
“भीमबहादुर पनि प्रोफेसर भएछन् नि सर !” एकाबिहानै मर्निङ वाकबाट फर्कंदै गर्दा बाटामा भेटिएका हरिहरले सुनाए । हिँड्दाहिँड्दै टक्क रोकिएँ । रिडर भएको डेढ वर्ष नहुँदै प्रोफेसर ! मलार्ई अनौठो लाग्यो । हरिहरतिर हेरेर खिस्स हाँसेँ । “ल, जाती नै भएछ । रिटायर्ड हुने बेलामा पदोन्नति हुनु पनि राम्रै हो ।” मैले यति मात्रै भनेँ । हरिहर आफ्नै बाटो लागे र म पनि आफ्नै बाटोतिर मोडिएँ । “भीमबहादुर पनि प्रोफेसर !” मनमनै हाँस्दै अगाडि बढिरहेको थिएँ । मुख चाहिँ खुलेको थिएन । फेरि अर्का मित्र घनलाल भेटिए । “क्या हो गुरु, अनुहार त निकै हँसिलो देख्छु नि !” घनलालले जिज्ञासा तेस्र्याए । “ए, भीमबहादुर त प्रोफेसर भएछन् नि !” उनीसँग पनि यति मात्रै बोलेँ र पुनः अगाडि बढेँ ।

नारायण मरासिनी
अचेल म नियमित मर्निङ वाकमा निस्कने गरेको छु । बुढेसकालको शरीर अलिक अस्वस्थ भएको र डाक्टरले पनि मर्निङ वाककै सल्लाह दिएकाले केही वर्ष यतादेखि यसमा संलग्न छु । जागिर छोडेपछि शरीरमा मोटोपन बढ्दै गएकाले पनि म मर्निङ वाकमा बाध्य भएको हुँ ।
“भीमबहादुर पनि प्रोफेसर !” हाम्रो जस्तो थिति नभएको मुलुकमा राजनीतिमा लागेका कतिपय खराब मानिसको पदोन्नति छिट्टै हुनु स्वाभाविक हो । राजनीतिक क्षेत्रमा छिटो छिटो प्रमोशन हुने भनेका गुट उपगुट बनाउने शक्तिशाली डनहरू न हुन् । जसले जति धेरै गुन्डाहरू पाल्न सक्यो उही नै मन्त्री हुने मुलुक हो यो । तर प्राज्ञिक र बौद्धिक क्षेत्रमा त योग्यता र इमानदारितालाई प्रश्रय दिनु पर्ने होइन र भन्या ! मनमा नानाथरी कुराहरू खेल्न थाले । आफू चाहिँ वर्षौंसम्म प्राध्यापन गर्दा पनि प्रोफेसर हुन सकिएन, रिडरबाटै रिटायर हुनु प¥यो । र पनि कसैसँग केही गुनासो छैन । कसैसँग हात थापिएको छैन, स्वाभिमानका साथ बाँचिएको छ । सन्तुष्ट नै छु । अर्काको आरिस गर्ने मान्छे होइन म ।
विश्वविद्यालयमा छिरेको बीस वर्ष नपुग्दै लेक्चरर, रिडर, प्रोफेसर; पुर्पुरो त बलियै मान्नुपर्छ भीमेको । विश्वविद्यालयमा छिरेका जति सबैले प्रोफेसर हुने अवसर कहाँ पाउँछन् र ? भीमे प्रोफेसर भयो त राम्रै भयो । आखिर भीमेलाई भीमबहादुर बनाएको नै मैले हो । सानै उमेरमा बाबु मरेका हुन् उसका । बाबु मर्दाको समयमा भीमे पाँच वर्षको हुँदो हो । सत्ताईस वर्षकै उमेरमा मरेका हुन् उसका बाबु । एक मात्र टुहुरो छोरो, निकै दुःखसँग लालनपालन गरेकी हुन् थपेनी माइलीले । जायजेथामा कमजोर, छुट्टभिन्न हुँदा अंशबन्डामा ठगिएका थिए उसका बाबु आफ्नै दाजुभाइबाट । थापा गाउँमा सबैभन्दा कमजोर अवस्था भीमेकै आमाछोराको थियो । थोरै पाखो बारी मात्र । खेत थिएन । अन्नबाली पाक्ने बेलामा बाँदरले सताउँथ्यो । अझ मकै त छरेदेखि भाँचेर घरमा नभित्र्याउँदासम्म बारीमा नै बाँदर कुरी बस्नु पर्थ्यो ।
