
जब संसार सपनाको गहिराइमा हाम फालिरहेको हुन्छ । म भने बिपनाको धरातलमा रमाइरहेकी हुन्छु । “अनि, मसँगै हुन्छन् । मेरा आदत बनेका तिनै कफी, किताब, चुरोट र मेरो मुटुजस्तै प्रिय मोबाइल ।” रातको चकमन्नता, क्षितिजमा जिस्काइरहने ताराहरू, मजस्तै एक्लो टोलाइरहने जून, मेहदी हसन अनि अहमद फैजका मन पगाल्ने गजलहरू । आजकल नशा बनेका छन् मेरा । झ्यालबाट चिहाउन पुगेपछि । बेड तिर प्रस्थान गर्छु ।

रिमा केसी
बेडमै ढल्किँदै कविता, कथाका गहिराइमा डुब्नुको मजा बेग्लै हुन्छ । सायद मजस्तै डुब्नेले थाहा पाउँछ । मेरा आदत जो बनेका छन् आजकल । एकाबिहानै सडक किनारमा असरल्ल झरेका पारिजातका फूलझैँ असरल्ल र अस्तव्यस्त छन् किताबहरू बिस्तराभरी । किन-किन मलाई असरल्ल परेका र अस्तव्यस्त वस्तुहरू नै बढी मन पर्छन् । ती किताब हुन् फूल हुन, पात हुन् या आफ्नै केशराशि नै । मिलाउनु अल्छी पनि लाग्छ खासमा । त्यही अस्तव्यस्त चाङबाट एउटा किताब उठाउँछु । रुमिको कवितासङ्ग्रह । रुमिका कविताहरूमा डुबेर काल्पनिकताको उचाइमा हराउनुमा मज्जा लाग्छ मलाई । यो पनि एउटा पागलपन हो भन्लान् भन्नेहरूले तर मलाई भने केही फरक पर्दैन किनभने मलाई त्यही पागलपन नै झन् बढी मन पर्छ ।
रुमिसँगै उनका कविताका हरफहरूमै उडान भर्छु ।
`रात अँध्यारो छ
म माछा हुँ
तिमी जून हौ
म तिमीलाई छुन नसकुँला
तर यो सागर जहाँ म पौडिरहेको छु
यहाँ जे जति प्रकाश छ
तिम्रै हो ।´
####
अरू कविता पढ्छन् । म भने कविता फिल गर्छु । कविताभित्र डुब्छु । कविता पान गर्छु । सँगसँगै यात्रा गर्छु । अकासिन्छु । मनले सुन्छु । झङ्कृत गर्छ्न शरिर र हृदयका रोम-रोम । रुमिका हरेक शब्दहरूले मलाई भित्रैसम्म हल्लाइदिन्छन् बेस्सरी । एकछिन आँखा चिम्लिन्छु अनि आनन्द लिन्छु । गहिराइमा डुब्छु ।
टिङ टिङ!
मोबाइलमा नोटिफिकेसन आउँछ । एकाएक ध्यान भङ्ग हुन्छ । उतातिर तानिन्छ । साइलेन्समै राख्थेँ प्रायः, खै आज कसरी बिर्सेछु ? त्यसो त मेरो होस ठेगानमा कहिले पो हुन्छ र ? मोबाइल हातमा लिन्छु, यसो हेर्छु! म्यासेन्जरमा नयाँ मान्छेको म्यासेज आएको हुन्छ । “मिस्टेरियस नाम गरेको आइडीबाट ।” अजिब लाग्छ नाम देख्दै । होइन मान्छेलाई आफ्नो वास्तविकता लुकाउनुपर्ने के कारण हुन सक्छ? किन यस्ता फेक आइडीहरूको बिगबिगी भएको हो? यसो प्रोफाइल चेक गर्छु । कहीँ कतै उसका बारेमा पत्ता लगाउने केही नामनिसान भेटिन्न । केही दार्शनिकका स्टाटसबाहेक । प्रकृतिका आश्चर्यजनक तस्बिरहरूबाहेक अरू केही छैन । अनौठो लाग्छ । जस्तो आइडी उस्तै प्रोफाइल । फेरि म्यासेज आउँछ । म्यासेज नहेरी प्रोफाइल हेर्नतिर लागेकी जो हुन्छु म ।
“नमस्कार ! हजुरका कविता, कथा अनि स्टाटसहरू सबै पढेको हुन्छु । गज्जब लेख्नुहुन्छ, हजुर । मेरो दिलमा छुन्छन् सिधै हजुरका प्रत्येक शब्दहरूले ।”
“धन्यवाद !” म रिप्लाई दिन्छु ।
“जस्ता हजुरका शब्दहरू छन् उस्तै सुन्दर रूप अनि नशाको मात दिने आँखाहरू छन् ।”
“हार्दिक आभार!” मात्र भन्छु म, उसको म्यासेज निरन्तर आइरहेको हुन्छ ।
मलाई भने, यस्तो नामविनाको, तस्बिरविनाको यो को अपरिचित मान्छे होला? मैले चिनेको मान्छे हो पो कि ? नचिनेको हो ? मनमनै धेरै प्रश्न उठ्छन् ।
सोध्न मन लाग्छ! सोधिहाल्छु, “हजुरको शुभ नाम के पऱ्यो होला?”
