दिनको ठीक १२ बजे रत्नपार्कको पश्चिमगेटको अपोजिट, बाटोपारी म कपन जाने निलो माइक्रोबसको प्रतीक्षामा छु । यो ठाउँ, जाहाँमैले जिन्दगीका कैयौँ घण्टा विताएको छु । तिनै माइक्रोबसको प्रतीक्षामा । म प्रतीक्षा गर्न अभिषप्त भइसकेको मान्छे । स्वभाविक लाग्छ यो सिलसिला । म मात्रै किन ? यहाँ मान्छेहरु आर्यघाटमा समेत प्रतीक्षारत देख्छु म । लामा लाइनहरु ! जीवन हारेको मृत्युले जितेको, जीवनका साश्वत सत्यहरु ।

अचम्म त के भने असोज महिनाको पारिलो मौसममा समेत काठमाडौँमा हिउँ परेको छ । त्यो पनि मध्य दिनमा । हिउँ परेको घटना सत्तरी नाघेका मान्छेहरुलाई मात्रै थाहा हुने यो शहरमा, पहिलो पल्ट म फुस्स फुस्स उडेका कपासका भुवाहरुले सेताम्मे छोपिएको छु । जसरी पारीजातका फूलहरुले छोपिन्छन् चउरहरु । सिमलका भुवाहरुले ढाकिन्छन् बारहरु ।

बागबजार हुँदै रत्नपार्कतिर आउने बाटो हिउँले निथुक्र भिजेको छ । गाडीहरु पातलिएका छन् । मान्छेह

विष्णु ढकाल

रु फाट्टफुट्ट मात्रै देखिन्छन् । आकाशे पुल उसैगरी सेताम्मे भएको छ । बाटाका रुख, रत्नपार्कका बगैँचा, बोटबिरुवा, फूल सबै सेताम्मे छन् । चराचुरुङ्गी फ्याट्टफ्याट्ट पखेटा फट्फटाउँदै हिउँसँग पौँठेजोरी खेल्दै छन् । यस्तो लाग्छ जिन्दगीमा ती पहिलो पल्ट यति विध्न खुशी र उद्वेलित भएका छन् । डोजर सडकमा हिउँ पन्छाउँदै छ । केही मान्छेहरु बाक्ला लुगामा रमिता हेर्न झुम्मिएका छन् । त्रिचन्द्र कलेजका विद्यार्थी र नजिकै रहेको प्रहरी चौकीका केही प्रहरीहरु पनि सामेल छन् त्यो रमितामा । मलाई विश्वास लाग्दैन काठमाडौँमा यी दृश्य । आफैलाई चिमोट्न मन लाग्छ । सक्दिन । जाडोले कठ्याङ्ग्रिएको हात, असमर्थ छु ।

यो सबै चर्तिकला हेर्दै बाटोमा उभिएको म उसैगरी उभिइ रहन्छु । निलो माइक्रो अझैसम्म आइपुगेको छैन । हिउँ परेका बाटाहरु छिचोल्दै डिल्लीबजारको ओरालोबाट सजिलै ओर्लिएर ऊ अरु दिनहरुमा जस्तै मलाई लिन रत्नपार्कसम्म आउँछ÷आउँदैन त्यो पनि थाहा छैन ? म हिउँका कपासहरुले छोपिएर लुगलुग काम्दै आशाहरु जीवित राखी उसैको प्रतीक्षामा छु । माइक्रोबस मेरो आशाको समुन्द्र हो ।