मैले भीमेकी आमालाई ‘माइली भाउजू’ भनी सम्बोधन गर्थें । हाम्रोमा साँझबिहान ढिकीजाँतो गर्न आउँथिन् उनी । थापा गाउँ र हाम्रो बाहुन गाउँको बिचमा एउटा सानो खोल्सो थियो । त्यही खोल्सामा थियो हामी दुबै गाउँलेले पानी भर्ने कुवा । कुवाको माथिपट्टि आडैमा थिए सिमलका दुईवटा ठुल्ठुला रूख । तलपट्टि बाँसघारी । कुवाको नजिकै एउटा ढुङ्गे धारो । बर्खामा त्योे धाराबाट पनि पानी आउँथ्यो तर हिउँदमा धाराको मुहान सुक्थ्यो र कुवा मात्रै बाँकी रहन्थ्यो । गाईवस्तुलाई चाहिँ तल खोलातिर लगेर चराइने हुँदा दिउँसोमा त्यही खोलाको पानी पिउँथे । जे होस् दुबै गाउँलाई पुग्थ्यो त्यो कुवाको पानीले । दुबै गाउँमा गरेर जम्मा बाह्र–पन्ध्र घर हुँदा हुन् त्यो जमानामा । भीमे र हाम्रो घरको दुरी त्यै दश–बाह्र मिनेट जतिको फरकमा भने हुन्छ । त्यही खोल्साले छुट्याएको थियो उसको र मेरो घर अर्थात् थापा गाउँ र बाहुन गाउँ ।
हाम्रो वरिपरि त्यस समयमा कुनै स्कुल थिएन । पढ्ने चलन पनि कमै मात्रामा थियो । एकादुई पढ्न चाहनेहरूले अन्यत्र गई उतैतिर बसेर पढ्नु पथ्र्यो । मलार्ई पढ्नका लागि भनेर पिताजीले मामाघर राखिदिनु भएको थियो । म कहिलेकाहीँ छुट्टीमा घर आउँथेँ । भीमे आफ्नै घरका गाईबाख्रा चराएर बस्थ्यो । सानो केटो, कामको बोझ थियो उसलाई । ऊ र म बाल दौंतरी थिएनौं । उसको र मेरो उमेरमा अलि बढी नै अन्तर थियो । मभन्दा ऊ दश–बाह्र वर्षले नै कान्छो थियो । छिमेकी भएपछि सँगै हिँडडुल र बसउठ स्वाभाविक थियो । टुहुरो भएर हो कि कुन्नि मलाई सानैदेखि उसको असाध्यै माया लाग्थ्यो । म मामाघरबाट आएको थाहा पाउनासाथ ऊ पनि मेरो घरमा टुप्लुक्क आइपुग्थ्यो ।
मेरा पिताजीलाई वरिपरिका सबैले ‘गुरु’ भनेर सम्बोधन गर्थे । सायद् तमसुकसमसुक लेख्न जान्ने भएर हो अथवा अरुले पठाएका चिठी पढिदिन सक्ने भएर पनि हुन सक्छ । कहिलेकाहीँ कहीँकतै परेका खण्डमा जजमानी गर्ने भएर पनि हुन सक्छ । पिताजीलाई ‘गुरु’ भन्नेहरू कतिपयले मलाई ‘स्याना गुरु’ भन्थे । भीमेले पनि मलाई ‘स्याना गुरु’ भनेर सम्बोधन गथ्र्यो ।
स्कुलको आफ्नो पढाइ सकेपछि मलाई मास्टरी गर्नका लागि अफर आयो । मास्टरी गर्न जानुपर्ने स्कुल अलि टाढै थियो । घरबाट आउजाउ गर्न मिल्दैनथ्यो । लगभग तीन घन्टा टाढाको स्कुल, म त्यहीँ बसेर पढाउने भएँ । कहिलेकाहीँ घरमा आउँथेँ । विशेष गरी शुक्रबारका दिन बेलुका नियमित जसो आउँथेँ । घर आउँदा प्रत्येकपटक मलाई भेटेर माइली भाउजूले गुनासो गर्थिन्, “हाम्रो भीमेलाई पनि उतै लगेर पढाइदिनुस् न बाबु ! बिहानबेलुका तपाईंलाई सघाइहाल्छ । दिउँसो तपाईंसँगै स्कुल जान्छ, बेलुका सँगै फर्कन्छ । यो टुहुरालाई पढाइदिनुभयो भने त धर्मै हुन्थ्यो !”
