ऊ खासै दुःखी त थिइन तैपनि खै किन हो आफ्नो नामको पछाडि यही शब्द झुन्ड्याउन मन पराउँथी । मान्छे सानै भएपनि धेरै ठूला-ठूला कुरा गर्न सिपालु थिई । पढाइमा पनि कहिल्यै ऊ तेस्रो भइन, प्रथम र द्वितीयमा नै उसको प्रतिस्पर्धा चलिरह्यो । सायद उपन्यास र पत्रपत्रिका अनि साथी सङ्गतको असरले होला कक्षा सातको अन्तिम परीक्षा दिनुभन्दा पहिले नै उसले प्रेमपत्र लेख्न जान्ने भएकी थिई ।

ऊ विवेकलाई असाध्यै मन पराउँथी । जीवनका हरेक सपना ऊ विवेककै साथमा देख्थी । विवेकविनाको जीवन ऊ सपनामा पनि कल्पना गर्न सक्तिनथी । विवेकलाई एकदिन मात्र पनि नदेख्दा उसको जिउमा घाम लाग्दैनथ्यो, खै के के हराएको जस्तो हुन्थ्यो । विवेकको छाया देख्दा मात्र पनि ऊ यति धेरै फुरुङ्ग हुन्थी कि भोक तिर्खा सबथोक बिर्सिन्थी । उसका अङ्गप्रत्यङ्ग रोमाञ्चित भएर कल्पनाको सागरमा पौडी खेलिरहेका हुन्थे । ऊ त्यही संसारमा आह्लादित हुन्थी, दुनियाँ बिर्सन्थी । १२/१३ बर्से कलिलो उमेरदेखि नै उसको मनमा विवेकप्रतिको प्रेम अगाध थियो ।

विवेक गाउँको सामान्य परिवारमा जन्मेहुर्केको एउटा सुन्दर, सुशील र मिलनसार किशोर थियो । कसैसँग झैझगडा नगर्ने, चाहिएको कुरा मात्र बोल्ने र मीठो बोल्ने उसका विषेशता नै थिए । कोसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान थियो विवेकलाई । उसको बोली, वचन र बानीबेहोराको विषयमा गाउँका ठूलाबडाहरू पनि चर्चा गर्थे । हुन त विवेक सानोतिनो बदमासी गर्दै नगरेको भने होइन तर उसका बदमासीहरू कसैले कहिल्यै चाल पाएनन् । पढाइ सामान्य भए पनि गाउँका केटाहरूबिच टाठो बाठो गनिन्थ्यो । सोझो अर्थमा भन्नुपर्दा ऊ कहिल्यै कसैको आँखामा बिझाएन ।

ऊ त्यति बेला कक्षा सातमा पढ्दै थिई जब विवेकलाई पहिलो प्रेमपत्र लेखेकी थिई र साथी योगेशलाई पुऱ्याउन लगाएकी थिई । साँझपख थामबारीमा बसेर विवेकले उक्त पत्र पढ्यो । उसलाई के गरूँ के नगरूँ जस्तो भयो । त्यति बेला स्कुलतिर एक किसिमको प्रेमपत्र लेख्ने लहर नै चलेको थियो अनि कसको लभ कोसँग पऱ्या छ, थाहा नपाउने पनि कमै हुन्थे । विवेकलाई किन-किन यो कुरा उचित लागेन । पत्रवाला योगेशलाई “अबदेखि यसो नगर्नू रे भन्देस्” भन्दै चिठी च्यातेर फाल्यो ।

