‘आदर्श शिक्षा सदन’ यस क्षेत्रको अग्र पङ्क्तिमा रहेको निजी विद्यालय हो । एसइइमा उत्कृष्ट नतिजा आएकै कारणले शिक्षा मन्त्रालयबाट दुईपटक पुरस्कृत भएको विद्यालय पनि हो । यसमा अध्यापन गराउने शिक्षकहरू विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरू हुने गर्छन् । अर्थात् विश्वविद्यालयमा ‘ए’ ग्रेड ल्याएका उत्कृष्ट विद्यार्थीहरू नै यहाँका शिक्षक हुने हैसियत राख्छन् ।
लय सरले पनि गणित विषयमा बिए पास गरेका थिए ‘ए’ ग्रेडमा । त्यही भएर त्यहाँ उनको जागिर सुनिश्चित भएको थियो । उनी गणित पढाउँछन् यस विद्यालयमा ।
सदाझैँ निकै फुर्तीका साथ लय सरले ६ कक्षाको कक्षा कोठामा प्रवेश गरे ।

उनले त्यो कक्षालाई विशेष ढङ्गले लिन्थे । उनी घण्टी लाग्नासाथ त्यो कोठामा छिर्थे अनि समयभरि त्यही कक्षामा बिताउँथे । उनको मुहारमा चमक देखिन्थ्यो । उमङ्ग देखिन्थ्यो । आनन्दको चरमोत्कर्ष देखिन्थ्यो । उनी मुस्कुराउँदै त्यो कक्षामा छिर्थे र मुस्कुराउँदै त्यो कक्षाबाट बाहिर निस्किन्थे ।

तर त्यही शिक्षक अरू कक्षामा न त प्रवेश गर्दा मुस्कुराउँथे न त निस्किँदा । अरू कक्षा कोठाबाट बाहिर निस्किँदा उनी बरु नीरस देखिन्थे, उदास हुन्थे र शान्त हुन्थे । एउटा शिक्षक यस्तो रूपमा कसरी प्रस्तुत हुन सक्छ ? सबै सरहरूलाई यही जिज्ञासा खड्किएको थियो । यसको उत्तर आजसम्म कसैले पाएका थिएनन् । सरहरूको छलफल चलिरहन्थ्यो —
‘उनका आफ्ना छोराछोरी पनि छैनन् त्यहाँ ।’

‘म्याथ त उनी अरू कक्षामा पनि पढाउँछन् । त्यहीँ मात्र किन खुसी?’
‘छ कक्षाका केटाकेटीमा खास त्यस्तो पनि केही हुँदैन । ती भुरै छन् ।’
‘असाधारण प्रतिभा भएको कोही पनि छैन त्यो कक्षामा ।’
‘सबै जान्ने पनि छैनन् । अस्ति त्रैमासिक परीक्षामा आधा फेल भएका छन् ।’

‘ठूला-ठूला केटाकेटी पनि छैनन् । ठूला केटी थिए भने त शङ्का गर्न पनि मिल्थ्यो ।’
‘थोरै विद्यार्थी भनौँ भने अरू कक्षामा भन्दा ६ कक्षामा धेरै छन् ।’
‘आराम गर्ने कुर्सी पनि त छैन ।’
‘जोक गर्ने केटाकेटी पनि त्यहाँ छैनन् ।’
‘उनको आफन्त पर्ने भनौँ भने अरू कक्षामा त उनका घरैका केटाकेटी छन् । त्यहीँचाहिँ किन त्यस्तो ?’
‘हामी उनको जासुसी गर्ने ?हुँदैन ।’
‘हो नि, यसो गर्नु निन्दनीय हुन्छ ।’
‘केही अप्रिय भइहाल्यो भने त्यसको जिम्मेवार को हुने ? त्यसैले नजर लाउनु राम्रो विकल्प हो ।’
लय सरमाथि अरू सरहरूको उत्तरवर्ती व्याख्या हुन्थ्यो । अनिश्चयतामाथि निश्चयता ।
सबैले उनका हरेक गतिविधिमाथि नजर लगाए तर केही सुराग
मिलेन । उनी मुस्कुराएर पढाइरहेका मात्र थिए । उनमा हठात् ऊर्जा निस्किन्थ्यो । फुर्तिलोपन निस्किन्थ्यो, बस् कुरा यत्ति थियो तर कारण पर्दा पछाडि थियो ।

०००
शुक्रबारको दिन थियो । आधा दिन कक्षा सञ्चालन गरेर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने विद्यालयको क्यालेन्डरमा नै उल्लेख थियो । केही अभिभावकहरू पनि निम्त्याइएका थिए ।

