
र, अब म तिमीलाई मायाँ गर्न सक्दिनँ ।
यो वाक्य मैले उसको इमेल बक्समा गएर कैयौँपटक लेख्ने कोसिस गरेँ, अहँ सकिनँ वा नै भन्न सकिनँ । एक नजरले भन्नुपर्दा म पुरुष हुँ तर अर्को नजरले भन्नुपर्दा म पुरुष होइन वा म पुरुष भएर पनि पुरुष बन्न नपाउनु मेरो नियति थियो । यो सत्य हो कि म आफ्नै नजरमा चाहिँ एक पुरुष हुँ । नातामा कसैको छोरा, कसैको दाजु त कसैको यार हुँ तर आफूभित्रको अराजकताको मन भरिएर तिमीलाई सत्यता बुझाउनुपर्दा म एक पुरुष भएर पनि फरादकी प्रथम श्रीमती हुँ ।
मानसा र आध्यात्मिक जगत्लाई नै अपरिभाषित गरेर मैले तिम्रा लागि यो पत्र लेख्ने साहस गरेँ तर यो पत्रमा म तिम्रा लागि कुनै पनि उपमाको प्रयोग गर्न सक्दिनँ । समाजको हेराइले हेर्ने हो भने मैले आफ्नै अस्तित्वलाई खोज्ने कुनै अधिकार नै छैन भने यदि व्यक्तिगत तवरले तिमीलाई सम्बोधन गर्ने हो भने म तिम्री त्यही सौता हुँ । जसको हत्या गर्न तिमी मलाई नै खोजिरहेकी छ्यौँ ।

इलैया पाठक
तिमी आफ्नो लोग्नेलाई पागल भई खोजिरहेकी छ्यौ अझै पनि । मानासा ! तिमीलाई हामी दुईबिचको सबै कुरा थाहा भैसक्यो होला, निःशन्देह नै । तिमीमा मप्रति अझै अग्निसमानकै क्रोध छ । कसैले माफ गर्न खोज्नु भनेको त्यो क्षमा दिनका लागि पर्खनु हो । मलाई थाहा छ तर न नै म तिमीसँग क्षमा माग्न तयार छु न नै तिमी मलाई क्षमा दिन । सत्य त यो हो अस्वीकृत मेरा कठोर शब्दहरूसँग तिमी आफ्नो रूपलाई तौलँदै छ्यौ ।
तर मानसा तिमीले कहिल्यै बुझ्ने चेष्टा उठायौ कि फरादले तिमीलाई कामुक नजरले केवल एकपटकका लागि भए पनि छोएको थियो र ? कहिल्यै एक पुरुषको नाङ्गो छातीमा कसैका निम्ति हृदयको कम्पन गुन्जन्छ भन्ने कुरा सोचेकी छ्यौ र ? पक्कै पनि न तिमीले फरादलाई छोएकी थियौ न नै बुझ्ने चेष्टा उठाएकी थियौ । आज म तिमीलाई एउटा सत्यको जानकारी दिन चाहन्छु मानसा । म वा हामीजस्ता पुरुषहरूको नजरले कहिल्यै पनि कुनै स्त्रीको अपमान हुन सक्दैन । अब कुरा रह्यो लोग्नेको । यदि भौतिक शरीरमा रङ्गिएको सिन्दूरको अस्तित्व प्रबल हुन्थ्यो भने तिम्रो घमण्ड चुरचुर भैसक्यो मेरा अगाडि मानसा । यदि हृदयको सम्बन्धको कुरा गर्छौ भने चार पर्खालको कोठामा रङ्गिएका दुई पुरुषका कामुक चलचित्रहरू अझै प्रबल रहेका छन् तिम्रा नाङ्गा आँखाअगाडि नै । हठात् ती ओठको घर्षणले उत्रिएका कामुक आवाज अझै पनि त्यो कोठाभित्रको हावामा मिसिएका छन् ।
आफ्नै अङ्गको घाउ आफैँले निको पार्न सकिएन भने अरूले त्यहाँबाट रगत बगाउने मौका कहिल्यै चुकाउने छैनन् । तिम्रो नजरमा मेरो शरीरमा कुनै रगत नै छैन । हो शरीरको उपल्लो भागको थाइकट कपाल, ओठमा खुलेको थोरै मुस्कान, दुवै कानमा झुन्डिएको झुम्का, हातमा सजिएको औँठी अनि त्यसरी नै झुन्डिएको उसको नियति । साथमा छ उसको लोग्ने । म त्यही पुरुष हुँ मानसा । तिमीलाई राम्रोसँग भन्ने हो भने एउटी आमाका अगाडि उसको बच्चालाई मारेझैँ मारिसकेकी छौ मेरा शरीरका अवयवहरूलाई तिमीले ।
मानसा ! म फेरि पनि भन्दै छु म कुनै सापियोसेक्सुअल पुरुष होइन । जो कलाकारिता र प्रभावकारितालाई चिन्न सकोस् । तिम्रा अपमानजनक शैलीले बगाएका थिए मेरा आँखाका कैयौँ थोपा आँसुहरू । आज देख्दै छु त्यही आँसुले तिमीलाई नै जलाइरहेछ । सोध्न मन छ अझै पनि तिमीलाई एक थोपा आँसुमा कति हृदयको वेदना पखालिन्छ भनेर ?
