वसन्त ऋतुको आगमनले चारैतिर खुसीको सामराज्य छाएको थियो । रङ्गीबिरङ्गी फूलहरू सुमधुर सुवासना छर्दै स्वागत जनाइरहेका थिए । उगादी पर्वको हर्षमा पुलकित थिए सबैका मन । पतझडपछिको हरियाली वस्त्र फेरेर बुढिएका वृक्षहरू नसा-नसामा सजीवता साटेर उत्साह र उमङ्गमा झुमिरहेका थिए । मानवजातिमा पनि यस्ता क्षणहरू सुधारको दृष्टिले उपयुक्त एवम् महत्त्वपूर्ण हुन्छ । साथै सुनौला मौका पनि साबित हुन्छ । जस्तै पुरानो रिसराग वैरभावको सङ्कुचित भावलाई यस उगादी पर्वको उपलक्ष्यमा गला लगाएर, हात मिलाऐर मित्रताको पुल पुनः कायम राख्न सफल भइन्छ ।

दिलमान राई ‘चोट’, हैदराबाद, तेलङ्गाना

सम्पन्न विपन्न सबैको चुलामा गच्छेअनुसारको मीठो मसिनो परिकार तयार गरिन्छ । जीवन जीउनु हो तथापि संस्कार अनुरूप शैली हुन्छ । चोखो विचार, शुद्ध आहार र साँचो मनले सम्पूर्णताको कामना गर्दै इष्टदेव अघि आस्थाको फूल चढाए पुगिसरि आउँछ भन्ने अवधारणा व्यावहारिक जीवनको अभीष्ट हो । जीवन स्वतन्त्रतामै रमाउँछ जसरी आरामदायक कोक्रामा भन्दा आमाको न्यानो काखमा शिशु सन्तुष्टिले मुस्काउने गर्छ अनि उभिनलाई सहारा चाहिन्छ, पखेटा लागेको चरीलाई उड्न आकाश चाहिएझैँ । उचो उठ्ने/उठ्ने चाहना मानवको सहज प्रवृत्ति हो तर सबैको सपना व्यवहारमा साकार हुँदैन । यही तथ्यलाई ध्यानमा राख्दै आजको दिन साना ठूला सबै रङ्गीबिरङ्गी चङ्गा उडाउँछन्- सायद । आज सार्वजनिक अवकाश । रेसिडेन्सियल स्कुलका छात्रछात्राहरू पनि विभिन्न रङ्गका रमाइला पुतलीहरूझैँ सजिएर चउरभरि भेला भएका छन् । खुसीका चङ्गाहरू उचो आकाशमा उडाउन । त्यसैले आकाश रमाइलो क्रीडास्थल भएको थियो । चीलसरह चङ्गाहरू एकअर्कालाई काट्ने होडमा आआफ्ना मन्जा जमाइरहेका थिए ।

बाह्र वर्षीय विजय सबै साथीहरूबाट अलग्गै सडककिनारको दुई मल्ले बिल्डिङको छतमाथि चडेर चङ्गा उडाउनमा व्यस्त थियो । सबैको भन्दा उँचो उडाउने उसको उत्कण्ठा । ऊ घरिघरि चउरतिर हेरी पठाउँथ्यो । अचानक उमेरमा उम्लेको बैँसझैँ एक अँगालो हुरी चल्छ । चङ्गा हावाको दबाउमा झन्-झन् माथि चड्छ । अब चङ्गा ठिम्याउनुपर्ने स्थितिमा पुग्छ । विजय साह्रै खुसी थियो आफ्नो चङ्गाको उचाइमा । केही समयपछि हावाको दबाउ कम भएकाले चङ्गा तल झर्न थाल्छ । विजय केही अत्यासिँदै दुई हातले धागो बेर्न थाल्छ । उसका पाउहरू पछि सर्दै जान्छन् ।

