धनको गरिब भए पनि मनको धनी भएकाले धनमानलाई सबै इष्टमित्रले इज्जत गर्थे । गाउँको निजी पाठशालाबाट उठेको बेतनले घर-गृहस्थी चलाउन उनलाई धौधौ पर्थ्यो । चार वर्षीय छोरो वसन्तलाई पनि सँगै पाठशाला लान्थ्यो । सानुमाया छोरो पढ्न गएको देख्दा साह्रै रमाउँथी । खाई नखाई भए पनि ठूलो पास गराउने सपना साँचेकी थिई । सदाझैँ आज पनि चुलाचौका सकिवरी बाबुछोराको प्रतीक्षामा बसेकी थिई । एकछिनपछि वसन्त एक्लै रुँदै आएको देखेर परै पुगी लिनु । ‘ए के भो हँ? बाबा चैँ आज कता जानुभयो र एक्लै आइस्?’ वसन्त आमाको आड पाएर झन् डाँको छाडोर रुन थाल्यो । सानुमायाको ममता पग्लिएर आउँछ-‘हेर कमिजको बटन पनि चुँडिएछ, नरोई हिँड घरमा ।’ केहीछिनपछि तोते बोलीमा बोल्छ वसन्त-‘बाबाले कि सबैलाई छुत्ती दिनुभयो कि अन्त अन्त बातोमा मदनहलु भएल मलाई हिल्कायो ।’ सानुमाया गह्रौँ हृदय लिएर छोरालाई खोले खुवाउँदै सोचमग्न हुन्छे- गरिब भएपछि सानाठुला सबैले हेप्छन्, आज यसैको फल बालाखा छोराले बेकसुर भोग्दै छ ।

दिलमान राई ‘चोट’

दिन ढल्किसकेको थियो । सानुमायालाई भने रिँगटा चलेजस्तो भएकाले चारपाईमा ढल्केकी थिई, वसन्त खेल्नमा मग्न थियो । पच्चिस वसन्त पचाएको धनमान गृहिणीलाई पल्टेकी देखेर निधार छम्छ पुग्छ अनि छेवैको मुडा तानेर बस्छ । सानुमाया करैले उठेर फिका चिया सारेर लोग्नेतिर बढाउँदै गुनासो पोख्छे-‘यसलाई किन एक्लै घर पठाउनुभाको ।’ छेवैमा खेलिरहेको वसन्त बाबालाई देख्नसाथ खिस्स रुन्चे हाँसो हाँसिदिन्छ ।

‘किन के भो र?’ धनमानले स्वास्नीतिर प्रश्नसूचक दृष्टि छर्दै सोध्छ ।

‘बाटोमा तल मण्डलको छोरा र कुन-कुन केटाहरू मिलेर तेरो बाबाले हामीलाई पिटेको बदला भन्दै पिटेछन्, रुँदै ऱ्याल र सिँगान भएर आइपुगेथ्यो ।’ सानुमायाले छोरातिर टिठलाग्दो गरी हेर्दै भन्छे । ‘खै त्यो केटाहरू पटक्कै तह लाग्नु आँटेनन्, पिटनु पनि कति । झन् नबाझी जानु है भनेर सम्झाएर पठाएको थिएँ ।

‘धनमानले चियाको गिलास भईँमा राख्दै भन्यो । ‘म त यसमा तपाईँकै गल्ती देख्छु, केटाकेटी आनीबानी यस्तै छ भनेर जान्दाजान्दै पठाउनु भएर ! आज यसलाई केही भएको भए?’ काखमा लुपुक्क हुनु आइपुगेको छोराको केस मुसार्दै सानुमायाले भनी । ‘आ केटाकेटी सबै यस्तै ता हुन्छन् । आज बाझ्छन् जुझ्छन् भोलि सबैकुरा भुलेर खेलिरहेका हुन्छन् अनि यसमा मेरो के दोष? काम पऱ्यो र अल्मल भयो आइन्दा सँगै ल्याउँला नि भएन ।’ धनमानलाई थाह छ सन्तानका निम्ति आमाको ममता यसरी नै पग्लिन्छ भनेर ।