बाटो पारि फुटपाथमा चाइनिज घडी बेच्न बसेको पसले छातामा ओढियर हिउँको प्रतिकार गरिरहेछ । जीवनभर समय बेचेर आफ्नै समय चिन्न नसकेको उसको बुढौली शरीर हिउँले कक्क्रिएको छ । अरु दिन जस्तो ग्राहक छैनन् आज । फुटपाथमा बस्ने ब्यापारीहरु पनि निकै कम छन् । घडी ब्यापारीको छेउमै बसेको भविष्य ज्ञाता ज्योतिष हिउँ परेकोमा आश्चार्य चकित देखिन्छ । मानौँ यतिखेर उसको एस्ट्रोलोजी फेल भएको छ । उसैको बगलमा वेट जोख्ने मेसिन राखेर बसेको, सेतै फूलेको दारी भएको र यसअघि पनि काठमाडौँमा हिउँ परेको अनुभव गरिसकेको जस्तो लाग्ने वृद्ध मान्छे आफ्नो फूलेको दारीबाट हिउँ टक्टकाउँदै छ । यस्तो लाग्छ, यतिबेला उसैको दारीको हिउँ काठमाडौँमा झरिरहेछ ।

यतिन्जेलसम्म नारायणटार, नयाँबस्ती जाने एकदुईवटा निलो माइक्रोबस मात्रै आइपुगेका छन् । हिउँ परेकाले मात्रै होइन, दिउँसोमा यसै पनि यात्रु कम हुने भएकाले उनीहरु यात्रुको प्रतीक्षामा छन् । यात्रु भए पनि नभए पनि त्यही रत्नपार्कको एउटा कुनामा जडीबुटी बेच्न राखेको ब्यापारीको टेपरेकर्डरमा बजिरहने विज्ञापन जस्तै निरन्तर चिच्चाइरहने माइक्रोबसका सहयोगीहरु चिच्चाइरहन्छन् । ‘बौद्ध, जोरपाटी, नारायणटार, माकलबारी !’ ‘बोद्ध, जोरपाटी, नयाँबस्ती !’ म कान ठाडो पारेर सुन्छु । कतै कुनै सहयोगीले ‘मैतीदेवी, चावहिल, कपन, दुर्गामन्दिर’ भनिहाल्छ कि भन्ने आशमा ।

मलाई चियाको तलतल लागेको थियो । यताउति हेरेँ । देखिनँ । म उभिए छेवैमा चिया बेच्ने बूढीआमै पनि छैनन् आज । सलाईले केहीबेर निहुँखोजेँ पनि अन्तत जीत मेरै भयो । मैले चुरोट सल्काएँ र धुवाँ हावामा उडाएँ । आकाशबाट झरेको हिउँ र मैले फुकेको धुवाँ एकैठाउँ मिसिए । हिउँ धुवाँ भयो । धुवाँ हिउँ भयो । मैले हिउँ र धुवाँ दुवै मिसिएको आकाशमा पखेटा हालेका हिउँ परीहरु उड्दै गरेको देखेँ । अचम्म सधैँ धुवाँ र धुलोको कालो बादल मडारिने काठमाडौँको आकाशमा आज हिउँ परीहरुले राज गरेका थिए ।

बाक्लो भुवादार लुगा लगाएका एक जोडी, हिउँका डल्लाहरुले एक अर्कालाई हिर्काउँदै, रमाइलो गर्दै कतै जाँदैथिए । घुटुक्क थुक निलुँ लाग्ने जोडी ! अँगालिएर पर पुगेको टुलुटुलु हेरिरहेँ । तिनको अँगालोबाट निस्किएको ताप र चुम्मनको रापले मलाई न्यानो पारेन ! मुटु कामिरह्यो ! दिमाग रनन्न रन्कियो ! मैले सुभानालाई सम्झिएँ । ऊसँग त्यसैगरी नारिएर रत्नपार्कको बाटो हुँदै हिउँ छ्यापाछ्याप गरेको कल्पना गरेँ ! थाहा थिएन यतिबेला ऊ के गर्दै थिइ ?

