तातो चिया मेरो अघि आइपुग्छ । म फेरि पनि बातचितको मेसो खोज्छु । तिनी अघिकै कुर्सीछेउ पुग्छिन् अनि छेवैको टेबुलमाथि उसैगरी कुहिनो टेकाएर बस्छिन् । म अलमलिन्छु, बोलाउने प्रयत्न गरूँ अथवा, त्यही हालतमा उनलाई छाडिदिऊँ ?
अटाली एकनासले पड्किरहन्छ । बाटामाथिको कुलो थुनिएको छ सायद, पानी कुलो नाघेर बाटामै खस्न थालेको छ, जसकारण बाटो हिलो हुने तम्तयारमा देखिन्छ । उत्तिनखेरै पिँढीको कुकुर उठेर चटपटाउन थाल्छ । हो न हो, बाटामा झरेको पानीको भेल उसको खोरसम्मै आइपुग्नेछ र खोर बगाई लैजानेछ । ऊ मालिक्नीलाई बताउन चाहन्छ अनि चाहन्छ सायद आफ्नो खोरलाई सुरक्षित ठाउँमा सार्न ?
पानीले बिथल्नु अगावै म खाजा घरभित्र छिरिसकेको थिएँ । थुप्रै किसानहरू त्यति खेर खाजा घरभित्र थिए र त्यहाँ कुनै कुरामाथि बहस चलिरहेको झैँ भान हुन्थ्यो । मैले कतै खाली कुर्सी देखेको थिइनँ । उभिएर नै मैले आफ्नो चिसो लुगा टकटकाएको थिएँ तर म छिरेको केही बेरमै तिनीहरू सबै निक्लिएका थिए । उनीहरू गएपछि खाजाघर विघ्न शून्य भएको थियो ।
सबै गैसकेपछि तिनले सायद मेरो हेक्का पाउँछिन् र अफ्ठेरो मानेजस्तै गरी एउटा खाली कुर्सी मेरा निम्ति सफा गरिदिन्छिन् । म तिनले राखिदिएको कुर्सीमाथि गएर बस्छु । झट्ट देखेर हुनुपर्छ, तिनले मलाई चिन्नमा असमर्थ देखाउँछिन् । जब कुर्सीमा बसेर म आँङको लुगा चुस्त पार्न थाल्छु तब तिनी एकनासले मेरो अनुहार नियाल्न थाल्छिन् । आत्मग्लानिको अनगिन्ती पराकम्पन मभित्र हुँडलिन थाल्छ; तैपनि सहसा हिम्मत गर्छु –
“कुशल छ्यौ तिमी,निनी ?”
पक्कै, तिनका निमित्त मेरो यो उपस्थिति अप्रत्यशित भएको हुनुपर्दछ, तिनी विचलित हुन पुग्छिन् । म याचनाको दृष्टिले एकफेर गहिरिएर नियाल्छु । शून्यता झनै पीडादायी बन्न पुग्दछ । तिनी चुपचाप अगेनाछेउ पुग्छिन् र चियाको दिउरी बसाल्छिन् ।
००० ००० ०००
म सोच्न थाल्छु साँच्चै, सहर पुगेपछि गाउँ बिरानो हुने रहेछ । नत्र त ती असीमित गुनासाहरू छाडेर मेरो बालसखाहरूले,सुटुक्क मलाई मात्र एक्ल्याउने थिएनन् ? यद्यपि सम्पूर्ण दोष ती छोड्नेको भागमा पर्दथ्यो तर कुरा त्यहाँ पुगेर बिग्रने रहेछ जब गाउँ आफैँले छोडी जानेमाथि निरादरको भावले हेर्दथ्यो । मलाई अनायासै मरेतुल्य भावले छोप्न थाल्छ । निनीलाई बोलाउनु त के चियाको गिलास उठाएर पिउने सम्मको धैर्यले मलाई नङ्ग्याएर छोडेझैँ महसुस हुन थाल्दछ ।
पिँढीको कुकुर फेरि उठेर छेउ आइपुग्छ । सायद ऊ मालिक्नीको काखमा लुटपुटिन चाहन्छ तर मालिक्नी अघि विक्षिप्त मनोदशामा बसिरहेको यो अपरिचित मान्छे देख्न उसले सङ्कोच मानिरहेको छ ।
नैऋत्य कोणतर्फ भयानक झिल्का उठ्दछ । म झस्कन्छु । चिया हिउँसमान चिसो भैसकेको छ । अब मैले त्यसलाई पिउनु महत्त्वहीन बहानामात्र हुनेछ । म असामञ्जस्यमा पर्दछु । उत्तिनखेरै हावा हुन्डरीको बहुला स्वरूप मकैबारीमा छुत्ती खेल्न थाल्छ । ‘ड्वाँ ड्वाँ’ गोठमा वस्तुभाउ चट्टारिन्छन्, पाठाहरू उफ्रन थाल्छन् । माउ पोथी चल्ला खोज्न थाल्छे । म अनुभव गर्छु, निनी र मेरो बिच यद्यपि दूरी थिएन र पनि हामी बिचको छेउलाई एकनासले बजिरहेको अटालीको ‘पटपटले’ कतै पर घचेटिरहेको छ । सायद निनी पनि त्यो हालतलाई कृतज्ञता दिँदै छिन् ।
