‘अब चाँडै अपरेसन गर्न सकिएन भने तपाईँको श्रीमान्लाई जे पनि हुन सक्छ । गोलीका छर्राहरू धेरै भागमा छरिएर बसेका छन् । चाँडोभन्दा चाँडो निकाल्नुपर्छ । अपरेसन गर्ने नै हो भने अहिलेलाई एडभान्सको रूपमा पाँचलाख काउन्टरमा डिपोजिट गर्नुहोला भनेर डाक्टर रूमबाहिर निस्कन्छ ।
‘बहिनी म चाँडोभन्दा चाँडो पैसाको बन्दोबस्त गरेर आउँछु ।’ काउन्टरमा बस्ने स्टाफलाई भनेर हस्पिटलबाहिर निस्कन्छु ।
आधा बाटो आइसकेपछि पानी पर्न थाल्यो । नयाँ बनेका बाटाहरू एकैछिनमा जलाम्य देखिन थाले । यसो हेरेँ च्यातिनै लागेको जुत्ता । मायाँ लागेर आयो अझ भनूँ पीर पऱ्यो पानीले झन् लगाउनै नहुने गरी झन् च्यातिने पो हो कि भनेर । एउटा पसलको आड लिएर केही क्षण बसेँ । पानीले भन्दा पनि अघिका कुराले मन पूरै भिजिसकेको थियो ।
आफूभित्र जाँगर कति खोजेँ कति पाइएन मानौँ स्नायुकेन्द्र नै शिथिल भइदिएको छ । घरमा ऊ मेरो नै बाटो कुरिराखेको होला । बिचरा एक दुई घण्टालाई भनेर हिँडेको मान्छे म आज त्यही हस्पिटलमा दिन बित्यो । यस्तो लेट हुने पहिला नै थाहा हुने भएकेहीखाजाखाएर बेडको छेउमा राखेर निस्कन्थेँ । बाटाभरि आफैँलाई गाली गर्दै डेरा पुग्छु ।
ऊ त्यही थोत्रो रेडियोमा काननजिक लगेर सुनिराखेको हुन्छ ।
‘यति खेर नेपाल र नेपाली जनता तथा हाम्रो पार्टीको काँधमा फेरि एकपटक राष्ट्र–राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा र संवर्धन गर्ने दायित्वसँगै लोकतन्त्र र संविधानका मूलभूत मान्यताको संरक्षण गर्ने दोहोरो जिम्मेदारी आएको छ ।’ कानमा झट्ट पस्छ । किन-किन एक्कासि झनक्क दिमाग तात्छ र सोझै उसको हातमा रेडियो खोसेर बन्द गरिदिन्छु ।
‘कति खेर आयौ तिमी?मैले त केही थाहा नै पाइनँ त ?’ मलाई हेर्दै भन्छ ।
‘तिमीले थाहा पायौ, कमरेड विकास त आजको सर्वसम्मति बाट गृहमन्त्री भयो नि’ उसको अनुहारमा प्रस्टै खुसी देख्छु म ।
मेरो लोग्ने, एघार वर्ष जनयुद्धमा होमिएर, गरिबी, जातीय र वर्गीय विभेदजस्ता परम्परागत समस्या, महिलाविरुद्ध हुने सबै प्रकारका शोषण र घरेलु हिंसाजस्ता कुराहरूको अन्त्य गरी जनताका मौलिक हकअधिकारहरू संस्थागत गर्दै देशमा लोकतन्त्र, सुशासन र समृद्धि स्थापित गर्नका लागि गरेको बलिदानस्वरूप आज त्यही युद्धका बेला लड्दा प्यारालाइसिस हुनुपऱ्यो र अझै निसानी स्वरूपगोलीका छर्राहरू उसको शरीरमा रहेका छन् तर पनि ऊ आज खुसी छ, जनयुद्धका बेला सँगै हिँडेका उसको परम मित्र आज गृहमन्त्री भएकाले जसलाई बचाउन जाँदा ऊ आज स्वयम् प्यारालाइसिस भएर शरीरको आधा भाग नचल्ने भएका छन् ।