चिया पसलेको गिलास जस्तै दिनमा सयौँ मान्छेको मुखबाट बिटुलिँदै÷पखालिँदै चोखो भएको अभिनय गर्न बाध्य प्रेम, बदनाम थियो शहरमा । खल्ती टक्ट्क्याउँदा एक कप चिया खान नपुग्ने म जस्तो बेरोजगार युवाको प्रेम, मैले भनिरहनु पर्ने थिएन । म सधैँ हो वा होइनको दोधारमा सुभानाको वरिपरि घुमिरहेँ । धेरैको नियति जस्तै प्रेम मसँग खेलिरह्यो । खेलको नियम, मैले स्वभाविक रुपमा जित÷हारलाई अँगाल्नु थियो । अँगालेँ । मसँग विकल्प पनि त थिएन।

उसैको यादमा टोलाएछु । माइक्रोबसको सहयोगीले ‘मैतीदेवी, चावहिल, कपन, दुर्गामन्दिर’ भनेको पनि सुनिनछु । हतार हतार रन्थनिँदै माइक्रोबस भित्र पसेँ । सिट पाइँदैन कि भन्ने चिन्ता थिएन । माइक्रोबसका सबै सिटहरु खाली थिए । मैले हतार गर्नुपर्ने थिएन । सधैँ परेको बानी, म कपन जाने निलो माइक्रोबसको सबैभन्दा पछाडिको सिटमा एक्लै बसेको थिएँ । हिउँको चिसोले बसेको धोद्रो आवाज ! सहयोगी निरन्तर चिच्चाइ रहेको थियो । तर, यात्रुहरु आउने छाँटकाँट देखिएको थिएन ।

पन्ध्र मिनेट थोत्रो माइक्रो बस र म सँगसँगै थर्थरायौँ । कोही आउने छाँटकाट देखिएन । माइक्रोबसको ड्राइभरलाई हिउँको चिसोमा स्टार्ट बन्द होला भन्ने पीर थियो । मलाई हिउँको चिसोले भन्दा चिसो जिन्दगीले बढी कमाएको थियो । आत्तिएको थिएँ । हामी दुवैलाई कुद्नु थियो । माइक्रोबस यात्रुको खोजीमा थियो । म हराएको, आफ्नै, जिन्दगीको खोजीमा थिएँ । हामी दुवै रित्तो थियौँ । सँगैँ कुद्यौँ ।

जमलबाट कमलपोखरीतर्फ लागेपछि मैले आफ्नो खल्ती छामेँ । त्यही रत्नपार्कको फुटपाथमा किनेको, थोत्रो जिन्सको खल्तीभित्र मेरो खुइलिएको नोकिया ६३०० मोबाइल सुरक्षित थियो । मन ढुक्क भयो । कहिलेकाहीँ यस्तो लाग्थ्यो, मेरो मुटु यही खुइलिएको मोबाइल सेटभित्र धड्किएको छ । यो चल्दा म छु । यो रोकिँदा म छैन । परिस्थिति जस्तोसुकै भए पनि म सामाजिक सञ्जालमा सक्रिय थिएँ । त्यसमा पनि फेसबुक । मेरा सबै साथीहरु फेसबुकमा थिए । मेरो दैनिक बजेट नरित्तिउन्जेल म फेसबुकमा झुम्मि नै रहन्थेँ ।

नेपाल टेलिकमको टुजी डाटा अन गरेँ । ओपेरा मिनी हुँदै फेसबुक अकाउन्ट भित्र खुस्स छिरेँ । लग्यो आफ्नै न्यानो घरभित्र आइपुगेको छु ।

मेरो न्यानो पन धेरै बेर टिक्न पाएन । म छट्पटीएँ । ढक्क मुटु फुलेर आयो । सास रोकिएला जस्तो भयो । चिरचिर पसिना आयो । माइक्रोबस कृष्ण पाउरोटी अगाडि यात्रुको खोजीमा टक्क रोकिँदा मेरो सासै रोकिए जस्तो भयो । म बेस्मारी चिच्चाउन खोजेँ । सकिन । खै के सोचेर सम्हालिएँ । खाली माइक्रोबसको झ्यालबाट बाहिर हेरेँ । काठमाडौँ शहर उही थियो । बाटो उही थियो । घरहरु उही थिए । फरक थियो त, घरका कौसी, कौसीमा हिउँ परेको दृश्य । बाटोभरी हिउँ जमेको दृश्य । मान्छेहरुको पातलो आवतजावत र माइक्रोबसको ड्राइभर हिउँ जमेको जोखिमपूर्ण बाटोमा पनि खाली माइक्रोबस कुदाइरहेको !