००० ००० ०००
पत्र पाउना साथै मैले गाउँ फर्कने निधो गरिसकेको थिएँ । सहरबाट गाउँका निमित्त रवाना हुनेबित्तिकै गाडीभरि मैले उक्त पत्रको मर्म भेट्टाउने खुबै चेष्टा गरेको थिएँ तर त्यो सम्पूर्ण रूपमा विफल थियो । मनभित्र केही चिज भारी जड भएर बसेजस्तो महसुस हुन्थ्यो जब चेत अलमलिन्थ्यो पत्रभित्र लेखिएका ती अनौठा वाक्यांशहरूमाथि ।
प्रभातबाट मैले त्यस किसिमको पत्रको कतै सोच राखेको थिइनँ । त्यो पत्र थियो, अथवा, भनौँ भक्कनिएर लेखेको दुःखान्त कविता थियो ? तर जे थियो, अघि अघिको पत्रभन्दा एकदम फरक थियो । सायद ऊ कवितामार्फत मलाई केही भन्दै थियो वा हुन सक्छ आफ्नो हालत मलाई बताउँदै थियो । अझ भनौँ उसको विवशता र असह्यता मलाई काव्यात्मक शैलीमार्फत भन्दै थियो र यो पनि हुन सक्थ्यो,अत्यन्त भावविह्वल अवस्था पुगिसकेपछि ऊभित्र यस प्रकारले काव्यात्मक शैली प्रस्फुरित भएको थियो ।
त्योभन्दा महिना दिन अघिमात्र पठाएको पत्रमा म फर्कन्छु । पत्र विस्तार पूर्वक लेखिएको थियो । उसको योजना एवं निर्णयहरू; ऊ चाहन्थ्यो पत्र पाउनेबित्तिकै मैले गाउँका सिडिओलाई तत्कालै भेटूँ, गाउँले भोगिरहेको समस्याबारे यथास्थिति जानकारी गराऊँ तर खेदपूर्वक मैले भन्नुपर्छ, मैले असार मसान्तको व्यस्तताबाट आफूलाई छुट्याउनै सकेको थिइनँ । यद्यपि मैले उसलाई कुनै पनि किसिमको चिन्ता नलिन भन्दै एउटा हतारको पत्र पठाएको थिएँ ।
हो, मैले कत्ति पनि त्यति खेर उसको उक्त पत्रको महत्त्वलाई बुझ्न सकेको थिइनँ ।
दोस्रो पत्र पाउनुअघि मेरो कार्यालयमै आएर एक युवकले मलाई भेटेको थियो । मैले बिर्सिए तापनि उसले मलाई चिनेको थियो । उसकै मार्फत प्रभातले पुनः एकपटक मलाई उसको अनुरोधलाई हतार गरिदिन आग्रह पठाएको थियो । त्यति खेरसम्म म मसान्तको लगभग अन्तिम चरणमा पुगिसकेको थिएँ । कोठामा फर्किएर मैले योजना पनि बनाएको थिएँ कि कसरी सिडिओसँग मैले भेट्दा उचित हुन सक्छ भनेर ।
तर अफसोस मैले त्यो काममा हात हाल्नुअघि नै प्रमिलाले आफ्नो पत्रसँगै उसको त्यो पत्र मेरो नाममा पठाएकी थिई, मेरो नाममा उसले लेखेको त्यो अन्तिम पत्र ।
००० ००० ०००
हामी तीन मन मिल्ने छुकछुके साथी; म प्रभात र उसकी बहिनी प्रमिला । प्रभात र म उही उमेरका थियौँ र प्रमिला सायद तिनै वर्षले उमेरमा कान्छी थिई । छुट्टै घर छुट्टै आँगन थियो र पनि हामी एकाघरका थियौँ । पाठशाला नजाउन्जेल कति हो कति आँगनमा छरछिमेक घुइँचो लाग्थे, हाम्रा कुरा लगाउन । बाआमालाई कहिल्यै सन्तोष थिएन । गाउँले आँगनमा देख्नेबित्तिकै हामी भने लुकी-लुकी पुगिसक्थ्यौँ, कहिले प्रभातको गोठमा त कहिले मेरो गोठमा । तिनका चुक्ली माथिसम्मै हामी सुनी बस्थ्यौँ । बाहरू रन्किएर घरभित्र छिरी हामीलाई खोजेको पनि हामी सुन्थ्यौँ,इत्रो मुख बनाएर । त्यो दिनभरि हाम्रो वास गोठमै हुन्थ्यो । गाउँलेहरू फर्किए कि फर्किएनन्, लिस्नो ठड्याएर हामी प्रमिलालाई टाँडमाथि चढाइदिन्थ्यौँ र हेरी बस्न भन्थ्यौँ । अनि त्यसै क्षण छ्वालीको पाइप सल्काएर हजुरआमाले फुल्मार चुरोट तानेझैँ तान्दै पाका-प्रौढले जस्तै आँखा-आँखाले बात मार्न थाल्थ्यौँ हामी ।
घरतिरबाट गाउँलेहरूको आवाज आइरहन्थ्यो –
“न बारीका कोसा राखे न खेतका आलु बाँकी भो !”