विवेक र ऊ एउटै गाउँका भएको हुनाले दिनहुँजसो भेटघाट भइ नै रहन्थ्यो । चाडपर्व आउँदा गाउँमा हुने सांस्कृतिक कार्यक्रमहरूका नायकनायिका नै थिए उनीहरू । तिहारमा देउसीभैलो खेल्दा रातबिरात गाउँका अप्ठ्यारा बाटाहरू र खाल्डाखाल्डीमा विवेकले नै उसको हात समाएर लड्नबाट जोगाउँथ्यो । विवेकले उसको हरकुरामा साथ र सहयोग दिन्थ्यो । उसका आमाबाबुले पनि विवेकलाई धेरै मायाँ र विश्वास गर्थे । सायद विवेकसँगैको उनीहरूको अभागी छोराको झझल्को विवेकको अनुहारमा देख्ने कोसिस गर्थे उनीहरू । घरमा परिआएको सानो तिनो समस्याहरू पनि उनीहरू विवेकलाई भनेर रायसुझाव माग्थे । यस्तै कारणले पनि होला ऊ विवेकप्रति आकर्षित भएकी । उसका तनमन अब उसका नियन्त्रणमा थिएनन्, स्वतःस्फुर्त रूपमा विवेकतिर खिचिइरहेका हुन्थे । विवेकले पनि उसलाई धेरै मायाँ गर्थ्यो तर जुन नजरले उसले विवेकलाई हेर्थी त्यो नजरले विवेकले कहिल्यै हेर्न सकेन । सधै भेटघाट भए पनि उसले कहिल्यै मुख फोरेर यो कुरा भनेकी थिइन, उसको प्रेमप्रस्ताव केवल पत्रमा नै सीमित थियो, जसलाई विवेकले खासै चासो दिँदैनथ्यो ।

समय बित्दै गयो, ऊ पनि कक्षा चढ्दै गई तर विवेकलाई पत्र लेख्न छाडिन । यो समयावधिमा ऊ चिठी लेख्ने कलामा पनि पोख्त हुँदै गएकी थिई । कहाँ-कहाँबाट कस्ता-कस्ता सारगर्भिक शब्दहरू बटुलेर प्रेमपत्रमा फूलबुट्टा भर्थी । यति बेलासम्म ऊ सानोतिनो कवयित्री पनि बनिसकेकी थिई । चिठीमा मुक्तक, सायरी र कविताहरूले पनि विशेष स्थान पाउन थालिसकेका थिए । योगेश बिचरा चिठी नलगिदिए ऊ रिसाउने लगेर विवेकलाई दिँदा उल्टै गाली खानुपर्ने । एक दिन विवेकले योगेशलाई साह्रै हपाऱ्यो – “तँ किन व्यर्थै हुलाकी बन्छस् हँ ? तँलाई थाहा छ यार मलाई यो सब मन पर्दैन, प्लिज अबदेखि यो चिठी ल्याउने काम नगर् र उसलाई पनि भन्दे चिठी नलेख्न भनेर ।” विवेकको अनुहारमा रिस र हैरानीका लहरहरू सँगसँगै दौडिरहेका थिए । “मलाई के भन्छस्, उसैलाई भन् न । नभए एउटा सानो कागजमा लेखेर पठाइदे आयन्दा यसो नगर्नू भनेर ।” योगेशको कुरा पनि विवेकलाई ठिकै लाग्यो । त्यसै रात विवेकले पहिलो पत्र लेख्यो-

“प्यारी ——

तिमी किन मप्रति यति धेरै मरिहत्ते गरेकी? म पनि तिमीलाई मायाँ गर्छु तर तिमीले सोचेको जस्तो होइन । मैले तिमीलाई एउटा बहिनीका रूपमा अथवा एउटा असल साथीका रूपमा मात्र हेर्ने गरेको छु । हेर, यो हाम्रो पढ्ने बेला हो, भविष्य बनाउन केही कुरा सिक्नुपर्ने बेला हो । त्यसैले यस्ता नचाहिँदा कुराहरूमा समय बरबाद गर्न छाडिदेऊ र फेरि पनि पत्र लेख्न छाडिनौ भने मभन्दा नराम्रो अरू कोही हुने छैन ।” पत्र पट्याएर विवेकले योगेशलाई दियो, योगेशले उसलाई । विवेकको पत्रले समस्या समाधान गर्ला भनेको त झन् उग्र रूप लियो । चिठी पढिसकेपछि उसको जीवनमा आँधी आयो, उसका सपनाहरूमाथि तुषारापात भयो । मुटु छियाछिया भयो । ऊ दिउँसै अन्धकार देख्न थाली । त्यो दिन ऊ स्कुल पनि गइन । दिनभर घरमा सिरानी भिजाउँदै बसी ।