साँझ झमक्क परिसकेकाले कुख्राहरू खोरतिर लम्कन्दै थिए । सानुमाया भान्सा पस्कँदै थिई । धनमान कुखुरा थुन्ने तरखरमा थियो । पाङ्ग्रे सदाजस्तै केही पाउने आशाले दैलोनेर बसेर पुच्छर हल्लाउँदैथ्यो । दिनभरिको थकानले वसन्त नखाई सुतिसकेको थियो । धनमानले अन्नको ग्रास मुखमा हाल्नै के आँटेको थियो काजीमान मण्डलको अप्रत्यासित आगमनले पुनः थालमा छोडिराखेर जुठै हात जोडिदिन्छ ‘हँन यतिखेर कता निस्कनु भो मण्डल बा, आउनो न भित्रै बस्नोस् ।’ धनमानले मुडा अघि बढाउँदै बस्ने आग्रह गर्छ । राता-राता आँखा पारेर धरखरिँदै उभिएको काजीमान मण्डलको कर्कस आवाजले त्यहाँको शान्त वातावरण भङ्ग गर्दै भन्छ ‘म यहाँ बस्न भनेर आएको होइन अँ पढाइ कस्तो चल्दै छ?’ ‘ए यति सानु कुराका निम्ति कष्ट गर्नुभएको?’ धनमानले नम्र हुँदै भन्यो । ‘यो मेरो प्रश्नको जबाफ होइन’ निकै चढाएर आएको काजीमान झन् झ्वाँकिन्छ । सानुमाया छक्क परेकी थिई । उसलाई मण्डल आइपुग्नुको कारण नयाँ लाग्दैन । यो त निहुँ मात्र हो खासकुरा त अर्कै छ । गाउँछिमेकका मानिसहरूले लोग्नेको बडी इज्जत गरेको देखी नसहेको हो । ‘पढाइ राम्रै चल्दै छ?’ काजीमान पुनः गर्जिन्छ ।’ ‘राम्रै चल्दै छ मण्डल बा…सबै नानीहरू नियमित आउँदै छन्’ धनमानले नम्रतापूर्वक जबाफ दिन्छ ‘किन मण्डल बा? आज पनि पढाइ विषय लिएर कसैले गुनासो पोखे कि? ‘अँ गुनासे मात्र होइन धेरै कुरा सुन्नमा आएको छ । यदि ठिकसित पढाउन सक्दैन भने नपढाऊ यो नचाँहिदो झमेला म सुन्न चाहन्न ।’ काजीमान उभिएकै ठाउँमा धरमराउँदै भाषण छाँट्छ ।