“न घारीका सुन्तला पहेँलिन भ्याउने भए न आँपका दाना हटारु जान भ्याउने भए !”
“अरू त अरू वस्तुभाउसमेतलाई यिनको छायाले तर्साउने भो !”
“होइन यी छौँडाले हाम्रा केटाकेटीलाई समेत खेद्न छाडेनन्, किन यो विधि छाडा छाड्छौ ?”
यस प्रकार बालापनको त्यो फराकिलो औ लामो सङ्क्रमणसँग हाम्रो हितैषी सम्बन्ध गाँसिएको थियो । पाठशालाका खुड्किलाले युवाकालीन उमेरको सङ्घारसम्म ल्येउन्जेल सम्म, अहँ… हामी पटक्कै तीन थिएनौ; हामी बस् एक थियौँ मन, वचन र कर्मले ।
हो, मलाई अझ पनि राम्रोसँग सम्झना छ, पाठशालाको त्यो अन्तिम साँझ, भर्खरै राज्यको मान्छेले बनाई गएको त्यो पक्की पुल, जुन घुमाउने खोलामाथि हालिएको थियो, हामी तीनै त्यही हेर्न जाने भएका थियौँ । पाठशालाका सबैले हेर्न भ्याइसक्दा पनि त्यति खेर खोइ कसोरी हामीमात्र छुटिराखेका थियौँ ! तसर्थ त्यस साँझ हामी तीनै त्यहीँ पुगेका थियौँ ।
पुल साँच्चिकै हाम्रा आँखाका निम्ति नयाँ थियो । गाउँमा मात्र हैन हटारुसम्म पनि अरू कुनै खोलामाथि त्यसरी खोलैबाट कङ्क्रिटको खम्बा उठाएर हालिएको पुल हामीले देखेको थिएनौँ । सबैभन्दा असल कुरा त बाहरूले भनेको जस्तै आँखाले मात्र देखिने ‘नाम्गामे’ गाउँ अब एक्कासि पुलका कारण नजिक आइपुगेको थियो तर हाम्रा निम्ति भने त्यो ‘नाम्गामे’ गाउँ बिल्कुलै अपरिचित थियो । घुमाउने खोला नै त्यसमा जिम्मेवार थियो ।
धेरै बेरसम्म हामीले पुलमाथि ओहोरदोहोर गरेर बिताएका थियौँ । घरिघरि ‘नाम्गामे’ गाउँतर्फ दौडिएजस्तो पनि गर्थ्यौँ तर गाउँमा हाम्रो परिचित नभएका कारण बिचबाटै हामी फर्कन्थ्यौँ । झमक्क साँझ भएपछि मात्र हामीले होस् पाएका थियौँ ।
त्यसै साँझ त्यो झमक्क निभेको अँधेरीमा मैले मुख खोलेको थिए –
“ प्रभात, प्रमि! भोलि सखारै म बुबासँग काठमाडौँ जाने भएको छु ?”
मैले मेरो साथीसँगीको अनुहार मेरो त्यो कुरा सुनेर कस्तो भएको थियो देख्न सकेको थिइनँ तर दुवैले एक्कासि मेरो हात यसरी अठ्याएका थिए मानौँ म तिनीहरूको एकदमै प्यारो जिनिस थिएँ जसलाई भुलेर पनि उनीहरूले हराउन चाहेका थिएनन् ।
आँगन छुट्टिने बेलामा मैले फेरि पनि भनेको थिएँ -” बुबा मलाई अगाडि पढाउन चाहनुहुन्छ रे काठमाडौँमा काका भएका ठाउँमा राखेर; प्रभात, प्रमि! म काठमाडौँ गए पनि तिमीहरूले मलाई सम्झिरहने छौ नि ?”