साँझ योगेश विवेकको घरमा आयो । यार तैँलेले के लेखेको थिइस् त्यस्तो । बिचरी हिजोदेखि खाना न पानी भएर घरमा रुँदै बसेकी छे ।” योगेशको कुराले कता-कता गल्ती पो गरिएछ कि भन्ने भयो विवेकलाई । “मैले आज मेरो घरमा बोलाएको छु, तँ पनि आउँछस् त्यहीँ कुरा गर्नू भनिदिएको छु । राम्ररी सम्झा यार् ।” विवेकले के गर्ने के नगर्ने निर्णयगर्नु पहिले नै योगेश त्यहाँबाट हिँडिसकेको थियो ।

राति खाना खाएर विवेक योगेशको घरमा गयो । केही छिनपछि ऊ पनि आई । शृङ्गारविनाको अनुहार मलिन छ, सायद दिनभर रोएर होला उसका आँखा सुन्निएका थिए । नाक रातो न रातो भएको थियो । अनुहारमा कत्ति पनि कान्ति थिएन । आँखाका डिलबाट ठूल्ठूला आँसुका ढिक्काहरू खस्लान् खस्लान् भै देखिएका थिए । उसको मुहार औँसीको रातभन्दा पनि अँध्यारो देखिएको थियो त्यस बेला । योगेश र विवेक मात्र भएको कोठाभित्र छिर्न ऊ अलि अनकनाई । योगेशले विवेकलाई आँखाको इसाराले कतै बाहिर एकान्तमा जाने सल्लाह दियो । विवेक उठ्यो अनि “आऊ” भन्दै अघि लाग्यो, ऊ पछि-पछि आई । केही पर पुगेपछि विवेक उभियो, उसलाई एकपटक हेऱ्यो, -“तिमी किन यसो ……………………..” विवेकले केही भन्न नपाउँदै उसको आँखाका डिलमा रहेको आँसुको बाँध भत्कियो । ऊ सुँक्क-सुँक्क गर्दागर्दै विवेको छातीमा टाउको जोतेर डाँको नै छोडेर रुन थाली । “तपाईँले यसरी लत्याउनुभयो भने मेरो जीवन जिउनुको कुनै अर्थ छैन……….. मलाई तपाईँको केही चाहिएको छैन केवल मायाँ भए पुग्छ, ….. एकपटक मायाँ गर्छु भने पनि सारा जीवन यत्तिकै बिताउन सक्छु ………… किन यति धेरै निष्ठुरी बन्नुहुन्छ? म तपाईँसँग केवल मायाँ माग्दै छु ………. प्लिज तपाईँ नभए म बाँच्न सक्तिनँ ……….. मलाई जीवन दिनुहोस् …………नत्र म आफैँ आत्महत्या ……….।” विवेकलाई असह्य हुँदै गयो, उसले योभन्दा अघि अरू केही सुन्न सकेन । आफ्नो दायाँ हातका औँलाहरू कतिखेर उसको मुख थुन्न पुगेछन्, विवेकलाई पत्तै भएन । अरू बेला जतिसुकै कठोर बने पनि विवेकले उसको आँखामा आँसु देख्न सक्दैनथ्यो । सानैदेखि उसलाई एउटा रोग थियो, -धेरै रोयो भने ऊ बेहोस हुन्थी, सायद उसको मन कमजोर भएर होला । चाहेर पनि विवेकले आफूलाई सम्हाल्न सकिरहेको थिएन । उसलाई डर लागिरहेको थियो ‘कतै मेरो कारणले कुनै अनर्थ त हुने होइन?’ उसको आँसुका अगाडि विवेक मैन भएर पग्लियो । विवेकको मनले भन्दै थियो – ‘यो केटी साह्रै नै जिद्दी छे, यदि तैँले अहिले यसको साथ दिइनस् भने यो जे पनि गर्न सक्छे । त्यसैले प्रेम नगरे पनि दयाको भीख दे यसको जीवनका खातिर । यो केटीलाई मर्न न दे विवेक । नत्र तँलाई ठूलो पाप लाग्छ जुन तैँले जिन्दगीभर प्रायश्चित्त गरे पनि पखालिने छैन ।’ विवेकले उसको आँसु पुछिदियो अनि बिस्तारै उसको कपाल सुमसुम्याउँदै भन्यो –“धत् लाटी, यति सानो कुरामा पनि यत्रो महाभारत गरिहाल्नुपर्छ त ?”

