“पोहोरको जस्तो यसपालि पनि बेहोरा देखायौ भने अब यसपटकचाहिँ म फर्केर आउँदिनँ नि माइतबाट ।” सङ्घार काट्न लागेको रमेशलाई हेर्दै भनिन् पूजाले ।

“भो भो सम्झाइरहनु पर्दैन । सब याद छ, बिर्सेको छैन ।” बाहिर जुत्ता लगाउँदै भन्यो रमेशले ।

भातमात्रै पकाइराख्नु म उतैबाट माछा अथवा मासु लिएर आउँछु भन्दै ऊ गेटदेखि बाहिर निस्क्यो ।

रमेश निस्केपछि निर्दोष तर पीडा भरिएको आँखाले हेरिबस्छे पूजा ।

“अब यसपटक पनि सबै रुपियाँ जुवामा सकेर पो आउने हो कि ? वर्ष दिनको चाडपर्व फेरि खल्लो पो बनाउने हो कि !” ऊ चिन्तामा डुब्छे । “विश्वास पनि कसरी गर्नु ? आजसम्म विश्वास गर्ने लायक उसले के काम पो गरेको छ र? कमानमा तलब बाढ्दैपिच्छे मदिरामा चुर भएर घर झगडा नगरेको र स्वास्नी नकुटेको कुनै महिना छैन । गाउँका छरछिमेकका अघि अनुहार देखाई नसक्नुको बनाएको छ ।” पूजा एक्लै फतफतिन थाल्छे र आँगनमा बसी अघिल्लो सालको घटना सम्झिन पुग्छे ।

शङ्कर शर्मा (डुवर्स)

आजको जस्तो त्यो दिन पनि चिया कमानमा बोनस वितरण गरिने दिन थियो । सम्पूर्ण कमानबासीमा हर्षको लहर छाएको थियो । अरू बेला जे जस्तो भए पनि यो बोनस थापेर वर्ष दिनको चाडपर्व धुमधामले मनाउने गर्छन् । यसै बोनसमा थापेका रुपियाँबाट बालबालिकालाई, ठूलासम्मलाई लुगाफाटो । माछा मासुको खर्च । आउने-जानेलाई मिठोमसिनो र दक्षिणासम्म पुऱ्याएर फेरि दीपावालीका निम्ति खर्च बचाएर राख्नुपर्ने बाध्यता । बोनस वितरण भएको दिन पनि कुनै पर्व भन्दा कम हुँदैन कमानबासीका निम्ति । कुनै पर्वमा जत्तिकै हर्षको भेल बगेका हुन्छन् ।

त्यो दिन पूजा पनि लोग्नेले बोनस थापेर आउँछन् भनी पर्खिरहेकी थिइन् । उनको अनुहारमा पनि उत्तिकै हर्षको लहर छाएको थियो । खानापिना पकाइसकेर घरीघरी बाहिर बाटातिर नजर गइरहेको थियो । लोग्नेले केही माछा मासु लिएर आउँछन् भनी प्याँज टमाटर काटेर तयार राखेकी थिइन् र उनको प्रतीक्षा साचेर आँगनमै टहलपहल गरिरहेकी थिइन् । बोनस थापेर मानिसहरू आउन थालेपछि उनलाई अब रमेश पनि केही बेरमा आइपुग्छन् भन्ने लागेको थियो तर बाहिर आँगनमा बस्दा-बस्दा दिन ढल्यो रमेश आइपुगेन । उनी भयभीत भइन् र सोधखोज गर्न थालिन् । रमेश दिउँसो बोनस थापेर रक्सी दोकानमा थियो भन्ने खबरले उनको मन छिया-छिया पारिदियो । त्यसपछि त्यो उज्यालो अनुहारमा एकाएक पीर र चिन्ताका रेखाहरू तेर्सिए ।

दिनभरिको प्रतीक्षापछि रमेश बेलुका साझमा घर आइपुग्यो र आउनसाथ उनलाई एक लात बजायो । पूजा आँगनमा बजारिन पुगिन् । एकएक गर्दै घरका सब समानहरू आँगनमा फ्याक्न थालेपछि पूजाले छिमेकीहरूलाई गुहार लगाई । केही क्षणमै मानिसहरूको भीड थुप्रिए, र रमेशलाई सम्झाउने प्रयास गर्न थाले तर जो उसको समीप जान्थ्यो रमेश उसैलाई बाघ भालुझैँ झम्टन आउँथ्यो ।

त्यो झगडा हुनुसम्म त सहेर बसिरहेकी थिइन् पूजा तर जब रमेशको मित्र धनबहादुर आएर भन्यो, “यसले बोनसमा थापेको तलै जुवामा सकेको छ । मैले नखेल न जाऊ घर भन्दाभन्दै पनि यो एकैछिन भनेर बस्यो र अब एकपल्ट भन्दै यसले मेरै आँखाका अघि सबै रुपियाँ जुवामा हाऱ्यो । अहिले त्यही रिस घरमा पोखेको होला” ,यो सुन्दा पूजा पनि क्रोधित भइन् । “यस्तो मान्छेसँग कसरी जिन्दगी बिताउने बैनी” भनेर माथिल्लो घरको दिदीले भन्दा झन् उनको मन औडाह भएर आयो । भित्रभित्रै भतभती पोल्न थाल्यो । यस्तो मान्छेसँग सोचविचार नै नगरी, आमाबाबाले रोक्न खोज्दाखोज्दै बित्थामा हाम फालेर आएछु । अब म योसँग बस्दै बस्दिनँ भनेर सानो बालक काखीमा च्यापेर माइतीघर जान भनी निस्किएकी मात्र थिइन् “यति अँध्यारोमा कहाँ जान लागेकी सानो बालक लिएर । आज मेरोमा बस भोलि बिहानै जानू” भनेर तल्लो घरको भाउजूले रोकिन् ।