पहिलो घण्टीमा हँसिलो मुद्रामा लय सर कक्षा ६ को कोठामा प्रवेश गरे । खुब आनन्दले केटाकेटीले ‘गुड मर्निङ सर’ भन्दा शरीर नै हल्लाएर गुडमर्निङ भनेका थिए । उनको पहिलो काम हाजिरी गर्नुहुन्थ्यो, सोहीबमोजिम फटाफट हाजिरी गर्न थाले ।

‘नाव, लिसन टु दी एटेन्डेन्स, एट फस्ट । रोल नं वान ।’
‘यस, सर ।’
‘रोल नं. टु ।’
‘यस, सर ।’
…………………
‘रोल नं सिक्स..’ रोल नं सिक्स भन्ना साथ उनको मन फुलेर आउँथ्यो । भक्कानिन्थे । रनथनाउँथे । छरपस्ट हुन्थे ।
‘…………..’
‘रोल नं सिक्स’
‘हि लेफ स्कुल, सर ।’
हरेक दिन उनको काम रोल नं सिक्सलाई हेर्नु हुन्थ्यो र देख्नु थियो त्यसले बनाएका मनका छालहरू । त्यो मनको समुद्रबाट लहरिएर उठ्थ्यो र मनको भावभङ्गीमा गएर ठोकिन्थ्यो । उनले त्यो रोल नं सिक्सको अनुहारमा, उसको हिँडाइमा, उसको नजरमा अनि उसको मुस्कानमा छाल देख्थे । त्यो निरन्तर उनीतिर आएर ठोक्किन्थ्यो । रोल नं सिक्सको अनुहारमा लय सरले पढेका चित्रहरू अनगिन्ती थिए । लयहरू अनगिन्ती थिए । बिम्बहरू अनगिन्ती थिए । पाइलाहरू अनगिन्ती थिए । पदहरू अनगिन्ती थिए । स्वरहरू अनगिन्ती थिए ।

तर आज ती छालहरू उनको छातीमा भ्वाक्क हानेर फर्किए । उनले यही सम्झे अनि समुद्रको छालले गिटीलाई हान्दा गिटीबाट निस्किएका पीडादायी आवाज सुन्दै छन् उनी । उनको शरीर ती गिटीजस्तै चिच्याउँदै थियो । पीडाको अभिव्यञ्जना पस्किँदै थियो । उनको चञ्चलता पस्किने उनका इन्द्रियहरू अहिले शान्त भए । जुन कुरा उनले सुन्न र देख्न चाहँदैनथे, त्यही-त्यही कुरा सुन्नु र देख्नुपऱ्यो उनले ।

फुस्रिएको अनि उडेर कतै गइसकेको मनले ती केटाकेटीहरूलाई प्रतिप्रश्न तेर्स्याए —
‘ह्वाई डिड हि लिभ् स्कुल?’

‘बिकज हिजफादर लेफ्ट म्याङ्गलुङ्ग । ट्रान्सफर्मम्ड टु विराटनगर ।’
लय सर सल्याकसुलुक भए । उनको बोली अबरुद्ध भयो । कक्षा कोठा फनफनी घुमेजस्तो लाग्यो । माथिको छानो झरेजस्तो भयो । नानीहरूको आवाज र मुस्कुराहटमा रमाउने उनलाई ती सबै झर्को लाग्दा भए ।

‘स्टप, ननसेन्स । क्राइबेबिज ।’ उनी गर्जिए ।
‘सर, ह्वोट ह्यापन्ड ?विह्याभ डन नथिङ्ग रङ्ग ।’
‘सट अप ।’

त्यसपछि उनी हिसाब गर्न थाले ऐकिक नियमको । हिसाबको उत्तर किताबको सँग मिलेन । केटाकेटीले यस्तो महसुस कहिल्यै पनि गरेका थिएनन् । मुखामुख गरे । केहीभन्ने आँट पनि गरेनन् । सरले त्यो हिसाब मेटेर फेरि गरे । उत्तर अर्कै आयो । फेरि पनि मिलेन उत्तर । केटाकेटीले लय सरको यो खाले रूप यसअघि कहिल्यै पनि देखेका थिएनन् ।

‘दिस राइटरर्स आन्सर इज ननसेन्स । हि रोट आन्सर रेकलेस्ली । यू आर टु फलो माइ आन्सर ।’