“अनि किन तपाईँ मेरो कुरा बुझ्नु हुन्न त त ?” उसले उल्टै विवेकलाई प्रश्न गरी ।

“मैले त तिमी मलाई कति मायाँ गर्छौ भनेर जाँचेको पो त ।”

विवेकले बिस्तारै उसको निधारमा चुम्बन गऱ्यो । विवेकको एकमात्र न्यानो स्पर्शले ऊ आनन्दविभोर भई । ऊ विवेकको छाती नै चिरेर भित्रै छिरौँलाझैँ गरी अँगालामा कस्सिएर निकै बेर सुँक्क-सुँक्क मात्र गरिरही । जे होस् उसको प्रेमले आज विजय पाएको थियो । उसलाई सधैँभरि विवेकको अँगालामा यसै गरी बस्न पाए हुन्थ्यो, यो रात कहिल्यै बिहान नभइदिए हुन्थ्यो जस्तो लाग्यो । ऊ आफूलाई बिर्सिएर केवल विवेकमा समाहित हुन चाहन्थी । मनैमन आफ्नो सारा सर्वश्व उसले विवेकलाई नै सुम्पिसकेकी थिई । त्यो रात उसलाई असाध्यै मधुर लाग्यो । केही छिन पहिले औँसीजस्तो देखिने उसको अनुहार पलभरमै पूर्णिमाको चन्द्रमालाई पनि मात दिने खालको भइसकेको थियो । उसलाई त्यति बेला थाहा थिएन विवेकले त केवल एउटा सम्झौता गरिरहेको छ, उसको जीवनका खातिर । हो साँच्चै विवेकले ऊसँग मायाँको नाटक गर्नु सिवाय अर्को विकल्प थिएन । भित्रभित्रै मायाँ गरे पनि जीवनसँगै जिउने कल्पना विवेकले कहिल्यै गरेन । एउटा भूल अवश्य गऱ्यो आफ्नो स्वार्थ पूरा गर्न कसैको जीवनसँग खेलवाड गऱ्यो । विवेकले उसलाई मायाँ गरेको अभिनय गरिरह्यो । ऊ त्यसैलाई नै यथार्थ सम्झेर मख्ख परिरही । विवेकले उसलाई लुट्दै गयो ऊ आफूलाई लुटाउँदै गई ।

विवेक एस. एल. सी. पास भएपछि सदरमुकाममा क्याम्पस पढ्न गयो । सहरमा उसका नयाँ-नयाँ साथी सङ्गिनीहरू बन्दै गए । ऊ पनि गाउँमा एस. एल. सी.को तयारी गर्न थाली । पढाइमा त ऊ विवेकभन्दा दुई कदम अगाडि नै थिई । विवेकले पनि क्याम्पसमा राम्रै उन्नति गरिरहेको थियो । उसले पनि राम्रो अङ्क ल्याएर एस. एल. सी. पास गरी । त्यसपछि उसले सि. एम. ए. पढ्ने इच्छा परिवारसमक्ष जाहेर गरी । उसका परिवारले पनि एकपटक विवेकलाई सोध्न भुलेनन् । आखिर ऊ सि. एम. ए. पढ्न अर्कै जिल्लातिर लागी ।

