‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने गरी उहाँले राम-राम भन्नुहुँदा गाउँको भेला नै बस्छ ।

त्यसैले झ्याल खोलेर माथि उदाइरहेकी चन्द्रमा हेर्दै म मायाँप्रीतिका कुराहरूलाई र अनुभवहरूलाई मुटुभित्र नै दबाउन खोजिरहेकी छु । मनको बह गाउँमा कसैसँग पनि पोख्न सकिँदैन । आमा सधैँ धार्मिक कार्यमा व्यस्त हुनुहुन्छ, मेरो बैँस नचढ्दै मुग्लान पस्नुभएको फर्केको कुरा अहिलेसम्म कसैले सुनाएको थाहा बन । घर जताततै टाल्दाटाल्दै काम नलाग्ने र भत्किन लागेको जीर्ण भैसकेको छ तर मन त चन्द्रमा देखेर रमाउन खोजिरहेको छ । अभावमा पनि रमाउन खोज्ने भो मन; जुनेली रातको शीतलतामा बहन खोज्ने यो मन; शान्त र स्निग्ध यो मन त्यसै-त्यसै रोमाञ्चित भएको छ ।

“बिहे गर्नासाथ पतित ऊ मात्रै हुन्छ र मन पनि त एउटै हुनुपर्छ नि !” मेरी साथी शर्मिलाले यसो भन्दा म साँच्चै नै झसङ्ग भएकी छु । “तिमीलाई मैले मुटु दुख्ने गरेर मायाँ गरेको छु । हाम्रा हातहरू खुट्टाहरू र प्रत्येक अङ्ग-प्रत्यङ्गहरू एक हुनुपर्छ । छुट्टिने कुरा त मरेपछि पनि गर्नु हुँदैन । सँगै बाँच्ने हाम्रो सङ्कल्पलाई तिमीले स्विकारेको छौ नि हैन र?” मेरो अगाडि ऊ अर्थात्‌ मलाई मायाँ गर्न खोज्ने उसले शिखर चुरोट सल्काउँदै भन्यो । म अवाक्‌ उसलाई हेरिरहेँ, कारण मसँग बोल्दाखेरि उसको शरीरभित्रको ढुकढुकीहरूलाई म नछोएरै महसुस गर्न सक्थेँ । “मलाई वासनाको कुरा मन पर्दैन । यौन त पैसा तिरेर पनि पाउन सकिन्छ तर यहाँ विश्वासको कुरा भैरहेका बेला, मुटुसम्म छोएर रुने र बाँच्ने कुरा भैरहेको बेला कसरी शरीरको कुरा गरिरहेका छौ ।” मैले विस्मय तरिकाले उसलार्इ हेर्दै झ्यालको दक्षिणपट्टि फर्किएको रातो गुराँसको बिरुवामा पानी हाल्दै यी कुराहरू बोलेँ र उसकै छेउको सोफामा आएर उसले टेबलमा राखिछाडेको शिखर चुरोट सल्काउन थालेँ । उसै त म चुरोट खाने मान्छे हैन तर पनि यतिखेर प्रेमले आकुलव्याकुल बनाएको यो अवस्थामा चुरोटले केही शान्ति दिन्छ भन्ने मैले सोचेकी छु । ओहो ! हामी दुवैको हातमा चुरोट सल्किरहेको छ । आखिर जीवन पनि यसरी नै चुरोटजस्तै सल्किँदै जानु त हो नि! मैले लामो श्वास फेरेँ ।

“म यतिखेर विसर्जन हुन नसक्ने मायाँको कुरा गरिरहेकी छु । मायाँ चुरोटजस्तै सल्किनु हुँदैन । मायाँ त जूनजस्तो हुनुपर्छ । अँध्यारामा पनि उज्यालाको प्रतीक बन्ने जून । आस्थाको प्रतीक” उसले लामै भाषण छाँट्यो र आफ्नो सफाइ दिन खोज्यो । “तर तिमी त मेरो लागि आदर्शवादी छैनौ नि ! जोसँग पनि सुत्ने मान्छे पनि मेरो लोग्ने हुन्छ र?” मैल्ले पनि प्याच्च बोलेँ । मलाई थाहा छैन ऊ कति जनासँग सुतिसकेको छ तर उसको मन भने पवित्र छ भन्ने चाहिँ मैले सधैँ महसुस गरेकी छु । “शरीरभन्दा मन उच्च र महान्‌ हुनुपर्छ, एउटा मान्यता यो पनि हो । शरीर त यो संसारमा सायद सबैभन्दा त्यस्तो सस्तो कुरा हो जुन पैसामा किन्न सकिन्छ ।” उसले लामो भाषण छाँट्यो । “बिहेभन्दा पनि माथि र उच्च स्थानमा रहेर हामी मायाँ गर्न सक्छौँ नि हैन र ? मुटुमा मुटु जोडेर आँसुहरू त साट्न सकिन्छ नि ? म जति जनासँग सुते पनि मायाँ त तिमीलाई नै गर्छु ।” उसले शिखरको तेस्रो बट्टा झिक्दै सल्काएर एकै श्वासमा बोल्यो । हाँसेको पनि कति नसुहाएको । मैले काटेँ र आकाशतिर हेरेँ । “आज यतै रात बिताउने कि ?” मैले भित्र भान्छामा चिया तरखर गर्दै भनेँ । “एक रात मात्रै किन र ? यो पृथ्वीको अन्त्य नभएसम्म नबिलाएसम्म र जुन उदाएर नअस्ताएसम्म मुटु, मन र मस्तिष्क एक हैन र ?” फेरि उही पुरानो फिल्मको डायलग बोल्यो उसले ।