तर धेरै बेरसम्म पर्खँदा पनि उनीहरूले केही बोलेनन् । फर्किएर अलि अगाडि पुग्दामात्र मैले सुनेको थिए, प्रमिलाको त्यो खिरिलो सुँक्कसुँक्क ।
००० ००० ०००
गाउँ छोडी सहर पस्नु अथवा गाउँमै बसिरहनु सम्बन्धको एउटा अन्तरङ्ग रसायनले प्रभात र मबिचको सीमा कोरिएको थियो । मलाई जसै गरी प्रभातलाई थाहा थियो, सहरमा मेरो उपस्थिति औ स्थान । हामीबिच पत्राचार भइराख्थ्यो । उसले गाउँका यावत् अवस्थाहरू मलाई लेखिराख्थ्यो भने मेरा हालतहरू पनि निसङ्कोच आफ्नो पत्रहरूमा म उसलाई जनाउ दिइरहन्थे । यसैगरी नै हामीबिच गाउँसहरको सम्बन्ध जोडिएको थियो ।
यद्यपि प्रभातले मलाई आफू प्रेममा रहेको कुरा विस्तारपूर्वक कुनै पनि पत्रमा उल्लेख गरेको थिएन । यति खेर म सम्झन्छु ती अनेकन् लिपिबद्ध फिलिङ्गाहरू जसमा उसको चरमभावानाहरूको संवेग छताछुल्ल रहने गर्थ्यो; भावनाको त्यही अदृश्य साँध नाघेर सायद उसले कुनै पत्रमा उल्लेख गरेको थियो अर्चनाको नाम । तबमात्र मैले केही हदसम्म अड्कल काटेको थिएँ ।
प्रभात अनि अर्चना सम्बन्धको धेरैजसो आयाम मैले प्रमिलामार्फत थाहा पाएको थिएँ तर पनि मैले प्रभातसमक्ष आफू आभाषित यी विषयहरूको कतै पनि उठान गरिसकेको थिइनँ । म चाहन्थे प्रभात आफैँले उसको अनि अर्चनाको विषय मेरा अघि उठाओस् ।
त्यो अलग कुरा थियो प्रभातले अझै पनि कतै आफ्नो सम्बन्धको विषय मेरा सामु राखिसकेको थिएन । प्रमिलाका पत्रहरूमार्फत मात्र मैले अनुमान लगाएको थिएँ, दुवैबिच झाँगिँदै गैरहेको प्रसङ्गले अब छिटै चाडो अर्को नयाँ सम्बन्धको आयाम राख्न गइरहेको छ भनेर । प्रमिलाको पत्रहरू पढेर म मुस्कुराउँथेँ तर म उदेक यसकारण मान्थेँ, ‘आखिर यो हदसम्म गइसकेपछि पनि के कारणले प्रभात मलाई आफ्नो र अर्चानाको सम्बन्धबारे बताउन आनाकानी गरिरहेको छ ?’
००० ००० ०००
हो, प्रभात सँगसँगै प्रमिलाका पत्रहरू पनि मैले निरन्तर पाइरहन्थेँ । प्रमिलाले अनौठो सर्तमा मसँग पत्रचार राखेकी थिई । जस्तो कि उसले मलाई लेख्न त सक्थी तर आफ्नो नाममा ऊ मेरा पत्रहरू चाहँदिन थिई । सायद ऊ यी सबै कुराहरू गोप्य राख्न चाहन्थी । मैले उसको यो भावनालाई उसैको चाहबमोजिम छाडेको थिएँ ।
प्रभातका भन्दा बेसी म प्रमिलाका पत्रहरू प्राप्त गर्थेँ । प्रमिला यसअर्थमा हेर्दा मेरा निमित्त गाउँ नियाल्ने दृष्टि बनेकी थिई । प्रायः उसका पत्रहरूमा म गाउँको सम्पूर्ण, यहाँसम्म कि मेरो आफ्नै घरका बारेमा पनि जानकारी पाउँथेँ । ऊ घरी बालापन सम्झाउँथी त घरी हामीले गरेका धुर्त्याइँहरू लेखी पठाउँथी । घरी हामीले गरेका प्रणहरू सम्झाउँथी त घरी छुट्टै उसले र मैले मात्र बिताएका पलहरूको सम्झना मलाई कोरी पठाउँथी । त्यति खेर म पाउँथे, नजानिँदो तरिकासित ऊ आफ्नो भावानाहरूभित्र पौडिरहेको हुने थिई ।
समग्र रूपमा भन्नुपर्दा प्रमिला प्रतीक्षारत थिई, एउटा यस्तो अवसरको जसले उसलाई काठमाडौँसम्म डोहोऱ्याओस् । चाहे त्यो उच्च शिक्षाको बहाना किन नहोस् ? र यसका निमित्त उसको आन्तरिक चाह थियो, मैले हरतरह उसलाई साथ औ समर्थन गरूँ ।
हो, म नलेख्ने सर्तमा थिएँ तर म विश्वस्त थिएँ उसले मेरो प्रसन्नतालाई बुझेकी थिई ।
पछिल्लोपटक प्रमिलाका तिनै पत्रहरू थिए जसले मलाई प्रभात अनि अर्चनाको सम्बन्धहरूको रूपरेखा बताइरहेको थियो र त्यसमा जोडिन आइपुगेको थियो घुमाउने खोलामाथिको त्यही पुल; जसले हामीलाई अनि नाम्गामे गाँउलाई एकआपसमा जोडिराखेको थियो ।
००० ००० ०००
घुमाउने खोलामाथिको पुल नबिर्सने इतिहास बनिसकेको थियो दुवै गाउँका निमित्त । मलाई लाग्छ जहाँ र जति खेरसम्म त्यो पुलको कुरा गाउँभित्र उठ्नेछ त्यसले एउटा दुःखान्त कथा अनुभव गराउनेछ दुवै गाउँतर्फ । यद्यपि अब त्यो पुलको अस्तित्व थिएन तर त्यसको वियोग अझैसम्म पनि गाउँभित्र सुसाइरहन्थ्यो घुमाउने खोलाको बाढीसरह ।
हो, केही समयअघिसम्म पुल प्रतीकात्मक थियो अझ भनौँ पुलले दुई किनारालाई मात्र बाँधेको थिएन दुई अलग-अलग मनमस्तिष्कलाई समेत एकै ठाउँमा बाँधेको थियो । ‘कस्तो अचम्म !’ देख्नेसुन्नेले यसरी नै भन्थे, “प्रभात र अर्चनालाई भेट गराउन मात्र हालिदिएजस्तो । “
देख्ने कोही भन्थे, “कस्तो शुभ सगुन पुलको !”
