साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : मेरो शब्दहीन हाँसो

अनि कहिलेकाहीँ म असाध्यै हाँसो हाँसिदिन्छु । एक्लो स्थितिमा शब्दहीन हाँसो बौलाहा हाँसो ठहरिन्छ तर यो म सम्झिदिनँ आफ्नो नातागोताबाट पाएको कटु, चोट र मानसिक उत्पीडनबाट रुमलिएर उब्जेका हाँसो नै सम्झिन्छु म अनि आज पनि म त्यसरी हाँसिरहेछु ।

दुई-तीनपल्ट व्यथा र वेदनाको हाँसो हाँसेर म आफैँ आश्वस्त हुन्छु । दुई-चार थोपा आँसु झारेर रुनुको सट्टा व्यथा र वेदनाकै वा शब्दहीन हाँसो-हाँसोको नै अनुरूप किन नहोस् हाँस्न प्रायः म अभ्यास भइसकेको छु । मन पनि पर्छ शब्दहीन हाँसो एक्लो-एक्लो स्थितिमा हाँसिरहन अब त मलाई अनि फेरि त्यसरी नै म हाँसिरहेछु तर मेरो त्यस्तो हाँसो मेरा छेउछाउका सिस्टरहरूलाई भने पटक्कै मन पर्दैन । उनीहरूको अनुहारमा विरक्तिको भाव सधैँ देखिन्छ । म त्यसरी शब्दहीन हाँसो हाँसेकोमा उनीहरूलाई ज्यादै बिझ्न लागेका छन् ।

युवराज घलेभाइ (गान्तोक)

म आफ्नो रोगग्रस्त मुटु लिएर यो एसटिएनएम अस्पतालमा बाँचेको क्षणमा आफ्ना छेउछाउका सिस्टरहरूलाई म शब्दहीन हाँसोहाँसेकामा जति न‌ै बिझे पनि जति नै विरक्त बनाए पनि म त्यस क्षणभरि नै हाँसिरहन्छु किनकि हाँस्न मलाई सुख लाग्छ तर हाँस्न मलाई सुख लागे तापनि मेरा छेउछाउका सिस्टरहरूलाई नमजा लाग्दछ । म हाँस्दा, म आफूलाई जीवित छु झैँ प्रतीत हुन्छ, नहाँस्दा उनीहरूझैँ मुर्दासरह हुँ जस्तो लाग्छ । उनीहरूझैँ किन स्वयंलाई मुर्दा लासझैँ बनाउनु । म यहाँ, यसरी यो एसटिएनएम अस्पतालमा रोगको उपचार गर्न बसेको मान्छे ? न कि मुर्दा हुन आएको न कि दुःख बोक्न आएको ।

….. वास्तवमा मलाई अरूको दुःख बोकेर टाउको किन दुखाउनु छ र? जसरी अरू आफ्नो दुःखमा उकुसमुकुसिएर भए पनि निःसन्देह जीवनलाई सुख मानेर बाँचिरहेका नै छन्, म मात्र किन अरूको दुःख सम्झेर चिन्ता गर्नु ? चिन्तादेखि पर हुन खोजेर यसरी हाँसिरहनु कति आनन्ददायी भइरहेछ । हुन त जीवनमा हाँसो कति दिन रहन सक्ला आफूलाई थाहा छ‌ैन । अरूको दुःखमा चिन्ता नगरीकन एक्लै हाँसिरहन कतै आफैँ सुखी भएको ठानिन्छ र ? बल्ल पाएको हाँसो कतै मलाई असहाय छोड्न मन लाग्दैन र त छेउछाउका सिस्टरहरू म त्यसरी हाँसेकोमा ज्यादै झर्को मान्छन् । उनीहरूलाई किन जलन हुन्छ म हाँसेकोमा ? आघात गर्नसिवाय अरू के छ यहाँ ? मेरो बाँच्नुसँग पनि उनीहरूलाई ज्यादै रिस उठेको हुन सक्छ । मलाई हाँस्न किन दिँदैनन् ? सायद उनीहरूले मलाई बौलाहा नै ठानेका छन् कि ? पटक्कै मन पर्दैन, मलाई कुनै हालतमा म बाँचेकोमा विरोध गर्नेलाई । जिन्दगीभरि रगतको आँसु बगाएर बल्ल-बल्ल यहाँ आएर हाँसेर बाँच्न सिकेकोमा पनि बाँचेकोमा खास अलग छैन । मानिसका जीवन कस्ता-कस्ता किसिमका हुन्छन् । यही एसटिएनएम अस्पतालमा आजसम्म राम्रोसँग हेर्न पाइरहेछु ।