‘अ साँचीआज लेट गऱ्यो त । के भन्यो डक्टरले आज?’ उसले आँखाभरि आशा देखाएर मतर्फ हेऱ्यो ।
म उसको प्रश्नको जबाफ देऊ त के । साँचो कुरा भनूँ झन् पीडामा पीडा थप्न चाहन्न थिएँ र झुठो बोल्ने बानी छैन । विश्वस्तर सपनाहीन आँखाहरूले ओछ्यानमाथि मूर्तिजस्तै नहल्ली सुतिरहेको उसलाई हेरेँ । मनको कौतुहल एकसाथ उठेँ, एकसाथ हल भए । एकक्षण हामी हेराहेर मात्र गरिरह्यौँ ।
‘कत्रो ठुलो पानी परेको अघि । छाता लान पनि बिर्सेछु ।’ म प्रसङ्ग फेर्छु ।
‘तिमी नभएको बेला घरपट्टि आएको थियो, घरभाडाको लागि । भोलि आउनु भनेर पठाए ।’ ऊ डराई डराई मलाई सुनाउँछ ।
‘ठिक छ तिमी टेन्सन नलिऊ । आज बेलुका मैसाबसँग एडभान्समा केही पैसा माग्छु । दिइनँ भने भोलि दिउँला नि भाडा’ म भन्छु ।
ऊ फेरि त्यही रेडियो कानमा लगेर सुन्न थाल्छ ‘द्वन्द्व कालमा अपाङ्ग भएका लडाकुहरूलाई राज्यबाट निःशुल्क औषध्युपचार, सार्वजनिक सेवा, स्थान तथा अन्य सुविधाहरूमा विशेष व्यवस्था गरिनेछ । अपाङ्ग तथा अशक्त लडाकुहरूका परिवारलाई समेत मध्यनजर गरी उनीहरूको जीविकोपार्जनको विशेष सुविधाको प्रत्यानुभूति गरिनेछ ।’
‘एकपटक कमान्डर विकासलाई भेट्न पाए अवश्य हाम्रा लागि केही व्यवस्था गर्ने थियो । म ठाउँमा पुग्न पाएमा अवश्य तिम्रा लागि केही गर्नेछु भनेर चुनावअगाडि भनेका थिए । अहिले त झन् गृहमन्त्री भएका बेला औषध्युपचारको मात्र व्यवस्था गर्दै पनि हुन्थ्यो ।’ ऊ भावुकताका साथ बोलिरहन्छ ।
‘अझै आउने बेला भएको छैन । घरमा लुगा डङ्गुर भइसक्यो । भाडाहरू अझै माझेको छैन । ल चाँडो गर ।’ फोनमा मैसाबको रिसाएको स्वर प्रस्ट थाहा पाउँछु ।
ओहो ! आज साँच्चिकै ढिला भयो । यिनै मैसाब त छिन् आफ्नो भन्नलाई यति ठुलो सहरमा । हामीलाई पर्दा सधैँ आफ्नैलाई जस्तो गरेर मदतकाहात अगाडि बढाउँछिन् । मात्रउनको पति बाबुसाहेबको नियतचाहिँ मप्रति ठिक छैन ।
मैसाब घरमा नभएको मौका छोपी सधैँ बाबुसाहेब मेरो नजिक आएर विभिन्न बहानामा मलाई छुन खोज्छन् । उनका ती कामुक आँखाहरूले मेरो शरीरको प्रत्येक अङ्गहरूमा नजर दौडाएको म प्रत्येकपल्ट देख्दा पनि सहनुसिवाय केही गर्न सक्दिनँ । कति पटक यो कुरा मैसाबका अगाडि राख्न नखोजेको पनि होइन तर सधैँ हच्किन्छु । मैसाबको नजरमा उनका पति भगवान्सरह छन् । एउटा इमानदार र श्रीमतीभक्त पति ।
