दिनको १२ बजेको हुँदो हो, मोबाइल फोनको घण्टी बज्यो । प्राचार्यले गर्नुभएको रहेछ ।

फोन उठाएर “हजुर सर” भन्न नपाउँदै मलिन आवाजमा भन्नुभयो, “सर, एउटा दुःखद् खबर छ ।”

मैले हतारिएर सोधेँ, “हँ, कसलाई के भयो ?”

प्रतिउत्तर साह्रै अप्रिय आयो ।

दिपेशको असामयिक निधनको खबर थियो त्यो । मेरा हातखुट्टा लगलगाउन थाले ।

ती बाबु विद्यालयकै एक शिक्षिकाको छोरा थिए । सहायक प्राचार्यलाई टेलिफोन गर्दै भनेँ, “मैले एउटा अप्रिय खबर सुनेँ, के यो सत्य हो ?”

“हजुर, हो सर ! बाबुको शव सिभिल हस्पिटलमा छ । म स्कूल जाँदै छु ।” कम्पनसहितको आवाजमा घटनाको पुष्ट्याँइ थियो यो । म अवाक् भएँ ।

फागुपूर्णिमाको दिन थियो । सबैजना हाँसीखुसी रङ्गहरुको पर्व “होली” मनाइरहेका थिए । म पनि परिवारसँग रमाउँदै थिएँ । हतारिएर बाथरुम गई नुहाउन थालेँ ।

अकस्मात् मेरो रवैया परिवर्तन भएकोले श्रीमती आत्तिइन् । यो स्वभाविक पनि थियो । “कसलाई के भयो र ?” मसँग उत्तरको अपेक्षा गरी ढोका ढक्ढक्याउन लागिन् ।

अकल्पनीय त्यो खबरले मर्माहत मैले आफूसँगै होलीमा रमाइरहेकी श्रीमतीलाई समेत जानकारी दिन भुलेछु ।

वास्तवमा म हतारिएको थिएँ । म छिटो हस्पिटल पुग्न चाहन्थेँ । म दिपेशसँग बोल्न चाहन्थेँ । त्यो टेलिफोन संवादसँगै आएको खबर झूट भएको प्रमाणित गर्न चाहन्थेँ । तर सत्यलाई असत्य बनाउने हिम्मत मसँग पो कहाँ थियो र !

मनमा अनेकन् कुराहरु खेल्न थाले । आज, दुनियाँ रङ्गीन छ तर आज एक परिवार, जो यसअघि पनि अकल्पनीय दु:खको सागरमा डुबेको थियो, उसैमाथि फेरि पनि वज्रपात परेको छ । एउटा घाउमा लगाएको मल्हम सुक्न नपाउँदै फेरि अर्को घाउ बनेको छ ।

कहिल्यै पुरिन नसक्ने गरी, मुटुमा किला गढे झैं ।

सहनेले पनि कसरी सक्नु, चोट माथिको त्यो चोट ।

दैव पनि कति निष्ठुरी हुन सकेको ! दुई वर्षको अन्तरालमा एकै परिवारका दुवै जना सन्तान चुँडी लग्यौ है ? कति धेरै आरिस त तिम्रो त्यो परिवारको खुसीमाथि !

संयोग पनि कस्तो अचम्मको ! दुवै दिदीभाइको मृत्यु १४ वर्षकै उमेरमा ! मरण पनि उति नै समयको अन्तरालमा ! अनि व्यथा पनि एकै किसिमको !

सामान्य हिसाबले पेट दुख्छ । बिस्तारै स्वास फेर्न गाह्रो हुँदै जान्छ । छटपटिन थाल्छन् अनि अचेत हुँदै ३/४ घण्टामा प्राण जान्छ । हस्पिटल पुर्याइन्छ तर चिकित्सकबाट हस्पिटल ल्याउन ढिला भइसकेको जानकारी आउँछ । रोग पनि पत्ता लाग्दैन । के गरेको भए बचाउन सकिन्थ्यो भन्ने पनि थाहा लाग्दैन ।

आफ्ना दुवै सन्तान २ वर्षभित्र गुमाउनुको पीडा कसले अनुमान गर्न सक्छ र ? सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ, भक्कानो फुट्छ अनि मुटुको चाल रोकिन खोज्छ ।

कठै ती अबोध लालाबाला ! लाउँलाउँ र खाउँखाउँको बेला थियो । स्कूलका विद्यार्थी थिए । अध्ययनमा अब्बल थिए । क्षमता र प्रतिभाले भरिपूर्ण थिए । अनुशासित थिए । सरल अनि शालिन थिए । के थियो र तिनीहरुको दोष ? कसको के बिगारेका थिए र यति छिट्टै लग्यौ भगवान् ? सबैको यो प्रश्न थियो, ईश्वरलाई ।

उनीहरुप्रति बाबुआमाले निकै ठूलो सपना सजाएका थिए । अनि त्यही सपना साकार पार्न अहोरात्र मेहनत गर्दै थिए । सुन्दर भविष्यको कल्पनामा रमाउँदै थिए । तर आज ती सबै सपना चितामा जल्दै थिए । सबै यादहरु हरक्षण घोच्ने काँडा बनेर मुटुमा बिझ्दै थिए ।

परिवारमा बाँकी भए केवल दुई दम्पति ! तिनै अभागी बाबु र काख रित्तिएकी आमा ! अनि साथमा छन्, तिनका दर्दनाक पीडा र हृदयविदारक यादहरु !