सुन्ने कोही भन्थे, “ कस्तो सौभाग्य जोडीको !”
साँच्चै पुलमुनि बगेको पानीसरह ‘सललल’ बगेको थियो प्रभात र अर्चनाको प्रेम । उस्तै स्निग्धता लिएर, प्रभाव र प्रवाह लिएर । साक्षी त्यही पुल थियो ।
सुरु-सुरुमा त हो नि, पुल बनिसकेर पुरानो भैसक्दा पनि न यतापट्टिका कसैले बाटो बिराएका थिए न उतापट्टिका कसैले दोबाटो काट्ने रहर गरेका थिए । दुवै गाउँको अझैसम्म पनि वैचारिक सम्बध बनिनसकेको अवस्थामा पुलले पनि उसैगरी एकनासे शून्यतामा झाङझाडी पाल्नुपरेको थियो । फेरि दुवै गाउँको विचार, ‘ पुल बन्दैमा त्यसमाथि हिँड्नैपर्छ भन्ने छ र! यतिका काल वास्ता नभाको सम्बन्धलाई कोट्याउँदै जानुपर्ने खाँचो पुल बन्दैमा के खार हुने हो र ?’ हुन पनि दुवै गाउँलेको इख त्यही पुल नहुँदा पनि त आआफ्ना दैनन्दिनी चलेकै हुन् क्यारे?’
यस प्रकार निकै पछिसम्म दुवैपट्टिका गाउँलेले सरकारले पुल हालेको उक्त स्थाननै पायक नपरेको गुनासो पोखिरहे । यो अर्को कुरा थियो मन बहलाउन हेतु दुवैपट्टिका फुर्सदिलाले कदाचित् त्यहाँसम्म आई टेक्दा हुन् बस् । अनि सयाद यसरी नै कुनै संयोगले प्रभात अनि अर्चनालाई पुलसम्म बोलाएको थियो ।
पुललाई हेर्ने अरू पनि थुप्रै परिभाषा थियो दुवैपट्टि । पुल नहुँदा पनि त यिनै गाउँलेको असन्तुष्टि हुने गर्थ्यो, ‘जाबो एउटा पुलसम्म पनि नहालिदिएर त्यति छेवैको गाउँसित सम्म जोडिन पाइएन !’
गाउँले जोसुकैको जेसुकै कुरा भए तापनि पुलले समयको अन्तरालमा अन्तत: आफ्नो मझेरीमा एक जोडी फूल उमारिसकेको थियो जसको बास्ना रहँदा बस्दा बिस्तारै चारैतर्फ उड्न थालिसकेको थियो । कुरा एकदिन यतिसम्म आइपुग्यो, ‘महिना दिनभित्रमा प्रभातले यदि त्यसै पुलबाट पन्चे बाजासहित अर्चनाको आगनमा जन्ती झार्न नसकेदेखिन् अर्चनाले स्वतः प्रभातलाई बिर्सनुपर्नेछ ।’
पहिले त यो किसिमको सीमा र सर्त सुनेर गाउँ सबै हैरान परेको थियो तर उत्तिनखेरै मेरो मित्र प्रभातले अलमलिएको त्यो सम्पूर्ण चहेरामा आशाको सञ्चार ल्याउँदै उक्त सीमा सर्तलाई आँखा चिम्लिएर स्विकारेको मात्र थिएन कि आउँदो कृष्ण जन्माष्टमीका दिन आफू कृष्ण बनेर आउने भन्दै अर्चनालाई राधिका बनेर बस्न समेत आग्रह गरेको थियो ।
पक्कै पनि दुवै गाउँको इतिहासमा यो पहिलो फेर सम्बन्धको सूत्रपात हुँदै थियो भलै अर्चनाको परिवारले छोरीपट्टि हुनुको नाताले ठाँट देखाएको थियो तर पनि निकट जोडिँदो सम्बन्धका कारण दुवै गाउँ उत्तेजित थियो ।
*** *** ***
यद्यपि कृष्ण जन्माष्टमी आउन निकै नै बाँकी थियो तर प्रभातसँग उसको खुसीको सीमा थिएन । ऊ चाहन्थ्यो उसको र अर्चनाको प्रेमप्रतीक उक्त पुलले पनित न्याय पाउनुपर्दछ । तसर्थ उसले आफ्ना अन्य युवा मित्रहरूलाई पुलको सरसफाइ एवं साजसज्जाको जिम्मा मात्र सुम्पिएको थिएन कि ऊ आफैँ उपस्थित भएर पुल छेउछाउ उम्रिएका झार उखेल्ने कार्यदेखिन् लिएर पुलको पेटीमाथि रङ्ग लगाउने, फलामका रेलिङमा लागेको खिया पुछ्ने, उप्किएको सिमेन्टमाथि पुटिङ भर्ने अनि दायाँबायाँ दुवै छेउतिर ध्वजापतकासम्म सजाउने कार्य सम्पन्न गरेको थियो । जब अपराह्नसम्म बिस्तारै पानी छिट्याउन थालेको थियो बाँकी काम भोलिपल्टका निम्ति थाँती राखेर त्यो दिन उनीहरू फर्किएका थिए ।