सुरुसुरुमा त मैले उनको गुनासोलाई त्यति गम्भीर रूपमा लिएको थिइन । तर पछिल्लो चरणका बारम्बारका गुनासाहरूपछि भने मेरो मन फर्कन थाल्यो । कमजोर परिवारको एउटा टुहुरो केटालाई पढाएर सुयोग्य नागरिक बनाउनु मेरो पनि त धर्म हो । मैले पढ्नुको अर्थ अरुलाई पनि त पढाउनु हो । यही सोचेँ मैले र भीमेलाई आफूसँगै लगेँ । मैले पढाउने गरेकै स्कुलमा भर्ना गरेँ । अबदेखि ऊ मेरै कोठामा बस्न थाल्यो । ढुङ्गाले छाएको ढुङ्गामाटाकै घर । स्कुलको नजिकै थियो त्यो घर । त्यही घरमा मिलेको थियो मलाई एउटा कोठा । कोठाको भाडा तिर्नु पर्दैनथ्यो । त्यही घरका दुइटा केटाकेटीलाई बिहानबेलुका यस्सो पढाइदिन्थेँ । भीमेलाई मसँग मेरै कोठामा राखेँ र बिहानबेलुका ती दुई केटाकेटीसँगै उसलाई पनि पढाउन थालेँ ।
उमेर केही छिप्पिसकेपछि भर्ना भएकाले पनि हुन सक्छ केटो पढाइमा टाठै निस्क्यो । कक्षा एकमै पहिलो भयो । दुई कक्षामा नराखी तीन कक्षामा भर्ना गरिदिएँ । एवम् रीतले कक्षा चढ्दै गयो । उसको सफलतामा म खुसी नै थिएँ तर मलार्ई त्यही गाउँमा त्यसरी मास्टर बनेर बसिरहन मन लागेन । ज्ञान आर्जनको भोक जाग्न थाल्यो । मेरो मनमा क्याम्पस पढ्ने चाहना तीव्र भएर आयो । अब ऊ घरबाट आँटोपिठो ल्याएर पढ्न सक्ने अवस्थामा थियो । घरमा आमैले पालेको बाख्रोपाठो बेचेर पनि खर्च जुटाउन सक्ने अवस्था थियो । छुट्टिनुभन्दा अगाडि मैले उसलाई जसरी भए पनि पढाइ नछोड्न सल्लाह दिएँ ।
यसरी गाउँमा केही वर्ष मास्टरी पेसा अँगालेपछि म क्याम्पस पढ्न भनेर सहरतिर लागेँ । सहरमै बसेर घन घोटी बन्चरो गर्न थालेँ मैले । अन्यत्र मन डुलाइन । भीमे पनि स्कुलको पढाइ सकेर आसाम पुगेछ । आसाममा उसका कान्छा बा बस्थे । सानैदेखि त्यतातिर लागेका उसका कान्छा बाले त्यहाँ पशुपालन व्यवसाय गरेका थिए । गाई पालेका थिए र दूध बेचेर आय आर्जन गर्थे । कान्छा बाकोमा पुगेको भीमे त्यहीँ बसेर पढ्न भनी कलेजमा ज्वाइन भएछ । कलेजको समयमा कलेज जाने र अरु बेला कान्छा बालाई सघाउने गर्न थालेछ । गोबर सोहोर्नेदेखि दुध बेच्न बजार जानेसम्मका काम गरेछ । भुस्सा बनाउने र खुवाउने मात्र होइन, कहाँ कहाँ कति दुध बिक्री भएको छ ? कुन कुन ग्राहकबाट कति कति पैसा लिन बाँकी छ ? सबैको हिसाबकिताब पनि राख्न थालेछ । एवम् रीतले आसाममा बसेर उसले बी.ए. सम्मको पढाइ पूरा गरेछ । पछि एम.ए. भने ऊ आफैले एउटा छुट्टै प्राइवेट नोकरी खोजेर काम गर्दै पूरा गरेछ ।