ए साँच्ची भुसुक्क बिर्सिएछु “अस्पतालमा बिरामी जस्तै भएर काइदासँग बस्नुपर्छ” भनी हिजो एउटी सिस्टरले भनेर गएकी थिई । यतिखेर मैले बिर्सिएछु । बाँच्नुलाई पनि कस्तो काइदा चाहिने भयो अब ? हामी जस्ता गरिब बिरामीलाई न अस्पताल न समाज नै कुनै स्थान छ, काइदासँग बस्न । हाम्रो समाजले उपेक्षित गरेको त्यो पनि मान्छेलाई । हाँसो उठ्छ, हाम्रो समाज सम्झँदा, समाज पुँजीपतिका लागि मात्र नभएर गरिब र निमुखाका लागि पनि त हो । के मैले हाम्रो यो समाजसँग स्वाभाविक जीवन लिएर बाँच्न खोजेको अनुभव गरेको छैन ? स्पष्ट भन्ने हो भने के हाम्रो यो समाजले धेरै ठाउँमा मलाई टुक्रा-टुक्रा पारेको छैन ? छोडिदिऊँ यो समाजका कुरा । आज मलाई यसरी रोगग्रस्त मुटु लिएर बाँच्न विवश बनाएको कुरा मलाई मात्र थाहा छ । हाम्रो यो समाजको पोल खोलेर म लबस्तरा हुन चाहन्नँ, बरु यसरी एक्लै शब्दहीन हाँसो हाँसेर भए पनि हिजोसम्म कुन ढङ्गमा बाँचिरहेको आफ्ना भोगाइका शब्दहरू, बरु यो अस्पतालमा रोगग्रस्त मुटु लिएर बस्दै रहँदै आफ्नो इच्छाअनुसार बुझ्न चाहन्छु । विचित्र लाग्छ यसरी बाँचिरहेको आफ्नो भोगाइको शब्द बुझ्न निरीह मान्छेको हाँसो र आँसु-व्यथा र उल्लास मेरो आफ्नोपना जिउनको सन्दर्भदेखि अलग छ । बाँच्नुको समस्या अलग-अलग भए पनि साना छैनन्, आखिर मान्छे एउटै भए पनि ।

………………………………….. मेरा निम्ति त मान्छे सबै एउटै हुन् यदि उसको जिउनुको सन्दर्भ अलग-अलग भए पनि हाँसो र आँसु, व्यथा र उल्लासहरू जब मान्छे एउटै छन् भने विश्वास नगर्दा पनि विश्वास गर्न बाध्य हुन्छु । ममात्र यहाँ बाँच्न खोजेको छैन बाँच्न सबै चाहन्छन् र चाहेका पनि छ । फेरि आफ्नो यो हाँसो लिएर बाँच्न खोजेको जीवनमात्र जीवन आफ्नो होइन रहेछ ।

धेरैको जीवनसँग जीवन मिलाएर म यथावत् खस्केको मान्छे के यहाँ महत्त्वको हुन सक्छ ? म बरु जति पनि हाँस्न सक्छु जीवनका कटुता बुझ्न त सक्छु । मलाई जीवन बुझ्न टाढा पनि जानु पर्दैन, यही (STNM HOSPITAL) अस्पताल काफी छ । जीवन सम्पूर्ण छ । भगवान् र ईश्वरमा प्रगाढ श्रद्धा भएका मान्छे बाँच्नुको जीवन यहाँ खोज्दै छन् भने म पनि बाँच्नुको जीवन किन नखोज्नु ? खोजेर के बाँच्नुको जीवन पाइन्छ ? मेरो मस्तिष्कमा यो प्रश्न घुम्न थाल्छ ।