जब सम्बन्धको सतहमा मतभेद तरङ्गित हुन्छ नि तब अर्को पक्षको सत्यता खुल्छ । मानसा ! आफ्नै नजरमा गिरेको दोषीले जत्तिकै सत्य सायद यो संसारमा अरू कसैले बोल्दैन होला । मेरो नियतिमा एउटा दाग लागेको छ -गे हुनुमा । अति स्वादिलो लाग्छ, जब अरूको बारीमा फलेको फलमा आफ्नो हिस्सा जमाउनमा पनि । तिमीले मेरो बारीको उपयोग गऱ्यौ । मालीले जति नै गोडमेल गरेर उब्जाए पनि पहिलो हक त मालिकको नै हुन्छ होइन र ? यो पत्र तिम्रो नाममा मानसा !
८८८
म कुनै लेखक होइन । सायद, लेखक हुन सकेको भए म आज आफ्नै ती कलङ्कको अपराधलाई यसरी भावविहीन शब्दमा उतार्ने थिइनँ होला । एउटा केटाको काँधमा मैले जिन्दगी भरको सपनालाई भरेको छु । होइन भरिसकेको थिएँ पहिलेदेखि नै ।
एउटा रहरलाग्दो पुरुषले काठको सिँढीमा आफ्नो पैतालाको चाप दबाउँदै मेरो कोठाअगाडिको कोठाको ढोका खोल्यो । बानीको कुरा त किन नै गर्नुपऱ्यो र ? म अलि नै छुच्चो छु । उसले कोठाको ढोका लगाएन । मैले झलक्क देखेँ उसको ब्यागको बाहिरपट्टि एउटा उपन्यास थियो “कल मि बाई योर नेम”
म उसको कोठाभित्र लुसुक्क छिरेँ । उसको चोर बिरालुका आँखा उत्तिकै प्रिय छन् मेरा लागि । गालिबकै भाषामा उसले मलाई भयो, “मेरी जान !”
मैले उसलाई यति नै भने, “बादर कहीँको ?“ थोरै मुख कुच्चाएँ । हातमा रहेको भरी बोतलको बिर्को खोलेर थोरै पानी उसको कोठाको कार्पेटमा पोखिदिएँ अनि अन्तिम शब्द सुनाएर उसको कोठाबाट बाहिर निस्किए ।
“त्यो आसामको गोगोई केटो मलाई जिस्काउँदै थियो । भन्दै थियो । बाँदरहरूको काम खाली चुलबुल मात्र गर्ने हो कि अरू पनि । म केवल यतिमात्र बुझ्न आ’को अस्ति राति यो कोठामा को थियो ?“
केही समयपछि उसले मलाई बोलायो । मेरो कोठाबाट केवल शून्य आवाजमात्र बाहिर निस्कियो । फेरि बोलायो । फेरि उही शून्य आवाज ।
उसले ढोकामा आएर मलाई पुकाऱ्यो,“राजकुमारी कोको !”