साह्रै सज्जन थिइन्, ती शिक्षिका । सरलता र शालीनता सायद तिनकै पेवा हुन् जस्तो लाग्थ्यो । किनकि त्यो उनलाई जति अरु कसैलाई सुहाउँदैनथ्यो । दशकौँदेखि सँगै अध्यापन गर्ने दर्जनौँ शिक्षिकाहरु समेत मभन्दा दृढ पाएको थिएँ यस विषयमा ।
एकातर्फ मेरो मनमा भएको भगवानको आस्था र विश्वास, अर्कोतर्फ आजको यस घटना ! भगवान छन् कि छैनन् ? मेरो मनमा अनेकन् प्रश्नहरुको बाढी आउन थाल्यो ।

म सानै हुँदादेखि नै बुबाले बारम्बार पाप र धर्मको भिन्नता खुट्याई रहनुहुन्थ्यो । सदा धर्मकर्ममा लाग्न प्रेरित गर्नुहुन्थ्यो । असल बन्न र भलाइका काम गर्न उपदेश दिनुहुन्थ्यो । भलो गरे फल पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो । बुबाका ती उपदेशजन्य वाणीहरु मेरा कानमा गुञ्जिन थाले । यादहरु तछाडमछाड गरी ओइरिन थाले, वर्षाको भेल झैँ ।

एक हिन्दी गीतको स्मरण भयो, “तूने जो किया होगा, भला कर भला होगा, बुरा कर बुरा होगा ।”

स्कुले जीवनमा पढेको हिरण्यकश्यपु र प्रल्हादको बारेमा लेखिएको पौराणिक कथा सम्झन पुगेँ । हामीले मान्दै आएका सबै भगवानका तस्बिरहरु मेरा आँखा अगाडि देखापर्न थाले । ती सबैलाई एकैठाउँमा भेला पारी एक-एक गर्दै सोध्न मन लाग्यो ।

म कठोर हुँदै गएँ । तिनीहरुमाथि घृणा लाग्न थाल्यो । तस्बिर र कहानीमा सुनेका भगवानको अस्तित्व माथि शङ्का लाग्न थाल्यो । ती कहानीहरुमाथिको सत्यता केलाउन मन लाग्यो । अझै भनूँ, भगवानको अस्तित्व खोज्न मन लाग्यो हिरण्यकश्यपुले झैँ ।

छाती पिटीपिटी चित्कार र रोदन मिसिएको आवाजमा भगवानलाई आफ्नो कुनचाहिँ गल्तीको सजाय हो, यो ? भनी सोध्ने आमालाई सम्झाउने बुझाउने हिम्मत कसैको भएन । सबै निःशब्द थियौं । आखिर बोल्नलाई के नै पो बाँकी थियो र त्यहाँ । हरेक शब्द औचित्यहीन बनेका थिए त्यस क्षण ।

बुबाको क्रन्दन र आवेगले हस्पिटलको आकस्मिक कक्ष नै स्तब्ध थियो ।

निकै बेरसम्म सम्हालिन नसकेको त्यो दम्पतिलाई जसरी पनि सम्हाल्नुको विकल्प थिएन ।

निकै बेरको अथक प्रयासपछि केही आफन्तहरु र सहकर्मी शिक्षक शिक्षिकाहरुले सम्हाल्ने कोसिस गरे । जसोतसो शवलाई पशुपति आर्यघाटमा लगियो ।

हिन्दु संस्कार अनुसार काजकिरिया त गर्नु नै थियो । शवको सदगद गर्नु अनिवार्य थियो । तर कसरी सक्थे र आफ्नो मुटुको टुक्रालाई जलाई खरानी बनाउन ? आफ्नै हातले हुर्काएका प्राणभन्दा प्यारालाई आफ्नै हातले जलाउन कसले पो सक्थ्यो र ! तर ती विवश थिए ।

घरीघरी लडिबुडी गर्दै छोराको मृत शरीरलाई अँगालो मार्दै बरबराएको दृश्य निकै कारुणिक थियो । छाती पिट्दै आफ्नो प्राण पनि यहीँ लिन गरेको अनुरोध र छोरासँग चितामा सँगै जल्ने ती दम्पतिको चाहनाले सबैलाई निःशब्द गरायो ।

अन्तिम संस्कारमा जाने सबै भक्कानिएका थिए । आँखाको डिलबाट आँसु झार्दै थिए । सपना जस्तो त्यो वास्तविकतामा एकोहोरो भई निकैबेर टोलाएछु म पनि ।

यसअघि धेरैजनाको अन्तिम संस्कारमा सहभागी भइसकेको थिएँ । नाता, सम्बन्ध, उमेर, रोग या मृत्युका कारण जे भए पनि हरकोहीलाई मानव मरणको पीडा एकै किसिमको हुन्छ भन्ने सोच्दथेँ तर होइन रहेछ । यो भिन्न थियो । अतुलनीय थियो । अत्यन्तै पीडादायक थियो । अरु कसैको पीडा अनि वियोगसँग पटक्कै मेल खाँदैनथ्यो ।

आजसम्म पनि मेरो मानसपटलमा यो दु:खद् घटनाको याद ताजै छ । मेरो स्मरणमा घरीघरी आइरहन्छ । त्यस यताका हरेक होलीमा मानिसहरु रङ्गहरुमा डुब्दा म टोलाउने गर्छु । किनकि मलाई रङ्गसँगै त्यस दिनको याद आउँछ । एउटा शवसँग दुई मुटु खरानी भएको पलको स्मरण हुन्छ । हो, त्यस दिनदेखि ईश्वर आफैं निःसन्तान भएझैँ लाग्छ । भगवान स्वयं मरेझैँ लाग्छ ।