यतिखेर रात परिसकेको छ । हामीहरू एउटै समानान्तर दूरीमा छौँ । हामीबिचमा केही पनि अवरोधहरू छैनन्‌ । अर्थात्‌ बेफिक्रीसँग खुल्ला र अलौकिक अवस्थामा हामी जो दुवै एक कहिले नअस्ताउने ताराको कुरा गरिरहेका छौँ । कहिले नसिद्धिने अनन्त आत्माको, मुटुको र स्पन्दनको कुरा गरिरहेका छौँ । यो क्षणको अन्त्य हुनु हुँदैन । यो अवस्था परिवर्तन हुनु हुँदैन । हामी दुवैको हातमा चुरोट छ । शिखर चुरोट सल्किरहेको छ र हामीहरू एक आत्मीयजस्तो भएर एकै ठाउँमा गोलबद्ध सल्किरहेको चुरोटलाई महसुस गरिरहेका छौँ तर यतिखेर मैले के पनि सोचिरहेकी छु भने चुरोटजस्तै मायाँ कुनै पनि हालतमा सल्किनु हुँदैन । चुरोट सकियो, मायाँ सकियो, मोह सकियो । उफ्‌ ! सम्झँदा पनि मन भक्कानिन्छ ।

“बिहे नगर्ने !” उसको यो अकस्मात्‌को प्रश्नले म झसङ्ग भएँ । “तिमीलार्इ मेरो यो प्रस्ताव कस्तो लाग्यो ! यदि थाहा भयो भने म त्यसैअनुसार आफूलाई तयार गर्न सक्थेँ ।” चिउरा, भुटेको मासु, तरकारी र चियाको सर्को तान्दै उसले प्रश्न गऱ्यो । “तर तिमी मेरो लोग्ने हुनै सक्दैनौ ।” मैले उसलाई तुरुन्तै अस्वीकार गरेँ, तर फेरि उसको गम्भीर अनुहारले मलार्इ शान्ति दिएन र भनेँ, “तर बुझ्यौ म तिमीलाई कति मायाँ गर्छु नि ! मेरो मायाँ त अनन्त पो छ त ? एउटा यस्तो अनन्तताको कुरा म गरिरहेकी छु जहाँ सबै बाहिरी कुराहरू गौण हुन्छन् र हुनुपर्छ । आखिर सधैँ अमर हुने कुरा नै मायाँ त हो नि !” ऊ हाँस्यो र भुटेको मासु चपाउँदै पूर्वतिर फर्किएर मसँग साउती माऱ्यो । “थाहा छ, मायाँ त ऊ त्यो जून छ नि हो त्यस्तो पो हुनुपर्छ । जूनलार्इ हेर न कति शान्त, स्थिर र पवित्र छ । मायाँ त जुनजस्तै अमर बनाउने कुरा हो हो, यद्यपि हाम्रो शरीर मरेर गए पनि मायाँ अमर हुनुपर्छ र त्यो अमर बनाउने काम त हाम्रै हो ।” उसले पनि बोलिसकेर मैले उहिल्यै दिएको सानो धर्के डायरी निकाल्यो र सानो मुक्तक भन्यो – जून कति टल्किएकी भुसुक्क पाऱ्यो तिम्रो जुनेली मायाँले । म हाँसे र उसको बालापनले मनलाई अझ भावुक बनायो । बाहिर साँझ परिसकेको खुल्ला र सुन्दर वातावरणा भएर पनि होला मन्दमन्द अझ चलेको सिरसिरे हावाले मलाई अरू भावुक बनाइदिएको छ । हुन त ऊ प्रेम गर्न र । फसाउनका साथै सताउन खप्पिस छ भन्ने कुरा त मेरी साथी राधिकाले हिजोमात्रै टेलिफोनमा कुरा गर्दा भनेकी थिई । “मलाई त तिम्रो विश्वास छैन । हेर न जून देख्नमा पो राम्रो हुन्छ तर त्यो कति टाढा छ, भेट्न सकिँदैन । पानी पर्नासाथ बादल लाग्नासाथ आँखाबाट लोप हुने जूनको के विश्वास गर्नु ! सजिलै आँखालाई झुक्याउने यस्तो जूनसँग मायाँ गर्न कहाँ सकिन्छ र ? तर मलाई पनि लागेको छ मायाँ त जूनजस्तो धेरै टाढाबाट पनि नआत्तिईकन एकनासले पृथ्वीलाई हेरिरहेकीजस्तो पो हुनुपर्छ ।” मैले आफ्नो कपाल मिलाउँदै र झ्याल बन्द गर्ने तरखर गर्दै भनेँ । “पानी पर्थ्यो भने बित्यास पर्छु । कसरी घर जाने !” मेरो प्रश्न उसलाई पटक्कै मन परेन र उसले भन्यो “भर्खरै मात्रै सँगै बस्ने प्रस्ताव तिमीले राखेकी थियौ र अहिले अकस्मात्‌ जाने कुरा पनि गरिरहेकी छौ । किन र आज हामी सँगै सुत्ने हैन र ?” उत्ताउलो पाराले र कुनै धक् नमानी उसले सोधेको यो प्रश्नले मेरो मुटुको ढुकढुकी सहन नसक्ने गरी बढेको मैले महसुस गरेको छु, रातभरि उसको अँगालामा कस्सिएर म आफूभित्र गुम्सिएका सबै मायाँहरूलाई रित्ताउन चाहन्थेँ र अनन्ततामा हराउन चाहन्थेँ । “रातभर जुनेली रातलाई मुटुमा अँगालो मारेर शरीरमा शरीर र मुटुमा मुटु जोडेर सुत्दा त यो संसार नै बिर्सन सकिन्छु नि हैन र ?” मलाई झसङ्ग बनाउँदै उसले कुनै पाको भइसकेको प्रेमीले जस्तो आफ्नो कुराहरूलाई अगाडि राख्यो । म ऊतिर फर्किएर फिसिक्क हाँसेँ र सायद उसले बुझ्यो – ऊ मसँग रात बिताउन सक्छ, हामी रातभर सँगै मायाँहरू साटेर बिताउन सक्छौँ ।