त्यसपछि उनी घण्टी नै नलागी कक्षाबाट निस्किए । सरासर अफिसको लेखा शाखामा पसे । रोल नं ६ को अभिलेख हेरे आफैँ । आदर्श मावि विराटनगर स्थानान्तर भएर गएको लेखिएको थियो । त्यसपछि फेरि कक्षा ६ को कोठामा पसे । घण्टी लाग्न पाँच मिनेट मात्र बाँकी थियो ।

‘लय सर फेरि कक्षामा पसे ।’ राजेश सर कानेखुसी गर्न थाले छेवैमा बसेका रेवत सरलाई ।

‘यिनी हतास र निराश छन् ।’
‘यिनको मनःस्थिति ठिक छैन आज’
‘के रहेछ त यो रुपको कारण, हेर्नै पर्ने भयो ।’

०००
रक्षा बाह्र कक्षामा पढ्थी । एउटा विषय ऐक्षिक गणित पनि थियो । लय सरले उसलाई मावि तहदेखि नै गणित पढाएका हुन् र उनले रक्षामा भिन्नै क्षमता र सम्भावना देखेका थिए । उसले कक्षाको नियमित पठनपाठनमा ध्यान त दिन्थी नै, त्यो भन्दा बढी उचाइ उसको अतिरिक्त क्रियाकलापमा थियो । भलिबल, एथलेटिक्स र चेस उसका दखल दिने खेल थिए ।

विद्यालयमा शुक्रबार भलिबल खेल हुँदा केटाहरूसँगै मिसिएर भलिबल खेल्थी । रक्षालाई खेलमा समावेश हुन लय सरले प्रोत्साहित गर्थे । उसले खेल्दै छ भने त्यो खेलको रेफ्री लय सर आफैँ बस्थे र कराउँथे —‘रक्षा, ब्लक गर । उफ्र । सर्ट हान । सेन्टरमा रेज गरिदेऊ । प्लेस हेरेर झार’ इत्यादि । रक्षा पनि उसै गर्थी ।

रक्षाको उचाइ राम्रो भएकैले भलिबल राम्रो खेल्थी । मोटा हात र खुट्टा । ‘ओभल’ अर्थात् डिम्माकार आकारको अनुहार थियो । लामो गर्धन, लामो स्ट्रेट कपाल, र सुलुत्त परेका गोडा अनि त्योमाथि कुर्तासलवारले रक्षालाई अप्सरा बनाएको थियो । रक्षाले मुस्कुराउँदा लय सर दाँत देखाएर मुस्कान छोड्थे ।

विषय यतिमात्रै थिएन । रक्षा शारीरिक रूपले जति मजबुत थिई, त्यति नै मानसिक रूपले अब्बल थिई । प्रमाण पत्रहरू थिए हाजिरी जबाफ जितेका, वक्तृत्वकलामा प्रथम भएका, कविता लेख्न र साहित्यिक गोष्ठीहरूमा सधैँ अग्रसरता देखाएका । यी सुन्दर प्रमाणपत्रहरूले छ्याप्पै छोप्दा उसको सुन्दरताको सीमा भत्किन्थ्यो ।

‘सृष्टिकर्ताले मान्छेलाई सबै कुरा दिँदैनन् भन्थे, होइन?’ आनायासै लय सर बोल्थे ।
‘हो नि, किन लय सर ?’ हेडसरले सोधे ।

‘केही होइन, सर ।’
‘मतलब?’

‘उही, गड गिफटेड रक्षा । जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम भइछे’ लय सर निःसङ्कोच थिए ।
‘दुर्लभ व्यक्तित्व ।’

लय सरले रक्षा कक्षा दशमा हुन्जेल एउटा अनुभूतमात्र गरेका थिए । जब ऊ एघार कक्षामा पुगी, उसका मानसिक र शारीरिक अवयवहरू परिपक्व भएर होला, उसको सुन्दरतामा निखार आइरहेको थियो । लय सर उसका तिनै कलेबरलाई नजिकबाट हेर्न थाले । हिजो परबाट हेरेकी रक्षा आज नजिकबाट हेर्दा फरक देखिन्थी । बाँसको तामाजस्तो हलक्क बढेकी थिई ऊ । अनि त्यस्तै निष्कलङ्क, पवित्र र मनमोहक । उसलाई देख्नासाथ लय सर शिथिल हुन्थे । स्वास रोकिन्थ्यो तर थाहा हुन्नथ्यो उनलाई ।