माइतीघर आएर बसेकी महिना दिन बितिसक्दा मात्र रमेशले मुख देखायो । पहिला त यसको मुख के हेर्नु भनी रमेशलाई देख्नेबित्तिकै पूजा आँगनबाट घरभित्र पसिन् ।

रमेश आएको देखेर घरको बरन्डामा बसेका ससुराबाले भनी हाल्नुभयो, “ज्वाइँको चालचलन ठिक लागेन । आफ्नो राजीखुसीले अर्काकी छोरी लगेर यसरी दुःखकष्ट मात्र दिने हो ? लाज सरम छैन तपाईँलाई !”

” एकपल्टलाई गल्ती भयो बाबा । अबउप्रान्त यसरी दुःख दिने छुइनँ । यसपटक माफ पाऊँ ।” दुई हात जोडेर रमेशले माफी माग्यो ।

ससुरा ज्वाइँको कुरा सुनेपछि भान्साघरबाट कराउँदै सासू निस्किइन्, “हुँदैन ! हुँदैन माफी न साफी । यस्तो जँड्याहा ज्वाइँलाई हामी हाम्रो छोरी दिँदैनौँ एकपल्ट अन्धाधुन्ध हाम फालेर यसले जुन गल्ती गऱ्यो फेरि त्यही दोहोऱ्याउँदैनौँ । यही बस्छे, खान्छे । भैँसीलाई सिङको भारी हुँदैन बुझ्नुभयो ।”

रमेश आँगनमा उभिएर चुपचाप सुनिरह्यो । भित्रबाट पूजाले सबै कुराहरू कान थापेर सुनिरहेकी थिइन् ।

ससुराबाले अन्तमा बस्नलाई कुर्सी दिए र भने, “बिहे भएर गएकी छोरीलाई यसरी घरमा राख्नु हामीलाई पनि मन पर्दैन ज्वाइँ । बिहे भएको दुई वर्षमा यसरी छोरी घर फर्कँदा हाम्रो पनि मानसम्मानमा ठेस पुग्छ । गाउँसमाजले नाना थरीका कुरा गर्छन् । अबउप्रान्त यो कुराहरूको ख्याल गर्नुहोस् ।”

पूजा पनि बाहिर निस्किन् र रमेशको करुण अनुहार देखेर फेरि नारी हृदयमा प्रेम पलायो । मनमनै सोचिन्, “आहा मैले मन पराएर गएको हुँ, अब ऊसँगै दुःखकष्ट झेल्दै भए पनि जिन्दगी बिताउनुपर्छ । कति दिन माइतीघरमा बस्नु ।”

भोलिपल्ट बिहान फेरि छोरालाई काखी च्यापेर रमेशको पछि-पछि लागिन् । त्यस दिनदेखि उनले दिनरात रमेशलाई सम्झाउन थालिन् । यति हुँदा-हुँदा पनि कहिलेकाहीँ रक्सीको चुरमा घर आउने गर्थ्यो र अशान्ति गर्थ्यो ।

बोनस थापेर फटाकफुटुक मानिसहरू घर आउन थाले । पूजा आँगनमा बसी आज पनि रमेशको प्रतीक्षा गर्न थाली ।

तर पोहोर सालझैँ यसपालि पनि दिन ढल्दै गयो, रमेश आइपुगेन । फेरि चिन्ताले सताउन थाल्यो पूजालाई । त्यति नै बेला धनबहादुर टुप्लुक्क आइपुग्यो र भन्न थाल्यो, “लु भाउजू आज पनि रमेश बोनस थापेर जुवा खेल्न बसेको छ । मैले कति सम्झाउन खोजेँ तर उसले मेरो कुरा पटक्कै सुन्न चाहेन । अब रुपियाँ नसकी ऊ उठ्दैन । उसलाई त्यही छोडेर मचाहिँ आएँ ।”

यो कुरा उनको मनमा चसक्क बिझ्यो ।

“यो मान्छेलाई जतिसुकै सम्झाए पनि नलाग्ने रहेछ । अबचाहिँ यो घर कहिले फर्केर आउँदिनँ । यसले मेरो विश्वास तोड्यो” भन्दै भित्र पसिन् र धमाधम नानीको र आफ्नो लुगाफाटा ब्यागमा हाल्न थाली । ब्यागमा लुगा हाल्दै थिइन् उति नै बेला रमेश टुप्लुक्क आइपुग्यो र दुई हात थाप्न लगायो पूजालाई अनि खल्तीबाट रुपियाँ निकालेर पूजाको दुई हातमा थमाउँदै भन्यो, “यो यसपालिको बोनस र यो पोहोरसालको बोनस ।” यसपालिको बोनसभन्दा दोब्बर रुपियाँ हातमा हालिदिएपछि उसले मुख अघि ल्याउँदै फेरि भन्यो, “मेरो मुख सुँघ त आज मैले एक थोपा रक्सी पिएको छैन ।” पूजाले मुख सुँघी साँच्चै आज उसले पिएको रहेनछ भन्ने कुरा थाहा पाइन् ।

“लोग्ने जुवा खेलेर आएकोमा रिसाऊँ कि ? पोहोर सालको बोनस पनि लिएर आएकोमा खुसी होऊँ” ,पूजाले सोच्नै सकिनन् र अलमल्ल परी हातको रुपियाँ हेरी बसिन् ।

 

शङ्कर शर्मा

पत्थरझोडा डुवर्स