पक्कै पनि सारा गाउँ युवाहरूको पुलमाथिको त्यो मेहनतको साक्षी थियो । उनीहरूले त्योभन्दा अघि युवाहरूले त्यत्तिको मेहनत अन्य कार्यमा गरेको कहिले पनि देखेका थिएनन् । युवाहरूले साँच्चै त्यस निर्जीव पुललाई जिउँदो जाग्दो बनाएका थिए । त्यस दिन यद्यपि युवाहरू फर्किसकेका थिए तर प्रभातमाथि डिलमै रोकिएको थियो । उसले बडो तन्मयका साथ पुलउपर आफ्नो दृष्ट्रि फ्याँकेको थियो । हो, धपक्क बलेको पुलबिच उसले अचानक मुस्कुराएर उभिएर बसेकी साक्षात् आफ्नो अर्चनालाई देखेको थियो । उसले देखेको थियो अचानक अर्चनाले ऊतर्फ आफ्नो बाहुपाश फ्याकेकी थिई । ऊ स्वयं खितखिताएको थियो । हिमालसमान अर्चनाको दन्तलहर टल्किएका थिए, बाहापाशमा निरन्तर उसले प्रभातलाई बोलाइ नै रहेकी थिई अनि ठिक त्यसै क्षण कसैको स्पर्शले उसको स्वप्न बिथोलिएको थियो । भयातुर भएर फर्किएको थियो ऊ ।
“दादा ?”
“प्रमिला ! “
प्रमिला नै थिई जब सबै गाउँलेहरू फर्किसक्दा पनि उसले प्रभातलाई डिलमै उभिएर एकोहोरिरहेको देखेकी थिई त्यसपछि ओर्लिएकी थिई ऊ ।
“के भयो र? किन यसरी बस्नु भा ! हेर्नू त पानी बाक्लो आइसक्यो ?”
त्यसपछि ऊ चुपचाप प्रमिलासँगै फर्किएको थियो ।
सबैथोक ठिकठाक चल्दै थियो । दुवै गाउँ हर्षोल्लाससहित व्यग्र प्रतीक्षामा थियो । किसानहरूले रोपाइँ यसकै आतुरीमा सिध्याएका थिए । समग्रमा भन्नुपर्दा गाउँलेहरूको यावत् चटाराहरू थन्कामुल्का लागिसकेका थिए । जन्ती जाने र जन्ती पर्साउने दुवैतर्फ कसोरी हुन्छ आउने कृष्ण जन्माष्टमीका दिनमा सुन्दर देखिने भन्ने गूढ कुरामा गाउँलेहरू लागिसकेका थिए तर हुने हार दैव नटार,कसलाई पो थाहा थियो भविष्यको गर्तमा के पो लुकी बसेको छ भनेर ?
अपराह्नदेखि छिट्याउन थालेको पानीको छिटाले बिस्तारै गति समात्न थालेको थियो । किसानहरूका निमित्त यो सामन्य बर्खा थियो । घरी पानी छिट्याउने र घरी बेतोड घामले पोल्ने साउन भदौको विशेषता नै थियो । किसानहरूका निमित्त पानी पर्नुपर्थ्यो, त्यही पानी त आखिर फसलको भविष्य थियो । त्यो रात त्यसैले पानी परि नै रह्यो, आकाश गडगडाइ नै रह्यो, झिल्का मिल्कि नै रह्यो; भयानक तबरले । रातमा एकाध उठ्ने जो कोही गाउँवासी लख काट्न पुग्थे, ‘पक्कै निको चाल छैन यो बर्खाको, यो भेल र यो आँधीको !”
भोलिपल्ट बिहानमात्र आली फर्काउन पुगेको घटेरो कान्छो जब निस्ससिँदै गाउँभित्र छिरेको थियो अनि सारा गाउँले एकैपटक थाहा पाएका थिए बर्खाले निम्त्याएको त्यो क्रुद्ध र विरूप विध्वंश ।
सारा गाउँले प्रत्यक्षदर्शी भएका थिए घुमाउने खोलाभित्र छिरेको विनाश स्वरूप र त्यसले निम्त्याएको परिणामको । गाउँले बिचै थियो प्रभात निःस्तब्ध बनेर त्यो अपत्यारिलो दृश्यबिच कतै अघिल्लो दिनमात्र दुलहीलाई झैँ सजाएको पुललाई खोजिरहेको थियो । एक तमास कालोनिलो अन्धकारको भक्कानो लिएर तर दूर दूरसम्म उसको त्यो पुल कतै थिएन कतै !