साँच्चै खोजेर कसैले बाँच्नुको जीवन पाएको छ ? सन्देह त यसैमा पनि त छ । खोजेर बाँच्नुको जीवन कहीँ पाइएको छ‌ैन । बाँच्नुको जीवन स्वतः स्वयंसित छँदै छ । सारा दुःख र कष्टमा पनि बाँच्नुको जीवन जीवित छ । होइन बाँच्नुको जीवनको आधारमा त मैले मायाँ र सद्भावना पो खोजेको हुँ । वास्तवमा मैले यही खोजेको हुँ कि ? म आफैँ बुझ्न सकेको छैन । यसरी यो प्रसङ्गमा म अबुझ भएर सम्बन्धित छु । त्यो पनि निःसन्देह थाहा मलाई छैन । त्यस्तो शब्द स्पष्ट खुलेको पनि छैन । जान्दछु, व्यथा र पीडा लुकाएर शब्दहीन हाँसो हाँस्दै छु । हुन सक्छ, यो पनि बाँच्नुको जीवन हो; शब्दहीन हाँसोमा यस्तै लाग्छ । यही सम्झिँदा मेरा पनि अपूर्ण सपनाहरू धेरै छन् । अनभिज्ञ रूपमा नै लुकेर किन नबसेका होऊन् । दिनभरि, रातभरि शब्दहीन हाँसो हाँस्दा मेरा पनि अपूर्ण सपनाहरू साकार हुँदा हुन् त म किन शब्दहीन हाँसो हाँस्नुपर्नेथ्यो ? यो कसले बुझ्ने ? यसले सायद मलाई बहकाउन सक्छ, अलमल्याउन सक्छ, भ्रममा राख्न सक्छ । वास्तविक के हो ? हाँस्नु पनि के बौलाहा ठहरिन्छ र ? हाँस्दा कोही बौलाहा भइन्छ र ? मलाई लाग्दैन यस्तो ।

भनिदिन मन यही लागेको छ, अरूलाई भनिदिँदा के बुझ्लान् र! अरूले म शब्दहीन हाँसो हाँसेकोमा ? बाँच्नको सोखले मानिसलाई आज पनि खलबल-खलबल के पारेका छैनन् र ? यहीँ हेरौँ, यही अस्पतालभित्र हेरौँ इन्जेक्सन र नाना प्रकारका ट्याबलेट छन् यहाँ । बाँच्नुको सोखलाई कति चनाखो पारेको ? मलाई यस्ता सोखदेखि डर लाग्दछ । डर लागेपनि घृणा गर्दिनँ,घृणा त ऊ.. ती गीता सिस्टर र आशा सिस्टरसमेतले गरेका छन् ।

सम्बन्धित पोस्टहरु

कविताः ‘म’ जिउँदो छु

बाँच्नुको सोखमा कत्रो ठूलो उपहास ? के यो ठूलो कुरो होइन ? त्यही उपहासको मुक्तिका लागि मानवीय पीडा म बोक्दै छु, आफ्नो अस्तित्वलाई कतै सजिलोसँग हिसाब लगाउन सक्छु भनेर । जिन्दगी बाँचेर मुक्ति पाइन्छ कि भन्ने अडकल गरेको छु । पछि के छ म भन्न सक्तिनँ । उही पुरानो हिसाबमा म हाँस्दै छु; शब्दहीन हाँसो बोकेर असाध्यै हाँस्न मन लाग्छ ।

यति विघ्न डरलाग्दो कुरो भइसकेर पनि के म नहाँस्नु त ? के ससानो कुरालाई ठूलो कुरामा म सोध्न त लागेको छैन ? सम्भवतः यही होला ? घृणा किन गरिन्छ ? दुःखसुखको आदनप्रदान प्रक्रिया नबुझी आफ्नो बाँच्नुको सुख मात्र सम्झी ? के यहाँ बिरामी भएर बस्नु घृणा र अभिशाप बन्नु मात्र हो त ?