कोको त राम्रो उपमा हो तर ऊ मलाई मेरै नामले पनि बोलाउन सक्छ वा आफ्नो नामले पनि तर उसले मलाई फेरि राजकुमारी नै भनेर पुकाऱ्यो ।
छिः
छिःले मात्र पुगेन । सारा गल्ती उसको हो । जुलाईको पहिलो हप्ता उसले मलाई काँधमा बोकेको फोटो सामाजिक सञ्जालभरि अपलोड गरेको थियो । तल लेखेको थियो । “कोको”
एउटा अफवाह फैलियो । फराद पागल भएछ । एउटा केटाले अर्को केटासँगको तस्बिर अपलोड गरेर कोको लेख्नुमा कत्तिको दम भएको केटो रहेछ यो त ? सुनाउनेहरू मेरै कलेजका साथी थिए । अनि त्यसमा अफवाह फैलाउनेमा तिमी थियौ मानसा ।
इच्छाको टपरी च्यात्तियो अब भाग्यले जे लेख्न सक्छ त्यो मेरो इच्छाभित्रको कुरा रहेन ।
८८८
म आफूभित्रको लज्जालाई उतार्न चाहन्छु । कैयौँ रात फरादको कोठामा मैले आफ्नो उपस्थिति देखाएको छु । कैयौँ रात फरादले मेरो नाङ्गो शरीरमाथि खेलेको छ । कैयौँपटक उसका असह्य चुम्बनलाई भार दिन मैले चार कुनाको ती दिवारहरूसँग मित्रता गाँस्नुपरेको छ ।
मोबाइलको ग्यालरीमा कैद भएका ती अश्लील हर्कत अनि सामाजिक सञ्जाल अपलोड भैसकेका युगल तस्बिरहरू ।
सेप्टेम्बरको महिना कलेजको बाथरुममा हामी त्यो अवस्थामा फेला पऱ्यौँ । जुन अवस्थामा हामी यसरी फेला परिने छौँ भनेर कहिल्यै सोचेका पनि थिएनौँ । अब भन मानसा तिमीलाई म कुन दायित्वबाट पन्छिएर फरादलाई तिम्रो हातमा सुम्पौँ ?
मैले महसुस गरे त्यो समयलाई लेखक डेभिडको “केटाले केटालाई भेट्दा” पुस्तकको केही पानाजस्तै थियो त्यो क्षण । यो त एउटा सामान्य कुरा नै रह्यो तर वास्तवमा भन्ने हो भने कलेज प्रशासनका अगाडि एक युगल किशोरहरूलाई उनीहरूको बाबुआमासामु उभ्याइन्छ भने तिमीले के सोचेकी थियौ मानसा कि म यति चाँडै फरादसँग पार लाग्नेवालामा छु भनेर ? उफ्.. ! तिम्रो सोचाइ मानसा !!
सेप्टेम्बरको अन्तिम महिना, कलेज प्रशासन अनि प्रशासन कलेजका सारा क्यामेरालाई निरीक्षण गर्दै छन्, जहाँ हामी उपस्थिति छौँ । पटक-पटक हामीहरूको मोबाइलको ग्यालरीबाट हेर्दै गरेर हामीहरूका आमाबाबुको आँखा यति कहालीलाग्दो थियो कि हाम्रा नाङ्गा तस्बिरहरूभन्दा पनि अब उनीहरूलाई के गर्दा उचित हुनेछ भन्ने प्रश्नमाथि विचाराधीन देखिन्थे ।
एउटा वनावटलाई कष्टपूर्ण बर्सौँ र लौकिक चालचलनहरूद्वारा ननिभ्ने चम्किलो तरबारले उत्सर्जनको युद्ध जितेझैँ चार कुनाको त्यो कोठामा फराद र मेरो शरीरमाथि यति पिटाइ बर्सियो कि त्यसको आँकडा निकाल्न असम्भव थियो ।
मैले आफ्नो जिन्दगीको प्रथम चरण पूरा गरेँ । म दुःखी थिइन । मैले अत्याचार गरे वा ममाथि अत्याचार भयो भनेर । तिमीलाई सोच्न मुस्किल भइरहेको छ होला त्यो वेदना कति दुःखदायी रह्यो भनेर तर वास्तवमा त्यसो भएन । किनकि त्यो समयमा मेरो साथमा फराद थियो र फरादको साथमा म ।
मैले पहिले नै भनिसके म कुनै लेखक होइन तर यदि म लेखक भएको भए सायद त्यो क्षणको खुसीलाई तिम्रा सामु प्रस्ट रूपमा वणर्न गरिदिन सक्थेँ होला ।
