साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अमर त्यागीका सोह्र सूत्रकथा

Chovar Blues Mobile Size

१. छाउपडी

<> कथित धर्म र संस्कारको ताडनालाई पचाउँदै डम्बरा उपाध्याय फेरि छाउगोठभित्र बन्दी भइन् । गोठभित्रको अव्यवस्था, पौष्टिकताको कमी तथा खटनपटनको पीडालाई त सहजै पचाइन् तर बारम्बार आफ्नो अस्मिताको अपमान, मानवताको उपहास अनि संवेदनाहीनताको पराकाष्ठालाई भने सहजै पचाउन नसकेर बेस्सरी आँखा चिम्लिइन् र चिम्लेको चिम्ल्यै भइन् ।

२. नियति

~ गाउँका बीचमा रहेको एउटा घरमा ठूलो कोकोहोलो मच्चिएको छ ।
~ गाउँलेहरू स्तब्ध मुद्रामा त्यहाँ भेला भएका छन् ।
– किनकि त्यस घरको खुसी, सुनौलो भविष्य र सुन्दर सपना विदेशबाट रातो बाकसमा बन्द भएर आएको छ ।

अमर त्यागी
sagarmani mobile size

३. अन्तराल

+ पहिला यहाँ एउटा सुन्दर बस्ती थियो ।
+ बस्तीमा सफा मनका मान्छे बस्थे ।
~ अहिले उदास उराठ बगर बनेको छ ।

४. बुद्ध

~ उनी मानव थिए ।
~ सम्पूर्ण सुखभोग परित्याग गरे ।
+ अनि ईश्वर भए ।

५. अन्तर

~ पहिले सँगै बस्थे।
~ अहिले चिन्नै छोडे।
+ कारण उनी ठूलो पदमा छन्।

६. ईर्ष्या

~ म रुँदा उनी हाँस्छन् ।
~ म हाँस्दा उनी रून्छन् ।
+ किनकि उनी ज्यादै ईर्ष्यालु छन् ।

७.भिन्नता

~ बाउ गाउँमा खेतबारीमा पसिना बगाउँछन् ।
+ छोरा सहरमा बाउको पसिना सुरा र सुन्दरीमा बगाउँछन् ।

८. घमन्ड

+ एक समय सत्य र न्याय खूबै मिल्थे ।
~ बिस्तारै दुवैले आआफैँलाई ठूलो मान्न थाले ।
~ त्यसपछि दुवै टाढा भए र अझसम्म मिल्न सकेका छैनन् ।

९. गरिबी

+ बाबु साँझमा एक घोगा हरियो मकै लिएर छाप्रामा आइपुगे । आमा आगो बालेर पोल्न थलिन् । छोरा अगेनाको डिलमा बसेर हेरिरहे । पाकेपछि तीनै जनाले भाग लगाएर खाए । त्यसपछि ढुङ्गाको सिरानी हाली बोरा ओढेर चिसो भुईँमै लस्करै सुते ।

१०. वहिर्गमन

+ सुखमय जीवनको कल्पना गर्दै लामो समयपछि घर पुग्दा आफूले बडो दुःखले कमाएर पठाएको सम्पत्ति र श्रीमती दुवै नभेट्टाएपछि मनभरि पीडा र आँखाभरि आँसु लिएर राम थापा पुनः अरबतिरै वहिर्गमित भए ।

१२. वृद्धालय

+ देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको नाममा शरणार्थी भएर सपनाको देशतिर बसाइँ गए । जीवनका सम्पूर्ण श्रम, सिप र ऊर्जा उतै खर्च गरे । अहिले वृद्ध एवं अशक्त  अवस्थामा आफ्नै देशमा शरणार्थी भएर आएका छन् र आफ्नै उपहास गर्दै भन्छन्- “म यो देशको मायाँले आएको हुँ ।” मलाई चाहिँ एउटा प्रश्न सोध्न मन लागेको छ । “बा ! के यो देश वृद्धालय हो ?”

१३. परिणाम

+ एक्कासि जमिन हल्लेर झुप्रावाला र  महलवाला दुवैलाई पालमुनि पुऱ्यायो।
~ तत्पश्चात् सरकारले पीडितको नाममा ठूलो रकम निकासा गऱ्यो ।
~ तत्पश्चात् झुप्रावाला सदाका लागि पालबासी बने र महलवाला झन् ठूला महलबासी बने ।

१४. परिणति

+ एकान्तमा सधैँ एकनासको गाउँले जीवन भोगाइप्रति अनायास असन्तोष जाग्छ ।
~ त्यसपछि पति विदेशमा पसिना बगाउँछन् र पत्नी स्वदेशमा बालबच्चासहित सहर पस्छिन् ।
~ त्यसपछि पति रक्सीछाप, पत्नी होटेलछाप र बालबच्चा सडकछाप बन्छन् ।

१५. पुत्रत्व

~ कष्टले जन्माइन् । मायाँ गरेर हुर्काइन् । सम्पत्ति जोडेर धनी बनाइन् । त्यही पुत्रले आमालाई वृद्धाश्रममा लगेर छोडिदिए ।
~ बाटामा भेट्टाइन् । हेला गरेर पालिन् । अंश दिनुपर्ला भनेर झुटो लाञ्छना लगाई घरबाट निकालिदिइन् । त्यही पुत्रले वृद्धाश्रमबाट ल्याएर आदरश्रद्धाका साथ राखेका छन् ।

१६. यथार्थबोध

+ म विदेश जान तयार भएँ । आमाबाले बडो स्नेहभाव दर्साउन थाले । पत्नीले पनि आदर र आत्मीयता बर्साउन थालिन् ।
+ म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाए । आमाबाले झर्कोफर्को गर्न थाले । पत्नी पनि ततर्केर हिँड्न थालिन् ।
+ अन्त्यमा म छातीभरि भक्कानो लिएर विदेशिन लागेँ । खुसी भएर आमाबाले फूलमाला लगाइदिए । रमाउँदै पत्नीले पूर्णकलश सजाइदिइन् ।
+ “आफू दु:ख, कष्ट र वेदनामा बाँचेर अरूलाई खुसी दिन सक्नुनै जीवनको सार्थकता हो ।” बल्ल मलाई बाँच्नुको यथार्थबोध भयो ।

प्रतिक्रिया
Loading...