सत्य मानु या असत्य ? रोकिएको माइक्रोबसको पछिल्लो सिटमा बसेर आफ्नै मृत्युको श्रद्धाञ्जलि फेसबुकका भित्ताहरुमा पढ्दै थिएँ । विश्वास र अविश्वासको भुमरीमा छट्पटिएका एक हुल सपनाहरु चिच्चाउँदै पुतलीसडकतिर लागे। मैले आफ्नो पाखुरा चिमोटेँ । छुट्टाउन सकिन । जिउँदो छु या मरिसकेँ ? उपाय एउटै थियो । माइक्रोबसको सहयोगीसँग सहायता माग्नु । सोध्नु, ‘भाइ म जिउँदै छु या मरिसकेँ ?’

कस्तो प्रश्न थियो ? संसारमा यस्तो प्रश्न सोध्नै मै पहिलो व्यक्ति हुँ कि झैँ लाग्यो । उसले पनि के भन्ला ? पागल भन्ठानेर यहीँ कतै ओरालीदियोभने ?यत्रोबेर कुरेर बल्ल तल्ल पाएको माइक्रोबस । त्यो पनि खाली सिट भएको । यस्तो हिउँ परेको बेला कपनसम्म हिँडेर जानुपर्यो भने मेरो के हविगत हुने हो ? म रोकिएँ । प्रश्न आफैले आफैलाई सोधेँ । माइक्रोबसको सहयोगीसम्म पुग्न दिइन । उसले मभित्र खसेको पहिरो अनुभव गर्न पाएन ।
हतार हतार म सुभानाको फेसबुक प्रोफाइल तर्फ दौडिएँ । मलाई खै किन यस्तो लाग्यो, मेरा सबै प्रश्नको जवाफ उसको प्रोफाइलमा भेटिनेछ । टुजी र मेरो थोत्रो मोबाइलको स्पिडमा उसको प्रोफाइलसम्म पुग्न मलाई दुई मिनेट लाग्यो । उसले केही समय अगाडि मात्रै फोटो अपलोड गरेकी रहिछ । मेरो फोटोसँगै लेखेकी थिई ‘फिलिङ लस्ट् ! रिप’

आकाशखसेर थिचिएझै म निसासिएँ । मेरो मृत्युको खबर उसले पनि थाहापाइसकिछ । एक मनले सोचेँ, उसले मेरो बारे केही त सोचेकी रहिछ । मेरो अनुपस्थितिमा उसले केही गुमाएको अनुभव त गरिछ । उसको प्रोफाइलमा आफ्नै मृत्यु प्रमाणित गरिरहँदा पहिलो पल्ट म खुसी भएको थिएँ । दुःख त त्यतिबेला लागेको थियो जब विवेकले पहिलो कमेन्ट लेखेको थियो, ‘असल मान्छेहरु छिट्टै भगवानको प्रिय हुन्छन् ! रिप ! सायद नियतिलाई यस्तै केही मन्जुर थियो !’

सुभानाले उसको कमेन्टमा लाइक गरेकी थिइ । सोचेँ, ‘कहिलेबाट म विवेकको नजरमा असल मान्छे भएछु ।’ जो मलाई सबैभन्दा ठूलो दुस्मन मान्थ्यो । आखिर मान्छेको असली रुप उसले पनि देखाइछाड्यो ।

म सुभानाको प्रेममा पागल भएको उसलाई थाहा थियो । त्यै पनि ऊ सुभानालाई आफ्नो बनाउन कम्मर कसेर लागेको थियो । मेराविरुद्ध अनेक हल्ला फैलाएर ऊ सुभानालाई भड्काइ रहन्थ्यो । र मसँग भेटहुँदा सधैँ भन्थ्यो,‘तँ त मेरो असल साथी होस् । म तेरो कुभलो कहिल्यै चिताउन्न ।’