अब तिनीहरूबीचको भौतिक दूरी केही टाढा भए पनि उसले विवेकलाई आफ्नो ह्रदयदेखि कहिल्यै टाढा राख्न सकिन ।

विवेकले यता आइ.कम. पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौँ जाने भयो । केही समयपछि ऊ पनि कम्प्युटरसम्बन्धी अध्ययन गर्ने बहानामा काठमाडौँ पुगी । विवेकसँग पुनः भेटघाटको सिलसिला सुरु भयो । उसलाई थाहा थियो विवेक ऊदेखि टाढा भएपछि धेरै चरनहरू चरिसकेको छ, धेरै थरी स्वाद चाखिसकेको छ । विवेकले जतिसुकै गल्ती गरे पनि उसले कहिल्यै खै गरिन । झन् मेरै मायाँमा केही कमी भएर पो हो कि भनेर अझ धेरै मायाँ गर्न थाली । विवेकले पनि उसलाई मायाँ गर्ने अभिनय गर्न छाडेको थिएन ।

नयाँ वर्षको दिन । गोदावरीमा सधैँभन्दा धेरै भिडभाड थियो । कोही पिकनिकमा झुमिरहेका थिए त कोही एकान्तमा प्रेमीप्रेमिकाहरूको ओठ चुमिरहेका थिए । कतै खुट्टा हाल्ने ठाउँ छैन । वैशाख महिनाको गर्मीले थकित र गलित युवाहरूलाई गोदावरीले शीतलता प्रदान गरिरहेको थियो । ऊ पनि विवेकसँग त्यहाँ गएकी थिई । धेरै बेर उनीहरू त्यहाँ बसे । जीवन र भविष्यका बारेमा धेरै कुराहरू गरे । ऊ अब परिपक्व भइसकेकी थिई । आफ्नो मनलाई नियन्त्रण गर्न सक्ने भइसकेकी थिई । विवाहपछिका योजना र छलफलहरूमा नै त्यो दिन बिताए उनीहरूले ।

विवेकलाई बिस्तारै आफ्नो गल्तीको आभास हुँदै गयो । विवेकलाई आफैँप्रति घृणा लाग्न थाल्यो । कति स्वार्थी भएछ ऊ । कसैको जीवनसँग खेलबाड गर्ने अनुमति उसको मनले दिन छाडिसकेको थियो । ऊ कति धेरै विश्वास गर्थी विवेकलाई तर विवेक भने खेलौनाजस्तै सम्झेर उसलाई प्रयोग गरिरहेको छ । एकदिन विवेक उसको कोठामा गयो । त्यो दिन विवेक अरू दिन भन्दा एकदमै गम्भीर देखिन्थ्यो । “तिमीले मलाई जति मायाँ दियौ, म जीवनभर पनि त्यति मायाँ दिन सक्तिन होला । म तिम्रा लागि योग्य छैन । मैले आफूले आफैँलाई तिमीसँग तुलना गरेर हेरेँ, तिमी कति महान् छौ र म कति नीच छु । मैले तिमीमाथि धेरै अन्याय गरेको छु । म पापी हुँ । मलाई तिमी कहिल्यै माफ नगर है किनकि म त्यही पापको पीडाबोधले जिन्दगीभर जल्न चाहन्छु ।”

“तपाईँलाई आज के भएको छ? के कुरा गरेको यस्तो मैले त केही बुझिनँ नि !” साँच्चै नै उसले त्यति बेलासम्म केही कुराको मेसो पाउन सकेकी थिइन ।”

विवेक खुल्दै गयो –“मैले तिम्रो पवित्र मायाँको अपमान गरेको छु । म अपराधी हुँ तिम्रो । यही अपराधबोधले मेरो छाती जलिरहेको छ । म तिम्रो हुन लायक छैन । मलाई फोहर नालीको किरा सम्झेर बिर्सिदेऊ ।” विवेकले ऊसँग आँखा जुधाउन सकिरहेको थिएन ।