धेरै बेरसम्म टाइप गर्दै डिलिट गर्दै गरेपछि मेरो नाम जे छ प्रोफाइलमा त्यही हो भन्ने म्यासेज आउँछ । हाँसेको इमोजीसहितको ।
” त्यस्तो पनि नाम हुन्छ र? सबै मान्छेको केही न केही नाम त हुन्छ नै । भन्न चाहनुहुन्न भने ठिक छ तर हजुर को हुनुहुन्छ ? आफ्नो वास्तविक परिचय लुकाउनुभयो । मेरो बारेमा चासो राख्ने मान्छेलाई मैले पनि त चिन्न पाउने अधिकार हुन्छ नि होइन र?”
“म हजुरको शुभचिन्तक हुँ । डराउनु पर्दैन । म हजुरको भलो चिताउने मान्छे नै हुँ ।” भन्ने उसको जबाफ आउँछ ।
“यदि त्यस्तो छ भने किन लुक्नु त? अगाडि आउनुपऱ्यो नि!”
“होइन म कसैसँग लुकेको होइन । मलाई गुमनाम बस्न नै मन पर्छ । हजुर डराउनु पर्दैन म केही बिगार्दिनँ हजुरको ।”
अनौठो मान्छे रहेछ बा.. । केटा हो कि केटी हो कि थाहा त पाउनुपऱ्यो नि मैले ! मनमनै रिस पनि उठेर आउँछ ।
“तपाईँ केटा हुन पर्छ पक्कै ! यसरी अन्जान बनेर फ्लर्ट नगर्नू मलाई । आफ्नो पहिचान लुकाउनेहरू मन पर्दैनन् मलाई” ,म भन्छु ।
“म केटा हुँ तर हजुर ढुक्क हुनुहोस् मसँग डराउनु पर्दैन हजुर ।”
“तपाईँको फोटो देखाउनुस् मलाई हेर्नु छ” ,भन्छु ।
“मलाई फोटो देखाउन मन पर्दैन कसैलाई ।
तैपनि ल हेर्नुहोस् ।”
उसले आँखाको मात्र पठाउँछ ।
त्यसपछि अचानक गायब हुन्छ ।
“उसको आँखाहरू हेर्छु निर्दोष तर पीडा भरिएका समुद्रजस्तै देखिन्छन् ।”
मेरा एक एक तस्बिर, स्टाट्समा उस्का कमेन्टहरू रहेछन् । मैले बल्ल नोटिस गरेकी हुन्छु ।
को होला यस्तो अजिब मान्छे । मलाई पटक्कै निद्रा पर्दैन । त्यसै त्यसै छटपटी हुन्छ । उसको बारेमा मात्र सोच्छु ।
करिब एक हप्ता बितिसकेको हुन्छ । अचानक आज फेरि उसको म्यासेज आउँछ ।
“नमस्कार हजुर
आराम हुनुहुन्छ?”