मभित्र घृणा जन्मियो । त्यो घृणा सुभाना विरुद्ध थियो या विवेक विरुद्ध थियो या म आफै विरुद्ध ? मैले छुट्टाउने कोसिस गरिन । मलाई सबैभन्दा घृणा विवेकको कोठामा पाक्दै गरेको मासु र लडेका केही हुस्कीका बोतलहरुप्रति थियो ।

कहिलेकाहीँ उज्याला र खुसीका दिनहरु पनि अन्धकारजस्तै लाग्छन् । मान्छेहरु वषौँ पछि काठमाडौँमा परेको हिउँसंगै खुसीयाली मनाउँदै गर्दा, म रित्तो माइक्रोबस चढेर बाँच्न दौडिएको थिएँ । आफ्नै मृत्युको समाचार थाहापाएर पनि मेरो बाँच्ने अभिलाषा मरेको थिएन । सपनाहरु लुटिएरै सहि म बाँच्न चाहन्थेँ ।

निलो माइक्रोबसले कतिबेला कपन मिलनचोक पुर्यायो थाहा पाइन । सहयोगी भाइले भाडा मागेपछि झसँग भएँ । पछिल्लो गोजीबाट पर्स झिकेर रु.एक्काइस भाडा तिरेँ । माइक्रोबस आफ्नो बाटो लाग्यो । म आफ्नो बाटो लागेँ । मिलनचोक बाट पाँचमिनेटको पैदलदुरीमा थियो मेरो सानो कोठा । जहाँ वषौँदेखि मेरा सपनाहरु लथालिङ छरिएका थिए ।

फराकिलो बाटो छाडेर मान्छे मात्रै हिँड्ने साँघुरो गल्ली हुँदंैँ कोठामा पुग्नै लाग्दा कल्याङमल्याङ आवाज सुने । मान्छेहरु थुप्रिएका थिए । ससानो भीड लागेको थियो । मै बस्ने घरमा मान्छेहरु बाहिर–भित्र गरेका थिए । प्रहरी पनि देखिन्थे । मुटु एकपल्ट फेरि ढक्क फुल्यो । मान्छेहरु मेरै कोठा अगाडि झुम्मिएको देख्दा अत्यासलाग्यो । केही नभएको म जस्तो बेरोजगार युवाको कोठामा पक्कै चोर पसेको थिएन । ढोकाको साँचो मैसँग थियो । चोरको डरलेभन्दा पनि ईश्वरको डरलेकोठाको साँचो लगाउँथे म । यो सहरमा चोरभन्दा धेरै ईश्वर बदनाम थियो ।
हतार हतार दौडिएँ । मभन्दा अगाडि मेरो जिज्ञाषा दौडियो । मान्छेहरुको भीड पन्छाउँदै मैले आफ्नै कोठा नियाले । लथालिङ्ग, अस्तव्यस्त मेरो कोठाभित्र मेरो आफ्नै सपना झुण्डिएको थियो । म झुण्डिएको थिएँ । एक पटक फेरि विश्वास लागेन । फर्किएँ । कसैले चिन्लान् भन्ने लाग्यो । बाक्लो मफलरले मुख छोपेँ । डर लाग्यो । मृत्युभन्दा धेरै मान्छेहरुसँग डराएको थिएँ म ।

छेवैको कोठामा बस्ने तामाङनी दिदीका आँखामा आँशु थिए । मैले म आफैँलाई गर्ने मायाँ भन्दा धेरै उनी मलाई मायाँ गर्थिन् । अघिल्लो जन्मको पुण्यको फल, उनी मेरो छिमेकी भइन् । धेरै पल्ट मेरो भोको पेट उनैको कोठामा भरिएको थियो । बिरामी हुँदा स्याहार गर्नेदेखि हरेक सुख दुःखको साथी थिइन् उनी । उनको आँखाको आँशुले मलाई परीक्षण गर्दै थियो । म ज्यूँदै छु या मरिसकेँ ?