उसको र मेरो भेट नभएको वर्षौं भएको थियो । यस बिचमा मैले पनि क्याम्पसको पढाइ सकेर क्याम्पसमै पढाउन थालेको थिएँ । क्याम्पस पढाउँदापढाउँदै केही वर्षदेखि यता मैले क्याम्पस प्रमुखकै जिम्मेवारी लिएर प्रशासन समेत चलाउन थालेको थिएँ । भीमेले पनि क्याम्पसमै प्राध्यापन गर्न थालेछ । उसले पूर्वी तराईमा स्थित एउटा सहरको नामी कलेजमा पढाउँदो रहेछ । घरपायक मिलाउने प्रयत्न गर्दै रहेछ । यही क्रममा उसँग मेरो भेट भयो । त्यति बेला देशमा बहुदलीय शासनपद्धति थियो । प्राध्यापकहरू विभिन्न खेमामा बाँडिएका थिए । सत्तासीन मास पार्टी जुन शक्तिशाली थियो, उसले त्यही पार्टीको टिकट लिएको रहेछ । सरुवा हुने क्रममा उसले म संलग्न भएकै क्याम्पसलाई रोजेको रहेछ । रिक्त दरबन्दीमा ल्याउनका लागि मैले पनि उसलाई सक्दो सहयोग गरेँ । त्यति मात्र नभई बाँकी समयमा एउटा प्राइवेट कलेजमा पढाउने व्यवस्था पनि मिलाइदिएँ । अब भने हामी दुबै एउटै क्याम्पसका सहकर्मी र एउटै सहरका बासिन्दा बन्न पुगेका थियौँ ।
सहर एउटै भए पनि उसको र मेरो घर छ÷सात किलोमिटरको दुरीमा थियो । तर पनि हामी प्रत्येक दिनजसो क्याम्पसमा भेटिन्थ्यौँ । अचेल भने उसले मलाई ‘स्याना गुरु’ नभनेर ‘गुरु’ शब्दले मात्र सम्बोधन गथ्र्यो । कहिलेकाहीँ केही समसामयिक लेखहरू लेख्थ्यो र स्थानीय पत्रपत्रिकामा छपाउँथ्यो । बेलाबेलामा कविता र निबन्धहरू पनि सिर्जना गथ्र्यो । मैले जुन सपना देखेर सानै उमेरमा उसलाई पढाएको थिएँ त्यही सपनाअनुरूप ऊ अगाडि बढेकामा म खुसी थिएँ । ऊ लेखनतर्फ पनि आकर्षित भएकामा मलाई गौरवको अनुभूति मिल्थ्यो । साँच्चै ऊ यस देशको एउटा सुयोग्य नागरिक बन्दै छ भन्ने आभास मलाई मिल्न थालेको थियो । हामीले क्याम्पसबाट जर्नल निकाल्थ्यौँ । मैले उसलाई सम्पादन मण्डलमा पनि राख्ने गरेको थिएँ ।
पछिल्लो चरणमा ऊ अलि जिराहा जिराहा बन्दै गएको थियो । आफ्नै कुरो माथि पार्न चाहन्थ्यो । अर्काको कुरो त्यति खाँदैनथ्यो, सुन्नै चाहँदैनथ्यो भने पनि हुन्छ । अझ विद्यावारिधि सकेपछि त उसमा झन् अहम्को मात्रा बढ्दै गएको थियो । उसमा यति अहम् चढेको थियो कि अरुसँग बोल्दा पनि पैसा पर्ला जस्तो गथ्र्यो । विद्यार्थीको नमस्कार फिर्ता गर्न पनि त्यति जाँगर चलाउँदैनथ्यो । गमक्क परेर बस्थ्यो । बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीको प्रोफेसरभन्दा पनि ठुलो हुँ जस्तो गथ्र्यो । बौद्धिक चिन्तन मननभन्दा बरु सस्ता राजनीतिक गफहरूमा केही रुचि देखाउँथ्यो । अरुलाई खसाल्न पाउँदा दाँत देखाएर गलल्ल हाँस्थ्यो ।
एकपटक क्याम्पसको जर्नलका लागि उसले एउटा कविता लेखेको थियो । मैले अपेक्षा गरे अनुरूप उसले लेख्नुपर्ने त एउटा अनुसन्धामूलक लेख थियो । तर लेखेन । झारा टार्ने हिसाबले सामान्य एउटा कविता दियो । मैले सर्र पढेँ । कविता वर्णमात्रिक छन्दमा सिर्जना गर्ने प्रयास मात्र थियो । ठाउँठाउँमा छन्दभङ्ग । मैले छन्द मिलाएर प्रकाशन गरिदिएको थिएँ । प्रकाशित भएपछि उसले उल्टै मलार्ई छन्द बिगारिदिएको आरोप लगायो । उसले मलार्ई पनि मान्छे गन्न छोडेको थियो । उसको बानीव्यवहारले म दिक्क हुँदै गएको थिएँ । सहकार्य गर्न पनि अप्ठेरो अप्ठेरो महसुस हुन थालेको थियो । यद्यपि म छिट्टै नै रिटायर्ड हुनेवाला थिएँ त्यसैले ऊसँग प्रतिवाद नगर्दा नै राम्रो हुन्छ भन्ने लाग्यो मलाई र उसलाई कहिल्यै पनि मुख फर्काउने काम गरिन ।