आत्महत्या गर्ने मेरो कुनै नियति थिएन तर म यो जिन्दगीदेखि भने खुसी थिइनँ । त्यो दिनदेखि इमेल बक्समा बढदै गएको इमेलले मेरो बैँसको मूल्य निर्धारण गरिदियो । जति-जति इमेल आउथ्यो त्यति नै मूल्यको सौदागिरी र रातको तामझामका लागि तयार रहेका पुरुषका कामुक लिङ्गहरूलाई पनि मैले नदेखेको होइन ।
मैले सामाजिक सञ्जालमा एउटा वाक्यलाई गठन गरेँ । कसैका निम्ति आँसु खसालिरहेको छु । महोदय ! मन त मलाई पनि कहाँ नभएको होर ? यो शरीरलाई लास बनाएर उसैको सामु पछारिदिऊँ भनेर ।
आखिर सत्य पनि यही नै थियो । सुनसान कोठाहरूमा जब विरक्तको सङ्गीत सुन्छु त यस्तो लाग्छ पटक-पटक मृत्युको आह्वान हुनुभन्दा बरु मृत्युलाई नै किन स्वीकार नगरूँ । अब मेरो बानीमा बदनाम पूर्ण बदलाव आयो । फराद लापता छ । उसको अन्तिम इमेल थियो । तिमी एक गे पुरुष हौ । एउटा नातालाई अस्वीकार गरेरै भए पनि वचनको धागाले हृदयलाई कस्दै छु । मैले थाहा पाए अनुसार यतिको षड्यन्त्र सबै तिम्रै थियो मानसा । एउटी नारी जननी मात्र होइने बर्बादीको पनि लायक हुन्छे । कलेजको बाथरुमदेखि मेरो कोठाको झ्यालको त्यो सानो प्वालसम्म मैले तिम्रो उपस्थितिलाई देख्न सकेको रहेनछु ।
भनिन्छ नि नाता दिलमा हुनुपर्छ शब्दमा होइन । अनि घृणा शब्दमा हुनुपर्छ दिलमा होइन तर म पूरै हारे तिम्रो अगाडि । म पूरै चुरचुर भए तिम्रा अगाडि । अक्टोबरको दोस्रो सप्ताह, तिम्रो नामको इमेल मेरो मोबाइलमा आएको थियो । साथमा फराद र तिम्रो वैवाहिक तस्बिर । म किन हेरूँ त्यो तस्बिर ? जुन पुरुषसँग मैले साट्नलाई केही बाँकी राखिनँ । जुन पुरुषको काखमा मेरा हरेक रात तातियो । जुन पुरुषको ओठले मेरा शरीरको एउटा अङ्गलाई छुन पनि बाँकी राखेन भने अब के हेर्नु छ र ?
एकदिन फरादको ब्यागमा मैले कल मि बाइ यार नेम देखेको थिएँ । लाग्यो एकपटक तस्बिर हेर्नैपर्छ अनि मैले इमेलको तस्बिरहरू हेरेँ । एकपटक होइन । पटक-पटक । तस्बिर मात्र होइन । तिम्रो नियति पनि हेरेँ । अब मैले तस्बिरमा फरादलाई देखेँ त यस्तो लाग्यो म अविवाहित फरादकी श्रीमती तिमीलाई आफ्नो सौता बनाउन अझै असमर्थ छु मानसा ।
८८८
बाबाले भन्नुभयो,“तँलाई धामीझाँक्री लगाउनुपर्नेछ । नाना थरी भूत चढेको छ तँमाथि । आइमाईमाथि रजाइँ गर्ने जात भएर एउटा केटाको स्वास्नी बन्न लाज लागेन तँलाई ।” आदि इत्यादि ।
अन्तमा उहाँको अर्को शब्द पनि जोडिएको थियो । “मनु नामको एक केटीसँग तेरो नाता पक्का हुन जाँदै छ ।“
“अनि मेरो पढाइ ?“
“केटासँग नाना थरी गर्दै हिँड्दा तँलाई पढाइ चाहिएन । अब केटीसँगको पालोमा तँलाई आफ्नो पढाइको चिन्ता छ ?“
ढोकाबाट कान थापेर सुनिरहनुभएको आमा खित्का छाडेर हास्नुभयो ।
“छोरा बिगार्ने तँ नै होस् अलच्छिना !” बाबाको दोस्रो झटारो आमामाथि ।