घरबेटी आमै एउटा कुनामा उदास देखिन्थिन् । उनको उदासीको कारण बुझेको थिइनमैले । केही बेरमै सबैकुरा थाहा भयो । उनी छिमेकीसँग कुरा गर्दै थिइन्, ‘खै कहाँको हो, पश्चिमतिर हो घर भन्थ्यो । तीन महिना भो भाडा नतिरेको । सधैँ भागेर हिँड्थ्यो । कोठामा पनि केही समान छैन । फेरि झुण्डीएर मरेछ । ज्यूदो हुँदा त दुःख दियो दियो । मरेर जाँदा पनि छाडेन । अब यो कोठा, फेरि को आउला भाडामा ?’

बूढीको मुखमा प्वाक्क हान्न मन लागेको थियो पैसाको बिटोले ! गोजी छामेँ । तीन महिनाको भाडा सात हजार पाँच सय पक्कै थिएन ! फरक्क फर्किएँ । परीक्षण सकियो ! म साँच्चै मरेको थिएँ !

त्यहाँ बसिरहनउचित लागेन । जाऊँ त जाऊँ कहाँ जाऊँ ? त्यही बेला नोकिया ६३०० मोबाइलमा घण्टी बज्यो । मेरै गाउँको किस्ने रहेछ । दुई वर्ष भयो, खाडीमा सुतेकोसुत्यै भएको । बाकसमा कोचियर फर्किएको उसलाई गाउँभरीका सपनाहरुले पोलेका थिए नजिकैको घोप्टे खोलोमा । ऊ गएदेखि म एक्लो भएको थिएँ । काठमाडौँमा ऊ नै मेरो रुम मेट थियो । आज एक्कासि फोन आयो । दुई वर्ष अगाडि मरेको मान्छे, फोन गरेको छ, उठाऊँ कि नउठाऊँ लाग्यो । विश्वास लागेन कसरी भनौँ ? विश्वास लाग्ने सबै कुरा कहाँ भएको थियो आज? फोन उठाउनै पर्ने थियो । ज्यूँदाहरुले लखेटिएर भाग्दै हिँडेको मसँग विकल्प पनि त थिएन । गरुँ त गरुँ के गरुँ ? फोन उठाएँ । किस्ने पशुपतिमा रहेछ । वनकाली जान मलाई नै पर्खिरहेको । बनकालीमा एक दिने मृत्यु उत्सव आयोजना गरिएको उसैबाट थाहा पाएँ । मिलनचोक फर्किएर फेरि निलो माइक्रो चढेँ । हिउँ पर्न कम भएकाले सडकमा भीड बढेको थियो । जय बागेश्वरीमा ओर्लिएर ओरालो लागेँ । किस्ने आर्यघाट छेवैमा मलाई नै पर्खिरहेको थियो । हामी बागमती तरेर बनकालीको जङ्गलतर्फका खुड्किलाहरु उक्लिँदै थियौँ ।