म रिटायर्ड भएपछिको कुरो हो । एक दिन बिहानमा आफ्नै घरको बरन्डामा बसेर चिया पिउँदै स्थानीय पत्रिका पढ्दै थिएँ, उसको लेख छापिएको रहेछ । उसले दोस्रोपटक फेरेपछिको आजसम्म आफू संलग्न पार्टीलाई सत्तोसराप हालेर लेखेको रहेछ । साह्रै तल्लो स्तरको भाषाको प्रयोग गरेको थियो । क्याम्पसमा प्राध्यापन गर्ने व्यक्तित्वका लागि सुहाउँदो भाषा थिएन त्यो । त्यसपछि क्रमशः डेढ–दुई महिना सम्ममा उसका उस्तै प्रकृतिका चार–पाँचवटा लेखहरू पढेँ मैले ।
मैले सुरुमा उसलाई जुन उद्देश्यले कखरा चिनाएको थिएँ अहिले ऊ मेरो उद्देश्यको ठीक विपरीत हुँदै गएको थियो । उसले एउटा पढालेखा मान्छेले गर्नुपर्ने न्यूनतम धर्म निर्वाह गर्न सकेको थिएन, प्राध्यापकीय गरिमा कायम गर्न सकेको थिएन । उसका लेखहरूले उसकै विद्वताको खिल्ली उडाइरहेका थिए । उसको यस्तो चाला देख्दा मलाई अनौठो लागेर आउँथ्यो । विगत सम्झेर ल्याउँदा छक्क पर्थें म । उसले त्यस किसिमका लेखहरू छपाएको केही महिनापछि सोही पत्रिकामा विभिन्न सङ्घ–संस्थाले उसलाई दिएका बधाईहरूमा पनि मेरा नजर पुगे । मेरो बूढो दिमागमा उसले आफू संलग्न पार्टीलाई सत्तोसराप हाल्नाको रहस्य बल्ल खुल्यो । उसले पार्टी बदलेर क्याम्पस प्रमुखको पद हत्याएको रहेछ । उसको बधाईले सहरका अन्य पत्रपत्रिकाका पानाहरू पनि हप्तौंसम्म रङ्गिएका थिए ।
पदप्राप्तिका लागि पार्टी बदल्न अभ्यस्त बन्दै गयो ऊ । उसका महत्वाकाङ्क्षाहरू लेख बनेर पत्रपत्रिकामा नियमित आउन थालेका थिए । कहिले कतिपय मन्त्रीहरूको अनुभव र स्वाध्ययनलाई नबुझी विद्यालय तथा विश्वविद्यालयले दिने प्रमाण–पत्रलाई लिएर उनीहरूको शैक्षिक योग्यतामा प्रश्न उठाउँथ्यो भने कहिले विदेश स्थित दूतावासमा दिइने नियुक्तिहरूमा आफूजस्ता पढालेखाहरूले अवसर पाउनुपर्ने आशयका लेखहरू प्रकाशन गर्न थालेको थियो । उसका लेखहरू पढेपछि सामान्य पाठकले पनि के बुझ्न सक्थे भने ऊ अति नै सङ्कीर्ण सोचको मान्छे थियो, सामूहिक भावना रतिभर थिएन, व्यक्तिस्वार्थमा लीप्त थियो ।
साँच्चै, भीमेले अहिलेसम्म कतिवटा पार्टी बदल्यो होला ? उभिएरै मैले मनमनै सम्झँदै औँला भाँचेर गन्ने प्रयत्न गरेँ । पहिलोपटक विश्वविद्यालयको सेवा प्रवेशमा, दोस्रोपटक स्थायी हुने क्रममा, तेस्रोपटक सरुवा हुँदा, चौथोपटक प्रमोशनका क्रममा, पाँचौँपटक … … … ।
“गेटमा किन टोल्हाएर बस्नुभएको हो बुढा ! आज त मर्निङ वाकबाट फर्कन पनि निकै ढिलो गर्नुभयो नि ?” बरन्डामा बसेर हेरेकी श्रीमतीको प्रश्नसूचक आवाजसँगै म गेट खोलेर भित्र पसेँ ।
ज्याग्दीखोला, स्याङ्जा
हालः पोखरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