“म ठिक छु”,भन्छु
“माफ गर्नुहोला, कामविशेषले म हराएँ २/४ दिन ।”
“ठिक छ” भन्छु ।
यसरी प्रत्येक दिन जसो ऊसँग मेरो च्याट गफ हुन सुरु हुन्छ ।
कविता, कथा ऊ पनि लेख्दो रहेछ तर गुमनाम बस्न रुचाउने ऊ । सबै आफूसँग मात्र सीमित रहेछन् उसका रचनाहरू तर उसले एक एक गरेर दिनप्रतिदिन जसो आफ्ना रचना पठाउने गर्न थाल्यो । मैले एक एक गरेर पढिरहेँ । उसको र मेरो लेखन ठ्याक्कै मिल्दोजुल्दो लाग्यो । शीर्षक होस् या शब्द, वाक्यचयन सबै-सबै मिल्दा रहेछन् मसँग । झन् अनौठो लाग्यो मलाई । यसरी लेखनबाट सुरु भएको हाम्रो गफ मन पर्ने गीत, गजल हुँदै मन पर्ने नपर्ने आआफ्ना सबै कुराहरूसम्म पुग्यो । बुझ्दै जाँदा ऊ त मेरो ठ्याक्कै फोटोकपीजस्तो पो लाग्यो मलाई । ऊ केटा मान्छे हो म केटी फरक त्यति नै लाग्न थाल्यो । प्रायः सबै कुरा मिल्न लागे उसका र मेरा । यसरी हरेक दिनको कुराकानी बिस्तारै-बिस्तारै आदतजस्तो बन्न पुग्यो । पढ्ने बानी छुटेर उसको च्याटमा रमाउन थालेँ म ।
थाहा छैन के कुराले यसरी तान्दै थियो मलाई ऊप्रति ।
एक दिन अचानक उसले मेरो उमेर सोध्यो ।
मैले भनिनँ ।
” किन चाहियो मेरो उमेर ? ”
“यत्तिकै जान्न मन लागेर” ,भन्यो ।
“मेरो भन्दा आफ्नै भन्नुस् न बरु!”
उल्टो उसको उमेर सोधेँ मैले ।
“म त २० वर्ष पुगेँ”,भन्यो ।
“मभन्दा धेरै सानो उमेरको हुनुहुँदो रहेछ हजुर त”, भनेँ ।
उसले मलाई तपाईँ भनेर सम्बोधन गर्थ्यो । मलाई चाहिँ तिमी भन्न मन लाग्यो । किनकि उसको उमेरभन्दा ७/८ वर्षले कान्छो त मेरो छोरा छ ।
झन् अनौठो लाग्यो । यति सानो उमेरमा कति गहन विचार कति स्पष्ट र स्वच्छन्द छ उसको लेखनमा पनि । कति परिपक्व उसका संवादहरू । म त अचम्म परेँ ।
सोचेको थिएँ । पक्कै पनि ऊ मेरो भन्दा बढी उमेरको, समय र परिस्थितिले खारिएको मजस्तै विवश मान्छे हुनुपर्छ तर आज उसको उमेर सुनेर तीनछक्क परेँ म ।
“के भयो हजुर त हराउनु भयो त?” उसको म्यासेज आयो ।
“केही भएको छैन”, भनेँ ।
“खासमा यसरी च्याट गरेर बस्ने मान्छे होइन म । खोइ के भैरहेको छ यसरी दिनप्रतिदिन लम्बिँदै छन् उसका र मेरा संवादहरू । ”
होँठो से छुलो तुम
मेरा गीत अमर करदो
ना उम्रकी सीमा हो
ना जन्मोँ का हो बन्धन
……..