एउटी विधवा प्रौढा गोबरको घोल छ्यापिएको सुकिला आँगनमा मुग्गुको रङ्गोली कोर्नमा व्यस्त थिइन् । उनको मन अज्ञात आशङ्काले विचलित थियो । कता-कता उमङ्गको वेगलाई जितेर उदासीनताको सियोले भित्री मुटु खाइरहेथ्यो । अकारण उठेको भयको बादललाई मन्टो झट्कारेर पन्साउने प्रयास गर्थिन् । भयको निराकार आकार चाहे अकारणकै किन नहोस् संयमको ग्रहणले मनको आयतनलाई ड्याम्म ढाकेको हुन्छ ।

‘हैन यो केटा अझै आएन । घाम चर्किसक्यो खेल्नुको धुनमा किन पोल्थ्यो र’ ऊ मौन बोल्छिन् । कटक्क दुखेको कम्मर सोझ्याउँदै एकपल्ट चउरतिर नजर दौडाउँछिन् । केटाकेटीहरू अब रूखको फेदतिर झुरुम्म भएर बसेका थिए तर विजयलाई कतै देखिनन् ।

‘यो केटा साह्रै जिद्दी हुँदै छ, यसलाई के गरी सपार्नु! बाबु चाहिँ जीवित भएको भए मलाई केहीको पीर खप्नुपर्ने थिएन । झन् छत माथि नचढ्नु भनेर कत्ति सम्झएको त्यहीँ पुगेछ ।‘ प्रौढाको नजर रामधनको बिल्डिङतिर ठोक्किनासाथै बडबडाउन थाल्छिन् ।

एक्कासि ‘ढम्म’को आवाज साथै चारैतिर हल्लाखल्ला मच्चिन्छ । मान्छे मऱ्यो! मान्छे मऱ्यो!! मनिसहरू रामधनको बिल्डिङतिर दगुर्दै थिए । प्रौढाले यतिन्जेलसम्म बाँधेको मनको बाँध अचानक भत्किन्छ । ऊ केही क्षण बिखलबन्दमा पर्छिन् तथापि अर्धविक्षिप्त अवस्थामा घटनास्थलमा पुग्छिन् तर घाइतेलाई नजिकैको अस्पतालमा लगिसकेको हुन्छ । प्रौढाले छोरो लडेको स्थल निरीक्षण गर्छिन् । एउटा रित्तो ढाकी, चारैतिर छरिएका खोर्सानीहरू, रामभेँडाहरू अनि अलिकता आलो रगत । एम्बुलेन्सद्वारा दुई जना घाइतेलाई अस्पताल लगिएको कुरा एक जना मानिसद्वारा थाहा लाग्नासाथै प्रौढा बिलौना गर्दै पागलझैँ उतै दगुर्छिन् । मानसपटलमा किसिम-किसिमका कुराहरू खेल्न थाल्छन् । घरी एउटै छोरोको हँसिलो अनुहार देख्छिन् घरी रगतपच्छे शरीर कल्पेर पिरोलिन्छिन् । बुढेसकालको साहारा खोसिन लागेको कल्पना मात्रले ऊ खङ्ग्रङ्ग हुन्छिन् । बिहानै उठेर इष्टदेव पुकारी वसन्तको हरियालीझैँ छोरोको चिरायुको कामना गरेकी थिइन् । जीवनमा खुसीको नयाँपन भरियोस् भनी प्रार्थना, अर्चना गरेकी थिइन् । ठीक विपरीत दुर्घटना देख्न पर्दा भाग्य फुटेको सम्झिइन् ।