मेरो पीडा एउटै हो, बौद्धिक चेतना कहीँ अलग छैन । यसमा केही फरक छैन । त्यही घृणाले मलाई पोल्छ । एक्कासि युगप्रति अन्धा भएका मभित्रको मानिस दुःख र सामाजिक नियमबाट मुक्त नभई मर्न खोज्छ, के यही हो मानिसको धर्म मरेकोलाई अझ मार्ने चाहना । मान्छेको धर्म त यो होइन, बिरामीप्रति घृणा गर्नु । बिरामी भयो भन्दैमा बाँच्नुको कुनै आधार हुन्न सम्झेर त गीता सिस्टर र आशा सिस्टरले जहिले पनि हामी बिरामीलाई घृणा गर्दथे । घृणित रोगीहरूप्रति पनि प्रेम हुन्छ, सौन्दर्य हुन्छ, जिउने चाह हुन्छ र हुन्छ जीवन ।

यद्यपि कुनै कारणवश बिरामी भइयो भन्दैमा कसैलाई पनि हामीले दुःख दिएका छैनौँ । दुःख त यथाशक्ति हामी आफैँले भोगिरहेका छौँ । भोग्नु कष्ट होइन, जीवनसितको यो त घरेलु सम्झौता हो । मलाई यस्तै लाग्छ । दुःख, रोग र गरिबीको परिचय दिएर दुःखी, रोगी, गरिबलाई घृणित र अभिशापित भन्न सकिँदैन । कारण सबै त एकदिन दुःख, रोग र गरिबीको परिचय दिएर यो अस्पतालमा वास बस्न आउनुपर्छ ।

सायद यसबीच सिस्टर गीता र आशा पनि त कुनै दिन समयको चक्रमा परी बिरामी भई अस्पतालमा बस्लान् । उनीहरूले हामीलाई घृणा गरेझैँ उनीहरूलाई पनि कसैले घृणा गरिदिए भने त्यति बेला उनीहरूको आत्मा के हाम्रो आत्माझैँ दुःखी नहोलान् ? सुखमा पनि एकसाथ हुनका लागि त मान्छे जन्मेको हो । विश्वव्यापी मानवीय गुण श्रमलाई यसरी नै मान्छेले घृणा, अत्याचार गरिरहे भने के मान्छेको व्यक्तिगत सामाजिक सन्दर्भ धेरै दिनसम्म यहाँ बाँचिरहन सक्ला ? यही कुरा सम्झिरहँदा मेरो सारा दुर्बल मानसिकतामा आगो लाग्न थाल्छ । कतिलाई चाहिँ मानवप्रेमको अर्थ सम्झाएर पाप र घृणाको परिभाषा कति बुझाउनु मैले भनिहालेँ, यी सब कुरामा टाउको दुखाएर ममात्र किन दुःखी हुनु ?

मेरो बाँच्नुको आदानप्रदान ठिकसँग मिलेको छैन यो कुँजे वर्तमान युगमा । ठिक छैन मेरो वर्तमान, कति दिनको सिकिस्त बिमारीबाट हिजो आज तङ्ग्रिन लागिरहेछु । आजसम्म मेरो बिमारी हेर्न नातागोता घरबाट कोही आएका छैनन् । खर्च गर्न मसित पैसा छैन, शेष भइसकेको छ । घर यो अस्पतालबाट टाढा छ । कसैले बुझ्ने होइन मेरो आफ्नो दुःख; मानवीय संवेदनादेखि पनि टाढा भइसकेको मेरो दुःख ।

यसमा न आत्मग्लानि छ न पश्चात्ताप छ मलाई तर कस्तो चैँ मेरो मन रुँदो होला । मन रुँदो भएर पनि कसले देख्न सक्छ, देख्नुपर्छ आफैँले । मन नदुखोस् भन्छु, स्वतः मन दुखिहाल्छ । कसले देख्न सक्छ । आफैँलाई थाहा छ । कोसिस गर्दै छु आफ्नो मनको दुःखलाई बिर्सन । यसरी शब्दहीन हाँसो हाँसेर रातभरि आँखाबाट आँसु आउँछ । आँखाबाट झरेको आँसु पुछ्न पनि आफ्नै हातले पुछ्नुपर्छ । कुनै प्रकारको मायाँ गर्ने आँटेको छैन । जिउभरि रोग लागेपछि सबैले ठोक्कर दिएर फाल्दा रहेछन् । उसैगरी नै मलाई पनि ठक्कर दिएर यस अस्पतालमा ल्याएर फ्याँकिदिएका छन् ।