‘केही पीर गर्नु पर्दैन । तिमीलाई जेजस्तो सहयोग चाहिन्छ निर्धक्क मलाई भने हुन्छ । तिम्रो मनको पीडा मलाई भन्न सक्छौ’ भन्दै मेरो छातीमा उनका हात निर्धक्कले राखेका थिए ।
के गर्नु भाग्यले नै ठगेपछि यस्ता दानवहरूसँग प्रत्येक दिन सामना गर्नुपर्ने मेरो बाध्यता हुन जान्छ । घरमा आएर उसलाई भनूँ बिचरा ऊ आफैँ अशक्त छ त्यसमा पीडामा पीडा थप्ने काम किन गर्नु भनेर आफैँमा सीमित राख्छु ।
बिहानपख झमक्क आँखा लागेछ । ब्युझँदा झ्यालको अन्तरबाट फुस्रो बिहानीको आभास छिरिसकेको थियो । हरेक दिन स्विकार्नुपर्ने एउटा बिहानी र एउटा ब्युँझनुको पराधीन उद्दा म मैदानमा लम्पसार सुतिदिएको रिसलाग्दो मलाई समयको सुइराले एउटा आघात दिन्छ दुखाउँछ । रातभरिको उसको ऐया, पोल्यो भनेको छटपट्टिले हामी दुई नै निदाउन सकेनौँ । क्रमिक रूपमा उसलाई च्याप्दै गएको छ भन्ने थाहा पाउँदापाउँदै पनि म केही गर्न सक्दिनँ । अब बेच्नलाई बाँकी नै के छ र मात्र यो सिङ्गो शरीरबाहेक ।
सायद पेनकिलरको असरले अहिले निदाएको छ ऊ । घरको विरुद्ध समाजको विरुद्ध भागेर विवाह गरेका थियौँ हामीले । कति खुसी थियौँ हामी त्यो हाम्रो प्रेम सफल भएकोमा तर धेरै समय लागेन हाम्रो खुसी कायम रहन । खोइ कसको नजर पो लाग्यो कि ? सँगै बसेको वर्ष दिन नहुँदै देश बनाउँछु भनेर जङ्गल छिरेको मरेछ भनेर खोल्सामा फ्याँकिएको अवस्थामा अरूले भेट्याएर धन्न हस्पिटल पुऱ्याएर यति भए नि बोल्न पाएको छु । सँगैको साथी आज देशको गृहमन्त्री भएको छ भने ऊ एउटा ओछ्यानमा बसेर बाँच्ने आशामा सपनाहरू बुनी बसेको छ ।
सम्झन्छु ती नेताहरूलाई सरसरती । मेरो लोग्ने जस्तै हजारौँ युवाहरूको सपनासँग बलात्कार गरेर आफूलाई देशभक्तको बिल्ला छातीमा झुन्ड्याएर हिँडेका छन् । घृणा लागेर आउँछ ती अनुहार सम्झँदा ।
‘पोल्यो, सारै गाह्रो भयो ।’ ऊ छटपटिन्छ ।
‘एकैछिन पख म ट्याक्सीलिएर आउँछु अनि हस्पिटल गइहाल्ने’ म ट्याक्सीलिन जान्छु ।
बाटामा लामो ट्राफिक जाम छ । ट्याक्सी ड्राइभरलाई अलिक चाँडो गर्नु न दाइ भन्दा, ‘गृहमन्त्रीको सवारीको कारण ट्राफिक जाम भएको हो अब म के गरूँ’ भन्ने जबाफ आउँछ ।
‘ल आजै अपरेसन गर्न सकिएन भने ढिला हुन्छ । चाँडो पैसाको बन्दोबस्त गर्नु’ डाक्टर उसलाई लिएर भित्र पस्छ ।
‘हेल्लो बाबु साहेब, मैयाँ साहेब हुनुहुन्न ? उसलाई सारै गाह्रो भएर हस्पिटल ल्याएको छु । डाक्टरले पैसा जम्मा नगरी अपरेसन हुँदैन भनेको छ । अब हजुरहरूकै हातमा छ उसको ज्यान’ म रुँदै भन्छु ।
