ भने त्यो श्रीमतीको हात हो । तपाईँ जुन स्थानमा पुग्नुभएको छ यसमा तपाईँकी श्रीमतीको हात छ । तपाईँ एक्लैको योगदान होइन । तपाईँले श्रीमतीको सहयोग र प्रोत्साहन नपाएको भए तपाईँ आज यो उचाइमा पुग्नुहुने थिएन ।” दोस्रो सज्जनको प्रशंसामा अरूले पनि सही थप्छन् । सविता गम्भीर मुद्रामा छिन् । रामनारायण र श्रीमतीको आँखा जुध्छन् । श्रीमतीसँग आँखा जुधाइरहन नसकी रामनारायणको नजर रित्तो भुल्डुङमा गएर अडिन्छ ।
भानु जयन्तीको पुरस्कार अलङ्कार समारोहमा श्रीमान्सँग आइदिने भनी सवितालाई विशेष अनुरोध गर्दै सज्जनहरू विदा भए । अहिले कोठामा श्रीमान् र श्रीमतीमाझ श्मशान शून्यता छाएको छ । दुवैका आँखाहरू एकपल्ट फेरि एकार्कामा जुध्न पुग्छन् । रामनारायण दृष्टि फेर्छन् । एक हातमा पुरस्कार अलङ्कारको निमन्त्रणापत्र अनि अर्को हातमा भएको रित्तो भुल्डुङलाई पालैपालो हेर्छन् ।
“हन सातो हराएको मान्छेजस्तो किन ट्वाल्ल परेर बसेको! छिटो जानुस् ।” श्रीमतीले खाउँला जस्तै गर्छिन् ।
“एकै छिन है पख है ।” भन्दै रामनारायण उपन्यासको पाण्डुलिपिको आभार पृष्ठमा लेखिएको आफ्ना कुराहरूमा आजसम्म मेरा पुस्तकहरू प्रकाशनमा मलाई सदा प्रेरणा र उत्साह दिई, लेखन अवधिमा पटक-पटक चिया टक्रायाउँदै घरमै साहित्यिक परिवेश सृजना गरिदिने मेरी जीवनसाथी सविता राणाप्रति विशेष आभार व्यक्त गर्दछु । भविष्यमा पनि यस्तै सहयोग र प्रेरणा पाइरहूँ भनी कामना गर्दछु यति कुरा थपेर पाण्डुलिपि थन्क्याए । सुनौला अक्षरमा लेखिएको टिलिक्क टल्किएको अलङ्कार निमन्त्रणापत्र एकपल्ट सुमसुम्याए अनि रामनारायण रित्तो भुल्डुङ झुन्ड्याउँदै मटितेलको खोजीमा बजारतिर हानिए ।
****
(डुवर्स, भारतका साहित्यकार अशोक रोकाका दुई ओटा कथासङ्ग्रहहरू ‘विसर्जन’ अनि ‘सुनयना’ एवम् एउटा कवितासङ्ग्रह ‘नखोज्नू उसलाई सहरहरूमा’ प्रकाशित छन्)
————————————————————————————————



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