त्यसै बेला मैले देखेँ, हाम्रो अघिअघि बोक्सीको आरोपमा ज्यूँदै जलाइएकी मरनी देवी, दाइजो नल्याएकोमा मट्टीतेल छर्किएर जलाइएकी नसिमा सँगै खुट्किलाचढ्दै थिए । पछाडि फर्किएँ, हाम्रो पछिपछि छाउगोठमा बलत्कृत भएकी सीमा र युद्धमा मारिएको बुद्धि मास्टर सँगसँगै थिए । त्यसैबेला हस्याङफस्याङ गर्दै सबैलाई उछिन्दै आइपुग्यो दलवीर, अस्तिभर्खर भीरबाट खसेको बसको ड्राइभर मोरोलाई यहाँ पनि हतार थियो । सबैलाई उछिन्दै थियो । पाँच मिनेटको बाटो उक्लिएपछि पुग्यौँ हामी उत्सव आयोजना भएको ठाउँ । चौरमा टेन्टहरु लगाइएका थिए । जाडो भगाउन ठूला ठूला मूढा बालिएका थिए । आगो छेउमा आगन्तुकहरु भेला हुँदै थिए । एउटा यस्तो उत्सवको सुभारम्भ हुँदै थियो, जहाँ मृत आत्मा ज्यूँदाहरुको खुसीका लागि एकत्रित भएका थिए ।
कार्यक्रम सुरुवात हुने समय भएको थिएन । मलाई यो उत्सव औधि रोचक लाग्दै थियो । सबैतिर आँखा डुलाएँ । थप परिचित अनुहार थिए त्यहाँ । डिप्रेसनले मरेको र्याप गायक, भिडियो लिक भएर आत्महत्या गरेकी नाइका, चुनाव हारेको सभासद, आन्दोलनमा सहिद भएको कृष्ण राम, जगेडामा परेर मरेको सचिव मोहन, सुत्केरी व्यथाले च्याप्दा च्याप्दै उपचार नपाएर मरेकी शशिकला, माटोको ढिस्कोले पुरिएकी जमुना, कुपोषणले मरेको जुठे, भूकम्पमा परेर मरेको नन्दराम, गोली खाएर मरेको पत्रकार सुवर्ण, परिवारले हेला गरेर मिल्काइएकी गुरुआमै, हिमालमा भारी बोक्दा बोक्दै चिप्लिएको पासाङ यस्ता थुप्रै, थुप्रै ।

धेरै बेर कुर्नु परेन । उत्सव सुरु भयो । भर्खरै मरेकाहरु प्रमुख अतिथि थिए । आयोजकले मलाई पनि प्रखुम अतिथि घोषणा गरे । बाँचुन्जेल कहिल्यै फूलमाला नभिरेको म, अहिले प्रमुख अतिथि भएर फूलमाला पहिरिएको थिएँ ! धेरै विषयमा छलफल हुँदै थियो उत्सवमा, वक्ताहरु, समाजिक कुरीति, कुसंस्कार, देश, राजनीति, विकास, अर्थतन्त्र सबैको बारेमा आफ्नो धारणा व्यक्त गर्दै थिए । तीनको कारण र परिणामका बारे छलफल हुँदै थियो । गुनासो पोख्दै थिए । प्रमुख अतिथिका नाताले मैले पनि मन्तव्य दिनुपर्ने भयो । अकस्मात प्रमुख अतिथि बन्नुपरेको कारण कुनै तयारी गरेको थिइन । तैपनि रोकिइन । मलाई धेरै थाहा थिएन कुरीति, कुसंस्कार, देश, राजनीति, विकास, अर्थतन्त्र म त आफ्नै उल्झनमा अल्झिएको थिएँ । भाषण के गरुँ ? मैले सबैका सामु सुभाना र विवेकको प्रेम सफल होस् भन्ने कामना गरेँ । भाडाको कोठा छाडेर तामाङनी दिदी आफ्नै घर फर्किन सकून् भन्ने कामना गरेँ । गाउँमा रहेका मेरा बाआमाले करेसामा फलेको काउली बेचेर जीवन निर्वाह गर्न र मेरो घरधनीको ऋण तिर्न सकून् भन्ने कामना गरेँ । के गरुँ ? मर्दा पनि मलाई आफ्नैहरुको चिन्ताले पोलिरह्यो । किस्ने ताली बजाउँदैँ थियो । मैले आफ्नो मन्तव्य अन्त्य गरेँ । उत्सव चलिरह्यो ।

मलाई उत्सवभर त्यहाँ बसिरहन मन लागेन । किस्ने रोक्दै थियो, मैले मानिन। ऊ मेरै साथ लागेर फर्कियो । भोलिपल्ट बिहान आर्यघाटमा हामी दुवै पत्रिका पल्टाउँदै थियौँ । मृत्यु उत्सवको समाचार प्रमुखताका साथ छापिएको थियो । हामी दुवैले निष्कर्ष सँगसँगै दोहोर्यायौँ । मृत्यु जीवनको अन्त थियो विकल्प थिएन ।