‘वाइयात!’आफैँलाई गाली गर्थे । उनको ‘सुपरइगो’ बेलाबेला बौरिन्थ्यो ।

उनको गला अवरुद्ध हुन्थ्यो रक्षाका अगाडि । उसले के सोच्दै होली? मेरो जस्तै कि अर्कै ?उकुसमुकुस हुन्थे । थिचिन्थे । थिचिने कारण थियो । उनले जर्ज बर्नाड शाँको ‘पिग्मालियन’ नाटक पढेका थिए तीन वर्ष पहिले । विचित्र लागेको रहेछ उनलाई । उनले आफूलाई त्यो नाटकको पात्र प्रोफेसर हिगिन्स सम्झेछन् र रक्षालाई एलिजा । उनले त्यो नाटक रक्षालाई पढ्न दिन प्रयास गरेको दुई वर्ष भयो, दिन सकेनन् ।

‘धत्, अनैतिक । अपराधी सोच ।’ आफूलाई सम्हाल्दै पनि गर्थे ।

उनको चेतनाले बारबार उनलाई सम्झाइरहेको हुन्थ्यो उक्त नाटकको मूलभाव ‘क्रिएसन डजन्ट बिलङ्ग टु द क्रिएटर ।’ अर्थात् ‘सिर्जना सर्जकको अधीनस्थ चिज होइन ।’

फेरि उनको ओठ तालु सुक्थ्यो । कहिल्यै उनले रक्षालाई आफ्नो मनमा के लागेको छ भनेर भन्ने आँट गरेनन् । अनैतिक सम्झे सायद । आफ्नै विद्यार्थीलाई निजी कुरा भन्न मिल्दैन भन्ने लाग्थ्यो उनलाई । उनी शिक्षक र विद्यार्थीको सिमाना भत्काउन चाहँदैनथे ।

तर उनकै मन उनको वशमा थिएन । मनले उनको त्यो सिमाना भत्काइरहन्थ्यो । उनी चाहन्थे, रक्षाको मनले पनि यसरी नै सिमाना भत्काओस् । उनी त्यही दिन र समयका पर्खाइमा थिए तर त्यो समय कहिल्यै आउन पाएन ।

०००
लय सर केटाकेटीहरूलाई पेज नं ६ को म्याथ गर्न लगाएर बाहिर निस्किँदै गर्दा कोही विद्यार्थी बोल्यो —
‘सर, कान्ट वि डु अफ पेज नं सेभेन ?’
‘ओके, ओके । आइ विलकम टु सी योर कपी ।’
आश्वासन केटाकेटीहरूलाई दिएर लय सर रन्थनिँदै बाहिर निस्के ।
कार्यालय कोठामा सरहरू कुर्सी उँघ्दै लय सरमाथि ‘रिसर्च’ गरिहेका थिए ।
‘पत्ता लाग्यो के रहेछ लय सरको चक्कर ?’
‘लाग्यो, मैले अहिले आउँदा केटाकेटीलाई सोधेँ ।’
‘के रहेछ त लय सरको यो विराट् नैराश्यको ?’
‘केही होइन रहेछ । रोल नं सिक्स । ’
‘सिक्स के त ? को हो रोल नं सिक्स ?’
‘सन्दीप ।’
‘त्यो केटो त लठुवा थियो होइन ? पोहोर साल पनि दुई विषय फेल भएर कक्षा चढाइदिएको होइन?’
‘हो नि । मालपोतको अधिकृत रमणको छोरो । ऊ के…रक्षाको भाइ । सरुवा भएर विराटनगर गइसके ।’
‘धत्, जाबो त्यो केटाको कारणले लय सरलाई पागल बनाएको ?’
‘केटालाई के गर्नु हौ ?हाहाहा…’
‘बहुलाउन कुनै विषय चाहिन्छ र ? हेर यी, विनापत्तामा ।’
‘चुप् । यतै आउँदै छन् उनी ।’
लय सर अफिस कोठामा छिरे । सबै साथीहरू शान्त थिए । सबैले उनैलाई हेरिरहेका थिए । उनी सबैका अनुहारमा पालैले हेरिरहेका थिए । सन्नाटा ।

‘लय सर, विराटनगर जाऔँ भोलि ल ?’ राजेश सरले सान्नटा चिरे लय सरलाई व्यङ्ग्यको वाण हानेर ।
सबै जना मज्जाले गलल हाँस्न थाले । लय सर जिल्ल परे । हाँस्न पनि सकेनन् । रुन पनि सकेनन् ।
कुरा नबुझेजस्तो गरेर दुई पैसे दाँतमात्रै देखाए ।

‘रक्षाको विराटनगर यात्रा सफल रहोस् ।’ उनको घोत्ल्याइँ यति मात्रै थियो ।

दमक, झापा