जगजीत सिंहको गीत गाएर भोइस मेसेज पठाउँछ । जस्ता मिठा गफ लाग्छन् उसका उस्तै मिठो आवाज रहेछ । जीवनमा पहिलोपटक अनौठो अनुभूति भैरहेको छ मलाई ।
प्रत्येक दिन जसो हाम्रो कविता, गीत, गजलको बारेमा कुराकानी भैरहन्छ । यति सानै उमेरमा पनि उसले नसुनेका र नपढेका गीत, गजल र कविता छैनन् होला सायद । कस्तो परिपक्वता छ उसमा । अनौठो भेट । अनौठो परिचय अनि अनौठो सम्बन्ध गाँसिदै छ ऊसँग मेरो ।
मजस्तै अमृता र इम्रोजको फ्यान रहेछ ऊ पनि । नसुनेका प्राःय कुनै कविता र गजल छैनन् उनीहरूका उसले । च्याट मात्र नभएर उसले अडियोमा कल पनि गर्न थाल्यो । उसको आवाजमा पनि जादु थियो । उसका बोल्ने शब्दहरू अनि बिच-बिचमा आउने बेपर्वाहको स्वच्छन्द हाँसो । म त्यसै-त्यसै ऊप्रति तानिँदै थिएँ । ऊ बेला-बेला मजाक गर्ने गर्थ्यो । थाह छैन हाम्रो सम्बन्ध यो कस्तो थियो तर पनि रमाउँथ्यो खुसी हुन्थ्यो मसँग ऊ मलाई पनि धेरै खुसी मिल्थ्यो ऊसँग ।
मसानघाट बनेको मुटुमा दियो पनेर पिलपिलाउँदै थियो । बन्जर बनेको जमिनमा बर्सात बनेर आएको थियो ।
” एकदिन फोनमा कुरा गर्दै थियौँ । अचानक उसको कोठामा आमा आइपुग्नुभयो । म सुनिरहेकी छु । आमालाई नजिकै बस्न लगायो ।”
” आमा हजुरलाई थाह छ ? म कोसँग कुरा गर्दै छु”,भनेर सोध्यो ।
म त झसङ्ग भएँ । मौन छु म । उनीहरू कुराकानी सुनेर बसिरहेकी छु ।
” म मेरो गर्लफ्रेन्डसँग कुरा गर्दै छु”,भन्यो ।
” मेरो मुटु त ढक्क फुल्यो । कुराकानीकै क्रममा फ्याट्ट सोधिदियो ।”
” आमा म ऊसँग बिहे गर्न चाहन्छु! के तिमी अनुमति दिन्छौ? ”
“हँ यो के भन्छ ? तँ पागल त भैनस् ? तेरो उमेर भनेको पढ्ने हो । अझै बिहे गर्ने बेला भएको छैन । फेरि बिहे नै गरे पनि यसरी चिन्नु न जान्नुको मान्छेसँग ? सबै कुरा विस्तारमा पो हुन्छ र ! यस्तो हतार किन गर्नुपऱ्यो तँलाई अहिल्यै ?”
“भन्दै थिइन आमा ।”
” ऊ फ्याट्ट बोल्यो बिचमै !”
उनलाई म राम्ररी चिन्छु । मलाई उनीसँग प्रेम भयो । म बिहे गर्न चाहन्छु तर उनी मभन्दा १०/१२ वर्ष जेठी छिन् । उनको १२ वर्षको छोरा पनि छ । उनी विवाहित हुन् । मेरो त जोर-जोरसँग मुटु काँप्यो । हातखुट्टा, शरीर पूरै थरथरायो । एकछिन त होस नै उड्यो । “होइन यो केटा पागल हो कि सज्जन हो ?” आमा अवाक् भइन् ।
” मैले फोन काटिदिएँ । ”
निद्रा लाग्ने त कुरै भएन । उसले बारम्बार फोन गरिरहेको थियो । मलाई भने उठाउनै मन थिएन । अडियो म्यासेज गऱ्यो । नसुनूँ भन्दा पनि सुन्न मन लाग्यो ।
” हेर, तिमी र म गहिरो प्रेममा छौँ । तिमी मान या नमान ।
उमेर के हो मलाई थाह छैन । म होसमा छैन । मलाई पनि तिमीलाई जस्तै बेहोसीमा जिउन मन पर्छ । तिमीलाई राम्रोसँग थाहा छ त संसारमा अलौकिक प्रेम गर्नेहरूको कथा । अमृता र इमरोजको कथा । तिमी मेरोलाई अमृता प्रीतम हौ म तिम्रो इम्रोज हुँ । के उनीहरूको उमेरमा अन्तर थिएन ? के उनीहरूको प्रेम अलौकिक थिएन ? के हुनुहरूले प्रेम गरेनन् त? सँगै बाँचे त ! कसले रोक्यो ? कसले छेक्यो ? आज दुनियाँले उनीहरूलाई पढ्छ, सुन्छ र मन पराउँछ । उदाहरण बनेका छन् उनीहरू । के थाहा भविष्यमा हामी पनि पो बन्छौँ कि उदाहरण ?”