विवश मेरा विवशताहरू । मैले भने, “बाबा मलाई लाग्छ कि मैले आफ्ना दुःखहरूलाई मायाँ गर्नुपर्छ । दुःख मेरो नियतिमा फराद बनेर बसेको छ । यदि सुखको स्थानमा मैले आफूलाई बेचेर फरादलाई राखे भने सुख त कति दिनका लागि हो र ?“
दिमाग भनेको अँध्यारो कोठा हो । यसले मसहित तपाईँ हामी, ऊ, त्यो, सबैसबैलाई बलात्कार गरिरहेकै छ । फरक यति हो अँध्यारो कोठाले कसैलाई पनि गर्भधारण गराउँदैन । मैले त्यो अन्धकारलाई चिनेको छु बाबा । त्यो अन्धकार कहिल्यै पनि कपट गर्ने वा प्रशंसा गर्ने खालको थिएन ।
८८८
मैले मेरो घरकोलागि कहिल्यै पनि प्रवेश नपाउनेजस्तै भयो । मैले सुनेको पनि यति नै हो र देखेको पनि । तँ हाम्रा लागि मरिसकेको बुझ्नु ।”
आज फेरि सामाजिक सञ्जालमा एउटा शब्दको भार बढ्यो, “एक जवानको आत्महत्या तिम्रो दोष बनेर जाँदै छ । महोदया ! उसैले नै मेरो मृत्युको नियति स्थापित गरिदिएको हो ।”
८८८
आज पूरै छ महिनापछि बिरक्तिएको हावाले फेरि बाटो मोडेर आएको छ । कसैलाई उदाउदो सूर्य मन पऱ्यो छ कसैलाई सन्ध्याकाल । भनेनि मानसा ! म मेरै नजरको पाल्तु मानव हुँ र मलाई सधैँ इन्द्रेणी नै मन पऱ्यो । तिम्रो लोग्नेले अहिले बेस्सरी मेरो हात समातेको छ । उसको अर्को हातले मेरो शिरको भारलाई आफ्नो काँधको सहाराले अड्याएको छ । गोगोईले आसामका निम्ति बसको टिकट हाम्रो हातमा थमाइदिएका छन् । आसाम त्यति टाढा छैन जति हामी तिमीदेखि टाढा हुन चाहन्छौँ । मैले एउटा पुरुषका लागि आफूलाई नै आत्महत्या गर्ने लायक बनाएँ ।
अन्तिम पटक माफी माग्दै छु मानसा । म ओझेलमा पर्ने थिएँ तर दुर्भाग्यवश ढिला भयो । तिमी आयौ त्यो समयमा । बधाई छ तिमीलाई । आफ्ना लागि सजाएकी थियौ त्यो शय्या, जहाँ तिम्रो कुमारीत्वले शान्ति पाओस् भनेर । म अझै पनि बधाई दिन चाहन्छु तिमीलाई मानसा । हामी जस्ता पुरुषहरूले कुनै पनि स्त्रीको बदनाम गर्दैन भनेर । तिमी भाग्यमानी रहिछौ मानसा । कारण, तिमीले एउटा गे पुरुषको पत्रलाई पढने सौभाग्य पायौ ।
आज हामी दुवै जना तिमीलाई छाडेर जाँदै छौँ ।
र पनि हामीलाई थाहा छ कि संसारको सबैभन्दा सुन्दर र उदासी मनकी नारी तिमी नै हुनेछौ भनेर ।
जे जस्तो भए पनि जब हामी दुई पुरुष सम्भोगका लागि बिस्तरामा उत्रनेछौँ र त्यस समयमा हामी तिमीलाई नै सम्झेको हुनेछौँ । तिम्रो विदीर्ण रूपलाई मेटाउने हामीमा यही एउटा उपाय शेष हुने देखिएको छ ।
फराद चाहन्छ । ऊ आफ्नो राय यो पत्रमा थप्न चाहन्छ तर मलाई माफ गर मानसा ! म चाहँदिनँ कि एउटै पत्रमा आफ्नै नियतिले बुनेको अस्वीकार्य सम्बन्धको सौताको भावविहीन शब्द पुञ्जमा तिमी फरादको शब्दमाथि आँसु बगाऊ । म अझै पनि चाहन्छु तिमीले दिएको आँसुको उपहारलाई केवल मैले नासोको रूपमा स्विकारेको रहेछु । अब फर्काउने समय आएको छ ।
शीर्षक – गे पुरुषको पत्र
इलैया पाठक
नीलकण्ठ न.पा.१० धादिङ, नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 