००० ००० ०००
ढोका उघ्रिएको तिखो आवाजले मलाई बिथोल्छ । म फर्कन्छु, प्रमिला मेरो सम्मुख एक्कासि उभिन आइपुग्छे । म हिचकिचाउँछु । महसुस गर्छु, ऊ तिखो नजरले नियाल्दै छे । म एकाएक फतक्क गल्छु र असामञ्जस्यको दोसाँधबाट फुत्किने प्रयास स्वरूप आइपुगेको समयको आभास दिलाउन खोज्छु । धेरै बेर भैसकेछ अब फर्किनुपर्छ तर म कुर्सीबाट उठ्न हिम्मत गर्न सक्दिनँ । यतिमात्र अनुभव हुन्छ बाहिर उसैगरी पानी परि नै रहेको छ, एकोहोरो ।
“आमा, सोध्नु भएन, किन आउनुभएछ वहाँ ?”
म झस्कन्छु, प्रमिलाको इसारा निःसन्देह मपट्टि थियो । एकपटक फेरि, आफू उभिएको धरातल भासिएको महसुस हुन थाल्छ । म देख्छु उत्तिनखेरै ती सयौँ अनुत्तरित प्रश्नहरूले मलाई घेर्न थालेको छ, चिमोट्न थालेको छ र अठ्याउन थालेको छ । म रापिन्छु, पसिनामा निस्लोट । तालु सुकेर लाग्छ घाँटी खसखसाउन थाल्छ । एकाएक गहिरो तिर्खामा म व्याकुल बन्न पुग्दछु तर सहसा मेरो शरीरले चेत हराउनुअघि नै मलाई कुर्सीबाट उठाउने दृढता देखाउँछ र घचेट्छ ढोकातर्फ ।
“ के यहाँसम्म आएर त्यसै फर्कनु, मनाउन सक्नुहोला आफ्नो आत्मालाई ?”
मेरो पैतालामा साङ्लो जेलिन्छ । आभास पाउँछु, प्रमिला मैतर्फ बढिरहेकी छे । म जड हुन्छु, जहाँ को त्यहीँ ।
“ किन आउनुभयो तपाईँ, होस् के आइसकेपछि एकफेर त्यो प्रिय मित्रको छेउसम्म पनि नपुग्नु, तपाईँभित्रको मर्यादा यति चाँडो मरिसक्यो ?”
“ म सायद लायक छैन ।”
“ त किन आउनुभयो यहाँसम्म ?”
म निःशब्द हुन्छु ।
“आउनुस्, हिँड्नुहोस् मसित सायद तपाईँसित भेटेरमात्र उहाँको आत्माले शान्ति पाउनेछ ।”
म छातामुनि खुम्चन बाध्य हुन्छु । चुपचाप हामी ओरालो झर्न थाल्छौँ । छाता बाहिर एकपटक फेरि म देख्छु बालापन बिताएका उही घर आँगन,करेसाबारी, गोठ, गौँडा अनि खेतखलियान । बाटा छेउछाउ कान्लामा उभिएका सुन्तलाका बोटहरू, आँपका बुढा रुखहरू, केराका खाँबाहरू । अम्रिसाको घारी पनि त यथावत् थियो अनि भैँसी आहाल बस्ने पोखरीहरू .
जब पानी घट्टको साँघुमाथि पाइलो आइपुग्छ म सतर्क हुन्छु, घुमाउने खोलाको सुसाइ म एकदमसित नजिक महसुस गर्न थाल्छु ।
प्रमिलाको छातामुनि, त्यो भयानक सुसाइ हालेर लपलपाउँदै अघि बग्दो खोलाको ठिक नजिक उभिन्छु म, एकाग्र र निरुत्तर । एकैछिनका निमित्त मानौँ मैले स्वयं आफूलाई हराएको छु अनि पुगेको छु कतै प्रभातको उही अँगालामुनि जसले अनि त्यसै क्षण मलाई अर्चनासित परिचित गराएको छ र देखाउँदै छ उक्त पुल जो ठिक मेरा सामुन्ने छ ।
“ बिर्सनुभएको छैन होला ?”