“भन्दै, ऊ मलाई सम्झाउन थाल्यो ।”
होइन यो के भैरहेछ म सोच्न पनि सकिरहेकी छैन । ऊ कहाँ छ कहाँ सुदूर बस्तीमा । म छु यहाँ परदेशको खाडीजस्तो मरुभूमिमा ।
जिन्दगीले मलाई धेरै दियो । सम्झनाका अथाह पहाड सगरमाथा बनेर बसेका छन् दिलभित्र । आमाको काखमा चटक्क छोडेर आएको छोराको अबोध अनुहार सम्झिन्छु । उसका आँखामा भरिएका आँसुहरूको याद आउँछ । अरू त जीवनमा सम्झनलायक को नै रह्यो र ? आँसुँले बर्सौँसम्म भिजेका सिरानीका दागहरू आज फेरि धमिल्लिएका छन् । मेरो जिन्दगीको मरुभूमिमा कहाँबाट आइपुग्यो क्याक्टस बनेर फुल्न ? म सोच्न सकिरहेकी छैन । यो भ्रम हो कि सत्य ? फेरि म कुनै अल्लारे युवती पनि त होइन । म कसैको आश गर्ने मान्छे पनि त होइन । आँसु साम्राज्यभित्र खुसीको मुस्कान फुलाउने सपना देखाउन कहाँबाट आइपुग्यो ऊ? न त उसको नाम थाह छ ? न त ठेगाना सोध्न जरुरी ठानेँ मैले । न त उसको अनुहार, रूप रङ्ग देखेकी छु तर पनि नचाहँदा नचाहँदै मेरो आदत बनिसकेको छ ऊ । हृदयको बन्जर जमिनमा गुलाफ फुल्न थालेको छ अचेल । ओठ हाँसिदिन्छन् अनयासै । उसकै शब्दहरू रङ्गमङ्गिन्छन चारैतिर । उसकै कविताका हरफ र गीतका अन्तराहरू नै गुनगुनाउँछन् मनभित्र । किन-किन सपना होस् बिपना होस् चारैतिर उसको मात्र सम्झनामा भुलिरहेकी हुन्छु ।
होसमा होस या बेहोसीमा । हिँड्दा होस् या काम गर्दा जताततै ऊ नै उसको कल्पनामा रमाइरहेकी हुन्छु । मेरो काल्पनिक प्रेमी भनूँ कि रियालिटिको थाह छैन ।
धेरै दिन बितिसके उसको म्यासेज कल केही आएको हुँदैन । हरेक पल म्यासेन्जरमा चिहाउँछु । अहँ ऊ आउँदैन । पटक्कै । मन त्यसै त्यसै अत्तालिन्छ । डराउँछ । बेचेनीले छटपटिन्छु । औडाहा हुन्छ । चुरोटका ठुटाहरूको पहाड बन्छ एस्ट्रेमा । धुवाँको मुस्लो बनेर मडारिरहेको हुन्छ कोठाभरि । त्यस्तै दिलभित्र उसको सम्झनाको मुस्लो मडारिएको छ तर परदेशमा छु । न कोही छु आँसु बिसाउने चौतारी न त मुस्कुराउने कुनै ठाउँ । त्यसो त आफ्नै देशमै भए पनि म एक्लो बनचरी थिएँ ।
उफ् !
मुटु फुट्ला जस्तो हुन्छ । घण्टाजस्ता पलहरू बिताउन साह्रै गाह्रो हुन्छ तर के गर्नु ?
उपाय पनि त के नै छ र मसँग?
आजआज भोलि-भोलि गर्दै दिन बिते, महिना बिते वर्षदिन बिते । अहँ ऊ मेरो म्यासेज बक्समा फेरि फर्केर आएन । झरेको पातजसरी, बगेको खोलाजसरी अनि झरेको आँसुजसरी बिलाएर गयो
तर मेरो मनमा बसिरहेछ अझै । मेरा सपनामा आइरहन्छ अझै । आज फेरि त्यसैगरी फेक आइडीबाट त्यसै अन्जान त्यसै रहस्यमय गुमनाम आइडीबाट म्यासेज आएको छ । अब भने म प्रतिक्रिया दिनेछैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