‘डाक्टर बाबु! मेरो छोरोलाई के भयो? अहिले कस्तो छ?? मलाई मेरो छोराको मुख एक झलक हेर्नु दिनुहोस् न । तपाईँ किन बोल्नु हुन्न? छिटो भन्नुहोस् न…..’ अधीर, आत्तुर प्रौढाले डा. रावलाई देख्नसाथै सास नबिसाई रुन-कराउन लाग्छिन् ।‘ तपाईँले बोल्ने मौका दिनु भएन । किन यति हतास हुनुहुन्छ आमै?’ डा. रावले निकै थुमथुम्याए । ‘आमा जो ठहरिएँ हजुर, एकपाखे आमा’ प्रौढा झन् रुन थालिन् । ‘तपाईँले त ईश्वरलाई लाख धन्यावाद दिनुपर्छ बुझ्नुभो । नत्र त्यति माथिबाट खसेर कोही बाच्न सक्छ?’ डा. रावले दुवै हात उँभो उठाउँदै भन्छन् । प्रौढा डा. रावको कुरा सुनेर केही ढुक्क मान्दै भन्छिन्- ‘त्यसो भए मेरो विजयलाई केही भएको छैन हजुर? हो मलाई पूरा विश्वस थियो त्यसलाई केही हुँदैन भनेर ।’ प्रौढाले डा. रावलाई साक्षात् भगवान्‌को रूप देख्छिन् । त्यति माथिबाट खसेको…..आमा भनेर कतिपल्ट बोलायो होला-मलाई झट्ट मेरो छोराकहाँ लिएर जानुस् हजुर ।

‘सबै भाग्यको खेल हो आमै! कहिलेकाहीँ नहुने कुरा पनि हुन्छ अनि हुने कुरा हुँदैन । यस्तै भएको छ आजको केश ।’ डा. रावको कुरा नबुझेर सोध्छिन् प्रौढा- ‘के कुरा हो हजुर? मैले त केही बुझिनँ तपाईँका कुराहरू । जबसम्म मेरो छोरालाई आफ्नै आँखाले देख्दिनँ तबसम्म म कसरी ढुक्कले बस्न सक्छु ? त्यसैले मलाई झट्ट भित्र लग्नुस् ।‘ प्रौढाले विनति बिसाउँछिन् । विजयको भाग्यको प्रशंसा गर्दै डा. रावले भने- ‘त्यत्रो अग्लोबाट तल अलकत्रे सडकमा बजारिँदा कुनै प्राणी बाँच्छ भने त्यसलाई दैवको प्रबल च़क्रले बचाएको भन्नुपर्छ । त्यसैले आज विजय बाँच्नुमा साठी वर्षीय वृद्ध धनीरामले मर्नुपऱ्यो ।’

हँ! धनीराम! के भयो उसलाई? प्रौढा एकपल्ट झस्किइन् । ‘हो आमै! तपाईँको छोरा जतिखेर तल झऱ्यो ठीक त्यही मुहूर्तमा ढाकीभरि खोर्सानी, रामभेडा बेच्दै आइपुगेको धनीरामको थाप्लो विजयका निम्ति मृत्युको कवच सावित भइदियो । कस्तो आश्चर्य कस्तो संयोग! बिचरा बूढा त्यहीँ ठहरै भएछ ।‘ ‘हे राम!’ डा. रावको कुरा सुनेर प्रौढाले छातीमा हात राख्दै सन्तुष्टि वा बिस्मातको सास फेर्दै भन्छिन् । ‘विजय त हैबत वा डरले बेहोस मात्र भएको हो । अब त होसमा पनि आयो होला-हिँड्नोस् ।’ त्यसपछि डा. राव अघिअघि प्रौढा पछिपछि भित्र पस्छन् भर्खरै जन्मिएको नवजात शिशुलाई हेर्न गएझैँ । प्रौढाको अनुहारमा घामपानीको समिश्रण स्पष्ट देखिन्थ्यो । उसको हृदय द्रवीभूत थियो एकातिर खुसीको घाम लागिरहेथ्यो भने अर्कातिर दुःखको झरी परिरहेथ्यो । केही बेरपछि प्रौढा सजल नेत्र लिएर चुपचाप अर्को कोठातिर लाग्छिन् जहाँ धनीरामको लास राखिएको थियो ।