“बिहानको आठ बजिसक्यो, अब उठ्ने हैन ?” मेरो सम्पूर्ण अनुहारभरि चुम्बन गर्दै उसले उठाउन खोज्यो । हिजो हामीसँगै सुत्यौँ । हिजोसम्म अपरिचित रहेका हाम्रा सम्पूर्ण शरीरका अवयवहरू एक भए । हाम्रो मस्तिष्क, आँखाहरू र छातीहरू एक भए । हाम्रा सबै दृश्य-अदृश्य इन्द्रिहरू एक भए । अहो ! पूरा रात एक मिनेटजस्तो भएर बितिदियो । साँच्चै रात नसिद्धियोस्‌ र हामीहरू छुट्टिन हुँदैन भन्ने कल्पनाले पनि आँखाहरूबाट बलिन्द्र धारा आँसु बहन थाल्यो । सँगको आधक्ति त झनै बढेको जस्तो हुन थाल्यो । बिस्तारै हातमा हात मिलाएर हामी उठ्यौँ । घाम घरको छानामाथि आइसकेछ ।

ऊ गयो, केही क्षणका लागि गएको भए पनि मलाई पीडा दिएर गयो । हुन त उसले मलाई पीडा दिएको भन्न मिल्दैन किनभने उसले एकाबिहानै भनिसकेको छ उसको लक्ष्य मलाई पीडा दिनु पक्कै पनि हैन । उसले मलाई पीडा नदिएर पनि मलाई भने कस्तो पीडाको अनुभव भैरहेको छ सोच्न पनि नसक्नै बनाएर गयो । गएको म झ्यालबाहिरबाट हेरिरहेँ । कति निष्ठुरी मान्छे एकचोटि पनि मलाई फर्किएर नहेरी कसरी ऊ यो लमतरान परेको सडकमा हिँडरहेको छ । ऊ कसरी मबाट टाढिँदै गएको छ । केही क्षण अगाडिमात्रै मसँग हातमा हात र छातीमा छाती मिलाएर बसेको ऊ कसरी अहिले नचिनेजस्तो भएर फटाफट हिँडिरहेको छ ।