“तपाईँलाई भुल्न सक्ने भए धेरै पहिले नै भुलिसक्ने थिएँ नि । प्लिज यस्तो कुरा नगर्नुस् ।” उसका आँखामा अझै पनि आशाका केही किरणहरू बाँकी थिए ।

“नाइँ मलाई तिमीले भुल्नैपर्छ । सधैभरि मैले तिमीलाई केवल पीडा दिएँ । तिमी त्यस्मा मायाँको मल्हम लगाउँदै गयौ । म जस्तो तुच्छ व्यक्ति तिमीजस्ती महान् नारीको पति भएको सुहाउँदैन । हेर जीवन लामो छ, तिमीले एक से एक सुशील केटा भेट्न सक्छ्यौ । मजस्तासँग तिम्रो त्यो सुन्दर जवानी खेर नफाल ।” उसलाई लाग्यो विवेक ऊदेखि टाढिने बहाना बनाइराखेको छ । विगतमा पनि विवेकका थुप्रै गल्तीहरूलाई उसले आँसु पिएर सहेकी थिई । प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने कुरा उसले राम्ररी बुझेकी थिई ।

“यसमा तपाईँको कुनै दोष छैन । गल्ती मेरै हो । मैले जबरजस्ती तपाईँलाई आफ्नो बनाउने कोसिस गरेँ । तपाईँले मलाई मायाँ गर्नु हुन्न भन्ने कुरा त मलाई पहिलेदेखि नै थाहा थियो । तैपनि एक दिन त बगेको खोला पनि फर्कन्छ रे भन्दै म तपाईँको प्रतीक्षा गरिरहेँ । तपाईँलाई म अब धेरै बाँधेर राख्न सक्तिनँ, जानुस् तपाईँ मुक्त हुनुहुन्छ ।” यति भन्दा उसको गला धेरैपटक अबरुद्ध भएको थियो । आखिर जे हुनु थियो त्यो भएरै छाड्यो । विवेकले अन्तिमपटक उसको निधारमा चुम्बन गरेर हिँड्यो । ऊ जडवत् भई, केही बोल्न सकिन न त विवेकलाई रोक्न नै सकी । उसको जीवनमा आँधी आयो, सारा आकाश झरेर उसलाई थिचेजस्तो लाग्यो । पैतालामुनिको जमिन भास्सिएजस्तो लाग्यो । आज उसको संसार विलीन भएर कतै शून्यमा हराएजस्तो लाग्यो ।

यतिन्जेल बाटो खोजिरहेका उसका आँसु अनायास उसका कोमल गालाहरूलाई स्पर्श गर्दै तल झरे । उसको छाती भक्कानिएर आयो । ऊ आज धेरै रोई । केही दिनसम्म यसरी नै रोइरही । २/४ हप्तापछि उसले आफूलाई सम्हाली । त्यो निर्दयीलाई सम्झेर अबदेखि कहिल्यै रुँदिनँ भनेर कसम खाई । त्यो सहर अब उसका लागि आफ्नो थिएन । जसलाई आफ्नो सम्झेर यहाँ आएकी थिई उसैले नै परित्याग गरेपछि अब त्यहाँ बस्नुको कुनै अर्थ थिएन ।

ऊ त्यो गाउँ सहर सबै छाडेर धेरै टाढा गई । ऊ अहिले ग्रेजुएट भएर आफ्नै खुट्टामा उभिएकी छ । साँच्चै ऊ आजभोलि धेरै धैर्यवान् भएकी छ रे । आँखामा आँसु सिद्धिएर हो वा मन दह्रो भएर हो ऊ आजभोलि रुन पनि भुलिसकेकी छ रे । कहिलेकाँही घरमा उसको बिहेको कुरो चल्दा झलक्क विवेकको निष्ठुरी अनुहार उसको आँखामा आउँछ तितो सम्झना बनेर अनि ऊ एकपटक फेरि भुईँमा थुक्छे प्याच्च ।

समाप्त