“ म सम्झन्छु ।”
मेरो अनुहारमा प्रमिला छाडेको लामो निःश्वास वाष्पीकरण हुन पुग्दछ ।
“कृष्ण जन्माष्टमी आउन समय थियो । दादा त्योभन्दा अघि नै केही गर्न चाहनुहुन्थ्यो । त्यसैले पनि सयद वहाँ काठमाडौँमा रहेको सिडिओसित सम्पर्क गर्न चाहनुहुन्थ्यो तर उहाँले चाहेजस्तो त्यति छिटो त्यो सम्भव थिएन । उहाँ विक्षिप्त हुनुभएको थियो । जति-जति कृष्ण जन्माष्टमी नजिक आउँथ्यो उहाँभित्रको विचलन उति बढेर जान्थ्यो । त्यो कृष्ण जन्माष्टमीको ठिक दुई दिन अघिको कुरा थियो, एकाएक दादा प्रफुल्ल मुद्रामा हाम्रा माझ आउनुभएको थियो र भन्नुभएको थियो, “पुलको निर्माण हुने भयो, अब मेरी अर्चना मबाट टाढा छैन आमाबाबा ।” त्यसपछि उहाँ खोलातर्फ झर्नुभएको थियो ।
कसैले स्थायी तवरबाट नभए पनि अस्थायी तवरबाट पुलको निर्माण गर्न सकिने कुरा सुझाएको थियो । बाँसलाई वारिपारि तेर्स्याएर हिँड्न सकिने खालको पुल बनाउन सकिने उक्त कुरा सुन्नेबित्तिकै रातारात उहाँ साथीहरू लिएर बाँस लिन जानुभएको थियो । बाँस लिएर आउनु पनि भएको थियो । घरमा हामी सबैले सम्झाइराखेको थियौँ जुन कुरा उहाँ सोच्दै हुनुहुन्थ्यो त्यो असम्भव प्रायः थियो भनेर । उहाँमा तर भूत बसेको थियो ।”
एकफेर फेरि लामो वाष्पीकरण म आफ्नो अनुहारमा महसुस गर्छु । म देख्छु एकापट्टि छेउबाट हामी पानी देखिन ओभानो छौँ तर अर्कापट्टि छेउतिर हामी दुवै भिजिरहेका छौँ ।
निकै बेरसम्म खोलाको उसै भेलमाथि टोलाई बस्छे प्रमिला । मलाई कता-कता सबै थोक बोझिलोझैँ लाग्न थाल्छ । म एकदमै अन्योल महसुस गर्न थाल्छु । साहस गर्छु अनि नियाल्छु प्रमिलाको त्यो भेलमाथि कतै हराइरहेको आँखाभित्र । देख्छु एउटा बाढी ऊ स्वयंभित्र बगिरहेको छ ।
“ बाढीको त्यो क्रुद्ध भेलभित्र अन्तत: दादाले आफूलाई सधैका निमित्त भुलाइदिनुभयो । “
एकफेर फेरि मेरो कानमा त्यो परिचित खिरिलो सुँक्कसुँक्क पर्दछ । म स्तब्ध हुन्छु । एकनासले भय लिएर बग्दो त्यो भेलतर्फ फर्किएर ।
बिस्तारै छाता बज्न छोड्दछ । म फर्कन्छु वरिपरि पानीको तेज मत्थर हुने तरखरमा देखिन्छ । छाताबाट अलग्गिन्छु । बाहिर निक्लिएर देख्दछु, थाहा नपाउने गरी आफ्नो गालाको आँसु पुछेकी छे प्रमिलाले । मलाई एकाएक दिक्दारीले झिँजोल्न थाल्छ, नैराश्यले झ्वाम्म छोपेजस्तो । किन-किन त्यहाँ उभिरहँदा मभित्र कतै दुखेको अनुभव हुन थाल्छ । अनि म मुख खोल्छु –
“ पानी मत्थर भयो । मैले फर्कनु बेस हुनेछ, लौ त ..” ।
“पख्नुस् …..”
म रोक्किन्छु ।
ऊ नजिक आउँछे “बर्खको भर हुन्न, टाढा पुग्नुपर्ने, लौ यो छाता लिई जानुस् ।”
मतर्फ छाता बढ्छ । म दुबिधामा पर्छु ।
“ तिमीलाई पनि त भिजाउनेछ, पानी फेरि फर्कियो भने ?”
ऊ एकटक मेरो आँखामा केही खोज्छे, “म त्यति टाढा जाँदै छैन,पानी फर्कनुअगावै ओतमुनि आइपुग्नेछु ।”
म छाता समाउँछु । ऊ फरक्क घुम्दछे । मभित्र एकाएक रिक्ताताको मुड्कीले हान्न थाल्छ ।
म हेरिरहन्छु उसले पानी घट्टलाई नाघिसकेकी छे । मेरो हातमा अनयासै त्यो अन्तिम पत्र आइपुग्दछ जुन प्रभातले मलाई लेखेको थियो त्यो अनौठो काव्यात्मक शैलीमा । त्यही उभिएर म पढ्न थाल्छु –
“ वेगलाई उर्लनु छ
भेललाई उक्लनु छ
उन्मुक्त आँचल ओढेर साउनको
एकफेर पुनः फर्किएको बर्खा
न मेरो पुल भाचिँदैमा
रोकिनेछ
न तिम्रो किनार भत्किँदैमा
रोकिनेछ ।
मटमैलो तृष्णा बुझ्दछ
किसान
अमृत सिँचाइ बिजन
आसन
त्यो धर्ती र साउनले
डुबेको सगर
के बुझ्थ्यो तिम्रो
ढुकढुकी पारि छ
के बुझ्थ्यो मेरो
व्यथा यो भारी छ ।
भइगयो सागरलाई
सगरमा देऊ रम्न
भैगयो डगरलाई
डगमा देऊ रम्न
टुटेर के भयो
एउटा हाँगो प्रीतको
खुलेर जानेछ
एउटा प्रातःले घुम्टो
एउटा प्रातःले घुम्टो ।”
तैजस शर्मा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।