‘डन्ट ओरी, केही पीर गर्नु पर्दैन । म सबै मिलाइदिन्छु’ भनेर फोन काटिन्छ । आज हाम्रा लागि बाबु साहेबहरू भगवान् बनेर आउनुभयो । यदि उहाँको मदत नहुने हो त उसलाई जे पनि हुन सक्थ्यो । आज बेलैमा बाबु साहेबले पैसादेखि सबै कुराको व्यवस्था गर्दिनुभयो । उहाँहरूको यो गुण हामी दुईले कसरी चुकाउने होला ।
‘तपाईँको श्रीमान्को यहीअनुसार इम्प्रुभ भएमा धेरै चाँडो आफैँ हिँड्न सक्नुहुनेछ’ डाक्टरले भनिरहँदा मेरो खुसीका आँसु थामिएको थिएन ।
अपरेसन गरेको महिना दिनमै ऊ धेरै फ्रेस भएको छ । अबको केही दिनमै डिस्चार्ज गर्छ होला उसलाई । यसबीचमा बाबु साहेबले हाम्रो सबै हेरविचार गरिराख्नुभएको छ ।
‘भोलिदेखि तिम्रो मैसाहेब पन्ध्र दिनका लागि काठमाडौँ बाहिर जाँदै छिन् । मैले तिमीले भनेअनुसार सबै गरेँ र अब तिम्रो पालो । तिमीले वाचा गरेअनुसार अब मलाई खुसीपार्ने तिम्रो काम’ उनी फोनमा खुलस्त हुन्छन् ।
बिजुलीको करेन्ट लागेजस्तो मेरो दिमागमा बाबु साहेबको फोनमा शब्दहरू थर्किएर गए, मेले उनका शब्दहरू सुनिरहेँ मात्र मानौँ म एउटा लिलामीमा राखिएको वस्तु हुँ ।
सधैँ आउने मैसाबको घर हो यो तर पनि आज यो घर घर नभएर एउटा व्यापार गर्ने बजार हो जहाँ म मेरो लोग्नेको जीवनको सट्टा मेरो शरीर बेच्दै छु तर मलाई कुनै अफसोस छैन किनकि मेरो लोग्नेको जीवनको मूल्य मेरा लागि धेरै छ । उसको स्वास्थ्यका अगाडि मेरो शरीरको मूल्य केही होइन ।
‘किन लाज मान्नुपऱ्यो र ? म तिम्रो व्यथा बुझ्छु नि । घरमा लोग्ने ओछ्यान परेको पनि धेरै भयो । बिचरी तिमीलाई पनि मन त लागेको होला नि’ भन्दै उनी मेरो लुगा फुकाउन थाल्छन् ।
उनको रक्सीले लाल-लाल भएका डर लाग्दा आँखा हेर्न म सक्दिनँ । आइमाईलाई बलात्कार गर्नुअघि यिनीजस्ता सबैका आँखाहरू यसरी नै उत्ताउलिँदा हुन् । एकपल्ट ढोकातिर हेर्छु, कोही आइदियोस् यहाँ भन्ने आशमा तर त्यस्तो केही हुँदैन ।
‘तिमी तिम्रो मैसाहेबभन्दा पनि राम्री छौ । तिम्रो यी सुन्दर अङ्गहरूको वर्णन जति गरे पनि कम छ’ उसका हातका औँलाहरू मेरा अङ्गहरूमा सलबलाउन थाल्छन् ।
ऊ मलाई बलात्कार गरिरहन्छ र म यो हुनदिइरहन्छु । हो, मेरो शरीर आज यस पशुले बिटुलिदिँदा पनि मेरो मन अझै चोखो छ । यो मनलाई कसैले बिटोल्न सक्दैन ।
तिम्रा अगाडि यो शरीर केही होइन । तिमी स्वस्थ र तिम्रो अनुहारमा खुसी देख्नका लागि म आफूलाई प्रत्येक पटक बलात्कृत हुन हाँसी-हाँसी तयार छु । अरूको नजरमा यो गलत होला तर मैले योभन्दा अरू के नै गर्न सक्छु र ?मलाई माफ गरिदेऊ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।