कति किसिमले मानिसहरूबाट स्नेह पाउने आँट गरेँ रे अहँ यसको ठिक रूप निस्किन सकेन । यसतिर अब त मैले चाख नै लिन छोडिदिएँ । जब मानिसले मानिसलाई नै टुक्रा-टुक्रा पारी घृणा गर्दछ भने म पनि मान्छे नै भएको दृष्टिकोणले एकपल्ट सोध्दा मलाई मान्छेप्रति असहाय घृणा होइन, दया जागेर आउँछ । म कतै पनि लामो समयसम्म दयालु रहिरहन, अडिरहन सक्दिनँ । मान्छे भनेर हुँदैन रहेछ । आज मान्छे, मान्छे नभएर निर्लज्ज राक्षस भएका छन् । साँच्चै यो कुहेको वर्तमानमा राक्षसमात्र छन् । बाँच्ने जीवनको दाँजोमा मिलाएर हेर्दा मलाई यस्तै विश्वास लाग्छ । प्रभु यीशु ख्रीष्टलाई समेत त मान्छेले क्रूशमा झुन्ड्याएर मारे । भगवान् बुद्धलाई विष मिलाएर मारे । महात्मा गान्धीलाई गोली ठोकेर मारे । यस्ता उदाहरणहरू अनेकौँ छन् । केही बेर छैन मलाई पनि मान्छेले घृणा गरेर मार्न सक्छन् । मान्छेजस्तै भएर बाँच्ने मेरो चाहना र आशा सायद यो जूनीमा पूरा हुन नसक्ला; मलाई यस्तै लाग्न थालिसकेको छ । पुरानो सम्झना बल्झाएर सम्झेर कुहिएको, सडेको वर्तमानमा बरु बोझमात्र होला । जब मान्छे नै त पाउँदिनँ यतिको उमेरमा रोगग्रस्त मुटु लिएर बाँचेको म मान्छेलाई मान्छेले मदत गरेन भनेर किन चित्त दुखाउनु? दुखाउनु हुन्न । जब मान्छे नाटकीय ढङ्गमा लोभ र मोहमा परी आफ्नो जीवनलाई बोझ बनाई तल झर्दै जाँदै छन् र म भविष्यहीन छु भने आफ्नो जीवनबारे सोचेर म आफैँलाई नियाल्नु छैन ।

……. यहाँ केही पनि खेर जाँदैन संसार एउटा सत्यको भूमि हो भनिन्छ तर मलाई यस्तो लाग्दैन । जब मेरा लागि यहाँ कोही हितचिन्तक न‌ै छन् भनेपछि ती कुरामा कसरी विश्वास गर्नु ? वास्तवमा म जे सोचिरहेछु सायद त्यही नै चिन्तनशील सत्य हो कि ? जीवनको विषमता हटाई सत्यको हिमायती पाउनु वा नपाउनु पनि सायद कर्ममाथि निर्भर छ । कर्म सम्पन्न भयो फल सम्पन्नप्रायः हुन्छ । भनिएको छ, कर्म न‌ै जीवनका प्रत्येक आरोह र अवरोहको सिद्धान्त हो ।

हुन सक्छ, यसकै कमीले आज म विक्षुब्ध छु कि ? यो कसले जान्ने ? तर मलाई यति नै थाहा छ, न त कर्मसहित वर्तमान नै छ न त उज्ज्वल भविष्य नै छ । म सिर्फ बौलाहाजस्तो भएर यी सब व्यक्तिगत कुराहरूलाई व्यर्थै सोचेर किन निन्याउरो हुनु ? दुःख जब बाँडेर बाँडिँदैन भने तबदेखि सोचेर म हाँस्दै छु-हाँस्दै छु । सायद यसरी नै हाँस्दाहाँस्दै भोलि आफू हाँसोको जगबाट पनि विशेष छोडिएर जानुपर्ला ? तब त्यस बेला कहाँ धर्म, कहाँ कर्म, कहाँ भाग्य, कहाँ सेवा, सबै त निस्सारता छ । सायद यस्तै छ र सायद यस्तै होला ।

– युवराज घलेभाइ / गान्तोक पूर्व सिक्किम ।

 

प्रतिक्रिया
Loading...