दिनरातको टोकस खाँदाखाँदा वाक्कै भइसकेको धनमान असह्य भएर थरथर काँप्छ । न को बराबर पैसामा जीवन धान्नु परेता पनि शिक्षा दान दिनु उच्च आदर्श र सर्वोत्तम् कार्य सम्झेको थियो उसले तर आज उसको धारणा डगमगायो, विचार भत्कियो । ‘होइन मबाट त्यस्तो के काम बिग्रियो मण्डल बा?’ धनमानले आफूमाथिको दोषारोपण पिउँदै सहज भावमा प्रश्न गर्छ । ‘ए उल्टा मलाई नै प्रश्न गर्छौ- त्यस्तो के काम बिग्रियो मण्डल बा? भन्न पनि कति जानेको । तिमीलाई मेरो छोरा कुट्नु भनेर राखेको होइन, पढाउन राखेको । भोकभोकै फुटपाथमा सुतेको बिर्स्यौ र आज जुन कलाइको थालमा खाँदै छौ त्यसैलाई छेड्ने पार्न चाहन्छौ?’ ‘भन्न पाएँ भन्दैमा मनपरी नभन्नोस्, तपाईँको जस्तो इज्जत हाम्रो पनि छ’ धनमानले पनि ओठे जबाफ दिन्छ विनाकारण तपाईँको छोरा त के आफ्नै छोरालाई पनि एक लवटा लाएको छैन ।’ ‘त्यसो भए मदनको कुरा झुटो मानौँ?’ काजीमान निकै बम्किन्छन् । ‘केटाकेटीको कुरालाई मनमा लिएर पनि भएन, हाम्रो वसन्त पनि कुन-कुन केटाहरू मिलेर पिट्यो भन्दै रुँदै आएथ्यो ।’ अहिले सम्म चुपचाप सुनिरहेकी सानुमायाले पनि निकै मन दुखाई । ‘तिमी बीचमा नबोल नानी । भनूँ भने त तिम्रै मुख हेरेर मात्र, तिमीहरूलाई थाह छ मदनको आमा भने पनि बाबु भने पनि मै हुँ । आफ्नो सन्तानलाई त कसले पिट्छ तर ‘सर’ म हुँदाहुँदै यस गाउँमा अरूको धाक चल्दैन बुझ्यौ?’ काजीमानले चोर औलो ठडाउँदै भन्छ । ‘हुन्छ हुन्छ म पनि अबदेखि यस्तो अपजसे काम गर्दिनँ ।’ धनमानले व्यङ्ग्य पिउँदै भन्छ । ‘ठिक छ नगर्नू, कालो जान्छ गोरो आउँछ ।’ ‘तर मण्डल बा तपाईँको नजरले जस्तै गोरो आए पनि कालै देख्नुहुनेछ किनकि सैतान बसेको बस्तीमा इन्सान बाँच्न कहाँ सक्छ, आखिरी बाँच्न त सबैलाई पर्छ ।’ ‘हँ हँ कुरा त ठूला-ठूला गर्छौ ।’ काजीमानले हात नचाउँदै भन्छन् । ‘ठूला साना त तपाईँहरूलाई नै थाह होला तर मलाई तपाईँको इसारामा नाच्ने चैँ नसम्झनू अरू केही जान्दिनँ तपाईँ यहाँबाट खुरुक्क गइहाल्नोस् । ‘धनमानले जलिरहेको बत्ती पनि अँध्यारो देख्यो । ‘ठिक छ जानुभन्दा पहिले सुनिराख् यदि भोलि उज्यालो खस्नसाथ यो डेरा खाली गरिनस् भने मबाट नराम्रो अरू केही हुने छैन बुझिस्? दुई पैसाको टक्कर लाख रुपियाँसित गर्दा आफ्नै अस्तित्व गुमाउलास् मूर्ख! याद राख् मेरो नाउँ कजीमान हो ।’ काजीमान त गयो तर उसले भनेको एक-एक शब्द धनमानको मुटुमा काँडाजस्तै बिझ्छ । सानुमाया भोलिको आशङ्कामा रुन थाल्छे । त्यस रात सबै भोकै सुते । पाङग्रे पनि भोकले हो कि शोकले रातभरि नै भुकेन । कुखुराको खोर रातभरि उदाङ्गै बस्छ । दुवैको आँखामा निद्रा थिएन । धनमान रातभरि यही सोचिबस्यो आजको जमानामा राम्रो काम गरे लात र बात दुवै सित्तै पाइँदो रहेछ अनि गलत काम गरे चाहिँ स्याबासी र धाप ।

परिवर्तनशील प्रकृतिलाई बिहान हुनु कति अनिवार्य छ तर यो सबैबाट बेखबर सानुमाया भने अर्कै सोचमा थिई । ऊ रातभरि जागो बसेर यही प्रार्थना गरिरही-प्रभो बिहान कहिले नहोस् कहिले नहोस् तर बिहान हुनु थियो हुन्छ ।