हन त हाम्रो भेट अकस्मात्‌ र सोच्नै नसकिने रङ्गीन फिल्मको घटनाजस्तो थियो । “मलाई त तिमी राम्रो पो लाग्यो” एक त्यस्तै सानो स्कुलको कार्यक्रममा उसले मेरो पिछा गर्दै प्याच्च बोलेको अहिलेजस्तो लागेको छ । “के राम्री लाग्दैमा मैले पनि तिमीलार्इ राम्रै मान्नुपर्छ भन्ने छ र ?” मैले पनि आफ्नो रूप र यौवनको घमन्ड गर्दै उसलाई पूरै अस्वीकार नगरी यी कुराहरू गरेकी थिएँ र यति बेला भने ऊ मन्दमन्द मुस्कानका साथ मलाई एकोहोरो हेरिरहेको थियो । “हामीसँग मायाँ गर्दा के बिग्रन्छ र !” उसले पहिलो भैटमै मलाई मैले नसोचेको प्रस्ताव राख्यो र हाँस्यो । हेर्दा खाइलाग्दो, उमेर पनि मिल्ने, दुई घण्टासम्म पनि भाषण छाँट्न सक्ने भनौँ एकदमै फर्साइलो लागेकाले गर्दा पनि मलाई चाहिँ उसको प्रस्ताव राम्रो लागेको थियो । त्यसपछिका दिनहरू त बिहान सबेरैदैखि मध्यरातसम्म पनि दुवै जना एक ठाउँमा घण्टौँ बस्न थाल्यौँ । मैले त आफूलाई रित्याएर उसलाई आफ्नो रूप र यौवन पोखेँ । उसले मेरो यौवनको पोखरीमा धेरै बिउ रोप्यो; धेरै पौडी खेल्यो, धेरै खम्बाहरू गाड्यो । उसले र मैले धेरै बैँसहरू पोख्यौँ । अझ भनूँ शारीरिक सम्बन्धबाट नै हाम्रो प्रेम सुरु भयो र आत्मासम्म पुग्यो । हातहरूबाट छातीसम्म पुग्ने गरेको मायाँ गर्दा र दुवैका आँखाहरू नसुकुन्जेल रुँदा त साँच्चै नै मन भरङ्ग हुँदो रहेछ । “बिहे नगर्ने तर जीवनभर यसरी छातीमा छाती र हातमा हात राखेर मायाँ त गर्न सकिन्छ नि?” हरेक रात ऊ मसँग सुत्दा यसरी नै विह्वल हुन्छु र एक हुने कोसिस गर्छु । मलाई उसका यी सबै अवयवहरूले आनन्ददायक पीडा दिएको महसुस हुन्छ र उसलाई स्विकार्दै जानुलाई मैले मायाँको विजय नै सम्झन्छु ।

“तिमीलाई थाहा छ ? हिजो राति म अर्कै केटीसँग सुतेँ तर तिमी, तिम्रा कुराहरू, तिम्रो ढुकढुकी र तिम्रो व्यवहारले भने मलाई यति धेरै पीडा दियो कि मैले त्यो केटीमा पनि तिम्रै प्रतिरूप पाएको अनुभव गरेँ । अनुभवकै कुरा त हो नि तिमी नै सम्झेर उसलाई रातभर सुमसुम्याएँ । मलाई थाहा थियो, ऊ वेश्या हो तर तिमी नै सम्झेर नथाकुन्जेल चुम्मा खाएँ । मलाई माफ गर त म भन्न सक्दिनँ किनभने म अरूसँग सुतेर आएको छु तर मेरो मन तिम्रो रूप र शरीरप्रति साँच्चै नै इमानदार रहेछ ।” उसले कुनै धक् नमानी यो कुराहरू बोल्दा त मलाई सहन नसक्ने पीडा भयो । “अब तिमी मेरो शरीरका लागि आवश्यकता मात्रै हुन सक्छौ तर मेरो लोग्ने हुनै सक्दैनौ ।” मैले पनि सहन नसक्ने पीडा र छटपटीका साथ यी कुरा गरेँ र त्यो घटना घटेको पनि धेरै भएको छैन ।

म भने यतिखेर के पनि सोचिरहेकी छु भने ऊ मेरो लोग्ने हुनै सक्दैन र झिङ्गा भएर ऊ गएको टाढा-टाढा गएको हेरिरहेकी छु । लगातार पीडाका साथ र प्रतीक्षाका साथ झ्यालबाट एकोहोरो अर्धपागलजस्तो ऊ गएको हेरिरहेकी छु । उसले मेरो प्रेम, मेरो शरीर र मेरो समर्पणलार्इ यति हलुका ढङ्गले लिन सक्छ भन्ने सोचाइले मलाई झन्‌झन् व्यथित र पीडित बनाएको छ र म आफ्ना आँखाहरूबाट झरिरहेका आँसुहरू रोक्न पनि सकिरहेकी छैन ।

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनुभएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 

पाँच पुस्तक लेखिसक्नुभएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)